अङ्ग्रेजीमा कविता अनुवादको मोह- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अङ्ग्रेजीमा कविता अनुवादको मोह

एकपटक अनुवाद भएर खुस्किएपछि, त्यसले प्रभाव पारिसकेपछि त्यसलाई सुधार्ने कुनै उपाय हुँदैन । कवि रवीन्द्रनाथ ठाकुरले समेत वृद्ध अवस्थामा कसरी यो अनुवाद मोहमा फसेर कविता ध्वस्त पारेछु भनेर एक जना अङ्ग्रेज मित्रलाई लेखेका छन् । राम्रा कविता लेख्नेले अनुवादमा बग्नुअघि सोचेको राम्रो ।
अभि सुवेदी

गएको हप्ताको अमुक राति ढिलो केन्द्रीय अङ्ग्रेजी विभागमा पढाउने मेरा एक पूर्व विद्यार्थी महेश पौडेलले फोन गरे । यिनले धेरै नेपाली कविताहरू अङ्ग्रेजीमा अनुवाद गरेका छन् । कुनै सम्पर्कले गर्दा अनि कुनै केही पारिश्रमिक लिएर पनि गर्दा हुन् । सोधेको छैन । उनले भने, ‘यो के भइरहेको हो ? तपाईंले पनि अनुवाद गर्नुभएको छ ।’

मैले भनें, हो कालक्रममा निकै अनुवाद गरिसकेंछु । मलाई आफूले अङ्ग्रेजीमा अनुवाद गरेका सबै कवितामा सन्तोष लाग्दैन । कविताअनुसार पनि हुन्छ होला । एउटा समझदारीले, कुनै अनुरोधले वा कुनै आवश्यकताले अनुवाद गरिदिएका छन् मैले कविताहरू । तिनको प्रयोग गर्दा कविलाई राम्रो भयो र केही मानिसले तिनको परिचय पाए भने मलाई खुसी नै लाग्छ । तर, यो विषय यहाँ लेख्न लागेको होइन ।

मैले बुझेअनुसार महेशको चिन्ता अनुवाद गरिदिएका कविताको कसले कस्तो प्रयोग गर्न थालेका छन् भन्ने विषयमा आधारित थियो । कुनै विदेशी सञ्जालमा कविता पाठ गर्ने लहर चलेको विषय थियो, जसमा उनका निकै अनुवाद थिए । तर कति अनुवादकले किताबै तयार गरेका हुन्छन्, जुन अवस्थामा त्यो विषय कपिराइटसँग जोडिन्छ । अनुवादक भन्छन्, कसैले ती अनुवाद प्रकाशित गर्न वा कुनै प्रयोग गर्न अनुवादकको सहमति लिनु त के एउटा साधारण रूजमा जानकारीसम्म दिंदैनन् ।

तर मेरो यो लेखको विषय नेपाली कविताको अङ्ग्रेजी अनुवाद त हो तर छलफलको पाटो अर्कै छ । नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गर्ने एउटा अनौठो शक्ति र सम्बन्धको चाहनासँग जोडिएको देखिन्छ नेपालमा । कवि आफ्ना नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गराएर स्वभावतः अलिक व्यापक रूजमा फैलिन चाहन्छन् । अङ्ग्रेजीमा अनुवाद गर्नुको चाहना एउटा शक्ति र राजनीतिक मनोग्रन्थि पनि हो । म त्यसलाई अत्यन्त स्वाभाविक मान्छु ।

राणा शासन समाप्त भएको केही वर्षपछि नै महाकवि लक्ष्मीप्रसाद देवकोटा र अरू अङ्ग्रेजी जान्ने युवाहरूले मिलेर कवितामूलक ‘इन्द्रेनी’ साहित्यिक पत्रिका चलाए । यसको एउटा सम्पादकीयमा महाकविले लेखे, ‘यी अनुवादहरू अङ्ग्रेजीमा गरिएका छन् । यसको कारण के हो भने यो अङ्ग्रेजी भाषा भारतमा खासगरी डेकन प्रान्तमा र एसिया र विश्वमा व्यापक रूजमा प्रयोग गरिन्छ ।’ (इन्द्रेनी, वर्ष १, सन् १९५६ः१७४) । बलिया नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गरिए । महाकविका युवा सहयोगी भीमदर्शन रोका पनि थिए तर शैलीको प्रयोग र भाष्यबाट हेर्दा महाकविले नै सबै अनुवाद गरेका थिए । केही अङ्क चलेपछि यो पत्रिका बन्द भयो तर यसले आफ्नो इतिहास बनाएको छ ।

‘इन्द्रेनी’ कविहरूको योजना थियो र यसलाई आधिकारिक बनाउने चाहना रहेको थियो । यो चानचुने कुरा थिएन । नेपाल अङ्ग्रेजको साम्राज्यभित्र नभएको र अङ्गेजी भाषा शिक्षामा बाहेक त्यति प्रयोग नहुने भएकाले साहित्यकारहरूको यसलाई प्रयोग गर्ने चाहनामा केही भाषिक रोमाञ्चकता थियो । यो भाषामा कविता अनुवाद गरेर प्रकाशन गरियो वा कतै विदेशी र अरूभाषी छिमेकीहरूका गोष्ठीहरूमा उठेर पाठ गरियो भने त्यसबाट अमुक शक्ति वीक्षित गर्न सकिन्छ भन्ने मनोग्रन्थि बनिएको थियो जुन अहिले झन् व्यापक भएको छ ।

‘इन्द्रेनी’ पछि यो स्तरको योजना र प्रयोग न व्यक्तिले गर्न सके, न एकेडेमीले नै गर्यो । त्यो अर्कै छलफलको विषय हो । व्यक्तिगत रूजमा अङ्ग्रेजीमा अनुवाद गरेर आफ्ना कविता प्रचारमा ल्याउने कवि लेखकहरू थिएनन् । राम्रो अङ्ग्रेजी जान्ने नेपालीमा लेख्न जान्दैनथे । बालकृष्ण समकोमा म गइरहने युवा भएकाले उनले मलाई बीचबीचमा लेखेका कविता सुनाउँथे । उनका चित्रका व्याख्या गर्थे उनको काम गर्ने सानो स्टुडियोमा । त्यतैबाट पछि म कला समीक्षा लेख्ने भएँ, अनि पछि नाटक पनि लेखें । त्यो कथा अर्कै हो । एक दिन समले उनको नेपाली कविता ‘मृत्युपछिको अभिव्यञ्जना’ को अङ्ग्रेजी अनुवाद ‘एक्स्प्रसेसन् अफ्टर देथ्’ उनकै नाटकीय शैलीमा सुनाए जुन सम्झेर म अहिले पनि समको त्यही भाउ लाएर विद्यार्थीहरूसँग त्यो कविता पढ्छु । यसमा समको अङ्ग्रेजी अनुवाद नाटकीय शैलीमा गरिएको छ ।

