त्यसपछि आमा माकुरा हुनुभो- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्यसपछि आमा माकुरा हुनुभो

माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ। हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।
भूपाल राई

आमालाई कोरोना के हो थाहा भएन । त्यसको कैफियत हात उहाँसम्म पुगेन पनि । तर, त्यसलाई सम्बोधन नगरी आजका कुनै पनि घटना पूरा हुँदैन भन्ने यथार्थबाट म पूरापूर जानकार छु । त्यसैले कोरोनाकालकै छायामुनि म यतिखेर आमाको दुःखान्त यादमा छु ।

म देखिरहेको थिएँ- ठीक यही संकटका बेला मेरो घरमा एक अर्को संकट थपिन गैरहेको थियो । र, स्पष्ट चाल पाइरहेको थिएँ, त्यो संकट झन्झन् नजिक आउनेवाला थियो । बिस्तारै–बिस्तारै मेरो आँखैअगाडि आमा शिथिल बन्दै जानुभएकोथ्यो । हरेक बिहान हेर्थें, यस्तो लाग्थ्यो— आमा क्रमशः सिद्धिरहनुभएको छ । हरेक रात आमाको जीर्ण शरीरबाट जीवनको एक दिन चोइटिएर खसिरहेको छ ।

त्यसो त म मात्र होइन सारा दुनियाँ लकडाउनले आक्रान्त थियो नै । ठीक यत्ति नै बेला त्यस्तो दुःखान्त विपत्ति थप हुनु र त्यसको प्रतक्ष भोक्ता हुनु अवश्य मेरो मात्र एक्लो अनुभव थिएन । तर, हरेक दिन एउटा जिउँदो अस्तित्व नामेट हुँदै गरेको दृश्यपटमा आफ्नै चेतनाले आमालाई सिद्धिँदै गएको हेर्नु बेग्लैखालको पीडा थियो, जसले मलाई आफ्नै अगाडि तेर्सिरहेको विश्वजनिन संकटको आयतन अरू थप सघन भएको अनुभूति बाँडेर गयो ।

चालु महाव्याधिले प्रदान गरेको बहुपक्षीय प्रलय निःसन्देह कल्पनातीत थियो र छ । तर, मानिसहरूले प्रलय सँगसँगै पनि बाँच्ने कला सिके । संकटकै घडीमा पनि नीहरूको जिजीविषाको जाँगर मरेन । कत्तिले कविताको बाढी बगाए । आख्यानको आँधी उडाए । अनलाइन वार्ता र संगोष्ठीहरूको पहिरो चलाए । तर, मैले त्यस्तो केही गर्न सकिनँ । सेल्फ क्वारेन्टाइन र आइसोलेसनको लामो फुर्सदलाई मैले पटक्कै उपयोग गर्न सकिनँ । यसर्थ कि कोरोना मेरालागि डरलाग्दो कोलाहल थियो । ढाँट्दिनँ, कोलाहलमा म केही गर्नै सक्दिनँ । अरू त अरू मैले यो विषयमा एक पातो डायरीसमेत लेख्न सकिनँ । बरु लामो लकडाउनको कहालीलाग्दो छायामा व्यथित मात्रै भइरहेँ । भित्रभित्रै विचलित बनिरहेँ । चढ्दो तनाव र उद्विग्नताका साथ जसोतसो लकडाउन सुरु भएको चैतको आधा महिना त गालेँ । तर, अगाडि तेर्सिरहेको अनिश्चित भयदेखि झन् बढी विचलित भैरहेको थिएँ । सौभाग्यवश वैशाखको पहिलो सातातिर कुनै उपायद्वारा मैले हिँडडुल गर्न मिल्ने एउटा आधिकारिक कागज फेला पारेँ र त्यसैको आडले दिनको एकचोटि मोटरसाइकलबाट सहर र रिङरोड परिक्रमा गर्न थालेँ । यसरी म कोरोनाको कोलाहलभन्दा पनि घरबन्दीको एकाकीपन र छटपटीबाट तंग्रिन खोजिरहेथेँ ।

ठ्याक्कै यस्तै बेला ममाथि त्यो विपत् थपिन पुगेको थियो, जसको संकेत मैले माथि गरिसकेको छु ।

जेठको पहिलो सातादेखि आमाका नियमित शारीरिक क्रियाहरू बिस्तारै अवरुद्ध हुन थाले । सबभन्दा पहिले खाद्यक्रिया बन्द भयो । त्यसपछि खुट्टाले आफ्नो कर्म छोड्यो । क्रमशः दिसापिसाब अवरुद्ध हुनुको साथसाथै बिस्तारै ओठबाट शब्दहरू हराउँदै जान थाले । यस्तोमा हस्पिटल लैजाऊँ, जताततै कोरोनाको त्राहिमाम छ । नलैजाऊँ आमाको सास क्षीण हँॅदै गैरहेछ । के गर्ने ? स्वयं टिचिङ हस्पिटलको नर्सिङ स्टाफ मेरी कान्छी दिदीसमेत किंकर्तव्यजिमूढ छिन् । बाह्रैकाल बजार लाग्ने टिचिङ हस्पिटल मसानघाटजस्तो सुनसान छ । अन्त्यमा हामीलाई कोरोना त्रासभन्दा आमाको यन्त्रणाले जित्यो र त्यही यन्त्रणाको बलले हामीलाई टिचिङ हस्पिटलसम्म पुर्‍यायो ।

