जीवन : रोमान्स श्रृंखला

‘जनावर इन्द्रियहरूबाट प्राप्त सूचना प्रशोधन गर्न सक्षम हुन्छन्, यसैको आधारमा उनीहरू कुनै निश्चित जोडीप्रति रुचि देखाउन सक्छन् । पछिल्ला प्रयोगले यसको पुष्टि भएको छ ।’
विकास बस्नेत

काठमाडौँ — सन् १८६७ मा चार्ल्स डार्बिनले आफ्ना चिरप्रतिद्वन्द्वी र विकासवादका सह–प्रवर्तक अल्फ्रेड रसेल वालेसलाई जवाफी पत्र लेखे, ‘तपाईंको पत्र रोचक लाग्यो । तर, त्यसमा उठान भएको विचार मेरा लागि नौलो होइन । मेरो पुस्तक ओरिजिन अफ स्पेसिजको चौथो संस्करणको पेज नं. २४० मा ध्यान दिएर हेर्नुहोला, मैले त्यहाँ मयूर र ब्ल्याक ग्राउजको (सबैभन्दा उपल्लो तहको सौन्दर्य र व्यवहार) उदाहरण दिएको छु । मेरो मनमा यो कुरा पहिल्यैदेखि खेलेको हो, तर कुनै निष्कर्षमा भने पुग्न सकेको थिइनँ ।’

जीवन : रोमान्स श्रृंखला

प्राणीहरूको भालेमा विद्यमान शृंगारिक स्वरूपको सन्दर्भमा वालेसले उल्लेख गरेका उदाहरण र तिनको व्याख्याको प्रसंगमा डार्बिनले माथिको जवाफ पठाएका थिए । ओरिजिन’ को चौथो संस्करणमै ‘मनमा खेलेको’ विषयले डार्बिनको ‘टाउको दुखाइ’ सुरु भइसकेको थियो । आफूले ‘ओरिजिन’ मा प्रस्ताव गरेको प्राकृतिक छनोटको मेकानिजमले भाले मयूरको सौन्दर्य उद्विकासलाई व्याख्या गर्न सक्छ भन्नेमा उनको शंका नै यसको कारण थियो ।

भाले मयूरको सौन्दर्य र प्रणय व्यवहार

मयूरको यौन व्यवहार प्राणी जगत्कै भव्य, रोचक र कर्मकाण्डको लामो प्रक्रियापश्चात् सम्पन्न हुन्छ । प्रजनन सिजनमा जोडी छान्न बर्सेनि मयूरको समूहमा सार्वजनिक प्रणय मेला लाग्छ । यस्तो स्थललाई अंग्रेजीमा लेक र यो व्यहारलाई लेकिङ भनिन्छ । यस्तो व्यवहार देखाउने चरा र जनावरका प्रजातिहरू प्रजनन सिजनमा आफ्नो गच्छेअनुसारको प्राकृतिक शृंगारले सजिएर ‘सार्वजनिक’ स्थलमा भेला हुन्छन् । यहाँ भालेहरूले प्रजातिअनुसार आफ्नो परम्परागत सीप र शृंगारिक अंग/गुणहरूको सार्वजनिक प्रदर्शन गर्छन् । प्रजननको समयमा पोथी आउन सक्ने नाका, गौंडा वा आहारास्थल वरिपरि यस्तै स्थानमा भालेहरू भेला हुन्छन् । यसको मुख्य विशेषता के हो भने यो प्रणयमेला स्थलको केन्द्रतिर हुने भालेले सबैभन्दा बढी पोथी फकाउँछ । मृग, हरिण, चमेरा, माछा, पुतलीलगायत अन्य सयौं पन्छी–प्रजातिले समेत यस्तो प्रणयमेला वा ‘लेकिङ’ व्यवहार देखाउँछन् । (द रेड क्विन, म्याट रिड्ले) ।

मयूरको प्वाँख केराटिन कोषबाट बनेको हुन्छ । यसैको संयोजनले मयूरको शरीर/प्वाँख रंगीविरंगी–सप्तरंगी हुन्छ र हेराइको कोणको आधारमा सात रङको फरक–फरक संयोजन देखिन्छ । मयूरको अधिकांश प्वाँख यस्तै हुन्छ । घाँटीमा भने गाढा निलो र पुट्ठा तथा पुच्छरमा सुनौलो रङ हुन्छ । नाच्ने बेलामा १८० डिग्रीको कोणमा फैलिएर अर्ध–चन्द्राकार बन्ने पुच्छरको पंख इन्द्रेणीझैं बहुरंगी हुन्छ ।

