गर्भवती उर्मिलाको अन्त्य- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भवती उर्मिलाको अन्त्य

त्यहाँको सुनसान माहोलमा गर्भमा रहेको बच्चा बाहिर आउन गुहार मागिरहेथ्यो । तर, कसैले उसको आवाज सुनेन ।
संगीता उराँव

दुःखका कारण अनेक हुन सक्छन् । दुःख त सबैसँग यात्रा गर्दोरहेछ । जब दुःख सहने आत्मबल घट्दै जान्छ, तब जीवनबाट हरेस खाई विश्राम लिन मन लाग्छ । यस्तै कैयन् प्रश्न मनमा बोकेर हिँडेका कल्पना र उर्मिलाहरूको दुःखसँग कैयौं दिन यात्रा गरेको छु ।

घरपरिवारले गरेका हिंसा, अत्याचार, पीडाको बन्धनमा बसेर मनमा गुम्सिएका हजारौं प्रश्नलाई भ्रूण अवस्थामै हत्या गराउँछन् कैयौं कल्पना र उर्मिलाहरू । त्यो हत्या रोक्न अनि कल्पना र उर्मिलालाई आत्मग्लानिसम्म नपुर्‍याउन कसरी दुःखबाट विश्राम गराउन सकिएला ? यही सोचका साथ सल्लाह सुझाव दिन निस्किइयो । कल्पना र उर्मिलाका कुरा सुनिदिए मात्र पनि उनीहरूको मन हलुका हुन्छ होला ∕

शिल्पी थिएटरमा विद्यार्थीको रूपमा र अहिले कलाकारको रूपमा जोडिएपछि मेरा लागि रंगमञ्च नै जीवन भएको छ । म एउटा अविकसित गाउँबाट कसरी काठमाडौंको शिल्पी थिएटरसम्म आइपुगेँ भन्ने लामै कथा छ । तर, मेरो पीडा अभिव्यक्तिको स्वर बन्यो रंगमञ्च । मैले जति पनि नाटक खेलेँ कहीं न कहीं म बाँचेको समाज वा देखिरहेको विभेद र हिंसाको बारेमा नाटकबाट बहस गरेका छौँ ।

शिल्पीको एकमहिने नाट्ययात्रामा मैले गरेको केही अनुभूति थोरै सुनाउँछु । २०७६ को कात्तिकभरि हामी गाउँगाउँमा नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ देखाउँदै हिँडेका थियौँ । नाटकमा मेरो भूमिका उर्मिलाको थियो । उर्मिला घर र खेतको कामले थिचिएकी स्कुल पढ्न संघर्ष गरिरहेकी गाउँकी केटी, जो सही र गलतको अन्योलबीच जिन्दगीलाई संकटैसंकटमा डोर्‍याउँछे । ऊ बाँचेको परिवेशमा जोखिमैजोखिम छन् ।

जतिबेला म नाटकमा उर्मिला भएर दर्शकसामु उपस्थित हुन्थेँ, दर्शकदीर्घामा रहेका अरू उर्मिलासँग एकाकार हुन्थे । त्यसबेला मनमा गुम्सिएका उर्मिलाहरूका दुःख र पीडालाई पोख्न अलिकति भए पनि साहस आउँथ्यो । किनकि धेरै उर्मिलाहरूको आँखामा त्यो दुःख, अपहेलना र कामको जोताइ देख्दा भक्कानिएर भए पनि गुम्सिएको पीडा पोख्न बाध्य हुन्थें । कतिपय ठाउँमा उर्मिलाहरूसँग कुरा गर्दा, उनीहरूका कुरा सुन्दा साँच्चै डर र हुटहुटी बढ्थ्यो । यस्ता हिंसा मैले नदेखेको पनि होइन, तर यो गलत हो भन्ने थाहा थिएन ।

