कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन

झापामा बहुरंगी गठबन्धन

ओलीको गृहनगर दमकमा कांग्रेस, माओवादी र राप्रपाको तालमेल
लिङ्देनको निर्वाचन क्षेत्रको कचनकवलमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँ

झापा — भिन्न चुनावी गठबन्धन बनेको झापामा प्रतिस्पर्धा रोचक बन्दै छ । सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपासँग तालमेल गरेका छन् भने कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रको कचनकवल गाउँपालिकामा कांग्रेस र माओवादीले एमालेसँग गठबन्धन गरेका छन् ।

झापामा बहुरंगी गठबन्धन

बलियो शक्तिलाई हराएर स्थानीय तहको नेतृत्व लिन मात्र होइन, ६ महिनापछि हुने संघको निर्वाचनमा सुरक्षित बन्ने ओली, सिटौला र लिङ्देनको रणनीतिक योजनाले यस्तो तालमेल बनेको हो ।

एमाले र राप्रपासँग भएको गठबन्धनलाई कांग्रेसका प्रदेश १ सभापति उद्धव थापा स्थानीय आवश्यकता र बाध्यता भनेर अर्थ्याउँछन् । ‘बाहिर ओली, सिटौला र लिङ्देनबीचको प्रतिस्पर्धा भन्नु स्वाभाविक हो तर नेताहरू यस्तो गठबन्धन बनाउन आफैं लागेका भने होइनन्, प्रदेश र जिल्लाले गठबन्धनको निर्णयविपरीत काम नगरौं भन्दा कसैले मान्ने अवस्था बनेन, स्थानीय तह जित्नैपर्छ भनेर यो गठबन्धन बनेको हो,’ थापाले भने, ‘स्थानीय तहको चुनाव जित्दा त्यसको प्रभाव संघ र प्रदेश निर्वाचनमा अवश्य पर्छ तर त्यसैका लागि नेताहरूबाटै यो गठबन्धन भएको हो भनेर मान्न म तयार छैन ।’

अध्यक्ष ओलीका लागि दमकको मत जति निर्णायक छ, उत्तिकै कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङ्देनका लागि कचनकवलको मतको महत्त्व छ । दमकको नेतृत्व नगुमाउन ओलीले भित्रभित्र जसरी कसरत गरिरहेका छन्, उसैगरी सिटौला र लिङ्देन पनि कचनकवलमा केन्द्रित छन् । ओली आफ्ना उम्मेदवार जिताउने अभियानमा मंगलबार गृहनगर आउँदै छन् । उनको पहिलो कार्यक्रम सिटौलाको गृहनगर भद्रपुर र दोस्रो कार्यक्रम लिङ्देनको घर रहेको गाउँ गोलधापमा राखेका छन् । त्यस दिन उनले चारवटा सभा राख्न लगाएका छन् । कांग्रेस नेता सिटौला तीन दिनदेखि गृहनगरमै छन् । राप्रपा अध्यक्ष लिङ्देनका लागि त झापा ‘केन्द्रीय हेडक्वार्टर’ नै बनेको छ ।

एमाले जिल्ला सचिव शिव ढुंगेल पनि कचनकवलको गठबन्धन स्थानीय आवश्यकताले निर्धारण गरेको बताउँछन् । ‘हामी त देशैभर एक्लै चुनाव लड्न खोजेको हो, गठबन्धनका दलले कचनकवलमा मिलेर जान प्रस्ताव गर्नुभयो । अर्कोतर्फ एमालेकै सहयोगमा चुनाव जितेर गएपछि राप्रपा अध्यक्ष लिङ्देनले समन्वय गरेर काम गर्नुभएन । पाँच वर्षको अवधिमा उहाँले राप्रपाबाहेक केही देख्नुभएन, त्यसले समस्या निम्त्याएको थियो,’ ढुंगेलले भने, ‘यो गठबन्धन लिङ्देनका गलत कामविरुद्ध छ । उहाँले समन्वय गरेर अघि बढेको भए यस्तो खालको गठबन्धन बन्थेन ।’

२०७४ को संघीय निर्वाचनमा सिटौलासँग प्रतिस्पर्धा गरेका लिङ्देनले एमालेसँग गठबन्धन गरेका थिए । जिल्लामै एमाले र कांग्रेसपछि तेस्रो शक्ति रहेको राप्रपाको सहयोगले ओलीलाई पनि चुनाव जित्न सहज भएको थियो । एमालेले लिङ्देनलाई सहयोग गर्दा अन्य सबै संघीय क्षेत्रमा एमालेलाई राप्रपाले सहयोग गर्ने सम्झौता भएको थियो ।

दमकमा नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रम । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