अङ्ग्रेजीमा कविता अनुवाद गराउने चाहना भएका कवि थिए माधवप्रसाद घिमिरे ।

एउटा संस्मरण छ । सन् १९८६ को जनरल एर्सादले ढाकामा आयोजना गरेको तथाकथित पहिलो एसियाली काव्य महोत्सबमा कवि र म गएका थियौं । प्रत्येक कविले दुईवटा कविता मात्र सुनाउन पाउँथे । घिमिरेले दुईवटा कविता पढे । मैले तिनका अङ्ग्रेजी अनुवाद गरेको पढें । तर कविको पढ्ने शैलीले प्रभावित भएर आयोजकले ‘अरू पनि सुनाउँदै जानोस्, तपाईंलाई यो नियम लाग्दैन’ भनेपछि कवि घिमिरेले म बसिसकेको मानिसलाई मञ्चबाटै अङ्ग्रेजीमा ‘माई फ्रेन्ड मिस्टर सुवेदी, कम् कम्’ भनेर दुवै हातले बोलाए । म गएर छवटा जति कविताको धाराप्रवाह अनुवाद गरें । सकेसम्म गरें, राम्रै गरें । कविले ‘विश्वमञ्चमा मलाई चिनाउने काम अभिले जति अरू कसैले गरेको छैन’ भनेर जीवनपर्यन्त भने । त्यो नेपाली कविहरूको नेपाली कविताको अङ्ग्रेजी अनुवाद मोहसँग जोडिएको चेतना हो । सायद यो सही चाहना हो किनभने यो एउटा माध्यमको खोजी हो ।

अङ्ग्रेजी कविता अनुवादको अर्को एउटा प्रसङ्ग जोड्न चाहन्छु । राजा महेन्द्रको उनका कविताको अङ्ग्रेजी अनुवाद होस् वा तिनमाथि अङ्ग्रेजी भाषामा केही लेखियोस् भन्ने चाहना थियो । एक जना नित्यानन्द सोसाइटीसँग जोडिएका वाईजी कृष्णमूर्तिले ‘किङ्ग महेन्द्र द पोएट×’् (१९६३ ?) भन्ने किताबै प्रकाशित गरे । तिनको र तिनको सोसाइटीको राजा महेन्द्र र दरबारसँग सम्पर्क थियो भन्ने कुरा त्रिचन्द्र कलेजका संस्कृतका प्राध्यापक गोकुलचन्द्र शास्त्रीले भनेका कुराबाट अड्कल काटेको थिएँ । शास्त्रीले नै मलाई यो किताब सही गरेर लेखेर दिएका थिए अनि अङ्ग्रेजीमा कविता अनुवादको महिमा गरेका थिए । कविता अनुवाद र शक्तिको सम्बन्ध एउटा नौलो तर्क थियो मेरानिम्ति । त्यो बेला म विश्वविद्यालयको विद्यार्थी थिएँ । शास्त्री कट्टर हिन्दु संस्कृतिवादी कुरा गर्थे । यो किताबमा कृष्णमूर्तिले ‘उसैको लागि’ भन्ने राजा महेन्द्रको किताबबाट सातवटा कविताको अनुवाद गरेर बाँकी ग्रन्थमा अद्वैतवादी धारा र काव्य सिद्धान्तका कुरा लेखेका छन् । ‘उसैको लागि’ का कवितालाई उनले ‘काश्मिरी पण्डित’ स्कुलसँग भित्रैदेखि गाँसिएका छन् भनेका छन् जुन कुरा आज मोदी युगमा नेपालको सन्दर्भमा अर्थपूर्ण छ ।

कविले अङ्ग्रेजीमा कविता अनुवाद गराउनु र गरिएको हेर्न चाहनु एउटा स्वाभाविक चाहना हो । राम्ररी अनुवाद भएको छ भने त्यसले कविताको पठन सहज बनाउँछ । तर, यसै हार्हुर अनुवाद भयो भने त्यसले कविता धूलिसात् पनि गरिदिन्छ । कस्तो अनुवाद राम्रो भन्ने विषयमा छलफल गर्न लागेको होइन ।

तर, नेपालमा नेपाली कविताको अङ्ग्रेजी अनुवादलाई आफ्नो भाव, सद्भाव पनि बाहिर व्यक्त गर्ने माध्यमको रूजमा पनि प्रयोग गर्ने चाहना बलियो छ । उदाहरण अनेकौं छन् । एउटा बलियो उदाहरण हो मित्र कञ्चन पुडासैनीले नेपालमा सन् २००० ताका हिलरी क्लिन्टन नेपाल आउने भनेपछि नेपालका कविहरूलाई उनमाथि कविता लेखाएर अनि तिनका अनुवाद अङ्ग्रेजीमा गराएर निकालेका दुईवटा किताब । नेपालीको शीर्षक छ ‘एउटी नारी कवितामा’ (२०५६) ।

