कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैसा ! पैसा !! हा पैसा !!!

फुटपाथमा तरकारी बेच्न आउनेलाई हामी हप्काएर ५ रुपैयाँ घटाउँछौं तर सपिङ मलमा सामान किन्दा डिस्काउन्ट छ कि भनेर समेत सोध्दैनौं ।
श्रीश भण्डारी

आज लक्ष्मीपूजा । मलाई खुल्दुली छ– यसपल्टको लक्ष्मीपूजा विगतको भन्दा अलिक फरक होला कि उस्तै ? थाहा पाउन मन छ, कोभिड–१९ ले व्यवसाय चौपट भएका, रोजगारी गुमाएका र ऋण तिर्न नसकेका प्रत्येकले लक्ष्मीको फोटो अघिल्तिर बसेर धूप सल्काइरहँदा तिनका मनमा कस्तो धूवाँ मडारिएला ? जिज्ञासा छ– महिनौंदेखि रत्नपार्कलाई दैनिक गन्तव्य बनाइरहेका भोका पेटहरूले विगतमा कहिल्यै लक्ष्मीपूजा गरेका थिए होलान् कि नाइँ ?

पैसा ! पैसा !! हा पैसा !!!

अनि, सोध्न मन छ– अरूका अप्ठ्यारालाई नै कमाउने मुख्य माध्यम बनाइरहेका, स्वास्थ्य सामग्रीमा घोटाला गरिरहेका र मरिसकेका बिरामीलाई भेन्टिलेटरमा राखेर भए पनि थप पैसा कमाउन पल्केकालाई– के तिमीहरू पैसाको यो अतृप्त प्यास कहिल्यै मेट्न सकौला ?

जगजाहेर छ, पैसा कमाउन दुःख छ । यसलाई जोगाउन उत्तिकै दुःख । खर्च हुँदा झनै दुःख लाग्छ । तैपनि बिहान–बेलुका छाक टार्ने मुस्किलमा रहेकादेखि विश्वकै धनाढ्य सूचीमा परेकासम्म सबैलाई धेरैभन्दा धेरै पैसै चाहिएको छ । किन ? आखिर किन मानिस पैसाको पछि यतिबिघ्न मरिहत्ते गर्छ ?

यस प्रश्नको जवाफ खोज्नुअघि एकपल्ट आफैंलाई केही प्रश्न गरौं– मैले कति वर्षमा पैसा चिनें ? अहिलेसम्म कति कमाएँ ? मसँग अहिले कति पैसा वा सम्पत्ति छ ? मसँग जे जति छ म त्यो आफ्नै जीवनकालमा उपयोग गर्न सक्छु होला ? मलाई अब कति पैसा भए पुग्ला ?

सानोमा मैले कहिलेदेखि पैसा चिनेँ त्यो याद छैन । कक्षा ५ मा पढ्दा ताका मेरो लक्ष्य सय रुपैयाँ बनाउने थियो तर ४०–४५ रुपैंयाँदेखि कहिल्यै उँभो लाग्न सकेन । पाँच, दस, पच्चीस र पचास पैसाका सिक्का सबै गरी एक–डेढ माना जति भएथ्यो । सबै सिक्का फिंजाएर पटक– पटक गन्थेँ । धेरैपल्ट गन्दैमा पैसा किन बढ्थ्यो ? एक माना सिक्कामा एक रुपैयाँका मुस्किलले ५–७ वटा मात्रै हुन्थे । नोट कुनै थिएनन् ।

कक्षा ८ तिर पुग्दा मैले रेडियो नेपालको बाल कार्यक्रममा कविता र छोटा कथाहरू लेख्न थालेको थिएँ । लेख्नुको कारण अरू केही नभएर रेडियोमा आफ्नो नाम आओस् भन्ने मात्रै थियो । त्यतिबेला हाम्रै भेगका कलाकार शूरवीर पण्डित रेडियो नाटकहरूमा अभिनय गर्थे । एक साँझ उनी घरमै आएर म र मेरी दिदीलाई भने, ‘रेडियोमा तपार्ईंहरूको रचना प्रसारित भएको पारिश्रमिक छ । बेलैमा लिन जानू, नत्र टाठाबाठाले तलमाथि पार्दिन सक्छन् ।’ उनको कुराले हामी यति खुसी भयौं भनीसाध्ये छैन । हाम्रा लागि रेडियोमा बेला–बखत नाम आउनु नै ठूलो थियो । पैसा पनि पाइन्छ भन्ने थाहा भएपछि यस्तो लाग्यो– यी तमाम मान्छे किन बुद्धु छन्, जो नाम र दाम दुवै आउने यस्तो काम गरिरहेका छैनन् ?

