मिसन महाभोज

नाटक
विप्लव प्रतीक

बाल्यकालमा स्कुल पढ्दा एउटा नाटकमा मुख्य भूमिका पाएको थिएँ । रिहर्सल एक महिना चल्यो । प्रदर्शन हुन पाएन । त्यसको धेरै वर्षपछि राष्ट्रिय नाचघरमा दाइ हरिप्रसाद रिमालले ‘श्रीकृष्ण चरित्र’ मा मुख्य भूमिका दिनुहुने भयो । त्यो नाटक कहिल्यै बनेन । अब भने नाटक खेल्ने लालसा जाग्यो । अनेक प्रयासपछि संगीतकार गणेशप्रसाद श्रेष्ठले बनाउनुभएको ‘निर्वाण मार्ग’ मा भूमिका पाइयो, मन्त्रीको ।

बडो सजिलो थियो, राजाको पछिपछि लागेर मञ्चमा आउने, ठिंग उभिने । राजाको संवाद सिद्धिएपछि लुरुलुरु राजाको पछि लागेर ब्याक स्टेजमा जाने । नाटक हेर्ने अभिलाषा रहिरहे पनि खेल्ने लालसाको लीला भने त्यहीँ टुंगियो ।


समय गुज्रिँदै गयो । म सिनेमा निर्माणतिर लागेँ । पत्रकारितामा प्रवेश गरेँ । समयको अन्तरालमा नाटकविमुख हुँदै गएँ म । नाटकमा सुनील पोखरेलको उदयपछि फेरि बौरियो नाटकमोह । म गुरुकुल नियमित जान्थेँ । अनुप बराल र सुनीलका नाटक हेरेपछि मैले नाटक र साहित्यको साइनो बडो गम्भीरतापूर्वक बुझ्न थालेँ । म कोठामा लेख्थेँ कविता, उनीहरू मञ्चन गर्थे कविता । एक्लै कविता कोर्नु र समूह मिलेर कविता लेख्नुको बडो महत्त्वपूर्ण अर्थ छ । यही क्रममा नाटक र नाट्यकर्मीहरूसँग कतिखेर माया बस्यो मलाई याद छैन । गुरुकुल गयो । नयाँ नाटकघरहरू आए ।


नयाँ नाटकघरमध्ये ‘मण्डला’ बाट मलाई एक दिन एउटा अवसर आयो । हिन्दुस्तानी साहित्यकार मन्नु भण्डारीको ‘महाभोज’ लाई अनुवाद गर्ने । नाट्यज्ञानी, साहित्यपारखी र कलाअनुरागी मेरा प्रिय भाई अनुपले सुझाएका थिए मेरो नाउँ । किन सुझाए उनै जानून् । नाटक मेरो प्राणवायुमध्ये एक हो । त्यसैले यो मेरा लागि महत्त्वको अवसर थियो । नाटकको झन् करिब पुग्ने अवसर । कुनै दिन आफैँले नाटक लेखेछु भने त्यसका लागि अभ्यासको योभन्दा अर्को सुयोग के हुन्थ्यो ?


दिनको आठ घण्टा काम गरेपछि एक महिनाभित्र नाटक उल्था मात्र भएन, त्यसलाई नेपाली समाज र समकालीन समय सान्दर्भिक बनाउन कतिपय ठाउँमा संवाद पुनर्गठन पनि भयो । अनुपले साढे तीन घण्टाको नाटकलाई दुई घण्टा पन्ध्र मिनेटको बनाउन उलटपुलट गरे, काँटछाँट गरे । नाटकको टेक्स्ट तयार भयो ।


त्यसपछि अनुपको अर्को प्रस्ताव आयो— नाटकको सुरु र अन्तिम अंकका लागि गीत लेखिदिने । त्यसबाहेक एक दृश्यपछि अर्को दृश्यमा जान सेतुका रूपमा गीत राख्ने विचार पनि फुरेछ उनलाई । तीनपटक पुनर्लेखनपछि पहिलो गीत तयार भयो, सेतु गीतहरूलाई खासै समय लागेन । किनभने कथा मेरो दिमागमा भर्खर कुँदिएको थियो । अन्तिम गीतका लागि पनि धेरै मिहिनेत गर्नुपरेन । निरंकुशताको विरोधमा जोसँग काँधमा काँध मिलाएर जुधेका थियौँ, तिनीहरू नै निरंकुश बन्न पुगेको शूल मनमा गहिरोसँग गढेको थियो । आहत हृदयबाट गीत फुर्न धेरै बेर लागेन ।


