कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमरेड दीपकको हस्ताक्षर

दिनमान गुर्मछान

भिजेको कागजमा लेखिएको थियो– ‘तपाईं उहाँसँग आउनुहोला । हामीलाई तपाईंको खाँचो छ ।’ –कमरेड दीपक । र, अन्तिममा थियो किरिङमिरिङ हस्ताक्षर ।

कमरेड दीपकको हस्ताक्षर

नीलो प्लास्टिक खापिएको घुम ओढेर उभिइरहेको मान्छे पनि भिजेको थियो । उसको हातमा थियो– भिजेको कागज । एकाबिहानै त्यो कागज आइपुगेको थियो मेरो क्वार्टरमा– अनेक शंका, तनाव र संशय बोकेर । रातिदेखि नै पानी दर्किरहेको थियो । घुम ओढेको त्यस दुब्लो गाँठीको मान्छेले भिजेको कागज मतर्फ तेर्स्याउँदै भन्यो, ‘तपाईं मसँग जानुपर्ने भयो ।’

ढोका अघिल्तिरको गाह्रोमा ढेप्पिएर उभिएको अपरिचित मान्छेको अनुहारमा थकान पोतिएको थियो । त्यसबेला यस्तो आदेश लिएर दैलोमा आइपुग्ने मान्छे कि सेना हुन्थ्यो, कि पुलिस हुन्थ्यो कि माओवादी । यस्ता आदेश उसबेला खुब चल्तीको थियो ।

...

२०६० साल । वर्षाले रामेछापका खोला बढेका थिए । बाटो, जंगल र ग्रामीण भेगहरू ओसिला थिए । रामेछाप र ओखलढुंगालाई सीमाङ्कन गरेको लिखुखोला बढेर धमिलो पानी पुल छुन उर्लिरहेको थियो । हो, त्यस्तो समय म रामेछाप पुगेको थिएँ, खोटाङबाट सरुवा भएर ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले मेरो कार्यक्षेत्र तोक्यो– साँघुटार । दुई पहाडबीच खोचको समथरमा थियो– साँघुटार बजार । छेउछाउका हिमगंगा, देउराली, ओखलढुंगाका गाउँहरूबाट मानिसहरू यहाँ नुन–तेल लिन आउँथे ।

आफू अघिल्तिर उभिएको अपरिचितले मलाई उसले चाहेको ठाउँमा लैजाने पक्का थियो । उसको पछि नलागे भोलि, पर्सि वा जुनै बेला उनीहरूको जन (कारबाहीमा ?) परिने पनि पक्का थियो ।

जुत्ता लगाउन घरभित्र पस्दा श्रीमती उषाले सोधिन्, ‘तपाईं जाने र ?’ डरका नीला, पहेंला रङहरू मिसिएर उनको अनुहारमा अर्को फरक रङ बन्दै थियो । चरम द्वन्द्वमा बाँचिरहेका मान्छेको अनुहारमा जुन तनाव र डर देखिन्छ, उनको अनुहारमा ठ्याक्कै त्यस्तै डर देखिएको थियो । आफ्नो श्रीमान्लाई सशस्त्र युद्धमा होमिएका क्रान्तिकारीले अचानक लैजान खोजेपछि जुन तनाव एक श्रीमतीमा देखिन्छ, उषाको अनुहारमा मैले त्यस्तै तनाव देखें ।

...

झमझम पानी परिरहेका बेला ग्रामीण मानिसहरू घरभित्रै बस्छन्, न्यानोमा । लिखुखोलाको काखैमा बसेको झरीले भिजिरहेको साँघुटार बजार शान्त थियो । मानिसहरू घरभित्रै थिए, सायद अँगेनोमा आगो तापिरहेका । त्यसैको प्रभाव थियो– पसलका ढोकाहरू बन्द थिए । बजारका मान्छेले म उसको पछिपछि हिँडिरहेको देखेनन्– मलाई हाइसन्चो भयो । बजारको बीचोबीच कोही अपरिचितको पछिपछि हिँडिरहेको मलाई देखेका भए मान्छेहरूले मप्रति अनेक फरक धारणा निर्माण गर्ने थिए ।

भिजेको उसको कालो इस्टकोटबाट अमिलो नमिठो गन्ध मेरो नाकमा आएर टाँस्सिरहेको थियो । इस्टकोटबाट आइरहेको सर्‍याकसुरुक आवाज र पर कतै उर्लिरहेको लिखुखोलाको आवाज मिसिएको ध्वनि कानमा एकनास ठोक्किइरहेको थियो । छातामा एकोहोरो पानी बर्सिरहेको थियो । मेरो मनलाई चाहिँ कहाँ पुगेर जाकिनुपर्ने हो भन्ने भयले एकनास हानिरहेको थियो ।

