बागी उम्मेदवारको रहस्यमय मृत्यु- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागी उम्मेदवारको रहस्यमय मृत्यु

प्रदीप मेन्याङ्बो, सुम्निमा चाम्लिङ

सुनसरी — नेपाली कांग्रेसले वडाध्यक्ष पदका लागि टिकट नदिएपछि सुनसरीको रामधुनी–८ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल शनिबार झुन्डिएको अवस्थामा फेला परेका छन् ।

रामधुनीको डुम्राहास्थित पौडेलचोकका पौडेल गत चुनावमा र यसपालि पनि टिकट नपाएपछि बागी बनेका थिए । चार दिनअघि मात्र घरबाट बेपत्ता भएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘मोबाइल घरमा, मोटरसाइकल इनरुवामा छाडेर बेपत्ता भएपछि उजुरीका आधारमा खोजी हुँदा भोलिपल्ट सम्पर्कमा आएका थिए ।’

सम्पर्कमा आएका पौडेलले साथीको घरमा बसेको बताएका थिए । प्रहरीले अनुसन्धानका लागि भन्दै बोलाएको भोलीपल्ट शनिबार शव घर पछाडीको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो । शवसँगै प्रहरीले ‘सुसाइड नोट’ पनि बरामद गरेको प्रजिअ यादवले बताए । स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको विवादबीच पौडेलको मानसिक सन्तुलनमा केही गडबडी उत्पन्न भएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । तर उनले मितिसहितको हस्ताक्षर गरेको सुसाइड नोट आफैंले लेखेको हो वा दबाबमा परेर लेखेको बारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले फिर्ता लिन दबाब दिएको थियो । तर पौडेलले फिर्ता नलिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पोस्टमार्टमका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

विवादरहित उनी सरल र मिजासिलो व्यक्तिका रूपमा चिनिन्थे । सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय थिए । २०४१ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट नेवि संघमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका थिए । यसपल्टसमेत वडाध्यक्षका लागि उनको नाम कमिटीले सिफारिस गरिएको थियो । स्थानीयका अनुसार राम्रो छवि भएका कारण चुनावी माहोलसमेत राम्रो थियो । प्रचारप्रसारमा जुटिरहेका थिए । घटना रहस्यमय भएको स्थानीयले बताएका छन् । पौडेलका आमाबुबा, दुई छोरा र एक छोरी छन् ।

मृतकका साहिला भाइ सन्तोष पौडेलले भने, ‘दाजु दबाब नझेल्ने मान्छे पनि होइन तर बीचमा कसैले धम्की पो दियो कि ? आत्महत्या जस्तो देखिएको छ, तर यो नहुन पनि सक्छ ।’ चुनावी चहलपहल सुरु भएदेखि उनलाई दबाब दिँदै आएको परिवारजन बताउँछन् । प्रचारमा नलागी मौन बस्न उनलाई चर्को दबाब दिइएको सन्तोषले बताए ।

उनी सम्पर्कविहीन भएपछि परिवारजन जाहेरी दिन खोजे पनि प्रहरीले लिन नमानेको सन्तोषले बताए । भन्छन्, ‘चुनाव चिह्न पाउनुअघिसम्म पनि फिर्ता गर्नु भनेर भनेका वडाका कार्यकर्तामाथि जाहेरी दिन खोजेका थियौं तर प्रहरीले दिन मिल्दैन भन्यो ।’ जाहेरी लिन नमानेपछि खोजी गरिदिन भनेर निवेदन दिएका थियौं । सम्पर्कमा आएका पौडेललाई अनुसन्धानका लागि प्रहरी कार्यालय लगेर छाडिएको थियो । शुक्रबार अनुसन्धानका लागि प्रहरीले बोलाएपछि सन्तोष दाईसँगै पुगेका थिए । घर फर्केका उनलाई सुनसरी प्रहरी कार्यालयका डीएसपी नरेन्द्रकुमार कार्कीले पुनः बोलाए पछि पौडेल र सन्तोष प्रहरी कार्यालय पुगे ।

