कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अङ्ग्रेजीमा कविता अनुवादको मोह

एकपटक अनुवाद भएर खुस्किएपछि, त्यसले प्रभाव पारिसकेपछि त्यसलाई सुधार्ने कुनै उपाय हुँदैन । कवि रवीन्द्रनाथ ठाकुरले समेत वृद्ध अवस्थामा कसरी यो अनुवाद मोहमा फसेर कविता ध्वस्त पारेछु भनेर एक जना अङ्ग्रेज मित्रलाई लेखेका छन् । राम्रा कविता लेख्नेले अनुवादमा बग्नुअघि सोचेको राम्रो ।
अभि सुवेदी

गएको हप्ताको अमुक राति ढिलो केन्द्रीय अङ्ग्रेजी विभागमा पढाउने मेरा एक पूर्व विद्यार्थी महेश पौडेलले फोन गरे । यिनले धेरै नेपाली कविताहरू अङ्ग्रेजीमा अनुवाद गरेका छन् । कुनै सम्पर्कले गर्दा अनि कुनै केही पारिश्रमिक लिएर पनि गर्दा हुन् । सोधेको छैन । उनले भने, ‘यो के भइरहेको हो ? तपाईंले पनि अनुवाद गर्नुभएको छ ।’

अङ्ग्रेजीमा कविता अनुवादको मोह

मैले भनें, हो कालक्रममा निकै अनुवाद गरिसकेंछु । मलाई आफूले अङ्ग्रेजीमा अनुवाद गरेका सबै कवितामा सन्तोष लाग्दैन । कविताअनुसार पनि हुन्छ होला । एउटा समझदारीले, कुनै अनुरोधले वा कुनै आवश्यकताले अनुवाद गरिदिएका छन् मैले कविताहरू । तिनको प्रयोग गर्दा कविलाई राम्रो भयो र केही मानिसले तिनको परिचय पाए भने मलाई खुसी नै लाग्छ । तर, यो विषय यहाँ लेख्न लागेको होइन ।

मैले बुझेअनुसार महेशको चिन्ता अनुवाद गरिदिएका कविताको कसले कस्तो प्रयोग गर्न थालेका छन् भन्ने विषयमा आधारित थियो । कुनै विदेशी सञ्जालमा कविता पाठ गर्ने लहर चलेको विषय थियो, जसमा उनका निकै अनुवाद थिए । तर कति अनुवादकले किताबै तयार गरेका हुन्छन्, जुन अवस्थामा त्यो विषय कपिराइटसँग जोडिन्छ । अनुवादक भन्छन्, कसैले ती अनुवाद प्रकाशित गर्न वा कुनै प्रयोग गर्न अनुवादकको सहमति लिनु त के एउटा साधारण रूजमा जानकारीसम्म दिंदैनन् ।

तर मेरो यो लेखको विषय नेपाली कविताको अङ्ग्रेजी अनुवाद त हो तर छलफलको पाटो अर्कै छ । नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गर्ने एउटा अनौठो शक्ति र सम्बन्धको चाहनासँग जोडिएको देखिन्छ नेपालमा । कवि आफ्ना नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गराएर स्वभावतः अलिक व्यापक रूजमा फैलिन चाहन्छन् । अङ्ग्रेजीमा अनुवाद गर्नुको चाहना एउटा शक्ति र राजनीतिक मनोग्रन्थि पनि हो । म त्यसलाई अत्यन्त स्वाभाविक मान्छु ।

राणा शासन समाप्त भएको केही वर्षपछि नै महाकवि लक्ष्मीप्रसाद देवकोटा र अरू अङ्ग्रेजी जान्ने युवाहरूले मिलेर कवितामूलक ‘इन्द्रेनी’ साहित्यिक पत्रिका चलाए । यसको एउटा सम्पादकीयमा महाकविले लेखे, ‘यी अनुवादहरू अङ्ग्रेजीमा गरिएका छन् । यसको कारण के हो भने यो अङ्ग्रेजी भाषा भारतमा खासगरी डेकन प्रान्तमा र एसिया र विश्वमा व्यापक रूजमा प्रयोग गरिन्छ ।’ (इन्द्रेनी, वर्ष १, सन् १९५६ः१७४) । बलिया नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गरिए । महाकविका युवा सहयोगी भीमदर्शन रोका पनि थिए तर शैलीको प्रयोग र भाष्यबाट हेर्दा महाकविले नै सबै अनुवाद गरेका थिए । केही अङ्क चलेपछि यो पत्रिका बन्द भयो तर यसले आफ्नो इतिहास बनाएको छ ।

