३२ भाषाका ३६ कविता वाचन 

सुनीता साखकर्मी

काठमाडौँ — अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्गलवार 'राष्ट्रिय मातृभाषा कविता महोत्सव' आयोजना गरेको छ । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको छ ।

महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाएका थिए।

यस्तै, पूर्णीमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए।

दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बु, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाकीसहित र्‍याली प्रदर्शन गरे। कमलादीबाट सुरु भएको र्‍याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्न सक्ने बताए। 'बौद्धिकता र गुणस्तरीयको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ। यसलाई सुधार्नुपर्छ,' उपराष्ट्रपति पुनले भने, 'हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला। त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ।'

तस्बिरहरुः सञ्जोग मानन्धर/कान्तिपुर

प्रकाशित : फाल्गुन ९, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

कलामा प्रयोग

युवाले कलामा नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । सिर्जनशील काम गर्नेहरुलाई जीविकोपार्जनको समस्या पनि छैन ।
सुनीता साखकर्मी

काठमाडौँ — ठूलो फ्रेमभित्र सानो पौभा चित्र । आकार एक वर्ग सेन्टिमिटर मात्रै । टाढाबाट आँखाले यो पौभा चित्रमा आकृति ठम्याउन सकिँदैन । नजिकै गएर नियाल्दा सुन्दर मण्डला देखिन्छ । चित्रकार उजय बज्राचार्यले कोरेको यो मिनिएचर चित्रमा गरगहनाका बुट्टा मात्रै छैनन्, अक्षर पनि छन् । काठमाडौं उपत्यकामा हिन्दु तथा बौद्ध दर्शनमा आधारित विषयवस्तुलाई नेवार समुदायले कपडामा विभिन्न रङ मिश्रण गरी पौभा चित्र निर्माण गर्छन् । पौभा चित्र बनाउँदा कलाकारले निश्चित नियम पालन गर्नुपर्छ । मनगढन्ते चित्र कोर्न पाउने छुट हुन्न । 

पौभाका पुराना नियमहरू पालना गर्दै यसमा नयाँ गर्न सकिने भन्दै उजयले सानो पौभा बनाउने कोसिस गरे । ‘पौभामा कोरिने बुट्टा निश्चित छन्, त्यसमा कलाकारले यताउति गर्न मिल्दैन,’ उनले भने, ‘साइजमा भने परहेज छैन । नियम पालना गर्दै जत्रो साइजको चित्र बनाए पनि हुन्छ ।’ ‘बज्रबाराही मण्डला’ शीर्षकको त्यो सानो फ्रेममा उनले ज्वालावली (अग्नि), वज्रावली (बज्रका माला), खप्परको माला र त्रिभुजाकारभित्र वज्रबाराहीको ‘वं’ अक्षर कोरेका छन् । सर्कलबाहिर पनि चार कुनामा बज्र बनाएका छन् । सामान्यतया पौभा चित्रको साइज तीन/चार फिट हुन्छ ।
उनले सन् २००८ मा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा २८ वर्गफिटको ‘वल्र्ड लार्जेस्ट’ मण्डला बनाएका थिए । त्यतिखेर ठूलो पौभा चित्रले व्यापक चर्चा दिएको थियो उनलाई । ठूलोपछि केही नयाँ गर्ने सोचअनुसार मिनिएचर बनाएको उनले बताए । इनाजोलका ३७ वर्षीय उजयले पौभा चित्र कोर्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ ।

कला लेखक देवेन्द्र थुम्केलीका अनुसार प्रतिमा लक्षण विधानशास्त्रमा पौभा चित्र बनाउने नियम छ । त्यसमा कुन देवताको स्वरूप कस्तो हुनेदेखि रङहरूबारे समेत उल्लेख गरिएको छ । पौभा दुई हजार वर्ष पुरानो मानिन्छ । तर, १२ औं शताब्दीदेखिका पौभा मात्रै भेटिएको उनी बताउँछन् । तिनै पौभाकलाको विम्ब लिएर ‘कन्टेम्पोररी’ कला बनाउने चलन सुरु भइसकेको छ । हिन्दु तथा बुद्ध धर्मसित जोडेर धार्मिक प्रयोजनका लागि बनाइने हुँदा निश्चित नियम पालना गर्नुपर्ने उनले बताए ।
उजयले नांगा आँखाले मिनिएचर चित्र बनाएका थिए । आँखाको तेजिलोपन र सोचाइमा सूक्ष्मता नभएका चित्रकारले पौभा सिर्जना गर्न सक्दैनन् । नाङ्गा आँखाले लामो समय सूक्ष्म रूपमा काम गर्दा आँखामै खराबी आउन सक्ने खतरा पनि हुन्छ । उजय भन्छन्, ‘ठूलो बनाउनभन्दा सानो बनाउन गाह्रो हुने रहेछ । धेरै बेर नियालेर काम गर्दा आँखा दुख्थ्यो । केही बेर आराम गर्दै बनाउँदा एक साता लाग्यो ।’ सानो मण्डला बनाउँदाको भिन्नता महसुस गर्न यो चुनौती लिएको
उनले बताए ।

