कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङ रंगेलीको मतगणना पुनः सुरु, गठबन्धनद्वारा बहिष्कार

विनोद भण्डारी

विराटनगर — मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा रोकिएको मोरङको रंगेली नगरपालिकाको मतगणना सत्ता गठबन्धनमा रहेका दलका प्रतिनिधि बिनै पुनः सुरु भएको छ । यहाँ तीन दिन मतगणना रोकिएको थियो ।

मोरङ रंगेलीको मतगणना पुनः सुरु, गठबन्धनद्वारा बहिष्कार

निर्वाचन आयोगकको छानबिन समितिको प्रतिवदेनपछि निर्वाचन अधिकृतले गठबन्धन दलका प्रतिनिधिले बहिष्कार गरेपनि एमाले, राप्रपाका स्थानीय र जसपाका जिल्ला तहका प्रतिनिधिको उपस्थितीमा मत गणना सुरु गरेका हुन् ।

सत्ता गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र भने निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै सडकमा उत्रिएको छ । गठबन्धनकै अर्को घटक जसपाको जिल्ला तहका प्रतिनिधिले भने मतगणनामा सहभागिता जनाएका छन् ।

वडा नम्बर ७ को मत गणनाका क्रममा खसेको मत भन्दा १ सय ८ मत बढी पाइएपछि सुरु भएको विवाद सतहमा आएको थियो । त्यससँगै मतगणना रोकियो र रंगेली तनावमय बनेको थियो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ । तर, मतपेटिकामा ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद भएको थियो ।

आयोगले खटाएको अनुसन्धान टोलीले अनुसन्धान गर्दा खसेको ३ हजार २ सय ४२ मतमध्ये एक मतपत्र कम भेटिएको र दोहोरो कम्प्युटर इन्ट्री गरिँदा एक सय मत बढी देखिएको भेटिएपछि गणना सुरु गरिएको निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले बताए । अनुसन्धान समितिमा प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कश्यप अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोश घिमिरे थिए ।

अहिले वडा नम्बर ७ को मतगणना सकेर वडा नम्बर ८ र ९ को सुरु भएको छ । काफ्लेले भने आइतबार साँझसम्म गणना सक्ने तयारी गरिएको जानकारी दिए । वडा १ देखि ५ सम्म एमालेले प्यानल नै जित्नु, मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार निकै मतले पछि परेपछि गठबन्धन दलले विवाद झिकेको एमालेको आरोप छ ।

यहाँ एमालेका मेयरका उम्मेदवार दिलिप बगाडियाले हाल सम्म ७ हजार ३ सय ८५ र गठबन्धनमा कांग्रेसका मोदराज घिमिरेले ५ हजार ५७ मत पाएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?