कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोइ के–को छटपटी !

डिलनले आठ वर्षको अन्तरालपछि गत मार्चमा अकस्मात् १७ मिनेट लामो ‘मर्डर मस्ट फउल...’ गीत रिलिज गरे । गीतमा हत्या, सन्त्रास र सर्वनाशका विषय सरसर्ती गाइएको छ ।
सजना बराल

गीत–संगीतमा सान्दर्भिक/असान्दर्भिक भन्ने नै हुँदैन सायद । यहाँ जे पनि, जहिले पनि सान्दर्भिक ! अमेरिकी संगीतज्ञ बब डिलनलाई कोरोना चलिरहेकै बेला आफ्ना पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी गीत सार्वजनिक गर्नु सान्दर्भिक लागेछ ।

खोइ के–को छटपटी !

डिलनले आठ वर्षको अन्तरालपछि गत मार्चमा अकस्मात १७ मिनेट लामो ‘मर्डर मस्ट फउल...’ गीत रिलिज गरे, जसमा हत्या, सन्त्रास र सर्वनाशका विषय सरसर्ती गाइएको छ ।

क्वारेन्टाइन र आइसोलेसनमा थुनिएका उनका श्रोताका लागि त्यही एउटा लामो गीत प्रिय खुराक बनिसकेको थियो । पियानो र भायोलिनको एकसरो धुनमा डिलनले दिएका सांस्कृतिक, ऐतिहासिक रिफरेन्ससहितको गीतले श्रोतालाई घरभित्रै बस्न साथ दिएकै थियो । तर, डिलनलाई त्यतिले मात्रै पुगेन । हप्ता/बीस दिन बिराउँदै, खै केको छटपटीले हो, उनले ‘फल्स प्रोफेट...’ र ‘आई कन्टेन मल्टिट्युड्स...’ बोलका गीतहरू सार्वजनिक गरे । र, अन्त्यमा जुनटिन्थको अवसर पारेर हो या संयोगवश गत जुन १९ मा ‘रफ एन्ड राउडी वेज’ एल्बम निकालेपछि मात्रै उनी शान्त बसेका छन् ।

शान्त पनि के भन्नु, यसपालि डिलनले सञ्चारमाध्यमलाई विरलो अन्तर्वार्तासमेत दिए ।

दुनियाँ रोगसँग जुधिरहेका बेला यी नोबेल पुरस्कारधारी धमाधम के गाइरहेका छन् ? थाहा त सबैलाई छ, उही कवितामय गीत हो ! तर, यसपालिका उनका रचना जुन समय र परिस्थितिमा बाहिर आएका छन्, के वर्तमानसँग तिनको कुनै तादात्म्य छ ? यसबारे जान्न गीतै सुन्नुपर्ला, बुझ्नुपर्ला । यति हो उनी भन्छन्, ‘कवि विलियम ब्लेकले झैं म अनुभवका गीत गाउँछु, मैले क्षमा माग्न बाँकी छैन... ।’ (द न्युयोर्क टाइम्स) ।

डिलन आफ्ना गीतमा जीवनी, इतिहास, अध्यात्म, लोककथाहरू मिसाउँछन् । त्यस्तै जोन लेननले शान्ति, अहिंसा, समानता, एकताको पक्षमा गीत गाए । बब मार्लीको आवाजमा गरिबी, दमन, अन्यायविरुद्धको राग सुनिन्छ । उनीहरू सबैले सायद आफ्नो समयको अप्ठ्यारो गीतमार्फत अभिव्यक्त गरेका थिए/गरिरहेका छन् । तर, ती अप्ठ्यारासँग अहिलेको अप्ठ्यारो कसरी मिल्न सक्छ ? अहिले मानवीयभन्दा पनि प्राकृतिक अप्ठ्यारोसँग हामी लडिरहेका छौं । यो अप्ठ्यारोसँग जुध्न किन अप्ठ्याराका पुराना गीत सुनिएका/गाइएका होलान् ?

