कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिमलको रूखमुनि

हेमन यात्री

‘यात्रीले गोल गर्‍यो आज,’ कुलबहादुरले धेरैपटक दोहोर्‍यायो । ऊ मेरो विपक्षमा थियो । उसले गोलपोस्ट सम्हालेको थियो । मेरा टिमका साथीहरूले धेरैपटक कुलबहादुरको पोस्टमा बल हाने पनि गोल गर्न सकिरहेका थिएनन् ।

सिमलको रूखमुनि

कसोकसो मैले हानेको गोल भने कुलबहादुरले छेक्न सकेन । त्यही एउटा गोलका कारण म्याच हामीले जितेका थियौँ । खेल सकिएपछि कुलबहादुरले निकै बेरसम्म विस्मात मानिरह्यो । उसले धेरैपटक दोहोर्‍यायो, ‘यात्रीले गोल गर्‍यो आज ।’

अहिले लाग्दै छ– कुलबहादुर यति चाँडै जाँदै छ भन्ने थाहा पाएको भए, त्यो गोल मैले हान्ने नै थिइनँ । वा उसले समाउन सक्ने गरी गोल हानेर केही समय खुसी बनाउने थिएँ उसलाई । भलिबल पनि खेल्न रहर गर्थ्यो ऊ । एक दिन भाइहरूले हानेको सटले कुलबहादुरको अनुहारमै लागेर रन्थनियो । कसो ढल्नबाट जोगियो । त्यस दिन, रक्सी पिएर कोडमा बसेको रहेछ ऊ । यति चाँडै जाने छनक पाएको भए, कुलबहादुरलाई जोगाएर खेल्नु भन्न हुन्थ्यो । लुँडो, तास, क्यारेमबोर्डसमेत खेल्न बस्थ्यो ऊ । तर, यी कुनै पनि खेलमा कुलबहादुरले कहिल्यै जितेको याद भएन मलाई । ऊ यती चाँडै जाला भन्ने पूर्वानुमान गर्न सकेको भए, उसलाई जिताउनु हुन्थ्यो हरेक खेलहरूमा । खेलैपिच्छेको हारले, सायद जिन्दगीबाटै हार्दै छु भन्ने अन्दाज पो गरेको थियो कि कुलबहादुरले ?

बाहिरबाट हेर्दा लाग्थ्यो– डराउनुपर्ने खास रोग केही छैन कुलबहादुरसँग । ठीकठाक छ शरीर । तर, बेस्सी नै रक्सी सेवन गर्ने आदत थियो उसको । युरिक एसिडले सताइरहेको उसलाई रक्सी कम गर्न भनेको थिएँ एक दिन । काम गर्नै नमिल्ने गरी हातका औँलाहरू सुन्निएका थिए । हात–खुट्टाका जोर्नीहरू दुख्छ, औषधि गर्छु भन्थ्यो । तर, उसले औषधि गरेन । रक्सी पनि छोडेन । कुलबहादुरले कुनै दिन औषधि गर्ला, रक्सी छोड्ला भन्ने लाग्थ्यो । उसले दुवै गरेन । हुन पनि ऊ ठीकठाक नै थियो । नियमित काम गर्थ्यो, आफ्नोमा, अरूकोमा समेत । लकडाउन अवधिको अघिल्लो चार महिना, म गाउँ बसेर फर्कंदासमेत कुलबहादुर दुरुस्तै थियो ।

