कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेखनाथको त्यो चिठी

लेखनाथले पत्रमा दुइटा गल्ती गरेका छन् । एक, पत्रिका दुईमहिने होइन, छमहिने थियो । दोस्रो, पत्रिकाको नाउँ ‘वेनी’ होइन ‘वेणी’ थियो ।
लोकरञ्जन पराजुली

२०२०–२१ सालतिरको कुरा हो । महेन्द्रले बहुदलीय व्यवस्था फ्याँकेर पञ्चायत लागू गरिसकेका थिए । उनी एकछत्र शासन गर्दै थिए । बहुदलपक्षीय र पञ्चायत प्रतिरोधी आन्दोलन निमिट्यान्नैसरह पार्न सकेकाले अधिनायक र उनका सेनामेना मैमत्त थिए । २००७ सालको आन्दोलनले राणा शासन बढारेपछि खुलेका सामाजिक संस्था, क्लब, पुस्तकालय, थिएटर, समाज सुधार समितिजस्ता जति पनि संघ–संस्था थिए, ती मुर्झाएका थिए ।

लेखनाथको त्यो चिठी

थुप्रै सामाजिक–राजनीतिक कार्यकर्ताहरू कि जेलमा थिए, कि निर्वासनमा, कि जेलबाट बाहिर निस्केर मौन थिए वा कित्ता परिवर्तन गरेर पञ्चायतमा प्रवेश गरिसकेका थिए । समाजमा एक किसिमको मुर्दा–शान्ति थियो ।

यही समय नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको शाखा नेपालभरि खोलिनुपर्ने कुरा भयो । अनि केदारमान व्यथितहरूले देशका प्रमुख स्थानमा साहित्य परिषद् गठन गर्ने गरी अभियान पनि चलाए । पोखरामा पनि यसै मेसो एउटा साहित्यिक संस्था दर्ता भयो— गण्डकी साहित्य संस्थान । साहित्यकार तथा पृथ्वीनारायण क्याम्पसका अध्यापक भोलानाथ पराजुलीको अध्यक्षतामा गठित उक्त संस्थामा सामाजिक आन्दोलनकारी तथा २०१५ सालको उपल्लो सदन महासभाका सदस्य मुक्तिनाथ शर्मा (को अछूत का लेखक), केशवराज पराजुली, तेजनाथ घिमिरे आदि सामेल थिए । पराजुली र घिमिरे पोखराको पहिलो पत्रिका ‘हिमदूत’ को सम्पादन समूहका सदस्य थिए र विद्यालयमा अध्यापन समेत गर्थे ।

‘देशको वाङ्मय सर्वाङ्गपूर्ण बनाउन देशका प्रत्येक कुना कुनाबाट त्यहाँको जनमानसको प्रतिनिधित्व गर्ने साहित्यिक प्रकाशन हुन आवश्यक छ । यही आवश्यकतालाई महसुस गरी साहित्यिक गतिविधि बढाउने, टुसाउन लागेका साहित्यिकहरूलाई प्रोत्साहित गर्ने, लुकेकालाई प्रकाशित गर्ने, यस अञ्चलको देनलाई अजस्र अक्षुण्ण राख्दै साहित्य कला र संस्कृतिको श्रीवृद्धिमा यथाशक्ति योगदान गर्ने’ उद्देश्यले गण्डकी साहित्य संस्थानको स्थापना गरिएको थियो ।

‘दिवंगत साहित्यिकहरूको जयन्तीहरू गर्ने, कलाकृतिहरू प्रकाशित गर्दिने’ आदि पनि लक्ष्य लिएको यो संस्थाले थालनीको रूपमा ‘षाण्मासिक पत्रिका वेणी’ प्रकाशन गर्ने निर्णय गर्‍यो । पोखरामा त्यतिखेर केही प्रेस त थिए, तर तिनले ‘स्तरीय’ पुस्तक छाप्ने ल्याकत राख्दैनथे । त्यसैले, २०२१ सालभरि तयारी गरेर ‘संस्थानको मुखपत्र’ २०२२ सालमा काठमाडौं पुगेर सहयोगी प्रेसमा छापेर ल्याइयो । ‘विविध व्यञ्जनहरूले भरिपूर्ण र कायमा पनि मोटो हुन आवश्यक थियो’ भन्ने बोध हुँदाहुँदै पनि पहिलो अंक ६० पेजको खिरिलै थियो, र ‘गद्यांश झन खिइएको’ थियो । सम्पादकीयमा स्विकारिएकै थियो, ‘जो प्रस्तुत गरिएको छ ती पनि थुप्रोबाट छानिएका होइनन् ।’ हुन पनि, जम्माजम्मी १६ सामग्रीमध्ये आधाजति तीन जना सम्पादकहरूकै रचना थिए ।