‘कहाँ जाने हो ?’ मैले सोधेँ । जवाफ नफर्काई ऊ उकालो हिँडिरह्यो । मेरो मनमा त्रास थियो– कतै सेना वा प्रहरीले देख्लान् कि ? झन्डै एक घण्टा उक्लिएपछि उसले एउटा घरमा पुर्‍यायो । खरले छाइएको घर कुनै अपाङ्गको झैं प्रतित हुन्थ्यो । मलाई त्यहीँ छाडेर ऊ आफ्नो बाटो लाग्यो ।

ऊ बाटो लागिसकेपछि म घोर अलमलमा परें । म बेलाबेला भत्किनै लागेको त्यस घरलाई हेर्थें, बेलाबेला ओरालो लागिरहेको मलाई यहाँ छोडेर फर्किरहेको त्यस अपरिचितलाई । ऊ ओझेल परिसकेको थियो । ऊ गएतिर फर्किंदा देखिन्थ्यो– झरीले लुछुप्पै भिजेका टाढाका डाँडाहरू । म अप्रत्याशित डरले आत्तिएको थिएँ । अचानक घरभित्रबाट कोही बाहिरियो । भर्खरै बाहिर निस्केको त्यस मान्छेले मसँग दह्रोगरि हात मिलाउँदै भन्यो, ‘म कमरेड दीपक ।’ उसले त्यसैगरी मेरो हात जोडले पक्ड्यो, जसरी कुनै नवक्रान्तिकारीले कसैको हात पक्डिन्छ ।

अक्रक्क परेको उसको ज्यानको बयान गरौं । उसको अनुहार गोरो थियो । अनुहार ननिदाएझैँं लाग्थे । ऊ कम्ब्याक्ट ड्रेसमा थियो । छापामार हो भन्ने अनुमान गर्न कुनै गाह्रो थिएन । तर, तत्काल विश्वास गरिहाल्नु हानिकारक हुन सक्थ्यो । नेपाली सेनाले पनि सुराकी गर्न कम्ब्याक्ट ड्रेस लगाएर गाउँलेलाई झुक्याएको सुनेको थिएँ ।

उसले मलाई घरभित्र लिएर गयो । ढोकाबाट छिर्नासाथै छिँडीमा देखें– दुई छेउ बन्दुक बोकेर उभिइरहेका मान्छे । ऊ अघि लाग्यो । म उसको पछि लागें– बुइगलतिर ।

बुइगलको खोपाबाट छिरिरहेको एक पित्को उज्यालोमा देखिन्थ्यो– ओछ्यानमा ढल्किरहेको एक जना मानिस । उसले पनि कम्ब्याट ड्रेस लगाएको थियो । हाम्रो आवाजले ऊ ब्युँझियो । खोपाको उज्यालोमा दुई मानिस चलमलाइरहेका देखिए । एकछिनको मौनता चिर्दै ओछ्यानमा लडिरहेको कम्ब्याट–मानिसतिर संकेत गर्दै कमरेड दीपक बोल्यो, ‘उहाँलाई ड्रेसिङ गर्नुपर्ने... । त्यसैले तपाईंलाई दुःख दिएको ।’ उसको गोडामा एउटा खोपिल्टो थियो र खोपिल्टोबाट रगत बगिरहेको थियो । सायद गोली लागेको थियो । त्यहाँ ड्रेसिङका सामान पनि कोठाको कुनामा थन्किएका थिए ।

तिनै सामान प्रयोग गरेर गोलीले छेडेको खाल्डोमा चुपचाप ड्रेसिङ गरिदिएँ । मेरो आँखामा तैरिरहेको डर देखेर कमरेड दीपक बोल्यो– ‘तपाईं नडराउनुस् । तपाईंले हामीलाई सहयोग गरेको कुरा ती सामन्तीका भडुवाहरूले सुइँकोसम्म पाउँदैनन् ।’

उसले सेनालाई लक्षित गर्दै त्यसो भनेको थियो । रामेछापमा त्यसबेला सेना–माओवादीबीच बेलाबेला झडप भइरहन्थ्यो । शान्ति सम्झौताको बेलासमेत झडप भएका थिए । त्यसै वर्षको दोरम्बा घटनाले सबैको मन हल्लाइदिएको थियो । यस्तोबेला उनीहरूसँगको सम्पर्कले अप्रिय घटना हुन सक्ने शंका मेरो मनमा पलाउनु स्वाभाविक थियो ।

