वर्णव्यवस्था : योनिमाथिको अंकुश- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्णव्यवस्था : योनिमाथिको अंकुश

सुजित मैनाली

हिन्दु समाजमा आजका मितिसम्म विद्यमान सम्भवतः सबैभन्दा पुरानो र जब्बर सामाजिक प्रणाली वर्णव्यवस्था हो । नारीको स्वतन्त्रतालाई अस्वीकार गर्ने र घरपालुवा जनावरलाई झैं उनीहरूलाई विशुद्ध उपयोगितावादी दृष्टिले हेर्ने पुरुषकेन्द्रित सामाजिक चिन्तन वर्णव्यवस्थाभन्दा पनि प्राचीन र जब्बर छ ।

हिन्दुहरूको सामाजिक इतिहास केलाउने प्रायः सबै जनाले वर्णव्यवस्था र नारीको सामाजिक हैसियतलाई छुट्टाछुट्टै हेर्ने गरेका छन् । नूर यलम्यानको ‘अन द प्युरिटी अफ वुमेन इन द कास्ट्स अफ सिलोन एन्ड मलावार’ (१९६२), उमा चक्रवर्तीको ‘कन्सेप्चुअलाइजिङ ब्राह्मिनिकल पेट्रियार्की इन अर्ली इन्डिया : जेन्डर, कास्ट, क्लास एन्ड स्टेट’ (१९९३) लगायत लेखमा चाहिँ वर्णव्यवस्था र नारीको यौनजीवनलाई एउटै डालोमा हालेर व्याख्या गर्ने जमर्को गरिएको छ । वर्णव्यवस्था र नारीका सवाल एकअर्कासँग अन्योन्याश्रित छन् । त्यसैले यिनीहरूलाई एकसाथ व्याख्या नगरी हिन्दु समाजको नसनाडी राम्रोसँग छाम्न सकिँदैन ।

योनिको अनुशासन

चरम नारीद्वेषी समाजमा योनिलाई ‘अनुशासित’ राख्न नारीलाई ‘चेस्टिटी बेल्ट’ लगाइदिने चलन यदाकदा अझै चलिरहेको छ । ‘चेस्टिटी बेल्ट’ फलाम अथवा अन्य धातुबाट बनेको कट्टुजस्तो हुन्छ । यो बेल्ट महिलाले दिसापिसाब गर्न सक्ने, मैथुनचाहिँ गर्न नसक्ने गरी बनाइएको हुन्छ । बेल्टमा चाबी लगाउने ठाउँ हुन्छ । पतिले घरबाट टाढा जानुपरेमा पत्नीलाई बेल्ट पहिरिन लगाई चाबी आफूसँगै राख्ने गर्छन् । यसरी आफ्नो अनुपस्थितिमा उनीहरूले पत्नीको यौनाचरणको रखवारी गर्ने गर्छन् ।

हिन्दु समाजका मूल्यमान्यता अत्यन्तै होसियारीपूर्वक बनाइएका छन् । तीमध्ये अधिकांश मूल्यमान्यता नारीद्वेषी छन् । तिनको उद्देश्य ‘चेस्टिटी बेल्ट’ ले झैं योनिलाई अनुशासनमा राख्नु हो । वर्णव्यवस्थाको उद्देश्य पनि वस्तुतः यही हो । भौतिक अंकुशबिना फगत सामाजिक मूल्यमान्यताका आधारमा नारीलाई ‘अनुशासन’ मा स्थिर राख्ने उपक्रमका लागि रचिएका यस्ता सन्दर्भले पनि हिन्दु सभ्यता भौतिक संस्कृतिमा विपन्न र अभौतिक संस्कृतिमा ‘सम्पन्न’ थियो/छ भन्ने कुरालाई सिद्ध गर्छ ।

उत्तरवैदिक कालमा कठोर बनेको वर्णव्यवस्थाको प्रमुख विशेषता छुवाछूत हो । त्यसअघि वर्णव्यवस्थासँग छुवाछूत प्रथा गाँसिएको थिएन । वर्णव्यवस्थाबारे उल्लेख भएको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद (१०।९०।१२) मा ब्राह्मण, राजन्य (क्षत्रीय), वैश्य र शूद्र ईश्वरको मुख, पाखुरा, जाँघ र पाउबाट क्रमशः उत्पन्न भए भनिएको छ । यजुर्वेद र उत्तरवैदिक कालमा रचिएका मनुस्मृतिलगायत ग्रन्थमा यही कुरा दोहोर्‍याइएको छ ।

छुवाछूत प्रथा मिसिएपछि वर्णव्यवस्था सघन भयो । छुवाछूतको घनले हानेर शूद्रहरूको मनोबललाई धूलोपिठो पारियो । यसले सवर्णहरूलाई शूद्रका रूपमा ‘पतन’ हुनेखालका व्यवहारमा प्रवृत्त हुन निरुत्साहित गर्‍यो । दिसापिसाब, शव व्यवस्थापनजस्ता फोहोरसम्बन्धी श्रम गर्नेहरूलाई नछुने अथवा उनीहरूले छोएका खानालगायत सामग्रीलाई बिटुलो करार गर्ने चलन स्वास्थ्यका हिसाबले श्रेयस्कर हुन्छ भन्ने बुझाइ प्रकारान्तरमा विकृत बनेर छुवाछूत प्रथा संस्थागत भएको हो भन्ने प्रकार्यवादीहरूको विश्लेषण अमिल्दो छ । किनकि छुवाछूत प्रथा वर्णव्यवस्थाको लक्ष्य होइन, लक्ष्य हासिल गर्ने प्रमुख साधनमध्ये एक हो । यसको प्रमुख उद्देश्य योनिको अनुशासन सुनिश्चित गर्नु हो ।

