सहरमा मौलिक स्वाद- जीवनशैली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरमा मौलिक स्वाद

सुदूर थातथलो छाडेर सहरिया शैली अपनाएकाहरु गाउँले जीवन र परम्परागत संगीतलाई रैथाने परिकारका साथ साक्षात्कार गर्दै
सुशीला तामा‌ङ

काठमाडौँ — बजिरहेको डम्फुको धुन । तामाङ भाषामा चलिरहेको सेलो भाका, भित्तामा सजिसजाउ सोली, ठेकी, लाल्टिन, पेरुङ्गा । अनि भान्छामा पाकिरहेको खानाको बास्ना । दूरदराजका बस्ती छाडेर राजधानीमा जीविकोपार्जनका क्रममा आइपुगेका तामाङ समुदाय हुन् वा उनीहरूका भान्साका परिकार चिनेका छिमेकी । सबैलाई गाउँको झल्को दिन्छ ।

स्वयम्भू विजेश्वरीमा तीन वर्षदेखि सञ्चालनमा रहेको तामाङ कुदाप धिम रेस्टुरेन्टमा तामाङका प्रचलित परिकार मात्र छैन, समुदायका परम्परागत प्रयोगका सामग्रीहरूलाई जगेर्नाको जमर्को गरिएको छ । तामाङ भाषाअनुसार कुदापको अर्थ चुलो र धिमले घर भन्ने बुझाउँछ । ‘यो रेस्टुरेन्ट गाउँ छाडेर सहरवासी बनेकालाई हाम्रा मौलिक खाना, संस्कार संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्य पनि हो,’ सञ्चालक फूलकुमार बोम्जन तामाङले भने ।

बोम्जन आफैं सेलो गीत–संगीत र साहित्यमा क्रियाशील छन् । उनले सेलो गीतमार्फत प्रस्तुत गरेका छन् । डेढ दशकभन्दा बढी नेपाली सेनामा जागिरे जीवनपछि व्यवसायको बाटो मौलिकतालाई बोकेर लागेका हुन् । ‘जागिरे र कलाकारिताको जीवनमा देशविदेश घुम्दै जाँदा मैले सबैको आफ्नो भनेर देखाउने थुप्रै चिजहरू देखेँ तर तामाङको खासै बाहिर आएको देखिनँ,’ उनी भन्छन् । अध्ययन अनुसन्धानका क्रममा समुदायलाई चिनाउने चिजहरू आफ्नै वरपर छरपस्ट रहेको उनले देखे । त्यसैलाई संकलन तथा प्रदर्शन गर्न व्यवसायलाई माध्यम बनाए । कुदाप धिममा समुदायका गतिविधि झल्काउने गोष्ठी, छलफल तथा विभिन्न साहित्यिक, सांगीतिक कार्यक्रमहरू पनि भइरहन्छन् । उनी थप्छन्, ‘रेस्टुरेन्टका रूपमा अघि सारिएको यो खासमा एउटा चौतारी जस्तो होस् भन्ने हाम्रो अवधारणा हो । खानाको बहानामा आउने ग्राहकले यहाँ आएर कमसेकम एउटा चिज मात्र भए पनि आफ्नोबारे थाहा पाओस् भन्ने हामी चाहन्छौं ।’

रेस्टुरेन्टमा आउनेलाई बोम्जन डम्फुको धनु सुनाउने मात्र होइन बजाउनसमेत सिकाउँछन् र संग्रहालयकै पाराले संकलन गरेर राखेका सामग्रीहरूबारे बेलिविस्तार लगाउँछन् । रेस्टुरेन्टमा तामाङ भनी सर्वप्रथम पहिचान दिलाउने सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङदेखि लेखक बुद्धिमान तामाङ, विद्रोही योद्धा सेक्के तामाङ, तामाङ स्रष्टाहरू पारिजात, गोपाल योञ्जन, अरुणा लामालगायत व्यक्तिहरूको तस्बिरहरू संग्रहित छन् ।

यसले समुदायको अग्रज व्यक्तित्व र इतिहास प्रस्ट्याउने बोम्जनको ठहर छ । समुदायको मौलिक संस्कृति र संस्कारका पक्षहरू जगेर्ना गर्न कतिपय कुराहरू प्रचलित कानुनले बर्जित गरेकाले आफ्नो समूहले प्रस्तुत गर्न नसकेको उनको गुनासो छ । डीबी लामा, मंगल थोकरलगायत चार जना सञ्चालक रहेको रेस्टुरेन्टमा दर्जनको हाराहारीमा तामाङ परिकारहरू पाक्छ । गेङ (फापर र कोदोको रोटी), आलुम (कोदो वा फापरको पीठोलाई मुछेर स–साना डल्ला बनाएर पानीमा उमालेर बनाइने खाना), बुजु (चामलको भात मुछी विभिन्न आकृतिमा बनाइने खाना), भुटेको मकैभटमास, तिस्या (जंगली कन्दमूल), उसिनेको पिँडालु, तरुल, आइराक, निङ्गु (पम्परागत विधिबाट बनाइएको रक्सी, छ्याङ) रेस्टुरेन्टमा पाक्ने विशेष परिकारहरू हुन् । सहरीकरणसँगै मानिसहरूको बसाइँसराइ सहरतिर स्थानान्तरण भएपछि मौलिक पक्षहरू ओझेल पर्दै गए । सहरमै रहेकाहरूले समेत आफ्नो मौलिकतालाई बिर्सन थालेपछि केही व्यक्तिहरू खानासँगै मौलिक पक्षलाई जगेर्ना गर्न लागिपरेका छन् । कुदाप धिम जस्तै काठमाडौं उपत्यकाभित्र थुप्रै नेवारी र राई/लिम्बूलगायतका संस्कृति झल्काउने रेस्टुरेन्ट सञ्चालनमा छन् ।