एक दिन म त्यो पैसा लिन रेडियो नेपाल गएँ । सबैगरी ४ सय रुपैयाँ भएको रहेछ । मन त्यसै त्यसै दंग र फुरुङ्ग थियो । त्यो मेरो आफ्नै सबैभन्दा पहिलो र ठूलो कमाइ थियो । पैसा लिएर म सिंहदरबारबाट रत्नपार्कसम्म हिंड्दै आएँ । करिब १० मिनेटको त्यो बाटोमा मैले बीसौंपटकभन्दा बढी पाइन्टको गोजी छामे हुँला । त्यसपछि रत्नपार्कबाट मिनीबस चढेर बूढानीलकण्ठ आइपुग्दा कतिपल्ट छामेँ हेक्का छैन । तर, बसबाट ओर्लेर भाडा तिर्न खोज्दा गोजीको पैसा चट् भइसकेको थियो । सायद मैले पटक–पटक छामिरहेकैले पकेटमारलाई मेरो खल्ती रित्याउन सजिलो भएको थियो । मेरो जीवनकै सबैभन्दा पहिलो र ठूलो कमाइ करिब डेढ घण्टा नबित्दै गुम्यो । एउटा कलिलो खुसी कति छिट्टै खिन्न भयो । तर, मैले यो कुरा कसैलाई बताइनँ । किनकि मलाई आफ्नो पैसा सुरक्षित राख्न नसकेको ग्लानिमाथि उल्टै खप्की थप्नु थिएन ।

सानो बेलाका यी दुई घटना मेरा निम्ति आजसम्म पनि अर्थशास्त्रका दुई महानतम ज्ञान साबित भइरहेका छन् । पहिलो– आर्थिक लक्ष्य आफूले चाहेजस्तै सहजै पूर्ति नहुने रहेछ । र, दोस्रो– पैसाले दिने खुसी असाध्यै अल्पकालीन हुने रहेछ । त्यसयता मलाई न कुनै कमाइले औधी खुसी दिलाएको छ न खर्च हुँदा त्यतिबेलाको जस्तै दुःखी बनाएको छ ।

पैसाको मोह किन ?

मानिस सामाजिक र सांस्कृतिक जीव हो । आधुनिक समाज र संस्कृतिलाई पकडमा राख्ने मानिसको मुख्य हतियार नै पैसा हो । अर्थशास्त्रले पैसालाई वस्तु वा सेवाको उत्पादन, वितरण र खपतको विनिमय सहज बनाउने एउटा उपकरण मानेको छ । पछिल्लो दुई दशकयता त्यसमा न्युरो–इकोनोमिक्सले केही चाखलाग्दा तथ्यहरू थपेको छ । न्युरोसाइन्स, इकोनोमिक्स र साइकोलोजीको एकीकृत अध्ययन गर्ने भएकाले न्युरो–इकोनोमिक्सले अर्थशास्त्रले जस्तो अंकहरूको थपघट र नाफा–घाटालाई मात्रै लेखाजोखा गर्दैन, बरु हामीले कुनै आर्थिक निर्णय लिँदा त्यसले मस्तिष्कमा कस्तो प्रतिक्रिया उत्पन्न हुन्छ, भन्ने तथ्यहरूलाई पर्गेल्ने प्रयत्न गर्छ ।