पूरै पंख फिजाउँदा अग्रभागको गाढा नीलो छाती र बहुरंगी इन्द्रेणी पंखसँग त्यो सुनौलो पृष्ठभागको कन्ट्रास्ट अदभुत सुन्दर देखिन्छ । नृत्यका बेला मयूरले फिजाउने अर्ध–चन्द्राकार पंख बन्ने प्वाँखमाथि ठाडो पर्छर् । यसको रङ गाढा निलोदेखि सुनौलोसम्म हुन्छ । यही प्वाँखहरूमा कम्तीमा १०० भन्दा बढी आँखाको स्वरूप कुँदिएको हुन्छ । बाँकी ३० देखि ४० वटा प्वाँख भने अरूभन्दा अलि लामो र टुप्पोमा ‘भी’ आकारको हुन्छ ।

प्रणय–नाचका बेला भालेले यही पंख लयात्मक रूपमा सरर फिजाउँदै अनि झपक्क बन्द गर्दै अन्य भालेहरूका बीच मनोरम नृत्य पर्छ । भाले छान्न भेला भएका पोथीहरूले यही शृंगार र उसको प्रदर्शनलाई आधार मान्छन् । यो तीव्र प्रतिस्पर्धामा धेरै पोथीको रोजाइमा समूहका सबैभन्दा उत्कृष्ट केही भाले मात्रै पर्छन् । त्यसैले एउटै भालेले समूहका धेरै पोथीसँग संसर्ग गर्छ । अधिकांश भाले आजीवन कुमार बस्छन् । (पिकक, क्रिस्टिन इ ज्याक्सन) ।

प्राकृतिक छनोट र डार्बिनको ज्वरो

सन् १८५९ मा ‘ओरिजिन अफ स्पेसिज’ मार्फत डार्बिनले प्राणी/वनस्पतिको विविधताको चित्तबुझ्दो ब्याख्या गरिदिए । दुनियाँमा अस्तित्वमा आएका प्राणी र वनस्पति दूरदराजको कुनै एक साझा पुर्खाबाट फैलिएका हुन् । उक्त आदिम पुर्खाबाट छुट्टिएर नयाँ प्रजाति बन्ने क्रममा नयाँ परिवेशअनुसार, बाँच्न सहयोग हुने शारीरिक/व्यावहारिक गुणहरूको क्रमिक विकास हुन्छ । कालान्तरमा ती गुणहरू एक/अर्काभन्दा निकै भिन्न हुन्छन् र नयाँ प्रजाति बन्छन् भन्ने डार्बिनको तर्क थियो । गालापागोस टापुका फिन्च चराहरूको आदिम पुर्खा एउटै थियो । तर, टापुअनुसारको पृथक् वातावरणमा अनुकूल हुने गुणहरू मात्रै ‘प्राकृतिक छनोट’ ले छान्यो । यसरी कालान्तरमा टापुपिच्छे फिन्चका फरक–फरक प्रजातिको उद्विकास सम्भव भयो भन्ने डार्बिनले देखाए । कुनै पनि प्राणीको समूहमा तिनका शारीरिक/व्यावहारिक गुणहरूमा थोरै भए पनि विविधता हुन्छ । त्यसैले ‘बाँच्नका लागि संघर्ष’ मा सबैको आधार समान हुँदैन । अरूभन्दा थोरै मात्रै पनि फाइदाजनक गुणलाई प्राकृतिक छनोटले ‘फेवर’ गर्छ । त्यसरी फेवर गरेको गुणको आनुवंशिक आधार छ भने अर्को पुस्तामा त्यो गुण सर्छ । कालान्तरमा उक्त समूहमा त्यो गुण व्याप्त रहन्छ । यसरी प्राकृतिक छनोटको घन–छिनोले कुनै पनि प्राणीको गुणलाई ऊ बाँच्ने वातावरणको अनुकूलित बनाएको हुन्छ ।

तर, मयूरको प्वाँख/पंख अनौठो, अनावश्यक, भव्य, फजुल मात्रै होइन झट्ट हेर्दा वाहियात र वेकामे छ । ‘सर्भाइभल फर द फिटेस्ट’ का लागि मयूरको शृंगार–कोणबाट ‘फिट’ छैन । जंगलको पृष्ठभूमिमा सजिलै हराउन सहयोग गर्ने रङ र छरितो शरीर भएको पोथीको तुलनामा भालेको शरीर भद्दा छ । यसका बेफाइदा धेरै छन् । लामो पुच्छरले उसको उडानलाई अप्ठेरो पार्छ, चम्किलो र भड्किलो प्वाँखले शत्रुलाई आकर्षित गर्न सक्छ, यसको विस्तार, विकास र स्याहारका लागि ऊर्जाको आवश्यकता पर्छ । डार्बिनको प्राकृतिक छनोटको नाकैमुनि यो भयानक चुनौती थियो ।

