कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीको मौसममा माया

महामारीको बेला छ । प्रत्येकलाई तनाव छ । प्रत्येकलाई पहिलेभन्दा बढ्ता माया र हेरचाहको खाँचो छ । तर, मायाका लागि फ्लोरेन्टिनो जसरी भौंतारिनलाई भने यो बेला अलि ठीक पर्ने छैन । बरू ‘लभ इन् द टाइम अफ् कलेरा’ जस्ता महाख्यान खोजेर पढ्नचाहिँ सकिएला ।
बसन्त बस्नेत

नारायण ढकालहरूको मुखमा सधैं मार्खेज, बोर्खेज । तिनै ढकाल हिजोआज महाभारतको मूलपाठ पढ्न कस्सिएका छन् रे ! ‘चतुर्दिक क्षमता’ का प्रधानमन्त्रीबाट अयोध्या उत्खननको छेकमा यी पूर्वनेताको पौराणिक ग्रन्थ विचरण संयोग मात्रै होला । या नहोला पनि । के भर ?

महामारीको मौसममा माया

न्युरोडमा ‘पीपलबोट प्रज्ञा प्रतिष्ठान’ को खुला आकाशमुनि तिनै नारायण दाइबाट कोलम्बियाली आख्यानकार गाब्रियल गार्सिया मार्खेजको नाम पटक–पटक सुन्नुपरेको थियो । ‘मार्खेजको वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड । ओहो । आहा । हैट ।’ स्पेनिसबाट अंग्रेजी अनूदित यो मोटो पोथा पढ्न असमर्थहरू हीनताबोधले कुण्ठित हुँदै लाखापाखा लाग्थे । केही दिनसम्म पीपलबोट आउँथेनन् ।

नारायण दाइको सिर्जनात्मक लहैलहैमा लागेर यो पंक्तिकारले पनि मार्खेजका छ–सातवटा उपन्यास, कथा, आत्मकथा ‘लिभिङ टु टेल द टेल’ किन्यो । त्यसबेला बढी मन परेको उपन्यासचाहिँ ‘लभ इन् द टाइम अफ् कलेरा ।’ नामै कति दामी ! हैजा बेलामा पिरती ।

झन्डै ११ वर्षपछि ३४८ पृष्ठको यो उपन्यास दोहोर्‍याउने मनसुबा पलायो । कोरोना जीवाणुका कारण उत्पन्न महाव्याधिको बेलामा यो किताब अझै प्रासंगिक हुन सक्थ्यो । गतिलो साहित्यको शक्ति भनौं वा आफ्नो ज्ञानको सीमा, त्यस बेला नखुलेका थुप्रै अर्थहरू अहिले आएर खुलेको जस्तो । त्यो वाक्य गठन । अनुभूतिको त्यो तीव्रता । अनि अपरिमित हास्यचेत । तब त मार्खेज । हिजोआज पीपलबोट जानु, संक्रमणको जोखिम निम्त्याउनु । नत्र त्यो रूखमुनि नारायण दाइको सट्टा मै पो मार्खेजको सप्ताह पुराण लगाइरहेको हुन्थेँ कि ?

फास्ट ट्र्याकमा माया बस्ने, त्यति नै हतारोमा छुट्टिने जमाना छ । यस्तोमा एउटा प्रेम सालाखाला कति हप्ता टिक्ला ? या महिना ? वर्ष ? क्यारेबियन समुद्रको अनाम सहरमा बस्ने यस उपन्यासको प्रेमी फ्लोरेन्टिनो अरिजा आफ्नी प्रेमिका फर्मिना दाजाका लागि ५१ वर्ष ९ महिना चार दिन पर्खिन तयार छ ।

खच्चड बेपारी लरेन्जो आफ्नी छोरी फर्मिनालाई टेलिग्राफ अफिसको अल्छे कर्मचारी फ्लोरेन्टिनोसँग होइन, कुनै धनवान मान्छेसँग बिहा गराउन चाहन्छ । तर, त्यो को होला ? हैजाले सर्वत्र सोत्तर पारिरहेका बेला छोरी बिरामी भइदिन्छे । त्यसलाई हेर्न कोही डाक्टर आउनुपर्ने हुन्छ । कथाले यही माग्छ ।

यहाँनेर देखा पर्छ डाक्टर उर्बिनो, जसले फर्मिनालाई महामारी नसरेको पुष्टि गर्छ । बाउ लरेन्जो त्यत्तिकै खुसी । डाक्टर झन् खुसी । छोरी असाध्यै राम्री हुनु यहाँ बिलकुल स्वाभाविक छ । तर, छोरी खुसी छैन, किन कि उसलाई त्यही टेलिग्राफको कर्मचारी फ्लोरेन्टिनोले चिठी लेख्न थालिसकेको छ । ऊ पनि खटाई–खटाई त्यसको जवाफ पठाइरहेकी छ । अब यो प्रेममा औपन्यासिक तनाव आउने उसले छनक पाइसकेकी छ । अन्ततः त्यस्तै हुन्छ । बाउले उसको बिहा उर्बिनोसँग गराइदिन्छ ।

