के थियो ग्लुकको मनोकांक्षा ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के थियो ग्लुकको मनोकांक्षा ?

विप्लव प्रतीक

लुइस ग्लुकले यसपल्ट साहित्य विधामा नोबेल पुरस्कार पाइन् । साहित्यमा गरिमामयी मानिने पुरस्कार । मलाई विश्वास छ, ग्लुक भने पुरस्कार वा सम्मान होइन, नौलो कविताको खोजीमा रहेकी हुनुपर्छ ।

किन लेखिन् होला उनले, पहिलो कविता ? पहिचानका लागि ? समाज बदल्न ? वा आफ्नो मनमा भएका असङ्ख्य खुल्दुलीहरू मेट्न ? जवाफ पाउन मसँग उनीसम्म पुग्ने मार्ग छैन । तर, म निश्चिन्त भन्न सक्छु— उनले लेखिन् होला कविता आफ्नै वरिपरि भइरहेका मानवीय संवेदना, सम्बन्ध र असमानताहरूबारे अलौकिक दृष्टिबाट आफूले महसुस गरेका सोचलाई शब्दमार्फत व्यक्त गर्न । उनको कोमल हृदय समाजमा भएका विसङ्गति, सम्बन्धमा भएका अनौठा जटिलताहरूले आहत भए होलान्, तिनीहरू फर्मेन्ट भए होलान् समय र उनको संवेदनशीलतासँग, अनि सलिच्युडमा जन्मियो होला हृदयस्पर्शी कविता । र, मानिसहरूले आ–आफ्नो तरिकाले आफ्नो समाज र सम्बन्धलाई महसुस गर्न सकून् भन्ने आशय रह्यो होला उनको कविता तयार भइसकेपछि ।

कविताले नोबेल पाएको यो पहिलो घटना होइन । सन् १९०१ मा पाएका थिए सुल्ली पुधोम्मले पहिलो नोबेल । नोबेल अधिकारीहरूका अनुसार, उनले कवितालाई नयाँ आयाम दिएको कारणले उनी चुनिएका थिए त्यसका लागि । बुलन्द आदर्शवाद, कलात्मक पूर्णता एवं मन र ज्ञानको दुर्लभ सङ्गमका कारण उनलाई विशेष मान्यता दिइएको नोबेलले जनाएको थियो ।

सन् २०१६ मा बब डिलनलाई भने अमेरिकी बृहत् गीत परम्पराभित्र नौलो काव्य अभिव्यक्ति सिर्जना गरेको ठहर गरेर सम्मानित गरिएको थियो । र, रवीन्द्रनाथ टैगोरलाई सन् १९१३ मा नोबेल दिँदा भनिएको थियो, ‘उनले पूर्ण कौशलका साथ आफ्नो काव्यात्मक विचार प्रस्तुत गरेका छन् जसबाट गहिरो रूपमा संवेदनशील, नितान्त नौलो र सुन्दर पद्यहरूको जन्म भएको छ ।’ आखिर के हो कविता र के हुनुपर्छ कवितामा ? संवेदनशीलता मात्र काफी छ ?

भन्नेहरूले भन्छन्— कवितामा राजनीतिक चेत हुनुपर्छ । क्रान्तिका निम्ति हतियार हो कविता । भन्नेहरू यो पनि भन्छन् बिनासङ्गीत मनमै गुनगुन गर्ने मधुर गानझैँ मन्त्र हो कविता । कवितामा उपदेश हुँदैन, अहङ्कार हुँदैन, ईर्ष्या हुँदैन र हुँदैन घृणा पनि । बरु, त्यसलाई रूपान्तर गर्छ कविले प्रेममा । सारा वाद, सिद्धान्त र साम्राज्यभन्दा अलग हुन्छ कवि । भेटियोस् वा नभेटियोस् ऊ त जीवनभर खोजीमा रहन्छ र कामना गर्छ यो संसार युटोपियामा परिणत भएको । त्यसैले हो कि कवितालाई साहित्यको अमृत भनिएको ? र, नोबेलद्वारा सम्मानित अन्य विभिन्न कविहरूका कृतिबारे माथि उल्लेख गरिएझैँ संवेदनशीलता, आदर्श र मन एवं ज्ञानबीचको तादात्म्यलाई दोहोर्‍याइएको छ ।

