कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाद्वेषी डार्विन, डार्विनप्रेमी महिला

व्यक्ति डार्विन स्त्रीद्वेषी थिए । उनका निजी पत्राचार र सार्वजनिक प्रकाशनले त्यो पुष्टि गर्छन् । यद्यपि सृष्टिमा मान्छेको हैसियतमाथि बिलकुल नयाँ अवधारणा बोकेको उनको सिद्धान्तचाहिँ महिला–मुक्ति आन्दोलनका लागि नयाँ सम्भावना लिएर आएको थियो ।
डार्विनले लैङ्गिक भिन्नताको बहसलाई धार्मिक उपदेशबाट वैज्ञानिक खोजको परिधिभित्र ल्याए । उनको सिद्धान्तले इडेन गार्डेन ‘पाठ’ को वैधानिकतालाई खारेज गरिदियो ।
विकास बस्नेत

२६ डिसेम्बर १८८१ मा क्यारोलिन केन्नार्डले चार्ल्स डार्विनलाई सम्बोधन गर्दै एउटा पत्र लेखिन् । म्यासाचुसेट्स निवासी उनी स्थानीय स्तरमा सक्रिय महिला अभियन्ता थिइन् । विज्ञानमा पनि उनको गहिरो अभिरुचि थियो । बेलाबखत हुने विज्ञान गोष्ठीहरूमा उनी सहभागी भइरहन्थिन् । यस्तै एक भेलाबाट फर्किएपछि उठेको सवाल सम्बोधन होस् भनी उनले डार्विनलाई पत्राचार गरेकी थिइन् । खैरौ रङको बाक्लो कागजमा चिटिक्क खिपेको अक्षरमा उनले लेखिन्, ‘बोस्टनको भेलामा प्रस्तुत एक कार्यपत्रले महिलाहरू पुरुषका तुलनामा सर्वकालीन कमजोर/दुर्बल हुन अभिशप्त छन् र यसको वैज्ञानिक आधार पुष्टि भएको छ भनेर तर्क गरेको देखियो ।’ भेलामा प्रस्तोताले डार्विनको ‘द ओरिजिन अफ स्पेसिज’ को हवाला दिँदै उक्त आपत्तिजनक निष्कर्ष निकालेकोमा क्यारोलिन चकित परेकी थिइन् ।

महिलाद्वेषी डार्विन, डार्विनप्रेमी महिला

डार्विन आफ्नो जीवनका अन्तिम महिनाहरू बिताइरहेका थिए । सन् १८५९ को ‘ओरिजिन अफ स्पेसिज’ र त्यसको १२ वर्षपछि प्रकाशित ‘द डिसेन्ट अफ म्यान’ को चर्चाले डार्विन आफ्नो युगकै भीमकाय मानिस बनिसकेका थिए । प्राकृतिक छनोटमार्फत आदिम अमुक एककोशीय जीवबाट अन्य प्राणी तथा वनस्पतिको उद्विकास र मानिससमेत यही प्राकृतिक प्रक्रियाको नतिजा हो भन्ने उनको विचार भिक्टोरियन पुरातन समाजमा डाइनामाइटझैं विस्फोट भएर शान्त हुन पाएकै थिएन । नैसर्गिक रूपमै पुरुषभन्दा महिला कमजोर हुन्छन् भन्ने कुरामा डार्विनजस्ता विलक्षण प्रतिभाको विश्वास होला भनेर क्यारोलिनलाई पत्यार लागेन । सायद सिद्धान्तको अपव्याख्या भएको हो भन्ने संशयमा क्यारोलिनले पत्रमार्फत स्पष्ट पारिदिन डार्विनलाई आग्रह गरिन्, ‘कतै गलत व्याख्या भएको हो भने तपाईंको महान् र आधिकारिक विचार सच्याइनुपर्छ ।’

