प्रयागराज : एक बोटानिस्ट

जहाँ पुगे पनि, जस्तै तालिम लिए पनि हामी नेपालमै फर्केर आयौँ किनभने यहाँ वनस्पति विभागजस्तो कार्यालय थियो र प्रयागराजजस्ता हाकिम थिए ।
तीर्थबहादुर श्रेष्ठ

विसं २०१७ सालमा त्रिचन्द्र कलेजबाट बीएस्सी (बायोलजी) पास गरेर वनस्पति अड्डा छिर्दा हाकिमबाजे प्रयागराज पाण्डेजस्तो ठूलो जीउको मान्छे मैले सायद देखेकै थिइनँ । उहाँले पनि मजस्तो दुब्लो केटा नदेखेको हुनसक्छ । मेरा प्राध्यापक समरबहादुर मल्लले ‘जागिर खान्छौ’ भनेर नयाँ सडकबाटै मलाई टिपेर लगेका थिए ।

भोलिपल्टैबाट जागिरे भएँ– असिस्टेन फर्मासिस्ट । महिनाको तलब रु. १८०/– (एक सय असी रुपैयाँ) । महिनाको तलब नथाप्दै एमएस्सी बोटानी पढ्न भारतको अलिगढ जाने छात्रवृत्तिमा नाम निस्कियो । वन मन्त्रालयले ‘जागिर छोडेर जाऊ’ भन्यो । प्रयागराज पाण्डेले मेरो लागि अध्ययन बिदा मिलाई छाडे । आधा तलब खाएर दुई वर्षपछि विभागमा हाजिर भएँ । त्यसपछि प्रत्येक वर्ष जडीबुटी र वनस्पति सर्वेक्षण गर्ने र वनस्पतिका नमुना संकलन गर्ने काममा मेची–महाकाली भ्रमण गर्ने अवसर आयो ।

अरूको सम्झनामा बाँचिरहने मानिसहरू नै पूजनीय हुन्छन् । यस्ता व्यक्तिहरूको स्मरण चिराग बोकेर समाजलाई सही बाटोमा डोर्‍याउन सकिन्छ । यसै सिलसिलामा आजभन्दा ३४ वर्षपहिले परलोक भएका स्वर्गीय प्रयागराज पाण्डेको शतवार्षिकी वर्ष (विसं १९७६–२०७६) को विभिन्न कार्यक्रमहरू पूरा गरेर यही असार १८ गते उहाँको १०१ औं वर्ष पूरा हुने जन्म दिवस मनायौं । नेपालका प्रथम बोटानिस्ट प्रयागराज पाण्डे फाउन्डेसन नामक संस्थाले नेपालको वानस्पतिक वैभवको संरक्षण, संवद्र्धन र विकासको फाँटमा नयाँ पुस्ता र पुराना पुस्ताका वैज्ञानिक, प्राविधिक एवं प्रतिष्ठित व्यक्तिहरूको अन्तरक्रिया र सहकार्यको सिलसिला अगाडि बढाउने काम भयो । संस्थापक अध्यक्ष श्री मधुसुदन विष्ट (पूर्वमहानिर्देशक वनस्पति विभाग) तथा सहअध्यक्ष श्री विमलराज पाण्डे (प्रयागराज पुत्र) लगायत कार्यकारी समितिका सबै सदस्यहरू बधाईका पात्र पनि हुन् ।

प्रयागराज पाण्डेलाई नेपालका प्रथम बोटानिस्ट किन भनियो भन्ने प्रश्न उठ्ने गरेका छन् । किनभने जडीबुटी, वन–वनस्पतिका विशेषज्ञहरूको खोजीनिती गर्न थाल्यौं भने रामायणकालसम्म पुगिन्छ । लक्ष्मणबुटी श्री हनुमानले चिन्न सकेनन् । त्यसलाई वैद्य सुसेनाले चिने । यस्तै हाम्रा वैद्य, कविराज, आम्ची, धामी, झाँक्री, गुरुबा वा फेदाम्नाहरूलगायत पर्वतीय गोठालाहरू जडीबुटी विषयका ज्ञाता हुन् । पण्डित धननाथ देवकोटाले चन्द्रशमशेरको पालामा जडीबुटीसम्बन्धी निघन्टु तयार गरिसकेका थिए । वानस्पतिक सर्वेक्षणको इतिहासमा लालध्वज (सन् १९२९–३१) तथा खडानन्द शर्मा (सन् १९३२–३७) को विरुवा संकलन–अवधि कीर्तिमानी थियो ।