आमालाई हस्पिटल राखेको बेला यता देश भने एकाएक राष्ट्रवादको चर्को नसामा बहुलाइरहेको थियो । साराका सारा दल मिलेर संसद्भवनबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको एक थान कागजको नक्सा पारित गरिरहेका थिए । सामाजिक सञ्जालका भित्ताहरू राष्ट्रवादको रङले रंगिरहेका थिए । तर, साराका सारा राष्ट्रवादीहरू एक भइरहेको बेला यता म एक जना अराष्ट्रवादी तत्त्व भने यस्तो थिएँ, जो नेपाल आमालाई बँचाउन छोडेर आफ्नो आमाको ज्यान बचाउन लागिपरेको थिएँ । के म स्वार्थी थिएँ ? अथवा एक राष्ट्रद्रोही ? अथवा म के थिएँ ? जो आफैँलाई थाहा थिएन ।

यसरी, जतिखेर राष्ट्रवादको वर्षाकालीन वर्षात् दर्किरहेको थियो, कवि गीतकारहरूका मौसमी गीत र कविता फुरिरहेका थिए । गायक संगीतकारहरूको राष्ट्रवादी स्वर उर्लिरहेको थियो । सडक राष्ट्रवादको वाणी पाएर वाचाल थियो । ठीक त्यति नै खेर यता मेरी आमाको कण्ठबाट भने सम्पुर्ण भाषा हराइरहेको थियो ।

आमालाई के रोग लागेको थियो, त्यसबारे उहाँ अनजान हुनुहुन्थ्यो । मात्र हामी चार छोरा–छोरी रोगबारे छलफल गर्थ्यौं । एलोप्याथी कोर्सका प्रयासहरू काम नलाग्ने भएपछि दिदीले अनेक वैकल्पिक औषधि खोज्दै ल्याउने गर्थिन् । आमा भन्नुहुन्थ्यो, ‘मलाई के रोग लागेको छ र अनेक खाले औषधिहरू दिन्छौ ?’ आमालाई थाहा थिएन, उहाँको त्यो वृद्ध र जर्जर पाठेघर, जसभित्र उहाँका जीवित र मृत गरी सात–सात जना सन्तानका भ्रूण परिपोषित भएका थिए, त्यही पाठेघरभित्र अन्तिम स्टेजको क्यान्सर हुर्किरहेको थियो । उहाँकै पाठेघरभित्र विकसित भएर जन्मिएका सन्तानमध्ये हामी जीवित चार छोरा–छोरी यतिखेर आफैँ बुढ्यौलीको यात्रामा छौँ । यतिखेर मलाई कताकता लागिरहेछ, माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ । हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।

उमेरभरि गाउँमा अँगेनाको धूवाँले डढाएर आमा फोक्सोको दीर्घरोगी पनि हुनुहुन्थ्यो । काठमाडौं आएपछि पनि त्यो रोग उहाँको अभिन्न साथी बनिरह्यो । २०७२ माघ ९ मा बाबा बित्नुभएपछि झन् उहाँमा एक्लोपनको मनोरोग थपिएको थियो । केही वर्षअगाडि हामीले गाउँबाट चुल्हो यतै सारेका थियौँ । पछिल्लो समय आमा हरेक बिहान चुल्होमा तितेपाती र पानी चढाउनुहुन्थ्यो । सम्भवतः चुल्हाबासमा रहनुभएका बाबाको कल्पनामा उहाँ आफ्नो एक्लोपनको सहारा भेट्नुहुन्थ्यो ।

सबै अंगहरू क्रियाशून्य भएर पनि आमाको चेतनाले भने ठाउँ छाडिहालेको थिएन । हस्पिटल नबस्ने अड्डी उहाँको सुरुकै दिनदेखि थियो । तैपनि आमाको स्थिति यस्तो थियो, सारा कोरोना जोखिम मोलेर पनि हस्पिटल राख्न हामी बाध्य थियौँ । मलाई देख्नासाथ जहिले पनि इसाराले ‘घर लैजा’ भन्नुहुन्थ्यो । एक दिन बडो मुस्किलले आमाले कान्छी दिदीको हात तान्नुभयो र आफ्नो मुखनिर दिदीको कान लगेर सासले केही भन्न खोज्नुभो । त्यसपछि क्रमशः मलाई अनि फेरि ठूली दिदीलाई तानेर त्यसै गर्नॅभो । आमाको बोलीमा शब्द होइन, केवल सास मात्रै थियो । कसैले केही बुझिरहेका थिएनौ, तैपनि मैले आमालाई आश्वस्त पार्ने आशयले ठूल्ठूलो स्वरले भनेँ, ‘मैले सब बुझेँ । चिन्ता लिनु पर्दैन आमा ! म सब काम गर्छु...।’

आमाको धूमिल हुँदै गएको चेतनग्रन्थिले मेरो कुराको अर्थ ग्रहण गर्‍यो कि गरेन मलाई थाहा भएन । तर, एकै छिन अगाडिको आमाको त्यो दारुण दृश्य सहन गर्न नसकेर म क्याबिनबाट बाहिर निस्केँ । सम्झेँ, आमा जहिले पनि गाउँमा लाथालिंग छाडेको जग्गाजमिनको कुरा गर्नॅहुन्थ्यो । सायद उहाँलाई त्यो चिन्ता थियो । अनि उहाँलाई थप अर्को चिन्ता कान्छी दिदीको बारेमा थियो, जो यतिका उमेरसम्म अविवाहित रहेर आमालाई स्याहारेर बसिरहेकी थिइन् । कतै यिनै चिन्ताले आमालाई विचलित बनाइरहेको त थिएन ? मानिसको अन्तिम घडीमा शरीरका जम्मै आंगिक क्रियाहरू अवरुद्ध भएर पनि जब चेतनक्रिया सक्रिय भैरहन्छ, पीडाको भार झन् बढी हुँदोरैछ । मैले झट्ट मनमनै एउटा भयावह र अप्रिय कामना गरेँ— चाहे जुनसुकै अवस्थामा होस्, आमाको यो असह्य पीडा छिट्टै अन्त्य होस् ।

