कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

‘यहाँ लिपि पढ्ने विज्ञको खडेरी छ’

काठमाडौँ — पुरातत्त्वविद् शंकरमान राजवंशीका छोरा श्यामसुन्दर (६२) ले बाबुकै संगत र सहचर्यबाट नेपालको इतिहासबारे पत्तो पाए । पुरातत्त्व, अभिलेख र लिपिबारे जानकारी पाए । बाबुकै अघि–पछि लागेर प्राचीन लिपिहरु सिके, लिपि खुट्याउन सक्ने भए । बाबुकै सोख र कामको पदचाप पछ्याउँदै ४० सालपछि पुरातत्त्व विभागमा जागिरे बनेका श्यामसुन्दर लामो समय पुरातत्त्वकै खोजतलासमा सक्रिय रहे ।

‘यहाँ लिपि पढ्ने विज्ञको खडेरी छ’

जागिरे सेवाको अवकाशपछि हाल त्रिभुवन विश्वविद्यालयबाट लिच्छवि संवत्बारे विद्यावारिधि शोधमा रहेका श्यामसुन्दर यसका साथै उपत्यकाको मध्यकालीन शिलालेखको भाषान्तर/लिप्यान्तरमा लागिपरेका छन् । उनीसँग देवेन्द्र भट्टराईको संवाद :

पुरातत्त्वकै क्षेत्रमा ३५ वर्षभन्दा बढी लिपिविज्ञका रूपमा काम गरेर निस्केपछि अहिले पुरातत्त्व विभाग र बाहिर भइरहेको गतिविधिलाई कसरी हेर्नुभएको छ ?

म पुरातत्त्व प्रवेश गरेको २०४० सालमा हो । त्यसबेला मेरो बुवा शंकरमान पनि पदमा बहाल नै हुनुहुन्थ्यो । त्यसपछि २ वर्षसम्म बुवासँगै बसेर सिक्न पनि पाएँ । खास लिपिसँग सम्बन्धित विषय मैले बुवासँगै सिकेको हुँ । मैले अरू तालिम पनि लिएको छैन, विदेशमा पढ्न गएको पनि छैन । अवकाशपछि पनि म राष्ट्रिय अभिलेखालय र पुरातत्त्वसँग जोडिएर काम गरिरहेको छु । भक्तपुर क्षेत्रबाट संकलन गरिएका र अभिलेखालयमा राखिएका जेजति शिलालेख थिए, तिनको लिप्यान्तर/भाषान्तर गरिसकेको छु । यो काम सक्न २ वर्ष लाग्यो । यसको २ भोल्युममा ग्रन्थ पनि तयार भएको छ । अहिले भने भक्तपुरपछि कान्तिपुर (उपत्यका) को लिप्यान्तर/भाषान्तर सुरु गरेको छु । यो काम सक्न सायदै दुई वर्षजति लाग्छ । राष्ट्रिय अभिलेखालयको नाम वीर पुस्तकालय छँदैताकाका शिलालेखहरू यसमा समेटिएका छन् ।

विसं १९३७ सालमा भारत, गुजरातका इतिहासकार भगवानलाल इन्द्रजी आएर नेपालका २३ वटा अभिलेख संकलन गरेर छपाएपछि ‘शिलालेख पनि महत्त्वपूर्ण रहेछ’ भन्ने बुझेर वीर पुस्तकालयले ठाउँठाउँका शिलालेख संकलन गरेर राखेको थियो । त्यसलाई मुठामुठामा पोका पारेर राखिएको थियो । २०१६ सालतिर मेरो बुवा शंकरमानको वीर पुस्तकालयमा पोस्टिङ भएपछि सबै शिलालेखलाई विषय छुट्याएर, कालक्रम छुट्याएर राखिएको थियो । त्यसको सूची पनि प्रकाशित भइसकेको छ । तर, त्यसको लिप्यान्तर/भाषान्तर भएको थिएन । रिटायर्ड भइसकेपछि मैले यो काम सुरु गरेको हुँ । सूची मात्रै हुँदा त त्यो कहिलेको, के लिपि भन्ने मात्रै हुन्छ । तर, लिप्यान्तर/भाषान्तर भएपछि मात्रै यसबारेमा सबै कुरा जान्न सकिन्छ ।

लिप्यान्तर/भाषान्तरको कुरा गर्दा लिच्छवि संवत्माथि सहमतिजन्य निर्णय अझै आउन सकेको छैन नि ! तपाईंको बुझाइ के हो ?