न्युरोसाइन्टिस्टहरूले करिब २० वर्षअघिदेखि एफएमआरआई (फङ्सनल म्याग्नेटिक रिजनेन्स इमेजिङ) को प्रयोगबाट मानिसले आर्थिक निर्णयहरू लिँदा मस्तिष्कको कुन भाग बढी सक्रिय हुन्छ भन्ने अध्ययन गर्दै आएका छन् । ती अध्ययनले दिएका केही नतिजामध्येको मुख्य हो– पैसासम्बन्धी सूचना वा जानकारीले हाम्रो मस्तिष्कको स्नायविक गतिविधि तीव्र बनाउँछ । अध्ययनहरूले मान्छेको दिमाग र पैसाबीच अत्यन्तै गहिरो सम्बन्ध रहने गरेको देखाएका छन् । यससम्बन्धी अनुसन्धानमा संलग्न स्ट्यान्डफोर्ड विश्वविद्यालयका मनोविज्ञान र न्युरोसाइन्सका प्राध्यापक ब्रायन क्नुट्सनले भनेका छन्, ‘मानिसको दिमागमा पैसाको जत्तिको प्रभाव अरू केहीको छँदै छैन, न नग्न शरीरको न शवको । पैसाप्रति दिमाग बेहद सक्रिय छ । जसरी खानेकुराले कुकुरहरूलाई उत्प्रेरित गर्छ, त्यसरी नै पैसाले मानिसलाई ।’

बैंकहरूको ब्याजदरबारे तुलनात्मक जानकारी दिने अमेरिकी वेबसाइट गोब्यांकिङरेटको केही वर्षअघिको तथ्यांकअनुसार करिब ४ मध्ये एक अमेरिकीले हरेक दिन सबैभन्दा बढी सोच्ने विषय भनेकै पैसा हो । अर्को एक जनाले जागिरबारे सोच्छन्, जुन प्रकारान्तरले पैसासँगै सम्बन्धित छ ।

पैसाप्रति मानिस यति धेरै लिप्त हुनुको खास कारण के भने आर्थिक लाभले हामीलाई प्रेममा पर्दाको जस्तै आनन्द दिन्छ । विभिन्न अनुसन्धानहरूको निष्कर्ष छ– पैसा मात्रै नभएर पैसासम्बन्धी सोचाइले पनि हामीमा एक किसिमको आत्मविश्वास पैदा गराउँछ । यस्तो आत्मविश्वास, जसले म आफ्ना आवश्यकता पूरा गर्न र समस्यासित जुध्न सक्छु भन्ने सुरक्षाको भाव पैदा गराउँछ । डेढ दशकअघि चीनको सन यात्सेन, अमेरिकाको मिनिसोटा र फ्लोरिडा विश्वविद्यालयका अध्येताले चिनियाँ विद्यार्थीमाथि गरेका अध्ययनहरूको निष्कर्षमध्ये एउटा थियो– बराबर संख्या र आकारका कागजका टुक्रा र पैसा गन्न दिने हो भने कागज गन्नेको भन्दा पैसा गन्ने व्यक्तिको मस्तिष्क बढी सक्रिय हुन्छ । यो हामी आफैंले पनि अनुभव गरिरहेकै कुरा हो– खल्तीमा पैसा छ भने शानका साथ बजार पस्न सक्छौं । गोजी रित्तो भएको दिन पसलेलाई सामानको मूल्य निर्धक्क सोध्ने आँटसमेत हुन्न ।

पैसाप्रति लालसा हुनुका अनेक करणमध्ये एउटा असुरक्षाको भावना पनि हो । भोलि बिरामी परियो भने के गर्ने ? छोराछोरी पढाउन सकिएन भने के गर्ने ? कतिले पद र प्रतिष्ठा जोगाइराख्न पैसा चाहिन्छ भन्ने बुझेका हुन्छन् भने कतिलाई शक्तिको अभ्यासका लागि पैसा अनिवार्य लागेको हुन्छ । अधिकांश राजनीतिक नेता यही पछिल्लो कोटिमा पर्छन् ।