विराटनगरको बुधनगरमा नाटकको कचहरीपछि एक जना दिदीसँग कुरा गर्दा झन् मन थरथरायो । उहाँको नाम कविता तात्मा रहेछ । उमेर २४ वर्ष, बिहे १६ वर्षको हुँदा भएको रहेछ । आमाबुबाको रोजाइको केटा, जो कविताभन्दा १० वर्ष जेठा रहेछन् । ती पुरुषले पहिलो पत्नीलाई वर्ष दिन नबित्दै घरबाट निकालेका रहेछन् । कारण थाहा भएन । र, कवितासँग दोस्रो विवाह भएको रहेछ । उनले एक वर्षपछि छोरी जन्माइछिन् । पहिलो बच्चा छोरी भयो भनेर घरपरिवार र श्रीमान्बाट स्याहार–सुसार पाइनन् । त्यसको दुई वर्षपछि फेरि अर्की छोरीलाई जन्म दिइन् । त्यसपछि परिवार र श्रीमान्को अपहेलित व्यवहारमा घोटिन थालिछिन् उनी । हरेक दिन सानोसानो निहुँमा गालीको वर्षा, झापडको छाप, कपाल लुछाइ ∕ दुई छोरीको स्याहारभन्दा पनि परिवार र लोग्नेको अनुहारमा एक दिन हाँसो देख्न पाउँछु भन्दै मेसिनजस्तो भएर काम गरिरहिन् । तर, कहिल्यै उनीहरूको अनुहारमा उज्यालो देख्न पाइनन् । कुरा गर्दै गर्दा कविता नाटककी कल्पना सम्झँदै रुन थालिन् । ‘त्यो कल्पनाजस्तै म बच्चा जन्माउने मेसिन र लोग्नेको सेवा गर्ने नोकर भएकी छु । मेरा दुई बच्चा पनि खेर गए । मेरो स्वास्थ्य बिग्रियो,’ आफ्नो पेटमा स्पर्श गर्दै भनिन्, ‘त्यै पनि अहिले मेरो गर्भमा चार महिनाको बच्चा बसेको छ । यो पनि छोरी भयो भने मेरो के हालत होला, त्यो म सोच्न पनि सक्दिनँ ।’

त्यही बेला एउटी आठ वर्षकी बालिका हस्याङफस्याङ गर्दै आइन् र बुबाले बोलाउँदै छ भन्ने खबर ल्याइन् । कविताले त्यो बालिकाको टाउको सुम्सुमाउँदै भनिन्, ‘यो मेरी ठूली छोरी हो ।’ त्यसपछि हत्तारिँदै बाटो लागिन् ।

...

जब म राति ओछ्यानमा पल्टिएँ, कविताको अनुहार नाच्न थाल्यो । दिक्क, तनाव सबै एकैपटक थुप्रियो । यो कुराले मेरो आँखामा निद्रा आउन मानिरहेको थिएन ।

इटहरीको तायारिप्ची भवनमा साँझको शोमा हाम्रो नाटकमा कचहरी बसिएन । त्यहाँ पहिलोपटक नाटकको खुला अन्त्य गरिएको थियो । नाटकको अन्त्यमा गर्भवती उर्मिलाको मृत्यु हुन्छ । नाटकमै भए पनि आफू मर्नुपरेकोमा साह्रै नरमाइलो लाग्यो । तर, नाटकमा म होइन, उर्मिला थिइन् । उनको सात महिनाको बच्चा थियो गर्भमा । विडम्बना, त्यो बच्चाले यो संसारमा आफ्नो दृष्टि खोल्नुपूर्व नै आफ्नी आमाले समेत यो संसारबाट बिदा लिइन् । मनमा आँधी चल्यो, मचाहिँ उर्मिला हुँ कि ∕ रणभुल्लमा परें ।

यस कुराको निष्कर्ष नपाउँदै यथार्थमै मेरो जिउँदो शरीरलाई सेतो कात्रोले बेरेर मलामी लैजाँदा साँच्चै म मरेकै हो झैं महसुस भयो । त्यहाँको सुनसान माहोलमा गर्भमा रहेको बच्चा बाहिर आउन गुहार मागिरहेथ्यो सायद, तर कसैले उसको आवाज सुनेन । बच्चाले आफ्नो कोमल खुट्टाले बिस्तारै लात हानिरहेथ्यो, चलमलाइरहेथ्यो सायद । तर, त्यो बच्चालाई कसैले देख्न पाएन, हतारमा थिए उर्मिलालाई माटोमा पुर्न । आतुर थिए आफन्तहरू र आफ्नै लोग्ने भनाउँदा । तर, दर्शकबाट ‘बिचरा’ भनेको मात्र सुनें ।

त्योबेला मेरो मनमा, दिमागमा आमाको अनुहार नाच्न थाल्यो । आमाको दुःख सम्झिँदा अहिले नै गएर आमालाई अँगालो हालूँ र खुब रोऔंजस्तो लाग्यो । मुखलाई सेतो कात्रोले थुन्न खोजें तर नेपथ्यमा पुग्दा आफूलाई रोक्न सकिनँ । सम्हाल्न सकिनँ । मनलाई शान्त होऊ भन्न सकिनँ । आँसुलाई नबग भन्न पनि सकिनँ ।

प्रकाशित : आश्विन २४, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

मदिराको वर्गसंघर्ष

केही दशकसम्म मतवालीको पुर्पुरोमा ठप्पा ठोकिएको मदिरा नेपालका सबै कथित पवित्र समुदायको पनि कुनै न कुनै रूपमा बेसी या कम लतको रूपमा वा बेला–मौकाको फुर्माइसी संस्कृति बनिसकेको छ ।
आहुति

राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनेर हिँड्ने क्रममा विसं २०४३ को अन्त्यतिर सिन्धुपाल्चोकको हैबुङ गाउँ आसपासको एक गुरुङको घरमा बास पर्‍यो । शरीरमा कम्पन छुट्ने गरी हनहनी ज्वरो आएको थियो । त्यहाँ आधुनिक औषधि प्राप्त हुने कुनै सम्भावना थिएन । मेरो हालत देखेपछि घरकी वृद्ध महिलाले कराहीमा घिउ तताइन्, त्यसपछि कालो रिठ्ठाको गेडा फुटाएर गुदी तातो घिउमा केहीबेर भुटिन् ।

त्यसमाथि सिलावरको एक कचौरामा घरेलु रक्सी झानिन् र मलाई पिउन दिइन् । बच्चैदेखि चामलको जाँडको सेजोको स्वाद पाएको भए पनि त्यतिन्जेल रक्सी शरीरमा कहिल्यै परेको थिएन । एकातिर रक्सीले बिगार गर्ने हो कि डर, अर्कोतिर कम्युनिस्टको आचरणमा धब्बा पो लाग्ला कि भन्ने पीर ∕ केहीबेर हल्का इन्कार त गरियो तर ‘यहाँको औषधि यही हो, स्वाट्टै पार्नुपर्छ’ भनेपछि उपाय पनि अर्को थिएन । कम्तीमा पाँचपटक कोसिस गरेर त्यो औषधि पिइयो । केहीबेरमा निस्लोट भएको पत्तै पाइएन, बिहान उठ्दा न ज्वरो न टाउको दुखाइ– शरीर एकदम चंगा ∕ जीवनमा पहिलोपटक ज्ञान भयो कि रक्सी त गाउँघरमा औषधि पनि पो रै’छ ।

त्यस घटनापछि मैले आफू हुर्केको गाउँको ख्वायचा नामको मानिसलाई सम्झें । ऊ सुधो सिकर्मी थियो, युवा उमेरमै श्रीमतीको मृत्यु भएकाले हरेक साँझ झ्यालमा बसेर गाउँलेले सुन्ने गरी श्रीमतीको हीरा नामलाई पुकारेर रुन्थ्यो । एकपटक टीबी रोग लागेर निको भएकाले परिवारले सकेसम्म रक्सी उसलाई दिँदैनथे । तर, अचाक्ली रोएर परिवारलाई निदाउनै समस्या पारेको दिन उसलाई रक्सी ख्वाइन्थ्यो, त्यसपछि ऊ शान्त भएर निदाउँथ्यो । ‘रक्सी खाएपछि स्वास्नी बिर्सन्छ ख्वायचाले’ भनी उसलाई जिस्क्याउँथे । तर, यो कुरा त पक्का नै थियो कि मनको पीरको ज्वार अकासिएको रात उसलाई शान्त बनाउने काम रक्सीले गर्थ्यो ।

सिन्धुली जिल्लाको मरिण क्षेत्रको झ्याडी गाउँको दनुवार बस्तीमा २०३६ सालतिरका जुझारु क्रान्तिकारी किसान रामप्रसाद राई नामका व्यक्ति छन् । उनका चारवटी श्रीमती । दुई मगर दिदीबहिनी । दुई दनुवार दिदीबहिनी । २०५४ सालतिर महिनौं उनको घरमा बस्दा देखियो कि उनीहरू बिहानै सानो भात खाएर काममा निस्कन्थे । सानो भातमा हुन्थ्यो, भुटेको मकै र मकैको जाँड । अरू नहुँदा सानो भातमा जाँडचाहिँ अनिवार्य । बिहानको खानालाई उनीहरू सानो भात भन्छन् । दिउँसो कामबाट फर्केपछि ठूलो भात अर्थात् चामलको भात खान्थे । खेतबारीको कामबाट लखतरान भएर फर्किंदा रामप्रसादका श्रीमतीहरू अँगेनो वरिपरि अरू काम गर्दै रक्सी तताएर पिँडुलामा दलिरहेका हुन्थे । रामप्रसाद राईलाई दलिदिने अधिकारचाहिँ कान्छी श्रीमतीलाई मात्रै थियो ।