मोहन कोइरालादेखि लिएर नाम नसुनेका कविसहित २७ जनाको यो सङ्कलन र यसको अङ्ग्रेजीमा गरिएको अनुवाद एउटा ठूलै प्रभाव सिर्जना गर्ने चाहनाले प्रेरित छ । केही कविता राम्रा छन्, अनुवाद पनि राम्रा छन् जस्तो मोहन कोइरालाको कविता र त्यसको अनुवाद । अरू पनि यस्ता केही उदाहरण छन् । तर, अङ्ग्रेजीमा अनुवाद भएर हिलरी क्लिन्टनले पढ्नेछिन् भनेपछि नानाभाँतिका कविता लेखिएका छन् । यहाँ केही स्थापितै कविहरू कसैले आफैं बिल क्लिन्टन भएर लेखेका छन् भने कतिले ‘हिलरी, अहिले आदम–इभ, सुम्निमा–फारहाङको कथा थोत्रो भएर च्यातिइसक्यो, मुना–मदन र लैला मजनूहरू... दन्त्यकथा भएको यो वर्तमानमा तिम्रो अलिकति मातृत्व चाहन्छु प्रेम जन्माउन, मन–मनका लागि प्रेम अन्भाउन’ भनेर लेखेका छन् जस्को अनुवाद पनि उत्पात छ । यो सङ्कलनका टिप्पणीकारहरू र कतिपय कविहरूले हिलरीलाई आदर्श सहनशीला पत्नी र ‘वैदिक नारी’ सम्म भनेका छन् । उनको सहनशीलता भनेको मोनिका लुविन्स्कीसँग पति बिल क्लिन्टनको यौनिक सम्पर्कको कुरालाई उनले क्षमा गरेको कुरा भनेर मानिएको छ । हिलरीकोमा यो अनूदित किताब पुग्यो ∕अङ्ग्रेजी भाषामा कविता अनुवाद गराउनुपर्छ भन्ने मान्यता भएको मानिस म । नेपालमा अहिले राम्राराम्रा कविता अनुवादकहरू छन् । तर, कविताको सही अनुवाद र प्रयोग भएन भने

अङ्ग्रेजी भाषामा ढाल्नेबित्तिकै त्यसले आफूलाई प्रसिद्धै किम्बा शक्तिशाली नै बनाइहाल्छ भन्ने मानसिकताले काम गर्नु उचित होइन । एकपटक अनुवाद भएर खुस्किएपछि, त्यसले प्रभाव पारिसकेपछि त्यसलाई सुधार्ने कुनै उपाय हुँदैन । कवि रवीन्द्रनाथ ठाकुरले समेत वृद्ध अवस्थामा कसरी यो अनुवाद मोहमा फसेर कविता ध्वस्त पारेंछु भनेर एक जना अङ्ग्रेज मित्रलाई लेखेका छन् । राम्रा कविता लेख्नेले अनुवादमा बग्नुअघि सोचेको राम्रो ।

प्रकाशित : आश्विन ३, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

मुस्कुराउनुस्, तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ !

भूषिता वशिष्ठ

जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दरत्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहरप्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता झल्किन्छ ममता मेरो भावगंगा जताजता

पुरानो नेसनल रेडियोबाट छचल्किएर यो गीत घरभरि बग्न थाल्थ्यो । गुनगुनगुनगुन पहाडी छाँगोजस्तै पूजाकोठाबाट बाबाको चण्डीपाठको लय यही आवाजमा आएर मिसिन्थ्यो, अनि एकैछिनमा प्रेसर कुकरको सिठ्ठी अट्टहास गर्दै हाँस्न थाल्थ्यो । मलाई यी गीत कहिल्यै नसकिऊन्जस्तो लाग्थ्यो । तर, गीत सकिँदा–नसकिँदै एक थान छरिता पदचाप ओछ्यान नजिकै आइपुग्थे ।

‘छिटो उठ्, स्कुल जान ढिलो हुन्छ,’ मामूको दैनिक उर्दी जारी हुन्थ्यो । डरले पो हो कि रेडियो पनि गीत बन्द गरेर समाचार बजाउन थाल्थ्यो । बिहान त्यसैत्यसै नीरस हुन्थ्यो । मामू गम्भीर मुद्रामा तरकारी केलाउँदै समाचार सुन्नुहुन्थ्यो । समाचार सुनेर मलाई उदेक लाग्थ्यो– मौसुफ, यासिर अराफात, पूर्वी टिमोर, चेचनिया, बोस्निया हर्ज गोभिना — एउटा वाक्य बुझे मरिजाऊँ ∕ तर, कता–कता मलाई चेचनिया भन्ने शब्द भने मन पर्थ्यो, यो चेचनिया भनेको खसीको भुटेको मासु हो कि जस्तो लाग्थ्यो, सुन्नेबित्तिकै मुख रसिलो भएर आउँथ्यो ।

हुन त म गीत पनि कहाँ बुझ्थें र ∕ तर, मलाई लाग्थ्यो– कतै टाढा ‘राष्ट्र’ भन्ने बिछट्टै मनोरम ठाउँ छ, जहाँ मनोहर फूलको बाग होला, घाम लुकामारी खेल्ने शीतल कुञ्ज होलान्, ठूला–ठूला बडहर, आँप, कटहरका गाछी होलान्, जसको लठ्याउने सुवासमा नीला प्वाँख भएका चरा बयली खेल्दा हुन् । बुद्धको आँखा भने मलाई कल्पना गर्न गाह्रो पर्थ्यो । सबैभन्दा सुन्दर आँखा सम्झिँदै जाँदा मेरो मन मामाघरमा टालेको माधुरी दीक्षितको चिल्लो पोस्टरमा गएर अड्किन्थ्यो । माधुरी दीक्षितको आँखामुन्तिर हप्तैपिच्छे, म ‘राष्ट्र’ को साजसज्जा फेरिरहन्थें । गर्मीमा त्यहाँ फिलुंगेको सुनौलो सरिता बग्थ्यो, जाडामा त्यही ठाउँ सुन्तलाका मसिना सेता फूल लाग्थे । यसरी, मेरो ‘राष्ट्र’ मा मनलाग्दी थियो ।

अनि अचानक मेरो ‘राष्ट्र’ सँग जम्काभेट भयो । सात वर्षजस्तो अगाडिको कुरो हो, कुनै एक राष्ट्रिय मुद्दाको विषयमा फेसबुकमा स्टेटस लेख्दा मैले अपरिचित मानिसहरूको अनावश्यक खप्की खानुपर्‍यो । वास्तवमा त्यो मेरो विवेक र आत्माले सही ठहर गरेर लेखिएको थियो । त्यसपछि मैले बुझें– ‘राष्ट्रवाद’ निकै संवेदनशील हुँदोरहेछ ।

‘राष्ट्र भनेको मजाकजस्तो लाग्छ तपाईंलाई फेरबदल गरिराख्न ?’, एक जनाले लेखे । त्यो दिन मैले थाहा पाएँ, राष्ट्र भनेको चानचुने कुरो होइन रहेछ । मान्छेको ज्यानभन्दा ठूलो मोल राष्ट्रको हुँदो रहेछ । यो स्वर्ग मेरो मनलाग्दी स्वर्ग होइन रहेछ, यो स्वर्गमा बस्न निश्चित नापनक्सा तोकिएको हुँदो रहेछ । त्यो नापभित्र कोही नअटाएमा खुट्टा काटेर वा टाउको निहुर्‍याएर पनि कोचिनुपर्दो रहेछ । राम्रो छ भन्दैमा बुद्धको आँखाको सट्टामा माधुरी दीक्षितको आँखा राख्न नमिल्ने रहेछ ।

