कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बीपीको विद्रोही चेत 

समयअनुसार चेतना बदलिन्छ, बीपीकालीन समाजवादको व्याख्या सूचना–प्रविधिको विकास र विस्तार भएको अहिलेको युगमा हुबहु मिल्नु पर्छ भन्ने छैन । बीपीको समाजवादको समयअनुकुल व्याख्या चाहिन्छ । र, यस्तो पहल भइरहेको छैन ।
सादेशमणि पोखरेल

नेपाली साहित्यमा बीपी कोइराला महिला मनोविश्लेषणवादी साहित्यकारका रूपमा चिनिन्छन् ।  उदाहरणका रूपमा ‘सुम्निमा’, ‘मोदिआइन’, ‘कर्नेलको घोडा’जस्ता कृतिलाई लिन सकिन्छ । उनको कृतिमा यर्थाथताको विश्लेषण हुन्छ, साथै मनोविज्ञान र महिलावादी चिन्तनको दोहोरो छनक पाइन्छ । उनी  कूटनीति र राजनीतिमा निकै सक्रिय भएर पनि साहित्य साधनाका लागि समय निकाल्थे ।

बीपीको विद्रोही चेत 

कतिपयले बीपीको साहित्यलाई जेल जीवनको प्रतिफल पनि भन्छन् । एक हिसाबमा हो पनि, उनको साहित्यको उर्वर समय जेल जीवन नै भएको उनी आफैंले स्वीकारेका छन् । त्यसैले उनको साहित्यको चर्चा हुँदा जेल जीवनको पनि स्वतः आइपुग्छ ।

पछिल्लो समय पश्चिमा शैलीको प्रभावमा परेर बीपीको समाजवादको औचित्य सकियो भन्न थालिएको छ । तर, यस्तो तर्क बलियो छैन । भूमण्डलीकरणको अहिलेको समयमा बीपीको समाजवाद झनै सान्दर्भिक छ । उनको समाजवादी चिन्तनले साधरणताभित्र गहनता खोज्न सिकाउछ । बीपीले साहित्यमार्फत यही चिन्तनलाई सरल बनाउन प्रयत्न गरेका थिए । समाजको वास्तविकतामा आधारित उनका आख्यानहरू साधारण लाग्छन्, सँगै गहन पनि र यो नै उनको विशेषता हो ।

भारतीय साहित्यकार प्रेमचन्दको प्रभाव बीपीका लेखनमा परेको छ । जीवनको उर्जाशील समय भारतमा बिताएकाले पनि बीपी भारतिय साहित्य तथा त्यसको विशेषतास“ग परिचित थिए, जुन उनको लेखनमा पनि भेटिन्छ । त्यस्तै जर्मन दार्शनिक फ्रेडरिक नित्सेबाट पनि बीपी निकै प्रभावित थिए । नित्से असान्दर्भिक सामाजिक मान्यताका कट्टर आलोचक थिए । शून्यवादको सुरुवात पनि नित्सेबाटै भएको मानिन्छ । शून्यवादले मूल्य, मान्यता, ज्ञान, नैतिकताजस्ता मानव जीवनको तत्वलाई खारेज गर्छ । बीपीको कृतिमा पनि यस्तो भाव देखिन्छ, त्यसैले उनी शून्यवाद र नित्सेसँग नजिक थिए भन्ने आधार मिलेको हो । सिग्मन्ड फ्रायडको प्रभाव पनि बीपीलाई परेको छ । यौन मनोविज्ञानमा आधारित उनका कथाहरु त्यसैको उपज हो ।