अहिले लिप्यान्तर/भाषान्तर हुँदै गरेका शिलालेख/अभिलेख प्रायः पूर्वमध्यकाल वा मध्यकालका हुन् । लिच्छविकालका अभिलेख त पहिले नै भिन्न स्वरूपमा प्रकाशित भइसकेका छन् । शिलालेख पढ्ने मान्छेलाई यो बढी महत्त्वपूर्ण अथवा यो कम महत्त्वपूर्ण भन्ने हुँदैन । मैले ४ सय जति शिलालेख पढिसकें, जो सबै महत्त्वपूर्ण लागेका छन् । लिच्छविकालदेखि चल्दै आएको लिच्छवि संवत्मा मेरो सरोकार धेरै भएको हुनाले म बढी यतातिर तानिएको हुँ । मध्यकालमा भक्तपुरका प्रायः अभिलेख/शिलालेखमा चारवटा संवत् लेख्ने गरेको पाइन्छ । तीमध्ये सबभन्दा पुरानो मानिने ‘कलिगत संवत्’ त्यसपछि विक्रम संवत्, शाके संवत् अनि मात्रै नेपाल संवत् हो । त्यसमा लेखिएको विक्रम संवत् र शाके संवत्बीचको तिथिमिति मिल्दैन । परम्परादेखि नै नमिल्ने पाराले लेखिँदै आएको छ । परम्परादेखि चल्दै आएको लिच्छवि संवत्लाई शाके संवत्मा प्रतिस्थापन गर्दा हाम्रो इतिहास जहिले पनि २ वर्ष घट्दै आएको छ । त्यसलाई नेपाल संवत्, विक्रम संवत्सँग मिलाउँदा जहिले पनि नमिल्ने क्रम ती अभिलेखमा पनि देखेको छु । ती सबै कुरा भाषान्तर गर्दा त्यसको टिप्पणीको रूपमा व्याख्या गरेको छु ।

चाँगुनारायणको गरुडकवच अंशुवर्माको पालामा चढाइएको हो, जसको मुनि २/३ लाइनको अभिलेख छ । प्रायः लिच्छविकालीन अभिलेखमा बार उल्लेख हुँदैनथ्यो, त्यसमा बारसमेत उल्लेख छ । अरूमा साल, महिना, पक्ष र तिथि मात्रै हुन्थ्यो । बार नभएपछि विक्रम संवत् भने पनि भयो, सक संवत् भने पनि भयो । त्यहाँ बार उल्लेख नभएपछि पुरातत्त्वविद् धनवज्र बज्राचार्यलाई अनौठो लागेछ र उहाँले सुरुमा नयराज (पन्त) गुरुकहाँ गएर परामर्श गर्नुभएको रहेछ । लिच्छवि संवत्बारे वादविवाद धेरै भएपछि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नयराज गुरुलाई नियुक्त गरेर उहाँले ‘लिच्छवि संवत्को निर्णय’ (२०४३) भन्ने एउटा ग्रन्थ पनि निकाल्नुभयो । यसरी पुस्तक निस्कँदा संवत्सम्बन्धी विवाद अन्त्य भयो कि भन्ने भएको थियो । २०४६ सालमा आएर गोकर्ण, बालुवागाउँमा अंशुवर्माको एउटा शिलालेख भेटिएपछि नयराज गुरुको निर्णयसँग मिल्न सकेको पाइएन । फेरि त्यसमा विवाद सुरु भयो । त्यसपछि मैले ‘लिच्छविकालमा दुईथरी संवत् चलेको होइन, त्यो एकैथरी हो, दुईथरी देखिएको मात्रै हो, ५२९ संवत्लाई ५ सय नभनीकन ‘२९’ मात्रै भनिएपछि दुईथरी देखिएको हो’ भनेर स्पष्ट पारिदिएँ ।

तर, यही विषयमा वादविवाद अहिलेसम्म जारी छ ।

नयराज पन्तको ‘लिच्छवि संवत्को निर्णय’ कृतिले मदन, त्रिभुवन पुरस्कारसमेत पायो । त्यसपछि लिच्छवि संवत्बारेमा सहमति बनेको होइन र ?

