कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमृत जिन्दगी

जिन्दगीको अमृत जिन्दगी मात्रै हो भन्ने सत्यबोध नगरेसम्म वा विज्ञानले जैविक रासायनिक चमत्कारमार्फत मानवजातिलाई स्थायी खुसीको उपहार नदिएसम्म आत्मघातको सिलसिला रोकिँदैन । त्यसैले प्रिय, तिमीले जन्मँदै बोकेर आएका अथाह सम्भावनाहरु अझै पनि ज्युँदै छन् । नपत्याए, एकपटक ऐनाअगाडि स्वयंसँग सोधी हेर ।
राजन गोदार

प्रिय, तिमी मात्रै होइन, प्रत्येक नेपाली अवसाद बाँचिरहेछ । जीवनको अर्थहीनताले नबिथोलेको सायदै कोही छ । हरकोही तिमीजस्तै थकित छ, बेचैन छ । जिन्दगी, यसको अर्थ र अस्तित्वसँग तिम्रो मात्रै होइन, सबैको आ–आफ्नै सिकायत छ । विराट अस्तित्वले जति दिए पनि मान्छेको मन कहिल्यै भरिँदैन ।

अमृत जिन्दगी

मान्छेको जातै मगन्ते । हरक्षण उसले मागेकै जति चाहिएको छ । भिखारी शब्दले संसारका सबै मान्छेको वास्तविक थर बताउँछ । जस्तै, राजन भिखारी । मानवजातिको जैविक संरचनामै खोट छ । विज्ञानवाद भन्छ, मानव शरीरमा अनुभूतिअनुसार सेरोटोनिन र संवेदनायुक्त जैविक रसायन घोटाला भैरहन्छन् । तिम्रो मात्रै होइन, कैयनको मनमस्तिष्कमा आत्मघातको तरंग आउने–जाने भैरहन्छ । भलै तिमीलाई यी सबै कुरा शब्दमार्फत बुझाउन नसकुँला ।

मानवजातिको सामूहिक स्थायी खुसीको खोजमा अध्यात्म र विज्ञान आदिमकालदेखि ध्यानस्थ छन् । तर, घरघरमा डिप्रेसन छ । विश्वासको खडेरी नै यो डिप्रेसनको मुहान हो । घरभित्र होस् वा बाहिर विश्वास, भरोसा र सुरक्षाको कुनै प्रत्याभूति छैन । भावोत्तेजक व्याकुलता पोख्ने कुनै मान्छे/ठाउँ/संघसंस्था छैन । जनजनको मनमनमा बेचैनीको ज्वालामुखी छ, निकास छैन । लोग्नेस्वास्नी, सन्तति–अभिभावक, प्रेमीप्रेमिका, साथीभाइ, नातागोता, छरछिमेकी कसैलाई कसैको माया/भरोसा छैन । राज्यका निकाय वा निजी संघसंस्थाप्रति विश्वस्त हुन सक्ने सम्भावना छैन । अनिश्चितबाहेक सुनिश्चित केही छैन । समाजको छेउकुनाबाट समेत आडभरोसा लोप हुँदै छ । दिन प्रतिदिन अस्थिर मनोदशाको सिकार भैरहेको मान्छेको शारीरिक–मानसिक अनुशासन भताभुंग छ । सफलता जोख्ने थोत्रो मनोसामाजिक धर्मकाँटाले मान्छेलाई जिन्दगी बिर्साइदिएको छ । इन्टरनेट र स्मार्ट फोनका कारण मान्छेको अर्गानिक चेतनामा भाइरस पसेको छ । जोकोहीको मनमा ईर्ष्या चुलिएको छ । प्रत्येक श्वासप्रश्वासमा खुसी खोजिरहेको मानिस नानाथरी कुलतमा होमिएको छ । अनेकन कारणवश मान्छे शनैःशनै एकांगी हुँदै छ । र, आत्महत्या/आत्मघात नै निर्विकल्प समाधान मान्ने मूर्ख–ज्ञानीहरूको संख्या बढेको बढ्यै छ ।