अब म छुट्टी मनाउने विचारमा थिएँ— कतै यात्रामा निस्किने र एक महिनापछि आएर नाटक हेर्ने । एक्ट वन सिद्धिएको थियो । तर, एक्ट टुमा हुने घटनाबारे बेखबर थिएँ म । अनुपले अर्को प्रस्ताव राखे— नाटकमा एकजना पात्रको भूमिका निर्वाह गर्ने । सातो गयो मेरो । संवाद कसरी कण्ठ पार्ने ? ब्लकिङ कसरी याद गर्ने ? कहिल्यै नगरेको काम गर्न सक्ने आँट ममा तुरुन्तै आएन । नाइँ भन्न नजान्ने मैले बडो मिहिनेत गर्नुपर्‍यो, अनुपसँग नाइँ भन्न ।


मैले पहिलो दिन नाइँ भनेँ । दोस्रो दिन फकाएँ । अनुपले टेरेनन् । रिहर्सल आधाउधी सिद्धिएताका अलि जोडले नाइँ भन्न पुगेछु अनुपलाई, ‘मैले अभिनय गर्दा अभिनयलाई हल्का रूपमा लिएको नहोला र ? कत्रो साधना र अभ्यास गर्नुपर्छ कलाकार बन्नलाई !’ उनले भने, ‘तपाईंले उल्था गर्नुभयो, गीत लेख्नुभयो । नाटकको प्रसेस त्यतिले बुझिँदैन । तपाईंले अहिले यो रोल गर्नुभयो भने प्रसेस बुझ्न पाउनुहुन्छ । अर्कोपल्ट मौका आउला नआउला ।’ मसँग उत्तर थिएन । नाइँनाइँकै बीचमा रिहर्सल गरिरहेँ, भनेको मानेजस्तो गर्ने र अन्तिममा आएर फुत्किने मेरो दाउ थियो । शोको दुई दिनअघि दिया मास्के कोरियोग्राफ गर्न आएकी थिइन् । मैले आशाको अन्तिम किरण देखेँ । ‘दिया, तिम्रो सोर्स लगाएर नाटकमा मलाई नखेलाउन अनुपलाई भनिदेऊ न प्लिज,’ मैले गुहारेँ । ‘मेरो अरू कुरा सुन्नुहोला तर, नाटक बनाउँदा एकपल्ट अनुप सरले निर्णय गरेपछि कसैको कुरा सुन्नुहुन्न । सरी,’ दियाको जवाफले म लल्याकलुलुक भएँ । अब मैले स्टेजमा उत्रिनुको विकल्प थिएन । धन्न, हरेक दिन संवाद रटिरहेको थिएँ ।