प्रयागराज पाण्डेको कथा बेग्लै छ । बोटानी (वनस्पतिशास्त्र) विधामा एमएस्सी (स्नातकोत्तर) परीक्षा उत्तीर्ण गरी सन् १९४२ मा इलाहावाद विश्वविद्यालयबाट प्रमाणपत्र थापे । नेपाल सरकारको वन मन्त्रालयअन्तर्गत स्थापित बोटानिस्ट पदमा बहाली गरे । औपचारिक शिक्षा र सरकारी पदको हैसियतले उहाँ नेपालको प्रथम बोटानिस्टको रूपमा परिचित हुनुहुन्छ । हामी उहाँलाई प्रथम बोटानिस्टको रूपमा स्मरण गर्छौं तर सम्मान भने उहाँको बहुआयामिक देनप्रति समर्पित छ । संस्थागत विकासको सफलतातिर लक्षित छ ।

मैले २०१७ सालमा वनस्पति फाँट नामक अड्डामा प्रवेश गरेदेखि नै उहाँ हामीलाई एउटा सपना बाँड्नुहुन्थ्यो । हिमाली जडीबुटीलाई चिन्ने, बेलैमा संकलन गर्ने, सफा गर्ने, सुकाउने र पिठयुँमा बोकेर निकासीका लागि साहुकहाँसम्म पुर्‍याउने गाउँले दिदीबहिनी, दाजुभाइका पसिनाको मूल्य कसरी चुकाउने ? रोग, भोक र गरिबीलाई जडीबुटीले कसरी पखाल्ने ? देशभित्रै जडीबुटी प्रशोधन र औषधि उत्पादन कसरी गर्ने ? भन्नुहुन्थ्यो– हाम्रो लक्ष्य ‘प्लान्ट्स टु प्रोडक्ट’ हो ।

विसं २०१७ सालमा पकनाजोलको कम्पुकोटभित्र रहेको सानो २/३ कोठे अड्डा २०१९ सालमा थापाथलीको ११/१२ रोपनीमा फैलिएर शाही औषधि अनुसन्धानशाला, औषधि उत्पादन केन्द्र, गोदाबरीमा शाही वनस्पति उद्यान, राष्ट्रिय हर्वेरिएम (वनस्पति संग्रहालय) एवं वनस्पति अनुसन्धान केन्द्र, विभिन्न क्षेत्रमा जडीबुटी फार्महरू जस्तै : शिवपुरी, मणिचुर, दामन, टिस्टुङ, हेटौंडा, धरान एवं व्यापार र प्रशोधन केन्द्र नेपालगन्ज तथा कोइलाबास स्थापना भएका थिए । यिनै संस्थाका गर्भबाट शाही औषधि लिमिटेड, जडीबुटी प्रशोधन तथा उत्पादन लिमिटेड कम्पनी एवं औषधि व्यवस्था विभागको पनि जन्म भयो । लगभग १० वर्षभित्र वनस्पति विभाग विज्ञान तथा प्रविधि क्षेत्रमा विशेषत: वनस्पतिशास्त्र, फार्मेसी (औषधि विज्ञान) एवं रसायनशास्त्र (केमेस्ट्री) मा नेपालका अगुवा संस्थाका रूपमा परिचित हुन पुग्यो ।

प्रयागराज पाण्डेको विकास रणनीति भन्नु नै जनशक्तिको विकास र उच्च शिक्षाको प्राथमिकता थियो । युवा शक्तिलाई तुरुन्त भर्ना लिने र उच्च शिक्षाको अवसर प्रदान गर्ने । वनस्पति विभागमा जागिर खाएपछि दुई वर्षभित्र बेलायत जान पाइन्छ भन्ने मान्यता नै स्थापित हुन थाल्यो । तर, नेपालको दुर्गम भ्रमण गर्छु भन्नेलाई मात्र प्रवेश मिल्थ्यो । त्यसो भए तापनि थुप्रै महिला वैज्ञानिकहरूले वनस्पति विभाग प्रवेश गरे र पैदलयात्रामा देशदर्शन गरे । त्यसका अतिरिक्त आफैंले प्रयोगशालामा उत्पादन गरेका औषधिहरू पनि बजारीकरण गर्न असन इन्द्रचोक चहारे । हाकिमबाजेले खटाएपछि महिला र पुरुष सबै उत्तिकै आज्ञाकारी । हाल बजारमा देखिने सिटामोल र सन्चोको पहिलो ट्याब्लेट वा सिसी वनस्पति विभागका महिला प्राविधिक कर्मचारीकै हातबाट विमोचन भएको मान्न सकिन्छ । संस्थागत विकासलाई गतिशील बनाउन नयाँ योजना र नयाँ कार्यक्रमहरूको आवश्यकता पर्छ । नयाँ दरबन्दी र उच्च पदको सिर्जना गर्न सरकारलाई वा दातृ संस्थाहरूलाई ठोस प्रभाव पार्न सक्ने विशेष क्षमता थियो उहाँमा । फलस्वरूप कर्मचारीहरूको वृत्ति विकासका अवसरमा पनि कमी थिएन ।