पछिल्लो समय पौभा चित्रको बजार पनि सन्तोषजनक रहेको उजयले बताए । ‘दुई दशकअघि चित्र बेचेर बाँच्न गाह्रो थियो,’ उनले भने, ‘अहिले राम्रो काम गरे यसैबाट जीविकोपार्जन हुन सक्ने वातावरण बनेको छ ।’ पहिले चित्रका खरिदकर्ता विदेशी मात्रै हुने गर्थे । अहिले नेपालीले पनि किन्न थालेका छन् । ‘पहिले पौभा चित्र किनेर सजाउने सोच थिएन, मिहिनेत धेरै हुने भएकाले चित्रको मूल्य पनि धेरै हुन्थ्यो,’ उनले भने, ‘अहिले नेपाली खरिदकर्ता धेरै आकर्षित छन् ।’
परम्परागत रूपमा पौभा चित्र सजावटभन्दा पनि सांस्कृतिक रूपमा पूजाआजा वा मेडिटेसन, भिजुअलाइजेसनका लागि प्रयोग हुन्छ । नियममा बाँधिएरै पनि ‘इनोभेटिभ’ काम गर्न सकिने चित्रकार रितेश शाही बताउँछन् । ‘देवताको वस्त्र, बज्र, स्थान भिन्नै बनाउन मिल्दैन,’ उनले भने, ‘तर चित्रमा बनाउने कलश, ब्याकग्राउन्ड कलाकारले सिर्जनशील तरिकाले बनाउन सक्छ ।’ उनले हालै पौभालाई तिब्बतियन शैलीसितफ्युजन गर्दै बनाएका छन् । ३० वर्षीय रितेशका अनुसार पछिल्लो समय पौभा चित्रकारहरूको संख्यामा वृद्धि भइरहेको छ । पौभा चित्रको स्तर घट्दै गएको हो कि भन्ने पनि उनलाई लाग्छ । परम्परागतबाट भिन्न गर्दा गालीगलौज सामना गर्नुपर्छ । उनले भने त्यस्तो भोगेका छैनन् । प्रोत्साहन मिलिरहेको छ । उनी भन्छन्, ‘पुरानोलाई बिगार्नु भएन । परम्परागत नभए पनि कलामा निखार ल्याउने ध्येयले गरेको कामलाई समाजले स्विकार्ने रहेछ ।’

चित्रकार रितेशका अनुसार नेपाली पौभा कलाको बजार चीन हो । पौभाको गुणस्तर खस्किन थालेदेखि बजार पनि कम भएको हो कि भन्ने महसुस रितेशलाई हुन्छ । कलाकारले बजार बचाउन चित्रको गुणस्तरमा ख्याल गर्नुपर्ने उनी बताउँछन् ।

अहिले जमाना स्मार्ट भएको छ । कला कोर्ने साधनदेखि विधि र ‘फर्म’ फेरिएका छन् । कलाकार रोशन भण्डारी दुईभन्दा बढी फर्म फ्युजन गर्दै कला बनाउँछन् । कला पढ्दै गर्दा उनले सबै फर्मका पेन्टिङ बनाउने गर्थे । स्नातकोत्तर सकाएपछि उनले दुवैलाई फ्युजन गर्ने सोचे । ‘एब्स्ट्रयाक्ट’ सित ‘फिगरेटिभ कम्पोजिसन’ लाई फ्युजन गर्दै उनी चित्र कोर्छन् । उनको चित्रमा कल्पना र वास्तविकताको फ्युजन भेटिन्छ । ‘स्ट्रोक’, ‘स्प्लासेस’ र ‘कलर कम्बिनेसन’ लाई फोकस गर्दै फिगर मार्फत आइडिया प्रस्तुत गर्ने शैली नयाँ हो । जसरी मानिसमा बाहिरी कुराले प्रभाव पार्छ, त्यस्तै रोशनको चित्रमा देखिने हरेक क्यारेक्टरलाई बाहिरीको रङ, स्प्लासेसले पारिरहेको देखिन्छ ।

उनी भन्छन्, ‘मेरा चित्रमा फिगर पनि ब्याकग्राउन्डका रूपमा प्रयोग हुन सक्छ र कुनै बेला ब्याकग्राउन्ड पनि मुख्य फिगरका रूपमा उतार्न सक्छु ।’ ‘थर्ड प्रोसेस’ बाट पेन्टिङ गर्न गाह्रो भए पनि उनलाई यसमै रस पसिसकेको छ । बदलिँदो समयअनुसार कलाकारले पनि आफ्नो कला समयानुसार परिवर्तन गर्न‘पर्ने उनलाई लाग्छ । ‘व्यावसायिक रूपमा मात्रै पेन्टिङ बनाउनु छ भने जे गरिरहेको हो त्यही गर्दा हुन्छ,’ उनले भने, ‘समयअनुसार आफूलाई परिवर्तन गर्नु कलाकारको दायित्व पनि हो । नयाँ आउने पिंढीलाई नयाँ बाटो र क्षेत्र खुल्न सक्छ । कला जगत्ले नयाँ मोड लिन सक्छ ।’

केही नयाँ गर्ने इच्छा, सोच छ भने चुनौती लिनैपर्ने उनी बताउँछन् । चित्रकार रोशनका अनुसार अन्य मुलुकसित तुलना गर्दा नेपालको कला बजार त्यति ठूलो छैन । तर १०/१५ वर्षयता कलाको बजार राम्रो भएको छ । उनी र उनका साथीहरू कलाबाटै जीविकोपार्जन गरिरहेका छन् । इनोभेटिभ र क्रियटिभ काम गर्ने कलाकारको जीविकोपार्जनमा समस्या नभएको उनले सुनाए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्