खाजा ल्याएको निहुँमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा झडप, मतदान रोकियो- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

खाजा ल्याएको निहुँमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा झडप, मतदान रोकियो

अनिश तिवारी, सीमा तामाङ

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर,३ स्थित धुस्कुनमा खाजा ल्याएको निहुँमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको बाझाबाझले झडपको रूप लिएपछि मतदान रोकिएको छ ।

शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाको स्थानीय धुस्कुनको महेन्द्र प्रताप माध्यमिक विधालयको मतपेटिका बुथ क ,ख र ग तीनैमा भइरहेको शान्तिपूर्वक मतदान बिथोलिएको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मतदानस्थलमा मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरेका थिए ।

नेपाली कांग्रेसका त्रिपुरासुन्दरीका उम्मेदवारले भने सुरक्षाकर्मीले पक्षपातपूर्ण व्यवहार गरेकोले झडप भएको आरोप लगाउँदै आएका छन् । यही कुरालाई लिएर भएको चर्को विवादबीच वातावरण पूरै झडपमा परिणत भएपछि मतपेटिका कोठाभित्र राखेर बाहिर सुरक्षाकर्मीले धर्ना दिइरहेको डीएसपी बस्नेतले जनाए ।

‘पार्टी प्रतिनिधिको रोहबरमा मटपेटिका कोठाभित्र राखेर प्रहरीले सुरक्षा दिएको छ, दल एकाएक आक्रोशित बनेका छन्, आहिलेसम्म झडप शान्त हुन सकेको छैन, मतदान रोकिएको छ,’उनले भने । त्रिपुरासुन्दरीको धुस्कुनभर २९ सय मतदाता छन्, जसमध्ये एक हजार मात्रै मत खसेको छ ।

मतदान पुन सुरु गर्नका लागि राजनीतिक दल, मतदान अधिकृत, पर्यवेक्षकलगायातको टोलीबीच आवश्यक छलफल र बैठक सुरु गरिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरको पुनर्वासमा फर्जी मतको विवादपछि मतदान स्थगित

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराएको भन्दै विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ ।

पुनर्वास नगरपालिका वडा नं १० को विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराइएको विवादपछि मतदान स्थगित गरिएको हो । पुनर्वासका निर्वाचन अधिकृत कीरण जोशीका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरूले आपसमा फर्जी मतदान गराएको आरोप लगाएका थिए ।

भारतमा रहेका नेपाली कामदारहरूको नाममा गाउँमै रहेकाहरूले मतदान गरिदिएको उनीहरूको आरोप थियो । निर्वाचन अधिकृत जोशीले उक्त आरोपबारे छानबिन भइरहेको जनाए । साथै अहिले उक्त केन्द्रमा मतदान रोकिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×