कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
दसैं परिकार

यसरी बनाउनुस् थारु परिकारहरू

बुनु थारु

काठमाडौँ — थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । ढिक्री, खरिया, बरियालगायत परिकारहरू प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा मात्र नभई अरु कुनै माहोलमा पनि थारु परिकारहरू यसरी बनाएर खान सकिन्छ । 

यसरी बनाउनुस् थारु परिकारहरू

ढिक्री

आवश्यक सामग्री :

  • चामलको पिठो
  • पानी

यो सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । ढिक्री बनाउका लागि चामलको पिठो आवश्यक पर्दछ । चामलको पिठो अलि खस्रो र नयाँ धानको चामलको भए अझ स्वादिष्ट हुन्छ । पिठोलाई मज्जाले मुछ्ने र यसलाई आफ्नो मनपर्ने आकार दिने । लामो वा गोलो आकारमा बनाउन सकिन्छ । ढिक्रीलाई १५ देखि २० मिनेट उसिनेपछि यो खानका लागि तयार हुन्छ । यो तरकारी र अचारसँग खान मिठो हुन्छ ।

खँरिया

आवश्यक सामग्री :

  • मासको दाल
  • चामलको पिठो
  • गहुँको पीठो
  • लसुन र अदुवाको पेस्ट
  • जिरा र धनियाँको धुलो
  • खुर्सानीको पेस्ट
  • बेसार
  • कर्कलोको पात
  • आवश्यकता अनुसार नुन
  • सनफ्लावर तेल

यो परिकार विशेष गरेर चाडपर्वमा पकाइन्छ । यो बनाउनका लागि आफूलाई आवश्यकताअनुसार मासको दाल लिनुपर्दछ । मासको दाल रातभर भिजाउने नभए कम्तीमा ८ घण्टा भिजाउनुपर्दछ । भिजेको दाललाई राम्ररी बोक्रा फालेर पखाल्ने । दाललाई सिलौटामा वा मिक्चरमा पिस्ने । दाललाई एकदमै मसिनो गरेर पिस्नु हुँदैन हल्का लेदो बन्ने गरी मात्र पिस्नुपर्छ । त्यसपछि चामलको पिठो एक भाग र गहुँको पिठो भाग, जिरा र धनिँयाको धुलो, अदुवा–लसुनको पेस्ट, खुर्सानीको पेस्ट, बेसार, आवश्यकताअनुसार नुन हालेर सबैलाई मोल्नुपर्छ ।

त्यसपछि कर्कलोको पातमा बनाएको पेस्टलाई पातलो गरी दल्नुपर्छ । त्यसपछि पातलाई घुमाउँदै रोल गर्दै लाने । त्यो रोललाई कम्तीमा १५ देखि २० मिनेट उसिन्नुपर्दछ ।त्यो बनाएको रोललाई मसिनो आकारमा काट्ने र तेलमा फ्राइ गर्नुपर्छ । हल्का रातो भएपछि यो खानलाई तयार हुन्छ ।

अन्डिक बरिया

आवश्यक सामग्री :

  • अन्डीको पिठो
  • आवश्यकताअनुसार चिनी
  • तार्नका लागि तेल

अन्डीको पिठोमा आवश्यकताअनुसार चिनी हालेर मुछ्ने । पिठो मज्जाले मुछ्ने तर धेरैबेर मुछ्नु हुँदैन । त्यसपछि हातैले सानो–सानो आकारमा रोटी बनाउने । रोटी तेलमा तार्न थालेपछि मज्जाले फुल्छ । हल्का रातो भएपछि प्लेटमा निकाल्ने र यो खानलाई तयार हुन्छ ।

घोंघी

आवश्यक सामग्री :

  • आवश्यकताअनुसार घोंघी
  • चामलको कनिका र पिठो
  • तेल
  • बेसार र नुन
  • लसुन अदुवाको पेस्ट
  • काटिएको प्याज र टमाटर
  • जिरा र धनिँयाको धुलो

घोंघी खोला किनारमा पाइने गर्दछ । काठमाडौंमा पनि विशेष गरेर माछा पसलमा यो बेच्न राखिएको हुन्छ । घोंघीलाई पकाउनुभन्दा पहिले यसलाई कुनै ठूलो भाँडामा राखेर चामलको कनिका वा पिठोमाथिबाट छर्नुपर्दछ । यसलाई कम्तीमा १० घण्टा यत्तिकै छाडिदिने । हतार छैन रातभर यत्तिकै छोडिदिनुपर्दछ । यसले पिठो खाएर माटो ओकल्छ । पकाउनुभन्दा पहिले घोंघीलाई राम्ररी पखाल्नुपर्छ । यसमा लेउ पनि हुने भएकाले सफासित पखाल्नुपर्छ ।

त्यसपछि घोंघीको चुच्चो भागलाई काट्नुपर्दछ ताकि घोंघीभित्र मजाले मरमसला पस्न पाओस् र भित्रको मासु तान्न सजिलो होस् । काटिसकेपछि अब पकाउन थाल्ने । आवश्यकताअनुसार तेल हाल्ने र जिरा पड्काउने । त्यसपछि प्याज हाल्दै बाँकी रहेका मसला भुटेर टमाटर हाल्ने । मसला पाकिसकेपछि आधा कप पानी हाल्ने । पानी मज्जाले उम्लिएपछि घोंघी हाल्ने ।

घोंघी मज्जाले पाकेपछि त्यसमा थोरै चामलको पिठो हाल्ने जसले गर्दा मज्जाको ग्रेभी बन्छ । आधा घण्टा जति पकाएपछि माथिबाट हरियो धनिँया हाल्ने र यो खानका लागि तयार हुन्छ ।

प्रकाशित : आश्विन १७, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?