कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द्रमान मास्के र त्रिभुवनका जुँगा

छड्के टोपी लगाएका राजा त्रिभुवन एउटा कुर्सीमा बसेका थिए । उनका अगाडि कलाकार चन्द्रमान मास्के राजातिर हेर्दै उनको पोर्ट्रेट बनाइरहेका थिए । त्रिभुवन बोलिरहन्थे । ‘ज्यू सरकार’, ‘हो सरकार’, ‘जो हुकुम सरकार’ जस्ता अभिव्यक्तिहरू चन्द्रमानका सीमित भाषिका थिए
अभि सुवेदी

कलाकार चन्द्रमान मास्केलाई सम्झिने बलियो सन्दर्भ परेकाले यो लेख लेख्न लागेको छु । भर्खरै ‘सिर्जना’ कला पत्रिकाको निम्ति कलाकार नवीन्द्रमान राजभण्डारीको प्रस्तावमा ‘इन्टर्फेस अफ नेपाली आर्ट एन्ड लिटरेचर’ शीर्षकमा एउटा लेख लेखेर बुझाएको सन्दर्भ छ । त्यसमा मैले एउटा कुरा भेटेको लागेको छ । कलकत्तामा उन्नाईसौं शताब्दीका अन्तिम वर्षदेखि बीसौं शताब्दीका सुरुका दशकसम्म कलाकार ईबी हाभेल र अवनीन्द्रनाथ ठाकुरको नेतृत्वमा कलामा पूर्वीयवादी आन्दोलन र शिक्षा चलेको थियो ।

चन्द्रमान मास्के र त्रिभुवनका जुँगा

थियोसोफिकल समाजकी अध्यक्ष आनी बेजन्ट र कला समीक्षक कुमारस्वामीको समर्थन थियो, तर त्यसको विपरीत विचार लिने कलाकारहरू र समीक्षक थिए । उनीहरू कलामा स्वतन्त्र प्रयोग गर्थे अनि राजा रवि बर्माका शृङ्गार चेतना, अभिव्यक्तिमूलक रङ र रूपको प्रयोग गरिएका चित्रको समर्थन गर्थे । यो महत्त्वपूर्ण कालमा नेपालका दुई युवक क्रमशः चन्द्रमान मास्के र तेजबहादुर चित्रकारलार्ई त्यहाँको सरकारी कला स्कुलमा अध्ययन गर्न पठाए चन्द्रशमशेरले । उनीहरू खुला कलाका विषय छान्ने र प्रयोग गर्ने शिक्षा लिएर फर्के अनि निकै काम गरे । मैले यति धेरै वर्षदेखि कला समीक्षा गर्दा एउटा कुरा हेरेको रहेनछु भन्ने लाग्यो । यी दुई कलाकार त्यो कालमा कलकत्तामा नै खुला कला शिक्षामा दीक्षित भएको हुनाले नेपाली कलाको पहिलो आधुनिक कालिक प्रयोग र चेतना यिनै कलाकारहरूबाट आएको रहेछ । लामो लेख छ, त्यो । कलाकार मास्केलाई बारम्बार भेटेर म उनका कुरा सुनिबस्थें । उनले सुनाएका मौखिक घटनाहरू टिपेको आधारमा केही लेखहरू लेखिसकेको छु । मास्केका संस्मरणले नेपाली आधुनिक चेतना र राजनीतिलाई पनि प्रतिविम्बित गर्छन् । उनका दुईवटा सस्मरणबारे लेख्नैपर्छ । मलाई निकै पहिले नै सुनाएको यी कलाकारका जीवनको यो दोस्रो घटना यहाँ लेखेको हुँ । पहिलो घटनाबारे पछि लेख्नुपर्छ ।