हरेक मान्छे खुसीको पछाडि यति धेरै दौडिन्छ कि खुसी यदि व्यक्तिगत सवाल हुन्थ्यो भने यो धरामा बुद्धत्वबोध नगरेको कोही हुने थिएन । जिन्दगीप्रतिको कृतज्ञता र सन्तुष्टि निरपेक्ष रूपमा निजी मामला हुन्थ्यो भने कसैको जीवनमा पनि यो व्याकुलताको बास हुने थिएन । सामूहिक खुसी नै वैयक्तिक खुसीको कडी हो । एउटा व्यक्तिको खुसी अर्को व्यक्ति, त्यो समाज र राज्यको पनि कर्तव्य हो । मै खाऊँ, मै लाऊँवाला नार्सिसिस्टहरूको शासनमा राज्यसँग राखिने हरेक अपेक्षा अनुचित हुन्छ । सफलता जोख्ने धर्मकाँटा चोकैमा राखेर चियो गरिरहेको समाजसँग मानवीय संवेदनाको संवाद सम्भव छैन । र, कसैका खातिर कसैले आत्मोत्सर्ग गर्नेवाला छैन । जिन्दगीको अमृत जिन्दगी मात्रै हो भन्ने सत्यबोध नगरेसम्म वा विज्ञानले जैविक रासायनिक चमत्कारमार्फत मानवजातिलाई स्थायी खुसीको उपहार नदिएसम्म आत्मघातको सिलसिला रोकिँदैन । त्यसैले प्रिय, तिम्रो जिन्दगीको हली पनि तिमी, माली पनि तिमी, मालिक पनि तिमी । तिमीले जन्मँदै बोकेर आएका अथाह सम्भावनाहरू अझै पनि ज्युँदै छन् । नपत्याए, एकपटक ऐनाअगाडि स्वयंसँग सोधी हेर ।

परिस्थिति विकराल छ प्रिय । यदाकदा आत्मघाती सोचले तिमीलाई पनि जिन्दगीको भित्तासम्म धकेल्छ होला । खासै नयाँ कुरा होइन, न त यो तिम्रो मात्रै समस्या हो । जिन्दगीका घटना–दुर्घटनाले जन्माउने करोडौं प्रश्नहरूको जवाफ जिन्दगीसँगै छ ।

***

प्रिय अलबिदा, तिमी त आत्मघात गरेर गइगयौ । तर, तिमीले आत्मघात मात्रै गरेनौ । सकिनसकी जिन्दगानी बाँच्न खोजिरहेका तमाम जिन्दगीप्रति घोर अपमान गर्‍यौ । चरम निराशाले कोर्रा बर्साइरहँदा पनि आशाको उज्यालो पर्खिरहेका करोडौं जिन्दगीको धैर्यलाई गिज्यायौ । जिन्दगीको डिलमा उभिएर आत्महत्या ताकिरहेका लाखौं जिन्दगीलाई उक्सायौ । मिल्थ्यो भने, उक्साएको मुद्दा ठोकेर तिम्रो आत्मालाई कहिल्यै मुक्ति नपाउने गरी युगपर्यन्त कैदमा कोच्न मन थियो ।

हरदिन लाखौं मान्छेले अनेकन कारणवश जिन्दगी गुमाउँछन् । बुढ्यौली, रोग, भोक, नशा र घटना–दुर्घटनाले मान्छेका जिन्दगी सक्काएकै छ । युद्ध, राजनीति, धर्म, विपत्ति, कुलत र हत्याजन्य अपराधका कारण पनि मान्छेले जिन्दगी गुमाएकै छन् । अर्बौंको आवादीमा दुई–चार लाखको आत्महत्याले केही फरक पार्दैन । फरक त्यतिखेर पर्छ, जब मान्छे कहिल्यै मर्नै सक्दैन ।