‘किन बोलाउनुभएको रहेछ भनेर सोध्दा दाजुले केही पनि खुलाउनु भएन,’ उनले भने । सुनसरी प्रहरी कार्यालयका डीएसपी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनी सरल स्वभावको व्यक्ति रहेको पाएँ । उनले भने, ‘पहिलेदेखि नै केही थियो कि ? घरपरिवारलाई थाहा होला ।’ विदेशमा रहेका छोरा आएपछि मात्र पोस्टमार्टम गर्ने परिवारजनले भनेको हुनाले शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको सुनसरीको प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए । एक/दुई दिनभित्रमा छोरा आउने परिवारजनले जानकारी दिएको उनले बताए ।

प्रकाशित : वैशाख २६, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘जिउँदो सहिद’ का गुनासै गुनासा

मधेस आन्दोलनका क्रममा ७ वर्षअघि शरीरमा गोली लागेपछि मुन्सी पटेल
शंकर आचार्य

पर्सा — ओछ्यानमै थलिए । वीरगन्ज– २८ बगही घर भएका ३६ वर्षीय पटेल राजनीतिक दलका नेतृत्वसँग भने पटक्कै खुसी छैनन् । ‘जिउँदो सहिद’ का रुपमा परिचित उनको गुनासो छ, नेतृत्वले सहिदका परिवारजनलाई बिर्सिए ।


स्थानीय तहको निर्वाचन नजिकिएपछि भोट माग्न विभिन्न दलका उम्मेदवारहरू उनको छाप्रोमा धाउन थालेका छन् । आन्दोलनको बलमा भएका परिवर्तनहरू संस्थागत नभएको र आफूजस्ता जिउँदो सहिद तथा सहिदका परिवारजनलाई बिर्सिएको उनले गुनासो गर्ने गरेका छन् । ‘हामीलाई जिउँदो सहिद उपमा दिइएको छ, तर कस्तो पीडा भोगिरहेका छौं, सुनिदिने कोही भएन,’ पटेल भन्छन्, ‘चुनाव आएपछि सबै भोट माग्न आउँछन्, तर हाम्रा लागि बोलिदिने कोही भएन ।’ उनले आफूलाई बासको समस्या भएको बताए ।

वीरगन्ज–२२ मनियारी घर भएका ४० वर्षीय उपेन्द्रप्रसाद यादव पनि ‘जिउँदो सहिद’ हुन् । २०७२ भदौ १५ मा प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको थियो । देब्रे खुट्टाको भर छैन । ४ छोराछोरीका अभिभावक उनी अहिले परिवार पाल्न कुखुराको चल्ला बेच्ने गर्छन् । ‘अहिले भोट माग्न आउनेहरू थुप्रै आश्वासन र सपना देखाएर फकाउन खोज्दै छन्,’ उनले भने, ‘खुट्टामा हालेको २ वटा रड पैसा नभएर झिक्न पाएको छैन, घर भत्किएर बस्ने लायक रहेन, मेरो पीडा कसले बुझिदिने त ?’

सखुवाप्रसौनी–५ घर भएका ३८ वर्षीय पन्नालाल यादव अर्का जिउँदो सहिद हुन् । २०७२ भदौ १४ मा मधेस आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली उनको दाहिने खुट्टाको घुँडामा लाग्यो । करिब ५ वर्ष थला परे । अहिले जसोतसो हिँड्न सक्ने भएका छन् । उपचारमा उनले व्यक्तिगत ५५ लाख रुपैयाँ खर्च गरेको बताए । गत स्थानीय निर्वाचनमै उनले वडाध्यक्षको पदमा उम्मेदवारी दिन चाहेका थिए । तर पार्टीबाट टिकट पाएनन् । यस वर्ष पनि टिकट नपाएको बताए । ‘म जनप्रतिनिधि बनेर जनताको सेवा गर्न चाहन्थे, तर मलाई कहिल्यै अवसर दिइए्,’ उनले भने, ‘भन्नलाई जिउँदो सहिद भनिन्छ, अवसर पाइँदैन ।’

प्रकाशित : वैशाख २६, २०७९ ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×