लुइस ग्लुकका कविताहरूमा पनि उही संवेदनशीलता, उही आदर्श र उही मन एवं ज्ञानबीचको अद्भुत तालमेल छ । यौटा कवि पुरस्कार वा सम्मानको प्रतीक्षाभन्दा यौटा सुन्दर कविताको खोजीमा रहन्छ । उनको पुरानो कवितामा भनेकी पनि छन् उनले उहिले नै :

मनोकांक्षा

याद छ तिमीलाई, तिमीले साँचेका थियौ यौटा मनोकांक्षा ?

थुप्रै मनोकांक्षाहरू छन् मसँग पनि ।

त्यस दिन मैले तिमीसँग लुकाएकी थिएँ

पुतली उड्दै गर्दा मैले राखेको मनोकांक्षा । म सधैं सोचिरहन्थेँ

तिम्रा मनोकांक्षा के के थिए होलान् त्यतिखेर ।

त्यतिखेर मेरो मनोकांक्षाचाहिँ के थियो होला ?

मलाई याद छैन । सायद म फर्केर आउनेछु तिम्रैछेउ,

र, अन्तिम कालमा हामी दुवै फेरि सँगै हुनेछौँ ।

जसको चाह मलाई सधैँ भइरहन्छ, मैले त्यसैलाई आफ्नो मनोकांक्षा बनाएँ, मेरो मनोकांक्षा भन्नु नै कविता थियो ।

चर्चा खास ग्लुककै गर्नु छ अहिले । पुरस्कृत भएपछि उनका कविताहरू झन् पढिनेछन् । र, सम्भवतः भेट्नेछन् पाठकहरूले उनका कौशलयुक्त प्रस्तुति काव्यमार्फत । एउटा उदाहरणस्वरूप उनका कविताहरूमध्ये ‘अ फेबल’ :

यौटा नीतिकथा

दुई नारी आए

एउटै दाबाका साथ

बुद्धिमान राजाको चरणमा । दुई नारी,

तर बालक मात्र एक ।

राजालाई थाहा थियो

दुईमध्ये एक झूट बोलिरहेकी थिइन् ।

भने अनि राजाले ‘यस बालकलाई

बीचबाट चिरा पारौँ’, जसले गर्दा

कोही फर्किने छैन यहाँबाट रित्तो हात । उनले

निकाले आफ्नो तरबार ।

त्यसपछि, दुई

नारीमध्ये एकले

आफ्नो भाग छाडिदिइन्:

यो थियो

सङ्केत, र यौटा पाठ, उदाहरण ।

मानिलेऊ

तिमीले आफ्नी आमालाई देख्यौ

दुई छोरीबीच बाँडिएकी :

के गर्थ्यौ तिमी

उनलाई जोगाउन ?

कि अस्त हुने चाह आफैँभित्र हुर्काएकी हुनेथियौ ?–

जुन कुरो उनले पनि पहिचान गर्न सकून्

आफ्नो रक्तअंश को हो भनेर ?