‘प्रिय म्याडम, तपाईंले इंगित गर्नुभएको सवालको जवाफ गाह्रो पो छ है’, लगत्तै ९ जनवरीमा डार्विनले आफ्नो घरैबाट किरिङमिरिङ अक्षरमा जवाफ पठाए, ‘महिलाहरू केही नैतिक गुणहरूमा पुरुषभन्दा निकै गतिला हुने भए पनि बौद्धिक रूपमा कमजोर नै हुन्छन् भन्ने मलाई लाग्छ ।’ उनी प्छन्, ‘आनुवंशिक नियमलाई आधार मान्ने हो भने (र, यदि यसका नियमबारे म सही छु भने) उनीहरू पुरुषसरह ज्ञानी बन्न सक्छन् जस्तो मलाई लाग्दैन ।’ डार्विन यतिमै राकिँदैनन्, ‘...यो जैविक असमानताको खाडल पुर्ने हो भने महिलाहरू पनि पुरुषसरह परिवारको हात–मुख जोर्न घरबाहिरको कामकाजी (ब्रेडविनर) हुनुपर्छ । तर, छोरी मान्छेले घरबाहिर निस्केर काम गर्ने हो भने हाम्रो परिवारका केटाकेटीको पढाइ–लेखाइ बिग्रन्छ र घरको सुखशान्ति खलबलिन्छ ।’ आफ्नो युगकै एक महान् वैज्ञानिकबाट महिला पनि पुरुषसरह सक्षम हुन्छन् भन्ने जवाफको अपेक्षा गरेकी क्यारोलिनसँग डार्विन स्त्रीद्वेषी विचारका लागि होइन ‘अक्षर नराम्रो भएकामा माफी’ दिन आग्रह गर्दै लतपतर पत्र टुङ्ग्याउँछन् । पत्रमा डार्विन महिलाहरू प्राकृतिक रूपमै पुरुषभन्दा दुर्बल हुन्छन् भन्ने जिरह मात्रै गरिरहेका छैनन्, महिलालाई घरको चुलाचौकाको परिधि नाघेर बाहिर नजानू भन्ने नीतिशिक्षासमेत दिइरहेका छन् ।

उबेलाको युरोपमा डार्विनको कुलीन ‘सर्कल’ मा बाहेक महिलाले घरबाहिर काम नगरे खान नपुग्ने स्थिति बन्दै थियो । उच्च शिक्षा, राजनीतिलगायत अधिकांश पेसागत कामबाट महिलाहरू वञ्चित थिए । त्यसैले सम्भ्रान्तका भात–भान्सा, भर्खरै खुल्न थालेका कल–कारखाना र उद्योगमा सस्तो श्रम बेच्न महिला बाध्य थिए । यो सास्ती क्यारोलिनको आँखाबाट लुकेको थिएन । समान हैसियत र अधिकार प्राप्तिका लागि भर्खर जुर्मुराउन थालेको महिला अभियानकै खिलाफमा रहेको डार्विनको विचारले स्तब्ध भएकी क्यारोलिनले फेरि जवाफी पत्र पठाइन्, ‘हप्तामा निश्चित समय घरबाहिर हल्लिँदै आफूले कमाएकोबाट खटन गरेर श्रीमतीलाई चुनदाम घर खर्च बुझाउने लोग्ने परिवारको ‘ब्रेडविनर’ हो कि, बिहान झिसमिसेदेखि राति अबेरसम्मै घरका सदस्यहरूका लागि हाड घोटिरहने र सुकाआना जोगाउनका लागि पसिना बगाउने श्रीमतीचाहिँ ‘ब्रेडविनर’ हो ?’ रिसले आगो भएकी क्यारोलिनले पत्र टुङ्ग्याइन्, ‘महाशय, मानसिक क्षमतामा महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने निष्कर्ष निकाल्नुअघि महिलालाई पनि पुरुषसरहको ‘अवसर’/वातावरण दिइएर हेरियोस् ।’ (डार्विनका निजी पत्रहरू)