हस्पिटल राखेको तेह्रौं दिनमा डाक्टरले आमालाई आईसीसीयू वार्डमा सार्ने सल्लाह दियो । तर, कान्छी दिदी मानिरहेकी थिइनन् । भन्थिन्, ‘अन्तिम दिनसम्म म आफ्नै हातले आमालाई स्याहार्छॅ ।’ दिदीलाई थाहा थियो, त्यो वार्डमा सारेपछि आमासँगै बस्न मिल्दैनथ्यो । तर, बिरामीको गम्भीर अवस्थाबारे डाक्टरले सम्झाएपछि आमालाई त्यो सघन वार्डमा सारेर म त्यो बेलुका दिदीहरूलाई छाडेर घर फर्कें । रातको ९–१० बजिसकेको थियो । घर पुगेको मात्रै थिएँ, लगत्तै दिदीको रोदनमिश्रित फोन आयो । तत्कालै फेरि हस्पिटल फर्कें— आमाको कष्टकर श्वास–प्रश्वास, एकै छिनअगाडिसम्मको त्यो वणर्नातीत यन्त्रणा सब शान्त भएको थियो । आमा लामो निद्रामा हुनुहुन्थ्यो ।

एक छिनपछि एक जना डाक्टर आएर एउटा कागजमा हस्ताक्षर गर्‍यो । त्यो कागज आमाको ‘डेथ सर्टिफिकेट’ थियो । आश्चर्य ! एक जना डाक्टरको एक हस्ताक्षरमा अहिलेसम्मका सबै कुरा समाप्त भएको थियो । लगभग पौने एक शताब्दी लामो आमाको जीवनयात्रा, यात्राले आर्जन गरेका सब उहापोह, सबै सबैमा पूर्णविराम लागेको थियो । अचम्म ! एक हस्ताक्षरले आमा, आमा रहनुभएन ।

***

महामारी र लम्बिँदो लकडाउनसँग व्यक्तिको शरीर–विशेष मात्र नभएर सामाजिक र नैतिक प्रश्न पनि जोडिएको थियो । भौतिक दूरीको महत्वबारे हेक्का राख्नैपर्थ्यो । त्यसैले मैले आमाको देहान्तबारे कसैलाई सूचना गरिनँ । मात्र आफ्नो जिल्लाका सांसद सुदन किरातीलाई त्यही बेलुका फोनमा भनेँ ‘सुदन, आमा बित्नुभो । कहीँ कतै हल्ला नगर्नू । यो कोरोनात्रासको बेला कसैलाई नैतिक संकटमा नपार्नू । मात्र दुई–चार जना मानिस ठीक पारिराख्नू । भोलि बिहान वनकालीमा भेटौँ ।’

भोलिपल्ट वनकाली पुग्दा पो अवगत भयो, कसैलाई नभन्नू भनेको खबरले त रातभरि डढेलो लगाएछ । हेर्छु, भौतिक दूरीको अवज्ञा गरेर नैतिकताको अपार भीड लागिरहेको थियो त्यहाँ । मैले आफैँलाई प्रश्न गरेँ, ‘के यत्रो कोरोना सन्त्रासमा पनि मानिसभित्रको मानवीयता अझै ज्युँदै छ ?’ त्यही मानवीयता र संकटको बीचोबीच आमा त्यसपछि हामीबाट पशुपतिको वनकालीमै छुट्टिनुभो । संकट पनि कस्तो ? सधैँ आफ्नो घर र जग्गाजमिनको मात्र कुरा गरिरहनुहुने आमाले अन्त्यमा वनकालीको त्यो अनजान र अनचाह माटोमा विलीन हुनुपर्‍यो ।

तेस्रो दिन, कोही एक जना शुभचिन्तकले मलाई फोनमा सोधे, ‘आमालाई के रोग थियो ?’

मैले भने, ‘पाठेघरको क्यान्सर !’

‘कति वर्षको हुनुहुन्थ्यो ?’

‘८७ वर्षको...’

अन्त्यमा उनले भने, ‘लौ, आमाले तपाईंहरूलाई लामो समय दिनुभएछ । दुःख नमान्नू ।’

८७ वर्षको उमेर कति लामो हो ? म यतिखेर, खासगरी यस दुःखद घडीमा केही तर्क गर्ने सामर्थ्य राख्दिनँ । तर, उनले भनेको त्यही लामो उमेरमा २०७७ जेठ २५ गतेको दिन आमाले हामीलाई छाडेर जानुभो । कोरोनाको अनिश्चितकालीन घातमाथि थप अर्को मानसिक संघात हामीमाथि थपेर जानुभो ।

थाहा छ, संसारका सबै आमाहरू सधैँ बाँचिरहँदैनन् । ‘पुरानो पात’ नामको भौतिक प्रक्रियाको उपदेश सुन्दा अस्वाभाविक पनि लाग्दैन । तर, एक जना डाक्टरको एउटा हस्ताक्षरमा जसरी एउटा अस्तित्व हठात् समाप्त हुन्छ । यत्रो मानवीय सभ्यताले निर्माण गरेको ‘आमा’ भन्ने एउटा गुरुत्तम शब्द जसरी कुनै एउटा ओठबाट बिस्तारै लोप हुँदै जान्छ । के त्यो त्यत्तिकै सामान्य छ ?