आखिर शोको दिन आयो । मैले आफ्नो काम त्यस दिनका लागि फत्ते गरेँ । कहीँ कुनै संवाद बिर्सिनँ । तर, अन्तिम संवाद बोलिसकेपछि खुट्टा लगलग काम्यो । ममा परेको बत्ती ननिभुन्जेल उभिनुपर्ने थियो । बडो यत्नले जति कामेको छ, त्यतिमै थुम्थुम्याएँ कम्पनलाई । पहिलो शो सिद्धियो । अब उनन्चालीस शो बाँकी थियो । एक जना साथीले पर्सिपल्ट फोनमा भन्यो, ‘तँ कवितैमा ठीक छस्, अभिनय नगर् ।’ डराएको मनलाई बल्लबल्ल थुम्थुम्याएको थिएँ, त्यसले अर्को अट्याक भेट्यो । म कलाकार बन्न खोजिरहेको थिइनँ, नाटकको प्रसेस बुझ्ने बाटोमा थिएँ । उसलाई मैले सम्झाउन सकिनँ । नाटकमा जान उत्साह मर्‍यो । तर, अचानक खेल्दिनँ भन्नु परिपक्व विचार लागेन मलाई । त्यसैले मैले साथीसँग भएको संवादलाई बल गरेर बिर्सिदिएँ । नाट्यात्रा जारी रह्यो । स्टेजभित्र छिर्दा मुटु ढुकढुक हुन्थ्यो । बिस्तारै हुन छाड्यो । संवाद बोल्न थाल्दा ढुकढुक हुन्थ्यो, त्यो पनि हुन छाड्यो । एक हप्ता बित्यो । मेरो भागमा छपल्ट बोल्नुपर्ने लामालामै संवादहरू थिए, एक दिन अन्तिम संवाद झ्याप्पै भुलेँ । रमेश बुढाथोकीजीले सम्हालिदिनुभयो । मैले संवाद बिर्सिएको उहाँले चाल पाउनुभएछ । त्योबाहेक सात दिनमा कुनै अनिष्ट भएन । सातौँ दिनको प्रदर्शनपछि मैले भाइ राजन खतिवडालाई भनेँ, ‘भाइ म सिकिस्त बिरामी भएँ भने त जगेडा आर्टिस्टलाई खेलाउँछौ होला नि !’ सदा विनम्र रहने राजन त्यस दिन केही कुराले अलि इरिटेट भएको थियो कि ‘दाइ यस्तो कुरा नगर्नुुस् है तपाईं अब’ भन्यो ।


भोलिपल्ट अप्रत्याशित कुरा भयो । मेरो स्वर सुक्यो । सासले मात्रै बोल्ने भएँ म । अझ कागजमा लेखेर कुरा गर्नुपर्लाजस्तो । मलाई लाग्यो चिठ्ठै पर्‍यो, म बिहानै मण्डला गएँ । मेरो हालत साउतीमा सुनाएँ । पहिलो खेप त सुन्नेले पत्याएन । अनुप स्याङ्जामा सुटिङ गर्दै थिए । चारैतिर हलचल मच्चिएको अवस्था थियो । म भने मख्ख थिएँ, अब काम गर्नु नपर्ने भयो । नयाँ कलाकार खोजिन्छ । उसले दुई–चार शो गरेपछि मैले अवकाश लिने अवसर पाउँछु ।


तर, सोचेजस्तो भएन । मेरो दृश्य भएको ठाउँलाई स्वाट्ट हटाएर नाटक देखाउने, म निको भएपछि, मैले नै आफ्नो रोललाई निरन्तरता दिनुपर्ने अनुपले निर्णय लिए । मैले नाटक खेल्नबाट फुत्किने मौका पाएँ भन्ठानेको त्यही मौकै पासो बन्न पुग्यो । सात दिनपछि म नाटक गर्न तयार भएँ, हुनुपर्‍यो । हरेक दिन अभ्यास गरेकाले संवादमा समस्या भएन । अर्को दिन गजब भयो, तेस्रो संवाद बोल्ने बेलामा ब्ल्याङ्क भयो दिमाग । भएभरको संवाद बिर्सिएँ । तर, एक सेकेन्ड पनि ढिलो नगरी नाटकमै नभएको संवाद अचानक मुखबाट फुस्कियो, ‘अचम्म छ बा’ । यो मैले आफैँप्रति गरेको प्रश्न थियो, गाली गरेको थिएँ आफैँलाई, संवाद बिर्सिएकोमा । तर, फेरि अर्को अचम्म भयो, भएभरको संवाद रिट्ठो नबिराईकन खरर्र दसम्झिएँ । ‘अचम्म छ बा’ भन्ने संवाद पनि मिल्न पनि पुगेको थियो संयोगवश । बडो आनन्द आयो त्यो दिन । तर, त्यसपछि मैले कुनै पनि शोमा ‘अचम्म छ बा’ भन्नुपरेन ।