चिनून् उनले कि यही हो मेरी छोरी जसले सहन सक्नेछैन

आफ्नी आमालाई दुई भागमा बाँड्न, चिर्न या चोइट्याउन ।

कवितालाई व्याख्याको खाँचो हुँदैन, विद्यालयमा जाँच दिँदा विद्यार्थीलाई र कापी जाँच्दा शिक्षकलाई बाहेक । कविता त महसुस गर्ने कुरा हो । र, कविताको नशा कविताका अम्मलीहरूलाई मात्रै थाहा हुन्छ । र, कविताको नशा लाग्न संवेदनशीलता चाहिन्छ । लेख्ने संवेदनशील अनि पढ्ने पनि संवेदनशील । बल्ल कवि हृदय र पाठक हृदय जोडिन्छ, झङ्कृत हुन्छ र काव्यको मधुर गान गुन्जिन्छ मौनतामा । तर, त्यसबाहेक अर्को कुरा पनि छ । एक संवेदनशील ती हुन्छन्, जसलाई आफ्नो मात्र पीर हुन्छ— आफू आहत हुन्छु कि भन्ने डर हुन्छ । अर्का संवेदनशील ती हुन्छन्, जो आफ्ना कारण अर्कोलाई ठेस त पुग्दैन/मर्माहत त हुँदैन ऊ भनेर सदा सतर्क रहन्छन् । मेरो यस विश्वासलाई ग्लुकको अर्को कविताले सही थाप्छ । उनी अरूप्रति संवेदनशील नहुँदी हुन् त कहाँ जन्मिन्थ्यो होला र उनको कोमलहृदयबाट यो कविता :