यहाँ प्रस्तुत गरिएका केही घटना र सन्दर्भहरू र धेरैजसोले भोगेदेखेका अनगिन्ती अनुभवबाट स्पष्ट हुन्छ कि मदिरा पिँधको आम श्रमजीवी मानिसको जीवन संस्कृतिको अंग बन्दै आयो । पवित्र सगुन, औषधि, लगातारको कठिन श्रमको निम्ति ऊर्जा तत्त्व र मनोरञ्जनलगायत धेरै कामका निम्ति मदिरा प्रयोग हुँदै आयो । नेपाली समाजमा शासक बन्न पुगेको ब्राह्मण संस्कृतिले मदिरालाई अपवित्र कुखाद्य अनि त्यसलाई सेवन गर्ने व्यक्ति र समुदायलाई कमसल भनी चित्रण गरी त्यही दृष्टिकोणबाट सिंगो समुदायलाई प्रशिक्षित गर्ने प्रयत्न गर्‍यो । त्यस प्रशिक्षणमा राज्य एक हदसम्म तार्किक तहमा सफल पनि भयो । तर, परम्परादेखि मदिरा प्रयोग गर्दै आएका बहुमत जनसंख्यामा रहेका नेपाली जनजातिसहित विभिन्न समुदायको संस्कृतिबाट मदिरालाई अलग गर्न भने राज्य असफल नै भयो । त्यसको उल्टो परम्परादेखि मदिरा प्रयोग नगर्दै आएका जातका व्यक्तिहरू क्रमशः मदिरा प्रयोग गर्ने व्यक्ति समूहमा फेरिँदै आउने सिलसिला पो चल्यो ।

केही वर्षअगाडि मधेसी समुदायको ब्राह्मण परिवारमा हुर्केका एक वरिष्ठ अधिवक्तासँग बीबीसीको एक कार्यक्रममा जाँदा एउटै कोठामा रात बिताउने अवसर जुट्यो । उनी लोकतान्त्रिक विचारका र खासै हाम्रो संगत पनि नभएकाले एकअर्काबारे जानकारी थिएन । पहिलो भेटमा कम्युनिस्ट कार्यकर्ता र लोकतान्त्रिक व्यक्तिबीच ह्वात्तै खुल्न स्वाभाविक रूपमा गाह्रो थियो नै । साँझ छिप्पिँदै गएपछि मिठो स्वरमा उनले भने, ‘सरको रुचि कस्तो छ कुन्नि, यहाँ अलि जाडो पनि रै’छ । फेरि चिया पिएर त मनको कुरा नै आउँदैन ।’ तीन दशकभन्दा लामो समयदेखि राजनीतिमा रहेर पिँधको एक हिस्सा समाजदेखि प्रधानमन्त्रीहरूसम्मको साँझ भोगिसकेका हुनाले उनको मिठासपूर्ण प्रस्तावको सरल आशय बुझ्न कठिन थिएन । यो सन्दर्भ उल्लेख गर्नुको आशय यही हो कि केही दशकसम्म मतवालीको पुर्पुरोमा ठप्पा ठोकिएको मदिरा नेपालका सबै कथित पवित्र समुदायको पनि कुनै न कुनै रूपमा बेसी या कम लतको रूपमा वा बेला–मौकाको फुर्माइसी संस्कृति बनिसकेको छ । नेपालको आधुनिक शिक्षा र राजनीतिले पाउने केही जसका विषयमध्ये यो पनि एउटा हो सायद कि राजनीतिमा लागेका र शिक्षित व्यक्तिले मदिरालाई अपवित्रताको कोटीबाट अलग गर्न सिके अनि मदिरालाई निरपेक्ष खराब वस्तुका बुझ्न रूपमा छाडे ।

यसप्रकार हिजो नेपालको बहुमत जनताको संस्कृति थियो मदिरा भने आज अत्यधिक बहुसंख्याको संस्कृति बन्न पुगेको छ । एक जना कविको शब्दमा भन्ने हो भने ‘नेपाल एउटा जँड्याहाहरूको देश’ बन्न पुगेको छ । यसप्रकार नेपाली समाजमा मदिराको प्रयोगको एउटा शालीन र रचनात्मक भूमिका देखिन्छ भने अर्कातिर मदिराले थुप्रै व्यक्ति र परिवारलाई अकल्पनीय बर्बादी र पीडाको अनन्त दलदलमा धसाएको पनि प्रस्टै देखिन्छ । घरझगडा, महिलामाथिको हिंसा, शिशुहरूमाथिको मानसिक हिंसा, फजुल खर्चले निम्त्याउने अनावश्यक अभाव, बलात्कार, आत्महत्या, समुदायमा मनमुटाव, व्यक्तित्वहरूको विघटनलगायतका असंख्य प्रकृतिका नकारात्मक परिघटनाहरू अगाडि आउने वातावरण बनाउन मदिरा प्रयोगले उत्प्रेरकको भूमिका खेलिरहेकै छ । व्यक्ति र समाजको जनजीवनमा मात्र होइन, आज मदिरा राज्यका साना–ठूला सबै निकायलाई गलत कामका निम्ति प्रयोग गर्न अघि सारिने एक औजारसमेत बन्न पुगेको छ । अधिकांश भ्रष्टाचारका तानाबाना मदिराकै रोहवरमा तय हुन्छन् । ठेक्कापट्टाको रठ्ठाबठ्ठामा मदिरा नै साक्षीका रूपमा उपस्थित हुन्छ । न्याय क्षेत्रमा मदिराले कस्तो नृत्य गरेको होला भनी बुझ्न बार एसोसिएसनको कतिपय सम्मेलनमा एक ट्रक बियर उपहार गएबाटै अनुमान लगाउन सकिन्छ । राष्ट्रिय पार्टीहरूका उच्च गुट मिलनजस्ता गमस्तामा मदिरा कसरी बुर्कुसी मार्ने गरेको छ भन्ने कुरा आजका प्रम ओलीसहितको गोकर्ण रिसोर्टको रात्रिभोजमा बितेका पूर्वमन्त्री रवीन्द्र अधिकारीहरू मदिरामस्त नाचेको सार्वजनिक तस्बिरबाट पनि थोरै अन्दाज लगाउन गाह्रो पर्दैन ।