जीवनका लागि प्रतिकूल देखिने यही ‘मयूरको पंख’ शैलीको शृंगारिक स्वरूप अपवादस्वरूप मयूरमा मात्रै भएको भए समस्या थिएन । तर, पशु, पन्छी, कीरा, पुतलीका प्रजातिपिच्छे पोथीहरू डार्बिनको नियम पच्छ्याउँदै ‘मितव्ययी’ र विवेक पुर्‍याएर ‘ड्रेसअप’ गरेझैं देखिन्छन् । उता भालेहरू भने डार्बिनको नियमभन्दा बाहिर रहेर भव्य रंगीन शरीर, सानदार प्वाँख र लम्बेतान पखेटा, शृंगारिक कल्की मात्रै ग्रहण गर्दैनन्, नाचगानका विविध कर्मकाण्ड र अनेकन सीप पनि प्रदर्शन गर्छन् ।

(द एन्ट एन्ड द पिकक, हेलेना क्रोनिन) ।

झट्ट हेर्दै प्रस्ट हुन्छ, मयूरको पोथी कुनै मितव्ययी इन्जिनियरले निर्माण सामग्री खेर नफाली गरेको डिजाइन हो र भाले कुनै बलिउडका फिल्मको आइटम गीत छायांकन हुने खर्चिलो सेट मात्रै हो । तुकहीन देखिने यो शृंगारिक गुणको व्याख्या गर्न आफूले ओरिजिन अगाडि सारेको प्राकृतिक छनोटको सिद्धान्त मात्रै काफी छैन भन्ने डार्बिनको आरम्भिक आशंकाले बिस्तारै उनलाई ज्वरो फुटायो । (द मेटिङ माइन्ड, ज्योफ्रे मिलर) । आफ्नो लाचारी स्विकार्दै सन् १९६० मा उनले अमेरिकी जीव वैज्ञानिक आशा ग्रेलाई पत्र लेखे ‘जबजब म मयूरको पुच्छरमा रहेको प्वाँख नियाल्छु, मेरो टाउको फुट्लाझैं भएर रन्थनिन्छ ।’

लैंगिक छनोटको पूरक सिद्धान्त

कुनै कालीगढले स्टुडियोमा महिनौँ लगाएर कुँदेझैँ भाले मयूरको शृंगारिक सुन्दरता तथा प्रणय व्यवहारको उद्देश्य पोथीको प्राप्ति, संसर्ग र वंश विस्तार नै हो । मयूरको सौन्दर्य र प्रणय व्यवहार अपवाद होइन । भाले जूनकीरीहरूका बीच पुच्छरको लुसिफेरेन कसले चहकिलो बाल्ने भनेर प्रतिस्पर्धा चल्छ, झ्याउँकिरी घोक्रो सुक्ने गरी कराउँछ, वर्षायाममा रातभर घाँटी फुलाएर भ्यागुता कराउँछ, कोइली रनवन थर्काएर गाउँछ, वया तोपचराले कलात्मक गुँड बनाउँछ, न्याउली विरह गाउँछ । सुन्दरता प्रकृतिमा सर्वव्यापी छ । तर, यी सौन्दर्य र व्यवहार कुनै न कुनै रूपमा जोडी प्राप्ति र समागमका लागि साधन मात्रै हुन् । साध्य समागम र वंश विस्तार नै हो । सयौं प्रमाणका आधारमा डार्बिनले यो तथ्य स्थापित गरे ।

आ–आफ्नो विभिन्न कोलोनी/समूहमा पन्छीहरूले एक–अर्कालाई नियाल्छन् र यसैको आधारमा केही निर्णय लिन्छन् । कुन समूहमा मिसिएर बसाइँ सर्ने, उडान भर्ने, कुन बचेराको मुखमा चारो हाल्ने, कुन अण्डामा ओथारो बस्ने इत्यादि । तर, बच्चा कोरल्न कुन/कस्तो जोडी छान्ने भन्नेचाहिँ सबैभन्दा महत्त्वपूर्ण निर्णय हो ।

यसका निम्ति चराले (अधिकांश प्रजातिमा पोथी) प्वाँख/पखेटाको निश्चित रङ, ढाँचा, गीत, नृत्य वा अन्य सीपजन्य व्यवहारप्रति अभिरुचि देखाउँछन् । जोडी छनोटको क्रममा पोथीले भालेहरूमा हुने यस्तै आलंकारिक गुण/व्यवहारहरूप्रतिको आग्रही रुचि नै प्राणी जगत्मा सौन्दर्यको उद्विकासको कारण हो ।

प्राणी जगत्मा विद्यमान यस्तै आलंकारिक अंग, तिनको सौन्दर्य र प्रणय व्यवहारलाई आफ्नो उद्विकासको व्याख्यामा समेट्न डार्बिनले सन् १८७१ मा ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ मा प्राकृतिक छनोटभन्दा पृथक् ‘लैंगिक छनोट’ (सेक्सुअल सेलेक्सन) को नयाँ र पुरक सिद्धान्त अगाडि ल्याए । प्राकृतिक छनोटले लामो कालखण्डमा शारीरिक रूपमा बिलकुलै पृथक् नयाँ प्रजातिको जन्म सम्भव भए पनि एकै प्रजातिभित्र भाले–पोथीबीचको भिन्नताको व्याख्या लैंगिक छनोटको नयाँ संयन्त्रले गर्न सक्छ भन्ने उनको विश्वास थियो ।