आत्मघातीहरूको अंश सानो छ । तिमीजस्तै आत्महत्याराहरूका नाममा चिन्ता–चिन्तन गर्नॅ बेकारको कुरा हो । बुढ्यौली र आत्महत्याबाहेक मृत्युका अरू सबै कारणमाथि केही गर्न सके समग्र मानवजातिको हित हुन्थ्यो ।

तर, अनमोल जिन्दगीहरूले कौडीको भाउमा अलविदा भनिरहेको देख्दादेख्दै, जिन्दगीलाई सोझै इन्कार गरेको हेर्दाहेर्दै तिम्रोजस्तै मनोदशामा बाँचिरहेका जिन्दगीहरूको मायाले बेचैन छु म । सत्य बोल्नुपर्छ, माया तिनको लागेको हो जो आत्महत्याउन्मुख छन् । आत्मघाती मनोदशा बोकेर जिन्दगीको डिलमा छन् ।

***

किन कसैले आत्महत्या गर्‍यो भन्ने विषय कल्पनातीत हुँदो रहेछ । कस्सम, फेरि बाँच्ने ग्यारेन्टी हुँदो हो त म एकपटक आत्महत्या गरेर हेर्न चाहन्थेँ । आत्महत्याका बारेमा पढेर, सुनेर, जानेर कहिल्यै नसकिने सामग्री छन्, जीवनको तनाव र त्यसले जन्माउने भावावेग । नानाथरीका मानसिक गडबडी/विचलन । जैविक रासायनिक क्रिया–प्रतिक्रिया । संवेदनाजन्य सनसनी । नशाजन्य लत कुलत । जिन्दगीप्रतिको वितृष्णा । खाद्य अनुशासन । आत्महत्या गर्नेभन्दा पनि भैजाने विषय हो । आत्महत्या न भैजान्छ न त गरिन्छ नै, आत्महत्या गराइन्छ । राज्य, समाज, व्यक्ति मिलेर आत्महत्या गराइन्छ अनि गरिन्छ र त्यसपछि भैजान्छ । हरेक मान्छे एकआपसमा अतुलनीय छन् । आत्महत्याको कारण पनि उत्तिकै वैयक्तिक हुन्छ । आदि इत्यादि । खैर, कसरी मान्छे आत्मघातको मनोदशासम्म पुग्छ भन्ने कुरा चर्चा गर्न सकिएला तर त्यो एक टुक्रा समयमा मान्छेको मनमस्तिष्कभित्र मच्चिने उपद्रव भने सधैं शोधको विषयमै सीमित रहला ।

सरसर्ती हेर्दा यी पाँच कारण कारक तत्त्व हुन सक्छन्— सम्पत्ति, सम्बन्ध, सफलता, स्वास्थ्य र स्वभाव । र अर्को, अकारण । कुनै पनि कारण अर्कोभन्दा कमजोर छैन । कारण जेसुकै होस्, आत्महत्याले लक्षित गरेको उद्देश्य एउटै हुन्छ : सुख/मुक्ति । मुक्ति शरीरजन्यभन्दा पनि आत्माजन्य चीज हो । भोग्नै नपाइने सुखको तृष्णाले जन्माउने जिन्दगीप्रतिको वितृष्णा र त्यसकै कारण गरिने आत्महत्या दुवै अर्थहीन छन् ।

सोच, प्रक्रियाका कुरा अलग छन् । जुनसुकै सूत्र/शास्त्र, ज्ञानविज्ञान लगाएर पनि आत्महत्याको रहस्य पहिल्याउन सकिँदैन किनभने आत्महत्या अकारण हुन्छ । जान्नेहरू दाबी गर्छन्, सुसाइड नोट कानुनका लागि प्रमाण हो तर त्यही नोटबाट कदापि त्यो तात्कालिक मनोदशाको कारण पत्ता लाग्दैन ।

