कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आमा हुन् आमा...’

सुशीला तामा‌ङ

काठमाडौँ — भोलिको सपनाका लागि हिजो मदन मुनालाई छाडी भोट गएका थिए । आजका युवाहरू त्यही सपनाका लागि खाडी, युरोप तथा अमेरिकी मुलुकतिर जाने क्रम बढ्दो छ ।

‘आमा हुन् आमा...’

हजारौं युवाहरू देश छाडेर परदेसिनु रहर हो कि बाध्यता ? देशभित्र अस्थिर र अराजक राजनीति, बढ्दो बेरोजगार र अनिश्चित भविष्यका कारण युवाहरू देश छाडेर पलायन हुनुमा दोष कसको छ ? सपनाको सहरमा ती परदेशीहरूका लागि देश भन्नु नै आमा र आमा भन्नु नै देश हुन् । अनि कसरी बिर्सन सक्लान् उनीहरूले देश, आमा र आफू हुर्की खेलेको माटो, आँगन र प्रेयसीहरूलाई ? कवि गीता खत्रीले आफ्नो खण्डकाव्य ‘आमा हुन् आमा’ मा यस्तै-यस्तै भावहरू पोखेकी छन् । यही खण्डकाव्यलाई अहिले गीतिनाटकका रुपमा नाट्य रुपान्तरण गरिएको छ ।

खण्डकाव्यमा आधारित रहेर रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार गरिएको गीतिनाटक ‘सपना अनेक-अनेक’ को मञ्चन अघिल्लो बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा सुरु गरिएको छ । नेपालको नाट्य इतिहासमा निकै न्यून रुपमा मञ्चन हुने गीतिनाटक चार दशकको दौरानमा सर्वनामका लागि समेत पहिलो हो । झन्डै पाँच दशकको रंगमञ्चको निरन्तर कर्ममा रंगकर्मी मल्लका लागि समेत नाटक नौलो प्रयोग हो ।

अमेरिका र नेपालको परिवेशमा नाटकभित्रका कथा बुनिएका छन् । एक नेपाली युवा जो सपना देख्दै अमेरिका पुग्छ । अत्याधुनिक प्रविधि र सुविधाले भरिपूर्ण सपनाको सहरमा समेत ती युवाले देशलाई भुल्न सक्दैनन् । रातदिनको खटाइले सपना नजिक त पुग्छ तर मातृभूमि र नेपालमै रहेको परिवार, प्रेयसीको प्रेमले ऊ झनै बिथोलिन्छ । समय बित्दै जाँदा अमेरिकाको न्युयोर्क सहरको ट्वीनटावर हमलामा उसको निधन हुन्छ । यता नेपालमा कुरेर बसेकी उनकी प्रेयसीको अर्काे सपना भताभुङ्ग हुन्छ‚ जो विवाहअगावै छोरी जन्माएर कुमारी आमा बन्छिन् । अमेरिकाबाट प्रेमी आउने आशामा सिन्दुर, पोते पहिरिने र छोरीलाई बाबु चिनाउने उनको रहर अधुरै रहन्छ । यही पीडामा भावविह्वल भएकी उनले मृत्यु अँगालेपछि टुहुरी छोरीमार्फत नाटकको कथा उठान भएर अन्त्य हुन्छ ।

नाटकमा विशेष गरी ‘आमा’ शब्दलाई महान् बनाई बिम्बात्मक रुपमा उठाउने जमर्काे गरिएको छ‚ जहाँ विवाहअघि नै सन्तान जन्माएकी साहसी छोरीकी ‘आमा’ को कथा एउटा छ भने अर्काेतिर देशलाई प्रतिकात्मक रुपमा ‘आमा’ का रुपमा अगाडि ल्याइएको छ ।

यी दुई आमालाई दर्शकले संगीतको धुन, गीतको लय र मञ्चमा कलाकारका शारीरिक अभिव्यक्तिमार्फत बुझ्छन् । आमालाई केन्द्रमा राखेर आजको समयमा महिला पात्रलाई उठाउन खोज्नु, त्यसैमा विदेसिन बाध्य युवाको अवस्था, तिनको मनोदशा र देशको संक्रमणकालीन राजनीतिक परिवेशलाई काव्यिक भावमा कवि खत्रीले जीवन्त रुपमा उनेकी छन् । तिनै काव्यिक भावलाई गीत, संगीत, नृत्य तथा अभिनयको तालमा ल्याएको रंगमञ्चीय प्रस्तुतिले दर्शकको मन छुन्छ । काव्यिक लयबाट गीत, संगीत, नृत्य र अभिनयमा रुपान्तरण भएको प्रत्येक दृश्यहरूले समकालीन समयको प्रतिनिधित्व त गर्छ नै मातृभूमिलाई हृदयमा राखेर सपनासँगै विदेसिएका लाखौं युवाको मनोदशा पनि जीवन्त बनेर रंगमञ्चमा छताछुल्ल भएको पाइन्छ । परदेशमा उनीहरूले गर्ने संघर्ष, उनीहरूले बाँचेको वास्तविक परिस्थिति र नेपालको स्मरणको कथा बिनासंवाद सरर बगेका छन् ।