वर्ण व्यवस्थासम्बन्धी इरावती कर्वेको किताब ‘हिन्दु सोसाइटी : एन इन्टरप्रिटेसन’ (सन् १९६१), लुई डुमोको किताब ‘होमो हाइरार्किकस’ (सन् १९६६) लगायत ग्रन्थमा इन्डोगमी अर्थात् समान जात अथवा उपजातभित्र मात्रै हुने विवाहलाई वर्णव्यवस्थाको एउटा प्रमुख विशेषता मानिएको छ । मानिसलाई जातबाहिर गएर यौनसाथी चयन गर्न नदिनु उसको नैसर्गिक यौनवृत्तिलाई नियन्त्रित गर्नु हो । यस आधारमा वर्णव्यवस्थाको उद्देश्य यौनिकताको नियन्त्रण हो भनि नस्विकार्ने कोही छैनन् । यस्तो विश्लेषणले लिंग र योनि दुवैलाई वर्णव्यवस्थाले समान रूपमा नियन्त्रण गरेको छ भन्ने छनक दिन्छ । तर, वर्णव्यवस्थाले लिंगलाई धेरै हदसम्म उन्मुक्ति दिएर योनिलाई बढ्ता नियन्त्रित गर्दै आएको छ । नारी यौनिकतालाई केन्द्रमा राखेर वर्णव्यवस्थाको विवेचना गरेमा यससम्बन्धी हाम्रो बुझाइ अझ स्पष्ट हुन्छ ।

अप्रीतिकर प्रतिलोम

उचनीचको सघन बन्दोबस्त वर्णव्यवस्थाको अर्को प्रमुख विशेषता हो । उचनीचको भाव संस्थागत गर्न सघाउ पुर्‍याउने सजातीय विवाहको ऐतिहासिक प्रयोजनबारे अर्को उपशीर्षकअन्तर्गत तल चर्चा गरिनेछ । ‘ठूलो’ र ‘सानो’ जातका मानिसबीचको विवाहप्रति अनुदार वर्णव्यवस्थाबारे उल्लेख भएका धर्मशास्त्र वर्णसङ्करप्रति अनुदार छन् । जातबाहिर विवाह गर्नेहरूलाई सजायको व्यवस्था गरेर ती ग्रन्थले वर्णसङ्करहरूको उत्पतिलाई निरुत्साहित गरेका छन् । दण्डको यस्तो व्यवस्था नारी र तल्लो भनिएका जातप्रति बढी कठोर छ ।

मनुस्मृतिमा गरिएका त्यस्ता केही व्यवस्थाबारे चर्चा गरौं । यसमा परस्त्रीसँगको संसर्गबाट वर्णसङ्कर जन्मिन सक्ने भएकाले राजाले परस्त्रीगामी पुरुषको नाक, कान काटेर देशनिकाला गरिदिनुपर्छ भनिएको छ (८।३५२–३५३) । हिन्दु धर्मशास्त्रहरूले ठूलो भनिएको जातका पुरुषले सानो भनिएको जातका कन्यासँग गरेको विवाहलाई अनुलोम भनेका छन् । ठूलो भनिएको जातिकी कन्या र सानो भनिएका जातका पुरुषबीचको विवाहलाई चाहिँ प्रतिलोम भनेका छन् । वर्णव्यवस्थाले नस्लीय शुद्धतालाई अतिशय जोड दिन्छ । सजातीय विवाहमार्फत शुद्ध नस्ल हस्तान्तरण हुँदै जाने भएकाले यसले सजातीय विवाहलाई प्रवर्द्धन गर्छ । त्यसैले भावी पिँढीको नस्लीय शुद्धता समाप्त गर्ने र वर्णसङ्कर सन्तान जन्माउने अन्तरजातीय विवाहलाई धर्मशास्त्रले निरुत्साहित गरेको हो । यति हुँदाहुँदै पनि शास्त्रहरूले कडा दण्डको व्यवस्था गरेर खासगरी प्रतिलोमप्रति बढी अनुदारता झल्काएका छन् ।

मनुस्मृतिको तेस्रो अध्यायमा विवाहसम्बन्धी व्यवस्थाबारे चर्चा छ । त्यहाँ ‘ब्राह्मण, क्षत्रीय र वैश्यहरूले पहिला सवर्ण (आफ्नै जातकी कन्या) सँग बिहे गर्नु उत्तम हुन्छ, कामवश बिहे गर्न मन लागे क्रमैसँग अन्य स्त्रीसँग बिहे गर्न सकिन्छ’ भनिएको छ (३।१२) । ‘शूद्रकी स्त्री शूद्रा नै हुन्छिन्, वैश्यले वैश्या र शूद्रा, क्षत्रियले क्षत्रिया, वैश्या र शूद्रा र ब्राह्मणले चारै वर्णकी कन्यासँग बिहे गर्ने अधिकार हुन्छ’ (३।१३) भनेर यसमा प्रतिलोमलाई निरुत्साहित गरी अनुलोमका लागि बाटो खोलिएको छ ।

मनुस्मृतिका यी श्लोकले फगत कामवासना परितृप्तिका लागि मात्र ठूलो भनिएका जातका पुरुषले सानो भनिएका जातका कन्यासँग विवाह गर्न सक्छन् भनि संकेत गरेका छन् । शूद्राबाट पुत्रोत्पत्ति गर्ने ब्राह्मण ब्रह्मणत्वबाट रहित हुन्छ भनि अनुलोमबाट पुत्रोत्पत्ति गर्न चाहिँ मनुस्मृति (३।१७) ले निरुत्साहित गरेको छ । यसरी मनुस्मृतिले सानो भनिएका जातको योनिलाई छुत र गर्भलाई चाहिँ अछुत करार गरेको छ । शुद्राको छुत योनिबारे महाभारत अझ स्पष्ट छ । यसमा ‘रत्यर्थमपि शूद्रा स्यात्’ अर्थात् शूद्राहरू फगत मैथुनका लागि हुन् भनिएको छ ।

