समर्पणको ऐतिहासिक उपन्यास- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समर्पणको ऐतिहासिक उपन्यास

चन्द्रप्रकाश बारम्बार आफू साहित्यकार नभएको जिकिर गरिरहेका छन् । यो उनको विनयशीलता मात्र होइन, एक–दुई रचना चल्तीका पत्रिकामा छापिनासाथ आफूलाई उधुमकै साहित्यकार ठान्ने समकालीन नवीन पुस्तालाई गरेको मिठो व्यङ्ग्य पनि हो ।
बिन्दु शर्मा

चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले २०७६ को मदन पुरस्कार पाएको घोषणा हुँदा साहित्यमा चासो राख्ने धेरै मानिस अचम्ममा परे । मिडियाले नचिनेका, कुनै समूहले सेलेब्रिटी नबनाएका र प्रचारप्रसारमा पनि पर्दापछाडि रहेका लेखकको किताब एकाएक विमर्शमा आउँदा कति जिल्लिए होलान्, कति ईर्ष्याले जले होलान् ।

वास्तवमा को हुन् त उपन्यासकार चन्द्रप्रकाश बानियाँ ? ‘महारानी’ उपन्यासमा के छ ? उपन्यासकी महारानी को हुन् ? सत्ता जोगाइदिन नारीले मात्र त्याग गर्नुपर्छ ? अनि, त्यागको देवत्वकरणले कुनै अर्थ राख्छ ?

सत्तरी वर्षअघि म्याग्दीको पुलाचौरमा जन्मेका चन्द्रप्रकाश बानियाँ २०३६/२०३७ को शिक्षक आन्दोलनमा लागि खोसुवामा परेर २०४७ सालमा पुनर्बहाली भएका अङ्ग्रेजी विषयका शिक्षक हुन् । जागिर धरापमा परेको दसवर्षे अवधिमा कम्युनिस्ट राजनीतिको निकटमा पुगेका उनी २०४८ सालको संसदीय निर्वाचनमा एमालेका तर्फबाट म्याग्दी क्षेत्र नं दुईबाट सांसदमा निर्वाचित भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि उनी पार्टी राजनीतिबाट निष्क्रियजस्तै बने । त्यसपछि लेखनमा चाहिँ उनको खास सक्रियता रहन थाल्यो । २०५५ देखि उनको लेखकीय परिचय ‘धौलागिरि’ साप्ताहिक पत्रिकाको स्तम्भकारका रूपमा सार्वजनिक भयो । तत्कालीन राज्य व्यवस्थाका विरुद्ध रहेको आरोपमा प्रशासनले उक्त पत्रिका बन्द गरिदिएपछि उनले आफैँ बेनीमा ‘म्याग्दी सन्देश’ साप्ताहिक पत्रिका चलाए ।

यसैबीच पटकपटक चार महिना हिरासतमा बिताएका उनका दुई उपन्यास र गीताको समालोचनात्मक अनुवादको पाण्डुलिपि नै पुलिसले नष्ट गरिदियो । त्यसपछि उनले केही समय ‘जनआस्था’ मा लेखे र अहिलेचाहिँ ‘जनधारणा’ साप्ताहिकमा लेख लेखिरहेका छन् । उनका ‘ऐतिहासिक पर्वत राज्य’ (२०६५), ‘खस जाति र कुलपूजा’ (२०६८), र ‘मृत्यु संस्कार मन्थन’ (२०७५) गैरसाहित्यिक किताबपछि ‘महारानी’ (२०७६) उपन्यास प्रकाशित भयो भने भर्खरै ‘भौज्याहा’ (२०७७) निबन्धसङ्ग्रह पनि आएको छ ।

उनी बारम्बार आफू साहित्यकार नभएको जिकिर गरिरहेका छन्, यो उनको विनयशीलता मात्र होइन, एक–दुई रचना चल्तीका पत्रिकामा छापिनासाथ आफूलाई उधुमकै साहित्यकार ठान्ने समकालीन नवीन पुस्तालाई गरेको मिठो व्यङ्ग्य पनि हो ।

‘महारानी’ मा के छ ?