साहित्यका अलावा बीपी राजनीति र कूटनीतिका पनि अब्बल खेलाडी हुन् । उनको साहित्य र राजनीतिलाई फरकफरक तरिकाले व्याख्या गर्न सकिन्छ । भनिन्छ, रवि पुग्न नसक्ने ठाउँमा कवि पुग्छन् । कतै बीपी पनि स्वतन्त्रतालाई मूर्त रूप दिनकै लागि साहित्यकार बनेका त हैनन् भन्ने प्रश्न पनि एकातर्फ छ । अर्कातिर उनले स्वतन्त्रताकै पक्षको राजनीति गरे । त्यसैले उनको राजनीति र साहित्यबीच समानता खोज्दा स्वतन्त्रता भेटिन्छ । अर्कोतर्फ स्वतन्त्रताको अर्को आयामका रूपमा प्रजातन्त्रलाई हेर्ने गरिन्छ । प्रजातन्त्र र समाज एक अर्काका पुरक हुन् । प्रजातन्त्रलाई स्वतन्त्रताका पर्याय र समाजलाई परिवर्तनका वाहकका रुपमा बीपीले लिएका थिए । अझै पनि उनी बलिया समाजवादका व्याख्याता हुन्, उनकै व्याख्यालाई आधार मानेर नेपालको सबैभन्दा पुरानो राजनीतिक दल चलिरहेको छ ।

समयअनुसार चेतना बदलिन्छ, बीपीकालीन समाजवादको व्याख्या सूचना–प्रविधिको विकास र विस्तार भएको अहिलेको युगमा हुबहु मिल्नु पर्छ भन्ने छैन । बीपीको समाजवादको समयअनुकुल व्याख्या चाहिन्छ । र, यस्तो पहल भइरहेको छैन । क्यानडाका मनोविश्लेषक जोर्डन पिटरसन भन्छन्, ‘व्यक्ति व्यक्तिवादी प्रगतिमा जोड दिने प्रवृत्तिले गर्दा असमानता झन् बढिरहेको छ, जसले गर्दा सामाजिक द्वन्द्व निम्तने सम्भावना बढेर गएको छ । त्यसैले अहिलेको समाजवादमा समानता र प्रगतिलाई स“गै लैजानु पर्ने देखिन्छ ।’

नित्सेका प्रभावका कारण मात्र नभएर आप्mनो अनुभवका आधारमा पनि बीपी असान्र्दभिक सामाजिक कुरीतिको ठाडो विरोध गर्थे, राजनीतिलाई समाज परिवर्तनको साधन ठान्थे । समाजलाई गतिशील बनाउन राजनीतिको उपयोग हुनुपर्छ भन्नेमा स्पष्ट थिए । छुवाछूत, जातीय भेदभावको सधैं विरोध गरिरहे, उनको यस्ता विद्रोही चेतनाले त्यसबेलाको राजनीति र समाजले गति लिएको थियो । राजनीतिमा शक्तिशाली हस्तक्षेप गर्न सफल भएका थिए, सँगै साहित्यलाई पनि समाज परिवर्तनको साधन बनाए ।

नेपाललाई उपयुक्त सामाजवादको सिद्धान्त उनले दिए पनि त्यसलाई व्यवहारमा लागू गर्दै लैजान सकिएको छैन । उनको समाजवादको सिद्धान्तलाई पनि कसैले अहिलेको समयमा राखेर पुनःव्याख्या गरेको छैन । सिद्धान्तको गतिलो आलोचना हुनुपर्छ, यहा“ त उनको आलोचना पनि गतिलो गरी गर्न सकिएको छैन । यस्तो वैचारिक खडेरीले गर्दा नै बीपी झनै अग्लो भइरहेका छन् ।

