कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेतु विकको मौन सालिक

सङ्गीत

टाँगालाई उलार परेर पनि सुख छैन
अघि बढिरहेकै छ घोडा
घिच्याइरहेकै छ टाँगावाल
यो उलारको यात्रा कहाँसम्म चल्ने हो ?
सालिक मौन छ !

सेतु विकको मौन सालिक

मजदुरहरुलाई बिसाउनु छैन जेठ–असारको भावरमा पनि

भतभती पोल्ने चुनावी घाम निधारमा टाँसेर

दौडिरहेका छन् पैतालाहरु, चलिरहेका छन् हातहरु

मेसिनको कलपुर्जासरि छन्–

काँधहरु, पिठ्युँहरु, कम्मरहरु, थाप्लोहरु

पाखुराहरू, हत्केलाहरु, औंलाहरु...

कहाँ पुगेर चलाउन पाउँछन् उनीहरूले दिमागहरु ?

सालिक मौन छ !


एनजीओका सरहरु कालो सिसाभित्र

एयर कन्डिसन लगाएर हुइँकिँदै छन्–

बिहानको खाना कुन भान्साघरमा खाने ?

साँझको पेय कस्तो परिवेशमा बसेर पिउने ?

चिन्ता परेको छ उनीहरुलाई !

यो सहरमा स–स्याना रेस्टुरेन्टहरु कहिलेसम्म रहन्छन् ?

यो सहरमा सस्ता चियाघरहरु कतिन्जेल चल्छन् ?

सालिक मौन छ !


खिरिला खिरिला मान्छेहरु बोकेर

घण्टी बजाउँदै दौडिरहेका छन् पुराना साइकलहरु

धक्का दिन खोज्दै छन् नयाँ ब्रान्डका मोटरसाइकलहरु

पेल्दै र ठेल्दै कुदिरहेका छन् चिल्लाचाप्ला कारहरु

यी साइकलहरुले अपमान बेहोर्न नपर्ने बेला कहाँ छ ?

यी ज्यामीहरु सडकमै कुल्चिइन नपर्ने थिति कहाँ छ ?

सालिक मौन छ !


सालिक मौन छ–

किनभने यहाँ कोही महामनाको सालिक छैन

सालिक मौन छ–

किनभने यहाँ कोही वाचाल शासकको सालिक छैन

सवर्ण सालिकहरुले शासन गरिरहेको यो देशमा

यही चोक छ एक प्रतिवादजस्तो अपवाद

किनभने यो महेन्द्र चोक होइन,

जहाँ बुट्टाहरु भरिरहन्छन् इतिहासकारले दिनैपिच्छे

यो पृथ्वीनारायण चोक होइन,

जहाँ कोरस थपिरहन्छन् व्यापारीका जागिरेले सातैपिच्छे

यो पुष्पलाल चोक होइन,

जहाँ कम्युनिस्टहरु पुगेर एक मिनेट मौनधारण गर्छन्

बीपी चोक पनि यो होइन,

जहाँ समाजवादीका सन्तानहरु पुगेर धर्मदीप बाल्छन्

भानु चोक, देवकोटा चोक, लेखनाथ चोक होइन

जहाँ वर्षको एक दिन कविहरु पुग्छन् र मौसमी कविता

पाठ गर्छन्


यो सेतु विक चोक हो !


यो सेतु विक चोक हो

यही चोक छ एक प्रतिवादजस्तो अपवाद

किनभने यतिखेर सेतु विकको सालिक मौन छ

जेठ–असारको उखरमाउलो गर्मीझैं

उखरमाउलिँदै छ नयाँ शासकहरुको भारदारी झगडा

कोतघरको झ्यालबाट चिच्याइरहेका छन् दरबारी पण्डितहरु

बन्दुक रोप्न गाउँ पस्दै छन् नयाँ शासकका सेनापतिहरु

चिडियाखाना भत्काएर सहर पस्दै छन् क्रूर जनावरहरु

तर, सेतु विकको सालिक मौन छ, अझै सोचमग्न छ


हो, सेतु विकको सालिक अझै सोचमग्न छ

आउनुस्, यहीं उभिऊँ दुई मिनेट–

यही मौनताको चोकमा

र, सोचौं हामी पनि–

यो मौनताको वर्तमान कहाँसम्म लामो छ ?

यो मौनताको भविष्य कहिलेदेखि सुरू हुन्छ ?

प्रकाशित : मंसिर १३, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?