वर्णसङ्करप्रतिको यस्तो अरुचिको प्रभाव नेपाली समाजमा अझै विद्यमान छ । बिहेबारीको चाँजोपाँजो मिलाउने क्रममा व्यक्तिको सामाजिक वरीयता र हैसियत उसको नस्लीय शुद्धतामा खोज्ने चलन अझै छ । अन्तरजातीय विवाहबाट जन्मिएका वर्णसङ्करहरूको सामाजिक हैसियतलाई अहिले पनि सानो मानिन्छ । खत्रीसँग छोराछोरीको बिहे गरिदिन झर्रा क्षत्रीहरू अझै हिचकिचाइरहेका छन् । प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना छोराहरूका लागि राजा सुरेन्द्रविक्रम शाहका छोरीहरूको हात मागेपछि ‘खस भएर तैँले ठकुरीकी छोरी ताक्ने’ भनी सुरेन्द्रविक्रमले वचन लगाउँदा जंगबहादुरले आफ्नो शरीरमा रणबहादुरकी विधवा ब्राह्मणी पत्नी कान्तवतीको रगत पनि मिसिएको छ भन्ने कुराको हेक्का राख्न सुरेन्द्रविक्रमलाई विनम्रतापूर्वक सम्झाएको सन्दर्भ उल्लेख गर्नु यस सन्दर्भमा वाञ्छनीय हुन्छ ।

अन्तरजातीय विवाहको सन्दर्भमा वर्णव्यवस्था नारीहरूप्रति बढी निर्मम किन भयो ? यसको प्रयोजन योनिमाथि लगाम लगाउनु र लिंगलाई स्वच्छन्द छोड्नु नै हो । यस्तो गर्दा माथिल्लो भनिएका जातका पुरुषले तल्लो भनिएका जातका नारीलाई भोग्न पाउने भए । ब्राह्मण पुरुषले चारै वर्णका नारीको भोग गर्न पाउने भयो । क्षत्रिय पुरुषले ब्राह्मणबाहेक तीन वर्णका नारीको अनि वैश्यले ब्राह्मणी र क्षत्रियालाई छोडेर अन्य नारीको भोग गर्न पाउने भयो । प्रतिलोममाथि कडाइ गर्दा आफ्ना जातका नारीले आफूभन्दा सानो भनिएका जातका पुरुषको भोग गर्न नपाउने भए । यसबाट माथिल्लो भनिएका जातका नारीहरूमाथि उनीहरूकै जातका पुरुषको एकाधिकार सुनिश्चित हुने भयो । प्रतिलोमबाट जन्मिएका सन्तानलाई वर्णव्यवस्थामा अत्यन्तै निम्नकोटीको सामाजिक हैसियत दिएर यस्तोखालको विवाहबाट हुने सन्तानोत्पत्तिलाई हदैसम्म निरुत्साहित गरिएको छ । महाभारतको अनुशासनपर्वमा ब्राह्मण कन्या र शूद्र पुरुषबीचको समागमबाट जन्मिएका सन्तान चाण्डाल कहलिन्छन् र उनीहरूको हैसियत शूद्रको भन्दा निम्नकोटीको हुन्छ भनिएको छ ।

अनुलोम विवाहलाई धर्मशास्त्रले प्रोत्साहन नगरे पनि अस्वीकारचाहिँ गरेका छैनन् । यस्तोखालको विवाहप्रति धर्मशास्त्रभन्दा हिन्दु समाज बढी उदार थियो भन्ने कुरा शास्त्रमा गरिएका कथाहरूको वर्णन पढ्दा पनि थाहा हुन्छ । उदाहरणका लागि भार्गव कुलका ब्राह्मणहरूले क्षत्रिय परिवारकी कन्याहरूलाई पत्नीका रूपमा ग्रहण गरेको सन्दर्भलाई लिन सकिन्छ । च्यवन र जमदग्नि ऋषिले क्षत्रिय कुलकी क्रमशः सुकन्या र रेणुकालाई पत्नी बनाएका थिए । राजा जनकले चाहिँ सुलभा नाम गरेकी कन्यालाई ‘तिमी ब्राह्मणी हौ, म क्षत्रिय हुँ, हामीबीचको विवाह वर्जित छ’ भनी पन्छाएका थिए । अनुलोम र प्रतिलोमसम्बन्धी यस्ता केही शास्त्रीय प्रमाणबारे आरती धन्दले आफ्नो किताब ‘वुमन एज फायर, वुमन एज सेज’ मा चर्चा गरेकी छन् । उनका अनुसार, त्यतिबेला द्विज पुरुषका धेरै पत्नी हुने भएकाले उनीहरूले सजातीय कन्यालाई धर्मपत्नी बनाउँथे । विजातीय कन्या अथवा शूद्रालाई चाहिँ ल्याइतेका रूपमा भित्र्याउँथे । सजातीय पत्नीबाट उनीहरूले वंश चलाउँथे । विजातीय ल्याइतेबाट दैहिक आवश्यकता पूरा गर्थे ।