बेलायती रक ब्यान्ड ‘क्विन’ का गिटारिस्ट ब्रायन मेले सन् १९७७ मा लेखेको गीत ‘वी विल रक यु...’ को भित्री कथा कतिलाई थाहा होला ? त्यसबेला उनले एसिया र अफ्रिकी देशहरूमा उन्मूलनको क्रममा रहेको बिफर रोगलाई छोएर उक्त गीत पक्कै लेखेका थिएनन् । गीतको भाव/शैली हेर्दा यसलाई रोगसँग जोड्नु अमिल्दो मात्रै होइन, हास्यास्पद लाग्छ । रोग–व्याधिसँग थोपै सम्बन्ध नभएको यो गीत अब भने अपत्यारिलो ढंगमा सम्बन्धित हुन पुगेको छ ।

इराकका संगीतप्रेमीमाझ ‘वी विल रक यु...’ कोरोना–गानका रूपमा चर्चित छ अहिले । रोगसँग तिनले यो गीतको साइनो गाँसिदिएका छन् । बीबीसीले विश्वका ४० देशका आफ्ना १ सय साझेदार रेडियो स्टेसनलाई तिनले लकडाउन अवधिमा सर्वाधिक बजाइरहेका गीतबारे सोधेको रहेछ । बग्दादबाट प्रसारण हुने रेडियो–वानका प्रस्तोता मुस्ताफाले ‘वी विल रक यु...’ उल्लेख गर्दै उक्त गीत हाल आफूहरूको एन्थम (राष्ट्रगानजस्तै) भएको बताएका छन् ।

‘क्विन’ मात्रै होइन, बब मार्लीकै ‘राइड नेटी राइड...’, जोन लेननको ‘इम्याजिन...’, डेभिड बोवीको ‘किलिङ अ लिटल टाइम...’ जस्ता गीत पनि कोरोना महामारीका बेला मान्छेहरूले खुब सुनिरहेको बीबीसीमा प्रकाशित लेखमा उल्लेख छ । त्यसमा उल्लिखित अधिकांश गीत रोग–व्याधिसँग सम्बन्धित छैनन्, न त साह्रै विरही छन् ! बरु, महामारीले आक्रान्त पारेका बेला ‘वी विल रक यु...’, ‘राइड नेटी...’ जस्ता उत्साही गीत छनोटमा परेका छन् ।

माइकल ज्याक्सनले सन् १९८५ मा सार्वजिनक गरेको ‘वी आर द वर्ल्ड...’ पनि अहिले निकै गाउने/बजाउने गरिएको गीतमा पर्दोरहेछ । ज्याक्सन र लायनल रिचीले भोकमरी झेलिरहेका अफ्रिकी बालबालिकाका लागि लेखेको सो गीत कोरोना–कालमा कसरी सान्दर्भिक बनेको होला ? रोग, भोक सायद एकै भएर हो कि ! तर, अमेरिकी पपगायक बेन ई किङले आफ्नी प्रेमिकाका लागि लेखेको ‘स्ट्यान्ड बाई मी...’ ले रोग/भोक दुवैलाई छुँदैन । तैपनि उक्त गीत अहिलेका स्टार गायक जोन लेजेन्ड र साम स्मिथले गाउँदा लाखौंले रुचाएका छन् ।

किङ, ज्याक्सन, लेनन, मार्लीहरू त बितेर गए । तर, अमेरिकन आइडलमा देखिने लायनल रिचीहरूलाई चाहिँ आफूले खास मनस्थितिमा लेखेका/गाएका गीत अहिले कोरोनाका बेला यसरी रुचाइएको पाउँदा कस्तो लाग्दो हो ! आफूले बेग्लै प्रसंगमा बुनेका शब्दलाई मान्छेपिच्छे, परिस्थितिपिच्छे, कालपिच्छे अनेक कोणबाट अर्थ्याउँदा तिनका रचयिताले के महसुस गर्दा हुन् ! यसबारे हाम्रै संगीतकर्मीलाई सोध्न सकिएला ।

ब्यान्ड ‘१९७४– एडी’ का गिटारिस्ट मनोज केसी त्यस्तो हुनुलाई स्वाभाविक ठान्छन् । उनले लेखेको गीत ‘परेलीमा लुकाइराख न...’ लाई पनि मान्छेहरूले थरीथरी रूपमा व्याख्या गर्दारहेछन् । लकडाउनका बेला यो गीत सुनेका रमेश कटुवालले युट्युबमा कमेन्ट लेखेका छन्, ‘सरकारले पनि बाहिर जान दिएको छैन, रोकेको रोक्यै छ । सरकार र प्रेमी दुवै उस्तै ।’ मनोजलाई यो सब देख्दा रमाइलो लाग्छ ! ‘यो गीत लभ सङका रूपमा चिनियो,’ उनले भने, ‘तर, मैले त्यो आशयमा लेखेको थिइनँ । गीत अमूर्त कला हो, यसलाई जसले जसरी पनि अर्थ्याउन सक्छ । साह्रै उल्टोपाल्टो गरी अर्थ्यायो भनेचाहिँ अपाच्य होला नत्र त रमाइलै हुन्छ ।’

