कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अयोध्या कहाँ ?

ब्राह्मण साहित्यमा अयोध्यालाई एउटा गाउँका रुपमा वर्णन गरिएको छ । भागवत् पुराणमा चाहिँ एक नगरका रुपमा । स्कन्द पुराणमा अयोध्याको आकार माछाको जस्तो छ भनिएको छ । र, रामायणमा रामका पिता राजा दशरथको कोशल राज्यको राजधानीका रुपमा उल्लेख छ ।
बौद्धकालमा कोशल राज्य उत्तर र दक्षिणमा विभाजित थियो र दक्षिण कोशलको राजधानी अयोध्या थियो । भनेपछि अयोध्या कहाँ पर्थ्यो त ?
भोगीराज चाम्लिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका बारेमा जेजस्तो अभिव्यक्ति दिए, त्यसले नेपाल र भारतमा राम्रै तरंग पैदा भयो । भारतले आपत्ति जनाउनु त स्वाभाविकै हो, स्वयं नेपाली समाज पनि प्रधानमन्त्रीको भनाइप्रति खासै विश्वस्त हुन सकेन ।

अयोध्या कहाँ ?

किनभने, एकातिर आफ्नो अभिव्यक्तिलाई थेग्न सक्ने पर्याप्त आधार प्रधानमन्त्री ओलीले दिन सकेनन्, अर्कोतिर ऐतिहासिक परम्पराले पनि उनको कुरा पुष्टि गर्ने स्थिति छैन । प्रधानमन्त्रीको ‘कुरा’ आफ्नै ठाउँमा राखेर के अयोध्या नेपालमै पर्छ ? कि भारतको अयोध्याकै पछाडि ऐतिहासिक तथ्यहरू मौजुद छन् ? भन्नेबारे केही छलफल गर्ने प्रयास गरिएको छ ।

***

हिन्दुहरूको सात तीर्थस्थलमध्ये एक हो– अयोध्या, जसलाई ‘अयोज्झा’ र ‘अयुधा’ नामले पनि उत्तिकै चिनिन्छ । चिनियाँ यात्री फाहियानले यसलाई शा–चि भनेका छन् भने पोलेमीले सोगेद (सगद) । अयोध्याका अरू पनि नाम छन्– साकेत्, इक्ष्वाकुभूमि, कोशल र रामपुरी (विमल चरण लाहा, प्राचीन भारत का ऐतिहासिक भूगोल, सन् १९७२, पृष्ठ ११४, नुन्दो लाल डे, द जिओग्राफिकल डिक्सनरी अफ एन्सियन्ट एन्ड मेडियबल इन्डिया, सन् १९२७, पृष्ठ १७४) ।

बौद्धमार्गीका लागि साकेत् हो अयोध्या (नुन्दो लाल डे, पृष्ठ ११४) । कतिपयले साकेत् र अयोध्या फरकफरक स्थान हो भन्ने मान्यता पनि राखेको पाइन्छ तर अयोध्यासम्बन्धी विस्तृत अनुसन्धान गरेका हान्स बेक्करको निचोडमा साकेत् र अयोध्या एकै हो । उनका अनुसार, पाँचौं शताब्दीको आधाउधीतिर साकेत् र अयोध्या एकै हुन् भन्ने प्रस्ट उल्लेख छ । जस्तो कि कालिदासले रघुवंशमा साकेत् र अयोध्या नाम पर्यायवाची रूपमा प्रयोग गरेका छन् (हान्स बेक्कर, अयोध्या, पार्ट वान्, सन् १९८४, पृष्ठ ६१) ।

ब्राह्मण साहित्य (ऐतरीय ब्राह्मण) मा अयोध्यालाई एउटा गाउँको रूपमा वर्णन गरिएको छ । भागवत् पुराणमा चाहिँ यसलाई एउटा नगरका रूपमा वर्णन गरिएको छ । स्कन्द पुराणमा अयोध्याको आकार माछाको जस्तो (मत्स्याकार) छ भनिएको छ । र, रामायणमा रामका पिता राजा दशरथको कोशल राज्यको राजधानीका रूपमा उल्लेख छ (विमल चरण लाहा, पृष्ठ ११४) । बौद्धकालमा कोशल राज्य उत्तर र दक्षिणमा विभाजित थियो र दक्षिण कोशलको राजधानी अयोध्या थियो (विमल चरण लाहा, पृष्ठ ११५) । भनेपछि अयोध्या कहाँ पर्थ्यो त ?