तर, त्यसपछि आमा साँच्चि नै माकुरा हुनुभो ।

प्रकाशित : श्रावण १७, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

चिहानमा कदमको रूख

यो सुदूर अतीतमा घटित एउटा निर्वाक स्मरण हो । एक्कासि जसरी एक लेखक घरकै ‘कान्छा’ सदस्य हुन पुगे, त्यसमा दुःखान्त र अति पीडादायी घटनाको हात थियो । जन्मगत हैसियतको त्यो घाउ उनका लागि सधैंको बोझ बनिरह्यो । त्यो बोझ उनले निर्दोष जन्मांकमाथि अद्यापि बोकिरहेकै छन् । आज उनको त्यही अतीतको कथा ।
भूपाल राई

काठमाडौँ — जन्मको तहगत व्यवस्थाअनुसार, म मेरो परिवारको कान्छो सदस्य होइन । कम्तीमा मैले होस सम्हालेदेखि नै म त्यो थिइनँ । तर, लगभग ७–८ वर्षको उमेरमा पुगेपछि मलाई मेरो परिवारले एक्कासि ‘कान्छा’ भनी बोलाउन थाले । पछि गाउँ–समाजले पनि त्यसैलाई अनुसरण गर्ने भइहाल्यो ।

त्यसो त किराती परिवार वा समाजमा वर्णव्यवस्थाको तहगत प्रणाली छैन । सीधा भाषामा भन्दा किरातीमा जातभातको भेद–विभेद पाइँदैन । तर, जन्मँदाको सोपान–शृंखलाको प्रभाव भने यो समाजमा निकै ठूलो छ ।

जन्मँदा प्राप्त हुने भोटोको संख्याद्वारा निर्धारित दर्जाको निकै ठूलो महत्त्व छ किराती समाजमा । त्यही भएर किराती समाजमा जेठा, माइला, साइँला हुँदै कान्छाजस्ता जन्म क्रमबद्धतालाई जोडका साथ लागू गरिन्छ । किनभने यो समाजमा भोटोलाई निकै महत्त्वका साथ हेरिन्छ । एकै वर्ष या एकै महिना वा एकै दिन तलमाथिको जन्मले पनि मान र सम्मानको क्षेत्रमा निकै गहिरो अर्थ राख्छ । तर, यति हुँदाहुँदै पनि आज म यहाँ भोटोको मर्यादामाथि विमर्श गर्न गइरहेको छैन । त्यसको मानमर्दनको बखान पनि यो होइन । केवल एउटा विषादको सानो घात, जो सुदूर अतीतमा घटित हुन पुगेको थियो । यो त्यसैको निर्वाक स्मरण हो ।
०००
भनिसकेँ म मेरा आमा–बाबाको ‘कान्छो’ छोरो थिइनँ । एक्कासि म जसरी ‘कान्छा’ हुन पुगेको थिएँ, त्यो त्यत्तिकै भएको पनि थिएन । यसको पछाडि एउटा निकै दुःखान्त र अति पीडादायी घटनाको हात थियो, जसको प्रत्यक्ष असरले मलाई धेरै पछिसम्म बिथोलिरह्यो । घटनाले यद्यपि मेरो भोटोगत मर्यादामा केही असर पुर्‍याएन । तर, ७–८ वर्षको उमेरदेखि मैले वरण गर्नुपरेको त्यो जन्मगत हैसियतको घाउ मेरा लागि सदासदाको बोझ बनिरह्यो, जुन बोझ मेरो निर्दोष जन्मांकमाथि अद्यापि मैले बोकिरहेकै छु ।
०००
कक्षाकोठामा पढिरहेका बेला एक्कासि हेडसरको अफिसबाट मलाई बोलावट भयो । अप्रत्याशित बोलावटमा कुनै अन्जान गल्तीवश हुन जाने सजायको त्रास थियो । भित्र–भित्रै काम्दै म अफिसकोठामा प्रवेश गरेँ । भित्र मेरी दिदी हेडसरको अगाडि पहिल्यै उभिइरहनुभएको रहेछ । म कोठामा प्रवेश गर्नासाथ एकछेउको कुर्सीमा बसिरहेको मान्छेतिर देखाउँदै हेडसरले भन्नुभो, ‘ल तिमीहरूलाई लिन घरदेखि मान्छे आउनुभएको रहेछ । तुरुन्त घर जाऊ... !’ अचानक घर फर्किनुपर्नाको कारण सोधखोज नगरी हामी त्यो मान्छेको पछि लाग्यौँ । त्यसरी घर फर्किनुपर्ने कारणबारे हामीलाई न हेडसरले केही बताउनुभयो, न त्यो मान्छेले ।

हामी मामाघरमा बसेर पढ्ने गर्थ्यौं । हामी अर्थात् म र मेरी ठूली दिदी । म त्यस्तै तेस्रो या चौथो कक्षाको विद्यार्थी थिएँ । दिदी मभन्दा एक श्रेणी माथि । हाम्रो गाउँमा तत्कालीन समयमा हाइस्कुल नहुनाले आमा–बाबाले पढ्नका लागि हामीलाई मामाघर पठाउनुहुन्थ्यो । मामाघरदेखि पनि लगभग एक–डेढ घण्टाको दूरीमा थियो हामी पढ्ने स्कुल । सोही स्कुलबाट अघिल्लो साल मात्रै हाम्रा ठूलो दाजुले आफ्नो अध्ययन सिध्याउनुभएको थियो । बाँकी रहेका थियौँ, हामी दिदी–भाइ ।