डार्विन विचारको स्त्रीद्वेषी पाटो

खासमा निजी पत्रहरूमा लेखिएका डार्विनका महिला सम्बन्धी अभिव्यक्ति उनका प्रकाशित रचनामा व्यक्त विचारकै पुनरोक्ति मात्रै थियो । धर्तीका प्राणी र वनस्पतिको विविधतालाई ‘प्राकृतिक छनोटमार्फत उद्विकासको रूपमा ‘ओरिजिन’ मा व्याख्या गरेका डार्विन ईश्वरको विशिष्ट रचना ठानिएको मानिसको ‘उत्पत्ति र उसको इतिहासको सवालमा बिस्तारै प्रकाश पारिनेछ’ भनेर पहिलो पुस्तकमा पन्छिएका थिए । डार्विनको संकेत सचेत पाठकले बुझिसकेका थिए । नभन्दै आफ्नो दोस्रो किताब ‘द डिसेन्ट अफ म्यान’ मार्फत उनले मानिसलाई पनि उद्विकासको महायात्रामा जोडिदिए । महिलासम्बन्धी डार्विनको विविध विचार यही अभियानको एक पाटो थियो ।

भौगोलिक क्षेत्रअनुसार मानिसहरूको वर्ण, रङ, रूप, आकार इत्यादिमा देखिएको विविधता तथा महिला र पुरुषबीचको शारीरिक भिन्नता (सेक्सुअल डाइमर्फिज्म) लाई आफ्नो बृहत् सिद्धान्तमा समेटेर मानव उद्विकाससम्बन्धी आफ्नो तर्कलाई बलियो बनाउनु उनको पहिलो ध्येय थियो । तर, यस्ता गुणको व्याख्या गर्न उनले ‘ओरिजिन’ मा प्रस्तुत प्राकृतिक छनोटको सिद्धान्त अपुरो हुने ठाने । र, उनले सेक्सुअल सेलेक्सन अर्थात् जोडी छनोटको पूरक सिद्धान्त अघि सारे । उनका अनुसार, मानिसलगायत जनावरहरूमा बाँच्न प्रतिकूल हुने थुप्रै शृृंगारिक गुण व्याप्त हुन्छन् । बाँच्न प्रतिकूल भए पनि त्यस्ता आलंकारिक गुणले जोडी प्राप्ति र समागम सफलताको दर बढाउँछ । चराचुरुङ्गी, जनावर र कीराफट्याङ्ग्रा आदिमा यो सेक्सुअल सेलेक्सन कसरी स्थापित तथ्य हो भन्ने प्रमाणित गर्न उनले ‘डिसेन्ट’ को एक तिहाइ भाग नै खर्च गरे । उनको तर्क थियो– अधिकांश भालेहरूले शृंगारिक गुणहरूको विकास गर्छन् र पोथीले त्यस्ता गुणको आधारमा भालेको छनोट गर्छे । मयूरको पंख यसको शास्त्रीय उदाहरण हो । मान्छेको सन्दर्भमा भने उनले पुरुषलाई जोडी छनोटकर्ता र महिलालाई शृंगारिक गुणयुक्त बनाएर यसलाई उल्ट्याइदिए (सेक्सुअल सेलेक्सबारे थप ‘जीवन : रोमान्स शृंखला’, कान्तिपुर, माघ २०७७) ।

डार्विनका अनुसार, आदिम जंगली समुदायमा हुँदासम्म महिलाले नै पुरुष छान्थे । उनीहरूले बिस्तारै त्यो खुबी गुमाएका हुन् । ती आदिम महिलाले पुरुषको बलिष्ठ ज्यान र शौर्यको आधारमा लोग्ने छान्थे । श्रीमती प्राप्तिका लागि पुरुषहरू यिनै गुणका आधारमा प्रतिस्पर्धा गर्थे । डार्विन भन्छन्, ‘...सबैभन्दा बलियो र शक्तिशाली पुरुषले सबैभन्दा आकर्षक महिला श्रीमतीको रूपमा प्राप्त गर्‍यो ।’ श्रीमती प्राप्तिको यस्तो भीषण संघर्ष र दबाबको लामो ऐतिहासिक कालखण्डमा पुरुषहरूको नानावली सीप, खुबी, क्षमता तिखारिँदै गयो । उनीहरू योद्धा, विद्वान्, चिन्तक, शासक इत्यादि बन्न पुगे । त्यति मात्रै होइन हामीलाई अपुच्छ बाँदरबाट मानिसमा रूपान्तरण गर्ने ‘इन्जिन’ समेत यही थियो । उता निष्क्रिय महिलामा नैतिक गुण, घरेलु स्वभाव, दयालु भाव, कोमलताजस्ता गुण मात्रै विकास भयो । यसरी डार्विनका अनुसार, महिला स्वाभाविक रूपमै ‘लेस इभल्भ्ड’ हुन् (डिसेन्ट अफ म्यान, चार्ल्स डार्विन) ।