एउटा कल्पना

म तिमीलाई केही कुरा भन्नेछु : प्रत्येक दिन

मानिसहरू मरिरहेका छन् । र, यो कुरा प्रारम्भ मात्र हो ।

प्रत्येक दिन, शोकगृहमा, नयाँ विधवाहरूको जन्म हुन्छ,

नयाँ टुहुराहरूको । हात बाँधेर बस्छन् तिनीहरू,

नौलो जीवनको नक्सा बनाउने कोसिस गर्दै ।

अनि तिनीहरू चिहानछेउ हुन्छन्, तीमध्ये केही

पहिलोपल्ट पुगेका हुन्छन् त्यहाँ । डराउँछन् तिनीहरू रुन,

कहिले रुन नसकेर त्रस्त हुन्छन् । कोही घोप्टिएका हुन्छन्,

त्यतिखेर के गर्ने भनेर सिकाउन आउँछन् कोही, जसको परिणाम

केही शब्द काम लाग्छन् तिनका लागि, कहिलेकाहीँ

एक मुठ्ठी माटो खुला चिहानमा अर्पण गर्नका लागि ।

अनि त्यसपछि, सबै जना घर फर्किन्छन्,

जून अचानक आगन्तुकहरूले भरिएको हुन्छ ।

विधवा काउचमा बस्छिन्, भव्य तरिकाले,

ताकि मानिसहरू आउन् र सीधै उनीसँग आमनेसामने हुन सकून्,

कहिले उनको हात समाउन्, र कहिले उनलाई गरुन् अङ्कमाल ।

सबैसँग केही भन्नका लागि उनीसँग केही शब्द/वाक्य हुन्छन्, धन्यवाद

भन्छिन् सबैलाई, भेट्नका लागि आएकामा अनुगृहीत हुन्छिन् ।

उनको हृदयमा भने, ती सबै गइदिए हुन्थ्यो भन्ने हुन्छ ।

उनको मन भने चाहन्छ जान उतै चिहानमा,

या अस्पतालको बिरामी बिछ्यौनामा ।

उनलाई थाहा छ यो सम्भव छैन ।

तर, ऊनीसँग एउटै चाह हुन्छ,

अतिततिर फर्किने ।

र एकछिन भए पनि

अलि पछिको समयसम्म मात्र पुग्ने–

बिहे भएको बखतसम्म वा

दुवैले पहिलो चुम्बन खाएको बखतसम्म होइन ।

संवेदनशीलताबाट विशेषतातर्फ । ग्लुकले आफ्ना कवितामा एक खालको प्रयोग या भनूँ डिजाइन गरेकी छन् निरन्तर । जुन प्रयोग अधिकांश पाठकका लागि बानी पार्न अभ्यास गर्नुपर्ने पनि हुन सक्छ । उनका कविताका हरफहरू जहाँ टुङ्गिनुपर्ने हो टुङ्गिँदैन । टुङ्गियो भने पनि त्यहाँ अर्को हरफको केही शब्द जोड्छिन् र बाँकी हरफ तल झारिदिन्छिन् ग्लुक । यौटा भनाइ छ, हृदयस्पर्शी कवितामा कविले कमा, पूर्णविराम छुटायो भने पनि पाठकले के कहाँ छ, कहाँ विश्राम छ रिठ्ठो नबिराई थाहा पाउँछ । के ग्लुकलाई पनि यो कुरा थाहा थियो ? कुनै दिन भेट्ने संयोग ‘कस्मस’ ले जुराइदियो भने सोध्नेछु । तर, होइन सोध्दिनँ । उनीसँग भेट्ने दुर्लभ संयोग जुर्‍यो भने म उनको अनुमति लिएर उनलाई केवल नियालिरहनेछु, र सुन्नेछु उनका कविताहरू मौनताभित्र ।

प्रकाशित : आश्विन २४, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

भिल्लको देशमा मिल्किन्छन् रत्‍न

स्पष्ट वक्ताको शक्ति नै सत्य हुन्छ, तर उहाँ त्यो शक्तिको उन्मादमा कहिल्यै मात्तिनुभएन । बजारे लोकप्रियता खोज्न उहाँलाई कुनै पनि हौसलाले प्रेरित गर्न सकेन ।
विप्लव प्रतीक

रत्नशमशेर थापा अर्थात् मेरा निम्ति रत्न दाइ भन्नेबित्तिकै अधिकांश नेपाली श्रोतालाई अनायास सम्झना आउने गीत हो– ‘घुम्तीमा नआऊ है’ । यो गीत रेडियोमा घन्किन थालेपछि तन्नेरीहरूले आफ्नो मनको आवाज भेटे, रत्नशमशेरका भाव र प्रेमध्वजको आवाजमा ।

विरहको आशङ्का र विछोडको सङ्केतले रुझेको गीत भए पनि यस गीतलाई युवाहरूले रोम्यान्टिक गीत ठाने । यही गीत गाएर धेरै नेपाली युवाहरूले आफ्नो समयमा प्रेम प्रस्ताव राखेका होलान् भन्ने मेरो अनुमान छ ।

‘घुम्तीमा’ भन्ने गीत सुन्दा रत्नशमशेरसँग मेरो चिनाजानी थिएन । गीतमार्फत एकोहोरो परिचय थियो । उहाँको पहिलो गीत सुनेको चाहिँ नारायण दाइले गाउनुभएको ‘स्वर्गकी रानी, मायाकी खानी’ भन्ने नै हो । त्यसपछि विभिन्न गायक/गायिकामार्फत अनेकौं गीत सुनियो, तिनको सूची लामै छ । तर, एउटै सहरको करिब एउटै भागमा रहेर पनि हाम्रो भेट निकै पछि भयो । हामी रमाउने जमघटमा उहाँ रम्नुभए पनि त्यसमा जम्नुहुन्नथ्यो । सायद त्यसैले होला, हाम्रो भेट धेरै ढिला भयो ।

मैले कुनै बेला पाकिस्तानी फिल्म इन्डस्ट्रीसँग मिलेर नेपालमा बनाइने संयुक्त लगानीका सिनेमामा पनि काम गरेँ । उर्दूमै सुटिङ हुने चलन थियो । गीतका शब्दहरू पनि उर्दूबाट शाब्दिक उल्था हुन्थे । तर, मैले काम गरेको सिनेमा भने नेपालीमै सुटिङ भयो । र, हामीले बनाएको सिनेमामा गीत पनि धुनमा लेखिए । उल्था नगरी स्वस्फूर्त लेखिएका ती गीत बडा हृदयस्पर्शी बने । र, मैले लेखेको थिइनँ त्यस सिनेमामा । हो, म कविता लेख्थेँ, गीत पनि लेख्थेँ । तर, आफूलाई बहुमुखी प्रतिभा भनाउने रुचि मसँग थिएन । संवाद र सहनिर्देशनको भूमिका मेरै भइसकेकाले गीतकारको खोजी भयो । गीतकार मात्र होइन, धुन सुनेर लेखिदिने गीतकार चाहिएको थियो हामीलाई ।