त्यो मान्छेको पछिपछि हामी स्कुलबाट पहिले मामाघर पुग्यौँ । मामाघरबाट आ–आफ्नो झोला टिपेर तुरुन्तै घरको बाटो ततायौँ । मामाघरबाट हाम्रो घर त्यस्तै ६–७ घण्टाको दूरीमा पर्थ्यो । हामी त्यति अबेला पनि घरको त्यो लामो दूरी पूरा गर्न हतारका साथ हिँड्यौँ । हामीलाई घर फर्किनुपर्नाको कारण त्यति लामो समयसम्म न त्यो मान्छेले बतायो न मामाघरमै त्यसको संकेत दिइयो । त्यति लामो बाटो हामी अत्यन्तै अनुशासित र इमानदार विद्यार्थीझैँ चुपचाप त्यो मान्छेको पछिपछि हिँडिरह्यौँ । मात्र हिँडिरह्यौँ ।

हाम्रो हिँडाइको रफ्तार स्वतःस्फूर्त रूपमा यति तेजिलो थियो कि साँझ पर्दा–नपर्दा हामी टुप्लुक्कै घर पुग्यौँ । घर पुग्दा बाहिरबाट वातावरण एकदमै सुनसान प्रतीत हुन्थ्यो । दिदी र मलाई भित्रभित्र एकदमै उत्सुकता थियो— किन त्यति टाढाको स्कुलबाट एक्कासि हामीलाई घर झिकाइयो ! बडो हतारमा हामी घरभित्र पस्यौँ । तर, भित्र छिर्नासाथ हामीले देख्यौँ— बेहाल अवस्थामा आमा जोड–जोडले रोइरहनुभएको थियो । हामी दौडेर आमाछेउ गयौँ । आमाले एक्कासि पाखुरामा तानेर मलाई आफ्नो काखमा लेटाउनुभयो र जोडले पक्रेर हिक्का छाड्दै झन् रुन थाल्नुभयो ।

वस्तुस्थिति नबुझेर दिदी र म निकै बेरसम्म अवाक बनिरह्यौँ । एक छिनपछि घरबाहिर मान्छे भेला हुन थालेपछि थाहा भयो— त्यही बिहान ममुनिको हाम्रो कान्छा भाइको देहान्त भएको रहेछ । ती मानिस भाइको मृत शरीरलाई चिहानमा परिणत गरेर फर्केका मलामी रहेछन् । त्यसपछि आमा झन् विक्षिप्तझैँ बर्बराउन थाल्नुभो, ‘तिमीहरूको भाइलाई एकै रातको व्यथाले लग्यो । विचरा ऐया पनि भन्न पाएन... ।’ आमाछेउ उभिरहनुभएकी दिदी त्यहीँ पसारिएर रुन थाल्नुभो । म आमाको काखमा किंकर्तव्यविमूढ ढलिरहेँ । र, भर्खरै बितेको भाइको रिक्त स्थान मबाट पूरा गर्ने कोसिस गर्दै भक्कानिँदै रोइरहनुभएको आमालाई आफ्नो कलिलो बाहुपासले बेरिरहेँ ।

भोलिपल्टदेखि गाउँलेहरूले हाम्रो घरलाई एक्लो बनाउँदै गए । आमा र दिदीहरू अकार्कामा मुखामुख गर्दै, रुँदै, थाक्दै गरिरहनुभएको थियो । आमा र दिदीहरूले त एकार्कामा रुनका लागि साथी पाउनुभएको थियो । तर, अब म त्यो एक्लो घरमा नितान्त एक्लो थिएँ । किनभने जन्मको हिसाबले भाइ मभन्दा सानो भए पनि ऊ मेरो अभिन्न साथी थियो । स्कुल बिदामा घर फर्केको बेला ऊसँगै म मेरो बालवयको संसार विचरण गर्थें । उसैलाई अँगालेर या साथ राखेर आजसम्म आविष्कार नभएको भाषामा हामी संवाद गर्थ्यौं । ऊ मभन्दा लगभग दुई–अढाई वर्षपछि जन्मिएको थियो । तर, आमा भन्नुहुन्थ्यो, ‘तिमीहरू जम्ल्याहा हौ ।’ नभन्दै बाबाले पनि उसलाई र मलाई एकै खालको जुत्ता र एउटै रङको कमिज–सुरुवाल पठाइदिनुहुन्थ्यो धरानबाट । एकै खाले जुत्ता र कपडामा हामी साँच्चिनै जम्ल्याहाजस्तै देखिन्थ्यौँ । अक्सर दिन हामी एकपटक त्यो लुगा लगाएर बाबा र ठूलो दाजुजस्तै ‘परदेश’ जान्थ्यौँ । आमालाई एक छिनका लागि घरमा एक्लै छाड्थ्यौँ र तल्लो टोलको पुछार–बारी घुमेर घर फर्किन्थ्यौँ ।
०००
त्यो एक्लो घरमा जब म भोलिपल्ट बिहानै बिउँझिएँ, आँगनमा धर्के कमिज लगाएर नांगो र पुक्क परेको कलिलो पिँडुला देखाउँदै दौडिरहेको भाइलाई खोजेँ । हाम्रो घरको फाँटिलो आँगनमा ठूला–ठूला चप्लेटी ढुंगाद्वारा चिनिएको पर्खालमाथि चढेर हेरेँ—तल बारीका कान्लाहरू, पश्चिमी डिलमा उभिइरहेको अमलाको बोट, घरमास्तिर बाजेले रोप्नुभएको ठूलो वर–पीपलसहितको चौतारी, त्यहाँसम्म लम्पसार तेर्सो धूलौटो बाटो— सबै एक्लोएक्लो र निर्जन लाग्यो । मानौँ ती सब फेरि कहिल्यै नफर्किने कुनै परदेशीले छाडिगएका पाइतालाका डोब हुन् ।