न्युयोर्क सहरको स्टेटन आइल्यान्डमा रहेको पब्लिक स्कुल–२२ मा विद्यार्थीहरूलाई संगीत पढाउने ग्रिग ब्रेइनबर्गलाई पनि आफूले छुट्टै आशयमा लेखेको गीत अहिले विद्यार्थीहरूले कोरोनासँग जोडेर गाउँदा मजेदार लागेछ । द न्युयोर्क टाइम्सको ‘द डेली’ पडकास्टमा ग्रिगले भनेका छन्, ‘मैले वर्षौंअघि लेखेको ‘सिङ योरसेल्फ..’ गीतलाई मेरा विद्यार्थीले निकै सानदार ढंगले वर्तमान परिप्रेक्ष्यमा व्याख्या गरेका छन् । मैले महामारीबारे लेखेको थिइनँ । तर, यो साल उक्त गीत बच्चाहरूलाई सुनाउनु उचित ठानेँ ।’

ग्रिगको गीतमा भनिएको छ–

ह्वाट आर यु गोइङ थ्रु

स्पिनिङ अराउन्ड इन सर्कल

फिल्स लाइक यु आर लस्ट इन अ ड्रिम

एभ्रिथिङ इज नट ह्वाट इट सिम्स

ग्रिगकी एक विद्यार्थीले सपनामा हराउनु ‘महामारीका कारण, होइन ?’ भन्दै सरलाई प्रश्न गरेकी छन् । हरेक दिन घरभित्रै बस्नु, ग्याजेटहरूमा रुमल्लिनु, त्यहीमार्फत गृहकार्य गर्नु, विद्यालयका दैनन्दिन अभ्यास नगर्नु उनका लागि अनौठो सपना भएको रहेछ । हरेक कुरा जस्ता देखिन्छन्, त्यस्तो नहुन सक्ने भावलाई उनले ‘असत्य जस्तै’ भनेकी छन् । ग्रिग प्रस्ट्याउँछन्, ‘जब तिमी निराशा र आफ्नै गतिविधिमा हराएर त्यसबाट बाहिरिने बाटो भेट्दैनौं नि, त्यही अवस्थाबारे गीतमा भनिएको हो ।’

आना नाम गरेकी सानी विद्यार्थी हौसिँदै थप्छिन्, ‘यस्तै त भइरहेको छ अहिले । योसँगै कति धेरै क्षति भइरहेको छ... !’ उता, न्युयोर्क टाइम्ससँगकै गफगाफमा बब डिलन ‘निराश सुनिएको’ अन्तर्वार्ताकार डगलास ब्रिंक्लेले जनाएका रहेछन् । दास प्रथाबाट मुक्ति मिलेको खुसियालीमा अमेरिकामा मनाइने स्वतन्त्रता दिवस अर्थात् जुनटिन्थमा नयाँ एल्बम निकालेका डिलनले डगलासलाई भनेछन्, ‘जर्ज फ्लोयडलाई त्यस्तो यातना दिएर मारेको देख्दा मलाई घृणित महसुस भएको छ । यो कुरूपताको पराकाष्ठा हो ।’

यता ‘द डेली’ पडकास्टमा प्राथमिक तहका ग्रिगका विद्यार्थीहरू एभर्ली ब्रदर्सको ‘ह्वेन विल आई बी लभ्ड...’, जेपी स्याक्सको ‘इफ द वर्ल्ड वाज एन्डिङ...’ हुँदै भर्चुअल ग्य्राजुएसनका लागि कोल्डप्ले ब्यान्डको ‘द साइन्टिस्ट...’ गाइरहेका सुनिन्छन् । पृष्ठभूमिमा विद्यार्थीले आइरिस रक ब्यान्ड युटुको ‘विद अर विदआउट यु...’ गाइरहेका बेला ग्रिग बोल्छन्, ‘यो साल हाम्री एक विद्यार्थीको दुःखद निधन भयो । उनका लागि यो गीत समर्पण गरिएको थिएन । तर, गीत प्रस्तुत गरिरहँदा उनका मिल्ने साथी, एक बालकलाई मैले नियालेँ । अचेल यो गीत गाउने हरेक बालबालिकाको आँखामा म तिनै बच्चीलाई देख्छु, भावुक बन्छु ।’