पाँचौं शताब्दीका चिनियाँ यात्री फाहियानले गंगा नदी तरेपछि दक्षिण–पूर्वमा ३ योजन हिँडेपछि शा–चि (अयोध्या) भन्ने विशाल अधिराज्य आइपुगिन्छ भन्ने उल्लेख गरेका छन् । जेम्स लेग्गेले चर्चा गरेअनुसार, शा–चे भनेको शाखे हो । फाहियानले शाखेलाई शा–चि नामकरण गरे र शाखे भनेको साकेत् हो (द ट्राभल्स अफ् फाहियान, सन् १९७१, पृष्ठ ५४–५५) । शा–चि भनेको साकेत् (अयोध्या) नै हो भन्ने मान्यता अलेक्जेन्डर कनिङ्घमको पनि छ (अलेक्जेन्डर कनिङ्घम, एन्सियन्ट जिओग्राफी अफ इन्डिया, सन् १८७१, पृष्ठ ३९८) । कनिङ्घमको विचारमा ह्वेन साङले भनेको विसाख पनि साकेत् (अयोध्या) नै हो (एन्सियन्ट जिओग्राफी अफ इन्डिया, पृष्ठ ४०५) ।

सातौं शताब्दीमा भारत आएका चिनियाँ यात्री ह्वेन साङ (युवान च्वाङ) ले न–पो–ति–पो–कु–लो (नव–देव–कुल) बाट दक्षिणतर्फ ६०० माइलभन्दा बढी हिँडेपछि गंगा नदी तरेर दक्षिणमा अयुतो पुगेको उल्लेख गरेका छन् (ह्वेन साङ, बुद्धिस्ट रिकर्ड अफ द वेस्टर्न वर्ल्ड, अंग्रेजीबाट अनुवाद स्यामुयल बिल, सन् १८८४, पृष्ठ २२३) । कनिङ्घमका अनुसार, अयुतो भनेको अयुधा अर्थात् अयोध्या हो (एन्सियन्ट जिओग्राफी अफ् इन्डिया, पृष्ठ ३८३) ।

उता रामायणअनुसार, पनि कोशल राज्य दक्षिणमा गुम्ती र गंगा नदीको बीचमा स्यान्डिका नदीसम्म फैलिएको थियो । बौद्धकालमा अयोध्या उत्तर कोशल र दक्षिण कोशलमा विभाजित थियो । सरयू नदीले यी दुई राज्य (जनपद) लाई विभाजित गरेको थियो । बुद्धको समयमा राजा प्रषेणजितका पिता महाकोशलका पालामा कोशलको सीमा बढेर हिमालयदेखि गंगासम्म र रामगंगादेखि गण्डकम्म फैलिएको थियो (नुन्दो लाल डे, पृष्ठ १४) । शतपथ ब्राह्मणका अनुसार पनि कोशल राज्यको पूर्वी सिमाना सदानिर नदीसम्म थियो र सदानिर नेपालको गण्डकी नदीलाई मानिन्छ (हान्स बेक्कर, पृष्ठ २) ।

रामायणको पहिलो काण्ड अर्थात् बालकाण्डअनुसार, अयोध्या सरयू नदीको किनारमा अवस्थित छ (हान्स बेक्कर, पृष्ठ १०) । र, अयोज्झा (अयोध्या) सरयू नदीको किनारमा रहेको कोशल राज्यको सहर थियो । तर, कतिपयले अज्ञानतावश गंगामा पनि अयोज्झा छ भन्ने गरेको पाइन्छ । रिस डेबिसको विचारमा गंगाको किनारमा छ भनिएको अयोज्झा भूलवश उल्लेख भएको हो (टी.डब्ल्यु. रिस डेबिस, बुद्धिस्ट इन्डिया, सन् १९११, पृष्ठ ३४) ।

समुद्रगुप्तद्वारा जारी ताम्रपत्रमा पनि अयोध्या उत्तर प्रदेश (अवध) को घाघरा नदीसँग समीकृत (मिसिएको) सरयू नदीको दोभानको तटमा अवस्थित सहरका रूपमा वर्णन गरिएको छ, जुन भारतको फैजावाद रेलस्टेसनदेखि ६ माइल टाढा पर्छ । ‘सम् जैन क्यानोनिकल सुत्राज्’ (सन् १९४९) का अनुसार, अयोध्या कन्नौजबाट लगभग १५० माइल दक्षिणपूर्वमा अवस्थित रहेको छ (विमल चरण लाहा, पृष्ठ ११४) ।