वर्जित वर्णसङ्कर

केही लेखकले नारीकेन्द्रित दृष्टिमार्फत वर्णव्यवस्थाको व्याख्या मात्र होइन, यसको मूलसमेत केलाउने काम गरेका छन् । पछिल्लोपटक लेखकद्वय क्रिस बिन्दर र मुकेश इस्वारनले यस्तै प्रयास गरेका छन् । उनीहरूले संयुक्त रूपमा लेखेको ‘अ जेन्डर–बेस्ड थियरी अफ द ओरिजिन अफ द कास्ट सिस्टम अफ इन्डिया’ शीर्षकको लेख सन् २०१४ मा प्रकाशित भएको थियो, जसमा लैंगिकताको आलोकमा वर्णव्यवस्थाको उद्भवबारे विवेचना गरिएको छ । अन्य कतिपय प्रकार्यवादीहरूले झैं उनीहरूले पनि पेसागत दक्षता अभिवृद्धिकै लागि वर्णव्यवस्थाभित्र सजातीय विवाहको अवधारणा लागू गरिएको बताएका छन् । माटोका भाँडाकुँडा बनाउने पुरुषले त्यस्तै पेसामा संलग्न परिवारकी कन्यासँग विवाह गरेमा उसको आर्थिक जीवन सहज हुन्छ । फरक पेसा अँगाल्ने परिवारकी कन्यासँग विवाह गरेमा पुरुषले उपार्जनको काममा पत्नीबाट उल्लेख्य सहयोग लिन सक्दैन ।

सबैभन्दा पहिले ब्राह्मणहरूमाझ वर्णव्यवस्थाको अभ्यास सुरु भएको थियो । ब्राह्मणहरूले सजातीय विवाहलाई प्रश्रय दिनुको कारण पनि पेसागत दक्षता अभिवृद्धि नै थियो भन्ने उनीहरूको मत छ ।

इपू १५०० ताका हिन्दुहरूमाझ लिपि विकसित भइसकेको थिएन । त्यतिबेला धर्मग्रन्थहरू कण्ठ गरेर स्मृतिमा सुरक्षित राख्ने र सन्तानहरूमार्फत त्यसलाई पुस्तान्तरण गर्दै लैजाने परिपाटी थियो । त्यो काम ब्राह्मणहरूले गर्ने गर्थे । अमुक धर्मग्रन्थ अथवा त्यसभित्रका खण्ड अमुक ब्राह्मण कुलका पुरुष सदस्यले कण्ठ गर्ने र छोराहरूलाई पनि कण्ठ गर्न लगाई पुस्तान्तरण गर्दै लैजाने विधान त्यतिबेला थियो । यस्तोमा एउटै ग्रन्थ अथवा त्यसभित्रको खण्ड कण्ठ गर्ने दुई भिन्न परिवारका पुरुष र कन्याबीच विवाह भएमा परिवारको बिँडो थाम्न उनीहरूका छोरा बढी सक्षम हुन्थे । अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानको सामाजिकीकरणमा घर र मावलका भिन्न संस्कारको प्रभाव परेको हुन्छ । घर र मावल दुवैतिर एउटै संस्कार छ भने कुलपरम्परालाई निरन्तरता दिन सन्तानहरूलाई सजिलो हुन्छ । शास्त्रहरूको पुस्तान्तरणकै लागि सजातीय विवाहलाई प्रश्रय दिनेगरी वर्णव्यवस्थाको उद्भव भएको हो र यसकै कारण कैयौं हिन्दु धर्मग्रन्थ आजका मितिसम्म सुरक्षित रहन सकेका हुन् भन्ने बिन्दर र इस्वारनको मत छ ।

अन्तरजातीय विवाहलाई निरुत्साहित गर्ने हिन्दु शास्त्रहरूले प्रतिलोमलाई बढी वर्जित ठहर्‍याउनुका दुई कारणबारे पनि उनीहरूले चर्चा गरेका छन् । पहिलो, यस्तो गर्दा विवाहका लागि सजातीय स्त्रीहरू फेला नपर्लान् भन्ने सवर्ण पुरुषको चिन्ता कम भयो । दोस्रो, ठूलो भनिएका जातमा पतिको जिविकाका लागि पत्नीहरूको भूमिका बढी हुने हुँदा यसले त्यतिबेलाको सामाजिक आवश्यकता पनि पूरा गरिदियो ।

प्रतिलोमप्रति वर्णव्यवस्थाको अरुचि बुझ्न यति मात्र पर्याप्त हुँदैन । पुरुष र नारीबीचको असमानता र नारीलाई फगत भोग्या ठान्ने सवर्ण पुरुषकेन्द्रित मनोविज्ञानको आलोकमा हेरियो भने मात्र अन्तरजातीय विवाहसम्बन्धी वर्णव्यवस्थाको नारीद्वेषी विधानलाई अझ गहिराइमा पुगेर बुझ्न सकिन्छ ।

प्रकाशित : मंसिर ६, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

इतिहास : विषयमा आकर्षण, विभागमा विकर्षण

पुस्तक बजार सेलायो या सुस्तायो भनेका बेला पनि इतिहासका पाठक देखापरिरहेकै छन् । इतिहासका किताबका सदावहार पाठक छन् । बिस्तारै बिस्तारै, अलिअलि बिक्री भइरहन्छ । लगानी गर्नासाथ मुनाफा नआए पनि किलोको भाउमा किताब बेच्नु पर्दैन ।
राजकुमार बानियाँ

कोरोना महामारीका बीचमा पनि इतिहासका पुस्तक बेरोकटोक छापिरह्यो, रत्न पुस्तक भण्डारले । कमलप्रकाश मल्लको ‘स्वयम्भू पुराण’, चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्रका कथाहरू’ र फादर गुइस्प्पेको ‘एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ आदि । त्यही माचोमा ‘भीमसेन थापा र तत्कालीन नेपाल,’ ‘श्री ५ रणबहादुर शाह’ (चित्तरञ्जन नेपाली) ‘मध्यकालीन भक्तपुर’ (बलराम कायस्थ), ‘नेपालको इतिहासमा जंगबहादुर’ (त्रिरत्न मानन्धर) आदि पनि पुनर्मुद्रण गरिछाड्यो ।