(लुकिङ फर फ्यु गुड मेल, एरिका लोराइन मिलाम) ।

यसका लागि उनले तिन चरणको ‘रोड म्याप’ को परिकल्पना गरे । पहिलो, आजीवन युगल जोडीको रूपमा बिताउने प्रजातिबाहेक अन्य प्रजातिमा समागम गर्न चाहने पोथीको भन्दा समागम गर्न चाहने भालेको संख्या बढी हुन्छ । दोस्रो समागम सफलता ‘र्‍यान्डम’ हुँदैन । पोथी प्राप्त गर्न सफल भालेहरूको आलंकारिक/शृंगारिक गुण समूहका अरूभन्दा गुणात्मक/मात्रात्मक रूपमा बढी हुन्छ । तेस्रो त्यस्ता गुणहरूको आनुवंशिक आधार भएकाले पछिल्ला पुस्तामा ती गुणहरू व्याप्त हुन्छन् । (अ मोस्ट इन्ट्रेस्ट्रिङ प्रब्लम, सं. जेरेमी डिसिल्भा) ।

जोडी छनोटको सिद्धान्तभित्र डार्बिनले एकापसमा विरोधाभासपूर्ण लाग्ने दुई संयन्त्रले कसरी एकसाथ काम गर्छ भन्ने देखाए । पहिलोलाई उनले ‘ल अफ ब्याटल’ अर्थात् युद्धको नियम नाम दिए । एउटै लिंगका पशुपन्छी (सामान्यतया भाले) पोथीको प्राप्ति र समागमका लागि संघर्षरत हुन्छन् । यसै संघर्षका कारण भाले र पोथीबीच शारीरिक संरचनालगायतका भिन्नता (सेक्सुअल डाइमर्फिजम) हुन्छ । त्यसैले भालेहरूको शरीर तुलनात्मक रूपमा ठूलो हुनुका साथै लडाइँ तथा भौतिक नियन्त्रणका लागि आवश्यक पर्ने सिङ, जुरो, दाह्रा, अंगहरूको उद्विकास हुन्छ । प्रकृतिमा देखिने तथ्यहरूले यसलाई पुष्टि गर्छ । उत्तरी अमेरिकामा पाइने एलिफेन्ट सिलको भाले पोथीभन्दा दोब्बर ठूलो हुन्छ । यो समूहमा पोथी प्राप्तिका लागि भालेहरूको संघर्ष निकै सघन हुन्छ । समूहमा एकतिहाइ भालेले सबै पोथीलाई आफ्नो बनाउँछ भने बाँकी भाले आजीवन समागम गर्न नपाई मर्छन् । केही प्रजातिमा भालेहरूबीचको संघर्ष समागमपश्चात् पनि जारी रहन्छ । समागम सकिएपछि केही समूहमा भालेले पोथीलाई घेरेर राख्छ । समागम सकिएपछि अर्को भालेबाट आफ्नो शुक्रकीटको रक्षा गर्न घामकीरी लामो समयसम्म पोथीसँग जोडिएर बस्छ । मध्य अमेरिकामा पाइने मिलिपेड फर्टिलाइजेसनपछि पोथीको डिम्बमा अर्को भालेको शुक्रकीट प्रवेश नगरोस् भनेर कैयौं दिनसम्म पोथीमाथि चढेर बसिरहन्छ । केही प्रजातिमा ‘मेट गार्डिङ’ आक्रामक पनि हुन्छ । घामकिरीकै केही प्रजातिमा पोथीसँग संसर्ग गर्दा आफ्नो लिंगको पछाडि फर्किएको चम्चाजस्तो भागले अघिल्ला भालेले छाडेको वीर्य निकालेर फालिदिन्छ । यस्तो शारीरिक वा व्यवहारगत गुण हुने भालेहरूको समागम दर बढी हुन्छ । यस्तो गुण/व्यवहारको आनुवंशिक आधार हुन्छ र भालेको उक्त गुण तिनका सन्तानमा सर्छ । कालान्तरमा यस्तो गुण/व्यवहार उक्त समूहमा फैलिन्छ ।

लैंगिक छनोटभित्रको अर्को संयन्त्रलाई डार्बिनले सौन्दर्यको पारख भने । यसमा चाहिँ सामान्यतया पोथीले आफूमा अन्तरनिहित सौन्दर्य अभिरुचिको आधारमा आफ्नो जोडी छान्छे । डार्बिनका अनुसार, पोथीको सौन्दर्यचेत सहितको जोडी छनोटले प्रकृतिमा भालेहरूमा देखिएको सुन्दर र आँखा लोभ्याउने शृंगारको उद्विकास हुन्छ । चराको चिरबिर गीत, रंगीविरंगी प्वाँख, नृत्य, निर्माण कौशल, सबैको कारण सौन्दर्यचेतमा आधारित पोथीको जोडी छनोट नै हो ।