एकपटक नायक विश्‍व बस्नेतले कुरा उठाएका थिए, धुनमा लेख्न त रत्न दाइलाई मान्नैपर्छ । र, रत्नशमशेरको खोजी भयो । उहाँले हाम्रो सिनेमाका लागि गीत लेखिदिनुभयो, जसका लागि ज्यादा समय पनि लागेन । र, माथि नै भनिसकेँ गीत हृदयस्पर्शी बने । तर, सिनेमाको दौरान पनि उहाँसँग सामान्य परिचयमै सीमित रह्यो सम्बन्ध ।

अम्बर गुरुङले जति पनि क्यान्टाटा वा क्वायर गर्नुभयो, त्यसका धुन अगावै बन्थे । शब्द पछि हालिन्थे, जसका लागि रत्नशमशेर नै छानिनुहुन्थ्यो । धेरै समयसम्म अम्बर गुरुङसँग मेरो अन्तरङ्ग सङ्गत रह्यो । तर, त्यहाँ पनि रत्नशमशेरसँग मेरो आक्कलझुक्कल मात्रै भेट भयो । उहाँ लघु भेटहरूमै घुलमिल हुने स्वभावका नहुनुभएकाले पनि धेरै समय लाग्यो हामीबीच समीपको सम्बन्ध बन्न । अघि नै भनिसकेँ, हाम्रो रमाइलोमा उहाँ रम्नुहुन्थ्यो, तर जम्नुहुन्नथ्यो ।

मानिसहरू हच्किन्थे उहाँसँग । बडो खरो हुनुहुन्थ्यो रत्नशमशेर, पातलो ज्यान तर विचार दह्रो । धक नमानी आफ्ना कुरा राख्नुहुन्थ्यो उहाँ । तर, गीत भने अति मृदु । जमघटमा र छलफलमा आफ्नो धारणा राख्न मानिसहरूसँग जब आँट हुँदैनथ्यो, त्यहाँ उहाँ अघि सर्नुहुन्थ्यो । र, आफ्ना धारणा सहजै बडो रोबदार आवाजमा प्रस्तुत गर्नुहुन्थ्यो । उहाँको ब्रह्मले अन्याय र विभेद कहिल्यै स्वीकार गरेन । त्यसैले कूटनीतिक मानिसहरू उहाँसँग डराउँथे । स्पष्ट वक्ताको शक्ति नै सत्य हुन्छ, तर उहाँ त्यो शक्तिको उन्मादमा कहिल्यै मात्तिनुभएन । गीत र कविताकै संसारमा रमाउने उहाँ त्यसैमा रमिरहनुभयो । सकेसम्म ‘लो प्रोफाइल’ मा बस्न रुचाउनुहुन्थ्यो उहाँ । कसले कहाँ सम्मान गर्‍यो र कुन प्रतिष्ठा उहाँले हासिल गर्नुभयो, त्यसको चासो उहाँलाई कहिल्यै रहेन । बरु लेखनको जुन तह थियो उहाँको, त्योभन्दा मुनि ओर्लिएर लेख्न चाहनुभएन । बजारे लोकप्रियता खोज्न उहाँलाई कुनै पनि हौसलाले प्रेरित गर्न सकेन ।