‘महारानी’ तीन सय वर्षपहिलेको चौबिसी राज्यहरूमध्येको पर्वत राज्यको राजपरिवारभित्र गद्दीका लागि भएको खिचातानीको घटनामा आधारित ऐतिहासिक उपन्यास हो । ऐतिहासिक आख्यानमा अधिकांशतः इतिहासमा अभिलेख भएका परिवेश, घटना, पात्रका चरित्र, द्वन्द्व आदिलाई यथार्थवादी ढङ्गले चित्रण गरिन्छ । तर, सम्मोहक आख्यान यसको पहिलो सर्त हो भने ऐतिहासिक सूचनाहरूसँग मिल्तीचाहिँ दोस्रो महत्त्वको हुन्छ । यसमा स्वतन्त्र कल्पनाको पनि स्थान रहन्छ अन्यथा कृति इतिहासको दस्तावेज मात्र हुन सक्छ । त्यसैले उपन्यासकारले ऐतिहासिक जीवनको सर्वाङ्गीण पक्षको सूक्ष्म र गम्भीर अध्ययन गरेको हुनुपर्छ अनि ती सम्पूर्ण कुरालाई कलात्मक प्रस्तुतिका लागि कुन कुरा हटाउने र कुन राख्ने विवेकसम्मत निर्क्योल पनि उसले निकाल्नुपर्छ ।

उपन्यासमा महाराज घनश्यामका रानीहरू गुलबदना र जयन्तीबाट जन्मेका राजकुमारमा जन्मका आधारमा जेठा मलेबम (सात महिनामै जन्मेकाले) र गर्भले जेठा भद्रिबममध्ये कसलाई उत्तराधिकारी बनाउने भन्ने विपरीत मतबाटै घटनामा द्वन्द्वको प्रवेश भएको छ । यही प्रमुख समस्यामा आधारित आख्यानलाई सम्मोहक बनाउन यहाँ डोला झिकाइएकी राजकुमारी विश्वप्रभा र मलेबमको प्रेमलाई कथानकमा अत्यन्त मिहिनतापूर्वक जोड्दै विश्वप्रभाको भूमिकालाई केन्द्रीयता प्रदान गरिएको हो । विश्वप्रभाको बिहे, पतिको मृत्युलगायतका घटनाचाहिँ ऐतिहासिक तथ्यमै आधारित छन् । पर्वत राज्यबाट विश्वप्रभालाई प्रदान गरिएको महारानीको सम्मान र उनको योगदानका सन्दर्भलाई भने लेखकको परिकल्पनाले प्रबल बनाएको लेखकीय भनाइ यस्तो छ ः ‘उपन्यासमा महारानीको गौरव, गरिमा बढाउन मैले महारानी आफैँ पनि उद्दात्त भावनाकी पात्रको रूपमा चित्रण गरेँ । उनले यसरी त्याग गरिन् भनेर लेखेको हुँ ।’ यस आधारबाट हेर्दा पर्वत राज्यको इतिहासका अध्येतासमेत रहेका चन्द्रप्रकाश बानियाँ घटनालाई संवेदनशील बनाई नयाँ स्वरूप दिनमा खरो देखिएका छन् ।

‘महारानी’ मा मुख्य कथानकसँग पर्वत राज्य निर्माण र सङ्कुचनको वृत्तान्त, छिमेकी राज्यसँगका वस्तुचरन र सीमासम्बन्धका विवाद, ज्यान मुद्दाको फैसला, विफरको महामारीमा गरिएको माई पूजा, जारी बिहे, डिम्बबमको समाधि र जगन्नाथ मन्दिरको किंवदन्ती, उत्तरगङ्गामा लाग्ने पुर्नेको मेला, भद्रिबम र डिल्ली भुजेलको मित्रतालगायतका रोचक उपकथा जोडिएको छ । यस क्रममा गरिएको घटना–चरित्रको नाटकीय प्रस्तुति र तत्कालीन देशकालको पुनर्निर्मित चित्रण पनि समुचित र आकर्षक छ ।