***

प्रिय अलबिदा, तिमीले किन त्यसो गर्‍यौ भनेर अन्दाज मात्र लगाउन सक्छु । जुन विषय अन्दाज मात्रै लगाउन सकिन्छ, च्याँखे थाप्न मात्रै सकिन्छ, त्यस विषयमा घोरिनु झुर काम हो । तर, हरेक दिन उस्तै खबर ठोक्किन आइपुग्छ । अनि बेचैनी उम्लिन्छ । मुखमा आएजति गाली बर्बराउँछु । अनमोल जिन्दगीको अवमूल्यन गर्नेहरू सम्झँदा रिसले शरीर पूरै थर्थर–थर्थर काँपिरहन्छ । आवेगको यो आगो आँखाबाट ननिस्कुन्जेल आकुलव्याकुल हुन्छु ।

रिस मरेकै क्षण तिमीजस्तै सबैको माया लागेर आउँछ । सोच्छु, सोध्छु— कस्तो संवेग र भावावेशको सम्मोहनमा परिगयौ ? जिन्दगीले तिम्रो मुटुमा कस्तो गाँठो पार्‍यो जसलाई फुकाउन जीवनकै घाँटी रेट्यौ ? जुन भावावेग टाउकोमा सवार भयो, त्यसको तयारी कसरी भयो ? कसले गरिदियो ? त्यो मनोदशा कसले हुर्काइदियो ? आखिर के थियो त्यो ? एक टुक्रा समयमा जिन्दगीको तनावले सिर्जेको एक टुक्रा आवेग ? एकक्षणको लाचारी वा चरम निराशा ? जिन्दगीको पीडा भुलाउन खोजेको पेनकिलर ? क्षणभंगुरको मनोवैज्ञानिक विकार ? गुम्सिएको भावनात्मक दबाब ? दोष लगायौ कि रिस पोख्यौ ? साहस थियो कि दुस्साहस ? शक्ति थियो कि कमजोरी ? शैक्षिक, आर्थिक, सामाजिक कुन असफलता थियो ? स्वयंलाई बोझ सम्झियौ, अरू कसैका लागि ? तिमीले आत्मघात गर्‍यौ कि जिन्दगीको अर्थहीनता आत्मसात् गर्‍यौ ? जे होस्, त्यो एक टुक्रा समय, त्यो क्षणभंगुरको आवेग मान्छेले पहिल्याउन नसकेको बूढो जर्जर रहस्य हो । तर्क–कुतर्कको वादविवाद सायदै टुंगिएला ।

खैर, यो कुनै ठूलो कुरा भएन । महत्त्वको कुरा त यो भयो कि तिमीले असंख्य मानिसलाई यो प्रवृत्ति सारेर गयौ । कैंयन मानिसलाई आत्मघाती निर्णय गर्न हौस्याएर गयौ । जिन्दगीसँग खेलाँची गर्न सिकाएर गयौ । जिन्दगी अर्थहीन छ भन्ने गलत पाठ पढाएर गयौ । उसले त गर्‍यो, मैले किन नगर्ने भन्ने गलत मानसिकताको बीउ रोपेर गयौ । जाँदाजाँदै तिमीले आमसञ्चारका लागि टीआरपी बढाउने ट्याब्लेट दिएर गयौ । गजब छ, यहाँ आत्महत्या बडो सनसनी खबर बन्छ । अनि हिजोआज आत्महत्या सरुवा रोगजस्तै भैगएको छ ।