हो, पन्त गुरुको कृतिले मात्रै अंशुवर्माको ५३६ अभिलेखबारे केही पनि निधो गर्दैन । त्यसो नगरेपछि त्यहाँ केही त्रुटि त छ नै । त्यो दुईथरी संवत् हुँदै होइन, एकैथरी हो । मुख्य त्रुटि त्यसमा ‘सुमति तन्त्र’ नामक ग्रन्थको सहयोगमा संवत् गणना गरिएको भन्ने तर्क त्यहाँ छ । ‘सुमति तन्त्र’ ग्रन्थमा भनिएको कुरा नै इतिहासमा नमिल्दो छ । त्यसमा ३०४ वर्ष मानदेव संवत् चलेपछि मात्रै नेपाल संवत् आयो भनेर दाबी गरिएको छ । जब ‘सुमति तन्त्र’ हामीले मान्ने हो भने ३०४ वर्षसम्म मानदेव संवत् चलेको पनि देखाउनुपर्ने हुन्छ । तर, मानदेव संवत् चलेको आधारलाई सिद्ध गर्ने काम त्यो निर्णयमा छँदै छैन । यो सबैले सजिलै बुझ्ने तथ्य हो ।

तलेजु मन्दिरको सम्पत्तिसम्बन्धी सयवर्षे लगत अध्ययन गर्दै मूल पुजारी उद्धव कर्माचार्य र लिपिविद् श्यामसुन्दर राजवंशी । इन्सेटमा अमेरिकाको सिकागो म्युजियममा रहेको तलेजु भवानीको हार । तस्बिर : अंगद ढकाल/कान्तिपुर र श्वेताज्ञानु बानिया

तलेजु भवानीको कण्ठी (हार) अमेरिकाको सिकागो म्युजियममा फेला परेको सन्दर्भ र त्यसबारेको लगत हालै भेटिएको बारे तपाईं जानकार हुनुहुन्छ । ठीक यसैगरी अभिलेख, प्रमाण नभेटेर वा लिपि बुझ्न नसकेर कहीँकतै हराइरहेका वा थन्किरहेका यस्ता सम्पदा के–कति होलान् ?

यति नै होलान् भनेर अनुमान गर्न त गाह्रो हुन्छ । तलेजु हारका हकमा त्यो सम्पदामा ‘नेपालका प्रताप मल्लको घण्टी’ भनेर कुँदिएकै रहेछ । अरू हराएका वा चोरिएका सम्पदाहरूमा यस्तै स्पष्ट अभिलेख भइदियो भने त सजिलै हुन्छ । तर, अभिलेख नभएर अथवा लिपि पढ्न नसकेर हराएका वा थन्किएका थुप्रै पुरातात्त्विक चीजबीज हुन सक्छन् । एउटा कुरा के स्मरणीय छ भने कुनै पनि भवनभित्र मुख्य द्वारबाट पसेजस्तै इतिहास, संस्कृति जे जति छ, त्यहाँ पस्ने पहिलो खुड्किलो भनेकै ‘लिपि’ हो । लिपि नजान्ने हो भने अन्धकारमा पसेसरह हुन्छ, त्यसभित्रै हराइन्छ । इतिहास, संस्कृति, कला, हाम्रा परम्परा यी यावत् कुरामा दृष्टिकोण दिन लिपि बुझ्नैपर्छ ।

यति महत्त्वपूर्ण विषय लिपि अध्ययन गर्ने एवं यसका जानकार कति हुनुहुन्छ ?

पुरातत्त्व विभागमा आउने अधिकृतहरू संस्कृति विषयमा एमए गरेर आएकाहरू हुनुहुन्छ, जहाँ लिपि विषय अनिवार्य पढ्नैपर्छ । तर, लिपि पढेर मात्रै हुँदैन, दिनानुदिन ‘प्राक्टिस’ हुनैपर्छ । यो सिद्धान्तभन्दा बढी व्यवहारको विषय हो । तर, कसैमा पनि प्राक्टिस नभएका कारण एउटा शिलालेख भेटियो भने पनि पुरातत्त्वकै अधिकारीले अहिले पनि पढ्न सक्ने स्थिति देखिन्न । २०४९ सालमा मालिगाउँमा जयबर्माको अभिलेख भेटिएकै बेलामा म लामो बिदामा बसिरहेको थिएँ, पुरातत्त्व विभागले त्यसबारेको निधो त दिनैपर्‍यो । अनि मलाई नै बोलाउन पठाइयो । र, मैले पढेर त्यो अभिलेखमा निधो दिएको थिएँ । त्यसमा ‘साल मिति संवत् १०७, महाराजा जयबर्मन’ लेखिएको छ र, जम्मा २१–२२ वटा अक्षर मात्रै छन् ।

हामीकहाँ लिपि विशेषज्ञको निकै अभाव खड्किसकेको बोध संस्कृति मन्त्रालय, पुरातत्त्व विभागले अझै गर्न सकेको छैन ?