बीपीको साहित्य अझै सबैभन्दा धेरै पढिन्छ, त्यसबेलाको समाजमा महिलावादी अवधारणामा आधारित भएर यौन स्वच्छन्दताको वकालत गर्नु चानचुने कुरा थिएन । यौनको विषयमा सार्वजनिक छलफल पनि वर्जित थियो त्यसबेला । त्यस्तो समाजमा उनले साहित्यमार्फत यस्ता दबिएका विषयमा बहस चलाए, र अझै त्यो बहस निरन्तर चलिरहेको छ । त्यतिबेला नागरिक र राजनीतिक नेतृत्व तथा व्यवस्था जोड्ने माध्यम पनि हुँदैन थियो । त्यसैले साहित्यको भूमिका निकै ठूलो थियो । बीपीले साहित्यलाई माध्यम बनाएर जसरी समाजमा आफ्ना विचारलाई प्रसार गरे, त्यो आजसम्म पनि अन्य राजनीतिक व्यक्तित्वहरुले गर्न सकेका छैनन् । साहित्यमार्फत जनमत बनाउनेबारे त सोचेका पनि छैनन् होलान् ।

बीपी उतिबेलै भन्थे, ‘कम्युनिजम पुँजीको सामाजिकीकरण हो । अर्थतन्त्रलाई खुला छाडिदियो भने पुँजीवाद हाबी हुन्छ र राजनीतिलाई नियन्त्रण गरियो भने अधिनायकवाद जन्मन्छ । तर्सथ राज्य व्यवस्थाका अभिन्न अंग अर्थ र राजनीति नियन्त्रण र फुकुवाबीच निरन्तर अन्तरविरोध भइरहन्छ ।’ उनको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । विशेषगरी सामाजवादउन्मुख मुलुक भनेर संविधानमै किटे पनि, त्यसका आधारहरु के हुन् भन्ने प्रस्ट नभएको बेला, बीपीको नियन्त्रण र फुकुवाबीचको समन्वयको सिद्धान्तले अहिलेको समयलाई दिशा दिन सक्छ ।

नियन्त्रणको अर्थ हो— राज्यले नागरिकको आधारभूत आवश्यकताको जिम्मा लिनुपर्छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता बजारको नियन्त्रण गयो भने राज्य कमजोर हुन्छ, नागरिक कमजोर हुन्छ, कल्याणकारी राज्यको स्थापना हुन सक्दैन । त्यसलै नेपाल बीपीको यही सिद्धान्तअनुरुप अघि बढ्नु पर्छ । यसले नै नागरिकको भविष्य सहज बनाउछ । गरिबी कम गर्छ, असमानता हटाउन मद्दत गर्छ । गरिब दिनानुदिन गरिब हु“दै जाने धनी झन्झन् धनी हुँदै जाने चक्रको पनि अन्त्य हुन्छ । यही परिकल्पना अहिलेको व्यवस्थामा गरिएको हो ।

समानता र स्वतन्त्रताको व्याख्या र प्रयोग गर्न राज्यको नियन्त्रण र फुकुवा अवधारणालाई सीमाबद्ध गर्नु पर्छ । नत्र समाज झुन्डवाजहरुको नियन्त्रणमा पुग्नेछ । मौलिक हक, विधिको शासन र शान्ति सुव्यवस्था कायम गर्न पनि यसको आवश्यकता छ । संविधानका कल्याणकारी धाराहरू, राज्यले अंगिकार गरेको समानुपातिक समावेशी मान्यता तथा संघीय राज्य व्यवस्थालाई जनमुखी बनाउन पनि यो बीपीको यस सिद्धान्तलाई व्यवहारमा ल्याउनुपर्छ ।

नागरिकले उपयोग गर्न नपाएका अधिकारको चाङ लगाएर मात्र राज्य व्यवस्था नागरिकमैत्री भएको ठह“र्दैन । समाजमा विद्यमान दण्डहीनता, अपचलन, भ्रष्टाचार, नैतिकहीनता, असमानता र अन्याय हट्दैन । त्यसैले राज्यले लिएको सिद्धान्तको उपयोग नागरिकको जीवन परिवर्तन र समाजलाई गतिशील बनाइराख्नका लागि हुनुपर्छ । बीपी यस विचारमा प्रस्ट थिए, त्यसैले उनले समाजलाई आजका दिनमा पनि गति दिने विचार छोडिदिएका छन् ।

प्रकाशित : माघ १५, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?