***

गाउँबाट फर्केको केही दिनपछिको एक दिन सुजाले भनिन्, ‘फादर ∕ कुले अङ्कल पनि बित्नुभएछ ।’ अबेरसम्म सुतेर ब्युँझँदा दुई–चार जुवा घाम निस्किसकेको थियो सायद । एउटा गम्भीर दुर्घटनाबाट गुज्रिएर आराम गरिरहेको थिएँ । साँझ चाँडै निदाउने, बिहान अबेर मात्रै उठ्ने दैनिकी बनिसकेको थियो । गएको साउन महिनाको पुछ्रे दिनहरूको एक दिन थियो त्यो । सुजाले हातमा बोकेको मोबाइल स्क्रोल गर्दै कुले अङ्कल बित्नुभएछ भन्ने उसको वाक्यले झस्किएँ म । भर्खरै ब्युँझेको मलाई, कानले धोका दिएको हुन सक्छ ठानेर फेरि स्पष्ट हुन चाहेँ । उही कुरा दोहोरियो– ‘कुले अङ्कल बित्नुभएछ । फेसबुकमा भाइहरूले राख्नुभएको छ ।’ अघिल्लो दिन मात्रै अस्पताल लग्दै गरेको कुरा जीवी काकाले टेलिफोनमा बताउनुभएको थियो । आफैं अस्वस्थ भएको कारण अस्पतालसम्म पुग्ने अवस्था थिएन मेरो । अस्पतालमा केही समस्या भए खबर गर्नुहोला, मैले गर्न सक्ने सहयोग गर्छु भनेर कुरा टुङ्गिएको थियो हाम्रो ।

हतार गरेर फेसबुकको भित्तामा आँखा डुलाउँछु । गाउँमा सामाजिक सञ्जालमा सक्रिय भाइहरूको वाल सर्च गरेर हेर्छु । कृष्ण, इन्द्र भाइहरूले लामालामा सम्झना र चोटका शब्दहरूसहित फोटो राखेर श्रद्धाञ्जली दिएको देखियो । लगत्तै अदृश्य भान्जाको वालमा गएँ । भान्जाले आफ्नो बाबाको फोटो राखेर लेखेको रहेछ– ‘बाबा ∕ तपाईंले यति चाँडै छोडेर जानुहोला भन्ने लागेकै थिएन । मलाई तपाईंले सेवा गर्ने मौकासमेत दिनुभएन ।’

छोराले लेखेको श्रद्धाञ्जलीमा थुप्रै कमेन्ट थिए, जसमध्येको एउटा थियो– ‘बूढा हाम्रो भेट हुन नपाई छोडेर गयौ तिमीले । तिम्रो आत्मालाई शान्ति मिलोस् ।’ वषौँदेखि बेखबर बाँचिरहेका लोग्ने स्वास्नीको बोलचालसमेत नभएको कुरा मलाई थाहा थियो । मृत्युपछि स्वास्नीले बोलाई । तर, एकोहोरो । स्वास्नीले बोलाएको कुलबहादुरले सुन्नै पाएन ।

खासमा, कुलबहादुर एक बिन्दास मान्छे थियो । गाउँको मेलापात होस् वा हाटबजार, निस्केपछि दुई–चार दिन घर नआए पनि हुन्थ्यो उसलाई । साथीभाइका लागि जस्तोसुकै कठिन परिस्थितिमा पनि सहजै उपलब्ध हुन्थ्यो । उसले आफ्नो लागि त कति बाँच्यो कुन्नि, त्यो सोध्नै नापाई गयो । कुलबहादुरको त्यो बिन्दासपन उसले बाँचेको जिन्दगीको दिनसम्मै रह्यो । बेलैमा विवाह गरेको ऊ विवाहको केही वर्षपछि भारतको विभिन्न ठाउँ गएर बस्यो । घरपरिवार, श्रीमती र नाबालक छोरो छोडेर गएको ऊ, कैयन वर्ष बेखबर उतै बस्यो । घर व्यवहार सहज होला भनेर परदेश लागेको उसले घरपरिवार नसम्झी वर्षौँ बितायो । धेरैपछि फर्कियो ।

केही समय घर बसेको उसलाई परिवारले फेरि मलेसिया पठायो । तर, कुलबहादुरको बदलिएन । उस्तै रह्यो, बेखबर । यता छोरा हुर्किंदै गयो । दिनदिनै छोराको आवश्यकता बढ्दै गइरहेको थियो । तर, बाबा कुलबहादुर भने बेखबर थियो । लोग्नेसँग आजित भएर, हुर्किंदै गइरहेको छोरा छोडेर आमासमेत परदेसिई । त्यसयता उनीहरूको भेट भएको थिएन ।

