मुचुल्कामा भन्दा बढी मत भेटिएपछि रंगेलीमा तनाव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुचुल्कामा भन्दा बढी मत भेटिएपछि रंगेलीमा तनाव

विनोद भण्डारी

विराटनगर — मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना दुई दिनदेखि ठप्प छ । गठबन्धन दल धाँधली भएको भन्दै पुनः मतदानको मागसहित सडकमा उत्रिएका छन् । उनीहरू निर्वाचन आयोगले मतगणना गरेर रिजल्ट टाँसेर हिँड्ने तयारी गरेको भन्दै आयोगविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।

वडा नं. ७ को मतगणनाका क्रममा खसेको मतभन्दा १ सय ८ मत बढी पाइएको थियो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ तर मतपेटिकामा ३ हजार ३ सय ५० मत भेटियो । रंगेलीका निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको स्वीकार गरे । कम्प्युटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको उनको दाबी छ । ‘प्रत्येक सय मतपत्र गणना गरेर कम्प्युटर इन्ट्री गरिन्छ । त्यसैक्रममा सय मतपत्रको दोहोरो इन्ट्री भएको पाइयो । गणना गर्न बाँकी रहेका मतपत्र गन्दा ८ वटा बढी पाइयो ।’

निर्वाचन अधिकृतको तर्कसँग दलका प्रतिनिधिहरू सहमत छैनन् । दुई दिनदेखि ठप्प रहेको मतगणनालाई सुरु गर्न निर्वाचन आयोगले शनिबार अनुसन्धान थालेको छ । आयोगले प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीको नेतृत्वमा मोरङका प्रशासकीय अधिकृत प्रवीणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको तीन सदस्यीय टोली अनुसन्धानका लागि खटाएको छ । यो विषयमा आयोगको केन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनालीले पनि अनुगमन सुरु गरेका छन् । अनुसन्धान समितिको सुझावपछि दलको प्रतिनिधि नआए पनि निर्वाचन आयोगको निर्देशिका दफा १६७ अनुसार गणना सुरु गर्ने तयारी छ ।

रंगेलीमा यसअघि पनि विवादका कारण दुई दिन मतगणना रोकिएको थियो । त्यतिबेला वडा ८ को मतपेटिका फुटेको भन्दै विवाद भएको थियो । त्यतिबेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर विवाद मिलाएपछि मतगणना सुरु भएको थियो । रंगेलीमा हालसम्म वडा १ देखि ५ सम्मका गणना सकिएको छ । ती सबै वडामा एमालेले प्यानल नै जितेको छ । अहिले वडा ६ देखि ८ सम्मको आधा मत गणना हुँदा मेयरमा एमालेका दिलीप बगोडियाले ७ हजार ३ सय ८५ र कांग्रेसका मोदराज घिमिरेले ५ हजार ७८ मत पाएका छन् । वडा नं. ९ को बाकस खोल्न बाँकी नै छ । एमालेका बगोडिया अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । यसपालि उनी एमाले प्रवेश गरेर मेयरका उम्मेदवार बनेका हुन् ।

कांग्रेसबाट मेयरका उम्मेदवार तथा मोरङ कांग्रेसका सचिवसमेत रहेका मोदराज घिमिरेले निर्वाचन बदर गरेर पुनः मतदान नगरेसम्म सडक आन्दोलन जारी रहने बताए । ‘स्पष्ट धाँधली भएको पाइएको छ । निर्वाचन आयोगले जबर्जस्ती नतिजा टाँसे गठबन्धन दललाई मान्य हुने छैन,’ उनले भने । गठबन्धन दल मतगणना बहिष्कार गरेर सडकमा उत्रिएपछि रंगेली तनावग्रस्त बन्दै आएको छ । झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । मतगणना स्थल जनता क्याम्पस रंगेलीमा एमालेबाहेकका कुनै पनि दलका प्रतिनिधि छैनन् ।


प्रकाशित : जेष्ठ ८, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

विजेताको मतभन्दा बदर मत बढी

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाको नेतृत्व छान्न भएको चुनावमा प्रमुखमा २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको छ । उपप्रमुख पदमा भने विजयी उम्मेदवारले पाएकोभन्दा बढी मत बदर भएको छ । उपप्रमुखमा २५ हजार ६ सय ८० मत ल्याएर एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् भने उक्त पदमा बदर मतको संख्या ३४ हजार १ सय ७६ छ ।

प्रतिकात्मक तस्बिर

जिल्ला निर्वाचन कार्यालयका अनुसार विराटनगरमा ८९ हजार ६ सय ७८ मत खसेको थियो । महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला ३० हजार १ सय ७० मत ल्याएर विजयी भएका छन् । उक्त पदमा २१ हजार ३ सय ५८ मत बदर भएको छ । सबैभन्दा बढी वडा ६ मा प्रमुखमा १ हजार ९ सय ६५ र उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ । २०७४ को निर्वाचनमा २४ दशमलव ६ प्रतिशत मत बदर भएको थियो ।

विराटनगरमा यस पटक सत्ता गठबन्धनबाट प्रमुखमा कांग्रेसका कोइराला र उपप्रमुखमा जसपाका अमरेन्द्र यादव उम्मेदवार थिए । यादवले १४ हजार २ सय १९ मत पाए । माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार थिएनन् । निर्वाचन कार्यालयका अनुसार उपप्रमुखमा उम्मेदवार नै नभएका कांग्रेस र माओवादी केन्द्रको चुनाव चिह्नमा मत पर्दा अत्यधिक मत भएको हो । जसपाले उम्मेदवारी नदिएको पदमा पनि मत परेको छ । ‘बदर मतमध्ये उम्मेदवार नै नभएको चिह्नमा मत हाल्दा ९० प्रतिशत र थप १० प्रतिशत अन्य प्रकारका बदर मत छन्,’ मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीले भने ।

दलहरूले प्रमुख र उपप्रमुखमा गठबन्धन गरेका थिए । वडा तहमा भने गठबन्धन थिएन । दलहरूले चुनाव प्रचारप्रसारमा मतदातालाई गठबन्धन भएको र नभएको पदबारे बुझाउन नसक्दा बदर बढी भएको दलका नेताहरूको भनाइ छ । तर गठबन्धनको एक घटक जसपा मोरङका अध्यक्ष राजकुमार यादवले उमेदवार नै नभएको चुनाव चिह्नमा कांग्रेसले भोट हालेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले विराटनगरमा गठबन्धनका नाममा गद्दार गर्‍यो । योभन्दा ठूलो अपराध हुने ठाउँ नै छैन ।’ विराटनगरमा जसपाका जनपरिषद् सदस्य उमेश यादवले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धनको अर्को घटक माओवादी केन्द्र विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादवले निर्वाचन आयोगको कमजोरी र मतपत्रका कारण बढी मत बदर भएको बताए । ‘उम्मेदवारले आ–आफ्नो दलका चुनाव चिह्नमा प्यानल नै मत माग्दा पनि बदर बढी भयो,’ उनले भने । माओवादी केन्द्रकी नगर सचिव नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×