रमाइलो के भने, हरेक दिन नौलोनौलो अनुभव हुन्थ्यो । त्यो सबै लेखेर यहाँ साध्य छैन । मैले बिर्सिनु नहुने के भने नाटकका अरू सारा कलाकारहरू मलाई दिनहुँ एनर्जी दिन्थे । ‘आज गज्जब गर्नुभो’, ‘आज कडा गयो है’ भन्नेजस्ता कम्प्लिमेन्ट दिन्थे । मेरा सबै सहकर्मीले मलाई लगाएको त्यो गुण मैले प्रसेस बुझ्न अनुपको प्रस्ताव नमानेको भए कहाँ अनुभव गर्न पाउँथेँ ? थियटरभित्र हुने सद्भावसँग कहाँ हुन्थ्यो मेरो साक्षात्कार ? अन्तिम चारवटा शो गर्ने बखतसम्म त ममा कहीँ नभएको आत्मविश्वास आइसकेको थियो । नाटक कहिल्यै नसिद्धियोस्जस्तो भइसकेको थियो । तर, के गर्नु, जे सुरु हुन्छ त्यसको अन्त्य निश्चित छ ।


‘महाभोज’ को यात्रा सिद्धियो । सबै आआफ्ना काममा व्यस्त भए । तर, केही महिनापछि अनपेक्षित खबर सुनेँ । भारत रङ महोत्सवमा सामेल हुन हाम्रो ‘महाभोज’ पनि छानिएछ । भारतीय नाट्य विद्यालयको आयोजनामा बर्सेनि हुने महोत्सव नाट्यकर्मीहरूको निम्ति तीर्थ हो । त्यहाँको रंगमञ्चमा नाटक देखाउन पाउनु रोमाञ्चक सपना हो नाट्यकर्मीका लागि । म फेरि संवाद रट्न थालेँ । अनुपको अगाडि रिहर्सल भयो । मैले जसरी बोल्दै आएको थिएँ, त्यो शैलीलाई उनले बदल्न लगाए । पहिले म खर्रर संवाद बोल्थेँ, शब्दको अर्थ खुल्ने गरी बोल्नुपर्दो रहेछ भन्ने कुरा पनि यही प्रसेसमा बुझ्ने मौका मिल्यो ।


पैँतीस जनाको जम्बो टोली जोगबनीबाट जाँदै थियौँ । यस मौकामा विराटनगरवासीलाई पनि यो नाटक हेर्नबाट किन वञ्चित गर्ने भनेर मण्डला र निर्देशकको मन मिलेछ । तीन शो भयो गुरुकुलमा । गन्तव्य दिल्ली थियो, त्यसपछि देहरादुन । लक्ष्यको चासो नराखी यात्राको आनन्दमा रमाउने मेरो मन पुलकित थियो । मानिसको जीवनमा रिवार्ड अनेक रूपमा आउँछ । ‘महाभोज’ को दिल्ली यात्रा मेरा लागि त्यस्तै रिवार्डमध्ये एक थियो ।


८ फेब्रुअरी २०२० मा हामी दिल्लीमा थियौँ, ९ तारिखको साँझ श्रीराम सेन्टरमा हाम्रो शो थियो । हामी सबै दिउँसै पुगेका थियौँ, सेट र रिहर्सलको काम सिध्याउन । त्यो भव्य भवन र अन्तर्राष्ट्रिय स्तरको अडिटोरियम, ग्रिन रुम र स्टेज देख्दा मन फक्रियो । र, तुरुन्तै ओइलायो पनि । हाम्रो राजधानी सम्झिएँ । कहीँ एउटा गतिलो हल छैन नाटकका लागि, कन्सर्टका लागि । सर्कस देखाउन बनेको एकेडेमीको हल, अप्ठ्यारो सिट भएको र बेढंगी तरिकाले बनेको राष्ट्रिय नाचघरका हलहरू र हल भन्ने नाउँ मात्र भएको राष्ट्रिय सभागृहको अनइन्जिनियर्ड अडिटोरियम आँखामा नाचे । भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हाम्रा गणतान्त्रिक नेताहरूले वर्षौँदेखि हड्पेर राखेका छन्, जहाँ पहिले कन्सर्ट पनि हुनेगर्थ्यो ।


नाटक सिद्धिएपछि प्रेक्षालयमा आउँदा सरप्राइज थियो मेरा लागि । राज्यसभा टेलिभिजनका टेलिभिजन प्रस्तोता सैयद इरफान हेर्न आएका रहेछन् । नाटकको उनले मुक्तकण्ठले प्रशंसा गरे । अनुप, दिया, राजन, म र मण्डला टिमका निम्ति उनीसँगको संवाद बडो प्रिय रह्यो । र, विशेष गरी म सधैं सम्झिनेछु दिल्लीमञ्चनलाई, किनभने कसमसले मलाई त्यस ठाउँमा बडो यादगार उपहार दियो– मेरो जन्मदिनको दिन ९ फेब्रुअरीमा म भारत रङ महोत्सव मनाउँदै थिएँ मेरा सहकर्मीहरूसँग श्रीराम सेन्टरमा ।