नागरिकको योगदानको कदर नगर्ने र गुनासो सुनुवाइलाई महत्त्व नदिने दरबारको सत्तास्वार्थमा केन्द्रित चरित्रको आलोचना, ‘मल्लवंशको त राजा नै हुन्छन् नि ∕... काजी र सरदारको पद अरू थरगोत्रबाट योग्य मानिसहरू छानीकन बनाउँदा राज्यमा सबै थर, गोत्र, वंश र जातको अपनत्व बढ्न्याथ्यो’ भनी महारानी गुलबदनाले राजालाई दिएको सुझाव, रीतिपरम्पराहरू देवलोकबाट निर्मित नभई समय र आवश्यकताअनुसार बन्ने र बदलिने गर्छन् भन्ने राजाका भनाइले सत्तासञ्चालनको रणनीति देखाउँछन् । सामाजिक र सांस्कृतिक कर्महरूमा सबै जातजातिको जिम्मेवारीपूर्ण उपस्थिति, स्थानीय स्रोत र साधनको उपयोगबाट म्याग्दी नदीमा काठेसाँघु बनाएका ढल्के पुनको राजसभामा सम्मानजनक प्रतिनिधित्वलगायतका उपन्यासका सन्दर्भहरूचाहिँ लेखकको प्रगतिशील चिन्तनका पुनर्निर्मिति हुन् । प्यूठाने फलामबाट स्थानीय आरनमा हतियार निर्माण गरेको, खेतीयोग्य जमिन अति कम भए पनि पर्वतको आयस्रोत भनेको बेनीको बढ्दो व्यापार र खानीहरू रहेको, व्यापारिक प्रयोजनका लागि देशी मोहर र तोला बराबरका तामाका टुक्राहरू प्रचलनमा ल्याइएको भन्ने प्रसङ्ग ऐतिहासिक तथ्यका निकट देखिन्छन् ।

यसबाट पाठकमा आख्यानात्मक रोमाञ्चकतासँगै तत्कालीन सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक वस्तुस्थितिको सूक्ष्मताबोध हुनुका साथै अतीत र वर्तमानलाई पर्गेल्ने स्पष्ट अन्तर्दृष्टि प्राप्त हुन्छ । यसले गर्दा इतिहासको निश्चित कालखण्डका नाटकीय घटना र परिस्थिति छानेर प्रस्तुत गर्न सक्ने उपन्यासकारको विशिष्ट सामर्थ्य पनि पहिचान भएको छ ।

उपन्यासमा आउने ऐतिहासिक तथ्यहरू कुन पात्रमा केन्द्रित भएर लेखिएको छ, त्यसअनुसार फरकफरक हुन्छन् । ऐतिहासिक यथार्थवादी उपन्यासमा लेखकको सबैभन्दा ठूलो काम भनेको यथार्थको भ्रम सिर्जना गर्नु हो । ‘महारानी’ मा विशेषगरी मलेबम र विश्वप्रभाप्रतिको न्यायिक दृष्टिकोणमा आधारित तथ्यहरूले महत्त्व पाएका छन् भने यी दुई पात्रको प्रेम, रोमान्स, वियोगान्त सम्झौता, राज्यका लागि गरेका त्याग र विश्वप्रभाको महारानी पदवी प्राप्त गर्दासम्मको ऐतिहासिक यात्राका प्रसङ्गमा लेखक यस्तो भ्रम सिर्जना गर्न मज्जाले सफल पनि भएका छन् ।

को हुन् उपन्यासकी महारानी ?

बेनी बजारको पश्चिमस्थित कुरिलाखर्कमा रहेको महारानी थानमा परम्परादेखि नै पुजिँदै आएकी देवी हुन्– महारानी । लेखकले खोजी गरेका ऐतिहासिक तथ्यका आधारमा उनी राजा घनश्यामका माहिला राजकुमार भद्रिबम (जो राजगद्दीका लागि भएको षड्यन्त्रमा मारिएका थिए) की पत्नी थिइन् । भद्रिबम मारिएपछि उनलाई राजा मलेबमले बलजफ्ती रानीवास (राजाका यौनदासीहरूलाई राखिने दरबार) मा राखेको, उनले आत्महत्या गरेको, बेपत्ता भएकोजस्ता अनेकौँ लोकोक्तिहरू पनि प्रचलित छन् । तर, यस उपन्यासमा चाहिँ मलेबम प्रदेशका नामबाट लोकप्रसिद्धि कमाएको सोह्र हजार पर्वत राज्यमा तिनै राजा मलेबम युवराज हुँदा उनीसँग बिहे गराउनका लागि डोला ल्याइएकी देउपुरकी राजकुमारी विश्वप्रभालाई नै महारानी मानिएको छ ।