बारीको डिलमा उभिएको अमलाको बोट देखेर एक्कासि मैले सम्झेँ, गएको हिउँदमा हामी एक दिन त्यही लुगा लगाएर परदेश हिँडेका थियौँ । एकै खालको नयाँ जुत्तामा ठाँटिएर हामी बारीको डिलैडिल त्यही अमलाको बोटमुनि पुगेका थियौँ । मैले बोटमा चढेर हाँगा हल्लाउँदै अमलाको झुप्पा झारेको थिएँ । दुवैले नयाँ कमिजको बगलीभरि अमला भरेर घरमा आमालाई भनेका थियौँ, ‘लु आमा परदेशबाट ल्याएको हाम्रो कोसेली ।’ हामीले आमाको अगाडि बगलीबाट यस्तरी कोसेली खन्यायौँ, मानौँ त्यो बाबाले धरानबाट पठाइदिनुभएको नुन, तेल, मसला र सिद्राको बडेमान भारी थियो । आमाले हाँस्दै नाङ्लो थाप्नुभएको थियो र त्यो परदेशको कोसेलीलाई बडो बात्सल्यका साथ उसिनेर अचार बनाउनुभएको थियो ।

गाउँमा पानीको अभाव थियो । छेउछाउमा पानीको स्रोत कतै थिएन । दायाँ–बायाँ ठूलठूला सुक्खा खोल्सीहरू । बर्खामा ती खोल्सीहरू उर्लिएर आउँथे । हामी ठूलो वर्षात् भएको बखत ती खोल्सीहरूमा उर्लिएको बाढी हेर्न भिज्दै दगुर्थ्यौं । म धमिलो र रातो बाढी बगिरहेको भर्लाटाङ खोला देखाउँदै गफ दिन्थेँ, ‘बुझिस् कान्छा, म यो भेल एकै फड्कामा तरिदिन सक्छु... ।’
मेरै बगलमा उभिएको उसले भन्थ्यो, ‘इस्स... राजाले त सक्दैन... तिमीले !’
यतिखेर म सम्झिन्छु, त्यति सानो फुच्चे केटोले राजाको तिलस्मी चमत्कारको पाठ कोबाट सिक्यो होला ? कसरी त्यो विशद ज्ञान उसले आर्जन गर्‍यो ? तर, मैले भने राजाको अतिरिक्त र आलंकारिक शक्तिको बारेमा पहिलोचोटि उसैको मुखबाट सुनेको थिएँ ।

हाम्रो आँगनअगाडि साइँला काकाको घर थियो । एक डिलमाथि जेठा बडाबाको घर, जहाँ बाजे–बोजु रहनुहुन्थ्यो । हामी काका–काकीका छोरा–छोरीसहित निकै जना भेला भएर आँगनमा खेल्थ्यौँ, हल्ला गर्थ्यौं । कैलेकाहीँ बाजेलाई के हुन्थ्यो कुन्नि खेलिरहेका हामीलाई गुलेलीले हिर्काउनुहुन्थ्यो । एकपटक बाजेले हान्नुभएको मट्याङ्ग्रा अचानक भाइको कन्चटमा आएर बज्य्रो । उसको कानदेखि अलि माथिको भागमा मट्याङ्ग्रा जत्रै फोका उठ्यो । राति ज्वरो पनि फुट्यो । त्यो त्यही मट्याङ्ग्रा थियो, जुन अघिल्लो दिन मात्र उसैले बोकेर ल्याएको माटोबाट बनेको थियो । त्यो त्यही मट्याङ्ग्रा थियो, जुन उसैले हिजो दिनभरि बाजेलाई बाट्न सघाएको थियो ।

ऊ र म अक्सर गुच्चा खेल्ने गर्थ्यौं । बीस गन्ती पुगेपछि हाम्रो गेमको कोटा पूरा हुन्थ्यो र हार्नेलाई शरीरको कुनै अंगमा त्यही गुच्चाले हिर्काउन पाउने नियम बन्थ्यो । स्वाभाविक रूपले धेरैजसो गेम मेरो पक्षमा हुने गर्थ्यो । किनभने म ऊभन्दा अढाई वर्ष पुरानो भोटोको अनुभवी जो थिएँ । म प्रायः उसको गर्धनपछाडि घुच्चुकको भाग, जहाँ कलिलो मासुको बीचमा सानो कुलेसो परेको थियो, त्यही कुलेसोमा गुच्चाले हिर्काउँथें । मलाई हेक्का हुँदैनथ्यो, मुस्किलले पाँच वर्षको त्यो फूलजस्तो कलिलो केटोलाई कतिको पीडा हुन्थ्यो ! तर, एक बहादुर प्रतिद्वन्द्वीको भावमा कालो–नीलो हुँदै ऊ आफ्नो कलिलो घुच्चुक थापिरहन्थ्यो ।