अब यिनै पात्रहरूको आपसी द्वन्द्व, अनि त्यसले ल्याउने संकटहरू झेल्दै उपन्यास अघि बढ्छ । गुमेकी प्रेमिका पाउने आफ्नो जीवनभरिको यत्न सफल होला कि नहोला ? यहाँ पनि तपार्इं अनुमान गर्न सक्नुहुन्छ, किनकि मार्खेजका अधिकांश पात्रहरू मूर्ख होलान्, ‘फयल’ हुँदैनन् ।

यता फ्लोरेन्टिनो मायालुको यादमा तड्पिन थाल्छ । शरीरले छुनसमेत नपाएर फर्मिनालाई साढे पाँच दशक प्लेटोनिक प्रेम गरेको फ्लोरेन्टिनो के यतिका वर्ष त्यस्सै तड्पिएर बितायो होला त ? यहाँनेर पाठकहरूले आफैं बुद्धि लगाउन सक्छन् । मार्खेजको पात्र हो, छटाइँफटाइँ नगरी के बस्यो होला ?

डायरीमा आफूले सम्भोग गरेका ६ सयभन्दा बढी तरुनीहरूको नाम, क्रमसंख्या लेखेर राखेको हुन्छ फ्लोरेन्टिनोले । देह सन्तुष्ट छ, तर आत्मा अपूर्ण । प्रत्येक संसर्गमा ऊ फर्मिनालाई खोज्छ । कोही–कोहीले फ्लोरेन्टिनोलाई मज्जैले रत्याएर राख्छन् । तीसँग बढी से बढी अढाई वर्षसम्म उसको यौन–प्रेम लम्बिन्छ । तर, ऊ लाचारी दर्साउँछ, ‘यी कुनैले पनि फर्मिनालाई प्रतिस्थापित गर्न सकेनन् ।’

‘फर्मिनालाई नपाउँदासम्म कौमार्य जोगाइराख्छु,’ उसले संकल्प गरेको हुन्छ, तर प्रतिपल खण्डित ।

थुप्रै लेखकहरूलाई लाग्दो हो– आफ्ना दुःखहरू यसरी लेखिदिऊँ, पाठक पुस्तकका पन्ना–पन्ना भिजाउँदै रोओस् । पाठक रोयो कि लेखक हाँस्यो । अर्थात् पुस्तक आफ्नो लक्ष्यमा सफल भयो । अझ गला अवरुद्ध गर्दै फोन, म्यासेज गरून् भनेर नम्बर नै खुलाउँछन् । तर, मार्खेज त्यसो गर्दैनन् ।

यसमा फ्लोरेन्टिनो प्रेम छुटेको वेदनामा यसरी तड्पिन्छ, त्यसको तड्पन देखेर पाठक पेट मिचीमिची हाँस्छ । उसको छटपटी दूर गर्न आमा ट्रान्जिटोचाहिँले एउटी विधवा खोजेर ल्याइदिन्छिन् । बाहिर गोलाबारी चलिरहेको हुन्छ, जसमा नजारेटको घर पनि ध्वस्त हुन्छ । आफ्नो भत्केको घर र मरेको पतिको विरहमा नजारेट तप्त छे । चिठी लेख्दालेख्दैकी प्रेमिकाले बिहे गरेकोमा फ्लोरेन्टिनो पनि दुःखी छ । दुवै हदैसम्म पीडित छन् । र, त्यहाँ सम्भोग चलिरहेको छ ।

कविगोष्ठीको आयोजक हुन्छ, आफ्नै प्रेमिका उडाउने धनाढ्य डाक्टर उर्बिनो । त्यसको अनुहार सम्झिँदै पूर्वप्रेमी फ्लोरेन्टिनो लघुताभास र आक्रोशले मुर्मुरिन्छ । तर, एउटा कविले यो बेला के नै गर्न सक्छ ? उसले बदला लिने योजना बनाउँछ– क्यारेबियन क्षेत्रभरिका कविलाई जितेर फस्ट हुने । तर, कहाँबाट एउटा चिनियाँ आप्रवासी आएर पुरस्कार पाउँछ । मञ्चमा खाम खोलेर विजेताको नाम पढ्न आउँछे, उही भूपू मायालु । फ्लोरेन्टिनो अब हाम्रा सरुभक्तको कविताझैं ‘कवि, प्रेमी र पागल’ हुन्छ ।

बीचतिर एउटा बेजोड कथा भेटिन्छ । युद्धको अनपढ लडाकु आफ्नी प्रेमिकाका लागि चिठी लेखिमाग्न फ्लोरेन्टिनोकहाँ आउँछ ।

फ्लोरेन्टिनो फर्मिना सम्झँदै चिठी लेखिदिन्छ । केही दिनपछि एउटी सुकुमारी त्यही पत्र बोकेर जवाफ लेखिमाग्न आउँछे । उसले त्यहाँ आफूलाई सम्झँदै जवाफ लेख्छ । आफैंले आफैंलाई चिठी लेखिरहेको त्यो प्रसंगको बेजोड वर्णन छ उपन्यासमा । एक दिन ती केटाकेटीले बिहे गरी बच्चा बोकेर उसलाई भेट्न आउँछन् । उसैको चिठीले गर्दा आफ्नो प्रेम सफल भएको भन्दै बच्चाको गडफादर भइदिन अनुरोध गर्छन् ।फ्लोरेन्टिनोले हुँदैन किन भन्थ्यो र ?