पैसा हात लाग्दा आनन्द भएजस्तै गुमाउँदा एक प्रकारको पीडा वा आर्थिक तनाव हुन्छ । सम्झिनुस् तपाईं कुनै प्रियजनको उपचारका लागि अस्पतालको बिल तिर्न गइरहनुभएको छ । बिल तिरेर भर्खरै बिरामीलाई अपरेसन थिएटरमा लैजानु छ । त्यसका लागि हतार हतार क्यास काउन्टरमा पुगेपछि थाहा भयो, पैसा र क्रेडिट कार्डसहितको वालेट र मोबाइल फोनसमेत हराएको छ । त्यतिबेला मानसिकताबाट जे गुज्रन्छ, त्यो नै आर्थिक तनाव हो । सबै आर्थिक तनाव यस्तै हुन्छन् भन्ने छैन । मात्रा थोरबहुत हुन सक्छ तर तनावले मस्तिष्कमा पार्ने असरको प्रकृति भने उस्तै हुन्छ । आर्थिक तनाबले खासगरी तीन प्रकारका क्षति पुर्‍याउन सक्छ– विचारमा, भावनामा र आनीबानीमा । आर्थिक क्षतिले नकारात्मक विचार पैदा गराउन सक्छ । भावनामा पार्ने असरले डर, ईर्ष्या वा पश्चात्ताप महसुस गराउन सक्छ । आनीबानीमा पार्ने असरले सामाजिक व्यवहारमा रूखोपन वा एक्लोपन ल्याउन सक्छ ।

मेन्टल अकाउन्टिङ र मार्केटिङ

मानिसका सोच र गतिविधि सधैँ एउटै तर्कले अघि बढ्दैन । आर्थिक मामिलामा त झनै अस्थिर हुन्छ । पैसाको सवालमा निर्णय लिने हाम्रो तौरतरिका परिस्थितिपिच्छे फरक हुन्छ । अहिले भर्खरै कसैले केही रकम सापटी माग्यो भने उसलाई दिने कि नदिने भन्ने कुरा तपाईंसित पैसा छ कि छैन भन्ने कुरामा मात्र निर्भर गर्दैन । माग्ने व्यक्ति को हो ? उसले किन मागेको ? कति समयका लागि मागेको ? ब्याज दिन्छ कि दिंदैन ? दिन्छ भने कहिलेसम्म दिन्छ ? कैयन् यस्ता प्रश्न हुन्छन्, जसले तपाईंको आर्थिक निर्णयलाई प्रभावित पारिरहेका हुन्छन् । नेपालीमा आहानै छ– पैसा देखेपछि महादेवका पनि तीन नेत्र ! फरक परिवेशमा हामी पैसाबारे कसरी फरक–फरक निर्णय लिन्छौं भन्ने बुझ्न मेन्टल एकाउन्टिङले सघाउँछ, जुन बिहेभियरल इकोनोमिक्सको एउटा अवधारणा हो ।

समान्यतः हाम्रो मस्तिष्क कुनै पनि उत्पादन वा सेवा सस्तोमा किन्न र महँगोमा बेच्न तालिमप्राप्त हुन्छ । तर, यो निमय सधैँ सबैतिर लागू हुँदैन । कतिपय अवस्थामा गणितीय हिसाबमा हामी घाटामा परिरहेका हुन्छौं, तर मस्तिष्कले त्यसलाई फाइदै ठानिरहको हुन्छ । फुटपाथमा तरकारी बेच्न आउनेलाई हामी हप्काएर ५ रुपैयाँ घटाउँछौं तर सपिङ मलमा सामान किन्दा डिस्काउन्ट छ कि भनेर समेत सोध्दैनौं । जबकि ठगिने जोखिम फुटपाथमा भन्दा ठूला सपिङ मलहरूमै ज्यादा हुन्छ । छाप्रे पसलमा पनि कुनै रेस्टुरेन्टको भन्दा सफा र स्वादिष्ट खाजा हुन सक्छ । तर, त्यहाँ दुई सय रुपैयाँ तिर्न आनाकानी गर्ने ग्राहकले रेस्टुरेन्टमा खुसीसाथ २ हजार तिरिदिन्छ । हाम्रो मस्तिष्कमा एउटा यस्तो छाप वा मेन्टल अकाउन्ट (रेस्टुरेन्ट वा सपिङ मलको) बनिसकेको छ, जसले महँगोलाई पनि स्वतः औचित्यपूर्ण ठहर्‍याइदिन्छ । अर्को प्रभाव (छाप्रे पसल वा साइकलवालाप्रति) यस्तो बनेको छ, जहाँ सस्तोमा पनि बार्गेनिङ भइरहेको हुन्छ ।