‘असारको बेला हिलोमा पाउ खुसीले नाच्दथ्यो

स्वर्गको टुक्रा त्यहीँ नै सबै पाएझैं लाग्दथ्यो’

यसरी नेपालको सम्झना गर्दै पात्रले गरेको स्मरण र क्षणभरमै भंग भएको उसको कल्पनाले पात्रसँगै दर्शक समेत भावविभोर हुन पुग्छन् । रोपाइँ, वनपाखा, मेलापात, घाँसदाउरा, ढिकीजाँतो गर्दै गरेको पात्रको स्मरणमा संगीतको धुन, गीतको लय, अभिनयसँगैको नृत्य दृश्यहरु नाटकमा असाध्यै मन छुने छन् । दिनरात, थकान केही नभनी अमेरिकामा गरेको संघर्ष, सपना पूरा गर्न मान्छेले गरेको दौडधुप दुरुस्तै देखिन्छ । अमेरिकाको सपना देख्ने युवाहरुका अवस्थाको प्रतिनिधित्व गर्ने कलाकार मनोज महर्जनको अभिनय र अभिव्यक्ति दमदार देखिन्छ । कुमारी आमाको सपना, आमाको मृत्युपछिको पीडादायी अवस्था अनि जीवनको मूल्य, सृष्टिलाई बुझ्दै आमाबाबुलाई स्वर्गमै भेटाएर खुसी खोजेकी निरीक्षा घतानीको अभिनय उत्तिकै सशक्त छ । बाँकी कलाकारहरुले नाटकको कथा, संगीत, गीत र लयमा उत्तिकै लोभलाग्दो प्रस्तुति दिएका छन् ।

मातृभूमि नेपाल र अमेरिका कर्मभूमिलाई जोड्दै वियोगान्त अवस्थाको कथा छोरीमार्फत कवि खत्रीले निकै सबल रुपमा उठाएकी छिन् । त्यही कथालाई रंगमञ्चले अझ प्राण भरिदिएको छ‚ जहाँ विगत र वर्तमान जोड्दै बाँचेकाहरूलाई भविष्यका लागि सकारात्मक बाटो बनाइएको छ ।

रंगकर्मी मल्लको मितव्ययी रंगमञ्चीय र व्यवस्थापकीय परिकल्पना अझ लोभलाग्दो छ । मञ्चमा कोरिएका सातवटा ब्लकका कोठामा पात्रहरू अडिग छन् । ती कोठामा महिला कलाकारहरू अझ सीमित देखिनाले समाजमा महिलाका लागि तोकिएका घेराबन्दीहरू कति छन् भन्ने अर्थ खुलाएको छ । पात्रहरुले प्रयोग गर्ने आयातकार सातवटा सेता रंगका ‘प्रप्स’हरू नै नेपालको गाउँबस्तीदेखि अमेरिकाको ट्वीनटावरसम्म प्रयुक्त छन् ।

पिँढीमा छोरा आउने आशामा बसेकी आमा र ध्वस्त हुनुपूर्वको भव्य ट्वीनटावर, काम गर्ने थलोलगायत दृश्यहरूमा कलाकारहरूले त्यही सातवटा प्रप्सहरु प्रयोग गरेका छन्‚ जुन प्रप्सहरूले बिम्बात्मक रुपमा शब्द, लय र अभिव्यक्तिलाई अर्थपूर्ण बनाएका छन् । रंगमञ्चको पृष्ठभूमिको कालो, कलाकारको कालो र मरुन पहिरन अनि प्रप्सको सेतो रंगको संयोजन, पात्रको परिवेश, मनोदशाअनुसारको प्रकाश परिचालन सबैले कलात्मक सौन्दर्य थपेको छ । गीत, संगीत र शारीरिक अभिव्यक्तिले कथासारमा दर्शकलाई अलमल नपार्न नेपाल भूमि छोडेदेखि नेपाल प्रेम, बाबु र आमाको बिछोड, मृत्युसम्मको कथन जोड दिँदै पृष्ठभूमिमा संक्षेपमा कथा वाचन हुन्छ ।

‘गएथे बाबा सिन्दुर पनि नहाली आमालाई

गर्भभित्र त्यो मलाई छोड्दा रुवायो आमालाई’

कुमारी आमाको कथालाई यी लाइनहरूले डोहोर्‍याउँदै गर्दा एक दृश्यले भने दर्शक अलमल्लमा पर्न सक्छन् । विवाहपूर्व नै प्रेमी अमेरिका गएकाले आमाले सिन्दुर, पोते संगालेर मात्र राख्छिन् तर नाटकमा बुबाको ट्वीनटावर हमलामा मृत्यु भएपछि यता भावविह्वल भएकी आमाको सिन्दुर पखाल्ने र चुरा फुटाएको दृश्यमा देखिन्छ । जुन दृश्य कथासारभन्दा माथि पुगेको देखिन्छ । राजु सिंहको संगीत, फणीन्द्र राईको संगीत संयोजन, सत्यराज आचार्य, बानिका प्रधानको गायन, प्रमीला कार्की उप्रेतीको कोरियोग्राफीले नाटकमा अझै सिर्जनाको लय भरेको छ ।

साउन २१ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु महर्जन, घतानीसहित भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, शु–गूँको अभिनय रहेको छ ।

प्रकाशित : श्रावण १२, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?