नेपालको वानस्पतिक वैभवको खोजी र अनुसन्धानमा बेलायत, जापान तथा फ्रान्सलगायत धेरै राष्ट्रहरू चासो राख्छन् । तिनलाई वनस्पति विभागको दायराभित्र ल्याउने काममा प्रयागराज पाण्डेको विशेष भूमिका रह्यो । विदेशका दक्ष वैज्ञानिकहरूसँग हाम्रा वैज्ञानिकहरूको सहकार्य प्रारम्भ भयो । नेपालको स्थलगत अध्ययन मात्र होइन विदेशका ख्यातिप्राप्त संस्थाहरूमा अध्ययन गर्न जाने सिलसिला पनि बस्यो ।

फलस्वरूप मैले पनि बृटिस म्युजियम, क्यु–गार्डेन, इडिनवरा गार्डेनमा हिमाली वनस्पतिबारे विशेष तालिम प्राप्त गरें । त्यसपछि फ्रान्सको ग्रनोवलबाट विद्यावारिधि पनि गर्ने मौका मिल्यो । जहाँ पुगे पनि जस्तै तालिम लिए पनि हामी नेपालमै फर्केर आयौँ किनभने यहाँ वनस्पति विभागजस्तो कार्यालय थियो र प्रयागराजजस्ता हाकिम थिए ।

प्रकाशित : असार २७, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

मैलो कमिज : एक भयानक प्रश्‍न

मधेसमा बाढी आयो र हजारौं गरिबको उठिबास भयो। केही दिनपछि बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्न हेलिकप्टर चढे र प्रधानमन्त्री आए । उनी एक गरिबलाई देखे र स्तब्ध भए ।
नयनराज पाण्डे

‘हाम्रा सम्माननीय प्रधानमन्त्री श्री दलबहादुर एकाएक बेपत्ता हुनुभयो ।’ सहरमा हल्ला फैलियो र त्यो ‘हल्ला’ खबर बनेर फैलिँदैफैलिँदै सीमान्त गाउँको म रहेको मुकामसम्म पनि आइपुग्यो । मुलुक र मुलुकवासी कसैले पनि त्यो खबरमाथि विश्वास गरेनन् । मलाई पनि विश्वास भएन । तर, अन्तत: त्यो खबर सत्य सावित भयो । प्रधानमन्त्री साँच्चिकै हराएका रहेछन् ।

खबरमा भनिएअनुसार, अघिल्लो मध्यरातसम्म उनी केही कागजातहरूमा हस्ताक्षर गरेर सुतेका थिए । बिहान भने उनी आफ्नो ओछ्यानमै थिएनन् । उनी आफ्नो कार्यालयमा पनि फेला परेनन् र महलजस्तो सरकारी निवासमा पनि । उनको चस्मा उनकै कार्यालयको टेबलमै फेला पर्‍यो । उनको मोबाइल उनले प्रयोग गर्ने बाथरुममा फेला पर्‍यो । उनले लगाउने गरेको नक्कली दाँत उनको सरकारी निवासको डाइनिङ टेबलमै फेला पर्‍यो । उनको नाडीघडी उनकै कार्यालयको ड्रयरमा फेला पर्‍यो । उनको जुत्ता निवासको ढोकैमा फेला पर्‍यो । उनको हातमा ज्योतिषहरूले धारण गर्न दिएका मुगा, रुबी र नीलमका औंठीहरू उनको बेडरुमकै साइड टेबलमा फेला पर्‍यो । उनको कलम, सिगार केस र ह्विस्की राख्ने हिप फ्लास्क पनि निर्धारित ठाउँमै फेला परे । प्रधानमन्त्रीको चरित्र, आनीबानी र उनको रवाफिलो व्यक्तित्व जनाउने सबै सामग्रीहरू फेला परे । तर, प्रधानमन्त्री कतै फेला परेनन् । मुलुकले प्रश्न गर्न थाल्यो, ‘प्रधानमन्त्री हुन् कि तोरीको गोदाममा हराएको आलपिन ?’

केही महिनाअघि प्रधानमन्त्रीको मुटुमा पेसमेकर राखिएको थियो । जीवनपर्यन्त मुटुमै भइरहनुपर्ने त्यो पेसमेकर उनकै कुर्सीमा टिकटिक गरिरहेको थियो । यो सबैलाई तर्साउने खालको दृश्य थियो । के कसैले प्रधानमन्त्रीको हत्या गरेर उनको मुटुबाट पेसमेकर झिकेर थपक्क कुर्सीमा राखिदिएको थियो ? या बेपत्ता हुनुुअघि प्रधानमन्त्री आफैँले आफ्नो मुटु खोतलेर पेसमेकर झिकेर त्यहाँ राखेका थिए ?