म घरबाट निस्कन हतारिएको थिएँ । तर, दीपक कमरेड मलाई जनमुक्ति अभियानबारे प्रवचन दिन थाल्यो । उनीहरूको अभियानलाई सहयोग गर्न आग्रह गर्‍यो । त्यस घाइतेको ड्रेसिङका लागि प्रत्येक तेस्रो दिन मलाई बोलाउन कोही मानिस पठाउने पनि जानकारी गरायो । मसँग उसको आग्रह स्विकार्नुबाहेक अर्को विकल्प थिएन ।

दुई हप्तासम्म उनीहरूले बोलाएको ठाउँमै पुगेर ड्रेसिङ गरिदिएँ । त्यहाँ पुगेपिच्छे कमरेड दीपक परिपक्व जनवादी विचार सुनाउँथ्यो । ऊ उत्साहसाथ भन्थ्यो– नेपाली जनताको दिन बदलिने कुरामा मलाई विश्वास छ ।

कमरेड दीपकको घर रामेछाप हिमगंगा । मगरको छोरो । स्कुल पढ्दै छापामार भएको । एक घर एक जवानको उर्दीले उसको पढाइ खोस्यो । सुरुमा बाध्यताले माओवादी भए पनि अब ऊ प्रतिबद्ध माओवादी भइसकेको थियो । र, प्रतिफलस्वरूप मलाई भेट्नासाथ ऊ जनवादी शिक्षा–फ्रीमा दान गरिरहेको थियो । म ऊबारे सोच्थेँ– उच्च शिक्षा पढ्न पाएको भए पक्कै ऊ असल शिक्षक बन्नेथियो ।

ड्रेसिङ–अवधिपछि बल्ल मलाई ऊसँग छुट्कारा मिलेझैं भयो ।

...

साँघुटार बजार बरोबर घेरिरहन्थे– माओवादी र सेनाले । प्रत्येक शनिबार साँघुटारमा हाट लाग्थ्यो । मानिसहरू वरिपरिका गाउँबाट आउँथे– किनमेल गर्न । पहिलेपहिले भीड हुने बजारमा अहिले उस्तो भीड हुँदैनथ्यो, सायद द्वन्द्वको असर थियो ।

‘ढ्वाङ्ङ,’ आकाश थर्किने गरी ठूलो आवाज आयो । साँघुटारका मानिसहरू चलायमान देखिए । लिखु किनारमा लास भएको खबर आयो । खबरले मानिसहरू स्तब्ध भए ।

कसैलाई ‘जनकारबाही’ गरिएको रहेछ । ‘कसैले लास उठाउने होइन । नत्र लास उठाउनेलाई पनि कारबाही हुन्छ,’ बजारमा कमरेड दीपक बोलिरहेको थियो । उसका पछाडि हतियारसहित कम्तीमा बीस जना उभिएका थिए ।

बजारमाथि एक हप्तासम्म नेपाली सेना बसेको खबर लुकेको थिएन । म कार्यालय–क्वार्टरको बार्दलीमा उभिएर घटनास्थलतिर हेरिरहेको थिएँ । जाबो यत्ति कुरामा मान्छे मार्ने ? मलाई कमरेड दीपकसँग असाध्यै रिस उठ्यो । तर, मैले उसलाई भन्न सक्ने, गर्न सक्ने नै के थियो र ?

तीन दिनपछि ‘कमरेडहरू’ कै अनुमतिमा लास उठाउन दिइयो ।

...

एक सातापछि अचानक कमरेड दीपक कार्यालय–क्वार्टरको मेरो आँगनमा टुपुल्कियो । त्यस दिन बजारको भयानक आक्रोशित अनुहार अहिले मुस्कुराइरहेको थियो । उसले मसँग दरिलो हात मिलायो । भन्यो, ‘तपाईंलाई एउटा अनुरोध गर्छु, स्विकारिदिनुहोला । हाम्रो एकहप्ते प्रशिक्षण कार्यशालामा तपाईं जानुपर्छ । तपाईंजस्तो मान्छे सहभागी भएर केही बुझ्नु जरुरी छ ।’ उसको ‘अनुरोध’ ले मलाई कुनै दुर्घटनाग्रस्त भविष्यको संकेत गरिरहेको थियो । आकाशको सूर्य कतै हरायो, मेरो आँखामा अन्धकार आएर बास बस्यो । उसको ‘अनुरोध’ इन्कार गरिनँ, स्विकार्न पनि सकिनँ । पछि जानकारी गराउने बताएर उसलाई फर्काएँ ।

एकहप्ते प्रशिक्षणपछि माओवादीले मलाई त्यहीँ अलमल्याउँछन् वा नेपाली सेनाले थाहा पायो भने यातनाको शिविरमा बेपत्ता पारिदिन्छन्, उसको ‘अनुरोध’ ले मलाई डिप्रेसनमै पुर्‍यायो । म प्रशिक्षणमा सहभागी भएको सुइँको प्रशासनमा पुग्यो भने म र मेरो परिवारले भोग्नुपर्ने भावी दुर्दशा सम्झेर झन् तनाव हुन्थ्यो ।

