शासकहरु सबै भाषा पढ्न जान्दैनन्
हे दुर्गे भगवती !
तिम्रो आँसुको आवेदन
खारेज भइसकेको छ धेरै अघि नै
आँसुको अगोचर अक्षर
शासकहरू पढ्न जान्दैनन्
कोठाचोटा खेतखलियान
गाउँसहर जताततै
तिमीले कोरेको इतिहास
बेवास्ता भैसकेको छ धेरै अघि नै
पसिनाको पारदर्शी इतिहास पनि
शासकहरू पढ्न जान्दैनन्
आँसु र पसिना
यति कोमल हुन्छन् कि
तिनले सबै रङ छोडेर
केवल हृदय सजाउँछन्
हृदयको कोमल भाव पनि
शासकहरू पढ्न जान्दैनन्
हे दुर्गे भगवती !
जति सजिलै बगाउँदै आएकी छ्यौ
प्रत्येक महिना मासिकश्राव
त्यसरी नै बगाइदेऊ
बदर निवेदन सदर हुनेगरी
शासकको नाथ्री फुटाएर एउटा रक्तनदी
विद्रोहको धारिलो भाषा मात्र
निरंकुश शासकहरू पढ्न जान्दछन् ।
प्रकाशित : कार्तिक २९, २०७७ १२:०३प्रतिक्रिया