बाँसको भाटाको तरबार बनाएर हामी दसैँ–तिहार छेका घिरौँला र कुभिन्डोको मार हान्थ्यौँ । तरकारीको नास गरेको देखेर आमा गाली गर्नुहुन्थ्यो । हामीलाई लखेट्नुहुन्थ्यो । म आमाको कुटाइबाट जोगिन भाग्थेँ । तर, ऊ भाग्दैनथ्यो । जहिले पनि ऊ मेरोसमेत भागको पिटाइमा पर्थ्यो । ऊ निकै जब्बर स्वभावको थियो । हरेक चीजमा मसँग बराबरको हिस्सा खोज्थ्यो । खाने, लाउनेदेखि सबै कुरा उसलाई मेरोजस्तै र मेरोजत्तिकै चाहिन्थ्यो । ऊ सानो भाइभन्दा पनि मेरो अविच्छिन्न छायाजस्तै थियो । सँगै खेल्ने, सँगै खाने, सँगै हिँड्ने र सँगै सुत्ने अभिन्न छाया । यसरी त्यो छाया छुटेपछि मैले कैयौँ समयसम्म एक्लो र शून्यप्रायः आँगनमा खेल्न जानिनँ । ऊ र म सँगै हिँडेका गोरेटोहरूमा एक्लै–एक्लै हिँड्न जानिनँ । सँगै सुत्ने ओछ्यानमा कैयौं रात सुत्न सकिनँ । घर मास्तिर चौताराको त्यो धूलौटे तेर्सो बाटो, जहाँ हामी हातेमालो गरेर दगुरिहिँड्थ्यौँ, कैयौँ दिनसम्म मैले त्यो धूलोमा उसको पाइताला खोजिरहेँ । यसरी म ऊबिना नितान्त एक्लो भएको थिएँ ।

भाइलाई चिहानमा विसर्जन गरेको भोलिपल्ट आमाले कसैलाई आँसुमिश्रित आदेश दिनुभयो, ‘मेरो कान्छाको घरमा कदमको रूख रोपिदिनू । गर्मीमा शीतल ताप्दै बसोस्... ।’
०००
अब भाइको घर पोखरीटारमा रहने भो । गाउँको पुछारदेखि खोलासम्मै लम्पसार ठडिएको विशाल तर सुक्खा पाखा । त्यसैको सिरानमा छ पोखरीटार । पोखरीको कहीँ कतै नामनिसान छैन, तैपनि नाम छ पोखरीटार । सायद कुनै समयमा पुर्खाहरूले बस्तुभाउका लागि पानीको जोहो गर्न पोखरी खनेका थिए । कालक्रममा सायद त्यो पुरियो । त्यही सुक्खा फाँट पछि हाम्रो वंशजको मृत शरीर विसर्जन गर्ने थलोमा परिणत भएको थियो । पोखरीटार अर्थात् चिहानघारी । त्यसैको एकछेउमा अवस्थित छ, यतिखेर भाइको स्थायी घर ।

तर, भाइ त्यहाँ सरेपछि आमाको दुःख झन् अरू बढ्न गयो । आमाले त्यो बाटो हिँड्नै छाड्नुभयो । खोलाको खेती धाउँदा या भोजपुर सदरमुकाम तर्दा हिँड्नुपर्ने एक मात्र मूलबाटो त्यही थियो । बाटोबाट लस्करै चिठिएका चिहानहरू प्रस्ट देखिन्थ्यो । भाइको चिहान देख्नु नपरोस् भनेर आमाले त्यो बाटोसँग दुस्मनी मोल्नुभयो । खेती धाउँदा या भोजपुर बजार जाँदा आमाले अर्कै बाटो रोज्नुभयो । आमाले रोजेको त्यो बाटो अत्यन्तै घुमाउरो र अप्ठ्यारो भस्मे झाडीहरू छिचोलेर हिँड्नुपर्थ्यो । खोलाबाट घर निस्कँदा हामीलाई एक घण्टा लाग्ने बाटो अब आमालाई दुई घण्टा लाग्न थाल्यो ।

आमा गाउँका गोठाला–खेताला वा त्यो बाटो भएर आउने हामी, जोसुकैलाई पनि अक्सर सोध्नुहुन्थ्यो, ‘मेरो कान्छाको घरमा कदमको रूख कत्रो भयो ?’
हामी उत्तर दिन्थ्यौँ, ‘हरियो भएर सरेको छ । झ्यांगिँदै छ ।’
फेरि भन्नुहुन्थ्यो, ‘भाइको घरलाई त्यसको छहारीले पुग्छ ?’
भन्थ्यौँ, ‘पुग्छ ।’
हाम्रो ‘पुग्छ’ ले आमा आश्वस्त बन्नुहुन्थ्यो कि हुन्थेन हामीलाई थाहा हुँदैनथियो । तर, उँधोतिर अथवा भाइको नयाँ घरको दिशातिर फर्केर उहाँ त्यसपछि मौन बस्नुहुन्थ्यो ।
किराती समाजमा अक्सर चिहान खनेपछि कुनै न कुनै रूख रोप्ने चलन छ । हरेक एक चिहान बराबर धस्किएको माटोमा एउटा रूख रोपेर सायद प्रकृतिलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने धारणा हुनुपर्छ यो । प्रकृतिसँग तादात्म्य सम्बन्ध रुचाउने किराती समाजको यो पर्यावरणीय चेतले कुनै एक कुनामै भए पनि पृथ्वीलाई जोगाएर राखेको छजस्तो लाग्छ । भलै आमाको त्यो कदमको रूखसँग भाइको जैविकताप्रतिको मनोवैज्ञानिक आग्रह जोडिएको नै किन नहोस्, तैपनि पर्यावरणीय चेतनाको घुमाउरो परम्परा त त्यहाँ पनि अवश्य बाँचेकै छ ।