‘वेणी’ को पहिलो अंकमा कस्केली कवि लेखनाथ पौडेलको ‘पूर्व–स्मृति’ कविता छापिएको छ । कास्कीको अर्घौं अर्चलेमा जन्मिएका लेखनाथ कविशिरोमणि मुलुकभर प्रसिद्ध थिए र काठमाडौंमा बस्थे । अब पोखराबाट पहिलो साहित्यिक पत्रिका निकाल्नु र आफ्नै घरछेउका ख्यातनाम कविलाई छाड्नु सुहाउने कुरा थिएन । पहिले काठमाडौं पढ्न बस्दा सम्पादकहरूको लेखनाथसँग सामान्य भेटघाट र चिनजान छँदै थियो । त्यसैले, सम्पादकमण्डलका सदस्य तथा संस्थानका सचिव केशवराज पराजुलीले लेखनाथलाई आफ्नो संस्था, आफूहरूले गर्न लागेका गतिविधिबारे र खासगरी ‘वेणी’ प्रकाशन गर्न लागेको जानकारी गराउँदै रचना उपलब्ध गराइदिन रजिस्टरी चिठी पठाए । तर, उनीहरूले त्यतिबेला ख्याति पाएका पोखराकै अर्का कवि/गीतकार धर्मराज थापालाई सम्झेको देखिन्न । शासकको अतिशय चाकरी र पञ्चायतको गुणगाणमा लिप्त रहेकाले थापाप्रति बागी विचार राख्ने सम्पादकहरूको खासै सम्मान थिएन । त्यसैले थापालाई आफूहरूले नसम्झेको सम्पादकद्वयको कथन थियो ।

१९४१ सालमा जन्मेका लेखनाथ त्यतिखेर वार्दक्यमा पुगिसकेका थिए । उमेर आठ दशक नाघिसकेको थियो । चिठी पाएपछि लेखनाथले पनि सानो प्रत्युत्तर–पत्रसहित ‘पूर्व–स्मृति’ शीर्षकको कविता पठाए । सम्पादक पराजुलीले चिठी पठाउँदा मिति लेख्न भुलेका रहेछन् । लेखनाथले पठाएको चिठीबाट सो कुरा थाहा हुन्छ । रमाइलो त के भने लेखनाथ स्वयंले पनि चिठीमा मिति लेख्न भुलेका रहेछन् । लेखनाथले लेखेका छन्, ‘प्रिय बन्धु ! तपाईंको वेमितिको चिठी पायें, पोखराको सम्झनाले प्रेरित भयेर यो कविता पठायेको छु, जो दोस्रो भाग कविता–संग्रहमा रहनेछ. तपाईं पनि २ महिने ‘वेनी’ पत्रमा छपाउनू होला. प्रुफ–शोधनमा भूल नहोस्. पत्रिका निस्के पछी १ प्रति पठाउनुहुन्यैछ.’ (हेर्नुहोस् पत्रको तस्बिर) ।

लेखनाथले पत्रमा अरू दुइटा गल्ती गरेका छन् । एक, पत्रिका दुईमहिने होइन, छमहिने थियो । दोस्रो, पत्रिकाको नाउँ ‘वेनी’ होइन ‘वेणी’ थियो । हुन त बेनी जनजिब्रोमा झुन्डिएको शब्द थियो र दुवै शब्दको अर्थ एउटै हुन्थ्यो– नदीको संगम । तर, वेणीको थप अर्को अर्थ पनि थियो– कपाल बाटेको चुल्ठो, जुन ‘बेनी’ ले सायद बोक्दैनथ्यो ।

चिठीसँगै पठाइएको लेखनाथको कविता ‘वेणी’ को पहिलो अंकको पहिलो सामग्रीको रूपमा छापियो । दुःखको कुरा, आफ्नो छापिएको कविता कविजीले देख्न पाएनन् । कविता मुद्रित भएर आउनुअघि नै लेखनाथको देहावसान भैसकेको थियो । पत्रिकाले पनि दुःख मनाउ गर्दै ‘कवि शिरोमणि श्री लेखनाथ पौड्यालप्रति श्रद्धाञ्जली’ चढायो पहिलो अंकमै : ‘वेणी फोई विलौना गरिकन अहिले गण्डकी यो सुषायो हाम्रो साहित्य–संस्थान विचपनि यसले वेदना धेर ल्यायो हाम्रो साहित्यलाई विकसित गरदै जीवनी दी गएको त्यो आत्मा शान्ति पाओस् अमर पद पुगी भाव अर्प्यौं भएको’ ।

लेखनाथले ‘प्रुफ–शोधन’ मा भूल नहोस् भने पनि छापिएर आउँदा साना एका–दुई भूल छिरिहाले । पछि यो कविता वासुदेव त्रिपाठीले सम्पादन गरेको ‘लेखनाथको प्रतिनिधि कविता’ संग्रहमा संगृहीत गरियो ।

प्रकाशित : श्रावण २४, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?