त्यसैगरी सरकार फोरुवा वा नयाँ समीकरण जोडुवा उच्चस्तरीय नेताका निर्णयस्थलको खुसीमा मदिरा कसरी सानसँग सहकार्य गर्छ भन्ने कुरा संविधान नबन्दैका बखत सरकार बनाउन नयाँ समीकरण जोड्ने बैठकमा प्रचण्ड, जयप्रकाश गुप्ता आदि नेताले मदिराको गिलास उठाएर सामूहिक रूपमा खिचाएको फोटोबाट प्रस्टै हुन्छ । कुनै उत्सवको खुसियाली, पारिवारिक भेटघाट वा मित्रजनहरूको सौहार्दता साटासाट या व्यक्तिगत रुचिका कारण राष्ट्रिय भूमिकाको व्यक्ति वा आम मानिसले मदिरा प्रयोग गर्नु बेग्लै कुरा हो, त्यो सार्वजनिक नकारात्मक टिप्पणीको विषय बन्नु जायज पनि हुँदैन । तर, ठेक्कापट्टा पट्याउन, भ्रष्टाचारलाई सफलीभूत बनाउन, राजनीतिक समीकरण तलमाथि पार्नलगायतका देश र समाजकै भविष्य दायाँबायाँ हुने विषयहरूसमेत मदिराबाट सुरु वा मदिराबाट अन्त्य गरिने सन्दर्भ भने निकै डरलाग्दो हो । आजको पुँजीवादी राजनीति र माहोलमा आम रूपमा भइरहेको चाहिँ यही नै हो । यसबाट सजिलै बुझ्न सकिन्छ कि मदिरा प्रयोगको नकारात्मक पाटोको भूमिका कति लम्बे हातसम्म फैलिएको छ ।

मानव समाजमा प्रयोग भइरहेको नशालु पदार्थहरूमध्ये तरल मदिरा मानिसको सबैभन्दा पुरानो खोज र प्रयोग हो भन्ने कुरा मदिराका इतिहासकारहरू बताउँछन् । ढुंगेयुगको उत्तरार्द्ध अर्थात् इसापूर्व दस हजार वर्षअगाडिदेखि मदिराको प्रयोग सुरु भएको मानिन्छ । त्यसबेलादेखि संसारका विभिन्न भागमा विकसित सबै सभ्यतामा मदिराको प्रयोग हुँदै आएको तथ्य प्रमाणित छ । चीन, बेबीलोन, ग्रीस, इजिप्ट, इटली, आजको अरबलगायतका सभ्यताका केन्द्रहरू सबैमा इस्वी संवत् सुरु हुनुभन्दा धेरै पहिले विविधि प्रकृतिका मदिरा संस्कृतिकै रूपमा प्रचलित थियो । गंगा र सिन्धु मैदानको दक्षिण एसियाको सभ्यतामा पनि ऋग्वेदकाल अर्थात् इसापूर्व पन्ध्र सयतिरै मदिरा प्रचलित थियो । वेदहरूमा उल्लेख सोमरस खास वृक्षबाट उत्पन्न हुन्थ्यो भनिए पनि त्यो तरल मदिरा नै थियो । स्मृतिकालको साहित्यले त फलफूल तथा चामलबाट बन्ने मदिरासमेत आम संस्कृति बनिसकेको बताउँछ । यसप्रकार मानव सभ्यता र मदिरा सँगसँगै यात्रारत छन् भन्दा फरक पर्दैन नै । सभ्यतासँगै यो निरन्तर भएजस्तै यसको उपादेयताको बखान वा कडा आलोचना र प्रतिबन्ध वा नियमनको प्रयत्न पनि इसापूर्वदेखि नै हुँदै आएको पाइन्छ । चिनियाँ समाजको मदिराको इतिहास खोतल्नेहरूले इपू ११०० तिरै धेरैपटक मदिरा नियमनसम्बन्धी बनाइएका कानुनहरू थिए भन्ने प्रमाण फेला पारेका छन् । प्लेटो (४२९–३४७ इपू) स्वास्थ्य र खुसी प्रवर्द्धनमा मदिरा उपयोगी हुने तर्कपट्टि ढल्किन्छन् भने एरिस्टोटल (३८४–३२२ इपू) मदिराको कडा आलोचकका रूपमा प्रस्तुत भएका छन् । समकालीन हिप्पोक्रेट्स (४६०–३७० इपू) चाहिँ फेरि मदिराको औषधीय गुणलाई बढी महत्त्व दिन्छन् । दक्षिण एसियाको हकमा चाहिँ गौतम वुद्ध र महावीर दुवै नै मदिरा प्रयोगको कडा विपक्षमा उभिएका छन् । त्यसपछिका चाणक्यले पनि मदिरा सेवन प्रवृत्तिलाई दुर्गतिको मुहानका रूपमा कडा रूख अपनाउँछन् ।

