‘प्लान्ट लभर’ डा. उमेश भन्छन्- ‘हरियालीले आनन्द महसुस हुन्छ’

बुनु थारु

काठमाडौँ — डा. उमेश बोगटी यही वर्ष स्विजरल्यान्ड जाँदा एउटा फरक खालको प्लान्ट देखे । प्लान्टको नाम ‘मोनेस्टेरा’ थियो । उनलाई त्यो औधि मन पऱ्यो । भ्रमणमा जाँदा एक ठाउँमा बस्ने कुरै भएन । त्यो प्लान्ट मन परेपछि किने पनि । उनी प्लान्ट बोकेरै एक महिनासम्म घुमघाम गरे ।

‘प्लान्ट लभर’ डा. उमेश भन्छन्- ‘हरियालीले आनन्द महसुस हुन्छ’

विदेशी साथीहरूले उनी बोटबिरुवाप्रति सौखिन भएको देखेरै छक्क परे र प्लान्ट क्रेजी भनेर उपमा नै दिए । उनले त्यो बिरुवा नेपाल ल्याए र रोपे । कतै घुम्न जाँदा उनको आँखा नयाँ प्लान्टको खोजीमा हुन्छ । प्रायःले विदेश जाँदा लुगाफाटाहरू किन्न खोज्छन् तर उनको ध्यान प्लान्टतिरै नै हुन्छ । बोगटीले आफ्नो बोटबिरुवाको सोख सुनाउँदै भने‚ ‘युरोप जाँदा नयाँ भेराइटीको ‘होया’ एकदम खोजेको थिएँ तर पाइनँ । जर्मनीमा एक जनाले ‘फिस बोन क्याक्टस’को कटिङ दिएका थिए ।’

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. बोगटी आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउँछन् । उनलाई पुराना खालका सामानहरू पनि जुटाउन मन पर्छ । आफ्नो घर तथा कोठामा हरियाली देख्दा मन आनन्द हुने उनको अनुभव छ । उनी मानिस र बोटबिरुवाको प्रेम दुईतर्फी भएको बताउँछन् । भन्छन्‚ ‘राम्ररी समय र स्याहार दिन सक्यौँ भने बोटबिरुवा पनि स्वस्थ र खुसी हुन्छन् । तर बेवास्ता गऱ्यौँ अनि समयमा पानी तथा मल हालेनौं भने ओइल्याएको जस्तो हुन्छ ।’ उनी त कहिलेकाहीँ बोटबिरुवाहरूलाई संगीत पनि सुनाइदिने गर्छन् । ‘म त गीत पनि सुनाइदिन्छु । आफूलाई पनि आनन्द अनि उनीहरूलाई पनि,’ उनले हाँस्दै भने ।

उनको दुईतल्ले घरको भित्र र बाहिर सबैतिर बोटबिरुवाले भरिएको छ । घरभित्र उनले इन्डोर प्लान्टहरू बढी राखेका छन् भने बाहिर फूल तथा फलफूलका रुखहरू पनि छन् । बोटबिरुवालाई ठाउँ नपुगेपछि २ वटा गाडी राख्न मिल्ने ग्यारेज भत्काएर उनले त्यहाँ फलफूलको बिरुवा रोपेका छन् । अहिले उनी स्कुटरमा आवतजावत गर्छन् ।

उनी भन्छन्‚ ‘एक त बोटबिरुवाले अक्सिजन पनि दिन्छन् । मलाई ‘इको–फ्रेन्डली’ वातावरण मनपर्छ । बिस्तारै इलेक्ट्रिक गाडी किन्ने सोचमा छु ।’ उनी सबै किसिमको बोटबिरुवा मन पराउँछन् । विशेषगरी रुखहरू उनलाई मन पर्छ । उनले घरअगाडि पनि केही बिरुवा रोपेका थिए तर पछि बाटो चौडा भएपछि ती मासिए । उनले सडक किनारमा प्रायः नफुल्ने बिरुवाहरू बढी रोपेको देख्छन् ।

