कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन सम्भव भएन देशव्यापी गठबन्धन ?

एकअर्काको अस्तित्व र शक्ति स्वीकार गर्न नसक्दा करिब दुई दर्जन जिल्लामा मात्र पूरै पालिकामा तालमेल

काठमाडौँ — एकअर्काको अस्तित्व र शक्ति सहज रूपमा स्वीकार गर्न नसकेपछि गठबन्धनमा रहेका दलहरूबीच देशव्यापी तालमेल हुन सकेन । पाँचदलीय चुनावी तालमेलले देशको राजनीतिक भविष्यका लागि पनि ऐतिहासिक महत्त्व राख्ने दाबी गरेका दलहरूबीच करिब दुई दर्जन जिल्लामा मात्र पूरा ‘सेट’ मा तालमेल भएको छ भने बाँकी जिल्लामा आंशिक सहकार्य भएको छ । 

किन सम्भव भएन देशव्यापी गठबन्धन ?

पाँचदलीय सत्ता गठबन्धन दलका नेताहरूले भने चुनावी तालमेलको निर्णयलाई लिएर कार्यकर्ता आक्रोशित भए पनि उम्मेदवारी मनोनयनले उत्साहित बनाएको बताएका छन् । अपेक्षा गरिएभन्दा कम संख्यामा बागी उम्मेदवारी परेको भन्दै उनीहरू उत्साहित भएका हुन् । तर भरतपुर, पोखरालगायतका पालिकामा परेका बागी उम्मेदवारी फिर्ता गराउने र असन्तुष्ट कार्यकर्ता व्यवस्थापन गर्ने चुनौती छ । ‘अब बागी उम्मेदवारहरूलाई सम्झाउने र फिर्ता गराउने काम हुन्छ,’ सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘त्यति गर्दा पनि असमझदारी नै कायम भए विधानको व्यवस्था र पद्धतिअनुसार अनुशासनको पालना गराउने काम हुन्छ ।’

माओवादी नेता वर्षमान पुनले नमिलेका ठाउँमा सहमतिमार्फत उम्मेदवार फिर्ता लिन लगाएर भए पनि देशैभर गठबन्धन हुने दाबी गरे । ‘पहिलाभन्दा यस पटक बागी उम्मेदवारी निकै कम परेको छ । दाबी, विरोध फिर्ता लिने समयसम्म धेरै ठाउँमा हल हुन्छ । फिर्ता लिन लगाएर भए पनि देशैभर गठबन्धन बनाइन्छ,’ उनले भने ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले केही जिल्लामा तालमेल गर्न समस्या देखिएको बताए । ‘साँझसम्मको रिपोर्टअनुसार केही ठाउँमा मिलेको छ । धेरै ठाउँमा मिलेको छैन । त्यहाँ समानान्तर ढंगले सबै दलले उम्मेदवारी दर्ता गराएका छन्,’ उनले भने, ‘उम्मेदवारी फिर्ता लिने समय भएकाले गठबन्धन दलबीच सहमति गराउने कोसिस हुन्छ । कतिपय ठाउँमा केहीले निहुँ खोज्न पनि बागी दिएका छन् । पार्टीले कारबाही गर्ने स्थिति बन्यो भने फिर्ता लिन्छन् ।’

गठबन्धनले ६ महानगर र ११ उपमहानगर प्रमुख–उपप्रमुखमा केन्द्रबाटै भागबन्डा गरेको थियो । अन्य पालिकाका लागि मातहतका प्रदेश र जिल्ला संयन्त्रलाई परिचालन गरेको थियो । केन्द्रको निर्णयले विशेष गरी कांग्रेसमा असन्तुष्टि चर्किएपछि गाउँपालिका र नगरपालिकाको तालेमल प्रभावित बन्न पुगेको हो । धेरै ठाउँमा कांग्रेसले प्रमुख लिएर मात्रै तालमेल गर्न खोजेको गुनासो गठबन्धनका सहयात्री माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गुनासो रहेको छ । कांग्रेस र माओवादीबीच मात्रै तालमेल भएका स्थानमा एकीकृत समाजवादी असन्तुष्ट छ ।

राष्ट्रिय राजनीतिमै चर्चा पाएको भरतपुर महनगरपालिकामा गठबन्धनको निर्णयलाई कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेलले चुनौती दिएका छन् । यस पटक कांग्रेसले प्रमुख पाउनुपर्ने भन्दै धेरै अघिदेखि कांग्रेसका स्थानीय कार्यकर्ताले नेतृत्वलाई दबाब दिँदै आएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा छोरी रेनुलाई निरन्तरता नदिँदा गठबन्धन दिगो नहुने भयमा देखिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्ताको भावनाविपरीत निर्णय लिएका थिए । गठबन्धनको निर्णयअनुसार भरतपुरमा महानगर कार्यसमिति सभापति चित्रसेन अधिकारीले उपप्रमुखमा मनोनयन गरेका छन् ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् । कानुन व्यवसायी उनी भरतपुरका पूर्वउपप्रमुखसमेत हुन् । पार्टीमा संस्थापन इतर खेमामा रहेका पौडेलले कांग्रेस कार्यकर्ताहरूको भावनाअनुसार उम्मेदवारी दिएको बताएका छन् ।