डार्विनको यो ‘वैज्ञानिक विचार’ तत्कालीन समाजमा महिला हैसियतमाथि प्रचलित सामाजिक मूल्यमान्यताको प्रतिविम्ब थियो । भिक्टोरियन समाजले महिला र पुरुषका लागि ‘पृथक् परिधि’ लाई आदर्श बनाएको थियो । अर्थात् महिला घरभित्रको निजी सुसेधन्दामा समेटिनु र पुरुष घरबाहिर सार्वजनिक वृत्तमा फैलिनु जायज ठानिन्थ्यो । पुरुषले व्यापार, वाणिज्य, राजनीति र अन्य पेसा अँगाल्नु तथा महिलाले लालाबाला/घरधन्दा सम्हाल्नु न्यायोचित आचरणभित्र पर्थ्यो । लैङ्गिक आधारमा भएको यस्तो श्रम विभाजनलाई प्राकृतिक, स्वाभाविक, सभ्य र ईश्वरको ‘नियम’ अनुकूल मानिन्थ्यो । यही आग्रहको चस्मा पहिरिएका डार्विन भन्छन्, ‘आफू तल्लीन हरेक कर्ममा पुरुष महिलाभन्दा नामी बन्न सक्छन् । चाहे त्यो चिन्तन, तर्क वा कल्पनाशीलताको काम होस् या पाखुरी चलाउने काम नै किन नहोस् । पुरुष र महिलाबीचको बौद्धिक क्षमतामा देखिने भिन्नता यसैबाट झल्किन्छ ।’ काव्य कर्म, चित्रकला, संगीत, इतिहास, दर्शन इत्यादिमा महिलाभन्दा पुरुषको अधिक उपस्थिति रहेको तथ्य औंल्याउँदै ‘डिसेन्ट’ मा उनी ठोकुवा गर्छन्, ‘पुरुषको औसत मानसिक क्षमता महिलाको भन्दा ज्यादा हुन्छ ।’ डार्विनका लागि महिलाहरू फगत ‘स्वास्नी’ हुन् भने पुरुषहरू लोग्नेका अतिरिक्त अन्य धेरै कुरा हुन् । यसरी ‘चलिआएको’ सामाजिक विश्वासलार्ई नै उनले प्राकृतिक/नैसर्गिक नियमको लालमोहर लगाइदिए, ‘...त्यसैले पुरुषको हैसियत महिलाभन्दा माथि हुन्छ ।’

महिलाको सामाजिक हैसियतमाथि डार्विनको यही आग्रही मान्यतासँग उनको उद्विकास विज्ञानको मिलापले एक ‘टक्सिक’ विचारलाई जन्म दियो । यसको प्रभाव दूरगामी रह्यो । डार्विनपछिका कम्तीमा पहिलो पुस्ताका जीव वैज्ञानिक र मानवशास्त्रीहरू महिलाको दुर्बलता उद्विकासको निर्विकल्प प्रतिफल र शाश्वत् सत्य हो भन्नेमा विश्वस्त रहिरहे । महिलाको दोस्रो दर्जाको हैसियतलाई नै कथित वैज्ञानिक आधार दिइएकामा महिला अभियन्ताहरूले डार्विनको सिद्धान्तलाई अन्तर्निहित रूपमै स्त्रीद्वेषी रहेको भन्दै धूवाँदार विरोध गरे । तथापि पहिलो पुस्ताका थुप्रै महिला अभियन्ताले भने डार्विन सिद्धान्तभित्र लुकेको ‘र्‍याडिकल’ सम्भावना पहिचान गरे ।