युवराजको ज्योतिषीय ग्रहगोचर मिलाउँदा उनको दरबार प्रवेशको दुई वर्षपछि मात्र बिहेको साइत जुरेका कारण पर्वत दरबारको राजनीतिक सांस्कृतिक रीतिथितिमा अभ्यस्त हुँदै उनी युवराजसँगको गहिरो प्रेममा बाँधिइन् । यसैबीच मलेवमका सौतेनी भाइ भद्रिबमले राजगद्दीमा दाबी गरेर भाइअंश खोजेपछि महाराज घनश्यामले राज्यबाहेक उनले रोजेको अरू जुनसुकै कुरा पनि उपलब्ध गराउने वाचा गरे । यसैको फाइदा उठाई भद्रिबमले दाजु मलेबमले गद्दी छाडिदेलान् तर विश्वप्रभालाई छोड्ने छैनन् भन्ने अनुमान गरेर उनै राजकुमारी विश्वप्रभालाई मागे । युवराजसँगको प्रेमलाई अक्षुण्ण राख्दै पर्वत राज्यको विभाजन रोक्नका लागि आफ्ना सबै सुखको त्याग गरेकी तिनै राजकुमारी पति भद्रिबमको हत्यापश्चात् दरबारबाट बेपत्ता भइन् र कालान्तरमा महारानी कहलाइन् ।

सत्ताको राजनीतिक षड्यन्त्रद्वारा गुमनाम बनाइएकी तिनै महारानी पात्रका किंवदन्ती र इतिहासमिश्रित घटनाको पुनर्निर्माण गरेर यस उपन्यास इतिहासले अन्याय गरेका पात्र, घटना र पृष्ठभूमिलाई पनि सच्याउन सफल भएको छ । तर, महारानी देवीका रूपमा पुजिएको सन्दर्भद्वारा आफ्नो स्वार्थअनुकूलको त्यागको देवत्वकरण गरिने सामन्तवादी पितृसत्तात्मक प्रवृत्तिको भने यहाँ अंशतः अनुसरण भएकै छ ।

समकालीन समस्याप्रति आँखा चिम्लिएर आफ्ना पुर्खाको राज्य र राजनीतिक योगदानको प्रकथन गर्दै त्यागको महान् कथा कथ्नु ऐतिहासिक उपन्यासको चरित्र नै हो । यसरी अतीततिर फर्किएर आनन्दित हुने रोमान्टिक आख्यान भएर पनि तत्कालीन राजनीतिक, सांस्कृतिक, सामाजिक घटनाक्रमको द्वन्द्वात्मक विश्लेषणसहित ऐतिहासिक यथार्थको आलोचनात्मक तर रोचक पुनर्निर्माण गर्न सक्नुचाहिँ ‘महारानी’ उपन्यासको मौलिक उपलब्धि हो । तर, यस्तो महत्त्वपूर्ण किताब प्रकाशनमा पनि भाषिक शुद्धि र छपाइको गुणस्तरमा प्रकाशकको ध्यान पुगेको छैन ।

प्रकाशित : आश्विन २४, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

गर्भवती उर्मिलाको अन्त्य

त्यहाँको सुनसान माहोलमा गर्भमा रहेको बच्चा बाहिर आउन गुहार मागिरहेथ्यो । तर, कसैले उसको आवाज सुनेन ।
संगीता उराँव

दुःखका कारण अनेक हुन सक्छन् । दुःख त सबैसँग यात्रा गर्दोरहेछ । जब दुःख सहने आत्मबल घट्दै जान्छ, तब जीवनबाट हरेस खाई विश्राम लिन मन लाग्छ । यस्तै कैयन् प्रश्न मनमा बोकेर हिँडेका कल्पना र उर्मिलाहरूको दुःखसँग कैयौं दिन यात्रा गरेको छु ।

