कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश चिनाउने तस्बिर

सबै जिल्ला छिचोलेका थापाका तस्बिरमा ओलाङचुङ्गोलादेखि कालापानीसम्म र सगरमाथादेखि जानकी मन्दिरसम्म समेटिएका छन्
सुशीला तामा‌ङ

काठमाडौँ — आसन्न चुनावका लागि राजनीतिक दलका नेतादेखि कार्यकर्ताहरूको दौडधुप चलिरहेको छ । सत्ता र शक्तिकेन्द्रित गरेर शासनको बागडोर चलाउने दाबीसहित घोषणापत्र जारी भइरहेका छन् । यिनै माहोललाई नियाल्दै फोटो पत्रकार भरतबन्धु थापा भने आग्रह गर्छन्, ‘एकचोटि नेपाल घुमी माटो छोएर मुलुक बुझौं अनि मात्र बोलौं ।’ भौगोलिक अवस्थिति, संस्कृति र जनजीवनलाई तस्बिरमा उतार्दै मुलुकका सबैजसो जिल्ला छिचोलेका थापा घुमन्ते फोटोग्राफरका रूपमा चिनिन्छन् ।

देश चिनाउने तस्बिर

उनले पूर्वदेखि सुदूरपश्चिमसम्मको भूगोल, जनजीवन र त्यहाँको वास्तविकतालाई नजिकबाट नियालेका छन् । राजधानीमा बसेको सत्ता र राजनीतिले देखेको नेपालभन्दा कैयौं गुणा फरक अर्कै ‘नेपाल’ रहेको उनी सुनाउँछन् । ‘सुनेको भन्दा देखेको राम्रो, देखेको भन्दा भोगेको राम्रो हामीले भन्छौं,’ उनी भन्छन्, ‘सोचेको र हेरेको नेपाल एकदमै फरक छ ।’ प्रज्ञा प्रतिष्ठानको अनुसन्धान परियोजनाअन्तर्गत थापाको पछिल्लो पुस्तक ‘नेपाल इन इमेजेज’ गत भदौमा सार्वजनिक भएको थियो । सातै प्रदेशका विविधता समेटिएको उक्त पुस्तकमा ओलाङचुङ्गोलादेखि सुदूरपश्चिमको कालापानीसम्म तथा सगरमाथादेखि जानकी मन्दिरसम्मका तस्बिर र तिनका विवरण समावेश छन् । गत वर्ष मात्र प्रतिष्ठानबाट नै प्रकाशित ‘तस्बिरमा नेपाल’ पुस्तकलाई नै अंग्रेजीमा अनुवाद गरिएको हो । पाँच सयभन्दा बढी रंगीन तस्बिरहरू पुस्तकमा छन् । पुस्तकमा प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्य सामग्रीहरूलाई अलग–अलग रूपमा प्रस्तुत गरिएका छन् । थापा पुस्तकलाई नेपाल चिनाउने आँखीझ्यालका रूपमा लिन्छन् । उनले पूर्वी पहाडी जिल्लादेखि तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई क्यामरामा कैद गरेका छन् ।

‘पुस्तकमा संग्रहित तस्बिरहरू नेपाल चिनाउने दस्तावेज हुन्,’ उनी प्रस्ट्याउँछन् । नेपाल चिनारी दिने थापाका यसअघि ‘मध्यपुर थिमि’, ‘एक्सप्लोर फार वेस्ट’, ‘गन्तव्य कर्णाली’, ‘वेस्टर्न नेपाल’, ‘वाइल्ड वेस्ट नेपाल’ लगायतका पुस्तकहरू सार्वजनिक भइसकेका छन् । प्रतिष्ठानसँगको सहकार्यमा पुस्तक प्रकाशित गर्दा उनको मुलुक चिनाउने तस्बिर संग्रहको रहर पूरा भएको छ ।