मदिरा प्रयोगको लामो युगीन शृंखलालाई हेर्दा यसको आलोचना वा कतिपय बेला केही सभ्यतामा प्रतिबन्ध भए पनि त्यो संस्कृति मूलतः निरन्तर नै चल्दै आयो । गौतम बुद्ध, महावीर, हजरत मोहम्मददेखि चाणक्यसम्म मदिरा प्रयोगको विरुद्ध उभिए पनि बौद्धमार्गी, इस्लाम समाज, जैनपन्थी समाज मदिराबाट अलग भएन, केवल तत्तत् धर्मका विशिष्ट पुरेत जमातले मात्र मदिरा विरोधी अपिललाई लागू गर्ने प्रयत्न गर्दै आयो । मदिरा प्रयोगबाट आफूलाई बिल्कुल अलग राखेको हिन्दु समाजको ब्राह्मण पनि आजसम्म आइपुग्दा त्यस अडानमा कायम रहन सम्भव भएन । मदिरा आज सर्वव्यापी हुनुमा व्यापारी वर्गको स्वार्थ, राजनीति र अन्य सामाजिक कारणहरूले के कति भूमिका खेले भन्नेबारेमा अलग शिराबाट अध्ययन जरुरी छ । तर, केचाहिँ सजिलै भन्न सकिन्छ भने यो चुरोटको सर्वव्यापी प्रयोगजस्तो विशुद्ध पुँजीपति वर्गको स्वार्थ र षड्यन्त्रका कारण यहाँसम्म आइपुगेको होइन । मदिरा मानव सभ्यतासँगै निरन्तरसँगै अघि बढ्नु र आज सर्वव्यापी बन्नुले के यो मानव जीवनमा अनिवार्य प्रयोग गर्नुपर्ने वस्तु पुष्टि हुन्छ ? मानवका निम्ति अनिवार्य हो भने त जीवन दर्शनकै एक हिस्सा हुन पुग्छ । के मदिरा जीवन दर्शनकै हिस्सा हो त ? यस प्रश्नको उत्तर त्यति सजिलो छैन र आजै दिन सम्भव पनि छैन ।

सम्भवतः मानव समाजमा लगातार चलिरहने बहसका विषयहरूमध्ये मदिरा पनि एक लामो समयसम्म बहसको विषय बनिरहनेछ । तर, आजसम्मको विज्ञान, खाद्यशास्त्र अनि मदिरा प्रयोग नगरेका समाज र व्यक्तिहरूको स्वास्थ्य, मनोरञ्जन आदिमा कुनै पनि अर्थमा कमजोर स्थिति नहुनुले आजै नै मदिरा मानवको जीवन दर्शनको अंग हो भन्न भने कदापि सकिने अवस्था छैन । राजनीतिक अर्थशास्त्रले बताएकै छ कि कुनै पनि भौतिक वस्तुले कुनै पनि वर्गको पक्षधरता लिँदैनन्, बरु तिनलाई जुन वर्गले पनि आफ्ना निम्ति वा अर्को वर्गको विरुद्ध प्रयोग गर्न सक्तछ । जब भौतिक वस्तु कसरी, कति, कसका निम्ति प्रयोग गर्ने सवाल उठ्छ, त्यो भने वैचारिक विषय बन्न पुग्छ, साथै वर्गीय सवाल पनि । मानव समाजको वर्गहरूको उदयसँगै मदिराको प्रयोगको प्रपञ्च वर्गीय मुद्दा पनि बन्दै अयो, अझ यसो भनौं मदिरामा वर्गसंघर्ष चल्दै आयो ।