***

प्रिय, जिन्दगी तनावैतनावको खानी हो । जिन्दगीको बहीखाता पल्टाई हेर । सुखदुःखको जोडघटाउ गर । अपेक्षा र नतिजा, चाहना र यथार्थ, योजना र सफलता, मिलन र विछोडको लेखाजोखा गरिहेर । जिन्दगीको समग्रता भनेकै दुःख हो । तर, यसको मतलब यो होइन कि जिन्दगीमा सुखचैन छँदै छैन । मान्छे आफूसँग भएका सुखचैनको बीउ मास्दै छ । दुःख, बेचैनी, कष्ट, तनाव फलाउने/फुलाउने बीउ रोपिरहेको छ । अस्तित्वको नियम तिम्रो मेरो इच्छा आकांक्षाले चल्दैन । जिन्दगीको सर्वोत्कृष्ट गीत अविराम संघर्ष हो । जीवलोकको नियममा जीवन र मरण स्वचालित छ । तिमी हामी फाँक्कैमा हतार गर्छौं । जन्मँदा अमृत लिएर जन्मेको मान्छे हरेक पल विषैविषको ओभरडोजले विषालु भैगएको छ । मान्छे हिजोआज मानवीय छैन, यान्त्रिक र रासायनिक भैगएको छ । तिम्रो मेरो ज्ञानेन्द्रियले विभिन्न भोक मेटाउन जिन्दगीको अनिवार्य ज्ञान/नियम बिर्सेको छ । तिम्रो मेरो अनेकन हल्लाखल्लामा जिन्दगीको मीठो धुन पातलिँदै गएको छ । कवाडी समाजले परिभाषित गरिदिएको सफलताको भुलभुलैयाभित्र सुखानुभूति खोजिरहेछौं । जिन्दगी र पैसाबीचको अनुचित साँठगाँठमा जीवनका अकाट्य सत्यहरू खरानी भएका छन् । सफलताको कुलतले जिन्दगीको सुन्दर अनुहारमा कालो पोतिसकेको छ ।

भीम विरागको यो गीत सुनी हेर त एकपटक ।

फूलैफूल मात्र पनि होइन रैछ जीवन

काँडाबीच फुल्ने फूल रैछ जीवन...

विषैविष मात्र पनि होइन रैछ जीवन

काँडाबीच फुल्ने फूल रैछ जीवन...

रहर गर्नु मात्रै पनि होइन रैछ जीवन

मुस्कान र आँसुको संगम रैछ जीवन

प्रिय, जिन्दगीको आकस्मिक अवतरण भएपछि अर्बौं–अर्ब जिन्दगी एउटा आशातीत अन्तरालमा छन् । यस ट्रान्जिटमा अर्बौं जिन्दगी अलपत्र छन् । अर्बौं उदास जिन्दगीका आँखाबाट खर्बौं सपना बगिसके होलान् । अर्बौं हतास मनभित्र खर्बौं गुरुयोजनाका खर्बौं–खर्ब चिहान बनिसके होलान् । जिन्दगी पुरानैमा लयबद्ध गर्न मै हुँ भन्नेहरूले समेत हार खाइसके होलान् ।

जिन्दगीको नयाँ लय कम्पोज गर्न त समय लाग्छ नि प्रिय । सत्य हो, जिन्दगी छोटो छ । तर, पुरानो र नयाँबीचको यो ट्रान्जिट जिन्दगीभन्दा लामो अवश्य छैन, थिएन । आ–आफ्नै रफ्तारमा जिन्दगी अविरल बगिरहेका थिए । फेरि पनि बगिरहन्छन् ।

जहिलेदेखि तिम्रो मेरो जिन्दगी तमाम नाफाघाटा र जोडघटाउको राजमार्गमा प्रवेश गर्‍यो, त्यतै कतै फसिगयो । जिन्दगीको देखिने पाटोबाहेक कुनाकाप्चा–अन्तरकुन्तर कहिले सजायौं ? तनमनको विकार मोचन कहिले गर्‍यौं ? आफ्नै सास, आस र वैराग्यको साक्षी बस्ने छुट्टी कहिले मिल्यो ? फुर्सद नै थिएन, जो आज मिलेको छ । तसर्थ यो ट्रान्जिट आशीर्वाद पनि हो । तिमीले भित्रैसम्म नछामेर पो त, जिन्दगीको मादकतामा यो कुरूप अनि कहालीलाग्दो अन्तराल पनि सुन्दर छ, मादक छ । प्रिय, तिमीले सराप मात्रै बुझ्ने गल्ती गरिदियौ भने लाखौंलाख जिन्दगीले बाटो बिराउन सक्छन् । तिमी, छैन को पछाडि अन्धाधुन्ध भाग्न थाल्यौ भने तिमीसँग भएको पनि बिर्सिजान्छौ । जे छैन, छैन ।