अर्को कुरा, अयोध्या गंगा नदीभन्दा दक्षिणतिरै पर्छ भन्ने कुरा रामायणमा उल्लेख हुने भूगोल र रामायाण पात्रहरूको यात्राबाट पनि स्पष्ट हुन्छ । जस्तो कि भरतले अयोध्या पुग्नका लागि हस्तिनापुरमा गंगा नदी पार गर्नुपरेको छ (एच.डी. संकालिया, द रामायण इन हिस्टोरिकल पर्स्पेक्टिभ, सन् १९८२, पृष्ठ ३०) । र, डा. मोती चन्द्रका अनुसार, यो हस्तिनापुर वर्तमान भारतको हसनपुर हो (एच.डी. संकालिया, पृष्ठ ३४) । छोरा जन्मियोस् भनेर राजा दशरथले चिरोदकमा ऋषि ऋष्यशृंगको मद्दतमा बलि चढाएका थिए (जसलाई अहिले भारतमा चिरसागर भनिन्छ) भन्ने कुराले पनि अयोध्या गंगा नदीको दक्षिणमा पर्छ भन्ने कुरा नै स्पष्ट हुन्छ (नुन्दो लाल डे, पृष्ठ ११४) ।

***

निश्चय नै अयोध्या प्राचीन सहर हो । तर, कति प्राचीन ? इसापूर्व २००० कि मात्र इसापूर्व ७०० ? यो कुरा अयोध्या सहरमा भएको उत्खननले मात्र भरपर्दो जवाफ दिन सक्छ (एच.डी. संकालिया, पृष्ठ २९) । एच.डी. संकालियाको मतअनुसार, यदि ऐतरेय ब्राह्मणमा उल्लेख भएको कुरा सत्य हो भने प्रारम्भमा अयोध्यामा माटोको हिलोबाट बनेका घरहरू थिए, जुन अहिले पनि अयोध्याका वरिपरिका गाउँहरूमा देख्न सकिन्छ । यहाँसम्म कि पुराणहरूले पनि राजा हरिशचन्द्रको पालामा अयोध्या गाउँ नै थियो भनेर उल्लेख गरेको छ । रामायणमा उल्लेख भएअनुसार, रामचन्द्रलाई वनवास पठाइने खबर सुनेपछि कौशल्या बेहोस भएर भुइँमा ढल्छिन् र उनको शरीर धूलोले ढाकिन्छ । ‘धूलोले ढाकेको’ यो झिनो प्रमाणका आधारमा अलिकति संकोच मान्दै एच.डी. संकालिया के भन्छन् भने प्रारम्भिक समयमा पुरानो अयोध्यामा घरहरू हिलो माटोबाट बनेका हुन्थे । यस आधारमा भन्दा अयोध्या बढीमा इसापूर्व आठौं शताब्दी पुरानो हो (एच.डी. संकालिया, पृष्ठ ५२) ।

तस्बिर स्रोत : प्राचीन भारतका ऐतिहासिक भूगोल

संस्कृत महाकाव्यहरूमा वर्णन गरिने हस्तिनापुर, अहिच्छत्र, काम्पिल्या, कौसाम्बी, कनोज, राजगीर, पाटलीपुत्र, वैशाली, श्रावस्तीलगायतका ७४ सहरहरूमा गरिएको उत्खननमा पाइएका माटाका भाँडा, फलाम इत्यादिका आधारमा भन्दाखेरि यी सहरमा सबैभन्दा पहिला माटोको हिलो र माटोका इँटा प्रयोग गरेर घरहरू बनाइन्थे र कार्बन–१४ का आधारमा गरिएको मिति निर्धारणले यी सहरहरूमा इसापूर्व पाँचौं शताब्दीदेखि मात्र पकाइएका इँटा प्रयोग हुन थालेको हो । उत्तर प्रदेश र बिहारका थुप्रै स्थलहरूमा गरिएका उत्खननका आधारमा भन्ने हो पनि भने अयोध्यामा इँटाको प्रयोग इसापूर्व चौथो शताब्दीभन्दा पहिलेदेखिको हो (संकालिया, पृष्ठ ५२–५३) । अर्थात् इसापूर्व चौथो शताब्दीभन्दा परानो सहर हो अयोध्या ।