डार्विन सिद्धान्तको सामर्थ्य

सन् १९१३ मा पत्रकार फ्ल्योड डेलले घोषणा गरे, ‘महिला आन्दोलन उन्नाईसौं शताब्दीको विकासवादी विज्ञानको प्रतिफल हो । त्यसअघि पनि महिला विद्रोहहरू नभएका होइनन्... तर पनि शरीर, यसको कार्यव्यापार, यसको आवश्यकता इत्यादिका बारेमा नयाँ विचार प्रवाह गरेर यो नयाँ विज्ञानले महिला आन्दोलन सफलताको उत्कर्षमा पुर्‍याएको हो ।’ माथि चित्रण गरिएका स्त्रीद्वेषी डार्विन र डेलको यो भनाइ विरोधाभासपूर्ण लाग्न सक्छ । व्यक्ति डार्विन महिलाका सन्दर्भमा उदार चिन्तक थिएनन्, तर निर्विवाद बृहत् परिकल्पनाकार थिए । उनको ‘डिसेन्ट अफ म्यान’ आफैँमा बहुव्याख्याको सम्भावना बोकेको पुस्तक थियो । यसले लिङ्ग र लैङ्गिकताका सवालमा व्याप्त परम्परागत धारणामा आमूल परिवर्तन ल्याउन सक्ने सम्भावना भने बोकेको थियो । यसको अनुमान डार्विन स्वयंले समेत गरेका थिएनन् वा चाहेका थिएनन् । अप्रत्यक्ष्य रूपमै सही, उनको सिद्धान्तले महिला उत्पीडनको केन्द्रमा रहेको एक अभेद्य किल्लालाई धूलिसात बनाउन भने सहयोग गरेको थियो (फ्रम इभ टु इभोलुसन, किम्बर्ली ए ह्याम्लिन) ।

श्रापित इभ : त्यो अभेद्य किल्ला

खोइ के सुर चलेर हो ईश्वरले धरतीको धूलो टिपेर आफ्नै प्रतिरूपमा आदी पुरुष आदम बनाए । उसैका लागि सबै सुखसयलले भरिपूर्ण बगैंचा बनाइदिए । फेरि के सोचेर हो ईश्वरले आदमका लागि ‘साथी होस्’ भनेर उसकै करङको सानो हड्डी निकालेर इभको सृष्टि गरे । स्वर्गको बगैंचामा ज्ञानको फल चाख्न भने वर्जित थियो । आदम र इभले अटेर गरे । इभको ‘उक्साहट’ मा त्यो फल टिपेर चाखिदिए । आदेश तोडेकामा आक्रोशित ईश्वरले आदमलाई आजीवन दुखिया कर्म गर्न बगैंचाबाट निष्कासन गरिदिए । उता इभतिर हेर्दे ईश्वर गर्जिए, ‘तेरो दुःख झन् बढ्दै जाओस्, प्रसवमा पनि तँलाई दुःखै होस् ! तैंले लोग्नको इच्छा अनुसार चल्नुपरोस् ! उसैले तँमाथि रवाफ जमाओस् ।’ (किङ जेम्स बाइबल, जेनेसिस ३ः१६) ।

यहुदी/इसाई सृष्टिकथाले यसरी इभलाई ईश्वरको दोस्रो वरीयताको सृष्टि, पापी र श्रापित छवि बनाइदियो । इभको यही छवि सदियौंसम्म युरोपेली/अमेरिकी समाजमा महिलाको भूमिका र हैसियतको सम्बन्धमा आदर्श बन्यो । उसको सामाजिक हैसियत, लैङ्गिक भूमिका तथा सामर्थ्य र सीमाहरू के हुन् ? धार्मिक शिक्षा, सार्वजनिक विचार र आम संस्कृतिमा यसले गहिरो प्रभाव पार्‍यो । यही मिथकको फुर्को समातेर सदियौंसम्म महिला उत्पीडन र अपमानलाई ईश्वरको ‘मर्जी’ पुष्टि गर्न छाडिएन ।

