कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तक ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (पद्य/काव्य) विभागको संयोजनमा महाकाव्यकार एवम् समीक्षक चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ कृतिको प्रकाशन भएको छ । 

पुस्तक ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

हालै प्रकाशित उक्त कृतिमा २३२ जना कविका प्रकाशित र केही अप्रकाशितसमेत गरी ४३२ वटा महाकाव्यात्मक कृतिको अध्ययन समावेश गरिएको छ । कृतिमा पछिल्लो अध्ययनानुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ ।

कृतिमा महाकाव्यको सिद्धान्त र नेपाली महाकाव्यको इतिहासका साथै नेपाली कवितामा शास्त्रीय छन्द प्रयोगको परम्परा, नेपाली महाकाव्यसम्बन्धी अन्य केही महत्त्वपूर्ण तथ्यहरूसमेत समेटिएका छन् ।

अध्ययनका क्रममा पहिले कविको परिचय दिई त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष- सर्गगत, प्रकरणगत र छन्दगत विवरणसमेत दिई यस कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ । कृतिले महाकाव्यका विविध विषयमा जानकारी लिन चाहनेहरूलाई लाभान्वित तुल्याउने प्रतिष्ठानको विश्वास छ ।

प्रतिष्ठानका अनुसार नेपालीमा जे जति महाकाव्यहरू लेखिएका छन्, तिनको सकेसम्म खोजी गरी गहन अध्ययन गरेर तिनमा रहेको भाव, विषयवस्तु एवं सर्गगत र छन्दगत अवस्थाको समग्र विवरण दिई यस कृतिका अनुसन्धाता न्यौपानेले ठूलो मेहनत गरेको प्रतिष्ठानले जनाएको छ ।

९३६ पृष्ठ रहेको उक्त कृतिको मूल्य १ हजार ५५ रुपैयाँ रहेको छ । पुस्तक प्रज्ञा-प्रतिष्ठानको बिक्री कक्षमा उपलब्ध छ ।

प्रकाशित : आश्विन १०, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?