डार्बिनको जोडी छनोटको अर्को पृथक् विशेषता थियो— सहउद्विकास

(को–इभोलुसन) को अवधारणा । उनका अनुसार, कुनै निश्चित शारीरिक गुणप्रतिको पोथीको अभिरुचि र भालेमा रहने ती (शृंगारिक/आलंकारिक) गुणहरूले एक–अर्कालाई प्रत्येक पुस्तामा निरन्तर प्रभाव पारिरहन्छन् । अर्थात् प्रत्येक जैविक– शृंगारिक गुणका पछाडि त्यो गुणलाई पारख गर्ने सौन्दर्यचेत हुन्छ । यी दुईले प्रत्येक पुस्तामा एकअर्कालाई प्रभावित पार्दै, डोहोर्‍याउँदै त्यो गुण र रुचि दुवैको विस्तार/विकासलाई सहयोग पुर्‍याउँछ । (अ टेस्ट फर द ब्युटिफुल, माइकल जे रायन) ।

असहमति र आलोचना

सन् १९७१ को प्रकाशनसँगै डार्बिनको लैंगिक छनोटको यो सिद्धान्तको धूवाँदार विरोध सुरु भयो । पोथी प्राप्तिका लागि भाले–भालेबीच हुने प्रतिस्पर्धा अर्थात् ‘ल अफ ब्याटल’ को सिद्धान्तलाई तत्कालै सबैले स्वीकार गरे । तर, ठ्याक्कै १५० वर्षअगाडि भिक्टोरियन समाजमा महिलाको यौनिक सम्प्रभुता त अस्वीकार गर्ने समाजले कुनै पशुको पोथीले पारख गरेर भाले छान्छ भन्ने विषय पाच्य हुने कुरै भएन ।

युद्धको नियम र सौन्दर्यको पारखमार्फत डार्बिनले प्राणी जगत्मा विद्यमान सुन्दरता र भालेहरूको शरीरमा उद्विकास भएको ‘हातहतियारजन्य’ अंग/गुणको उद्विकासको व्याख्या गर्न सक्ने प्रस्ताव गरेका थिए । जोडी छनोटबारे डार्बिनको सिद्धान्तमा अन्तरनिहित ‘सौन्दर्यचेत’ सबैभन्दा र्‍याडिकल प्रस्तावना थियो । प्राणीहरूले आफ्नो प्रजातिभित्र एकआपसका शारीरिक गुणहरूको सौन्दर्यबोध गर्छन् र यही सौन्दर्यको पारख नै प्राणी जगत्मा व्याप्त सौन्दर्यको उद्विकासको कारण हो भन्ने उनको तर्क थियो । कुनै प्रजातिको उद्विकासमा त्यही समूहका सदस्य, त्यसमा पनि पोथीको सक्रिय, स्वतन्त्र भूमिकाको पहिचान झन् सामाजिक रूपमै ‘वर्जित’ विचार थियो । (द इभोलुसन अफ ब्युटी, रिजार्ड ओ प्रुम) ।

डार्बिनको ‘प्राकृतिक छनोट’ भनेको वातावरण, परिवेश, आहाराको पर्याप्ता र यसका लागि प्रतिस्पर्धामा आधारित बाह्य तटस्थ शक्ति हो । यसको ठीकविपरित लैंगिक छनोटलाई चाहिँ उनले स्वतन्त्र, प्रजातिभित्रै अन्तर्रनिहित, सौन्दर्य चेतनाले निर्दिष्ट र सचेत शक्तिको रूपमा व्याख्या गरेका थिए ।

विकासवादको सिद्धान्तका सहप्रवर्तक अल्फ्रेड वालेस नै डार्बिनको विरुद्ध उभिए । असहमतिका यिनै विषयमा सार्वजनिक प्रकाशन र निजी पत्रहरूमा दुई भाइको जुहारी चलिरह्यो । डार्बिनको मृत्युपछि वालेस झन् उग्र भए । वालेसका अनुसार, सामान्यतया भालेमा देखिने शृंगारिक गुणहरू वास्तवमा शृंगारिक होइनन् र यसको व्याख्याका लागि डार्बिनको जोडी छनोटको सिद्धान्तको आवश्यकता पर्दैन । अझ जनावरको मस्तिष्कले संज्ञानात्मक क्षमता राख्छ भन्ने उनले पत्याएनन् । वालेसले भालेहरूमा देखिने शृंगारिक गुणहरूलाई अतिरिक्त ऊर्जाको उत्सर्जनको रूपमा मात्रै व्याख्या गरे । तर, अतिरिक्त ऊर्जाको उत्सर्जनको स्वरूप किन शृंगारिक नै हुन्छ भन्नेबारे उनीसँग प्रस्ट जवाफ थिएन । डार्बिनलाई अस्वीकार गरे पनि प्राणी जगत्मा व्याप्त यसप्रकारको सुन्दरताको प्रभावबाट उनी मुक्त हुन सकेनन् । अन्त्यमा उनले यस्ता शृंगारिक गुणलाई तिनको उपयोगिताको मूल्यसँग लगेर जोडे ।

