खानाप्रेमी डा संगीता- ‘खाना पकाउने प्रतियोगितामा फर्स्ट भएको थिएँ’- जीवनशैली - कान्तिपुर समाचार

खानाप्रेमी डा संगीता- ‘खाना पकाउने प्रतियोगितामा फर्स्ट भएको थिएँ’

उनलाई खाना पकाउन त रुचि छ नै खाना पस्किने तरिका पनि राम्रो बनाउने प्रयत्न गर्छिन् । खानाको स्वादमात्र नभई हेर्दै खाउँ–खाउँ लाग्ने गरी पस्किने प्रयास गर्छिन् उनी ।
बुनु थारु

काठमाडौँ — प्रा.डा. संगीता भण्डारी भारतको सिम्लामा कक्षा ११ मा अध्ययनरत थिइन् । सो समय कलेजले खाना पकाउने प्रतियोगिता आयोजना गऱ्यो। उनले तिब्बती शैलीमा नेपालीपन मिसाएर म:म बनाइन् । उनको परिकारलाई पस्किने कला र जाडो मौसममा तात्तातो म:मले निर्णायक मण्डलको ध्यान खिच्यो ।

उनी प्रथम घोषित भइन् । ‘मैले म:मलाई क्यापसिकम काटेर मजाले सजाएको थिएँ। त्यसमाथि जाडो थियो, अनि तातो म:मको स्वाद सबैले मनपराए,’ डा. भण्डारीले ती तीन सम्झिइन् ।

डा. भण्डारी आफूलाई खानाको सौखिन मान्छिन् । उनलाई आफूले खानभन्दा पनि परिवार तथा साथीभाइलाई खुवाउन मनपर्छ । फुर्सदको समयमा उनी नयाँ–नयाँ परिकार बनाएर खुवाउन बिर्सिन्न । उनी बाल्यकालदेखि भान्सामा आमाले पकाएको हेर्ने गर्थिन् र सघाउँथिन् । त्यसपछि पकाउने रुचि पनि बढ्दै गयो । भन्छिन्–‘मेरो आमाले मिठो पकाउने त्यसैले पनि मेरोमा अलिकति गुण आएको होला ।’ कक्षा ८ सम्म होस्टल बसेर पढेकी उनी घर आउँदा भान्सामा सघाउने गर्थिन् ।उनलाई घर आउँदा चाउमिन तथा चिकेन चिल्लीहरु बनाएको याद आउँछ ।

विशेषत: लकडाउनको बेला उनले विभिन्न नयाँ परिकारहरु बनाउन सिकिन् । उनी म्यागजिन तथा युट्युबबाट रेसिपीहरु सिक्दै परिकार बनाउने प्रयास गर्थिन् । के पकाउने भनेर सोचेपछि सामान जुटाएर उनी भान्सामै ल्यापटप अगाडी राखेर युट्युबबाट परिकार बनाउन थाल्छिन् । खानेकुरा कहिले राम्रो बन्छ त कहिले नराम्रो। कति पटक खानेकुरा डढेको पनि सम्झिन्छिन् उनी ।

एकपटक मिठो नबनेको खानेकुरा पटक–पटक प्रयास गरेर मिठो बनाउने प्रयास गर्ने बताउँछिन् । प्राय: शुक्रबार तथा शनिबार बिदाको बेलामा उनी केही विशेष परिकार बनाइराख्छिन् । भन्छिन्– ‘आफ्नो परिवारलाई बाहिरको भन्दापनि घरकै खाना खुवाऔँ भन्ने हो। परिवारलाई मीठो र घरकै खाना खाना दिउँ भन्ने ध्येयले झन् पकाउने रुचि जागेको छ।’

उनले लकडाउनका बेला बेकिंग सिकिन् ।चाइजिन फुड मनपराउने उनले इटालियन फुड, पास्ता तथा चाइनिज फुडका प्रकार, बिरयानी, ग्रीन स्यालेड बनाउन सिकिन् ।उनले पकाएको खानेकुरा अरुले मिठो भनेर खाइदिदा खुसी मिल्ने बताउँछिन् उनी ।परिवारमा उनले बनाएको पास्ता खुबै मनपराइन्छ । उनी थुप्रै प्रकारका ग्रीन स्यालेडहरु बनाउन सिपालु छिन् ।

‘आजकल अलि हेल्दी फुड बनाउन मनलाग्छ। बच्चाहरु पनि स्वास्थ्यप्रतिसजग भइसकेका छन् । कहिलेकाही स्यान्डविच तथा सुप पनि बनाउँछु ।भान्सामा माछा पनि प्राय पाकिरहेको हुन्छ,’ उनले भनिन् । हेल्दी पनि मिठो पनि भनेर मनपराउँछन् । घरमै पकाउन थालेपछि परिवारमा खाने बानी पनि परिवर्तन आएको उनको बुझाइ छ । घरका सदस्यले चिल्लो कम भएको स्वस्थ्यकर खानामा बढी रुचि देखाएका छन् ।