दुवै कुरा कहालीलाग्दा थिए । तर, सबैभन्दा कहालीलाग्दो कुरा त उनी गायब हुनु नै थियो । त्यो पनि बिनासूचना । कुनै उपप्रधानमन्त्रीलाई कार्यकारी अख्तियारीसमेत नदिई ।

हजारौं सुराकी परिचालित भए । तर, कसैले पनि प्रधानमन्त्रीबारे कुनै सुराक फेला पार्न सकेन । मुलुकको गुप्तचर संयन्त्र पूरै मजाक सावित भएको थियो ।

तर, मुलुकलाई थाहा नभएको कुरा मलाई थाहा छ । प्रधानमन्त्री कहाँ बेपत्ता भए भन्ने कुराको म पूरा जानकार छु । म उनका बारेमा तपाईंलाई पूरै सूचना दिन सक्छु । तर, त्यसभन्दा पहिले तपाईंले मेरो यो एकालाप ध्यानपूर्वक पढ्नुपर्छ ।

मेरो सर्त यही हो— मलाई पढ्नुस् । मलाई बुझ्नुस् । र, हराएका प्रधानमन्त्रीलाई फेला पार्नुस् ।

***

मानिस सामाजिक प्राणी हो । यो कुरा प्राथमिक कक्षादेखि नै तपाईंहरूले पढ्दै आउनुभएको हो । तपाईंका मातापिताले पनि यही पढ्नुभयो र तपाईंका सन्ततिहरू पनि त्यही घोक्दै छन् । विद्वान्हरूले आजपर्यन्त यही पढाइरहेका छन् । पढाइरहेका पनि के भन्नु, रटाइरहेका छन् । के उनीहरूलाई मानिसहरू असामाजिक भइदेलान् भन्ने शङ्का छ ? कतै उनीहरूलाई मानिस सामाजिक प्राणी हो भन्ने कुरामा नै संशय त छैन ?

मलाई भने संशय छ ।

मलाई संशय भएर के हुन्छ ? यो असामाजिक संसारमा मेरो सोच र संवेदनाको के अर्थ ? म किलोमा झुन्डिएको मैलो न मैलो कमिज न हुँ । मेरो अस्तित्व के ? मेरो हैसियत के ? मेरा बाहुलाका कुहिनाहरूमा प्वाल परेका छन् । कलरमा मयलको थुप्रो छ । मबाट हरदम पसिनाको अमिलो गन्ध आइरहन्छ । मैले आफ्नो वास्तविक रङ र स्वरूप गुमाइसकेको छु । मलाई तपाईं जति जीर्ण र फोहोर कल्पना गर्नुहुन्छ, मेरो यो एकालाप पढ्न तपाईंलाई त्यति नै मजा आउनेछ । यो एकालापको सफलता तपाईंको कल्पनाशीलतामा निर्भर छ । तर, म ग्यारेन्टी गर्छु, मेरो एकालापले तपाईंलाई त्यति नै मजा दिनेछ, जति मजा तपाईंहरूलाई कफी खाँदै गरिब पात्रका कथाहरू पढ्दा आउने गर्छ ।

आउनुस्, कथाको मजा लिनुस् र एकान्तमा बौद्धिक मैथुन गर्नुस् ।

***

मेरो एकालापको सुरुआत म केही थान प्रश्नहरूबाट गर्न चाहन्छु ।

के तपाईंलाई आफ्नो प्रधानमन्त्रीले कुन ब्रान्डको लुगा लगाउनुहुन्छ भन्ने थाहा छ ? हुन त यो कुरा तपाईंलाई थाहा हुन पनि सक्छ । किनभने प्रधानमन्त्री सुत्ने पलङ, उनका जुत्ता र उनका घडीहरूको मूल्य बेलाबेलामा समाचार बन्ने गरेका छन् । तर, मेरो अर्को प्रश्नको जवाफ भने तपाईंलाई पक्कै थाहा छैन । प्रश्न हो— जब प्रधानमन्त्रीका लुगाहरू पुराना हुन्छन्, ती लुगाहरू कहाँ जान्छन् ?

एकाधबाहेक हामीले त्यस्ता कुनै महान् प्रधानमन्त्री पाएका छैनौं, जसको पोसाक संग्रहालयमा सुरक्षित गर्नलायक हुन्छ । त्यसैले मेरो लुगासम्बन्धी यो प्रश्नले तपाईंको दिमाग (यदि कतै बन्धकी राख्नुभएको छैन या त्यसमा ताल्चा लगाउनुभएको छैन भने) एक छिनका लागि भए पनि रन्थनिएको हुनुपर्छ ।