मृत्युचेतले ओतप्रोत मिस्टर नगरकोटीलाई हिजोआज मान्छेको आत्महत्याले त्यति छुँदैन । तपाईंले मिस्टर नगरकोटीलाई किन मान्छेले आत्महत्या गर्छ भनेर सोधिहाल्नुभयो भने जवाफ यस्तो आउँछ ः किन गर्छन्, नगरी थाहा हुँदैन । द फ्रैक्सन अफ टाइम इज अ टोटल मिस्ट्री । बाँच्नु एक डिस्गस्टिङ लत हो, सारा अस्तित्व एक एडिक्सन । सही हो । विज्ञानले जैविक रासायनिक गडबडीका केही सूत्र सिद्ध गरे पनि आत्महत्याको तात्कालिक मनोदशा मनोविज्ञानले पहिल्याउन नसक्ने रहस्य हो । आत्महत्या जैविक घोटाला हो कि मानसिक विचलन भन्ने प्रश्नको कुनै स्पष्ट जवाफ भेटिँदैन । मान्छेको शरीरभित्र सोचअनुसारको रासायनिक प्रतिक्रिया घट्छ, जसले जैविक सनसनी मच्चाउँछ र जैविक सनसनीले रासायनिक घोटाला हुन्छ । त्यही घोटालामा हुन्छ, जे जे हुन्छ । मानव शरीरको मानसिक र जैविक सन्तुलन आफैंमा अर्को पहेली हो ।

प्रिय, बिन्ती छ, जिन्दगी नचाहेर पनि बाँच्नैपर्छ भन्ने छैन । तिमी यहाँ हुँदा कसैलाई केही फरक पर्छ भन्ने लाग्दैन भने यहाँबाट जानुभन्दा अगाडि फरक पारेर जाऊ, जाँदाजाँदै एउटा कृपा गरेर जाऊ । तिम्रो अधिकारले भ्याएजति, तिम्रो सामर्थ्यले सकेजति र तिम्रो वशमा भएजति सबै दान दिएर जाऊ । शरीरका सबै अंगप्रत्यंग, धनसम्पत्ति, ज्ञान, विवेक, अनुभव जे–जे सम्भव छ, सबै बाँच्न चाहनेहरूलाई उपहार दिएर जाऊ । कैयनले गीतसंगीत पढेका छन् तर सुन्न सकिरहेका छैनन् । तिनलाई तिम्रा एक जोर कान दिएर जाऊ । कैंयनले चन्द्रसूर्य सुनेका छन्, देखेका छैनन् । तिनलाई तिम्रा एक जोर आँखा दिएर जाऊ । कैंयन सिरोसिसका बिरामी अस्पतालमा तड्पिरहेका छन्, तिनलाई तिम्रो एक थान फोक्सो, कलेजो दिएर जाऊ । मिर्गौला फेल भएको मान्छेका लागि तिम्रा एकजोडी मिर्गौला दिएर जाऊ । जस–जसले तिम्रा अंगप्रत्यंगको उपभोग गर्लान्, जाँदाजाँदै तिनका लागि ईश्वर बनेर जाऊ । तिनलाई जिन्दगीभर तिमीप्रति अनुगृहीत बनाएर जाऊ । यति गरिदिएर मलाई पनि मृत्युपर्यन्त तिम्रो ऋणी बनाएर जाऊ ।

जिन्दगी जिन्दगीजस्तै सुन्दर बाँचेर जाऊ । एकबारको जिन्दगी भरपूर मज्जा लिएर जाऊ ।

-लेखक करिअर काउन्सिलर हुन् ।

@RajanGodar

प्रकाशित : श्रावण १०, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?