अनुसन्धानबाटै पत्ता लागेको अर्को रमाइलो तथ्य– आफ्नो पैसा खर्च गर्नु वा गुमाउनुपर्दा जोसुकैलाई एक प्रकारको पीडा त हुन्छ तर त्यो पीडा नगदभन्दा क्रेडिट कार्डबाट खर्च गर्दा कम हुन्छ । किनभने मेन्टल अकाउन्टले नगदलाई खास पैसा र क्रेडिट कार्डबाट भएको खर्चलाई बैंक खातामा हुने अंकको घटबढ मात्रै ठानिरहेको हुन्छ ।

हामीमध्ये धेरैले घर वा गाडीको किस्ता तिरिरहेका हुन्छौं । एक करोडको ऋणको किस्ता तिरिरहेको व्यक्तिको बैंक खातामा ७–१० लाख रुपैयाँ त्यत्तिकै थन्किइरहेको हुन सक्छ । त्यो झिकेर ऋण घटाउने हो भने मासिक ब्याज पनि केही न केही घट्छ नै । तर, हामीलाई लाग्छ– तत्काल कुनै आपद् आइलाग्यो भने त्यस्तो बेलाका लागि अलिकति नगद आफैंसँग हुनु जाति हो । यो सोचाइले आफूसँग रकम भईकन पनि हामी व्यर्थै ऋणको बढी ब्याज बुझाइरहेका हुन्छौं ।

आर्थिक निर्णयसँग सम्बन्धित सोचाइका क्रममा हाम्रो मस्तिष्कले उचित ठहर्‍याउने यस्तै त्रुटिपूर्ण रबैया नै मेन्टल अकाउन्टिङ हो, जुन आक्रामक बजार विस्तारमा जुटेका बिजनेस हाउसका लागि ठूलो अवसरको क्षेत्र हो । यही क्षेत्रमा पसेर उनीहरू आफ्ना ग्राहकलाई विज्ञापनमार्फत फकाउँछन्, लोभ्याउँछन् र फसाउँछन् । अनि पटक पटक फसिरहने गरी लत बसाउँछन् । यसको सबैभन्दा गतिलो उदाहरण हो– मोबाइल फोन । एक वर्षअघि लन्डनस्थित किङ्ग्स कलेजमा गरिएको अध्ययनअनुसार झन्डै एक चौथाइ युवा स्मार्ट फोनमा यति निर्भर भइसकेका छन् कि फोनबाट टाढा राख्ने हो भने उनीहरू अन्य कुलतमा फसेका व्यक्तिसरह नै अस्वाभाविक गतिविधि देखाउन थालिहाल्छन् । ४२ हजार युवामाझ गरिएको यससम्बन्धी ४१ वटा अध्ययन–विश्लेषण ‘बीएमसी साइकियाट्री’ मा प्रकाशित छ ।

थोरै पैसा धेरै खुसी, धेरै पैसा धेरै तनाव

पैसाले हामीलाई निश्चित रूपमा आफ्ना उद्देश्यहरू हासिल गर्न सघाउँछ । आवश्यकताहरू पूर्ति गराउँछ । तर, एउटा सीमासम्म मात्रै । थोरै पैसाले थोरै आवश्यकता मात्र परिपूर्ति हुन्छन् । धेरै पैसाले धेरै नै । तर, अथाह पैसाले असीमित चाहना पूर्ति गर्न सक्दैन । एउटा विन्दुबाट उकालो लागेपछि पैसा सहयोगी कम र प्रत्युत्पादक ज्यादा बन्ने जोखिम रहन्छ । त्यसले मानिसको स्वास्थ्य र भलाइ दुवैमा बाधा पुर्‍याउन सक्छ ।