पुरानो प्रकाशन संस्था भएर पनि हुन सक्छ, इतिहासका पुस्तक प्रकाशनमा रत्न अग्रणी छ । इतिहासकै पुस्तक जहिल्यै उसको प्राथमिकतामा छन् । वार्षिक क्यालेन्डरमा इतिहासका न्यूनतम दुइटा पुस्तक त हुन्छन् नै ।

रत्नका गोविन्दप्रसाद श्रेष्ठको अनुभवमा पुस्तक बजार सेलायो या सुस्तायो भनेका बेला पनि इतिहासका पाठक देखापरिरहेकै छन् । ‘इतिहासका किताबको सदावहार पाठक छन् । बिस्तारै बिस्तारै, अलिअलि बिक्री भइरहन्छ,’ श्रेष्ठ भन्छन्, ‘इतिहासका नेपाली मात्र नभएर अंग्रेजी पुस्तक पनि थुप्रै छन् । लगानी गर्नासाथ मुनाफा नआए पनि किलोको भाउमा बेच्नु पर्दैन ।’

यत्ति हो, प्रचार संयन्त्रहरूमा साहित्यको समानान्तर इतिहासको चर्चा भने छैन । समाचार, समीक्षा, पुरस्कार आदिमा आख्यानकै हाई–हाई छ । कतिपय प्रचारबाजीका कारण किताब ह्वात्तै बिक्छन्, चाँडै ठप्प भइहाल्छन् । साहित्यजस्तो ह्वात्तै त होइन, सदैव आम्दानी दिइरहेका छन् इतिहासका पुस्तकले । र, दु:खद कुरा इतिहास अध्ययन, अनुसन्धानमुखी विधा भएकाले त्यसका लेखक भने हम्मेसि भेटिँदैनन् ।

पाठकको रुचि र खोजी बुझेर होला, अन्य प्रकाशकले पनि इतिहासमूलक पाण्डुलिपितिर नजर लगाइरहेका छन् । त्यसैले दुर्लभ हुँदै गएका इतिहासका पुराना पुस्तकहरू पुनप्र्रकाशनमा जाँगर देखाइरहेका छन् । त्यसको उदाहरण हो, प्रकाशक फाइनप्रिन्ट इतिहास शिरोमणि बाबुराम आचार्यका सम्पूर्ण पुस्तक र फिनिक्स बुक्स सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ प्रकाशनमा लागेका छन् ।

यति मात्र होइन, हेमराज शर्माले सय वर्षपहिले लेखेको ‘प्रथम विश्वयुद्धको वर्णन’ जस्तो लोमहर्षक पुस्तक पनि यही अवधिमा पाठकको हातमा पुग्यो । ‘प्रयोगशाला’, ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’, ‘शिलान्यास’ आदि इतिहासमूलक पुस्तक ‘बेस्ट सेलर’ भए ।

सोसल साइन्स बहा: को सम्पर्कबाट इतिहाससम्बन्धी थुप्रै किताब छापेको छ, हिमाल किताबले । तीमध्ये धेरैजसो अंग्रेजीमा छन् भने केही नेपालीमा अनुवाद भएका छन् । चन्द्रशमशेरको शासनकाल अर्थात् विसं १९४५ मा नेपाल आएका सिल्भाँ लेभीले लेखेको किताब ‘हिन्दू अधिराज्यको इतिहास’ उसैले छापेको हो । तीनपटक नेपाल आएका लेभीको पुस्तक विदेशीले लेखेकामध्ये सबैभन्दा आधिकारिक मानिएको छ ।

राणाकालमै फ्रेन्च भाषाबाट अंग्रेजीमा अनुवाद भयो तर त्यो पाण्डुलिपि पुगेछ, अमेरिकाको हवाई विश्वविद्यालयको इस्ट–वेस्ट सेन्टरमा । हृषीकेश शाहले त्यसको फोटोकपी नेपाल ल्याए । त्यसको जाँचपड्तालमा समय लाग्यो । त्यसमा काम गर्दागर्दै के पत्ता लाग्यो भने फ्रान्सका लागि राजदूतसमेत रहेका डिल्लीराज उप्रेतीले फ्रेन्चबाट सीधै नेपालीमा अनुवाद गरेका छन् । कम्तीमा फ्रेन्चबाट अंग्रेजी, अंग्रेजीबाट नेपालीमा आउने घुम्ती बाटो तय गर्नुपरेन ।

हिमाल किताबबाट नेपाल आउने पहिलो फ्रेन्च यात्रुबारे किताब आउँदै छ भने नेपाल आउने पहिलो रुसी यात्री इभान पाभ्लेभिच मिनाएभको पुस्तक ‘मिनाएभ र नेपाल’ पुनर्मुद्रण गर्दै छ । जंगबहादुरको शासनकाल (सन् १८७५) मा नेपाल आएका प्राच्यविद् मिनाएभ रुसमा नेपालविद्याका प्रवर्तक मानिन्छन् । ‘कथाकहानी आदि निखुर साहित्य छाप्ने थुप्रै प्रकाशन छन्,’ हिमालका वसन्त थापा थप्छन्, ‘इतिहासलगायत समाजोपयोगी किताबलाई हामी महत्त्व दिन्छौं । तर, अनुवादबाहेक नेपालीमै लेखिएका पाण्डुलिपिलाई स्वागत गर्न पाइएको छैन ।’

थापाका अनुसार, जागरुक र सचेत समाजका लागि इतिहासको अध्ययन जरुरी हुन्छ । ‘इतिहास थाहा नपाउने चिनाटिपन (जन्मपत्रिका) बिनाको व्यक्तिजस्तो हुन्छन्’ उनी भन्छन्, ‘इतिहास भनेको जाति, समाज र राष्ट्रको जग हो । जगबिनाको घर कसरी उभिइरहला ?’