पोखरा महानगरपालिकामा पनि कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको निर्णयअनुसार पोखराको प्रमुखमा एकीकृत समाजवादीबाट धनराज आचार्य र उपप्रमुखमा कांग्रेसका कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता नन्दुप्रसाद तिवारीले प्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । देउवा समूहमै रहेका उनी कास्कीका पुराना नेता हुन् । ऋषि सापकोटा र विमलबहादुर कार्कीले पनि प्रमुखमा मनोनयन गरेका छन् ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसबाट मनोज साह बागी उम्मेदवार बनेका छन् । मधेसमा कांग्रेसको संगठन जसपालाई बुझाउन खोजेको भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् । त्यहाँ जसपाले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिने गठबन्धनको निर्णय छ । धरान उपमहानगरपालिकामा गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख र उप्रमुख दुवै पदमा छुट्टै उम्मेदवारी दिएको छ । जसपाबाट प्रमुखमा ताजुब लिम्बू र उपप्रमुखमा बिना राईले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद नपाएपछि माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ । सुदूरपश्चिममा तालमेल नमिलेपछि गठबन्धन दलहरूबीच मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गरिएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको व्यास नगरपालिकामा भने निलम्बित कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकले एमालेसँग गठबन्धन गरेर प्रमुख पदमा उम्मेदवारी दिएका छन् । केन्द्रले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखमा भागबन्डा गरे पनि समझदारी बन्न नसकेका वडामा गठबन्धन दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । वडाध्यक्षको प्रतिस्पर्धाले प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई असर पर्ने सम्भावना छ ।

माओवादी केन्द्रले महानगर र उपमहानगरबाहेक ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी नेता कृष्णबहादुर महराले सोमबार नै पत्रकार सम्मेलन गर्दै एकअर्काविरुद्ध गरिएको मनोनयन १६ गतेसम्म फिर्ता हुने बताए । निर्वाचन आयोगले वैशाख १६ सम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । महराले मतदानको अघिल्लो दिनसम्म पनि एकअर्कालाई सहयोग गर्ने प्रयास जारी हुने बताए ।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले महानगर र उपमहानगरबाहेकका पालिकामा गठबन्धनको भावनाभन्दा बाहिर गएर कांग्रेस र माओवादीबीच तालमेल भएको बताए । ‘अब त्यसलाई मिलाउनतिर लाग्नुपर्नेछ,’ उनले भने ।

राष्ट्रिय जनमोर्चाले कुनै पनि राजनीतिक दलको नाम नलिई कतिपय दलले तालमेललाई गम्भीरतापूवर्क नलिँदा केही ठाउँमा समस्या देखिएको जनाएको छ । ‘कतिपय पक्षद्वारा पाँचदलीय चुनावी तालमेललाई गम्भीरतापूर्वक लिने प्रश्नमा केही समस्या देखा पर्ने गरेका छन् । विभिन्न जिल्लामा पाँचदलीय चुनावी तालमेलको नीति सन्तोषजनक ढंगले अगाडि बढ्न नसकेको विषयप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसले गर्दा कतिपय जिल्लामा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेको छैन र त्यसबारे कैयौं असमझदारी उत्पन्न हुने गरेका छन् ।’

सबै पालिकामा उम्मेदवारी : एमाले
एमालेले आफ्नो पार्टीबाट छिटपुटबाहेक सबै पालिकामा उम्मेदवारी दिएको जनाएको छ । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रचार विभाग उपप्रमुख विष्णु रिजाललगायतका नेताले पार्टी केन्द्रीय कार्यालयमा बसेर जिल्ला र पालिकामा समन्वय गरेका थिए । ‘पार्टीको निर्णयअनुसार उम्मेदवारी दिइएको छ,’ प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘समस्या देखिएका पालिकामा केन्द्रबाट समन्वय गरेर समाधान भएको छ ।’ उनले डोल्पाको एक, दुई ठाउँमा एकल उम्मेदवार परेको भए पनि अरू सबै पालिकामा एमालेको उम्मेदवारी परेको बताए । एमालेले चितवन, बुटवललगायत जिल्लामा स्थानीयस्तरमा तालमेल गरेको थियो ।

प्रकाशित : वैशाख १३, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?