नारायणहिटी दरबारको राजा त्रिभुवनको निवासकै एउटा बगैंचा । जाडो याम तर खुला आकाश भएकाले तातो घाम लागेको थियो । उनको दरबारमा खटिएका रक्षकहरू अनि महिला कामदारहरू केही काम गर्दैै वरपर हिँडिरहेका थिए । युवक र राम्रो मुहार भएका, लबेदा सुरुवाल अनि किञ्चित् छड्के टोपी लगाएका राजा त्रिभुवन एउटा कुर्सीमा बसेका थिए । उनका अगाडि कलाकार चन्द्रमान मास्के आफ्ना विविध रङहरू घोलेको प्लेटबाट आफ्नो ब्रस चोप्दै राजातिर हेर्दै उनको पोर्ट्रेट बनाइरहेका थिए । होचो कदका यी कलाकार लबेदा सुरुवाल कोट र भादगाउँले टोपीमा थिए । पहिला त्रिभुवन अलिकता गम्भीर मुद्रामा आउँथे तर कलाकारसँग बस्न आउँदा उनको अनुहारमा प्रसन्नता दौडिन्थ्यो । हरेकपटक ‘ए, चन्द्रमान आयौ ? ल बसौं । सबै ठीक छ ?’ भनेर सोध्थे । अनि कलाकार प्लेटमा तूलिका चोपेर बिस्तारै राजाको चित्र बनाउँथे । त्रिभुवन त्यसबीचमा बोलिरहन्थे । ‘ज्यू सरकार’, ‘हो सरकार’, ‘जो हुकुम सरकार’ जस्ता अभिव्यक्तिहरू कलाकारका सीमित भाषिका थिए, मानौ त्यहाँ वरिपरि राणा शासकहरूको केही निगरानी थियो । ती सबैभन्दा नेपालका ठूला मान्छे, राज्यका ‘हेड’ भनिए पनि त्रिभुवन एक प्रकारको शक्ति संरचनाको विरोधाभासको एउटा रूपक थिए । तिनका गतिविधिमाथि परै बसेका जुद्धशमशेरको मानव राडार चलिरहन्थ्यो । एकाएक त्रिभुवनले भने, ‘चन्द्रमान आज यति नै गरौं, हुँदैन । अरू भोलि गरौंला । बनाउँदै जाउला, के भएको छ र ।’ कलाकारले त्यही भाषिका दोहोर्‍याए, ‘जो हुकुम, सरकार !’ राजा कुरा गर्न थाले । उनका प्रश्नहरू सरल हुन्थे । बाहिर कस्तो छजस्ता प्रश्नहरू हुन्थे, उनका । मानिसहरू के गर्दै छन्, इत्यादि । यस्तो लाग्थ्यो मानौं ती राजा यी साना काँटिका कलाकारलाई शून्यमा अदृश्य तूलिका चलाएर चित्रहरू बनाइदिऊन् भन्ने चाहन्थे । कागहरूका हूलहरू हल्ला गर्दै रूखहरूमाथि उठ्दै र तल खाने कुराहरूमाथि झर्दै गरेको आवाज राजदरबारको शून्य चिरेर उठ्थ्यो ।

कलाकार चन्द्रमानलाई एउटा चिन्ता थियो । राणा प्रधानमन्त्री जुद्धशमशेरले उनलाई राजाको एउटा मुहारचित्र सात दिनभित्र बनाइसक्नू, त्योभन्दा एक दिन पनि बढी लाग्न हुँदैन भनेर थर्काएर यो काम लगाएका थिए । कलाकारले स्वतःस्फूर्त भएर बनाएको चित्र र यसरी बनाएको चित्रमा केही फरक त पर्न सक्छ तर उनले आफ्नो काम अगाडि बढाइरहेका थिए । राजाले चित्र बनाउन ढिलो गरिदिएकाले कलाकारलाई भित्र चिन्ता लागेको थियो । तर, राजाकै चित्र त हो नि जे होला भन्ने उनको मनमा साहस पलाउँथ्यो । सन्दर्भ यस्तो थियो । बेलायतमा जर्ज छैटौं राजा भएपछि ब्रिटिस दूतावासले उनको तेल चित्रको प्रति सन् १९३७ मा नेपालमा पठाएको थियो । जुद्धशमशेर राजा त्रिभुवनप्रति सशंकित र खुसी नभए पनि राजाको चित्र बनाएर पठाउनुपर्ने भएकाले कलाकार चन्द्रमान मास्केलाई यो जिम्मा दिइएको थियो ।

अर्को त्यस्तै दिन । कलाकारलाई आज दरबारमा राजालाई भेट्ने समयभन्दा अगाडि जाने निर्देशन आयो । चित्र कति सकियो भनेर हेर्न प्रधानमन्त्री आउने भनियो । सात दिन त के राजा त्रिभुवनले कलाकारसँग बढी समय भेट्ने चाहनाले यो चित्र बनाउने बसाइ लम्ब्याउँदा अरू एकाध बढी हफ्ता बितेछन् । जुद्धशमशेरलाई शंका लागेकाले ती त्रुद्ध थिए । राजा त्रिभुवनको दरबारकै अगाडि राजाले पनि सुन्दै छन् भन्ने बुझेर जुद्ध कलाकारसँग कड्किए, ‘ए, चन्द्रमान किन यति धेरै समय लगाएको ? यो बेलायतमा पठाउनुपर्नेछ छिटै भनेको होइन ?’ कलाकारले त्यही भाष्य दोहोर्‍याए, ‘जो हुकुम, सरकार !’ ‘ल भैगो, अब सातदिन भित्र सक्नू ।’ ‘जो हुकुम, सरकार !’ ‘अनि राजाको अनुहार पनि यस्तो कलिलो ठिटाको जस्तो हुन्छ । अझ बाहिर पठाउने बेलायत दरबारमा । यसमा हल्का हुन्छ कि बाक्लो हुन्छ जुँगा राखिदिनू’, जुद्धले हुकुम गरे । उनको उही उत्तर थियो, ‘जो हुकुम, सरकार !’ कलाकारले घना जुँगा त राख्न मिल्दैन भनेर हल्का जुँगा बनाइदिए । यो सबै कुरा राजाले माथिबाट सबै सुनेका थिए । राजा सेसनका निम्ति तल आए । नजानेजस्तो गरेर उनले सोधे, ‘चन्द्रमान यो ओठमाथि कालो रेखा जुँगाजस्तो के हालेको ?’ ‘प्रधानमन्त्रीको हुकुम भएकाले सरकार ।’ ‘मेरो जुँगा छैन नि । त्यसो हुँदा यो हटाइदिऊँ ।’ ‘जो हुकुम, सरकार !’ त्यसपछि यो चित्र राजा त्रिभुवनले छिटो सक्न दिएनन् । यो चित्र सक्न निकै हप्ता लाग्यो । राजाले यसलाई चुनौतीको रूपमा लिए भन्ने जुद्धले बुझे । कलाकार मास्के यो जुँगाको मौन युद्धको क्रस फायरिङबाट निस्के । यो कथा मलाईभन्दा उनी केही हाँसेका थिए । त्यो सबै सम्झिँदै उनले त्रिभुवनलाई धेरै माया गरे ।

