कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
डा. कोजुसँग चित्रका कुरा

‘चित्र बनाउँदा बाल्यकालमा फर्किन्छु’

बुनु थारु

काठमाडौँ — हरियाली वातावरणमा केटाकेटीहरू रमाइरहेका छन् । कोही चंगा उडाइरहेका छन् त कोही टायर गुडाउँदै छन्। कोही डमरु पनि बजाउँदै छन् । अनि रुखको छेउमै केही व्यक्ति लंगुरबुर्जामा झुम्मिएका छन् । आफ्नो बाल्यकालको दसैंको स्मृति चित्रमार्फत पस्किएका डा. राजेन्द्र कोजुको यो चित्रले दसैंको छनक दिन्छ ।

‘चित्र बनाउँदा बाल्यकालमा फर्किन्छु’

उनको अर्को चित्रमा घरको बन्द कोठाभित्र मानिसहरू कोही खाटमा पल्टिएर त कोही भित्तामा अडेस लगाएर मोबाइल चलाउन व्यस्त देखिन्छन्। केहीबच संवाद भएको पनि देखिँदैन । उनका यी दुई चित्रले कसरी समय फेरिएसँगै दसैंको त्यो उल्लास र उमंग अहिले प्रविधिले ढाकेको छ भन्ने यथार्थ प्रस्तुत गर्छ ।

दसैंको छेको पारेर डा. कोजुले आफूले कोरेको ‘त्यो दसैं, यो दसैं’ चित्र फेसबुकमा पोस्ट गरेका थिए जुन धेरैले रुचाए । धुलिखेलका ५५ वर्षीय डा. कोजु मुटुरोग विशेषज्ञ हुन् । फुर्सदको समयमा किताब तथा गीत गुनगुनाउन मन पराउने उनी चित्र कोर्न पनि रुचि राख्छन् । विद्यालय पढ्दादेखि नै पेन्सिलबाट स्केच कोर्न मनपराउने उनी प्राय: प्रकृति, भगवान, गाडी, हवाइजहाजका चित्रहरू बनाउँथे। मेडिसिन पढ्दा एनाटोमीको विषयमा शिक्षकले उनलाई बोर्डमा शरीरको संरचना बनाउन लगाउँदा उनी हौसिँदै बनाउथे।

‘म त सैद्धान्तिक प्रश्नमा पनि चित्रसहित उत्तर दिन्थेँ ।स्केच बनाउन मजा लाग्थ्यो,’ उनले हाँस्दै भने । एमबीबीएस पढ्न थालेपछि भने चित्र कोर्न फुर्सद कम मिल्न थाल्यो । कोभिडको समयमा भने उनले आफ्नो रुचीलाई निरन्तरता दिन पाए ।त्यसबखत धेरै चित्रहरू कोरे । अहिले पनि फुर्सदको समयमा विशेषगरी शनिबार मुड चलेको बेला चित्र कोर्न बसिहाल्छन् । प्रायः उनी बेलुकाको समयमा नभए मुड चलेको बेला चित्र बनाउन सुरु गर्छन् । डटपेनबाट स्केच दिमागमा फुरेको बेला जहाँ पनि बनाइदिन्छन्।

उनले पेन्सिल, डटपेनले कोरेका स्केच तथा डिजिटल पेन्टिङहरू पोस्ट गरिरहन्छन् ।उनका धेरैजसो चित्रमा बाल्यकालीन स्मृति पोखिएको हुन्छ ।साइकल चलाएको, चंगा उडाएको, झरीमा पानी कागजे डुंगा बनाएर खेलेको सम्झनाहरू उनी चित्रमा उतार्छन् । त्यसैगरी कतै घुम्न जाँदा कुनै ठाउँको मनमोहक दृश्यलाई पनि कसरी चित्रमा उतार्ने होला भनेर सोच्छन् ।


डा. कोजु भन्छन्, ‘धेरैले सम्झिने भनेको बाल्यकाल हो त्यसैले ती सम्झनाहरू उतार्न रमाइलो लाग्छ ।सामाजिक अवस्था अनि ठाउँ विशेषको चित्रहरू पनि कहिलेकाहीँ कोर्छु ।’ उनले वाटर कलरबाट पेन्टिङ सिकेका छन् । युट्युबबाट तरिका सिकेका उनी ओयल पेन्टिङ पनि गर्छन् साथै डिजिटिल पेन्टिङ गर्न पनि रुचाउँछन् । डा. कोजुलाई कुनै चित्र बनाउँदा ५ दिनसम्म लागेको छ । प्रायः ओयल पेन्टिङ बनाउन समय लाग्ने उनी बताउँछन् । कहिलेकाहीँ उनी २ देखि ३ घण्टासम्मै बनाइसक्छन् । केही चित्रहरू भने अपुरो पनि छोडेका छन् ।

उनी धेरैजसो सम्झनामा अड्किएका दृश्यहरूलाई कागजमा उतार्छन् भने केही फोटो हेरेर पनि बनाउँछन् । सम्झिँदै चित्र बनाउँदा आफू त्यही समयमा यात्रा गरिरहेको जस्तो आभास हुने डा. कोजु बताउँछन् ।‘जस्तै बाल्यकालका सम्झनाहरू बनाउँदा त्यही समयमा यात्रा गरेको जस्तो लाग्छ । जस्तै धुलिखेलमा बसेर फेवातालको चित्र बनाउँदा तालको नजिकै छु जस्तो लाग्छ । चित्र बनाउँदा मेडिटेसन गरेजस्तो लाग्छ ।रमाइलो अनुभव गर्छु,’ उनले भने ।

पेन्टिङको सौखिन उनले घरमा हिमाल, पुरानो काठमाडौं, नेपाली मुखाकृतिहरू घरको भित्तामा झुन्ड्याएका छन् । पेन्टिङ पसलामा जाँदा उनी पेन्टिङ हेर्दै घण्टौं डुब्छन् । साथीभाइलाई कहिलेकाहीँ उपहार पनि दिन्छन्। उनले पनि सानो थान्काको उपहार पाएका छन्। उनले बनाएको घण्टाघरको चित्र पनि धेरैले मनपराएका थिए केही साथीहरूले त आफिसमा राख्नका लागि राम्रो छ भनेर मागे पनि ।

उनी आफूले बनाएका २ वटा पेन्टिङ आफू कार्यरत धुलिखेल अस्पतालमा राखेका छन् । घरमा भने राखेका छैनन् । भविष्यमा अलि धेरै जम्मा भएपछि राख्ने उनको योजना छ । डा. कोजु भन्छन्,‘प्रदर्शनीमा जानुपर्ला भनेर सोचेको थिएँ तर त्यति धेरै चित्रहरू छैनन् ।रुचि हुनाले बनाइराख्ने हो ।ठूलो स्केचहरू छैनन्।’

प्रकाशित : आश्विन ३०, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?