हुने–खानेहरूले आफ्ना लुगाहरू पुराना भएपछि घरेलु कामदार या तिनका आफन्तलाई दिने गर्छन् । केहीले बाढीपहिरोका बेला सुकुम्बासी या मुसहरजस्ता बस्तीका गरिबहरूका लागि दान दिने गर्छन् । प्रधानमन्त्रीले आफ्नो पुरानो लुगा त्यसरी दान दिन्छन्/दिन्नन्, तपाईंलाई पक्कै पनि थाहा छैन । प्रधानमन्त्रीले लगाउने कमिज, पाइन्ट, गन्जी या कट्टुको नियति के हुन्छ ? उनको मोजाको भविष्य के हुन्छ ? जाडोमा उनले लगाउने पन्जा पुरानो भएपछि कता जान्छ ? उनका पुराना टोपी, टाई र मफलरहरू अहिले कहाँ छन् ? उनले स्नान गरिसकेपछि प्रयोग गर्ने टवेल या उनले पसिना या नाक पुछ्ने हाते रुमालहरू अहिले कुन हालतमा कहाँ छन् ? के यी प्रश्नहरू कहिल्यै तपाईंको दिमागमा उम्रिएका छन् ? पक्कै छैनन् । अब सोच्न थाल्नुस् । किनभने मेरोजस्तै ती पाइन्ट, गन्जी, कट्टु या रुमालहरूको पनि कुनै कथा हुन सक्छ । तिनका पनि खुसी र व्यथाहरू हुन सक्छन् । तिनले पनि कतै कसैलाई मैलेजस्तै आफ्नो कहानी या एकालाप सुनाइरहेका हुन सक्छन् ।

***

म कुनै बेला प्रधानमन्त्रीले लगाउने कमिज थिएँ । हुने–खानेहरू एउटै लुगा धेरैपटक लगाइरहँदैनन् । तिनले चाँडोचाँडो नयाँ लुगा किन्छन् । अझ प्रधानमन्त्रीका लुगाका लागि त राज्यले बजेट नै छुट्याएको हुन सक्छ । यस्तै ल्याप्स हुनै लागेको बजेटबाट असार मसान्तमा प्रधानमन्त्रीका सहयोगीहरूले हतारहतार कुनै सानदार मलको महँगो पसलबाट मलाई किनेर ल्याएका थिए । मेरो मूल्य कति हो, मलाई थाहा छैन । तर, प्रधानमन्त्रीका लागि भनेपछि मेरो वास्तविक मूल्यमा साहुले थप मूल्य जोड्यो । प्रधानमन्त्रीका सहयोगीले त्यसमा आफ्नो कमिसन थपे । यसरी म मूल्यवान भएर प्रधानमन्त्री निवासमा छिरें ।

मेरा केही महिना आराममा बिते । मलाई गर्मी या जाडो भएन । म कहिल्यै पसिनाले निथ्रुक्क भइनँ । मलाई त्यतिबेला चरम गर्वको आभास भएको थियो । किनभने म प्रधानमन्त्रीको हरेक चिन्तन र चिन्तामा सामेल थिएँ । म सत्ता टिकाउने उनका षड्यन्त्रहरूमा सामेल थिएँ । म उनका कतिपय तोकहरूमा सामेल थिएँ । उनले गरेका हस्ताक्षरहरूमा सामेल थिएँ । उनका नजिकका आफन्तहरूलाई ठेक्कापट्टा दिलाउने उनको मनसाय र आदेशमा पनि सामेल थिएँ । म उनले माफियाहरूसित गरेका लेनदेन र वार्तालापहरूमा सामेल थिएँ । म उनले देश र जनतासित गरेका कपटपूर्ण वाचाहरूमा सामेल थिएँ ।

त्यहीबेला देशमा फैलिएको थियो एउटा अज्ञात रोग । कतिले देउता रिसाएकाले त्यो रोग फैलिएको हो भन्थे । कतिले त्यो रोगलाई मान्छेसित प्रकृतिले लिइरहेको प्रतिशोध ठान्थे । रोगको कारण र निवारणबारे वैज्ञानिकहरू अलमलमा थिए । बुद्धिजीवीहरू रोगमा राजनीति, अर्थशास्त्र र समाजशास्त्र मिसमास पारेर टेलिभिजनका पर्दामा बहस गर्न थालेका थिए ।

घाम उदाउँथ्यो । बत्ती पनि बल्थ्यो । तर, पनि त्यो अँध्यारो समय थियो । मान्छेका मनभित्रका उज्यालाहरू निभेका थिए । देश पूरै मौन थियो । मान्छेसितै डराइरहेका थिए मान्छेहरू । आफन्तसितै सशंकित भइरहेका थिए मान्छेहरू । रोकिएका थिए सुख र आनन्दका वार्तालापहरू । बन्द थिए मित्रहरूबीचका ठट्टाहरू । प्रेमी र प्रेमिकाहरूबीचको भेटघाट बन्द भएको थियो । मान्छेहरूले लिन छाडेका थिए आमाबाबुको आशीर्वाद । चुम्बनहरू हराएका थिए । स्पर्शहरू वर्जित भएका थिए । प्रजनन अंगहरूमा धमाधम ताल्चा लाग्न थालेका थिए । मान्छे अज्ञात रोगको भयले आत्तिएको थियो । ऐनामा आफ्नै प्रतिविम्बसित पनि तर्सिन थालेको थियो मान्छे । ठान्थ्यो, उसकै रूप धरेर कोही उसको घरमा जीवाणुु र विषाणुसहित प्रवेश गरेको छ । मान्छेका यात्राशील पाइलाहरू घरको संघारभित्र रोकिएका थिए । उसले आफूलाई माया गर्नेहरूलाई नै घरमा प्रवेश निषेध गरेको थियो । उसलाई हावामा शत्रुहरू ओहोरदोहोर गरिरहेको आभास भइरहेको थियो । उसले टेक्ने जमिन र उसले हेर्ने आकाशप्रति ऊ सशंकित थियो । यतिखेर मान्छे श्रृष्टिको सर्वाधिक दु:खी प्राणी सावित भएको थियो ।