फेरि दशरथका तीन जना रानीहरू, राम र सीतालगयतका लागि अलगअलग घर (दरबार) बनाइएको वर्णन रामायणमा छ । त्यस्तै कालीगढ, हजाम, संगीतकार, व्यापारीहरूको, जो उल्लेख रामायणमा छ, घरबाहिर निस्कँदा घुँघट लगाएर निस्कने महिलाहरूको वर्णन, जो रामायणमा छ यतिबिघ्न विकसित सामाजिक संगठन र मूल्यमान्यताहरूले चाहिँ अयोध्या धेरै पुरानो होइन भन्ने देखिन्छ (एच.डी. संकालिया, पृष्ठ ५२) । तर, यो पछि थपिएको अंश हो सहजै भन्न सकिन्छ ।

एच.डी. संकालियाले अयोध्याको विकासको पाँच चरणमा भएको बताएका छन् । ऐतरेय ब्राह्मण (इसापूर्व १०००–८००) मा उल्लेख भएअनुसार, पहिलो चरणमा अयोध्यामा गाउँ अथवा सानो सहर थियो जहाँ पशुपालन, सिकार र धान खेती गरिन्थ्यो । दोस्रो चरणमा बुद्ध र अजातशत्रुको समयमा अयोध्या केही ठूलो सहर बन्न पुगेको थियो तर अर्थतन्त्र चाहिँ लगभग पहिलो चरणकै जस्तो थियो । तेस्रो चरणमा राजा अशोकका पालामा अयोध्या निकै विकसित हुन पुग्यो । त्यसबखत थुप्रै स्तूप र गुम्बाहरू बनेका थिए । त्यस्तै चौथो चरणमा पुष्यमित्रका पालामा यवन (ग्रीक) हरूलाई पराजित गरेपछि अश्वमेध यज्ञ गरिएको थियो ।

त्यसबखत दरबार र मन्दिरहरू बनाइएका थिए । यही बखत अयोध्याको पूर्वी भारत र निकै टाढाको गान्धारसँग गंगाको तल्लो र माथिल्लो मैदान हुँदै चल्ने मार्गमार्फत सम्बन्ध स्थापित हुन पुगेको थियो । यही बखत चन्द्रगुप्त मौर्यले अलेक्जेन्डरका अखडाहरू हटाएर गान्धारमाथि पाटलिपुत्रको प्रभुत्व स्थापित गरेका थिए । र, पाँचौं चरणमा गुप्त शासनकालमा अयोध्याको थप विकास भयो । यसबखत अयोध्यामा देव मन्दिरहरू बने, जुन ह्वेन साङले आफ्नो यात्रा वर्णनमा उल्लेख गर्दासम्म यथावत् थिए । सम्भवतः रामायणमा वर्णन गरिएको अयोध्या यही समयको हुन सक्ने सम्भावना छ (एच.डी. संकालिया, पृष्ठ ५४) ।

रामायणमा अयोध्या सहरलाई विकसित सहरका रूपमा चर्चा गरिएको छ । यी कतिपय कुरा बढाइचढाइ पनि हुन सक्छ (एच.डी. संकालिया, पृष्ठ २८) । जस्तो कि रामायणअनुसार, यो धनधान्ययुक्त नगर थियो । छेउछाउमा फूलहरू झुलिरहेको फराकिलो सडक थियो । ढोकाहरूमा तोरण थियो । पूर्णतः सुरक्षित सहर थियो । चारैतिर पानी भरिएको नालीले घेरिएका कारण अभेद्य थियो । संगीतको ध्वनि गुन्जिरहन्थ्यो (विमल चरण लाहा, पृष्ठ ११६) ।

बी.बी. लालले पनि अयोध्यामा गरेको उत्खननका आधारमा अयोध्यामा सहरी बस्तीको सुरुआत इसापूर्व छैटौं शताब्दीको अन्त्य अथवा इसापूर्व पाँचौं शताब्दीको मध्यतिर सुरु भएको बताएका छन् । यही बखत गंगाको मैदानमा सहरहरू विकास हुन थालेको हो (हान्स बेक्कर, पृष्ठ २) ।