***

किशोरावस्थामा गरेको सङ्गतबाहेक, कुलबहादुर मेरो स्मृतिबाट धमिलो हुँदै गइरहेको थियो । ऊ मुग्लान पस्दै गर्दा म स्कुल सकेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सहर पसिसकेको थिएँ । चाडपर्वमा घर पुग्नुबाहेक, अधिकांश मेरो समय बाहिर बाहिरै बितिरह्यो । आज पनि यो क्रम उस्तै छ । संयोग भनूँ वा दुर्भाग्य, विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीले नेपालमा समेत सरकारले लकडाउन घोषण गरिसकेको थियो । केही समय गाउँ गएर बस्ने योजना बनाएँ । गाउँ पुग्दा, वर्षौँ पहिलेदेखि भेट नभएको कुलबहादुर भेटिए । लकडाउन लम्बिँदै गयो । केही दिनलाई गाउँ गएका हामी पुराका पूरा चार महिना बस्यौं । चार महिनाको बीचमा कुलबहादुरसँग फेरि उही पुराना दिनहरू बाँच्यौँ हामीले ।

कुलबहादुरसँग पहिलोपटक कहाँ भेट भएको थियो हाम्रो ? त्यो त म ठम्याउन सक्दिनँ । तर, हरेक वर्षको तिहारमा हुने देउसी भैलो कार्यक्रमका लागि गरिने रिहर्सलको क्रममा, हाम्रो भेट भएको याद छ । अगुवाहरू हामीलाई नाचगान गर्न सिकाउँथे । हामी इमानसाथ आफ्नो भूमिका निभाउँथ्यौं । समयक्रममा त्यो सांस्कृतिक समूहको अघिल्लो लहरमा कुलबहादर र हाम्रो पुस्ताले नेतृत्व गर्‍यो । देउसीभैलो कार्यक्रम गरी नगद सङ्कलन गर्ने दायित्व हाम्रै पुस्ताका काँधमा थियो । यसरी संकलन गरेको रुपैयाँले सामाजिक गतिविधिमा प्रयोग हुने सामग्रीहरू खरिद गर्थ्यौँ । नेपाली नयाँ वर्षमा सिर्जनाका अनेकौँ विधामा प्रतियोगितात्मक कार्यक्रम हुन्थे । महिनौँदेखिको अभ्यासले हामी निपुण भइसकेका हुन्थ्यौँ । प्रतियोगिता भएको दिन, मुख्यमुख्य पुरस्कार हाम्रा पोल्टामा पर्थे । कुलबहादुर मुख्य हिस्सा थियो । नाचगानकै क्रममा कुलबहादुरले बेलैमा विवाह गर्‍यो, छोरो जन्मायो । आज उही छोरा, बुबाको अल्पायुमै भएको मृत्युमा श्रद्धाञ्जली लेख्ने भएको छ ।

आज कुलबहादुर बितेर गएको पुगनपुग चार महिना हुँदो हो । चार महिनापछि कुलबहादुरलाई उसको बुबाले समेत पछ्याएर गइसकेका छन् । लामो समयदेखि क्यान्सरले थलिएका कुलबहादुरको बुबाले समेत मृत्यु रोजेको यो समय, सहरको यो भीडमा बसेर कुलबहादुर, उसका बुबा र शोकले थिचिएका परिवारलाई सम्झेर आफैं दुख्नुबाहेक मसित अर्को बाटो छैन ।