यस्तोमा एक दिन कुनै सहयोगीले प्रधानमन्त्रीलाई भनिदियो, ‘यो रोग पोसाकबाट पनि सर्छ । त्यसैले यो बेला पुराना पोसाकहरूको प्रयोग उपयुक्त छैन ।’

मलाई तत्काल प्रधानमन्त्रीले आफ्नो शरीरबाट उतारे । गन्जी, कट्टु र मोजा पनि फुकाले । सहयोगीले पन्जा लगाएको हातले हामीहरूलाई बडो उपेक्षापूर्वक एउटा पोलिथिनको झोलामा कोच्यो । अर्को सहयोगीले प्रधानमन्त्री निवासको फोहोर थुपार्ने ठाउँमा राखिदियो । अर्को दिन नगरपालिकाको गाडी आयो । एउटाले हामीलाई कन्टेनरमा थन्क्यायो । हामी सबै आत्तियौं । आफ्नो समयको सबैभन्दा शक्तिशाली मानिसको सुगन्धित वदनबाट एकाएक उत्रिएर एउटा भयावह फोहोर संसारमा प्रवेश गर्नुपर्दा म दु:खी भइसकेको थिएँ । डम्पिङसाइटमै पुगेपछि त मेरो होसै हरायो ।

होस खुल्दा म मधेसको एक गरिब मजदुरको शरीरमा थिएँ ।

देशबाट अज्ञात रोगको भय हटिसकेको थियो । तर, प्रधानमन्त्री साविककै महलमा बिराजमान थिए र नयाँ कमिजमा ठाँटिएर माफियाका नाइकेहरूसित नयाँ ठेक्कापट्टाको कमिसन तय गरिरहेका थिए । उनी उसैगरी जनघाती निर्णयहरूमा तोक लगाइरहेका थिए । उसैगरी दमनका आदेश दिइरहेका थिए र उसैगरी जनताको मजाक उडाइरहेका थिए ।

म भने यतिन्जेलसम्म मैलो न मैलो भइसकेको थिएँ । ठाउँठाउँमा उध्रिइ र च्यातिइसकेको थिएँ । मैले आफ्नो वास्तविक पहिचान गुमाइसकेको थिएँ । तर, पहिचानको बहसको वातावरण कुण्ठित भइरहेको समयमा मैले मेरो पहिचानको मुद्दा उठोस् भन्ने कामना पनि राखिनँ । बस्, मैले सोच्न थालें, राजधानीको आलिसान महलमा बिराजमान प्रधानमन्त्रीको शरीरबाट उत्रिएर म टाढाको मधेसको एउटा गरिब श्रमिकको शरीरमा कसरी बस्न आइपुगें ! उसले कहाँ पायो मलाई ? मैले प्रधानमन्त्रीको सुकोमल देहदेखि गरिबको जीर्ण शरीरसम्मको यात्रा कसरी तय गरें ? जवाफ थिएन ।

तर, मैले अनुमान लगाएँ ।

सम्भवत: डम्पिङसाइटमा फोहोर उधिन्ने केटाकेटीहरूले मलाई फेला पारे । यसो नियाले । तिनीहरूको पातलो शरीरमा म फिट हुने कुरै भएन । उनीहरूले मलाई धोइपखाली गरे र कमिजको खाँचो परेको अर्को कुनै गरिबलाई बेचिदिए । पाएको पैसाले केहीले चुरोट खाए, केहीले चाउचाउ । सम्भवत: केही दिन त्यो गरिबले मलाई लगायो पनि । तर, उसको शरीरमा ब्रान्डेड कमिज देखेर कुनै कलेजनिरको चियापसलमा चिया खाँदै गरेका केही विद्यार्थी भाइबैनीहरूले उसलाई उल्लीबिल्ली पारे । अपमानबोधका कारणले उसले डेरामा पुगेर मलाई फुकाल्यो । साँझ धोइपखाली गरेर अर्को दिन उसले मलाई काठमाडौंको न्युरोडको सेकेन्ड ह्यान्ड लुगाहरूलाई नयाँ बनाएर बेच्ने एउटा साहुलाई सुम्पियो । सम्भवत: त्यसपछि म केही दिन उसकै फुटपाथ पसलमा लुगाहरूको डंगुरमा यता र उता भइरहें । सायद एक दिन एक जना सरकारी कर्मचारी सपरिवार न्युरोडमा किनमेलमा आए । उनीहरूले नजिकैको ब्रान्डेड पसलबाट आफ्ना लागि, श्रीमती र छोराछोरीका लागि महँगा लुगाहरू किने । तर, उनको घरमा एक वृद्ध पिता पनि थिए र त्यो दिन बाबुको मुख हेर्ने दिन पनि थियो । उनले मलाई रोजे र घर पुगेर पितालाई लगाइदिएर फोटो पनि खिचे । उनले साँझसम्म सामाजिक सञ्जालमा त्यो फोटोबारे आएका प्रतिक्रियाका हिसाबकिताब गर्दै बसे ।

