कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुकर विजेता साहित्यकार हिलारी म्यान्टेलको निधन

काठमाडौँ — बुकर पुरस्कार विजेता बेलायती लेखक हिलारी म्यान्टेलको निधन भएको छ । 'उल्फ हल' ट्रिलोजीकी लेखक म्यान्टेलको बिहीबार निधन भएको प्रकाशक हार्पर कोलिन्सले जनाएको छ । उनी ७० वर्षकी थिइन् ।

बुकर विजेता साहित्यकार हिलारी म्यान्टेलको निधन

उनको निधन मस्तिष्कघातबाट भएको उनका लिटररी एजेन्ट बिल ह्यामिल्टनले पुष्टि गरेका छन् । ह्यामिल्टलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, 'उहाँ धेरै उत्कृष्ट उपन्यासको तयारीमै हुनुहुन्थ्यो । उहाँको निधन साहित्य जगतका लागि ठूलो क्षति हो ।' मृत्युअघि पनि म्यान्टेल एउटा उपन्यास लेखनमा सक्रिय नै रहेको उनले बताएका छन् ।

उनी यस शताब्दीको उत्कृष्ट अंग्रेजी लेखकमध्येकी एक थिइन् । उनले 'वुल्फ हल' र यसको सिक्वेल 'ब्रिङ अप द बडिज' का लागि दुई पटक बुकर पुरस्कार प्राप्त गरेकी थिइन् । त्यस्तै त्यसका लागि उनले सन् २०१२ मा कोस्टा बुक अफ द इयरको अवार्डसमेत प्राप्त गरेकी थिइन् । 'वुल्फ हल' ट्रिलोजी अहिलेसम्म ५० लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ भने विश्वका विभिन्न ४१ भाषामा अनूदित भएको गार्जियनले जनाएको छ ।

सन् १९५२ को जुलाई ६ मा जन्मिएकी म्यान्टेलले लन्डन स्कुल अफ इकोनोमिक्स सेफिल्ड विश्वविद्यालयबाट कानुनमा उच्च शिक्षा हासिल गरेकी थिइन् । उनले केही समय जेरियाट्रिक हस्पिटलमा समेत काम गरेकी थिइन् । उनले केही समय बोत्स्वाना र साउदी अरेबियामा पनि बिताइन् ।

'एभ्री डे इज मदर्स डे', 'भ्याकेन्ट पोजेसन', 'बियोन्ड ब्ल्याक' उपन्यास र संस्मरण 'गिभिङ अप द घोस्ट' गरी उनका विभिन्न १७ वटा पुस्तक प्रकाशित भएका छन् । उनको पहिलो उपन्यास फ्रान्सेली क्रान्तिमा आधारित उपन्यास 'अ प्लेस अफ ग्रेटर सेफ्टी' थियो । जसको लेखन सन् १९७९ मा सकिए पनि प्रकाशकले छाप्न अस्वीकार गरे ।

ऐतिहासिक उपन्यासका रूपमा रहेको यस कृतिलाई सुरुमा प्रकाशकले छाप्न अस्वीकारसमेत गरेको बताइन्छ । उनको छापिएको पहिलो कृति भने सन् १९८५ मा छापिएको 'एभ्री डे इज मदर्स डे' हो, जसले समीक्षकहरूबाट प्रशंसासमेत बटुलेको थियो । सन् २००९ मा 'वुल्फ हल' प्रकाशित भएपछि भने उनको विश्वव्यापी चर्चा भएको थियो ।

प्रकाशित : आश्विन ७, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?