तर, आखिर राष्ट्रलाई बुद्ध वा अन्य देवताकै सर्वज्ञ आँखा नै किन चाहिने ? यो बुझ्नलाई हामी एकैछिन अतीतको त्यो सुदूर गल्लीमा जाँदै छौं, जहाँ मानव इतिहासकै सबैभन्दा डरलाग्दो मनोवैज्ञानिक प्रयोग गरिँदै छ ।

उषाको लालिमासँगै वन नजिकैको फाँटमा सुनौला बाला झुल्न थालेका छन् । हिजोको सिकारी फिरन्ते मान्छेले खेती गर्न सिकेको छ । खेती गर्न सजिलो छैन, दिनौं लगाएर बाली हुर्कायो, अर्कैले चोरेर लग्दिन्छन् । हुन त हिजोसम्म सिकार गरी, लुछ्तै, चोर्दै, निमोठ्तै हिँडिरहेका मानिसलाई निजी खेतको कुरो बुझाउन पनि सजिलो थिएन । बाली कसरी जोगाउने ? चोर्नेलाई के दण्ड दिने, कसले दण्ड दिने ? यिनै कुरा सल्ट्याउन आज यहाँ पहिलो नेता चुनिँदै छ । त्यो नेताले भूपतिको बाली र सम्पत्तिको रक्षा गर्ने र अपराधीलाई दण्ड दिने काम गर्ने भयो । दण्ड त दिने तर हिजो वन सार्वजनिक सम्पत्ति भएजस्तै भूमि पनि सबैको साझा होइन र ? केको आधारमा खेत निजी हुन्छ ? यत्रा जनावर छन्, मानिसभन्दा बलिया र उद्यमी जनावर छन्, कसैले आफ्नो निजी वन तोकेको छैन, मान्छेको किन निजी सम्पत्ति हुने ? एक–दुई जना बलियाबांगाले पौँठेजोरी गरेर यो जग्गा मेरो हो भन्दैमा हुन्छ ?

निजी सम्पत्तिको औचित्य आज पनि नैतिक आधारमा स्थापित गर्न गाह्रो छ, त्यसैले केही चलाख मान्छेहरूले एउटा काल्पनिक सत्ताको पत्ता फ्याँके– दैवी सत्ता । त्यो कहानीका अनुसार, सो अदृश्य सत्ताले नै हरएक मानिसको क्रियाकलापको लेखाजोखा राखिरहेको छ र कसलाई दण्डित गर्ने, कतिसम्म दण्ड दिने भन्ने कुराको तय गर्छ । तर, रमाइलो कुरो के थियो भने ती देवताहरू सबैसँग बात मार्दैनथे । हुनेखानेसँग मात्र तिनको हिमचिम हुन्थ्यो । यसरी मनोवैज्ञानिक रूपमा मान्छेको विवेकभन्दा माथि काल्पनिक सत्ता खडा गरेर मान्छेको विवेकलाई पंगु बनाइयो । बिस्तारै सार्वजनिक विषय मात्र नभएर राज्यले व्यक्तिको आचरण र चरित्रको पनि मानक बनायो, यौनदेखि लिएर भोजनसम्म मान्छेका सबै नैसर्गिक वृत्ति ‘पाप’ मा परिणत भए । र, यो कुनै आकस्मिक दुर्घटना थिएन । जसै मान्छेलाई गहिरो आत्मग्लानिले भर्न सकियो, तसै जनता आफ्ना पाप मेटाउन दक्षिणा तिरेर राज्यको ढुकुटी भर्थे । आत्मग्लानिले भरिएको मान्छे निरीह हुन्छ, उसलाई शासन गर्न सजिलो हुन्छ । यस्तै निरीह र ग्लानिले भरिएको मान्छेहरूको झुन्ड काबिलाबाट, बस्ती हुँदै राज्य बन्यो, शासकहरूले आफ्नो वैधानिकता यही दैवी म्यान्डेटबाट स्थापित गरे ।

अब वैधानिकता भनेको बडो रमाइलो कुरा छ । मान्छे यथार्थमा जिउँदैन, मान्छे कथामा जिउँछ । एउटा कविले चन्द्रमामा सौन्दर्य देख्छ, वैज्ञानिकले त्यहाँ भएका खाल्डाखुल्डी देख्छ, धर्मभीरु हिन्दुले रक्सीमा पाप देख्छ, इसाईले त्यहाँ जिससको होली वाइन देख्छ । को के कथामा विश्वास गर्छ, उसले त्यसैअनुरूफ दुनियाँ देख्छ । यो कुरा शासकहरूलाई धेरै अगाडिदेखि थाहा थियो । त्यसैले, त्रूरतम राजाले पनि आफ्नो त्रूरताको औचित्य स्थापना गर्न करुण कथा बनाउँथ्यो । कुनै एक व्यक्ति वा कुलले बृहत्तर समुदायमाथि शासन गर्नु स्वाभाविक होइन । बलकै हिसाबले पनि जस्तै मुढेबल लगाए तापनि एउटा व्यक्तिले सय जनालाई आफ्नो अधीनमा राख्न सक्तैन । तैपनि करोडौं जनता, एउटा निम्छरो नेताको अधीनमा कसरी चल्छन् ? हरेक राज्य व्यवस्थाले आफ्नो शासनको औचित्य स्थापना गर्न एउटा कथ्य रच्छ– यो कथा सुरक्षाको होस् या स्वतन्त्रताको होस् या त समृद्धिको– यी कथाहरू मान्छेको सापेक्षिक आवश्यकताका आधारमा रचिन्छन् ।

समय बित्दै जाँदा, मान्छेको भौतिक परिस्थिति बदलिँदै जान्थ्यो, अनि बिस्तारै यी कथाहरूमा भ्वाङ पर्न थाल्थ्यो । रुढीले ग्रस्त एउटा प्राचीन समुदायमा दैवी अनुकम्पामा आधारित राजतन्त्र मान्य हुन्छ, तर जसै मान्छेले प्रकृतिको नियम थाहा पाउँदै जान्छन्, देवताको हाउगुजी समाप्त हुन्छ । अनि मान्छे क्रान्ति गरेर फेरि कथा फेर्छ, मान्छे अझै पनि दास हुन तयार छ तर अदृश्य देवताको होइन । अब शासनको वैधानिकता देवताबाट प्राप्त हुँदैन । त्यसो भए कसले वैधानिकता दिन्छ त ?