‘इन्द्रेनी’ कविहरूको योजना थियो र यसलाई आधिकारिक बनाउने चाहना रहेको थियो । यो चानचुने कुरा थिएन । नेपाल अङ्ग्रेजको साम्राज्यभित्र नभएको र अङ्गेजी भाषा शिक्षामा बाहेक त्यति प्रयोग नहुने भएकाले साहित्यकारहरूको यसलाई प्रयोग गर्ने चाहनामा केही भाषिक रोमाञ्चकता थियो । यो भाषामा कविता अनुवाद गरेर प्रकाशन गरियो वा कतै विदेशी र अरूभाषी छिमेकीहरूका गोष्ठीहरूमा उठेर पाठ गरियो भने त्यसबाट अमुक शक्ति वीक्षित गर्न सकिन्छ भन्ने मनोग्रन्थि बनिएको थियो जुन अहिले झन् व्यापक भएको छ ।

‘इन्द्रेनी’ पछि यो स्तरको योजना र प्रयोग न व्यक्तिले गर्न सके, न एकेडेमीले नै गर्यो । त्यो अर्कै छलफलको विषय हो । व्यक्तिगत रूजमा अङ्ग्रेजीमा अनुवाद गरेर आफ्ना कविता प्रचारमा ल्याउने कवि लेखकहरू थिएनन् । राम्रो अङ्ग्रेजी जान्ने नेपालीमा लेख्न जान्दैनथे । बालकृष्ण समकोमा म गइरहने युवा भएकाले उनले मलाई बीचबीचमा लेखेका कविता सुनाउँथे । उनका चित्रका व्याख्या गर्थे उनको काम गर्ने सानो स्टुडियोमा । त्यतैबाट पछि म कला समीक्षा लेख्ने भएँ, अनि पछि नाटक पनि लेखें । त्यो कथा अर्कै हो । एक दिन समले उनको नेपाली कविता ‘मृत्युपछिको अभिव्यञ्जना’ को अङ्ग्रेजी अनुवाद ‘एक्स्प्रसेसन् अफ्टर देथ्’ उनकै नाटकीय शैलीमा सुनाए जुन सम्झेर म अहिले पनि समको त्यही भाउ लाएर विद्यार्थीहरूसँग त्यो कविता पढ्छु । यसमा समको अङ्ग्रेजी अनुवाद नाटकीय शैलीमा गरिएको छ ।

अङ्ग्रेजीमा कविता अनुवाद गराउने चाहना भएका कवि थिए माधवप्रसाद घिमिरे ।

एउटा संस्मरण छ । सन् १९८६ को जनरल एर्सादले ढाकामा आयोजना गरेको तथाकथित पहिलो एसियाली काव्य महोत्सबमा कवि र म गएका थियौं । प्रत्येक कविले दुईवटा कविता मात्र सुनाउन पाउँथे । घिमिरेले दुईवटा कविता पढे । मैले तिनका अङ्ग्रेजी अनुवाद गरेको पढें । तर कविको पढ्ने शैलीले प्रभावित भएर आयोजकले ‘अरू पनि सुनाउँदै जानोस्, तपाईंलाई यो नियम लाग्दैन’ भनेपछि कवि घिमिरेले म बसिसकेको मानिसलाई मञ्चबाटै अङ्ग्रेजीमा ‘माई फ्रेन्ड मिस्टर सुवेदी, कम् कम्’ भनेर दुवै हातले बोलाए । म गएर छवटा जति कविताको धाराप्रवाह अनुवाद गरें । सकेसम्म गरें, राम्रै गरें । कविले ‘विश्वमञ्चमा मलाई चिनाउने काम अभिले जति अरू कसैले गरेको छैन’ भनेर जीवनपर्यन्त भने । त्यो नेपाली कविहरूको नेपाली कविताको अङ्ग्रेजी अनुवाद मोहसँग जोडिएको चेतना हो । सायद यो सही चाहना हो किनभने यो एउटा माध्यमको खोजी हो ।

अङ्ग्रेजी कविता अनुवादको अर्को एउटा प्रसङ्ग जोड्न चाहन्छु । राजा महेन्द्रको उनका कविताको अङ्ग्रेजी अनुवाद होस् वा तिनमाथि अङ्ग्रेजी भाषामा केही लेखियोस् भन्ने चाहना थियो । एक जना नित्यानन्द सोसाइटीसँग जोडिएका वाईजी कृष्णमूर्तिले ‘किङ्ग महेन्द्र द पोएट×’् (१९६३ ?) भन्ने किताबै प्रकाशित गरे । तिनको र तिनको सोसाइटीको राजा महेन्द्र र दरबारसँग सम्पर्क थियो भन्ने कुरा त्रिचन्द्र कलेजका संस्कृतका प्राध्यापक गोकुलचन्द्र शास्त्रीले भनेका कुराबाट अड्कल काटेको थिएँ । शास्त्रीले नै मलाई यो किताब सही गरेर लेखेर दिएका थिए अनि अङ्ग्रेजीमा कविता अनुवादको महिमा गरेका थिए । कविता अनुवाद र शक्तिको सम्बन्ध एउटा नौलो तर्क थियो मेरानिम्ति । त्यो बेला म विश्वविद्यालयको विद्यार्थी थिएँ । शास्त्री कट्टर हिन्दु संस्कृतिवादी कुरा गर्थे । यो किताबमा कृष्णमूर्तिले ‘उसैको लागि’ भन्ने राजा महेन्द्रको किताबबाट सातवटा कविताको अनुवाद गरेर बाँकी ग्रन्थमा अद्वैतवादी धारा र काव्य सिद्धान्तका कुरा लेखेका छन् । ‘उसैको लागि’ का कवितालाई उनले ‘काश्मिरी पण्डित’ स्कुलसँग भित्रैदेखि गाँसिएका छन् भनेका छन् जुन कुरा आज मोदी युगमा नेपालको सन्दर्भमा अर्थपूर्ण छ ।

