कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तकमा ‘पचली भैरव’

काठमाडौँ — काठमाडौं उपत्यकामा नेवारी समुदायमा महत्त्वपूर्ण रुपमा लिइने पचली भैरव जात्रा र पचली भैरवसँग जोडिएका किंवदन्तीलाई आधार मानेर सांस्कृतिक नाटक ‘पचली भैरव’ मञ्चन गरिएको थियो ।

पुस्तकमा ‘पचली भैरव’

गत कात्तिक महिनामा टेकुस्थित कौसी थिएटरमा बज्र कला कुञ्जले प्रस्तुत गरेको नाटकमा पचली भैरव र स्थानीय नेवार समुदायकी युवती रुकमणिबीचको प्रेमकथालाई सांस्कृतिक तथा धार्मिक रुपमा जोडेर प्रस्तुत गरिएको छ । सोही नाटकलाई अहिले पुस्तकका रुपमा सार्वजनिक गरिएको छ ।

शनिबार कौसी थिएटरमा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल, संगीतकार राजु सिंह लगायतकाले पुस्तकको लोकार्पण गरे । नेपालको कला, संस्कृति, धार्मिक परम्परागत तथा सांस्कृतिक मौलिकताको संरक्षण र संवद्र्धन गर्न मञ्चन गरिएको नाटकको उद्देश्यलाई लिपिबद्ध रुपमा नयाँ पुस्तासमक्ष पुर्‍याउन पुस्तक तयार गरिएको लेखक, नाटकका परिकल्पनाकार र निर्देशक चन्द्रमान मुनिकारले बताए ।

काठमाडौं आफैंमा सांस्कृतिक सहरका रुपमा परिचित रहेकाले यहाँका अमूर्त सम्पदाहरु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उपप्रमुख डंगोलले बताइन् । ‘आँखाले नदेख्ने अमूर्त सम्पदाहरु पनि हाम्रा सभ्यताहरु हुन्’, उनले भनिन्,‘गीत, नाटक, चलचित्र जस्ता अमूर्त सम्पदालाई युवा पुस्ताले करले होइन रहरले सिक्ने वातावरण हामीले बनाउनुपर्छ ।’

‘पचली भैरव’ नाटकले आफैंमा काठमाडौं उपत्यकाको कथालाई बोक्ने भएकाले पुस्तकका रुपमा आउनु महत्त्वपूर्ण पाइलाका रुपमा रहेको उनले ठहर गरिन् । काठमाडौं उपत्यकाको कला, इतिहास र कथालाई अमूर्त सम्पदाहरुबाट नै उठान गर्नुपर्ने उनको मत छ । कला र कलाकार जन्माउने काठमाडौंका डबलीहरुलाई ब्युताएर परम्परागत पक्षलाई समेत जोड दिनुपर्ने उनले सुनाइन् । युवा पुस्ताको माग र समय अनुसार भाषा विकासका समेत जोड दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार यसका लागि महानगरले योजना बनाएको छ ।

प्रकाशित : असार ११, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?