उन्नाईसौं शताब्दीसम्म आइपुग्दा सबैभन्दा बढी पढिने पुस्तक नै बाइबल थियो । चर्चदेखि चित्रकला, नीतिकथादेखि लोकप्रिय प्रकाशनसम्म आदम र इभको यही छविको पुनरुत्पादन हुन्थ्यो । सन् १८३३ मा फ्रान्सेली चित्रकार क्लाउड म्यारीको दुई चित्रकला ‘द टेम्प्टेसन’ र ‘द एक्सपल्जन अफ एडम एन्ड इभ’ सार्वजनिक प्रदर्शनका लागि अमेरिका पुग्दा न्युयोर्क सहरमा मात्रै २५ हजार जनाले पैसा तिरेर उक्त चित्र हेरेका थिए । सार्वजनिक वृत्तमा आदम र इभको लोकप्रियताको यो एक प्रतिनिधि उदाहरण मात्रै हो । निजी जीवनमा पनि यसको प्रभाव कम थिएन । १९ औं शताब्दीमा लेखिएका आत्मकथा वा निजी चिठीपत्रमा यही मिथकलाई सन्दर्भ दिँदै आपसी सम्बन्धको आदर्श आदम र इभ भएको एन्थोनी रोटुन्डोले आफ्नो शोधमा उल्लेख गरेका छन् । पत्नीमाथि लोग्नेको आधिपत्यलाई नैसर्गिक र धर्मसंगत बनाउन बाइबलको हवाला दिइएको दर्जनौं निजी पत्र एन्थोनीले फेला पारेका छन् ।

आदम र इभको मिथकले निर्माण गरेको भाष्य अमेरिकी तथा युरोपेली संस्कृतिमा निकै गहिरोसँग खिपिएको थियो । त्यसैले महिलाले समान अवसरका लागि आवाज उठाउन थालेको सत्रौं शताब्दीदेखि मताधिकारको माग गर्न थालेको बीसौं शताब्दीसम्म पनि विमर्शको केन्द्रमा इभ नै थियो । महिलाले उठाएका सामाजिक न्यायका मागहरू इभकै सन्दर्भ दिएर पन्छाइएका सयौं उदाहरण छन् । भर्जिनियाको संवैधानिक सम्मेलनमा एक प्रतिनिधिले महिला मताधिकारको विरोध गरे । ‘आदम ईश्वरको पहिलो सृष्टि हो । इभ दोस्रो । जुन हैसियत र वरीयतामा उनको सृष्टि भएको छ, त्यसअनुसार महिलाले पुरुषको आधिपत्य स्विकार्नुको विकल्प छैन,’ ती प्रतिनिधिको तर्क थियो । छैटौं अमेरिकी राष्ट्रपति जोन क्विन्सी आडम्सले यही आधारमा महिलाको राजनीतिक अधिकारलाई अस्वीकार गरे । क्विन्सीका अनुसार, प्रजातन्त्रको आदर्श नमुना इडेन बगैंचाभन्दा अर्को हुनै सक्दैन । ईश्वरको नियम मिचेर महिलालाई समान अधिकार दिनै सकिन्न (सेक्स एन्ड सिटिजन, नान्सी आइजनबर्ग) । शैक्षिक, व्यक्तिगत र पेसागत अवसरका लागि महिला संघर्षको मूल अवरोध नै समाजको प्रत्येक तप्कामा व्याप्त पौराणिक इभको विरासत थियो । यसरी आदम र इभको कथाले लिङ्ग र लैङ्गिकताका सन्दर्भमा पाश्चात्य विचार निर्माणमा शक्तिशाली मोडेल र टेम्प्लेटको रूपमा सदियौंसम्म निर्विकल्प काम गरिरह्यो ।

वैकल्पिक सृष्टिकथा

डार्विनको सिद्धान्तले पहिलोपटक धार्मिक सृष्टिकथा र आदम/इभको अस्तित्वलाई नै चुनौती दियो । यो वैकल्पिक सिद्धान्तले समाजमा दूरगामी प्रभाव पर्‍यो । मान्छेले आफ्नो सृष्टिको वैकल्पिक स्वरूप परिकल्पना गर्ने बाटो खोलिदियो । यसरी लिङ्ग र लैङ्गिकताका अपार सम्भावना खोजी गर्न सकिने भयो । डार्विन सिद्धान्तभित्र लुकेको यही ‘सबल पक्ष’ लाई महिला अभियन्ताहरूले तत्कालै पहिचान गरे र यसलाई आफ्नो आन्दोलनको शक्ति बनाए । उनीहरूका लागि डार्विन सिद्धान्तको तात्कालिक दुई महत्त्वपूर्ण योगदान थियो पहिलो– आदम र इभको पौराणिक विरासतबाट मुक्ति दिनु । दोस्रो– मान्छेलाई अन्य प्राणीसरह उद्विकासको प्रतिफल मान्दै महिला र पुरुषबीचको प्राकृतिक भिन्नतालाई पुनर्व्याख्या गर्नु ।