कविले अङ्ग्रेजीमा कविता अनुवाद गराउनु र गरिएको हेर्न चाहनु एउटा स्वाभाविक चाहना हो । राम्ररी अनुवाद भएको छ भने त्यसले कविताको पठन सहज बनाउँछ । तर, यसै हार्हुर अनुवाद भयो भने त्यसले कविता धूलिसात् पनि गरिदिन्छ । कस्तो अनुवाद राम्रो भन्ने विषयमा छलफल गर्न लागेको होइन ।

तर, नेपालमा नेपाली कविताको अङ्ग्रेजी अनुवादलाई आफ्नो भाव, सद्भाव पनि बाहिर व्यक्त गर्ने माध्यमको रूजमा पनि प्रयोग गर्ने चाहना बलियो छ । उदाहरण अनेकौं छन् । एउटा बलियो उदाहरण हो मित्र कञ्चन पुडासैनीले नेपालमा सन् २००० ताका हिलरी क्लिन्टन नेपाल आउने भनेपछि नेपालका कविहरूलाई उनमाथि कविता लेखाएर अनि तिनका अनुवाद अङ्ग्रेजीमा गराएर निकालेका दुईवटा किताब । नेपालीको शीर्षक छ ‘एउटी नारी कवितामा’ (२०५६) ।

मोहन कोइरालादेखि लिएर नाम नसुनेका कविसहित २७ जनाको यो सङ्कलन र यसको अङ्ग्रेजीमा गरिएको अनुवाद एउटा ठूलै प्रभाव सिर्जना गर्ने चाहनाले प्रेरित छ । केही कविता राम्रा छन्, अनुवाद पनि राम्रा छन् जस्तो मोहन कोइरालाको कविता र त्यसको अनुवाद । अरू पनि यस्ता केही उदाहरण छन् । तर, अङ्ग्रेजीमा अनुवाद भएर हिलरी क्लिन्टनले पढ्नेछिन् भनेपछि नानाभाँतिका कविता लेखिएका छन् । यहाँ केही स्थापितै कविहरू कसैले आफैं बिल क्लिन्टन भएर लेखेका छन् भने कतिले ‘हिलरी, अहिले आदम–इभ, सुम्निमा–फारहाङको कथा थोत्रो भएर च्यातिइसक्यो, मुना–मदन र लैला मजनूहरू... दन्त्यकथा भएको यो वर्तमानमा तिम्रो अलिकति मातृत्व चाहन्छु प्रेम जन्माउन, मन–मनका लागि प्रेम अन्भाउन’ भनेर लेखेका छन् जस्को अनुवाद पनि उत्पात छ । यो सङ्कलनका टिप्पणीकारहरू र कतिपय कविहरूले हिलरीलाई आदर्श सहनशीला पत्नी र ‘वैदिक नारी’ सम्म भनेका छन् । उनको सहनशीलता भनेको मोनिका लुविन्स्कीसँग पति बिल क्लिन्टनको यौनिक सम्पर्कको कुरालाई उनले क्षमा गरेको कुरा भनेर मानिएको छ । हिलरीकोमा यो अनूदित किताब पुग्यो ∕अङ्ग्रेजी भाषामा कविता अनुवाद गराउनुपर्छ भन्ने मान्यता भएको मानिस म । नेपालमा अहिले राम्राराम्रा कविता अनुवादकहरू छन् । तर, कविताको सही अनुवाद र प्रयोग भएन भने

अङ्ग्रेजी भाषामा ढाल्नेबित्तिकै त्यसले आफूलाई प्रसिद्धै किम्बा शक्तिशाली नै बनाइहाल्छ भन्ने मानसिकताले काम गर्नु उचित होइन । एकपटक अनुवाद भएर खुस्किएपछि, त्यसले प्रभाव पारिसकेपछि त्यसलाई सुधार्ने कुनै उपाय हुँदैन । कवि रवीन्द्रनाथ ठाकुरले समेत वृद्ध अवस्थामा कसरी यो अनुवाद मोहमा फसेर कविता ध्वस्त पारेंछु भनेर एक जना अङ्ग्रेज मित्रलाई लेखेका छन् । राम्रा कविता लेख्नेले अनुवादमा बग्नुअघि सोचेको राम्रो ।

प्रकाशित : आश्विन ३, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?