कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान गर्न १० घण्टा पैदल

आफन्तको घरमा बास बसेर मतदान गर्दै मासपुरबासी

सुर्खेत/हम्ला — हुम्लाको ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढाले अहिलेसम्म ३ पटक मतदान गरे । योपटक पनि मतदान गर्न उनी बिहीबार बिहानै थापागाउँस्थित कैलाश प्राथमिक विद्यालयमा हिँडेका छन् । ‘आफूले पाएको अधिकार सुरक्षित गर्न पनि १० घण्टा पैदल हिँड्नुपर्छ,’ उनले टेलिफोनमा भने, ‘गाउँमै मतदान केन्द्र बनाउन माग गरेको वर्षौं बित्यो, कसैले सुनेनन् ।’

मतदान गर्न १० घण्टा पैदल

उनका छिमेकी दुर्गावीर बुढा पनि आफन्तको घरमा बास बस्ने गरी थापागाउँ हिँडेका छन् । ‘आज नहिँडे मतदान गर्नै पाइन्न,’ उनले भने, ‘आज आफन्तको घरमा बास बसेर मतदान गरी पर्सी मात्र घर फर्किन्छौं ।’उनीहरुसहित मासपुरका झण्डै १ सय जना मतदाता थापागाउँ हिँडेका छन् । उनीहरु आफन्तको घरमा बास बस्छन् भने शुक्रबार मतदान गरेर शनिबार मात्र गाउँ पुग्नेछन् । मतदान केन्द्र टाढा भएपछि अपांगता भएका र अशक्तहरु भने मतदानको अधिकारबाट वञ्चित भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिसहित गाउँमा पुग्ने सबै नेता र विभिन्न कार्यालयका प्रतिनिधिसँग गाउँमै मतदान केन्द्र राख्न माग गरे पनि वर्षौंदेखि बेवास्ता भइरहेको मासपुरका कर्णबहादुर बुढाले बताए । ‘नेताहरुलाई जिताउनकै लागि पनि हामीले सास्ती भोग्नुपर्छ, निर्वाचनको बेला सधैं मतदान केन्द्र गाउँमै बनाइदिन्छौं भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि हेर्दैनन्, हामीले भोटकै लागि अझै कति सास्ती भोग्नुपर्ने हो ?’ उनका अनुसार मासपुरमा २२ घरधुरी छन् ।

स्थानीय धनवीर बुढाले भौगोलिक विकटताका कारण आफूहरू लामो समयदेखि सरकारी सेवा सुविधाबाट पनि वञ्चित भएको बताए । उनका अनुसार वडा कार्यालय पुग्नसमेत १० घण्टा हिँड्नुपर्ने बाध्यता छ । ‘राज्यबाट पाउनुपर्ने अरू सुविधा त पाएनौं पाएनौं, कम्तीमा भोट हाल्ने ठाउँ त गाउँमै बनाए विकासको अनुभूति हुन्थ्यो,’ उनले भने, ‘सदरमुकाम टाढा हुँदा आफू बसेको घरजग्गाको लालपूर्जासमेत बनाउन सकिएको छैन ।’

मासपुरमा अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलसमेत नपुगेको बुढाले बताए । उनका अनुसार खाद्यान्न लिन पनि थापागाउँ पुग्नुपर्छ । ‘एक दिन पैदल हिँडेर पनि ४/५ किलो चामल मात्र पाइन्छ,’ उनले भने, ‘त्यो चामल कति दिन पुर्‍याउने ?’ सरकारी ढुवानी अनुदानको चामल नपाइने भएपछि ५० किलोको एक बोरा ३ हजार रुपैयाँ तिरेर बजारबाट किन्नुपरेको उनले बताए । ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले भौगोलिक विकटता र कम घरधुरी भएका कारण मासपुरमा मतदान केन्द्र राख्न नसकिएको बताए । उनका अनुसार मासपुरमा खाद्यको चामल पठाउन पहल भइरहेको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?