घरपरिवारले गरेका हिंसा, अत्याचार, पीडाको बन्धनमा बसेर मनमा गुम्सिएका हजारौं प्रश्नलाई भ्रूण अवस्थामै हत्या गराउँछन् कैयौं कल्पना र उर्मिलाहरू । त्यो हत्या रोक्न अनि कल्पना र उर्मिलालाई आत्मग्लानिसम्म नपुर्‍याउन कसरी दुःखबाट विश्राम गराउन सकिएला ? यही सोचका साथ सल्लाह सुझाव दिन निस्किइयो । कल्पना र उर्मिलाका कुरा सुनिदिए मात्र पनि उनीहरूको मन हलुका हुन्छ होला ∕

शिल्पी थिएटरमा विद्यार्थीको रूपमा र अहिले कलाकारको रूपमा जोडिएपछि मेरा लागि रंगमञ्च नै जीवन भएको छ । म एउटा अविकसित गाउँबाट कसरी काठमाडौंको शिल्पी थिएटरसम्म आइपुगेँ भन्ने लामै कथा छ । तर, मेरो पीडा अभिव्यक्तिको स्वर बन्यो रंगमञ्च । मैले जति पनि नाटक खेलेँ कहीं न कहीं म बाँचेको समाज वा देखिरहेको विभेद र हिंसाको बारेमा नाटकबाट बहस गरेका छौँ ।

शिल्पीको एकमहिने नाट्ययात्रामा मैले गरेको केही अनुभूति थोरै सुनाउँछु । २०७६ को कात्तिकभरि हामी गाउँगाउँमा नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ देखाउँदै हिँडेका थियौँ । नाटकमा मेरो भूमिका उर्मिलाको थियो । उर्मिला घर र खेतको कामले थिचिएकी स्कुल पढ्न संघर्ष गरिरहेकी गाउँकी केटी, जो सही र गलतको अन्योलबीच जिन्दगीलाई संकटैसंकटमा डोर्‍याउँछे । ऊ बाँचेको परिवेशमा जोखिमैजोखिम छन् ।

जतिबेला म नाटकमा उर्मिला भएर दर्शकसामु उपस्थित हुन्थेँ, दर्शकदीर्घामा रहेका अरू उर्मिलासँग एकाकार हुन्थे । त्यसबेला मनमा गुम्सिएका उर्मिलाहरूका दुःख र पीडालाई पोख्न अलिकति भए पनि साहस आउँथ्यो । किनकि धेरै उर्मिलाहरूको आँखामा त्यो दुःख, अपहेलना र कामको जोताइ देख्दा भक्कानिएर भए पनि गुम्सिएको पीडा पोख्न बाध्य हुन्थें । कतिपय ठाउँमा उर्मिलाहरूसँग कुरा गर्दा, उनीहरूका कुरा सुन्दा साँच्चै डर र हुटहुटी बढ्थ्यो । यस्ता हिंसा मैले नदेखेको पनि होइन, तर यो गलत हो भन्ने थाहा थिएन ।

विराटनगरको बुधनगरमा नाटकको कचहरीपछि एक जना दिदीसँग कुरा गर्दा झन् मन थरथरायो । उहाँको नाम कविता तात्मा रहेछ । उमेर २४ वर्ष, बिहे १६ वर्षको हुँदा भएको रहेछ । आमाबुबाको रोजाइको केटा, जो कविताभन्दा १० वर्ष जेठा रहेछन् । ती पुरुषले पहिलो पत्नीलाई वर्ष दिन नबित्दै घरबाट निकालेका रहेछन् । कारण थाहा भएन । र, कवितासँग दोस्रो विवाह भएको रहेछ । उनले एक वर्षपछि छोरी जन्माइछिन् । पहिलो बच्चा छोरी भयो भनेर घरपरिवार र श्रीमान्बाट स्याहार–सुसार पाइनन् । त्यसको दुई वर्षपछि फेरि अर्की छोरीलाई जन्म दिइन् । त्यसपछि परिवार र श्रीमान्को अपहेलित व्यवहारमा घोटिन थालिछिन् उनी । हरेक दिन सानोसानो निहुँमा गालीको वर्षा, झापडको छाप, कपाल लुछाइ ∕ दुई छोरीको स्याहारभन्दा पनि परिवार र लोग्नेको अनुहारमा एक दिन हाँसो देख्न पाउँछु भन्दै मेसिनजस्तो भएर काम गरिरहिन् । तर, कहिल्यै उनीहरूको अनुहारमा उज्यालो देख्न पाइनन् । कुरा गर्दै गर्दा कविता नाटककी कल्पना सम्झँदै रुन थालिन् । ‘त्यो कल्पनाजस्तै म बच्चा जन्माउने मेसिन र लोग्नेको सेवा गर्ने नोकर भएकी छु । मेरा दुई बच्चा पनि खेर गए । मेरो स्वास्थ्य बिग्रियो,’ आफ्नो पेटमा स्पर्श गर्दै भनिन्, ‘त्यै पनि अहिले मेरो गर्भमा चार महिनाको बच्चा बसेको छ । यो पनि छोरी भयो भने मेरो के हालत होला, त्यो म सोच्न पनि सक्दिनँ ।’