उनी घुम्न पनि एकदमै मनपराउँछिन् । विदेश भ्रमणमा जाँदा उनलाई त्यहाँ स्थानीय विशेष परिकार चाख्न मनलाग्छ । खानाप्रेमी डा. संगीता भन्छिन्– ‘फरक देश फरक खानाको स्वाद । मनपरेको खाना नेपालआएपछि त्यसलाई बनाउने कोसिस गरिरहेको हुन्छु।’

घुम्न जाँदा विशेषगरी युरोपको मेडिटेरियन फुडहरु औधी मनपर्ने उनले बताइन् । उनलाई खाना पकाउन त रुचि छ नै खाना पस्किने तरिका पनि राम्रो बनाउने प्रयत्न गर्छिन् । खानाको स्वाद मात्र नभइ हेर्दे खाउँ–खाउँ लाग्ने गरी पस्किने प्रयास गर्छिन् उनी ।भन्छिन्–‘खाना पस्किँदा टेबलको लेआउट पनि राम्रो हुनुपर्छ । मलाई कुन खाना हो त्यसलाई सुहाउने भाँडामा सजाएर पस्किन मनपर्छ ।’हालैमात्र ग्रिस भ्रमण गरेर आएकी उनले बेकिंग तथा बार्बिक्यु बनाउनकालागि सामान लिएर आएकी छिन् । उनले हाँस्दै सुनाइन्–‘मलाई थरीथरीको भाँडाहरु संकलन गर्न मनलाग्छ ।मेरो आधा सुत्केश त खानेकुरा पस्किने र बनाउने भाँडाले भरिएको हुन्छ ।’

अरुबेला पनि घरमा खसीको कबाब बनाइराख्ने उनी यो परिकार दसैंमा टुटाउँदिनन् । ‘बच्चाबेलाको दसैं नै रमाइलो लाग्थ्यो ।पहिले दसैं भनेपछि मासु,नयाँ लुगा अनि आफन्त भेटघाट हुन्थ्यो। अहिले त्यस्तो छैन । आफूले जानेको परिकार बनाउँछु होला तर आमाहरुले बनाएको जस्तो त बन्दैन होला,’ उनले भनिन् ।


प्रकाशित : आश्विन १८, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

दसैं शुभकामनामा नेताहरूको चुनावी सन्देश

चुनावी चटारोका कारण प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको औपचारिक शुभकामना सन्देश अझै आएको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहको दसैंको शुभकामनामा संविधान र व्यवस्थाप्रति आक्रोश
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा यो वर्ष दसैंसँगै लोकतन्त्रको उत्सव मानिने आम निर्वाचनको प्रक्रिया पनि चलिरहेको छ । एकातिर निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाइरहेको छ भने अर्कोतर्फ दसैंको माहौलले गाउँसहरमा रौनक छ ।

दसैं मनाउन विदेश र सहरबाट गाउँघर पुगेकाहरूबीच चुनावी चर्चा पनि हुन थालेको छ । राजनीतिक दलका नेता र कार्यकर्ताहरू मतदातालाई आफ्नो पक्षमा पार्न दसैंलाई अवसरका रूपमा प्रयोग गरिरहेका छन् । दसैंका अवसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर आफ्ना एजेन्डा जनतामाझ राखिरहेका छन् ।

दसैंको माहोललाई राजनीतिमय बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरू पनि गाउँघरतिर कार्यक्रम गरिरहेका छन् । दसैंकै माहोलमा प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको छनोट गर्न पनि राजनीतिक दलका नेताहरू व्यस्त छन् । समानुपातिकको अन्तिम नामावली फूलपातिका दिन निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरूले कोजाग्रत पूर्णिमाका दिन असोज २३ मा प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नेछन् ।

दसैं र राजनीतिक चटारोमा रहेका राजनीतिक दलका नेताहरू र राजनीतिक क्षेत्रका व्यक्तिहरूले शुभकामना सन्देश जारी गरिरहेका छन् । सत्तारुढ दलका नेताहरू, संवैधानिक पदमा रहेका पदाधिकारीदेखि पूर्वराजासम्मले शुभकामना सन्देश जारी गरिसकेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका केही शीर्ष नेताहरूले भने सन्देश जारी गर्न बाँकी छ ।

शुभकामना सन्देश जारी गरिनसकेकी राष्ट्रपति विद्यादेवी भण्डारी दसैं सम्बन्धित विभिन्न औपचारिक कार्यक्रममा सहभागी भइरहेकी छन् । दसैंको महानवमीको दिन मंगलबार राष्ट्रपति भण्डारीले कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् ।