सम्भवत: त्यहीताका मधेसमा बाढी आयो र हजारौं गरिबहरूको उठिबास भयो । उनीहरू बेघर भए । उनीहरूसित खाने कुुरा भएन । लगाउने लुगा पनि भएन । वृद्ध पितालाई दया लाग्यो र उनले मलाई लुगा संकलन गर्न आएको एक टोलीलाई सुम्पिदिए । यतिन्जेल म बेहोसीमै थिएँ । होसमा आउँदा भने म बाढीपीडित एक गरिब श्रमिकको शरीरमा थिएँ ।

केही दिनपछि बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्न हेलिकप्टर चढेर प्रधानमन्त्री आए । उनले बाढीपीडितहरूलाई चिउरा, चाउचाउ र चियापत्तिका पाकेटहरू पनि बाँडे । बाँड्दाबाँड्दै प्रधानमन्त्री एक जना गरिबलाई देखेर जिल्ल परे । स्तब्ध भए । होइन, उनी गरिबलाई देखेर स्तब्ध भएका थिएनन् । किनभने गरिबीसित उनी परिचित छन् । उनीजस्ता पात्रहरूकै कारण गरिबी देशमा संस्थागत भएको भन्ने विषयमा उनी जानकार थिए । उनी स्तब्ध त मलाई देखेर भएका थिए । किनभने कुनै बेला उनैले पहिरिएको कमिज एउटा नयाँ देहसहित ठिंग उनका सामु उभिएको थियो ।

जसरी गरिब एउटा प्रश्न हो । जसरी भोको मान्छेको आँखा एउटा प्रश्न हो । त्यसरी नै मैलो कमिज पनि एउटा खतरनाक प्रश्न हो । सम्भवत: प्रधानमन्त्री त्यही प्रश्नसित आत्तिएका थिए । म मैलो भएकाले प्रधानमन्त्रीले मलाई अँगालो हाल्न सकेनन् । मप्रति आत्मीयता प्रकट गर्न पनि सकेनन् । उनलाई आफ्नै आत्मा या आफ्नै अतीतको कुनै प्रतिकृति हेरिरहेको आभास भएको थियो सायद । त्यो आभासले उनलाई बिसन्चो गर्‍यो । उनलाई ज्वरो आयो ।

***

लामै समयसम्म प्रधानमन्त्री बिरामी भए भन्ने कुरा मुलुकसँगै मैले पनि थाहा पाएँ । उनी ज्वरोमै बर्बराउन थालेका थिए रे १ सम्भवत: उनी बेलाबेला मलाई सम्झन्थे र झनै आत्तिन्थे । उनले अरू कसैलाई आफ्नो समस्या बताउन पनि सकेका थिएनन् । कुनै बेला उनैले सगर्व धारण गरेको उनकै कमिज अहिले एउटा गरिब र भोको मान्छेको शरीरमा टाँस्सिएको छ । यो त उनकै लागि पनि लज्जाको विषय थियो । त्यस्तो विषय अरूलाई भनेर कसरी सार्वजनिक गर्नु ? त्यही कारणले उनको रोग झन्झन् बल्झिएको हुनुपर्छ र उनी झन्झन् कमजोर बन्दै गएको हुनुपर्छ ।

तर, यति नै कारणले उनी हराइहाल्नुपर्ने त थिएन । अचम्मको कुरा त के भने, उच्च सुरक्षा सतर्कता अपनाइने उनको सरकारी महलमा उनी बेपत्ता भएको कसैले चालै पाएन । तर, यसो भनिहाल्न पनि मिल्दैन । उनी सुटुक्क गेटबाट निस्कँदा एउटा भुस्याहा कुुकुरले त उनलाई देखेकै थियो । तर, कसैले उसको बयान लिएन । नत्र कुकुरले भन्ने थियो, ‘प्रधानमन्त्री पूरै नाङ्गो त हुुनहुन्थेन । उहाँले कट्टु लगाउनुभएको थियो । उहाँको खुट्टामा मोजा पनि थियो । शरीरमा कमिज पो थिएन, शिरमा टोपी त थियो । उहाँको गलामा मफलर पनि थियो र हातमा पन्जा पनि । गेटबाट निस्केको केहीबेरसम्म त मैले उहाँको शरीर पनि देखेकै हुँ  । तर, केही क्षणमै सडकमा उहाँको शरीर हरायो र उहाँको टोपी, मफलर, कट्टु र मोजा मात्र हिँडिरहेको थियो ।’