भालेमा विकसित कुनै निश्चित गुणप्रति पोथीको रोजाइलाई डार्बिनले नितान्त ‘लहड’ को रूपमा मात्रै व्याख्या गरेका थिए । उनले पोथीमा यो रुचि किन उत्पन्न हुन्छ भनेर व्याख्या गर्नुभन्दा पनि पोथीमा त्यो रुचि पहिल्यै स्थापित भएको हुन्छ भन्ने मानेर आफ्नो लैंगिक छनोटसम्बन्धी सिद्धान्तको प्रस्थानविन्दु बनाए । अर्थात् पोथीमा यस्तो लहड हुनुलाई उनले ‘एज इट इज’ को रूपमा स्विकारे । उनको यस सिद्धान्तप्रति त्यस समय विज्ञको असहमति हुनुमा सायद यो पनि एक कारण थियो । (द ब्लाइन्ड वाचमेकर, रिचार्ड डकिन्स) ।

चौतर्फी आलोचनापछि करिब एक शताब्दी उद्विकासको अध्ययन र अनुसन्धानको क्षेत्रमा डार्बिनको यो सिद्धान्त लगभग गुमनाम भयो । सन् १९३३ मा जेए फिसरको ‘रनवे इफेक्ट’ मोडलले डार्बिनको ‘विशुद्ध सौन्दर्यचेत’ लाई आनुवंशिक टेको दियो । भालेका शृंगारिक गुणझैं उक्त गुण रुचाउने पोथीको पनि आनुवंशिक आधार हुन्छ । भालेको शृंगारिक गुण र त्यसप्रति पोथीको रुचिको आनुवंशिक आधार एकपटक स्थापित भएर जोडिएपछि त्यसपछिका पुस्तामा जस्तोसुकै गुणको विकास र विस्तार सम्भव छ भन्ने उनको तर्क थियो । (जेनेटिक थिअरी अफ नेचुरल सेलेक्सन, जे ए फिसर) ।

लगभग अर्को आधा शताब्दीसम्म यसमा पनि धूलो जम्यो । सन् १९७० को दशकमा इजरायली चराविद् आम्टोज जाहभीको ‘ह्यान्डिक्याप सिद्धान्त’ हिट भयो । सारमा यो वालेसकै उपयोगिताको सिद्धान्तको रिप्याकेजिङ थियो । उनले भने,

‘मलाई लाग्छ, जोडी छनोट गर्ने पोथीलाई आफूले छानेको जोडीको कुनै आलंकारिक अंगले त्यस भालेमा अन्तरनिहित गुण पहिचान गर्न सहयोग पुग्ने हुनाले जोडी छनोटको प्रक्रिया प्रभावकारी हुन्छ ।’ (सेक्सुअल सेलेक्सन, अ भेरी सर्ट इन्ट्रडक्सन, अक्सफोर्ड युनिभर्सिटी प्रेस) ।

सन् १९७० पछिपछिका प्रयोग र अनुसन्धानहरूले भालेहरूमा हुने समागम–सफलतासँग उनीहरूको शृंगारिक गुण जोडिन्छ भन्ने पुष्टि गर्‍यो । मेरियन प्याट्रीले बेलायतमा गरेको अध्ययनले मयूरको पंखमा हुने आँखाको स्वरुपको संख्या र भालेको समागम–सफलता जोडिएको देखायो । उनको प्रयोगअनुसार, भाले मयूरको पुच्छरको प्वाँखमा हुने आँखाको ढाँचाको संख्यामा पोथीको अभिरुचि देखियो । उनले गरेको प्रयोगमा सबैभन्दा बढी अर्थात् १६० वटा आँखाको ढाँचा भएको भाले मयूरले जम्मा समागमको ३६ प्रतिशत ओगट्यो । यो ढाँचा १३० वा त्योभन्दा तल भएका भालेहरूको समागम दर शून्य रह्यो । डेनिस वैज्ञानिक एन्डरर्स मोलरले गौंथलीमा त्यस्तो प्रयोग गरे । उनले गौंथलीको समूहमा केहीलाई नक्कली पुच्छर जोडेर छाडिदिए । प्रजनन सिजनमा औसतभन्दा लामो पुच्छर बनाइदिएका गौंथलीले छिटो र धेरै पोथीलाई आकर्षण गर्न सके । (मोलेर १९८८) । सेतो र चम्किलो पुच्छर झिलिक्क देखाएर पोथी फकाउने स्नाइपको पुच्छरमा ज्याकोब होगल्यान्डले सेतो इनामेल दलेर कृत्रिम चम्किलो बनाएर छाडिदिए । उनको यो प्रयोगमा तिनैको प्रजनन दर बढी देखियो । (सेक्सुअल सेलेक्सन, माल्ट एन्डरसन) ।

