कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जियरा’ लाई कर्णाली कृति

सुर्खेत — कर्णाली साहित्य समाजले यस वर्षको कृति पुरस्कार नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई प्रदान गरेको छ । ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरूमध्येबाट छनोट गरेर जियरालाई दिने निर्णय गरिएको थियो । 

‘जियरा’ लाई कर्णाली कृति

आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई–मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रुढिवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आमनागरिकका दुःख, पीडा र भोगाइहरूलाई उद्घाटित गर्न सफल कथाहरू ‘जियरा’ मा समेटिएका छन् ।

यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा.डा. राजाराम सुवेदीले पाएका छन् । ताम्रपत्रसहितको उक्त सम्मान ‘तीन दशकदेखि विशेष गरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत रही कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्त्वका बहुमूल्य कृतिहरूको सिर्जनाद्वारा कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाएकोमा इतिहासकार प्राध्यापक डा. राजाराम सुवेदीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले बताए ।

यसका साथै संस्थाले स्थापना गरेको २५ हजार राशिको पुरस्कार कर्णाली प्रदेशका विभिन्न लोकनृत्यहरूलाई देशभर चिनाउन सफल कलाकार कुलमान नेपालीलाई प्रदान गरिएको छ । संस्थाका संस्थापक संरक्षक एवं वरिष्ठ कथाकार महेशविक्रम शाहले राजनीतिले तोड्ने र साहित्यले जोड्ने काम गर्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?