सन् १७८८ मा बहादुर शाहका सिपाहीले तिब्बतमा युद्ध गरिरहँदा, विश्वमा एउटा अनौठो घटना घट्यो । बीस वर्षअघिको पृथ्वीनारायण शाहको काठमाडौं विजयले, नेपालमा शाह राजतन्त्रको बीउ गाडेको थियो, बहादुर शाह राज्य विस्तारको महत्त्वाकांक्षामा तिब्बतसम्म पुगेका थिए । गोरखनाथको कथित आशीर्वादले राजतन्त्रलाई अतिरिक्त आत्मविश्वास दिएको थियो । राजतन्त्र र देवताप्रति नेपालीको आस्था बढ्दो थियो । तर, त्यहीबेला विश्वको अर्को कुनामा दैवी शक्ति र राजतन्त्रको दोहोलो काढिँदै थियो । सन् १८८२ मा जर्मन दार्शनिक नित्सेले ‘गड इज डेड’ भन्नुभन्दा सय वर्षजति अघि अर्कै राजनीतिक दस्तावेजले देवताको मृत्युको घोषणा गरेको थियो । तर, रमाइलो कुरो के थियो भने त्यो दस्तावेजमा कतै पनि देवताको उच्चारणै गरिएको थिएन ।

‘सबै मानिस जन्मका हिसाबले समान छन्, यो स्वतः सिद्ध सत्य हो ।’

अमेरिकी स्वाधीनता घोषणापत्रको दोस्रो अनुच्छेदको यो वाक्यांश हेर्दा सामान्य लागे पनि यसको दूरगामी महत्त्व छ । बहादुर शाहले तिब्बतमा आक्रमण गर्दाताका लेखिएको अमेरिकी संविधान विश्वको पहिलो धर्मनिरपेक्ष संविधान बन्यो, जहाँ मान्छेको गरिमा वा उसको स्वाधीनता र समानताको हक कुनै दैवी अनुकम्पाका आधारमा होइन, अपितु सामान्य विवेकका आधारमा स्थापित गरियो । राजा वा रैती हुँदैमा मानिस सानो वा ठूलो हुँदैन, सबै मानिस कानुनका आँखामा समान छन् र यो स्वतः सिद्ध छ, यसलाई सिद्ध गर्न अतिरिक्त तर्क जरुरी नै छैन । देवता मन्छाउनु पर्दैन ।

तर, त्यतिसम्म पनि ठीकै थियो किनभने अमेरिकी राज्यलाई सदियौंदेखिको सभ्यता भएको युरोपले एउटा टुमौटे र सभ्यताहीन व्यापारीको काबिलाभन्दा बढी ठानेको थिएन । तर, जब अमेरिकी क्रान्तिको झिल्कोले फ्रान्सको शताब्दियौँ पुरानो राजतन्त्रको गद्दी डढाएर राख बनायो, सारा युरोप देवताको सम्मोहनबाट एकैछिनलाई भए पनि ब्युँझिएको थियो । फ्रान्सबाट राजतन्त्र हटेन मात्र, हिजोसम्म दैवी सत्ताको उत्तराधिकारी मानिएका राजाको निर्मम हत्या पनि गरियो । यो आक्रोश धर्मको नाममा मानिसमाथि लादिएको कृत्रिम विभेद र त्यसको आधारमा रचिएको प्राचीन षड्यन्त्रविरुद्धको आक्रोश थियो । यो आक्रोश मान्छेको गरिमाको खोज थियो, सम्मान र समानताको माग थियो ।

तर, युरोप र अमेरिकाको इतिहास हामीले किन पढ्ने ?

मैले अघि पनि वैधानिकताको कुरा गरेकी थिएँ । विश्वका सबै राजनीतिक क्रान्ति तत्कालीन शासनप्रणालीको वैधानिकतामाथिको प्रश्न हो । राजनीतिक दर्शनका हिसाबले विसं २०६२ को क्रान्ति माओवादबाट प्रभावित भए तापनि वास्तवमा यसको स्वरूप चिनियाँ क्रान्तिभन्दा फ्रान्सेली क्रान्तिसँग नजिक छ । यसले राजतन्त्र र धार्मिक मतको आधारमा गरिने शासनप्रणालीको वैधानिकतामाथि प्रश्न उठाएको थियो । त्यो मानेमा बैसठ्ठी सालको क्रान्ति समाजवादी क्रान्ति कम, पुँजीवादी क्रान्ति ज्यादा हो । फ्रान्सेली क्रान्तिले जस्तै यसले धर्मनिरपेक्षता, गणतन्त्र र लोकमतलाई शासनको वैधानिक पृष्ठभूमि बनायो । तर, त्यसपछि फ्रान्समा के भयो त ?

एक हिसाबले दैवी सत्ताको अन्त्यसँगै विश्वमा एउटा जटिल नैतिक प्रश्न उठ्यो । यदि सर्वज्ञ देवता नभए मान्छे केको भयले अपराध गर्नबाट डराउँछ ? अल्बेर कामूले यही नैतिक प्रश्नलाई मानव समाजको सबैभन्दा ठूलो प्रश्न मानेका थिए । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने, पाप र अपराधको धारणामा एउटा ठूलो तात्त्विक भिन्नता छ– पाप स्वःविदित घटना हो । पाप गरेको कसैले नदेखे पनि पापी आत्मग्लानिले भरिन्छ । तर, अपराध साक्षीबाट प्रमाणित भएमा मात्र अपराध हुन्छ । त्यसैले प्राचीन पापको धारणा राज्यसञ्चालनको हिसाबले ज्यादा प्रभावकारी थियो । दैवी सत्ताको अन्त्यपछि मान्छे आफैं देवताको पदमा बस्यो । तर, नैतिक आचरणका हिसाबमा मान्छे अझै पनि आदिम थियो । ऊ अझै पनि परार्थभन्दा स्वार्थमा केन्द्रित थियो, केन्द्रित छ । त्यसैले हिजोआज मान्छे अपराध गर्न डराउँदैन, बस्, आफ्नो अपराधको प्रमाण देखिएला कि भनेर डराउँछ ।