‘सरकारले फुल्ने र नफुल्ने दुवै रुखहरू रोप्नुपर्छ जस्तो लाग्छ । त्यसले सुन्दरता अझै बढाउने थियो,’ उनले भने । उनले केही बिरुवाहरू जमिनमा त धेरै बिरुवाहरू गमलामा रोपेका छन् । उनीसँग ४०० भन्दा बढी इन्डोर प्लान्ट्सहरू छन् । मानेस्टेरा, रबर प्लान्ट, होयाको भेराइटी उनीसँग थुप्रै छ । सिजनअनुसारका फूलहरू पनि घरमा फुलिरहन्छन् । अन्जिर, अंगुर, उखु, स्याउ, सुन्तलालगायत फलफूलका बोट पनि छन् उनीसँग ।

उनी पहिले बोटबिरुवामा धेरै खर्चिने बानी अहिले कम गर्दै लगेको बताउँछन् । उनको बोटबिरुवाको रुची देखेर परिवारका सदस्यले परिवारलाई भन्दा बोटबिरुवालाई बढी समय दिएको गुनासो पनि गर्छन् कहिलेकाहीँ । उनले हाँस्दै सुनाए‚ ‘धेरै बोटबिरुवा त मैले कोही नभएको बेला लुकाएर घरमा लैजान्छु । अहिले बोटबिरुवाको मूल्य पनि एकदम अकासिएको छ । पैसा पनि धेरै खर्च भइरहेको हुन्छ तर अहिले किन्न कम गरेको छु ।’

बोटबिरुवा संकलन गर्ने रुची भएका उनले त्यसमै धेरै समय दिन पाउँदैनन् । फुर्सदको समयमा आफैं गोडमेल गर्न तम्सिन्छन् ।आफू घरमा नभएका बेला बाहेक बोटबिरुवामा आफैं पानी हाल्छन् । उनले बढी नफूल्ने बिरुवा बढी राख्न रुचाउँछन् किनभने फुल्ने बिरुवा दिनहुँ पानी हाल्नुपर्छ । कहिलेकाहीँ पानी बढी भएर वा पानी नपुगेर धेरै बोटबिरुवा मरेका पनि छन् । नर्सरी देख्नेबित्तिकै छिरिहाल्ने र बिरुवा बोकेर ल्याइहाल्ने बानी कम गर्दै लगेको उनले बताए । ‘मन पऱ्यो भने किन्न मन लागिहाल्छ तर अहिले अलि नियन्त्रण गरेको छु । बोटबिरुवा जुटाएर मात्र हुँदैन । उनीहरूको स्याहारसुसारमा समय दिनु चुनौती हुन्छ,’ उनले भने ।

उनी बोटबिरुवाप्रेमी भएकाले होला‚ अरुलाई उनी बोटबिरुवा नै गिफ्ट दिइरहेका हुन्छन् र अरुबाट पनि त्यस्तै गिफ्ट आइरहेको हुन्छ । बुबाको मुख हेर्ने दिनमा पनि सानी छोरीले उनलाई बिरुवा नै गिफ्ट दिइन् । घरभरि नै बोटबिरुवा राखे पनि उनी सन्तुष्ट छैनन् । उनलाई भविष्यमा ठूलो जग्गा लिएर सानो घर र रुखैरुख भएको ठाउँमा बस्ने इच्छा छ । ‘छोरी आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मैले ठूलो जग्गामा बोटबोटले घेरिएकोमा बस्ने इच्छा छ; ठूलो घर चाहिएन । यता जग्गा महँगो छ । दुर्गममै होस्, जहाँ जस्ताले छाएकै भए पनि सानो घर होस् । पूरै अर्गानिक लाइफस्टाइल बाँच्ने इच्छा छ,’ ३८ वर्षीय डा. बोगटीले आफ्नो भविष्यको योजना यसरी सुनाए ।

प्रकाशित : आश्विन २४, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?