तिहारमा बनाउनुस् यस्ता परिकार

कान्तिपुर संवाददाता

काठमाडौँ — उज्यालोको पर्व तिहार मंगलबारबाट सुरु भइसकेको छ । दीपावली गर्ने र देउसी भैलो खैल्ने मात्र होइन, विभिन्न प्रकारका रोटीहरू तिहारमा बनाउने चलन छ । प्राय: देउसी भैलो खेल्दै आउने भैलेनीहरूलाई नाङ्लाभरी सेल रोटी र अरु मिस्ठान्‍न परिकार दिने गरिन्छ । हामीले आज तिहार विशेष फिनी रोटी, सेल रोटी र अनरसाको रेसिपी प्रस्तुत गरेका छौँ ।

तिहारमा बनाउनुस् यस्ता परिकार

फिनी रोटी

फिनी रोटी तिहारमा अनिवार्य जस्तै हुन्छ । यो धेरै दिनसम्म राखेर खान मिल्ने भएकाले पनि धेरैको रोजाइमा पर्छ ।

-मैदा १ केजी

-घिउ ४ देखि ५ ठूलो चम्चा

-साथो बनाउनको लागि थोरै मसिनो चामलको पिठो

-रोटी तार्नका लागि एक लिटर सनफ्लावर तेल

सुरुमा हामी रोटीका लागि पिठो मुच्छौँ । पिठो एकदम गिलो पनि हुनुहुँदैन र कडा पनि । ठिक्कको मुच्छनुपर्छ । पिठो मुछेर १ देखि २ घण्टा छोपेर राख्नुपर्छ । त्यसैगरी साथो बनाउनका लागि मसिनो चामलको पिठो आवश्यक पर्छ । सुरुमा आवश्यकता अनुसार घिउ लिने र त्यसलाई मज्जाले फिट्नुपर्छ । फिटिसकेपछि पिठो हाल्ने र मज्जाले मिक्स गर्ने । यसो गर्दा पिठो र घिउ फिटिनुपर्छ । फिनी राेटीका लागि रोटी ठूलो अनि चाक्लो आकारमा बेल्नुपर्छ । त्यसपछि आकार मिलाउन साइड –साइडमा काट्ने । अनि साथो दलेर पिठोलाई तलबाट फोल्ड गर्दै लानुपर्छ । फोल्ड गरिएको लामो आकारमा भएपछि हल्का तान्ने र त्यसपछि टुक्रा टुक्रा पार्ने । टुक्रा पारिएको रोटी सबै कुनाबाट मिल्ने गरी मज्जाले फैलाएर बेल्ने । र आफ्नो इच्छाअनुसार रोटीलाई चिर्ने र तेलमा तार्ने । रोटी बनाउँदै तेलमा पकाउँदै गर्दा रोटी बढी फुल्ने हुन्छ । सेतो नै मनपर्छ भने रोटी फुलेर निकाल्ने नभए हल्का रातो हुने गरी रोटी तार्ने । अनि फिनी रोटी तयार हुन्छ ।

सेल रोटी

सेल राेटी धेरैकाे प्रिय राेटी हाे । तिहारमा याे राेटी प्राय: सबैकाे घरमा पाक्छ ।

-३ कप चामल वा आवश्यकता अनुसार लिने

-१ लिटर सनफ्लावर तेल

-३ देखि ४ चम्चा घिउ

- सुकमेलकाे धुलाे

सुरुमा चामललाई मिक्सरमा पिस्ने । पिठो अलि खस्रो हुनुपर्छ । पिठो खस्रो भयो भने सेल रोटी काँडेदार अनि खोक्रो बन्छ । पिठो पिसिएपछि त्यसमा सुकमेलको धुलो मिसाउने । मनपर्दैन भने नहाले पनि हुन्छ । एक कप चिनी राख्ने र घिउ राखेर मज्जाले २० मिनेटसम्म मुछ्ने । तपाईँले पिठोसँगै घिउ र चिनी हालेर मिक्सरमा पिस्न पनि सक्नुहुन्छ । मुछिसकेपछि थोरै थोरै मनतातो पानी हाल्दै मिश्रण तयार पार्ने । मिश्रण एकदम पातलो वा गाढा हुनुहुँदैन । ठिक्कको हुनुपर्छ । त्यसपछि मुछिएको मिश्रणलाई ३ घण्टासम्म छोडिदिने । त्यसपछि रोटी बनाउनका लागि तपाईँले बोतलको आधा काटिएको भाग, सोली वा सेल रोटी मेकर लिन सक्नुहुन्छ । सेल रोटी बनाउन सिपालुले हातैले पनि राम्रो बनाउन सक्छन् । तेल एकदम धुवाँदार हुनुपर्छ । त्यसपछि बिस्तारै रोटी हाल्ने । अनि मज्जाले फर्काएर पकाउने । सेल रोटी खानको लागि तयार हुन्छ ।

अनरसा

-२ गिलास चामल

-१ कप मसिनो चिनी

-थोरै चिनी वा तिल

अनरसा बनाउका लागि केही समय लाग्ने भए पनि यो मिठो रोटीको रुपमा गनिन्छ । २ गिलास चामल लिएर कम्तीमा ७ देखि ८ घण्टासम्म भिजाउने । रातभर पनि भिजाएर राख्न सकिन्छ । पानी सबै छानेर त्यसलाई घाममा सुकाउनुपर्छ । ४५ मिनेटदेखि १ घण्टामा चामल सुक्छ । त्यसलाई मिक्सरमा एकदम मसिनो गरी पिस्नुपर्छ । त्यसपछि १ कप जति पिसिएको चिनी राखेर त्यसलाई नरम हुने गरी मुछ्नुपर्छ । पिठो मुठ्ठी बनाउने खालको हुनुपर्छ । पिठो मुछिसकेर २ देखि ३ घण्टासम्मको लागि छोडिदिने । त्यसपछि पुन: मुछ्ने र थोरै १ चम्चाजति कागतीको रस हाल्ने । त्यसपछि फेरि मुछ्ने । एकदमै नरम हुने गरी चिनी पग्लिइन्जेल मुछ्नुपर्छ । त्यसपछि सम्भव भए केराको पात वा प्लास्टिक ओच्छ्याउनका लिने । त्यसको माथि पिठोको सानो डल्लोलाई औंलाले थिच्दै गोलो रोटीको आकार दिँदै जाने । रोटी बनाउँदै जाँदा फाटेन भने राम्रो हुन्छ नत्र अझै मुच्छ्नुपर्छ । रोटी बनाइसकेपछि त्यसमाथि चिनी वा तिल राख्न सकिन्छ । रोटी सानो आँचमा पकाउनुपर्छ । रोटी तेलमा हालिसकेपछि एकछिन माथि तैरिँदा माथिबाट तेल हाल्दिनुपर्छ । यो रोटी फर्काएर पकाउनु हुँदैन । रोटीमा जाली पर्‍यो भनेर राम्रो अनरसा तयार भएको मानिन्छ । हल्का रातो हुन्जेल तार्ने अनि अनरसा तयार हुन्छ ।

प्रकाशित : कार्तिक १७, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?