४३ जना स्रष्टा पुरस्कृत- साहित्य/विविध - कान्तिपुर समाचार

४३ जना स्रष्टा पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरे ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुंगेल, हेम पौडेल छन् ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायत छन् । महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौत सम्मानित भए ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरी सम्मानित भए भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । उनले सम्मानबाट स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

यस्तै मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृति प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मूर्धन्य स्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए ।


प्रकाशित : असार २६, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीच संवाद जारी छ । लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


लिउ देउवालाई भेटेपछि परराष्ट्रमन्त्री खड्कालाई भेट्न सिंहदरबार आउनेछन् । त्यसपछि आइतबार बेलुकी साढे ६ बजे खड्काले लिउलाई सम्मानमा रात्रिभोज दिँदैछन् ।

विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनले सोमबारै ओलीलाई बालकोटमा गएर भेट्ने छन् । दाहाल, नेपाल र खनाललाई भने लिउले होटलमा भेट्ने कार्यक्रम रहेको छ । तर, कुन होटलमा भेट्ने भन्नेबारे सार्वजनिक गरिएको छैन ।

लिउले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनले माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । लिउ बिहीबार वेइजिङ फर्कनेछन् ।


प्रकाशित : असार २६, २०७९ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×