हो, यो विधामा ठूलो खड्को छ । म हुन्जेल त मलाई अह्राएर/खटाएर काम गराउन सकिन्छ । मैले गर्न नसकेपछि के होला ? जनशक्ति तयार गर्न सक्ने अवस्था पनि छैन, त्यसतर्फ ध्याउन्नै छैन । मेरा हकमा म त यही फिल्डमा उत्रिएकाले नाकले टेकेर भए पनि सिक्नैपर्ने अवस्था थियो । म जागिर खाइरहेको मान्छेले ‘यो विषय मैले जान्दिनँ’ भन्नुपर्‍यो भने मलाई नै आत्मग्लानि हुने ठानेरै म यसमा दत्तचित्त भएर लागिरहेँ ।

खासमा जोकोहीलाई पनि यो नीरस विषयमा पढ्ने चाह नभएको देखिन्छ । हामीकहाँ अक्सर पढ्नासाथै पैसा आउने कुरामा मात्रै धेरैजसोको ध्यान जाने गरेको छ । यो लिपि विधामा त पुरानो अक्षर खोतलीखोतली पढ्नुपर्ने हुन्छ, यस्तो झिंझो काममा कसलाई जाँगर चल्छ र ? सिक्न चाहनेले राम्रोसँग र निरन्तर अभ्यास गर्नुपर्ने हुन्छ । कम से कम ५०–६० वटा अभिलेख आफैंले पढेर हेरेपछि मात्रै समस्या र कठिनाइबारे थाहा हुन्छ । आइपरेको समस्याबारे केही सोधपुछ गर्न आए पो बताइदिन पनि मजा आउँछ । मकहाँ त्यसरी सोध्न आउने कोही छैन । म त सिकाइदिन जहिले पनि तयार छु, तर सिक्न चाहने कोही छैन ।

यसरी उत्खनन गर्दा भेटिने र पढ्नुपर्ने मुख्य लिपि कुन हो ?

मध्यकालीन अभिलेख र शाहकालीन अभिलेख धेरै मात्रामा प्रकाशमा आइसकेका हुनाले त्यसमा त्यति जोड दिनु परेन । लिच्छविकालको इतिहास जान्ने अझै बाँकी छ । त्यो प्राचीन इतिहास नेपालको गौरव इतिहास पनि हो । ती विषयमा प्रकाश पार्नका लागि ‘ब्राह्मी लिपि’ पढ्नैपर्छ ।

ब्राह्मी अभिलेखकै विकासको रूपमा लिच्छवि अभिलेख आएको हुनाले कतिपय विद्वान्ले ‘लिच्छवि अभिलेखलाई नै ब्राह्मी अभिलेख’ भनेका छन् । २०७८ पुसमा पाटन दरबार क्षेत्रमा शिलालेख भेटिँदा त्यसलाई पढ्न सक्ने मान्छे कोही पनि आएनन् । अनि पुरातत्त्वले मलाई नै बोलाएर जिम्मा दिइयो, मैले पढेको कसैले खण्डन गर्न पनि सकेन, त्यही ठीक भयो । लिच्छविकालीन अभिलेखले मात्रै इतिहासमा नयाँ प्रकाश दिन सक्छ । लिच्छविकालको भयो भने एउटा अक्षर मात्रै भएको शिलालेखको पनि महत्त्व धेरै हुन्छ ।

तपाईंले लिच्छविकालको संवत्को निश्चयबारे एउटा पुस्तक प्रकाशित गर्नुभएको थियो । अहिले भइरहेको लिप्यान्तर र भाषान्तरको कृति प्रकाशित गर्ने योजना यथावत् छ ?

अब कान्तिपुर सहरका मध्यकालीन २५० वटा शिलालेखको लिप्यान्तर/भाषान्तर गर्ने लक्ष्य छ । अहिलेसम्म १ सय जति पुग्न लागेको छ । लिच्छविकालको संवत्को विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेको छु, यो अन्तिम चरणमा पुगेको छ । अब भने लिच्छविकालको संवत निर्णयबारेमा धनवज्र बज्राचार्य गुरुले संकलन गरेको बाहेक इतिहास समेटेर पुस्तक तयार गर्दै छु । लिच्छविकालबारेको सिंगो स्रोत कम्तीमा म जीवित छँदै नेपाली अध्येतालाई र पछिका अनुसन्धातालाई छोडेर जाने मेरो अन्तिम इच्छा छ ।

प्रकाशित : भाद्र ४, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?