अर्थशास्त्रमा विलियम स्टेन्ली जेभन्सको उपयोगिता/सीमान्त उपयोगिताको नियमजस्तै पैसाले दिने सन्तुष्टिबारे पूर्तिको वक्ररेखा (फुलफिलमेन्ट कर्भ) उल्लेखनीय छ । भिक्की रोबिन र जोय डोमिङ्ग्विजको ‘योर मनी अर योर लाइफ’ (तिम्रो पैसा कि तिम्रो जिन्दगी) पुस्तकमा चर्चा गरिएको यो वक्ररेखामा चारवटा तह हुन्छन्– जेनतेन जीविका, आरामदायी जीवनशैली, विलासी जीवनशैली र असीमित खपतको अवस्था । जीविकाको तहसम्म थोरै पैसाले पनि धेरै खुसी दिन्छ । आरामदायी जीवनस्तरमा पैसाले खुसी त दिन्छ तर जीविकाको स्तरमा जति दिन्थ्यो त्योभन्दा कम मात्रै । विलासी जीवनस्तरमा पुग्दा त्यति नै पैसाले अघिल्लोको भन्दा अझ कम खुसी दिन्छ । यद्यपि यो स्तरसम्म पैसाले खुसी दिई नै रहेको हुन्छ । पैसाले दिन सक्ने खुसीको यो नै उच्चतम विन्दु हो । असीमित खपतको स्तरमा पुगेपछि भने पैसाले दिने खुसीको हद नाघ्छ । त्यस्तो बेला पैसाले मानिसलाई विवेकहीन बनाउँछ । गलत निर्णयहरू लिने आँट दिलाउँछ । अनावश्यक जोखिम मोल्न प्रेरित गराउँछ । जोखिमसँग खेल्दाखेल्दै गलत कदमसमेत चालिन पुग्छन् । अन्ततः सबै समस्या समाधान गर्छ र असुरक्षा हटाउँछ भन्ने ठानिएको पैसा नै समस्या र असुरक्षाको कारण बन्छ । कमाएको पैसा जोगाउनकै लागि थप पैसा चाहिने हुन्छ । पैसाको असीमित खपत अन्ततः तनावको कारण मात्र बन्छ ।

कति भए पर्याप्त ?

धेरैले भन्न सक्छन्– खान–लाउन पुगोस् । एउटा घर होस् । बालबच्चा पढाउन सकियोस् । बिरामी पर्दा उपचार गर्न सकियोस् । अब यसैमा कसैले थप्न सक्छ– बेलाबखत मनोरञ्जन गर्न पाइयोस् । कम्तीमा एउटा स्थायी नोकरी, एउटा कार र केही न केही बैंक ब्यालेन्स होस् । अझै अर्कोले भन्न सक्छ– महिनैपिच्छे अलिअलि बचत होस् । नोकरी छुट्दाको बेला पनि अप्ठेरो नपरोस् भन्नका लागि बेग्लै सानोतिनो व्यवसाय पनि होस् । जब व्यापार हुन्छ, त्यो बढ्दै जाओस् भन्ने चाहना हुन्छ । यो क्रम निरन्तर बढी नै रहन्छ ।

त्यसैले कति पैसा पर्याप्त हो भन्ने प्रश्नको जबाफ आधुनिक अर्थशास्त्र वा बजारशास्त्रका सिद्धान्त र भौतिकवादका सूत्रहरूमा भेट्न मुस्किलै छ । त्यसका लागि अध्यात्म र जीवन दर्शनको सहारा लिनु पर्ने हुन्छ । पूर्वीय शास्त्रीय परम्परामा उपनिषद्लाई मानव सभ्यताकै समुन्नत र उच्चतम अभिव्यक्ति मानिन्छ । ईशावाश्योपनिषद्को पहिलो मन्त्र भन्छ, ‘यो सृष्टिका सबै स्रोतसाधान परम शक्तिद्वारा नियन्त्रित छन् । मानिसले आफूलाई अत्यावश्यक वस्तुहरू मात्र अंशको रूपमा लिनुपर्छ । थप वस्तुहरू अरूकै हुन् भन्ने जानेर आफूले लिनु हुँदैन ।’ (ईशावाश्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद् धनम् ।)