इतिहासमा उभार

खासगरी २०६२–०६३ को राजनीतिक परिवर्तनपछि सबैभन्दा आकर्षक विषय भएको छ, इतिहास । चर्चित पुस्तकको सूचीमा इतिहास नछुट्नु त्यसकै ज्वलन्त प्रमाण हो । व्यवस्था परिवर्तनलगत्तै पुरानो प्रणालीबारे जान्न चाहने आम पाठकको मनोविज्ञान हुँदो रहेछ । अहिले पञ्चायत, राणा, मल्ल र लिच्छविकालसम्म जान्ने उत्कण्ठा पाठकमाझ छ ।

गणतन्त्रको उदयपछि इतिहासको गरमागरम बहस चल्यो । कतिपयले अन्यायको आख्यानलाई नै इतिहास मान्नुपर्ने जिकिर गरिरहेका छन् । २ सय ५० वर्षको शाहवंशीय शासन व्यवस्था र त्यसका सूत्रधार पृथ्वीनारायण शाहमाथि अनेक कोणबाट गहन विमर्श भए । खासमा उनले नेपालको एकीकरण गरेका थिए कि गोरखा राज्यको विस्तार भन्ने विषय पनि तात्तातै छ । यसैगरी जंगबहादुरका सकारात्मक परिचर्चा भए भने पहिचान, जातीय विभेद, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता जल्दाबल्दा सामाजिक मुद्दामा बहस जारी छन् । माओवादी सशस्त्र विद्रोह, मधेस आन्दोलन, जनजातिका विमर्श पनि भइरहेकै छन् ।

अध्येताका अनुसार, राज्य पुन:संरचनाको बेला इतिहासका पुस्तक खोजी हुनु स्वाभाविकै हो । किनभने पुरानो संरचनाले किन काम गरेन भन्ने बुझेपछि नै नयाँ ढोका खुल्छ । हिजोका मान्यताको पुनव्र्याख्या, विनिर्माण, विपठनका लागि पनि सायद इतिहासको अध्ययन जरुरी हुँदो हो ।

‘इतिहास पढ्दा धेरैलाई नोस्टाल्जिक बनाउँछ । पुर्खाले हिँडेको कठिन र लामो बाटो, उनीहरूले भोगेको सुख दु:ख, पुर्खाहरूले गरेको प्रेम, यौन, युद्ध र आज्र्याको सभ्यता पढ्दा म पनि लठ्ठ पर्छु । उनीहरूले मानव गरिमा निर्माणका लागि गरेको संघर्ष पढ्दा, सम्झदा र महसुस गर्दा निकै रोमाञ्चित हुने गर्छु,’ राजनीतिकर्मी एवं लेखक केशव दाहाल भन्छन्, ‘इतिहास पढ्नु मेरा लागि पुर्खाहरूसँग साक्षात्कार गर्नु हो । बितेको समयलाई हेर्नु र आनन्द लिनु हो । इतिहास थियो, त्यसैले वर्तमान छ र भविष्य आउनेछ । यो अर्थमा वर्तमानलाई बुझ्न र भविष्यलाई हेर्न इतिहासले सघाउँछ । समयबोधका लागि पनि इतिहास पढ्नुपर्छ ।’

इतिहासविद् योगेश राजका अनुसार, इतिहासमा आफ्नै तर्क र निष्कर्ष पद्धति हुन्छन्  । त्यसलाई एक छिन बिर्सने हो भने, पहिलो खेपमा बितिसकेको संसारलाई फेरि जोडजाड पार्ने हो  । एउटा तथ्य यता रेडियोमा भेटिन्छ । अर्को तथ्य अभिलेखालयमा फेला पर्छ  । तेस्रो तथ्य किंवदन्तीमा भेटिन्छ  । चौथो तथ्य कतै भेटिँदैन । तर, मनमा खेलिरहन्छ । यस्तै चार तथ्यलाई जोडेर त्यसमा रङ चढाउँछौं, स्वर थप्छौँ, बान्की कोर्छौं । उज्यालो–अँध्यारो बनाउँछौं । यसरी बितिसकेको र अहिले कतै खोज्दा नभेटिने संसारलाई हामी खडा गर्छौं ।

यिनकै शब्दमा असल इतिहासज्ञ आफ्नै प्रमाणप्रति अत्यन्त संशयवादी र आलोचनात्मक हुन्छन्  । तिनीहरू कुनै प्रमाणको पासोमा पर्न चाहँदैनन्  । प्रमाणको परीक्षा गरेका गर्‍यै हुन्छन् । इतिहासको खोजमा लागेकाहरू कल्पनाशील त हुन्छन् तर कल्पनामा सितिमिति रमाउन सक्दैनन् । किनभने तिनले उभ्याएको संसार एउटा नाम, एउटा अभिलेख, एउटा अंक, अथवा एउटा सूत्रको तादात्म्यमा अडेको हुन्छ  । पाठकले पढ्दा त्यो जतिसुकै रंगीन, सजीव र सम्भव किन नदेखिऊन्  ।

विद्यार्थीबिनाको विभाग

इतिहास विषयमा बढ्दो जनअभिरुचिका बाबजुद पनि त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग विद्यार्थीविहीन हुनुचाहिँ विडम्बना नै हो । खासगरी सेमेस्टर प्रणाली लागू गरेपछि मानविकी संकायका अधिकांश केन्द्रीय विभागको नियति यस्तै छ । लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएकाले पनि नक्कली विद्यार्थीसमेत छैनन् ।