***

सम्झिरहेको छु– लकडाउनको समय, गाउँमा कुलबहादुरले काम नगरेको घर–बारी कसैको थिएन । ऊ पाककलामा समेत निपुण थियो । कसैको घरमा हौली लगाउँदा, भान्साका लागि कुलबहादुर अनिवार्य हाजिर हुनुपर्थ्यो । गाउँभरि कुलबहादुरले पाककलाको चर्चा हुने गर्थ्यो । सस्याना लाग्ने, तर जान्नैपर्ने त्यस्ता कुरा हुन्छन् जीवनमा । जस्तै : खसी ढालेर बनाउनुपर्‍यो कुलबहादुर चाहिने । राँगा, बङ्गुर फोर्न पर्‍यो, कुलबहादुर चाहिने । घरमा डकर्मीको जरुरी पर्‍यो, कुलबहादुर चाहिने । हुन पनि, स्यानै उमेरमा स्कुल जान छोडेर कुलबहादुर यस्तै जीवनपयोगी सीपहरू सिक्दै हुर्कियो ।

हाम्रो पुस्तामा कुलबहादुरको जस्तो सीप भएको मानिस गाउँमा कोही थिएन भने पनि हुन्छ । कुलबहादुर बितेपछि आमाले सुनाउनुभएको थियो, ‘गाउँमा सप्पैको कोदो रोप्ने खेतालामा कुले आफैँले भात, तिहुन पकाउन सघायो । हाम्रै मैदान बारीमा खेताला लाउँदा पनि, कुले नै भान्से थियो । मर्छजस्तो त कताबाट पनि थिएन ।’ आमाको कुराले मनमा दुःखको आँधी चलिरह्यो । तर, जतिसुकै दुःख, पिरको दहमा डुबे पनि कुलबहादुर फर्किनेवाला थिएन । यतिबेला सोच्दै छु– गाउँमा कुलबहादुरले गर्ने यी तमाम काम कसले गर्दै होला ? गाउँका हरेक मेला पातहरूमा कुलबहादुरको सम्झना हुन्छ/हुँदैन होला ?

***

कुलबहादुरको मृत्युको भोलिपल्ट गाउँ पुगेँ म । आफ्नै आँगनको डिलमा उभिएर कुलबहादुरको घरतिर हेरेँ । मानिसहरूको चहलपहल थियो । ऊबिनाको त्यो घरमा जाऊँ कि नजाऊँ भयो । म पुग्नु र नपुग्नुले खास माने राख्छजस्तो पनि लागेन । आँगनको डिलमै उभिएर आमालाई कुलबहादुरलाई गाडेको ठाउँ सोधेँ । आँगनमै गाडिएजस्ता पाइलाहरू बिस्तारै सर्न थालेँ ओरालो ।

सिमलको रूखमुनि रहेछ, कुलबहादुरको चिहान । भर्खरै झरी परेर रोकिएको थियो । सिमलको रूखबाट पानीका थोपाहरू झर्थे उसको चिहानमाथि । तर, त्यो बिलाइजान्थ्यो उजस्तै । किशोरकालमा कुलबहादुर पनि सिमलको बोटबाट झर्ने पानीको फोकाजस्तै देखिन्थ्यो । यही सिमलको रूख छेउछाउ हल्ला गर्थ्यो, उफ्रन्थ्यो, खेल्थ्यो । आज सधैँका लागि गायब छ ऊ, सिमलको रूखबाट झर्ने पानीको फोकाजस्तै । चिहाननजिकै केराका नयाँ बोटहरू पाउलिरहेका थिए । लकडाउनको बेला कुलबहादुरले नै रोपेको थियो । अहिले साथी भएछ उसको । चिहानमाथि एक जोर नयाँ जुत्ता रहेछन् । एक जोर चप्पल रहेछन् । सद्दे रहँदा उसले बोकिहिँड्ने खुकुरी र ब्याग पनि रहेछ । सायद भौतिक रूपमा कुलबहादुरसँग भएको कमाइ थियो त्यो ।

मेरो बालसखा कुलबहादुर ∕ अहिले तिमी बोल्दैनौ, थाहा छ । तर, तिमीलाई मुठी माटो दिनुअघि सोध्न मन लागेको छ– तिमीजस्तै मरेको दिन, मेरो चिहानमाथि के–के हुन्छ होला ?

प्रकाशित : मंसिर १३, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?