प्रत्येक स्थानका तस्बिरहरू उनले लामो समयदेखि संग्रह गरेर राखेका थिए । प्रतिष्ठानसँग पुस्तक प्रकाशनबारे सहमति भएपछि २० प्रतिशत तस्बिरहरू मात्र उनले पछि खिचेका थिए । ८० प्रतिशत तस्बिर आफूसँग भएको संग्रहबाटै पुस्तकमा समावेश गरिएको उनले बताए । ‘तस्बिरमा नेपाल मेरो ठूलो सपना थियो’, उनले थपे, ‘प्रतिष्ठानले अफरै गर्ला भनेर त सोचेको थिइनँ । यसमा मिहिनेतको फल त आएन तर मेरो सोच पुस्तकमा छन् । म एकदमै खुसी छु ।’

थापाका लागि देश झल्काउने उनका तस्बिरहरू संग्रहित पुस्तक सबैभन्दा ठूलो सम्पत्ति हुन् । ती तस्बिरमा देशको माटो, सौन्दर्य, जनता, तिनका संस्कृति, सभ्यता, जीवनशैली, पीडा, संघर्ष र दुःखलाई उनले सम्हालेर राखेका छन् । फोटो पत्रकार र फोटोग्राफरका रुपमा उनले कर्णालीको दुःख, माथिल्लो डोल्पाको संघर्षसँगै रारा, खप्तडदेखि बडिमालिकासम्मको प्राकृतिक मनोरम सौन्दर्यलाई सँगै बोकेर राजधानी ल्याइपुर्‍याएका छन् । उनका अधिकांश तस्बिरहरू धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षका सौन्दर्य, सुख, सम्भावना र आशाहरूमा केन्द्रित छन् । यात्राका क्रममा उनले भोगेका र देखेका दुखान्तका कथा अनगिन्ती छन् ।

उनले कर्णालीको दुःख, माथिल्लो डोल्पाको संघर्षसँगै रारा, खप्तडदेखि बडिमालिकासम्मको प्राकृतिक मनोरम सौन्दर्यलाई तस्बिरमा ल्याएका छन् । अधिकांश तस्बिर धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षका सौन्दर्य, सुख, सम्भावना र आशाहरूमा केन्द्रित छन् ।

भौगोलिक हिसाबले सुन्दर भएर पनि यातायातको पहुँचमा असुविधाका कारण हुम्ला, माथिल्लो डोल्पालगायत कर्णाली र सुदूरपश्चिमको जनजीवन निकै कष्टकर छ । माथिल्लो डोल्पामा यार्चा टिप्न गएका मान्छेको तस्बिर खिच्ने क्रममा लेक लागेर मर्ने स्थितिमा पुगेको उनले नजिकबाट नियाले । उनले चार/पाँच वर्षको बच्चा लिएर यार्चा टिपिरहेकी महिलाको संघर्षलाई देखे । भन्छन्, ‘म तस्बिरमा दुःखपीडा देखाउन चाहन्न, सम्भावना देखाउँछु । रोग, भोक र अशिक्षा होइन त्यो ठाउँको सुन्दरता देखाएर त्यहाँ सम्भावना खोजी मेरा तस्बिरहरूले गरोस् भन्ने म चाहन्छु ।’

खप्तडदेखि बडिमालिकाको यात्रामा २० घण्टा हिँडेर पानी खाएर कैयौं रात गोठमा सुतेको उनले बताए । हुम्लामा डोरीमा झुन्डिएर हिँडे । कर्णालीको २१ दिनको यात्रामा तीन/चार दिन नै सम्पर्कविहीन भए । उनको गुनासो छ, ‘कर्णालीको दुःख देखाएर सत्ता र पहुँचवादीहरूले व्यापार नगरोस् । कर्णाली पैसा नभएर विकट भएको होइन । सबै छ तर व्यवस्थापन हुन सकेन ।’ मुलुकको भौगोलिक अवस्था हेर्न आफ्ना तस्बिर पर्याप्त रहेको उनी सुनाउँछन् ।

प्रकाशित : कार्तिक २१, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?