यसरी इतिहासमै पहिलोपटक इडेन गार्डेनको सन्दर्भबाहिर गएर वैज्ञानिक विकल्पको आलोकमा लैङ्गिक भूमिकाबारे बहस गर्न सकिने वातावरण निर्माण भयो । सन् १८७५ मा अमेरिकी महिला मताधिकार संगठनको मुखपत्र ‘वुमन्स जर्नल’ ले उद्विकासको सिद्धान्तले नयाँ विहानी ल्याएको उद्घोष गर्‍यो । ‘समग्र पतित मानवताको पापको कारक महिला हुन् भनेर प्रताडित हुनुपर्ने दिन गए । यो आफैँमा महिला मुक्तिका लागि सुखद संकेत होइन र ?,’ लेखक क्लेयर प्रश्न गर्छिन् । इडेन गार्डेनभन्दा पनि तर्क, प्रमाण र डार्विनको सिद्धान्तको आधारमा गरिने बहसले महिला आन्दोलनलाई सहयोग पुर्‍याउनेमा उनी ढुक्क थिइन् । महिला अधिकारको बहसमा विकासवादी सिद्धान्तको प्रयोग गर्ने सयौंमध्ये क्लेयर एक अभियन्ता थिइन् ।

चर्चित नारिवादी अभियन्ता हेलेन ह्यामिल्टन गार्डेनरले सन् १८८५ को आफ्नो निबन्ध ‘मेन, वुमन एन्ड गड्स’ मार्फत विकासवादी सिद्धान्त र महिला अधिकार आन्दोलनलाई जोडिन् । ‘उन्नाईसौं शताब्दीको बाइबलको नैतिकता जीर्ण भइसकेको छ । ईश्वरको इच्छा भनेर पढाइएको पाठ विज्ञानको आलोक नपुगेको अँध्यारो मात्रै हो भन्ने कुरा डार्विन युगमा बाँचिरहेका हामीले बुझेका छौं ।’

विज्ञानप्रति विश्वास

डार्विनको सिद्धान्तले लैङ्गिक भिन्नताको बहसलाई धार्मिक उपदेशबाट वैज्ञानिक खोजको परिधिभित्र ल्यायो । यो सिद्धान्तले इडेन गार्डेनको ‘पाठ’ को वैधानिकतालाई खारेज गरिदियो र इभले गरेको ‘कथित’ पापको जवाफदेहिताबाट महिलालाई मुक्त गरिदियो । उद्विकास सिद्धान्त लोकप्रिय रूपमा स्थापित हुन थालेपछि पौराणिक सृष्टिकथामा मान्छेको विश्वास हराउँदै गयो । यसले महिलाको दोस्रो दर्जाको धार्मिक पुष्ट्याइँको सांस्कृतिक आधार पनि डगमगायो । तर्क, प्रमाण र वस्तुगत परीक्षणमा जोड दिँदै विज्ञानप्रति महिलालाई ठूलो भरोसा निर्माणमा समेत डार्विन सिद्धान्तको योगदान रह्यो । सन् १८९३ मा छापिएको निबन्ध ‘वुमन, चर्च एन्ड स्टेट’ मा गेज भन्छिन्, ‘...विज्ञानले जसरी पृथ्वी चेप्टो छ भन्ने विश्वास गलत साबित गरिदियो, त्यसरी नै इसाई सृष्टि मिथकलाई आधारहीन र गलत प्रमाणित गरिदिएर विज्ञानले नै महिलालाई चर्चको बन्धनबाट मुक्त गरिदिनेछ ।’

सन् १८७० को दशकसम्म आइपुग्दा महिला अधिकारको विमर्शमा बाइबलको सन्दर्भ मात्रै पर्याप्त थिएन । यसको पक्ष–विपक्षमा बहस गर्ने सबैलाई वैज्ञानिक र वस्तुगत प्रमाण (त्यो पनि उद्विकासका सम्बन्धमा प्राप्त प्रमाण) को साथ चाहिने भइसकेको थियो । यो डार्विन सिद्धान्तको वैज्ञानिक विधिले कमाएको लोकप्रियता र यसैले आरम्भ गरेको लैङ्गिक भिन्नताको जैविक आधारको खोजीले निम्त्याएको विमर्शको प्रतिफल थियो ।