राष्ट्रपतिले दसैंको दिन टीका र प्रसाद प्रदान गर्ने कार्यक्रम पनि राष्ट्रपति कार्यालयबाट सूचना जारी भएको छ । जसअनुसार इच्छुक उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्य तथा संवैधानिक निकायका पदाधिकारीहरूका लागि बुधबार दिउँसो २ देखि ३ बजेसम्म टीका र प्रसाद प्रदान गर्ने समय निर्धारण गरिएको छ । त्यस्तै, राष्ट्रपतिले सर्वसाधारणलाई भने बुधबार ३ बजेदेखि ५ बजेसम्म टीका र प्रसाद प्रदान गर्ने कार्यक्रम शीतल निवासले तय गरेको छ ।

प्रधानमन्त्री देउवाले पनि दसैंको सन्देश जारी गरेका छैनन् । हाल उनी सत्तारुढ गठबन्धका बैठकमा व्यस्त रहेका छन् । पार्टीभित्र उम्मेदवार चयनदेखि गठबन्धनमा भागबण्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा दिनदिनै बैठक भइरहेका छन् । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दसैंको शुभकामना जारी गरिसकेका छैनन् । उनका सामाजिक संजालमा पछिल्लो पटक संविधान दिवसका शुभकामना मात्रै पोष्ट गरिएको छ । उनी उम्मेदवार चयन गर्न र विभिन्न ठाउँमा आयोजना भइरहेका पार्टीका आमसभाहरूमा व्यस्त रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले दसैंको शुभकामना सन्देश जारी गरेका छन् । उनीहरूको दसैं शुभकामनामा आगामी निर्वाचन लक्षित सन्देश रहेका छन् ।

सभामुख सापकोटाले दसैंका लागि जारी शुभकामना सन्देशमा भनेका छन्, 'चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने छन् भन्ने विश्वास लिएको छु । आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचन निश्पक्ष रुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहने कुरालाई गहिरो गरी आत्मसात गर्न सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूलाई आग्रह गर्दछु ।'

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने दसैंले 'समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान सफल बनाउने र आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ' भन्ने शुभकामना सन्देश जारी गरेका छन् । 'हाम्रो मुलुक सांस्कृतिक विवधिताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक, सांस्कृतिक चाडपपर्व, मूल्यमान्यता तथा प्रचलनहरू, रितिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अंगका रूपमा रहेका छन्,' उनले भीडीयो सन्देशमा भनेका छन्, 'विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिको रूपमा रहनेछन् । यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्नेछ । जसको फलस्वरुप संघीयता मजबुद बनाउन समेत योगदान पुग्नेछ ।'

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने दसैंको सन्देशमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे उल्लेख गरेका छन् । 'सांस्कृतिक पर्वहरूको श्रृङ्खलाभित्र अब हामी प्रादेशिक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु,' दाहालको शुभकामना सन्देशमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने मंसिर ४ गतेको निर्वाचनमार्फत गरिबी निवारण गर्ने, राष्ट्रियतालाई दह्रो बनाउने उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् । कम्युनस्ट नेताहरू पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर छापिएको फ्लेक्स फ्रेममा पर्ने गरी राखेर भीडीयोमार्फत शुभकामना सन्देश जारी गरेका उनले चुनाव चिह्न 'कलम' रोज्न आग्रह गरेका छन् ।

अग्रगति, प्रगति र समृद्धिको शुभकामना जारी गरेका खनालले भनेका छन्, 'यी निर्वाचनमा देशलाई आमूल परिवर्तनतर्फ लाने, सामाजिक, आर्थिक रूपान्तरण गर्ने, देशको गरिबी समाप्त पार्ने, देशको राष्ट्रियता दह्रो बनाउने उम्मेदवारहरूलाई तपाईं हामीले विजयी बनाउनुपर्छ ।'

एमाले महासचिव शंकर पोखरेलले दसैंको शुभकामना सन्देश भीडीयो मार्फत जारी गरेका छन् । दसैंले सिंगो राष्ट्रलाई जोड्ने, परिवार मिलनको पर्व रहेको भन्दै उनले निर्वाचनमा पनि त्यसको उपयोगितामा उनले जोड दिएका छन् । 'दसैंसँगै हामीले एउटा राष्ट्रिय पर्व पनि मनाउँदैछौं, आम निर्वाचनको पर्व । मंसिर ४ को निर्वाचन दसैंको लगत्तै आरम्भ हुँदैछ । मुलुकमा असत्यमाथि सत्यलाई स्थापित गर्ने एउटा महान अभियानका रूपमा हामीले आउँदै गरेको निर्वाचनलाई सफल पार्नुछ । राष्ट्र निर्माणका लागि यो निर्वाचन धेरै महत्वपूर्ण छ,' उनले भनेका छन्, 'निर्वाचनले मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउँछ । एकातिर गठबन्धन छ र अर्कोतर्फ राष्ट्रिय शक्ति निर्माणको हाम्रो संकल्प छ । स्वाभाविक रूपमा देशको समृद्धि र विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । शक्तिको उपासनाको पर्व दसैं, राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पको दिन आम निर्वाचन । त्यस अर्थमा हामीले आम निर्वाचन र दसैंलाई मुलुकको भविष्य निर्माण गर्ने अभियानका रुपमा अगाडि बढाऔं ।'

दसैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सन्देश जारी गरेका छन् । उनको सन्देश विगतका तुलनामा बढी राजनीतिक र आक्रोश मिसिएको छ । १० मिनेट लामो भीडीयो सन्देशमा उनले मुलुकको आन्तरिक राजनीति, परराष्ट्र नीति, सुरक्षा नीतिबारे असन्तुष्टि जनाउँदै अहिलेको संविधान र व्यवस्था जोगाउँदा घाटा हुने अभिव्यक्ति दिएका छन् ।

पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको तस्बिर सजाइएको कुर्सीमा बसेर दसैंको शुभकामना सन्देश वाचन गरेका पूर्वराजा शाहले कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको जस्तो आफूलाई नलागेको बताएका छन् । 'बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकांक्षाअनुसारुप संगठीत राजनीतिक दलहरू हुन्छन् । विभिन्न तहका प्रतिनिधिसभामा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनित्व हुन्छ र तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ । तर आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको छ,' राजनीतिक दल र व्यवस्थाप्रति असन्तुष्टि रहेको उनको सन्देशमा भनिएको छ, 'पदलोप, सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेकाका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?'

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा उत्पन्न विवादले वर्तमान व्यवस्थामाथि प्रश्न उठाएको शाहको भनाइ छ । 'पुर्खाले आर्जेको यो स्वाधिन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर, सुन्दर नौलो नेपाल भइहाल्नदो रहेनछ । त्यसैले बलियो मियोमा एकताबद्ध भएर राम्रो र बलियो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ,' उनले भनेका छन्, 'विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ ।'

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिइरहेको भन्दै संकट समाधानतर्फ लाग्न आग्रह गरेका छन् । दसैंको शुभकामना सन्देश भीडीयोमार्फत जारी गरेका उनले भनेका छन्, 'देश अहिले एउटा संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । अझैपनि देशको संकट समाधान भइसकेको छैन । व्यवस्थामाथि अहिले पनि संकटको बादल मडारिइरहेको अनुभूति भएको छ ।'

मुलुकमा सुशासन, उन्ततिको सामर्थ्य प्रदर्शन गर्नुपर्ने पौडेलको भनाइ छ । 'देशलाई उल्टो बाटोतिर लाने प्रवृतिलाई निरुत्साहित गर्ने सामर्थ्य हामीमा आवश्यक परेको छ । त्यसको लागि मुलुकको प्रष्ट दिशा र लक्ष्य अगाडि राखेर हामीले गठबन्धन गरेका छौं । मुलुकको हित, स्थिरता र विकासको लागि, नेपालको उन्नति र सामाजिक न्यायको लागि प्रयत्नमा हामी डटिरहेका छौं,' उनले भनेका छन् । उन्नतिको मार्गलाई पछाडि धकेल्न 'मुन्टो उठाउने प्रवृत्ति'लाई निरुत्साहित गर्न सबैमा कार्यक्षमता र सुशासन दिने नैतिक शक्ति र सामर्थ्यको आवश्यकता परेको उनको भनाइ छ ।

मुलुकलाई दुर्घटनामा लैजानका निम्ती भइरहेका प्रयासलाई निरुत्साहित पार्दै अहिलेको व्यवस्था जोगाउँदै मुलुकलाई उन्नतिको मार्गमा लैजानुपर्ने पौडेलको शुभकामना सन्देशमा उल्लेख छ । उनले चुनावी एजेन्डाबारे भनेका छन्, 'जनताले पाएको अधिकार रक्षा नै अहिलेको महत्वपूर्ण एजेन्ड हो । त्यसलाई लिएर नै जनताको बीचमा जाँदैछौं ।'

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दसैंको शुभकामना भिडियोमार्फत जारी गरेका छन् । उनले चुनाव लक्षित गर्दै भिडियो सन्देशमा भनेका छन्, 'यस पर्वले नेपाली राजनीतिलाई सत्य, निष्ठा, इमान र समृद्धिको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस् । मंसिर ४ नेपाल र नेपालीको मुहार फेर्न ऐतिहासिक दिन बन्न सकोस् ।'

प्रकाशित : आश्विन १८, २०७९ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×