२०४६ सालपछि भएका तीनवटा स्थानीय तह निर्वाचनमा एमालेले जितेको दमकमा यस पटक कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुखसहित वडास्तरसम्मै तालमेल गरेका छन् । प्रमुखमा राप्रपाबाट राम थापा र उपप्रमुखमा कांग्रेसबाट रेगिना भट्टराई प्रसाइँ उठेका छन् ।

माओवादीले चारवटा वडाको अध्यक्ष लिएको छ, राप्रपाले यसअघि जितेका दुई र कांग्रेसले उपप्रमुखसहित चार वडाध्यक्ष लिएको छ । सत्ता सहयात्री पाँचमध्ये अन्य दलको उपस्थिति नगण्य भएकाले जिल्लामै उनीहरू गठबन्धनबाहिर परेका छन् ।

एमालेले यसअघि उपप्रमुख रहेकी गीता पौडेल अधिकारीलाई प्रमुखमा अघि बढाएको छ । २०७४ को चुनावमा राप्रपा दोस्रो स्थानमा थियो र हालका उम्मेदवार थापा नै प्रतिस्पर्धामा थिए । एमालेका रोमनाथ ओलीले १०,८०६ मत ल्याउँदा राप्रपाका थापाले ७,६५५ मत पाएका थिए । त्यतिबेला कांग्रेसको उपप्रमुखले पाएको मत ८,९१२ थियो । माओवादी चौथो शक्ति थियो ।

सुरुका दिनमा कांग्रेस नेता सिटौला राप्रपालाई दिनुभन्दा माओवादीलाई प्रमुख दिएर गठबन्धन गर्नुपर्ने पक्षमा थिए । सिटौला–लिङ्देनबीच चर्को संघर्ष छ । राजसंस्था स्थापना गर्ने मुद्दा बोकेर अघि बढेका लिङ्देनप्रति उनी पहिल्यैदेखि अनुदार छन् । गत २०७४ को निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले राप्रपासँग गठबन्धन गराएर सिटौलाको क्षेत्रमा लिङ्देनलाई सहयोग गर्ने निर्णय गरेका थिए । समानुपातिकतर्फ एक नम्बरमा नाम राखे पनि सिटौलाले आफ्नो क्षेत्रमा लिङ्देनलाई सहयोग गर्ने निर्णय मानेनन्, आफैं प्रतिस्पर्धामा होमिए । लिङ्देनले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरे । सिटौला हारे, लिङ्देनले जिते ।

दमकमा राप्रपासँग कांग्रेसले गठबन्धन गर्दा संघीय निर्वाचनमा एमाले र राप्रपा मिल्ने सम्भावना कम हुने राजनीतिक हिसाबबाटै सिटौला राप्रपासँगको गठबन्धनमा ‘कन्भिन्स’ भएको कांग्रेसका एक नेता बताउँछन् । प्रमुखका उम्मेदवारसमेत रहेका राप्रपाका प्रदेश अध्यक्ष थापाले दमकमा बनेको गठबन्धनलाई आगामी संघीय निर्वाचनसम्मै लैजाने लिखित सम्झौता भएको बताए । ‘दमकमा यो गठबन्धनले सफलता पायो भने यसको निरन्तरता आगामी संघको निर्वाचनसम्मै हुनेछ, लिखित सम्झौता नै हामीसँग छ, सफल भएन भने त तत्कालीन परिस्थितिले के हुन्छ भन्न सकिन्न,’ थापाले कान्तिपुरसँग भने, ‘निर्वाचनमा जुन शक्तिशाली हुन्छ, त्यसलाई परास्त गर्न यस्ता गठबन्धन बन्छन् ।’ उनको यो भनाइ ओलीका लागि आफैंमा चुनौती हो ।

सिटौलाले दमकको हकमा चुनावी प्रचार र सभामा भने तटस्थ बस्ने रणनीति बनाएका छन् । ‘संघको निर्वाचनमा एमालेको मतलाई प्रभाव पार्न पनि उहाँले यस्तो रणनीति बनाएको हुन सक्छ,’ सिटौलानिकट एक केन्द्रीय सदस्यले भने, ‘अन्तिम पटक चुनाव लड्छु भन्नुभएको छ । कांग्रेस, माओवादी र राप्रपा अलग–अलग चुनावी प्रतिस्पर्धामा जाने वातावरण निर्माण गर्न सके आफू सुरक्षित हुन सकिने विश्लेषण सिटौलाको छ ।’