माल्ट एन्डरसनले अफ्रिकामा गरेको विडो बर्डमाथिको प्रयोग निकै चर्चित थियो । यो प्रजातिको भालेको पुच्छर शरीरभन्दा निकै लामो र भव्य हुन्छ । एन्डरसनले यो प्रजातिका ३६ वटा भाले समाते र तीमध्ये केहीको पुच्छर काटेर अरू भालेमा जोडिदिए भने केहीलाई बुच्चै छाडिदिए । प्रजनन समयमा पुच्छर काटिएको र नकाटिएको भालेभन्दा अरूको पुच्छर जोडेर लामो बनाएको भालेले धेरै पोथी आकर्षित गरेको पुष्टि भयो । (उही, एन्डरसन) ।

यस्ता सयौं प्रयोगले सन्तान उत्पादनका लागि भालेमा कुनै निश्चित आलंकारिक, शृंगारिक गुणको आधारमा पोथीले भालेको पारख गर्छे भन्ने स्थापित भयो ।

‘चुजी’ पोथी र शृंगारिक भाले !

सामान्यतया जोडी छनोटमा पोथी नै ‘चुजी’ किन हुन्छ ? भालेले नै किन प्रतिस्पर्धा गर्नुपर्छ ? यो भूमिका सामान्यतया किन उल्टो हुन सक्दैन ? डार्बिनले यसको चित्तबुझ्दो जवाफ दिन नसक्नु नै उनको नयाँ सिद्धान्त ओझेल पर्नुको एक कारण थियो ।

प्रणयस्थलमा पोथीहरूका बिच आफ्नो नृत्य देखाउँदै भाले मयुर । तस्विर : विकास बस्नेत

सन् १९७२ मा रोबर्ट ट्राइभर्सले चर्चित शोधपत्रमार्फत भाले र पोथीबीचको प्रजनन लागतको भिन्नताले प्रजनन रणनीति प्रभावित हुन्छ भन्ने आधारमा यसको व्याख्या गरे । यही भिन्नताको कारण आ–आफ्नो प्रजनन दर सफल बनाउने क्रममा भाले–पोथीबीच स्वार्थको टकराव उत्पन्न हुन्छ । (सेक्सुअल सेलेक्सन एन्ड द डिसेन्ट अफ म्यान, बर्नाड क्याम्पवेल) ।

भाले र पोथीले मैथुनिक प्रजननमार्फत आधा–आधा आनुवंशिक सामग्रीको योगदानमार्फत सन्तान उत्पादन गर्छन् । यो आनुवंशिक सामग्रीको प्याकेजिङ भएको कोषलाई ग्यामिट (शुक्रकीट र डिम्ब) भनिन्छ । यो प्याकेजको आकार र संख्या भाले–पोथीमा बराबर भने हुँदैन । भालेको शुक्रकीट लगभग असंख्य र सानो हुन्छ भने पोथीको डिम्ब ठूलो र सीमित हुन्छ । सामान्यतया हामी यौनांगको आधारमा भाले–पोथी छुट्याउँछौं । तर, लैंगिक भिन्नता छुट्याउने आधार यही ग्यामिटको आकार नै हो । जस्तै, ब्राजिलमा पाइने एक परजीवी जुम्राको प्रजातिमा पोथीको लिंग र भालेको योनी हुन्छ । समागमका बेला पोथीको लिंग भालेको योनिभित्र पस्छ र शुक्रकीट तानेर लिन्छ ।

भाले र पोथीबीचको ग्यामिट संख्या र आकारको यो असमानताले उनीहरू फरक–फरक प्रजनन रणनीतिमा लाग्छन् । भ्रूण आरम्भका लागि एउटा शुक्रकीट र एक थान डिम्बको संयोजन चाहिन्छ । तर, कुनै प्राणीको समूहमा शुक्रकीट लगभग असीमित र डिम्ब सीमित रहन्छ । यो असन्तुलनले पोथी प्राप्ति (सीमित डिम्ब) का लागि भालेको (असीमित शुक्रकीट) प्रतिस्पर्धा हुन्छ । अर्कोतिर पोथीका लागि डिम्ब उत्पादनमा लागत बढी हुन्छ । भ्रूण आरम्भपश्चात् हुर्कनका लागि निश्चित समयसम्म त्यही डिम्बमा भएको पोषणमा भर पर्नुपर्छ । त्यसैले भाले छनोटमा महँगो र सीमित डिम्ब निशेचनका लागि पोथीले विचारेर भाले छनोट गर्नु उसका लागि सही रणनीति हुन्छ । त्यति मात्रै होइन, अधिकांश प्रजातिहरूमा पोथीले बच्चा हुर्काउने ‘प्यारेन्टल इन्भेस्टमेन्ट’ समेत बढी हुन्छ ।