तर, उसको ध्यान छ, रामरौसमा । एउटी कवयित्रीसँग बिछ्यौनामा नांगै पल्टिरहेको हुन्छ ऊ । कवयित्री कम्मरमाथि र मुनिको मायालाई ‘डिभाइडेड लभ’ शीर्षकमा सोचिरहेकी छे । ‘अर्को वर्षको पाँचौं कविगोष्ठीमा संयुक्त भिडौं,’ उसले सल्लाह बुन्छे । यसमा कविको जवाफ छैन । उनीहरू त्यहीँनेर फेरि संसर्गमा निर्लिप्त हुन्छन् । घरको बिरालोले फ्लोरेन्टिनोको नांगो ढाड र चाक चिथोरेर हैरान खेलाउँछ । अर्को एउटा दृश्यमा झरी परिरहेको छ । रूखमुनि सम्भोगरत हुँदा फ्लोरेन्टिनोले छाता आफैं बोक्नुपरिरहेको हुन्छ । कहिले पानीजहाजभित्र, कहिले सडकको किनारमा, कहिले बग्गीमा– खुशवन्त सिंहको ‘कम्पनी अफ् वुमन’ लाई बिर्साउने रसरंग यसमा छ ।

आफ्नो लोग्ने मरेर, अनि फ्लोरेन्टिनोसँग अनुरक्त हुन पाएर सहरभरिका विधवाहरू ‘मख्ख’ छन् । तर, ऊ पर्याप्तखुसी छैन । बरु अश्लील कामना गरिरहन्छ, ‘सहरका यत्रा लोग्नेहरू मरिसके । फर्मिनाको लोग्ने पनि मरे हुन्थ्यो ।’

एक दिन डा. जुभेनल उर्बिनो साँच्चिकै मर्छ । ढिलो गरी आफ्नो लोग्नेलाई माया गर्न थालेकी फर्मिना रोइरहेकी छे । सबै जना दुःखी छन् । फर्मिनालाई समवेदना दिन्छन् । तर, त्यहाँ एउटा मान्छे खुसी छ, उसको पुरानो प्रेमी । शवको अन्तिम संस्कारमा समेत उसले आफ्नो उमंग लुकाउन सक्दैन । ऊ भन्छ्, ‘प्रिय, मैले आधा शताब्दीदेखि यो दिन आओस् भनेर कामना गरेको ।’

फर्मिना स्तब्ध हुन्छे । उसको चिढचिढाहटले सबै सीमा नाघ्छ । ‘आइन्दा अनुहार नदेखा’ भन्दै ऊ प्रेमीलाई घरबाट गलहत्याएर निकाल्छे । तर माया हो, झ्वाँकले त्यसका अघिल्तिर हार्नुपर्छ । त्यो रोचक कथानक थाहा पाउन उपन्यास पढेको राम्रो । माइकनिवेलले २००७ मा बनाएको सिनेमाले उपन्यासलाई समग्रमा न्याय नै गरेको छ, जबकि प्रायः पुस्तकहरूमाथि राम्रा सिनेमा बन्दैनन् ।

नेपालीमा अनुवाद गर्नलायक पुस्तक छ यो । हुन त कतिपय ‘संस्कारी लडाका’ हरूले प्रतिबन्ध माग गर्न बेर छैन । अस्ति मात्रै ‘नो’ संगीत काण्ड भइसकेको छ । तर, यो यौन उपन्यास होइन । बेजोड कलाकृति हो ।

अहिले पनि यस्तै महामारीको बेला छ । कहिले सकिएला, कसरी सकिएला थाहा छैन । यो बेला प्रत्येकलाई तनाव छ । प्रत्येकलाई पहिलेभन्दा बढ्ता माया र हेरचाहको खाँचो छ । तर, मायाका लागि फ्लोरेन्टिनो जसरी भौंतारिनलाई भने यो बेला अलि ठीक पर्ने छैन । बरु ‘लभ इन् द टाइम अफ् कलेरा’ जस्ता महाख्यान खोजेर पढ्नचाहिँ सकिएला ।

कुनै दिन महामारी साम्य होला, अनि बाँकी कुरा पीपलबोटमा गरौंला ।

कसो नारायण दाइ ?

@basantabasnet

प्रकाशित : श्रावण ३१, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?