श्रीमती उषाले भनिन्, ‘तपाईं उनीहरूसँग जाँदै नजानू ।’ उनी निदाउनै छाडिसकेकी थिइन् । उनलाई लागिरहेको थियो– कमरेड दीपकले मलाई लैजान्छ किनभने ऊ मलाई भेट्न दोस्रोपटक पनि आइसकेको थियो । यसपटक उसले कठोर शब्द प्रयोग गरेको थियो । उषाले सुझाइन्, ‘तपाईं काठमाडौं जानुस्, सरुवा मिलाएर आउनुस् । अब रामेछाप छोड्नुपर्छ ।’

म काठमाडौं हिँडें । बाटोमा धेरै ठाउँ बस रोकिन्थ्यो । झोला–शरीर चेकजाँच गराउनुपर्थ्यो ।

म काठमाडौं थिएँ । तर, मन साँघुटारमै थियो । म भागेर काठमाडौं आएको खबर कमरेड दीपकले पायो भने उषा र एकवर्षे छोरोले भोग्नुपर्ने परिणाम सम्झेर अत्यन्त तनाव भइरहेको थियो । सरुवा मिलाउन एक सातासम्म पुल्चोकको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धाइरहेँ । दस दिनपछि बल्ल सरुवाको चिठ्ठी बन्यो ।

रामेछाप छाडेपछि बल्ल उषाको अनुहारमा खुसीका रेखा देखिए ।

...

२०७२ साल । भैंचालोपछिको एक दिन । सार्वजनिक बसमा कोटेश्वर हुँदै गौशाला जाँदै थिएँ । खचाखच यात्रुको भीड पन्छाउँदै एक जना दुब्लो मानिस बसभाडा उठाउँदै मछेउ आइपुग्यो । उसको अनुहार चिरपरिचित थियो । उही कमरेड दीपक मेरोअघि उपस्थित थियो । देब्रे हातका दुई औंलाले उसले नोटहरू च्यापिरहेको थियो । जब उसले मसँग बस भाडा माग्यो, मैले सोधें, ‘तपाईं दीपक कमरेड होइन ?’

मेरो प्रश्नले ऊ अकमकियो । मलाई हेर्‍यो । फेरि पनि हेर्‍यो । र, केही सोचेझैं गरी झ्यालबाहिर हेरेर टोलायो । उसले मलाई नचिनेकोमा म ढुक्क भएँ । एक छिनपछि भन्यो, ‘कमरेड दीपक मै हुँ ।’

साँघुटारका ती दिन सम्झाएपछि बल्ल उसले मलाई चिन्यो । अरू यात्रुसँग पनि उसले पैसा उठाउनु थियो । गौशालासम्म पुग्दा ऊ मसँग बेलाबेला कुराकानी गर्थ्यो । कमरेड दीपक अहिले असाध्यै दुब्लाएको थियो । र, लाग्थ्यो– ऊ गह्रुङ्गो बोझको भारीले थिचिएको छ र भयानक निराश छ ।

‘तपाईंको जिन्दगी त पूरै युटर्न भएछ,’ मैले भनें ।

‘जिन्दगीले कहाँनिर कुन मोड लिन्छ, कसैलाई थाहा हुन्न,’ उसले हाँस्दै भन्यो ।

मेरो मस्तिष्कमा रिलजसरी घुमिरहे– मलाई एक साताका लागि प्रशिक्षणमा निम्त्याउन ऊ मेरो आँगनमा आइपुगेको थियो । ऊसँगै हिँडेको भए मेरो पनि जिन्दगीले युटर्न लिन्थ्यो सायद । कमरेड दीपकले अब यो काम छोडेर ठेक्कापट्टाको काम गर्ने बतायो । नत्र खाडी हिँड्ने कुरा पनि सुनायो । उसको कुराले मलाई दिक्क लाग्यो । उसलाई केही भनौंजस्तो लागेको थियो । तर, म गौशाला पुगिसकेको थिएँ । ‘कुनै दिन भेटौंला’, यत्ति भनेर म गाडीबाट झरेँ । त्यसपछि ऊसँग भेट भएको छैन ।

उसले भनेबमोजिम अहिलेसम्म त ऊ विदेश पलायन भइसक्यो होला । तर, कम्ब्याट ड्रेसमा मुस्कुराइरहेको कमरेड दीपक ऊबेला सदाझैं उही उत्साहित हस्ताक्षरमा भन्थ्यो– नेपाली जनताको दिन बदलिने कुरामा मलाई विश्वास छ ।

प्रकाशित : आश्विन २४, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?