शासक वर्गका निम्ति मदिरा मनोरञ्जन, उद्दण्डता, हिंस्रकवृत्ति र विलासिता उत्पादनको साधन रह्यो, त्यसैगरी श्रमिक जनतालाई जीविकामुखी बनाउन लठ्याइराख्ने एक औजार पनि बन्यो । आम श्रमजीवी जनताका निम्ति मदिरा औषधि, कठोर श्रमको निरन्तरताका निम्ति ऊर्जातत्त्व अनि मानसिक राहतको साधन नै मुख्य रूपमा रह्यो । फल, फूल अनि महबाट बन्ने मदिरा शासकको भागमा तर विभिन्न अन्नजन्य मदिरा प्रजा वर्गको भागमा पारिँदै गयो । श्रमजीवीहरूले मदिरालाई सामुदायिक एकताका निम्ति प्रयोग गरे तर शासकहरूले श्रमजीवीहरूमा फुट पार्नका निम्ति । राज्य विस्तारलगायत तमाम लुटधन्दाको लडाइँमा हिंस्रक आक्रमणमा उतार्न सिपाहीहरूलाई मदिरामस्त बनाउने चलन आजसम्मै धेरथोर बाँकी छ । पुँजीवादी उपनिवेशहरूको बिस्तारमा मदिरालाई त्यही कामका निम्ति प्रयोग गरियो । फोकल्यान्डमा ब्रिटिस गोर्खा फौजलाई काटमारमा उतार्नुभन्दा ठीक अगाडि ब्लु लेबल ह्विस्कीका बोतल कसरी अंग्रेज अफिसरहरूले वितरण गर्थे भन्ने किस्सा अहिले पनि लाहुरेहरू पटकपटक मातेको बेला बताइरहन्छन् । पुँजीवादको उदयपश्चात् त्यतिबेलासम्म समुदायको उत्पादन र उपभोगमा सीमित मदिरा गतिलो मालमा रूपान्तरण भयो अनि पुँजीपति वर्गका निम्ति नाफाको अनन्त श्रोत । पुँजीवादले जब मदिरालाई समुदायको ज्यासलबाट कारखानामा ल्यायो, त्यसपछि नै उसले आफ्नो एकछत्र मदिरा व्यापारका लागि परम्परागत सामुदायिक उत्पादनमाथि हस्तक्षेप र प्रतिबन्धको सिलसिला सुरु गर्‍यो । पुँजीवादले उपनिवेशवादको रूप लिएर संसारभरका उत्पीडित राष्ट्र कब्जा गर्न निस्केपछि आफ्ना कम्पनीका मदिरा पनि सँगै बेच्न लिएर हिँड्यो । युरोपेली कम्पनीका मदिरा उपनिवेशहरूमा बेच्न तब नै सम्भव थियो, जब त्यहाँका पारम्परिक स्थानीय मदिरा उत्पादन बन्द होऊन् । यही क्रममा नै बोतलभित्र बन्द गरिएको अब्बल अनि घरेलु उत्पादन स्वतः खतरनाक एवं कमसलको जाली अवधारणा अगाडि ल्याइएको हो । चुरोटजस्तो शतप्रतिशत खराब र दुनियाँ अभ्यस्त नभएको विषयलाई त पुँजीवादले विश्वव्यापी लतमा रूपान्तरण गर्‍यो भने संसारभर परिचित मदिरालाई झिल्के बोतलमा भरिएकै अब्बल ठान्ने मनोविज्ञान आम मानिसमा विकास गर्न खासै कठिनाइ परेन । यही क्रममा नै संसारभरका परम्परागत मदिराहरू हराउँदै गए, युरोप, अमेरिकाका ब्रान्डहरूले विश्व बजार कब्जा गर्दै गए । त्यसैले त हो भारतीय समाज चार हजार वर्षदेखिको मदिराको पारखी हुँदाहुँदै पनि त्यसले दुनियाँलाई चखाउने खासै ब्रान्ड विकास गर्न सकेन बरु ‘देशी दारु’ को पनि गुलाम हुन पुग्यो । आफ्ना परम्परागत मदिरालाई आधुनिक समयमा तिनै देशहरूले मात्र ब्रान्डका रूपमा विकास गर्न सके, जसलाई कि त साम्राज्यवादी मुलुकहरूको संरक्षण छ या त आफैँ विश्व शक्तिका रूपमा उभिन थाले । चीनको माओताई ब्रान्ड चीन विश्व शक्ति बन्नाले सम्भव हुन पुग्यो, दक्षिण कोरियाको सोजु ब्रान्डचाहिँ अमेरिकी संरक्षणले । आज मदिरा उद्योग विश्वको सबैभन्दा नाफाको उद्योगमध्ये पर्छ । त्यसैले समुदायबाट पुँजीपति वर्गले मदिरा उत्पादनलाई मूलतः खोसिसकेको छ । अब यो कर्पोरेट पुँजीवादको कब्जामा गइसकेको छ । नेपालको सर्वोच्च अदालतले भर्खरै पटक–पटक गरी वर्षमा तीस लिटर मात्र मदिरा उत्पादन गर्न पाउने फैसला बचेखुचेको सामुदायिक उत्पादन र उपभोगलाई पनि कुण्ठित पार्दै पूर्णतः दलाल पुँजीपति वर्गको कब्जामा मदिरा उत्पादन लैजाने प्रपञ्चकै एक अंग हो । त्यसो हुँदैनथ्यो भने सामुदायिक उत्पादनलाई नियमन अम्भव पनि थिएन, आफ्नै ब्रान्ड बनाउन राज्यले नसक्ने पनि होइन ।

