कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार 'रुइबा' उपन्यासलाई

काठमाडौँ — ग‌ैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७८' चेतनाथ आचार्यको 'रुइबा' उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ ।

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार 'रुइबा' उपन्यासलाई

अरनिको पुरस्कार व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले चीनमा स्थायी बसोवास गर्ने साहित्यकार आचार्यद्वारा लिखित 'रुइबा' नामक कृतिलाई 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' प्रदान गर्ने निर्णय गरेको हो । हरेक वर्ष प्रदान गरिने यो पुरस्कार राशि २ लाख र सम्मानपत्रसहित रहेको छ ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको 'संकलित गद्य रचना'लाई प्रदान गरिएको थियो । रुइबा कृतिमा लेखकले तामाङ पात्र र परिवेशमार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा 'न्याउली' नामक महिला पात्रको जीवनपर्यन्तको संघर्षलाई मिहिन किसिमले प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा प्रखररूपमा यस कृतिमा उद्घाटित गरिएको छ । पुरस्कृत कृति 'रूइबा'का लेखक आचार्यलाई गैरआवासीय नेपाली संघले एक समारोहबीच पुरस्कार प्रदान गर्ने जनाएको छ ।

समितिले पुरस्कारका लागि २०७८ भरिमा प्रकाशित भएका गैरअवासीय नेपाली लेखकका कृतिहरूमध्येबाट प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो । आचार्यको 'रूइबा' का अतिरिक्त नगेन्द्र न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल' (नियात्रासंग्रह), अजित उत्सवको 'आकाश गंगाको किनार' (कवितासंग्रह), दीपा मेवाहाङ्ग राईको 'यादको सन्दुक ' (कवितासंग्रह) र नरेश राईको 'तेप्लायु' (कवितासंग्रह) संलग्न थिए ।

प्रकाशित : मंसिर २२, २०७९ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?