ग्रिगलाई संगीतको यही पक्ष मनपर्दो रहेछ, गीतका हरेका शब्दलाई मान्छेले आफ्नै किसिमले अर्थ्याउन र आत्मसात् गर्न सक्छन् । उनी विद्यार्थीलाई भन्छन्, ‘मलाई तिमीहरूको कोरस पर्फमेन्स निकै मन पर्छ । तिमीहरू प्रत्येकले गीतसँग आफ्नो सम्बन्ध भएको कुरा प्रस्तुतिमार्फत देखाउँछौ ।’ ग्रिग फेयरवेलको दिन उनका विद्यार्थीको बेजोड प्रस्तुति स्क्रिनमा देखाउँछन्, हामी भने पडकास्टमा त्यसलाई सुन्न सक्छौं । यस्ता प्रस्तुतिहरू अहिले युट्युबलगायत सामाजिक सञ्जाल र स्ट्रिमिङ साइटहरूमा प्रशस्त छन् ।

बब डिलनलगायत एकाध संगीतकर्मीले कोरोनाका बेला आफ्ना एकल गीत सार्वजनिक गरे तापनि अधिकांश गायकगायिकाले ‘रिमोट कोल्याबोरेसन’ मार्फत आफूलाई प्रस्तुत गरेको देखियो । तिनले प्रायः पुराना गीतलाई पुनः गाएका छन् । हामीकहाँ योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य, जेम्स प्रधानहरूले लकडाउन ज्याम सेसन सञ्चालन गरे । ‘संगीतकर्मीका नाताले यति गर्नु हाम्रो कर्तव्य ठान्यौं,’ अमात्य भन्छन्, ‘यो बेला दर्शक कमाउने उद्देश्य होइन ।’ मनोज केसी, राजु लामा, बर्तिका राई, अभिषेक केसी, दिवस गुरुङहरूले पनि ‘रातो र चन्द्र सूर्य...’ मा कोल्याबोरेसन गरे ।

हाम्रै केही सोलो आर्टिस्टले कोरोनाबारे नै नयाँ गीत निकाल्न भ्याए । लकडाउनभर संगीतमै व्यस्त देखिएका दीपक बज्राचार्यले ‘कोरोना...’ बोलको गीत निकाले भने छोरी चेरिसासँग मिलेर आफ्ना नयाँ–पुराना गीतहरू पनि गाइरहे । ‘कोभिडसँगको लडाइँमा सुरक्षित रहन, सद्भाव कायम राख्न गीतमार्फत आह्वान गरेको हुँ,’ उनले भने, ‘आफू पनि व्यस्त रहने र श्रोताको अनुहारमा थोरै भए पनि हाँसो ल्याउने उद्देश्य हो ।’ उनले ‘म्युजिकल मेडिसिन’ शृंखलाअन्तर्गत सामाजिक सञ्जालबाट मनोरञ्जन दिए ।

केही विदेशीले भने चल्तीका गीतको कोरोना–भर्सन (प्यारोडी) बनाएका छन् । एडलको ‘हेलो फ्रम द आउटसाइड...’ लाई क्रिस म्यानले ‘हेलो फ्रम द इनसाइड...’ भन्दै घरभित्र थुनिँदाको छटपटी भिडियोमा देखाएका छन् । यही गीत अन्य कतिपयले समूहमा गाएर यसलाई क्वारेन्टाइन–सङका रूपमा चर्चामा ल्याए । एडलले आफूलाई बाँकी मानिससँग ‘पुनर्मिलन’ गराउने भावमा उक्त गीत लेखेको ‘द हफिङ्टन पोस्ट’ सँगको अन्तर्वार्ता (सन् २०१५) मा भनेकी थिइन् ।

आफ्नो बालक छोरालाई घरमा छोडेर गीत गाउन हिँड्दाको ग्लानि–भावसमेत उक्त गीतमा अभिव्यक्त गर्न खोजेको एडलले बताएकी थिइन् । यसरी उनले विशुद्ध आफ्ना लागि, आफ्नो अनुभूति समेटेर लेखेका शब्दलाई अहिले सोसल डिस्ट्यान्सिङसँग मिलाइएको पाउँदा उनी के सोचिरहेकी होलिन् ? उनले रचेको सन्दर्भ र अहिले जोडिएको सन्दर्भ एकाकार नहुँदा उनलाई रमाइलो लाग्दो हो कि पट्यार मान्दिहुन् ? यसको जवाफ खोज्न एडलसम्म पुग्नै नपर्ला किनभने यही लेखमा, डिलनकै शब्दहरूमा सायद उत्तर छ ।

प्रकाशित : श्रावण ३, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?