***

एक दिन मलाई धारण गरिरहेको शरीरले एउटा दलदलमा केही चलायमान वस्तु भास्सिँदै गरेको देख्यो । उसले दलदलबाट त्यो वस्तुलाई निकाल्यो । हेर्दा मान्छेकै जस्तो आकृति त देखिन्थ्यो । तर, त्यो आकृतिभित्र मान्छे थिएन । बस् माथि टोपी थियो, घाँटीमा मफलर थियो, अलिक तल कट्टु र अझै तल मोजा थियो ।

उसले हिलो र मैलोमा लतपतिएको त्यो आकृतिलाई घरसम्म ल्याउन आवश्यक ठानेन । किनभने त्यो देह र आत्माबिनाको आकृति थियो । तर, मलाई धारण गरेको त्यो मनुवा दयालु थियो । उसले आफ्नो कछाड फुकाल्यो र त्यसैले त्यो मैलो र अमूर्त आकृतिलाई छोपिदियो । त्यो उसले मानवजस्तै देखिने आकृतिका लागि गर्न सक्ने सबैभन्दा उच्च सम्मान थियो ।

यो सबै दृश्य मैले देखेकै हुँ । कुनै बेला म उनको देहसित अभ्यस्त थिएँ । त्यसैले त्यो आकृति प्रधानमन्त्रीकै हो भन्ने पनि मलाई थाहा थियो । तर, म कमिज न हुँ । कमिजले कसरी बोल्छ ? कमिजले के बोल्छ ? त्यसमाथि मैलो न मैलो कमिज ! मैलो मान्छेको कुरा नपत्याउने समाजमा मैलो कमिजको कुरा झन् कसले पत्याउने ?

***

अचानक हराएका प्रधानमन्त्री उसरी नै अचानक फेरि प्रधानमन्त्री निवासमा देखापरे । उनको शरीरभरि हिलो लागेको थियो । उनको हुलिया देखेर सबै चकित भए । सहयोगीहरूले उनलाई फेरि नयाँ टोपी, नयाँ मफलर, नयाँ गन्जी, नयाँ कमिज, नयाँ कट्टु र नयाँ पाइन्ट लगाइदिए । चिकित्सकहरूले फेरि उनको मुटुमा पेसमेकर राखिदिए । निर्जीव देखिएका प्रधानमन्त्री फेरि चलायमान देखिए । सिंहदरबारमा एक प्रेस कन्फ्रेन्स गरेर हराएका प्रधानमन्त्रीलाई सार्वजनिक गरियो ।

राति प्रधानमन्त्री निवासमा आतिसबाजी गरियो ।

त्यो हर्षोल्लास रातभरि मात्र कायम रह्यो ।

बिहान भने फेरि अर्को अप्रिय खबर सार्वजनिक भइहाल्यो, ‘प्रधानमन्त्री आफ्नै निवासमा मैलो न मैलो कछाडमा झुन्डिएको अवस्थामा फेला पर्नुभयो ।’

पोस्टमार्टम रिपोर्ट आयो । रिपोर्टमा लेखिएको थियो, ‘प्रधानमन्त्रीको आकृतिभित्र उहाँको देह नै थिएन । आत्मा पनि थिएन ।’

पूरै राज्यसंयन्त्र कछाडको मालिकको खोजीमा लाग्यो । अन्तत: मलाई धारण गरेको देह गिरफ्तार भयो । न्यायालयले उसलाई मृत्युदण्डको घोषणा गर्‍यो । कछाड नभएकाले उसको तल्लो अंग नग्न अवस्थामा थियो । उसले आफूलाई झुन्ड्याउन आएकाहरूसित भन्यो, ‘जब म तल नांगै छु भने माथि किन ढाक्ने मैले ?’

त्यसैले आफूले सूलीमा झुन्डिनुअघि मभित्रको गरिब देहले मलाई आफूबाट अलग्यायो र नजिकैको किलोमा झुन्ड्याइदियो ।

म झुन्डिएको किलोबाट पूरै मुलुक देखिन्छ । मुलुकको पूरै राजनीति पनि देखिन्छ । प्रधानमन्त्रीका नयाँ पोसाकहरू पनि देखिन्छन् । नयाँ पोसाकका प्रधानमन्त्रीहरू पनि देखिन्छन् । मैले नदेखेको र नबुझेको एउटै कुरा छ– प्रधानमन्त्रीका पुराना पोसाकहरू कहाँ गायब हुन्छन् ?

प्रकाशित : असार २७, २०७७ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×