भालेको शुक्रकीट निर्माण लागत कम र संख्या पर्याप्त हुन्छ । यस्तोमा सकेसम्म धेरै पोथीसँगको समागम र ‘प्यारेन्टल इन्भेस्टमेन्ट’ मा नअलमलिनु उसका लागि प्रभावकारी प्रजनन रणनीति हो । (आतमार, एनिमल बिहेभियर) ।

यो फरक प्रजनन रणनीति नै जोडी छनोटको आधार हो ।

विशुद्ध सौन्दर्यचेत

जोडी छनोटमा पोथीको कुनै निश्चित गुणप्रतिको रुचि अब स्थापित सत्य हो । दर्जनौं प्रयोगमा पोथीले भालेको चहकिलो रङ, लयात्मक नृत्य, लामो पुच्छर, जटिल आवाज र कडा सुगन्ध मन पराएको पुष्टि भएको छ । तर, यस्तो गुण र त्यो गुणलाई मन पराउने अभिरुचि किन हुन्छ भन्ने बहस अझै जारी छ ।

कुनै पनि जोडीको प्रणय व्यवहार र शृंगारिक स्वरूपले उसमा अन्तरनिहित असल गुणको संकेत गर्छ । यी कलात्मक शृंगारहरू भित्री गुणको इमानदार संकेत हुन् । यसअनुसार मयूरको लयात्मक नाच र इन्द्र्रेणी पंख कुनै लगनगाँठो जुराउने म्याट्रिमोनियल साइटमा राखिएको सम्भावित दुलाहाको इमानदार प्रोफाइल हो । त्यहाँ दुलाहाको सातपुस्ते विवरणदेखि, कुल–वंश, कमाइ, पेसा, इमानदारी, सुरक्षा, सन्तानको अभिभारा लिने क्षमता आदिको फेहरिस्त हुन्छ । पोथीले ती गुण/व्यवहारमा यिनै कुराहरूको विवरण थाहा पाउँछे । जोडी छनोट सिद्धान्तको मूलधारको भाष्य अहिले यही हो ।

यो सिद्धान्तअनुसार, सुन्दरता भन्नु उपयोगिता हो । यसअनुसार, कुनै पोथीको भाले छनोटको आत्मगत रुचिलाई सम्भावित जोडीको बाह्य गुणले निर्धारण गर्छ । उसलाई सुन्दर जोडी नै चाहिन्छ किनभने सुन्दर हुनु नै सम्भावित जोडीमा स्वास्थ्य, ऊर्जा र असल जिनहरू व्याप्त छन् भन्ने प्रमाण हो । यो वालेसको उपयोगितासम्बन्धी धारणाकै निरन्तरता हो ।

यो भाष्यलाई किनारबाट चुनौती दिइरहेको चाहिँ डार्बिनकै विशुद्ध सौन्दर्यचेतको धारणाले हो । यल युनिभर्सिटीका प्रोफेसर, भेट्रान चराविद् र शोधकर्ता रिचार्ड प्रुम पछिल्लोपटक आक्रामक रूपमा चराहरूमा विशुद्ध सौन्दर्यचेतको अस्तित्व हुन्छ भन्ने स्थापित गर्न लागिपरेका छन् । उनी भन्छन्, ‘जनावरहरू इन्द्रियहरूबाट प्राप्त सूचना प्रशोधन गर्न सक्षम हुन्छन्, यसैको आधारमा उनीहरू कुनै निश्चित जोडीप्रति रुचि देखाउन सक्छन् । पछिल्ला प्रयोगहरूले यसको पुष्टि भएको छ ।’

१५० वर्षे इतिहासमा डार्बिनको यो सिद्धान्तमा करिब १०० वर्ष त ग्रहण लाग्यो । करिब ५० वर्षअगाडि ट्राइभर्सको शोधपत्रले पुनः ब्युँतिएर यो अहिले स्थापित भएको छ । प्रकृतिमा पोथीले आफ्नो रुचिअनुसार जोडी छान्छन् भन्नेमा अब कुनै सन्देह छैन । पोथीको जोडी छनोटमा प्रभाव पार्न सक्ने स्नायु वा संज्ञानात्मक आधारहरूमा पछिल्लो अध्ययन केन्द्रित भएको छ ।

हाम्रो व्यक्तिगत रोमान्सको इतिहास केही वर्ष पुरानो होला । तर, करिब ५० करोड वर्षपहिले कुनै आदिम पुर्खाले आँखा र मस्तिष्कको आधारभूत स्वरूपको उद्विकास गरेपश्चात् प्रत्येक पुस्ताको पुर्ख्यौली रोमान्सले सृजना गरेको जीवनको अविच्छिन्न शृंखलामा हामी जोडिएका छौं । त्यसयता हरेक पुस्ताको सचेत र सही जोडी छनोट नै हाम्रो अस्तित्वको आधार हो ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : माघ ३०, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?