कीर्तिपुरस्थित ‘नेवा लहना,’ ‘ससः ध्वाखा,’ ताल्चीखेलको ‘सुम्निमा तापोखिम’, सातदोबाटोस्थित ‘चासुवा’ लगायतका रेस्टुरेन्टहरूले मौलिक खानाको स्वादसँगै मौलिकता बोकेको संस्कृतिसमेत सिकाइरहेका छन् । लहना र ससः ध्वाखाले नेवारी मौलिक खानालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । दुवै रेस्टुरेन्टहरूमा नेवारी समुदायको खानासँगै मौलिक पहिरन, भौतिक संरचना, बसेर खाने संस्कारलाई देख्न सकिन्छ । कीर्तिपुरलाई नेवारी समाजको संस्कृति, सभ्यता र ऐतिहासिक रूपमा महत्त्वपूर्ण माने पनि हाल ती सबै पक्षहरू नयाँ पुस्तामा ओझेल पर्दै गएको लहनाका निर्देशक राजमान मानवले सुनाए । ओझेल पर्दै गएका पक्षलाई ब्युँताउने उद्देश्यले खाना संस्कार तथा व्यवसायसँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ । डेढ दशकदेखि सञ्चालनमा रहेको लहनामा स्थानीय समुदायकै ७७ परिवार सञ्चालकका रूपमा छन् । यसले मौलिक पक्षको जगेर्नासँगै स्थानीय व्यक्तिहरूलाई रोजगारीको बाटोसमेत खुलेको उनले सुनाए । लहनामा नेवारी समुदायमा प्रचलित सबै प्रकारका खानाहरू परम्परागत विधिबाट नै तयार पारिन्छ । आवश्यक चामल, मसलाका प्रकार ओखल, ढिकीहरूमा कुटेर नै तयार गरिन्छ ।

लहना र ससः ध्वाखा दुवैमा यमरी, बारा, सन्याखुना, सेकुवा, छ्वय्ला, कचिला, चतामरी, अयला (रक्सी), थ्वोँ (छ्याङ) जस्ता नेवारी खानाका स्वादहरू लिन सकिन्छ । परिकारसँगै नेवारी संगीत, कर्मचारीहरूको नेवारी भेषभूषा, खानामा प्रयोग गरिने सामग्री तथा बस्ने ठाउँ दुवै रेस्टुरेन्टका विशेषता हुन् । कीर्तिपुरलाई नेवारी खानाको मुख्य केन्द्रबिन्दु बनाउन सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने निर्देशक मानवको ठहर छ । ‘सुम्निमा’ र ‘चासुवा’ मा भने राई समुदायको मौलिक खाना र संस्कारलाई प्रवर्द्धन गरिएको छ । विशेषगरी कुखुरा र बंगुरका मासुबाट बनाइने परिकारहरू दुवैमा रेस्टुरेन्टमा पाइन्छन् । ‘चासुवा’ मा प्रत्येक हप्ता शुक्रबार किराँती संस्कार झल्कने पूर्वेली लोकभाकाहरूसमेत प्रत्यक्ष प्रस्तुति हुने सञ्चालक विकास राईले बताए । सहरमा आधुनिकतासँगै विस्थापित भएको खानालाई देखाउन जोखिम मोलेर भए पनि झन्डै दुई वर्षदेखि ‘चासुवा’ सञ्चालन गरिरहेको राईले सुनाए ।

पाश्चात्य संस्कृतिसँगै उतैको संस्कार अँगालेका अहिलेका पुस्तालाई मौलिक पक्षलाई बुझाउन कठिन रहेको सञ्चालकहरूको अनुभव छ । मौलिक खाना, त्यसको गुणस्तर, मौलिक सामग्री जुटाउन र त्यसको ऐतिहासिक पृष्ठभूमिसमेत बुझाउनुपर्ने अर्को झन्झटिलो काम रहेको उनीहरू सुनाउँछन् । चुनौतीपूर्ण काम भए पनि मौलिक पक्ष जोडिएकाले अवसरसँगै आफ्नोपनाको आभास आउने राईको मत छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय राजनीति जटिल मोडमा : मुख्यमन्त्री पाण्डे

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको टिप्पणी गरेका छन् ।

प्रजातन्त्र दिवसको सन्दर्भमा शनिबार बिहान सम्बोधन गर्दै पाण्डेले अमेरिकी सहयोग नियोग एमसीसी अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको टिप्पणी गरेका हुन् । ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्‍याएको छ । हामी राजनीति दलहरुले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेका छौं । योपनि गर्छौ भन्ने हाम्रो विश्वास हो’, मुख्यमन्त्री पाण्डेले भने ।

उनले वाग्मती प्रदेशलाई सफा, उज्यालो र डिजिटाइज गर्ने काममा आफूहरु लागिपरेको बताए । ‘वाग्मतीमा तीन दलको गठबन्धनको सरकार रहेको छ । हामीले न्यूनतम साझा कार्यक्रम तय गरिसकेका छौं । सोही अनुसार हामीले काम पनि गरिरहेका छौं । केही समयमा तपाईंहरुले महसुस हुने गरी हामी काम गर्नेछौं’, उनले भने ।

वाग्मती प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार मूल समारोह समितिले शुक्रबार, शनिबार र आइतबार विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइरहेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×