कृषि युगमा सामुदायिक रूपमा मदिरा उत्पादन र उपभोग कृषि कार्यकै अभिन्न संस्कृति थियो । त्यसले कृषिलाई अघि बढाउन नै भूमिका खेल्थ्यो, आम कृषक श्रमजीवीलाई लुट्न होइन । तर, आज मदिरा विशुद्ध माल बनेकाले त्यसमा हुने खर्चले जीवनका निम्ति आवश्यक अन्य भौतिक चीज उत्पादनमा कुनै भूमिका खेल्दैन । यो यथार्थ श्रमजीवी वर्गका निम्ति यतिखेर सोचनीय विषय हो । आज मदिराबारे आम रूपमा स्वास्थ्यका दृष्टिले छलफल हुने गर्छ । वैज्ञानिकहरू, चिकित्साकर्मीहरू, बौद्धिकहरू र राज्यले मदिराले स्वास्थ्यमा के–के असर ल्याउन सक्छ भन्ने विषयमा मात्र परिचर्चा केन्द्रित गर्छन्, जुन कुरा आधारभूत रूपमै अपूरो छ । आज मदिराको शारीरिक असरजत्तिकै, अझ त्योभन्दा बढी आम जनताको सम्पत्ति बहुराष्ट्रिय कम्पनीले मदिरामार्फत कसरी लुट्दै छन् भन्ने विषय महत्त्वपूर्ण छ । हिजोको मदिरा उत्पादनले धन यहीँ बस्थ्यो तर आज बहुराष्ट्रिय कम्पनीले ओसार्छन् । विषय बिल्कुल फरक हुन पुगेको छ । पुँजीपति वर्गले मनलाग्दी महँगाउँदै लगेको मदिरालाई श्रमजीवी वर्गले हिजोजस्तै बेपर्वाह प्रयोग गरेर कसरी धान्न सक्छ भन्ने प्रश्न आज महत्त्वपूर्ण भएको छ । विश्वव्यापी रूपमा आम श्रमजीवी वर्ग अभावमा फस्दै जाने अनि श्रमजीवी वर्गको आन्दोलनले चाहिँ मदिरा प्रयोगको बारेमा श्रमजीवी वर्गलाई नयाँ शिराबाट प्रशिक्षित नगर्ने हो भने भविष्य निकै डरलाग्दो बन्नेछ ।

निष्कर्षमा आम श्रमजीवी वर्ग, त्यसका राजनीतिक प्रतिनिधिहरू, न्यायप्रेमी विभिन्न बौद्धिक शाखाका नागरिकहरूले मदिरामा लत बसेकाले लतबाट मुक्त हुन संघर्ष गर्नैपर्ने र धेरैपटक खाने बानीकाले कमपटक खानेमा झर्नैपर्ने परिस्थिति उपस्थित भइसकेको छ । बढीमा शिष्टाचार र विशेष अवसरमा मात्र उपयोग गर्ने संस्कृति बसाल्नैपर्ने आवश्यकता उत्पन्न भएको छ । मदिरा केवल मदिरा होइन, बरु आम श्रमजीवी र न्यायप्रेमीविरुद्धको आर्थिक अघोषित युद्धमा परिणत भएको छ । मदिरा आज वर्गसंघर्ष बन्न पुगेको छ । श्रमजीवी वर्ग र न्यायप्रेमीहरूले नयाँ विश्व निर्माणको वर्गसंघर्ष जित्ने रणनीतिमा अब मदिरा प्रयोगबारे नयाँ संस्कृति बनाउन थाल्नैपर्छ ।

प्रकाशित : आश्विन २४, २०७७ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×