यही जटिलताका कारण, राज्यले सर्वज्ञ चक्षुको विलयपछि त्योभन्दा डरलाग्दो यन्त्रको आविष्कार गर्‍यो ।

फ्रान्सेली क्रान्तिको दुई वर्षअघि बेलायती नागरिक जेरेमि बेन्थम र उनका भाइ स्याम्युअल बेन्थम रुसको भ्रमणमा गएका थिए । अमेरिकी संविधानले विश्व राजनीतिलाई अनौठो मोडमा ल्याइदिएको थियो । मान्छेका नैतिक मान्यताका आधारशिला गर्ल्यामगुर्लुम ढलेका थिए । त्यही दौरान यी दुई दाजुभाइले अजीव जेलको कल्पना गरे, जसको नाम थियो ‘पनाप्टिकोन’ । यस्तो जेलमा सबै कैदीहरू कुनै अदृश्य व्यक्तिको निगरानीमा हुन्थे, तर सो चौकीदारलाई झने कुनै कैदीले देख्न सत्तैन थिए । बेन्थमको तर्क थियो– चौबिसै घण्टा निगरानीमा राखेमा मान्छे स्वतः डरले अनुशासित बन्छ ।

बेन्थमको यो अवधारणा उनको जीवनकालमा आलोचित नै रह्यो । तर, सन् १९२७ मा रसियामै यो अवधारणाले मूर्तरूप लियो– सीसीटीभीका रूपमा । र, स्टालिनकै आदेशमा यो क्यामेरा पहिलोफटक त्रेमलिनको चौकीमा निगरानीका निम्ति राखियो । स्टालिनको सर्वसत्तावादी राज्यले कुन हदसम्म गएर नागरिकको गोपनीयताको हनन गर्‍यो त्यो त हामी सबैलाई थाहै छ, तर कसरी स्टालिनको सीसीटीभी बिस्तारै तथाकथित लोकतान्त्रिक देशहरूको अभिन्न अंग बन्न पुग्यो र कसरी देवताको चंगुलबाट निस्किएर मान्छे फेरि क्यामेराको चक्रव्यूहमा फस्यो, त्यसमा कमै छलफल भएको छ ।

अमेरिकी स्वाधीनताको लगभग दुई सय वर्षपछि नेपालमा पनि राजतन्त्र हट्यो र देशको पहिलो धर्म निरपेक्ष संविधान लेखियो । र, योसँगै देशमा अनुगमन र निगरानीका यन्त्रको आयात पनि बढेको छ । ‘हिमाल’ खबरपत्रिकामा प्रकाशित एक रिपोर्टका अनुसार, आर्थिक वर्ष २०७३/७४ मा करिब ५२ करोड बराबरको सीसीटीभी र डिजिटल क्यामेरा आयात गरिएका थिए भने, लगत्तै दोस्रो वर्ष करिब ९८ करोड बराबरका सोही उपकरण आयात गरिएका थिए । सरकारको बढ्दो निगरानी र अनुगमनका नियम र काइदा पनि सर्वविदितै छन् ।

तर, बीसौं शताब्दीका चिन्तकहरूले राज्य र प्रविधिको एकाधिकारले जन्माउने दमनकारी समाजको पहिल्यै कल्पना गरिसकेका थिए । जर्ज अरवेलको ‘१९८४’ पुस्तकमा यस्तै सर्वसत्तावादी समाजको चित्रण छ, जहाँ हरेक नागरिक चौबीसै घण्टा टीभीमार्फत सरकारको निगरानीमा हुन्छन् । यतिसम्म मात्रै होइन, नागरिकका विचार र भावना पनि हरपल निगरानीमा हुन्छन् । कल्पना गर्नुस्, यदि कुनै पनि बेला अरू कसैले तपाईंको विचार पढ्न सक्ने भए मान्छे तपार्इं कस्तो भयावह बन्दीगृहमा जाकिनुहुनेछ ∕ त्यस्तो समाजमा कुनै अतिरिक्त बन्दीगृह बनाउनु पर्दैन, हरेक मान्छेको शरीर नै उसको झ्यालखाना हुन्छ, मान्छेको अस्तित्व नै उसको नर्क हुन्छ ।

अरवेलको भविष्यवाणी केही हदसम्म सत्य साबित भयो, तर हाम्रो वर्तमान उनले कल्पना गरेको भविष्यभन्दा कहालीलाग्दो भएर आएको छ । आज हामीलाई राज्यले बाध्यकारी रूपमा आफ्ना सबै विचार वा भावना प्रकाशित गर्ने उर्दी दिएको छैन । तर, सामाजिक सञ्जालमार्फत हामी आफैं आफ्ना निजी जीवन, विचार र भावनालाई प्रकाशित गर्न उद्यत छौं । थाहै नपाई हामी आफ्नो निजत्वलाई बजारको कमोडिटी बनाइरहेका छौं । तर, यसमा त्यस्तो आत्तिहाल्नुपर्ने पनि के छ र ?

केही महिनाअगाडिको कुरो हो । एक सनकी रुसी कलाकारले पेरिसको मेयर पदका प्रत्याशी बेन्जामिन ग्रिवोको हस्तमैथुन गरिरहेको भिडियो सार्वजनिक गरे । सो भिडियोले फ्रान्समा ठूलो वैचारिक लहर ल्याइदियो । गिव्रोले लज्जित भएर चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिए । सोही विषयमा ‘न्युयोर्क टाइम्स’ मा पामेला ड्रकरम्यानले लेखेकी थिइन्, ‘के हामी फ्र्रेन्चहरूले पनि अमेरिकीजस्तै व्यक्तिगत पापलाई सार्वजनिक रूपमा दण्डित गर्न थालेका हौं ?’