कतिपयमा इतिहास नीरस, अनुत्पादक र बेरोजगार बनाउने विषय भन्ने भ्रम नभएको होइन । तर, इतिहासका जनशक्ति धेरथोर परराष्ट्र सेवा, पत्रकारिता, अध्यापन, संग्रहालय आदिमा खपत हुन्छन् नै । त्रिभुवन विश्वविद्यालयको स्थापना (२०१६) सँगै अस्तित्वमा आएको सबभन्दा पुरानो विभाग हो, इतिहास र संस्कृति । दोस्रो र तेस्रो उपकुलपति रुद्रराज पाण्डे र हितनारायण झा पनि इतिहासकै प्राध्यापक थिए ।

इतिहास विभाग न बन्द भएको छ, न त कतै गाभिएको छ । अन्तरविषयक अध्ययन पनि थालिएको छैन । त्यसको कहिले रिमोडलिङ हुने हो ? कसैलाई थाहा छैन । राज्यले पनि इतिहास अन्वेषण र अनुसन्धानको काम सघन बनाउने इच्छाशक्ति देखाएको छैन । प्रश्न उठ्छ, औपचारिक अध्यापनप्रति निराशा, विषयप्रति आकर्षणबारे विश्वविद्यालयले किन सोचिरहेको छैन ?

त्यसो त विद्यार्थी नहुनु मात्र समस्या होइन, विश्वविद्यालयबाट उच्चांकसहित डिग्री–विद्यावारिधि लिएकाले पनि अभिलेख राम्ररी पढ्न सक्दैनन् । त्यसको उल्था र व्याख्या गर्न सक्ने इपिग्राफिस्ट र आइकनोग्राफर पाइँदैनन् । राष्ट्रिय अभिलेखालयजस्ता अर्काइभ हुने ठाउँ पनि सुनसान देखिन्छन् ।

राज्य नियन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) जस्ता संस्था पनि निदाएजस्ता लाग्छन् । फ्रान्सको प्रख्यात द नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चकै अनुसरण गरी खोलिएको सिनास कहाँ छ, कसैलाई अत्तोपत्तो छैन । सिनासको राष्ट्रिय इतिहास लेखन परियोजना रोकिएको वर्षौं भयो । संशोधन मण्डल, मार्टिन चौतारीजस्ता संस्थालाई छाडेर रेग्मी अनुसन्धान केन्द्र, द सेन्टर फर सोसल रिसर्च एन्ड डेभलपमेन्ट आदि निजी क्षेत्रका संस्था पनि सुस्ताएकाले इतिहासको व्यवस्थित अध्ययनमा व्यवधान देखिएका छन् ।

विभागबाहिरको जमात

इतिहास विभागलाई एक छिन बिर्सने हो भने सकारात्मक पक्ष हुँदै नभएका पनि होइनन् । इतिहासको आधिकारिक विद्यार्थी नभए पनि गहिरो रुचिका कारण त्यसको खोजी, संकलन र स्वअध्ययन गर्ने व्यक्तिको पंक्तिसमेत तयार भएको सुखद अवस्था छ । तिनैमध्ये एक उदाहरण हुन्, सन्तोष खडेरी । वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स अबुधाबीमा कार्यरत खडेरीले केही वर्षयता विभिन्न अर्काइभमा रहेका नेपालसँग सम्बन्धित महत्त्वपूर्ण अभिलेख खोजी गरेर विभिन्न सञ्चार माध्यममा इतिहासका सुरुचिकर सामग्री प्रस्तुत गरिरहेका छन् ।

इतिहासले मानिसलाई रोमाञ्चित बनाउँछ । त्यसैले आफ्नो मुलुक, व्यवस्था र मानवजातिबारे जान्ने हुटहुटी जाग्छ । वास्तविकता जे भए पनि कतिलाई त यसको वैभव गाथाले सम्मोहित पार्छ । विगतका सकारात्मक वा नकारात्मक जुनसुकै पाटो होस्, इतिहासको रोचकताले मानिसलाई आफूतिर खिचिछाड्छ । इतिहासको सदावहार आकर्षण नै यसमा अन्तर्निहित रोचकता पक्ष हो ।

विगतको इतिहासका आधारमा वर्तमान तय हुन्छ भने यसैको सम्मिश्रणका आधारमा आगामी भविष्यका लागि नयाँ मार्गप्रशस्त गर्छ । ‘इतिहास नपढी पुर्खाले तय गरेको यात्रा र बाँचेको कालखण्डलाई बुझ्न सकिँदैन । इतिहासबोध गरेपछि नै आफूले पाएको विरासत त्यत्तिकै आएको होइन है भन्ने थाहा हुन्छ । त्यसमा कत्तिको योगदान परेको छ भन्ने कुराले उसलाई जिम्मेवार बनाउँछ र आफूले भोलि आफूले के छोडेर जाने भन्नेले भविष्यप्रति जवाफदेही बनाउँछ,’ अध्येता खडेरी भन्छन्, ‘समाजको यथार्थसित असन्तुष्ट आम मानिसलाई विगतका सानातिना घटनाक्रम र उपलब्धिको तुलनात्मक अध्ययन गरेर सन्तुष्ट हुन मन लाग्छ । इतिहासले एकल व्यक्तिवादलाई छाडेर सामूहिकतालाई अँगाल्न व्यक्तिदेखि राज्यलाई जहिल्यै सन्देश दिएको हुन्छ ।’