भाइसँग जोडिएका मसिना–मसिना घटना, उसका लुगाफाटा र खेलौनाहरूसँग आमा धेरै पछिसम्म एकालापको शैलीमा संवाद गर्नुहुन्थ्यो । मानौँ ऊ आमाको अगाडि सदाझैँ टुक्रुक्क बसिरहेको छ र सुनिरहेको छ, आज्ञाकारी छोरा भएर आमाको वृत्तान्त । दूधको तसलामा कुराउनी खुर्किंदा जहिले पनि आमा एकपटक उसलाई सम्झिनुहुन्थ्यो र मसँग भन्नुहुन्थ्यो, ‘तेरो भाइ यो भाँडाको आवाज जहाँबाट पनि चिन्दथ्यो र सुन्नासाथ दगुरेर आउँथ्यो । भाँडामा तेरो भाग कुराउनी देखेर भन्थ्यो— यो ठूलोकान्छा दाजु त मरे पनि हुन्थ्यो । कुराउनी एक्लै खान्थेँ । तर, बिचरा ऊ आफैँ पहिले गयो । तेरो भाइलाई एकै रातको व्यथाले लग्यो । बिचराले ऐया पनि भन्न पाएन ।’ त्यसपछि आमा फेरि रुन थाल्नुहुन्थ्यो ।

पछि म ठूल्दाजुको पदचिह्न पछ्याउँदै काठमाडौं आएँ । दुई दिदी पनि यतै तानिनुभयो । घरमा आमा–बाबा एक्लै पर्नुभयो । यता आएपछि मैले आमालाई एकाधपटक सोधेको थिएँ, ‘आमा, भाइलाई त्यस्तो के व्यथा लागेको थियो, जसले उसलाई ऐया पनि भन्न दिएन ?’
आमाको जवाफ हुन्थ्यो, ‘वनको ।’
‘मर्ने बेला कस्तो लक्षण देखिएको थियो ?’

‘जीउ काठजस्तो दह्रो भएको थियो । टाउको र खुट्टा जोडिने गरी ढाड पछाडितिर दोब्रिन खोज्थ्यो ।’

जवाफ सुनेपछि मैले उतिखेर सामान्य अड्कल लागाएँ । आमाको ‘वनको’ भन्ने व्यथा सम्भवतः वनको नभएर धनुष्टंकार भन्ने रोग थियो, जसले एकै रातमा भाइलाई चुँडेर लग्यो । आज पनि गाउँघरमा त्यस्ता एक–राते वा चटके अनेक व्यथाहरू छन्, जसलाई गाउँले भाषामा ‘वनको’ भनिन्छ । त्यही ‘वनको’ ले मेरो भाइलाई पनि पाँचै वर्षको कलिलो उमेरमा, राम्ररी संसार देख्न नपाउँदै संसारले नै बिदा दियो । र, त्यही एक रातको दुःखान्त घटनाले मेरो जन्मको सोपान–शृंखलालाई भत्काइदियो । मेरा दाजु र दिदीहरूको तहगत हैसियतलाई केही असर नगरे पनि त्यसले मलाई असर पुर्‍यायो । किनभने म आमाको ‘ठूलोकान्छा’ बाट एक्कासि तल्लो सोपानमा झर्न पुगेको थिएँ । मलाई अब गाउँ–समाजले ‘कान्छा’ भनेर बोलाउन थालेका थिए ।

निकै पछि, ५३–५४ सालतिर आमा–बाबाले पनि गाउँ छाड्नुभयो । तर, गाउँमा रहिन्जेल आमाले त्यो मूलबाटोसँग दुस्मनी मोली नै रहनुभयो । एकपटक पनि पोखरीटारको त्यो बाटो नहिँडी सदाका लागि आमा काठमाडौं आउनुभयो ।

आज निरन्तर रूपमा गाउँ छाडेको पनि लगभग अढाई–तीन दशकभन्दा बढी भइसकेको छ । थाहा छैन, पोखरीटारस्थित भाइको त्यो स्थायी घर कस्तो अवस्थामा छ ? भत्किसक्यो कि यथावत् छ ? त्यो कदमको रूख कस्तो भयो होला ? के आज पनि भाइको घरलाई शीतल दिँदै उसैगरी उभिइरहेको होला ?

गोचर दुनियाँभन्दा परको दुनियाँमा पनि मान्छेलाई बिथोलिरहन सक्ने शक्ति कुनै चीजमा छ भने त्यो सायद निर्मम सम्झनामा छ । आज पनि, लगभग आधा शताब्दीपछाडि पनि जब म आफ्नो बाल्यकालतिर फर्किन्छु, म अक्सर भाइको त्यही कुलेसो परेको कलिलो गर्धन सम्झिन्छु, जहाँ म निर्मम ढंगले गुच्चा प्रहार गर्थेँ । र, जब त्यो सम्झिन्छु, आज पनि म त्यत्तिकै विचलित हुन्छु ।

मान्छेका दुःखहरू आ–आफ्नै हुन्छन् । आ–आफ्नै नामका बोझहरू हुने गर्छन् । मेरो पनि दुःख छ, आफ्नै नामको । भाइको मृत्युले प्रदान गरेको, जुन सामाजिक भोटोको हैसियतमा म यतिखेर बाँचिरहेछु, त्यही हैसियत मेरो दुःखको नाम हो, जुन दुःखको बोझ आजपर्यन्त मैले बोकेको बोक्यै छु ।

प्रकाशित : फाल्गुन १७, २०७६ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×