सयौं वर्षपछि पाप र अपराधको द्विविधा फेरि टड्कारो भएको छ । पाप आफैंमा एक मनोवैज्ञानिक षड्यन्त्र भए तापनि, धर्म धेरै हदसम्म उदार थियो । हाम्रा देवतामा मान्छेका नैसर्गिक वृत्तिसँग अनौठो सामञ्जस्य थियो । गणेश खन्चुवा थिए, शिवजी योगी हुनाका साथै यौनका मामलामा उदार र अराजक थिए, कृष्ण रुमानी थिए, राधाको परपुरुषसँग प्रेम थियो, लक्ष्मीमा ईर्ष्या थियो, काली स्वच्छन्द, निर्वस्त्र र निर्भीक थिइन्, दुर्वासा रिसाहा थिए, द्रौपदीका पाँचवटा पति थिए । हाम्रा देवता उदार थिए । यदि ग्रिवोको त्यो भिडियो शिवजीकहाँ पुगेको भए, ग्रिवोले त्यसरी लज्जित हुनुपर्ने थिएन होला । यौन मान्छेको प्राकृतिक वृत्ति हो । तर, फ्रेन्च वैज्ञानिक लाकँले भनेजस्तै सबैको यौनिकता निजी हुन्छ र त्यसमा समाजका लिखित नियमसँग बगावत गर्ने कामना हुन्छ । किनभने प्रेममा मान्छे समाजको तथाकथित सभ्यताले नस्विकार्ने, सबैभन्दा घीनलाग्दो भनिएको मानवीय पक्षको पनि उपासना गर्छ । र, यो स्वीकार्यता नै मान्छेको एकाकीपन र सभ्यताको दमनकारी अनुशासनले नीरस बनाएको मनको सबैभन्दा ठूलो औषधि पनि हो । यसमा लज्जित हुनुपर्ने कुनै कारणै छैन ।

तर, सामाजिक सञ्जालको यो युगमा हाम्रो प्रेम पनि प्रदर्शनीको खेला भएको छ । उदाहरणका लागि, केही महिनाअघिको महरा प्रकरणलाई लिऊँ । महरालाई गाली गर्नुमा कुनै महानता छैन, ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ । तर, महरा प्रकरणले हाम्रो रुग्ण समाजको चित्तदशा छर्लंग पार्छ । कुनै पनि अन्तर्राष्ट्रिय कानुनमा अपराध सिद्ध नहुन्जेलसम्म कसैलाई अपहेलना गर्न पाइँदैन । तर, फगत अपुष्ट समाचारका आधारमा नै सामाजिक सञ्जालमा महराको व्यापक आलोचना सुरु भयो । कालान्तरमा गएर महरा ‘निर्दोष’ साबित भए । अब महरा निर्दोष हुन् या होइनन्, दैव जानून् ∕ तर, कुन हदसम्म प्रविधिले मान्छेको निजी जीवनलाई निमोठेको छ र कसरी सामाजिक सञ्जालले मानिसलाई असहिष्णु र अमानवीय बनाएको छ, त्यो असाध्यै डरलाग्दो छ ।

केही वर्षयता टेलिभिजनहरूमा ‘रियालिटी शो’ को ह्वात्तै बिगबिगी बढेको छ । यी शोहरूपछाडिको धारणा सीसीटीभीकै दर्शनमा आधारित छ । अझ ‘बिग बोस’ जस्ता शोहरू त हाकाहाकी सीसीटीभीकै निगरानी शैलीमा बनाइएको हुन्छ । यस्ता कार्यक्रम हेर्न अभ्यस्त भएका दर्शकलाई वास्तविक जीवन र मनोरञ्जनका निम्ति बनाइएका ‘रियालिटी शो’ हरूको कृत्रिम रियालिटीबीचको फरक खुट्याउन गाह्रो हुँदै जान्छ । हामीलाई लाग्छ, टेलिभिजनमा प्रसारण गरिएका फुटेजहरू नै यथार्थ हुन् । र, ती यावत् फुटेज केवल हाम्रा मनोरञ्जनका लागि बनेका हुन् । भारतमा अहिले जुन भयावह अमानवीयताका साथ रिया चक्रवर्तीको मुद्दालाई हेरिँदै छ, यो यही रोगको उपज हो । हामी मनोरञ्जनका भोका ब्वाँसाजस्ता भएका छौं । व्यक्तिको निजी जीवन, उसको प्रेम, उसको यौनिकता, उसका कमजोरी, उसका व्यथा हाम्रा लागि बस् मनोरञ्जनका खुराक भएका छन् । हामी मनोरञ्जनका नाममा सिंगै मान्छेको जीवनलाई टुक्रा–टुक्रा पारेर

लुछ्न पनि पछि पर्दैनौँ । मान्छे कसरी यस्तो सर्वभक्षी राक्षस बन्यो ?

बाइबलमा एउटा कथा छ । कुनै गाउँमा व्यभिचारको आरोपमा एउटी महिलालाई ढुंगाले हानेर मारिँदै रहेछ । जिजस आफ्ना शिष्यसहित त्यही बाटो जाँदै थिए । भीडले जिजसलाई पनि त्यो पापी महिलालाई ढुंगा हान्न उक्सायो । उनले मानेनन् । उनले भने, ‘तिनले मात्र ढुंगा हानून्, जसले कर्ममा मात्र होइन, विचारमा पनि कुनै पाप गरेको छैन ।’ भनिन्छ, त्यसपछि कसैले ढुंगा उठाउने साहस गरेन । अरू त अरू, जिजसले पनि गरेनन् ।

वैचारिक तलमा हामी सबैले अनेक बार त्यस्ता कृत्य गरेका छौं, जसलाई समाजले पचाउँदैन तर यो मान्छे हुनुको स्वाभाविक स्थिति हो ।

केही दिनअगाडि म मेरो कार्यालयमा बसेर लेख्दै थिएँ । अचानक मेरो आँखा ढोकामाथिको स्यानो सीसीटीभीमा पर्‍यो । लेख्दा वा पढ्दा आफैंसँग बोल्ने मेरो बानी छ । त्यो सीसीटीभी देखेपछि, म खुलेर लेख्नै सकिनँ । पछि कुरा गर्दा त्यो क्यामेरा सुरक्षाका लागि राखिएको बताइयो । तर, मेरो एकान्तमा मलाई केबाट सुरक्षा चाहियो ? –मेरो निजत्वबाट ?