रत्नशमशेर जुन कालखण्डको समाजमा बाँच्नुभयो, त्यही समाजभित्र तत्कालीन समयमा चलेका विम्बहरू उहाँका गीतहरूमा भेटिन्छन् । हरेक कविहरूले बारम्बार दोहोर्‍याइरहने अलग विम्बहरू हुन्छन् । एकाधलाई छाडेर उहाँका प्रायःजसो गीतहरूमा पनि प्रकृतिसम्बन्धी विम्बहरू बारम्बार दोहोरिएका छन् या भनूँ त्यसकै सेरोफेरोमा उहाँका गीतहरू बुनिएका छन् । तर, जति दोहोरिए पनि तिनले पृथक् अर्थ बोकेका छन् र अलग भाव प्रस्तुत गरेका छन् । उहाँले लेखेका असङ्ख्य गीतमध्ये ‘कुञ्जमा गुन्जियो स्वर कोयलीको’ मेरा लागि रचना र प्रस्तुति दुवै हिसाबले अद्भुत गीत हो । प्रकृतिसँग सम्बद्ध शब्द संयोजनको यस्तो युगल गीत नेपाली गीताकाशमा दुर्लभ छ, विरलै बन्छ ।

आज जब उहाँको अवसानपछि उहाँबारे लेख्दै छु, मनमा एक प्रकारको खिन्नता छ । मलाई लाग्छ, उहाँले जति लेख्नुभयो त्योभन्दा धेरै उहाँले लेख्नुपर्थ्यो । एउटा लामो समय नेपाली समाजमा बाँचेको मान्छे, सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरण देखेको कविबाट त्यो अपेक्षा राख्नु ज्यादा अपेक्षा राखेको नमानिएला । कुनै पनि व्यवस्थासँग सरकारी ‘सामल’ नलिईकन सदा अलग कित्तामा उभिएको मान्छेबाट यति आस गर्नु आसे भएको पनि नठहरिएला । तर, उहाँबाट त्यस्ता गीत हामीले यथेष्ट पाउन सकेनौँ । उहाँले जुन चेतले विभिन्न आयाममा जति लेख्नुपर्ने थियो त्यति लेख्न नपाउनु हाम्रो वाङ्मयका लागि खति हो । त्यसो हुनुमा दुईवटा कारण हुन सक्छन् । पहिलो उहाँ सन्तोषी हुनुहुन्थ्यो, जीवन र लेखन दुवैसँग ।

अर्कोचाहिँ उहाँलाई गीत लेखाउनेहरूको उदासीनता । हाम्रो मुलुकमा बन्ने सिनेमाहरूमा गीतको आफ्नै महत्त्व छ । तर, तिनले रत्नशमशेर थापालाई विरलै सम्झिए । अन्त्यानुप्रास मिलाएर गीतको साँचोमा शब्द थुपारे पुग्छ भन्ने चेतना बोकेका अधिकांश निर्माता/निर्देशकहरूले रत्नशमशेरलाई खोजेनन् । अर्को उहाँको ढिपी पनि थियो होला । एउटा वा दुईवटा गीत मात्रै हो भने सिनेमाका लागि नलेख्ने सर्त । तर, धेरैले थाहा पनि पाएनन् कि उहाँ जति कडा हुनुहुन्थ्यो उति नै कोमल पनि । नत्र विस्व बस्नेत र कलाकार सम्राट सापकोटाका लागि जनही एउटा मात्र गीत लेख्नुहुने थिएन होला ।

नेपाली सङ्गीत जगत्मा सबैभन्दा बेवास्ता गरिएको पक्ष हो गीत । यो रत्नशमशेरको ठम्याइ थियो । त्यसो त गीतकार/कवि बन्ने मोह नेपाली समाजमा प्रबल छ । गीत वा कविताको ढाँचामा जे लेखे पनि हुन्छ भन्ने अधिकांशको सोच छ । गीतमा काव्य हराएको, ‘थट’ हराएको दशकौँ भइसक्यो । यो दोहोरिएर पुरानै ठाउँमा पुग्न मुस्किल छ र गीतप्रतिको वर्तमान सोच सहजै बद्लिने पनि छैन । जोसँग काव्यचेत छ, र जो गीत लेख्न सक्षम छन्, त्यस्ता गीतकारहरूको गीत नखोजिएको दशकौँ भइसक्यो । रत्नशमशेरका गीतहरू नेपाली सङ्गीत र सिनेमाका क्षेत्रमा उहाँ ज्युँदै हुँदा नखोजिनुलाई त्यसैले आश्चर्य मान्ने कुरा पनि आएन ।