त्यही बेला एउटी आठ वर्षकी बालिका हस्याङफस्याङ गर्दै आइन् र बुबाले बोलाउँदै छ भन्ने खबर ल्याइन् । कविताले त्यो बालिकाको टाउको सुम्सुमाउँदै भनिन्, ‘यो मेरी ठूली छोरी हो ।’ त्यसपछि हत्तारिँदै बाटो लागिन् ।

...

जब म राति ओछ्यानमा पल्टिएँ, कविताको अनुहार नाच्न थाल्यो । दिक्क, तनाव सबै एकैपटक थुप्रियो । यो कुराले मेरो आँखामा निद्रा आउन मानिरहेको थिएन ।

इटहरीको तायारिप्ची भवनमा साँझको शोमा हाम्रो नाटकमा कचहरी बसिएन । त्यहाँ पहिलोपटक नाटकको खुला अन्त्य गरिएको थियो । नाटकको अन्त्यमा गर्भवती उर्मिलाको मृत्यु हुन्छ । नाटकमै भए पनि आफू मर्नुपरेकोमा साह्रै नरमाइलो लाग्यो । तर, नाटकमा म होइन, उर्मिला थिइन् । उनको सात महिनाको बच्चा थियो गर्भमा । विडम्बना, त्यो बच्चाले यो संसारमा आफ्नो दृष्टि खोल्नुपूर्व नै आफ्नी आमाले समेत यो संसारबाट बिदा लिइन् । मनमा आँधी चल्यो, मचाहिँ उर्मिला हुँ कि ∕ रणभुल्लमा परें ।

यस कुराको निष्कर्ष नपाउँदै यथार्थमै मेरो जिउँदो शरीरलाई सेतो कात्रोले बेरेर मलामी लैजाँदा साँच्चै म मरेकै हो झैं महसुस भयो । त्यहाँको सुनसान माहोलमा गर्भमा रहेको बच्चा बाहिर आउन गुहार मागिरहेथ्यो सायद, तर कसैले उसको आवाज सुनेन । बच्चाले आफ्नो कोमल खुट्टाले बिस्तारै लात हानिरहेथ्यो, चलमलाइरहेथ्यो सायद । तर, त्यो बच्चालाई कसैले देख्न पाएन, हतारमा थिए उर्मिलालाई माटोमा पुर्न । आतुर थिए आफन्तहरू र आफ्नै लोग्ने भनाउँदा । तर, दर्शकबाट ‘बिचरा’ भनेको मात्र सुनें ।

त्योबेला मेरो मनमा, दिमागमा आमाको अनुहार नाच्न थाल्यो । आमाको दुःख सम्झिँदा अहिले नै गएर आमालाई अँगालो हालूँ र खुब रोऔंजस्तो लाग्यो । मुखलाई सेतो कात्रोले थुन्न खोजें तर नेपथ्यमा पुग्दा आफूलाई रोक्न सकिनँ । सम्हाल्न सकिनँ । मनलाई शान्त होऊ भन्न सकिनँ । आँसुलाई नबग भन्न पनि सकिनँ ।

प्रकाशित : आश्विन २४, २०७७ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×