समाज मान्छेको निजत्वसँग डराउँछ । यसले सबै जनालाई सालाखाला हेर्न खोज्छ । धर्म, भाषा, लिंग, यौनिकता इत्यादिका आधारमा वर्गीकरण गरेर समाजले औसत मान्छेको खाका कोर्छ । त्यो औसतको मापदण्डभन्दा अलिकति पनि माथि–तल भएमा समाज सशंकित हुन्छ । हाम्रो नैतिकता, यौनिकता, हाम्रा धर्म, हाम्रो सौन्दर्यचेत औसत हुन्जेल मात्र समाजलाई मान्य छ । यस्ता औसत मान्छेलाई समाज सहर्ष स्विकार्छ । त्यसो त कोही पनि मानिस औसत हुँदैन । हरेक व्यक्ति आफ्नौ निजत्व लिएर जन्मिएको हुन्छ, तर समाजबाट स्विकारिने लोभमा मान्छे औसत हुँदै जान्छ ।

हाम्रा भनिएका उदारवादीहरू पनि साँच्चै मान्छेको आँत छाम्नबाट डराउँछन् । मान्छेको कमजोरीसँग डराउँछन् । महिलावाद, समाजवाद, फलानावाद, ढिस्कानावाद– यी सबै वाद असाध्यै असहिष्णु र अमानवीय छन् । एउटा मान्छेको मानवजन्य कमजोरीलाई लिएर हामी त्यसको खेदो खन्नबाहेक करुणा, सहानुभूति जान्दैनौं भने यी सारा वादको के काम ? यदि हामीले मान्छेलाई, अझ उसको कमजोर क्षणमा, उसलाई माया गर्न सकेनौं भने हाम्रो उदारताको के काम ? निरपेक्ष मानवताको नाममा मान्छे धर्ममा भन्दा बढी असहिष्णु भएको छ । हाम्रा अखबार, टीभी, रेडियो, सामाजिक सञ्जाल बिषवमन गर्ने ठाउँ भएका छन् । यही हो उदारता ?

हाम्रा यस्तै कथित सामाजिक उदारतामाथि व्यंग्य गर्दै अमेरिकी नाटककार एडवार्ड एल्बीले ‘हु इज सिल्भी’ भन्ने नाटक लेखेका छन्, जहाँ प्रमुख पात्र मान्छेको अस्वाभाविकतादेखि दिक्क भएर एउटी बाख्रीको प्रेममा परेको छ । बाख्रीमा छलकपट छैन, कृत्रिम शृंगारको चाहना छैन, वस्तुवादी लोभ छैन । आखिर एउटी बाख्रीको प्रेममा पर्नु कसरी अस्वाभाविक हुन्छ ?

यो प्रश्नको उत्तर जटिल छ । प्रेम के हो, यौन के हो, क्रान्ति के हो, जीवन के हो, सौन्दर्य के हो, यी जटिल प्रश्न छन् । र, यी प्रश्नको उत्तर कुनै दार्शनिकले तफाईंका लागि दिन सत्तैन । यी प्रश्नको उत्तर हरेक व्यक्तिले आफ्ना लागि आफैँ खोज्नुपर्छ । यी आत्मनिष्ठ प्रश्न हुन्, यसको उत्तर तफाईंलाई राज्यले वा सामाजिक सञ्जालले दिन सत्तैन र त्यो उत्तर दिने अधिकार तपार्इंले अरूलाई दिनु पनि हुँदैन ।

पहिलेपहिले धर्मको कर्मकाण्ड थियो, अहिले पुँजीवादको कर्मकाण्ड छ । एउटा औसत सामाजिक प्राणी बन्न हामीले रेस्टुरेन्टमा खाना खानुपर्छ, पार्टीमा जानुपर्छ, सके विदेश घुम्न गएर सामाजिक सञ्जालमा फोटो राख्नुपर्छ, अनि यो जीवनशैली बरकरार राख्न गधाजस्तो पेलिएर काम गर्नुपर्छ । यी कुनै पनि काम आफैंमा गलत होइनन् । तर, यो कर्मकाण्डको चक्करमा मान्छेले आफ्नो एकान्त र फुर्सद गुमाउँदै गएको छ । साँच्चै भन्ने हो भने त, मान्छे एकान्तबाट डराउन थालेको छ । । म मेरो बार्दलीबाट एक्लै टिकटक भिडियो बनाइरहेकी एक किशोरीलाई देख्छु । ऊ क्यामेरा अन गर्छे अनि हाँस्दै, छिल्लिँदै कम्मर मर्काउन थाल्छे । गीत सकिएपछि, नीरस, भावहीन भएर अपलोड गर्न थाल्छे । मलाई अचम्म लाग्छ । मान्छे के अब आफ्नै सत्यमा, आफ्नै यथार्थमा, कसैले नदेखे बाँच्न सत्तैन ? के एकान्तवासको रस, निजत्वको सौन्दर्य, एक्लै उभिनुको रोमाञ्चक मात हामीले बिर्सिएका हौँ ?

अब हामी एकपटक फेरि इतिहासको त्यही दिनमा जाऊँ जब राज्यको उदय भएको थियो । राज्य मान्छेको निजत्वको रक्षार्थ बनेको थियो । अब प्रविधिको विकाससँगै हाम्रो निजी र सार्वजनिकको परिभाषा पनि बदलिँदै छ । सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा हालिएका डाटाहरू राज्य, कर्पोरेट हाउस र यान्त्रिक सर्वभक्षी दर्शक निम्ति मान्छेको निजी जीवनमा चियाउने मनोरञ्जनका विकृत स्रोत भएका छन् । हरेक दिन कैयौं मात्रामा संकलन गरिएका डाटा कहाँ जान्छन् ? हाम्रा नेता भ्रष्ट छन्, हाम्रा न्याय प्रणाली कमजोर र बिकाउ छन्, हाम्रो नागरिक समाज भीड मानसिकताबाट ग्रसित छन् । हामीलाई पहरेदारी गर्ने मान्छे आफैं रुग्ण र असहिष्णु छन् । के देवताको सवर्ज्ञ चक्षुको चंगुलबाट फुत्किएर कैयौं क्रान्तिपश्चात् सीसीटीभीको निगरानीमा मनुष्यत्व सुरक्षित छ ?

मसँग उत्तर छैन । तर, इतिहासले भन्छ, बेन्थमको पनाप्टिकोनको नमुनामा सन् १८१६ मा बनाइएको मिलब्यांक जेलमा मानिसहरू अनुशासित त भए तर कालान्तरमा प्रायः सबै बन्दीहरू क्रमशः पागल बन्दै गए ।

प्रकाशित : आश्विन ३, २०७७ ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×