आज हामीसँग हजारौँ नेपाली गीतको भण्डार होला । छानीछानी सुन्न पाउँछौँ । तर, कुनै बेला यस्तो थियो— नेपाली गीतहरू पर्याप्त रेकर्ड नै भएका थिएनन् । त्यस्तो प्रारम्भिक कालमा गीत लेखेर नेपाली गीतको जग निर्माण गर्ने सचेत गीतकारमध्ये एकका रूपमा सम्झिन्छु म रत्नशमशेरलाई । कुनै जमानामा केही लेखेकै भरमा कालान्तरमा वरिष्ठ कवि/गीतकारको दर्जा पाउने प्रचलन हाम्रो समाजमा छ । सिर्जनाको संसारमा कोही कनिष्ठ र वरिष्ठ हुँदैन भन्ने हाम्रा सर्जक र समाज दुवैले बिर्सिएका छन् । सर्जक कुनै सरकारी कार्यालयको कर्मचारी होइन बढुवा हुने, सर्जक त जीवन रहुन्जेल आफ्नो सिर्जना त्यसरी नै गर्छ जसरी पहिलो सिर्जना गर्दा उसले आफ्नो पहिलो हरफ कोरेको थियो । रत्नशमशेरलाई म त्यस्तै कवि/गीतकारका रूपमा सम्झिन्छु, जो जीवनको उत्तरार्द्धमा पनि लेखनमा सक्रिय थिए ।

रत्न दाइसँग मेरो अन्तिम भेट पलेंटी शृङ्खलामा भएको थियो, जहाँ उहाँकै भतिजा (जो पेसाले आँखाका नामी डाक्टर हुन्) डा. सुमन थापाको एकल गायन कार्यक्रम थियो । रत्नशमशेरको रचना सुमनले गाइरहँदा मैले दुई/चारपटक उहाँलाई लुकीलुकी हेरेको थिएँ । ज्याज शैलीमा बनेको गीतको संयोजन हृदय छुने खालको थियो । गीत सुनिरहँदा उहाँकोसजल नयनमा चमक देखेँ । त्यो चमक के कारण देखियो, थाहा छैन । बस्, यतिखेर त्यो सजल नयन झलझल आउँदै छ मेरो स्मृतिपटमा । कार्यक्रमपछि एकपटक उहाँसँग अन्तरङ्ग भेट गर्ने मेरो मनसुवाअधुरो रह्यो ।

रत्न दाइ बितेको खबर सुनेँ । यो जेठको गर्मीमा मानौं जाडो यामको सबभन्दा चिसो सिरेटोले मनलाई सरक्क छोएर गयो । सम्झना सिनेमाको रिलझैं सर्रर चल्यो । केही धमिला र केही प्रस्ट छवि प्रकट भए । ट्विटरमा सरकारी समवेदना पढें । सरकारले रत्नशमशेरलाई कसरी चिनेछ भन्ने कौतूहल जाग्यो । उहाँ त कहिले पनि कुनै पनि सरकारको समीप रहनुभएन । उहाँको सामीप्य उहाँकै भाव, शब्द, परिवार र सीमित साथीहरूसँग रह्यो । हक्की हुनुहुन्थ्यो, चाप्लुसी, चाकडी उहाँको स्वभावमा थिएन, त्यसैले पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा समेत उहाँले कुनै सरकारी पदको र सुविधाको इनाम पाउनुभएन । इच्छा पनि त थिएन ।

प्रकाशित : जेष्ठ २४, २०७७ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×