इसापूर्व आठौं र सातौं शताब्दीमा घुमन्ते मानवहरू गंगाको मैदानमा आवाद गरेर बस्न थालेपछि ससाना बस्ती सुरु भयो । बस्तीकै कारण यातायात मार्गहरू पनि यही बाटो भएर विकास भएका हुन् । र, इसापूर्व छैटौं शताब्दीमा सहरका रूपमा विकास भएर आदिवासीय जनपदहरू अधिराज्य र गणराज्यमा विकास भए । यही क्रममा जनपदका रूपमा रहेको कोशल अधिराज्यका रूपमा विकास भयो । यही बखत इसापूर्व छैटौं शताब्दीको दोस्रो दशकदेखि पाँचौं शताब्दीका बीचमा कोशलभित्र साकेत् (अयोध्या) र श्रावस्ती नामका दुई सहरहरू विकास भएका थिए जुन त्यसबखतका ६ ठूला सहरमध्ये थिए (हान्स् बेक्कर, पृष्ठ २) ।

***

बुद्धको समयमा यो सहरको खासै महत्त्व थिएन (टी.डब्ल्यू. रिस डेबिस, बुद्धिस्ट इन्डिया, सन् १९११, पृष्ठ ३४) । र, पाँचौं शताब्दीमा अयोध्या पुगेका चिनियाँ यात्री फाहियानले बौद्ध र ब्राह्मणहरूबीच राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन् । उनले त्यहाँ एउटा स्तूप पनि देखेका थिए जहाँ चार जना बौद्धहरू थिए (विमल चरण लाहा, पृष्ठ ११५) ।

ह्वेन साङले देखेअनुसार, अयोध्यामा १०० भन्दा बढी बौद्ध विहार र ३००० भन्दा बढी बौद्ध भिक्षुहरू थिए । त्यहाँ १० वटा मन्दिर थिए र गैरबौद्ध धर्मावलम्बी ज्यादै कम थिए । गंगा नदीको नजिकै एउटा विशाल बौद्ध विहारमा बुद्धले आफ्नो प्रवचन दिएका थिए –ह्वेन साङ, पृष्ठ २२५) ।

ह्वेन साङले उल्लेख गरेजस्तै हान्स बेक्कर पनि के भन्छन् भने इसापूर्व ५०० देखि इसाको ५०० सम्मको १००० वर्ष साकेत् (अयोध्या) मा मूलतः बौद्ध धर्मको प्रभाव थियो । सन् १००० पछि चाहिँ बौद्ध धर्मले अयोध्यामा आफ्नो प्रभाव गुमायो (हान्स बेक्कर, अयोध्या, पृष्ठ ३७) । हान्स बेक्करकै अनुसार, अयोध्यामा इसापूर्व छैटौं शताब्दीताका जैन धर्मको पनि उत्तिकै प्रभाव थियो (अयोध्या, पृष्ठ ३८) ।

सुङ्ग शासक धन (देवे) ले इसापूर्व १८५ मा मौर्य साम्राज्य ध्वस्त गरेका आफ्ना पुर्खा पुष्यमित्र (रामशरण शर्मा, एन्सियन्ट इन्डिया, सन् १९७७, पृष्ठ १००) ले अयोध्यामा दुईपटक अश्वमेध यज्ञ गरेको उल्लेख गरेका छन् । उनै देवे र दत्तले साकेत्मा ब्राह्मण धर्म (हिन्दु धर्मको पूर्वरूप) को जग बसाएका थिए । यी राजाहरूले जारी गरेको मुद्रामा साँढेको तस्बिर अंकित गरिएको छ जसलाई विद्वान्हरूले शिवसँग जोडेर व्याख्या गरेका छन् (हान्स बेक्कर, पृष्ठ ४१) ।

लामो समयसम्म बौद्ध र जैन धर्मको प्रभाव रहेको अयोध्यालाई पवित्र हिन्दु तीर्थस्थलका रूपमा पुनःस्थापना गर्ने काम दोस्रो शताब्दीका भारतका गुप्त राजा विक्रमादित्यले गरेका थिए (नुन्दो लाल डे, पृष्ठ ११४) । यो समयदेखि हालसम्म पनि हिन्दुहरूका लागि भारतस्थित अयोध्या पवित्र तीर्थस्थलका रूपमा रहँदै आएको छ । अहिलेलाई प्रधानमन्त्री ओलीले दाबी गरेको नेपालको ‘अयोध्या’ बारे चाहिँ पुरातात्त्विक उत्खननलगायत थुप्रै तथ्यहरू फेला नपारेसम्म यसै भन्न सकिन्न ।

तस्बिर स्रोत : प्राचीन भारतका ऐतिहासिक भूगोल ।

प्रकाशित : श्रावण ३, २०७७ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?