चन्द्रमान मास्के पछि जेल परे । ती पक्कै प्रजातन्त्रका पक्षपाती थिए । उनले त्रिभुवनका केही सन्देश पनि बाहिर ल्याए । राजकुमार वसुन्धराका युवाकालदेखिकै अन्तरङ्ग, दरबारका कर्मचारी यो घटना भित्रै सुनेका शिवहरि रिमालबाट पनि बढी कुरा थाहा पाएँ । बेलायतमा जाँदा राजदूतावासमा बस्ने गरेकाले यो चित्रबारे जानकारी हुन्छ कि भनेर सोधीखोजी गरेको तर कसैलाई यसबारे थाहा रहेनछ भन्ने रिमालको अनुभव सुनेको थिएँ । जुद्धका छोरा बहादुरशमशेर बेलायतका राजदूत भएको बेला थियो त्यो । उनले भनेरै मास्केलाई जुद्धले चित्र बनाउन लगाएको देखिन्छ । यो सबै कुराबाट एउटै निष्कर्ष निस्किन्छ, त्यो चित्र सिधै बकिङ्घम दरबारमा पठाइएको थियो । मैले यो कुरा भन्दा मास्केले आफ्ना कलाकृतिबारे जानकारी हुन नसकेको, उनको नाम नराखी जथाभावी छापेको गुनासो गरेका थिए ।

चन्द्रमान मास्के जेल पर्नुको कारण त्रिभुवनको सन्देश बाहिर पुर्‍याएको आदि कुराबाट उनीमाथि राणा शासनको शंकालु दृष्टि पर्नु नै थियो भन्न सकिन्छ । उनले जेल पर्दा पनि चित्र बनाउन छोडेनन् । सँगै जेलमा परेका महाकवि चित्तधर हृदयको महाकाव्य ‘सुगत सौरभ’ का निम्ति उनले बुद्धको जीवनमा आधारित चित्रहरू बनाइदिएका छन् जुन किताबमा राखिएका छन् ।

मैले कलाकार मास्केलाई एउटा प्रश्न गरेको थिएँ । ‘तपाईंको पछि जासुसी गर्न के कलाकारहरू लगाइएका थिए ?’ उनले भनेका थिए, ‘कलाकारहरूमा त्यति तल गिरेको नैतिकता हुँदैन । नेपालका सबै कलाकारले मलाई र कलाकर्मलाई सधैं सम्मान गरे ।’ मलाई झट्ट लाग्यो के साहित्यकारहरूले राणाको अधिनायकवादी शासनमा लेखकको जासुसी गरे त ? खोज्दै जाँदा उत्तर निस्किन्छ, नेपालमा जस्तै अवस्थामा पनि लेखकले लेखकमाथि जासुसी गरेनन् । तिनीहरूमा मास्केका शव्दमा त्यति तल गिरेको नैतिकता थिएन । कतिपय लोकतन्त्रमा पनि अधिनायकवादी सोच भएका शासकहरूका सूचना सञ्जालले जस्तै केही लेखकले शासक, शक्तिउन्मत्त व्यक्ति वा व्यक्तिहरूका निम्ति खुफिया गरेर लेखकहरूको नकारात्मक चित्र उतार्दै अन्नदाता खुसी पार्ने घटिया कर्म गरेका उदाहरणहरू पाइन्छन् । यो पछिल्लो समयको चरित्र हो । नेपाली लेखक र कलाकारहरूमा मास्केले भनेजस्तै त्यति तल गिरेको नैतिकता छैन भन्ने मलाई लाग्छ । नेपालका कलाकार र लेखकहरूको स्वाभिमानको यो इतिहासमा कलाकार मास्केले मलाई कलाकारहरूबारे भनेका ती कुराको विगतदेखि अहिलेसम्मको नैरन्तर्य छ । स्वतन्त्रता र स्वाभिमानको यो कर्ममा राम्रा नेपाली लेखक र मास्केजस्ता कलाकारले उपासना गरिआएको नैतिक चरित्र देखिन्छ ।

प्रकाशित : पुस ४, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?