यसैलाई भागवत्मा अझै चोटिलो पारामा भनिएको छ, ‘आफ्नो पेट भर्नका लागि जति पदार्थको आवश्यकता छ, प्राणीहरूको अधिकार त्यतिमै मात्र छ । यसको बदला, जो व्यक्ति अधिकमा आशक्ति गर्छ, त्यो चोर हो दण्डनीय हुन्छ ।’ (यावद् भ्रियेत जठरं तावत्स्वत्वं हि देहिनाम् । अधिकम् योधिमन्येत स स्तेनो दण्डमर्हति ।)

बाइबलको आशय पनि उस्तै छ, ‘आफ्नो जीवनलाई पैसाको आसक्तिबाट मुक्त राख, आफूसित जे छ त्यसैमा सन्तुष्ट रहू ।’

इस्लाम धर्ममा त झन् प्रत्येक वर्षको आफ्नो कुल कमाइको अढाई प्रतिशत दान दिनुपर्ने नियमै छ । कुरान भन्छ– ‘अर्काको सम्पत्तिलाई अन्यायपूर्वक हडप्ने काम नगर, उद्यम व्यवसाय गर्नु छ भने नियमसंगत रूपमा आपसी सहमतिमा मात्रै गर ।’

गौतम बुद्ध भन्नुहुन्छ, ‘पैसा भनेको अंकहरू हो र अंकहरू कहिल्यै सकिंदैनन् । यदि तिमी पैसा बटुलेर खुसी हुन खोज्छौ भने तिम्रो खुसीको खोजी कहिल्यै पूरा हुन सक्दैन ।’

जीवनमा हामीलाई कति पैसा भए पुग्छ भन्ने कुरा कुनै कानुन, कर कार्यालय वा सरकारले तोकिदिने कुरा होइन । यो आफ्नो विवेकले आफैं यकिन गर्ने विषय हो । अन्याय नगरी कमाउनु र बचेको पैसा विपन्नलाई दान गर्नु नै सबैभन्दा सही विकल्प हो । तर, विडम्बना ! कसैको दिमागमा लौ पैसा पुग्यो, अब यति बच्यो भन्ने आए पो !

पैसा गणित हो कि मनोविज्ञान ?

हामीमध्ये अधिकांशलाई थाहा छैन वास्तवमा मसित कति पैसा छ भनेर । तर, सबैजसोलाई थाहा छ, जति छ त्यो पर्याप्त छैन, त्यसैले अझै कमाउनुपर्छ । आफूसँग भएको सम्पत्ति व्यक्ति आफैंले जीवनकालमा उपभोग गरेर विरलै मात्र सक्छ । तैपनि ऊ सधैँ थप खोजिरहेको हुन्छ । हामीलाई लाग्छ, सम्पत्ति कमाउने हाम्रा योजनाहरू तथ्य, तथ्यांक र बजार विश्लेषणहरूमा आधारित हुन्छन् । तर, होइन । धनसम्पत्तिसम्बन्धी हाम्रा योजना अंकहरूमा भन्दा मनोविज्ञान र भावनाहरूमा आधारित हुन्छन् । दिमागमा पहिले भावना र विचारहरू बन्छन्, त्यसपछि मात्रै अंकहरूले आकार ग्रहण गर्न थाल्छन् । अन्तिममा गएर सम्झिनेचाहिँ फेरि अंकहरू मात्रै हो– मसँग यति अर्ब पैसा छ । यति रोपनी जग्गा छ । यति कित्ता सेयर छ । यति हजार कामदार छन् । जबकी न सबै पैसा खर्च गर्ने हो न त सबै जग्गामा लडीबुडी खल्ने नै हो । फगत अंकहरू सम्झेर आनन्दित हुने मात्र हो । त्यसैले जनसंख्याको ठूलो हिस्सा पैसाको अभावले दुःखी भएको होइन । मनमा लोभ र दिमागमा असन्तुष्टि भरिएकाले दुःखी देखिएको मात्र हो । अभाव भनेको पैसा नहुनु होइन, भावना नहुनु हो ।