डार्विनको सिद्धान्तबाट प्रभावित एक सयभन्दा ज्यादा महिलाले डार्विनसँग प्रत्यक्ष पत्राचार गरेका छन् । ‘पपुलर साइन्स’ मासिकमा विज्ञानसम्बन्धी सयौं आलेख प्रकाशित भए । गर्मी महिनामा हार्वडले सञ्चालन गर्ने आवधिक विज्ञान कक्षाहरूमा भर्ना हुने महिलाहरूको संख्या ह्वात्तै बढ्यो । महिला क्लबहरूले नियमित विज्ञान चर्चा चलाउन थाले । सन् १८६९ मा एन्टोइनेट ब्राउन ब्ल्याकवेलको पहिलो पुस्तक ‘स्टडिज इन जनरल साइन्स’ प्रकाशित भयो । यसको एक प्रति उनले डार्विनलाई समेत पठाइन् । सन् १८७५ मा छापिएको ‘द सेक्सेज थ्रुआउट नेचर’ विकासवादी सिद्धान्तको समालोचनामा छापिएको पहिलो महिला कृति बन्न पुग्यो । लिङ्ग र लैङ्गितको विमर्श बाइबलबाट विकासवादी विज्ञान (त्यो पनि उद्विकास विज्ञान) मा मोडिएको यो एक उदाहरण मात्रै हो ।

प्रशंसनीय डार्विन

प्रकृतिका रहस्यहरू आफैं उद्घाटित हुँदैनन् । सूचना र विवरण आफैं बोल्दैनन् । आफ्ना इन्द्रियहरूबाट संकलित तथ्य र तथ्यांकलाई विश्लेषण गर्ने, पर्गेल्ने काम मान्छेले गर्छ । ज्ञान निर्माणको विधि र प्रक्रिया यही हो । यो विशिष्ट क्षमता उसमा मात्रै छ । तर, यो कर्म उसले निश्चित सामाजिक, राजनीतिक, सांस्कृतिक धरातलको जगमा उभिएर गर्छ । यस्तोमा उसले आफू पूर्वाग्रहमुक्त रहेको ‘स्वाङ’ मात्र पार्न सक्छ । यस अर्थमा डार्विन मात्रै होइन, हर कोही क्षम्य छन् । आग्रहमुक्त तटस्थ विज्ञान फगत एक मिथक हो । किनभने यो नितान्त मानवीय कर्म हो । यसमा डार्विन पनि अपवाद होइनन् ।

अर्को, यो सामूहिक कर्म पनि हो । यसको सबल पक्ष यही हो । यो हरेक पुस्ताले पुराना विचारलाई नयाँ तथ्यहरूको आलोकमा राखेर जाँच्दै, थप परिष्कृत/परिमार्जन गर्दै लगिने उद्यम हो । यही क्रममा पूर्वज हस्तीहरूको व्यक्तिगत कुण्ठा, आग्रह र छुद्रता पनि छताछुल्ल हुन्छन् । थुप्रै सिद्धान्त/विचार ढल्छन् ।

मानव उद्विकास तथा नस्ल, लिङ्ग र वर्णको विविधताबारे डार्विनका केही खुद्रा धारणा १५० वर्षको दौरानमा गलत साबित भएका छन् । केही सिद्धान्त परीक्षणको कैयौं कसी पार गरी सतीसालझैं खडा छन् । डार्विनको प्राकृतिक छनोटमार्फत उद्विकासको सिद्धान्त यस्तै एक सतीसाल हो । आधुनिक जीवविज्ञान उनको यही सिद्धान्तको काँधमा उभिएको छ । विज्ञानको विकल्प अझ परिष्कृत विज्ञान हो । डार्विन यही शृंखलाका महानतममध्येका एक वैज्ञानिक हुन् । उनी प्रशंसनीय हुन्, पूजनीय होइनन् ।

प्रकाशित : माघ २९, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?