आत्मकथाको खेती

इतिहास संसारभरि नै महत्त्वका साथ पढिने, सुनिने र व्याख्या–पुनव्र्याख्या भइरहने विषय हो । त्यसका विभिन्न आयामको खोजी र अध्ययन कहिल्यै रोकिँदैन । परम्परागत इतिहास शासकमुखी भए, तिनकै विरुदावलि मात्र गाए भन्ने स्वरहरू सुनिएसँगै जनस्तरमा पनि आफ्नै तवरमा इतिहासको महत्त्व बढ्दो छ । इतिहास बिर्सनु हुन्न, यो पुर्खाको नासो हो भन्ने चेतनाका कारण आत्मकथा या जीवनी लेखिन थालेका छन् । तिनले समकालीन इतिहासलाई धेरथोर लिपिबद्ध नगरेका पनि होइनन् ।

आत्मकथा इतिहास अध्ययनकै विधा हुँदै हो तर आफूलाई महान् देखाउन इतिहास तोरमरोड गर्ने प्रवृत्ति पनि अचाक्ली छ । ‘सत्यनिष्ट आत्मकथा इतिहासकै खजाना हो,’ हिमाल किताबका वसन्त थापा भन्छन्, ‘इतिहासको आख्यानीकरण या नाटकीकरणले चाहिँ त्यो मान्यता पाउँदैन ।’

पहिले सोखका लागि आत्मकथा लेखिन्थ्यो भने अहिले पैसाका लागि । आत्मकथाको भलबाढीमा सेलेब्रिटीले त लेख्ने र लेखाउने नै भए । गैरसेलेब्रिटीले पनि घोस्ट राइटिङ गरेरै सही, फालाफाल आत्मकथा लेखाएका छन् । त्यसको अनुपातमा इमानदार आत्मकथा भने दुर्लभ नै छन् । आत्मकथाको फेसनमा दिवंगत इतिहास निर्माताहरू भने छुटेका छन् ।

पुस्तक बजारमा ‘बेस्ट सेलर’ आत्मकथा दर्जनको हाराहारीमा पुग्छन् । आख्यानपछि आत्मकथाको विशाल बजार भएको प्रकाशकहरूको दाबी छ । आत्मकथाको महत्त्वपूर्ण कडी आत्मसमीक्षा भए पनि नेपाली आत्मकथाहरूमा त्यही कुराको सर्वथा अभाव छ । आफूलाई उठाउने, अरूलाई गिराउने खेल भएका छन् । आफ्ना गल्ती लुकाउने, अरूका नभएका गल्ती औँल्याउने प्रवृत्ति पनि छ । भावी पिँढीलाई इतिहास देखाउने माध्यम आत्मकथामा प्राणतत्व नै छुट्नु या भ्रामक प्रचार गर्नु भने सरासर ठगी नै हो ।

ऐतिहासिक आख्यानको ‘ह्याट्रिक’

ऐतिहासिक आख्यानको कीर्तिमानले पनि इतिहासको रन्को चढेको महसुस हुन्छ । २०७४, २०७५ र २०७६ मा लगालग तीन वर्ष मदन पुरस्कार ऐतिहासिक आख्यानले नै पाए । क्रमश: नीलम कार्की निहारिकाको ‘योगमाया’, योगेश राजको ‘रणहार’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ ले प्रशंसा पनि कमाए ।

नेपालमा ऐतिहासिक आख्यान लेखन परम्परा दशकौँ पुरानो छ । त्यस्ता आख्यान लेख्ने आधार इतिहास नै हो । ‘कतिपय आख्यान इतिहासबाट प्रभावित हुनेभन्दा पनि इतिहासलाई प्रभावित पार्ने किसिमका छन्,’ इतिहासविद् महेशराज पन्त भन्छन्, ‘ऐतिहासिक आख्यान सम्पूर्ण इतिहास होइन तर इतिहासमा पाठकको अभिरुचि बढाइदिन सक्छन् ।’

यसरी हेर्दा इतिहास असली संसार हो भने उपन्यास उपसंसार । आख्यान काल्पनिक रचना हो भने इतिहास वास्तविक रचना । साहित्यमा कल्पनातत्व प्रबल हुन्छ भने इतिहासमा तथ्यतत्त्व । इतिहास अतीत र वर्तमानबीच निरन्तर चल्ने संवाद हो भने साहित्य मानवीय सत्यको उद्घाटन गर्ने माध्यम ।

कतिपय विद्वान सत्य र कल्पनाको सुन्दर संयोजनबाट सिर्जना गरिएको आख्यानमा विश्वसनीय इतिहास बन्ने सामथ्र्य हुने धारणा राख्छन् । खासमा उपन्यास र इतिहासको दशगजामा उभिएका रचना हुन्, ऐतिहासिक उपन्यास । तिनमा ऐतिहासिक तथ्य पनि हुन्छन्, औपन्यासिक तत्त्व पनि ।

पछिल्लो समय ‘बेस्ट सेलर’ सूचीमा रहेको ऐतिहासिक आख्यान ‘मोक्षभूमि’ का लेखक केशव दाहाल भने ऐतिहासिक आख्यानको प्रचलित न्यारेटिभकै विपक्षमा छन् । उनको विचारमा इतिहास इतिहासै हो, कथा कथै । कथालाई इतिहासमा, इतिहासलाई कथामा मिसमास गर्दा आउने पुस्ता झुक्किने जोखिम छ । त्यसैले इतिहासलाई इतिहासमै र कथालाई कथामै छाडिदिनु जाती हो ।

‘आख्यान समयको कथा हो भने इतिहास समयको सत्य । यी दुवै फरक हुन्छन्,’ उनी भन्छन्, ‘आख्यानलाई ऐतिहासिक भन्ने र इतिहासलाई काल्पनिक भन्ने तरिकाले आख्यान र इतिहास दुवै विधाको भलो गर्दैन । पढ्नेहरूलाई द्विविधामा पारिदिन्छ भने लेख्नेहरूलाई खुला र स्वतन्त्र हुन दिँदैन ।’

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : मंसिर ५, २०७७ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×