जति पैसा भए पनि खुसी नहुने थप कारण हुन्– तुलना, उच्च प्रतिस्पर्धा र तीव्र बजारीकरण । त्यसैले सन्तुष्टि चाहनेहरूले तुलना नगरेकै राम्रो । प्रतिस्पर्धा र बजारीकरणले हामीलाई यसरी बाध्य बनाउँछन् कि अधिकांश सेवा वा उत्पादन हामी आफूलाई आवश्यक परेर होइन, बजारमा उपलब्ध भएका कारण किनिरहेका हुन्छौं । जब अपेक्षाहरू घटाइन्छन् सुख स्वतः बढ्छ ।

भौतिक साधनले भन्दा अनुभूतिले दिने सुख बढी गुणात्मक हुन्छन् । अनुमान गर्नुस्– पहिलो जागिरको पहिलो तलब पाउँदाको खुसी र प्रेमी/प्रेमिकाको अँगालोमा बेरिँदाको खुसीमध्ये कुन बढी सम्झनलायक होला ? के सानोमा बुबाले किनिदिनुभएको घडी वा आमाले खुवाउनुभएको मीठो खानाले दिएजस्तै सन्तुष्टि ठूलो भएपछि व्यापार–व्यवसायमा हुने करोडौंको नाफाले दिन सक्छ ? पैसा र भौतिक स्रोत–साधनमा मात्र रम्नेहरूका लागि जीवनको वास्तविक सन्तुष्टि मृगमरीचिका मात्र हो । भावनात्मक दुनियाँमा रमाउन सक्नेहरूका लागि पैसाले दिने सुख त्योभन्दा कता हो कता गौण हुन्छ ।

सम्पत्तिले खनेको खाडल

आधुनिक अर्थव्यवस्थाले विश्वमा डरलाग्दो खाडल खनिसकेको छ । अक्साफाम इन्टरनेसनलले उसको पछिल्लो ब्रिफिङ पेपरको पहिलो वाक्यमै भनेको छ– विश्वको आर्थिक असमानता नियन्त्रणबाहिर गइसकेको छ । उसका अनुसार, सन् २०१९ मा विश्वका २ हजार १ सय ५३ जना धनाढ्य व्यक्तिसँग ४ अर्ब ६० करोड जनसंख्यासँगभन्दा बढी सम्पत्ति थियो । यदि कसैले इजिप्टको पिरामिड बनेको बेलादेखि अहिलेसम्म दिनहुँ १० हजार डलर जम्मा गर्दै आएको हुन्थ्यो भने पनि त्यो रकम संसारका ५ धनाढ्य व्यक्तिहरूसँग भएको कुल सम्पत्तिको पाँच भागको एक भाग मात्रै हुने थियो । यस्ता कैयन् उदेकलाग्दा तथ्यांक छन्, जसले गरिबीविरुद्धको युद्धलाई मजाकको विषय बनाएको छ । अर्बपतिहरूको संख्या अभूतपूर्व रूपमा बढेको छ । पृथ्वीको वातावरणीय र जैविक सन्तुलत बिथोलिएको छ भने समाजहरूमा विभाजनको दरार पैदा भएको छ । विपन्नहरूका नाममा गरिने राजनीति र उनीहरूकै लागि भनेर बनाइने अर्थनीति दुवै टाठाबाठाले विपन्नलाई नै ठग्ने औजार भएका छन् ।

हामी अहिले यस्तो समाजमा छौं जहाँ वर्षको एक होइन, ३ सय ६५ दिनै पैसाको पूजा भैरहेको छ । मानिसहरू दिनमा होइन, छिन छिनमा पैसाकै चिन्ता र चासो गरिरहेका छन्– पैसा ! पैसा !! हा पैसा !!! छुट्याउन बडो मुस्किल छ– मानिसहरू साँच्चै लक्ष्मीपूजा गरिरहेका हुन् कि द्रव्यपिपासु बनिरहेका ?

प्रकाशित : कार्तिक २९, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?