सिटौलाकै क्षेत्रमा एमाले अध्यक्ष ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई उठ्ने तयारी गर्न भनिसकेका छन् । केही दिनअघि प्रसाईंले सिटौलालाई भेटेरै ‘मामा, मलाई हजुरबा (ओली) ले तपाईंकै क्षेत्रमा तयारी गर्न भन्नुभएको छ’ भनेर सिटौलालाई जानकारी गराएका थिए । ‘मेरो क्षेत्रमा लिङ्देनलाई जिताउन राजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी दमकको हिमालय महालक्ष्मी ‘ट्री’ गार्डेनमा आउजाउ गर्न थालिसकेका छन्,’ सिटौलाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अर्कातिर ओलीजीले दुर्गा प्रसाईंलाई पठाइसकेका छन् । पैसाकै हिसाबले त मैले वाकओभर दिए हुन्छ तर राजनीतिक लडाइँ लड्छु । कोही कतै मिलेन भने जित्न पनि सहज हुन्छ भन्ने उहाँको बुझाइ छ ।’ दमकको टी गार्डेनलाई पूर्वराजा ज्ञानेन्द्रको दोस्रो दरबारकै रूपमा लिने गरिन्छ ।

एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीकै रूपमा हेरिएको छ । उनले पनि अबको प्रतिस्पर्धा अन्तिम हुन सक्ने सन्देश कार्यकर्तालाई दिइसकेका छन् । आफ्नो संसदीय निर्वाचन क्षेत्र सुरक्षाका लागि पनि उनले दमक नगरपालिकाको प्रतिस्पर्धालाई प्रतिष्ठा बनाएका छन् । सत्ता गठबन्धनसँग जोडिनुअघि नै ओलीले दमकमा राप्रपासँग तालमेल गर्न चाहेका थिए । राप्रपाका प्रदेश अध्यक्ष थापाका अनुसार सूर्य चिह्नबाट चुनाव लडेमा एमालेले आफूलाई सहयोग गर्ने प्रस्ताव ल्याएको थियो । त्यस्तो प्रस्ताव ओलीमार्फत नै आएको उनी बताउँछन् ।

सुरुङ्गामा राप्रपाको चुनावी प्रचारप्रसार कार्यक्रम । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

जिल्लाका स्थानीय कार्यकर्ता राप्रपा अध्यक्ष लिङ्देनको व्यवहारबाट रुष्ट भएकाले त्यसविपरीत राप्रपासँग गठबन्धन गर्न ओलीलाई कठिनाइ थियो । त्यसैले सूर्य चिह्नबाट चुनाव लड्न तयार भए राप्रपालाई प्रमुख छाड्न सकिने सन्देश ओलीले पठाए पनि थापाले नमानेपछि कांग्रेस, माओवादी र राप्रपाबीचको गठबन्धन बन्न पुगेको थियो । ‘एमालेले एकातिर कमल थापासँग गठबन्धन गरेको र अर्कोतर्फ सूर्य चिह्नमा लड्ने प्रस्ताव आएकाले मैले मानिनँ । आफ्नै चुनाव चिह्नबाट लड्ने हो भने उपमेयरमा बसिदिनुहोस् भन्ने थियो,’ मेयरका प्रत्याशी थापाले भने ।

दमक र कचनकवलको प्रतिस्पर्धाले एमाले र राप्रपाबीच दूरी बढ्ने विश्वास सिटौलालाई छ भने एमाले अध्यक्ष ओलीलाई आफ्नो शक्तिको वास्तविक परीक्षण भएपछि २०७४ मा जस्तै गठबन्धन गर्न लिङ्देन आफूसँग आउन सक्ने आस छ,’ एमालेका स्थानीय एक नेता भन्छन्, ‘स्थानीय तहलाई जोगाउन सक्दा मात्रै आफूहरू सुरक्षित हुन सकिन्छ भन्ने मनोविज्ञानबाट सबै नेता लागिरहेका छन् ।’

कचनकवल क्षेत्रको हिसाबले ठूलो पालिकामा पर्छ । यो कांग्रेसको पुरानो प्रभाव क्षेत्रका रूपमा चिनिन्छ । कांग्रेस नेताहरू सिटौलालाई हराउने र जिताउने निर्णायक भूमिका कचनकवलले खेल्ने गरेको स्थानीय बताउँछन् । २०७४ को निर्वाचनमा यस पालिकाबाट राप्रपाले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो भने कांग्रेस–एमालेले दुई–दुई वडा मात्रै जितेका थिए । कचनकवलमा कांग्रेसबाट कलेन्द्रप्रसाद राजवंशीलाई अध्यक्षमा अघि सारिएको छ भने एमालेका उपाध्यक्ष उम्मेदवार नवराज भट्टराईलाई अघि सारिएको छ । भट्टराई एमालेका गाउँ कमिटी अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख १९, २०७९ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?