धन्यवाद अनुप, मलाई प्रसेस बुझ्न स्मरणीय अवसर दिएकोमा । बिर्सिन्छु कि भनेको दिनमा सब सम्झिने, आज बबाल गरेर देखाइदिन्छु भनेको दिनमा न्याउरो मुख लगाएर ब्याक स्टेजमा फर्किनुपर्ने र हरेक दिन नौलो ज्ञान फेला पर्ने के रहेछ यो नाटकको प्रसेस ? ममा बचेखुचेका अहंकार पखाल्नुपर्छ भन्ने चेत जगायो त्यो प्रसेसले । रहेका रहलपहल रिस रित्याउनुपर्छ भनेर सिकायो प्रसेसले । मभित्र गुँड लगाएको मायालाई झन् हुर्काउनुपर्छ भन्ने सुझायो प्रसेसले । सद्भाव, सामूहिक सहयोग र कलाकारबीच एकापसमा बाँडिने केयरिङ थप सिकाइदियो ‘महाभोज’ को यात्राले । नाटक मनोरञ्जन होइन भनेर थाहा थियो, नाटक चिन्तनको एउटा ‘टुल’ हो भन्ने पनि थाहा थियो । तर, पढेर पाएको सूचना थियो त्यो । परेर, प्रसेसमा छिरेर पाएको चाहिँ ज्ञान थियो ।


भोलिपल्ट हामी देहरादुन हिँड्यौ । अन्तिम शो जो गर्नु थियो । देहरादुनको थिएटर पनि उत्तिकै दामी थियो । आज यहाँ ‘महाभोज’ को अन्तिम प्रदर्शन हुनेछ । आजपछि फेरि महाभोज हुनेछैन यही समूहबाट । मनमा केही उदासी थियो, तर शोका निम्ति एनर्जी कायम राख्नु पनि जिम्मेवारी थियो । हामी सुरु भयौँ । पालो आयो मेरो स्टेज छिर्ने र आफ्नो भूमिका निर्वाह गर्ने । ठाउँपिच्छे फरक हुन्छन् मञ्च । फरक मञ्चमा फरक अनुभव हुन्छ । यहाँ मञ्चभित्र छिर्ने ठाउँमा लाइट दिन बिर्सेका रहेछन् । बल्लबल्ल ढोका फेला पारेँ । भित्र छिर्दा संवाद बोल्ने समय हुनै लागिसकेको थियो । हत्त न पत्त आफ्नो कुर्सीमा गएर बसेँ । लाइट आधा मात्रै पर्ने ठाउँमा कुर्सी हतारमा राखिएको रहेछ । अलि अप्ठ्यारो भयो । बत्ती बल्नेबित्तिकै संवाद सुरु गरेँ । दोस्रो संवाद बोल्नुपर्ने ठाउँमा बीचको संवाद बिर्सिएँ । त्यतिखेर चिन्तित हुने फुर्सद थिएन, हुँदैन । बिर्सेको संवादलाई मिलाएर बाँकी संवाद ठीकठीक बोलेर आफ्नो काम तमाम गरेँ । ब्याक स्टेजमा आएर लामो सास फेरेँ ।


हाम्रो ‘महाभोज’ सिद्धिएको थियो । तर, एकतान्त्रिक, प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक विभिन्न सरकारहरूबाट गरिब, उत्पीडित र निमुखाहरूले वर्षौँवर्षदेखि भोग्दै आएको उपेक्षा र विभेदको महाभोज चलिरहनेछ । प्रकाशित : चैत्र ८, २०७६ १५:२९

प्रतिक्रिया
पठाउनुहोस्

ब्याडमिन्टनका ‘राजकुमार’

पवन आचार्य

दार्चुला खलंगाका नारायण दाहाल आफ्नो समयका औसत खेलाडी थिए, ब्याडमिन्टनका । तीन छोरीपछि कान्छो सन्तानका रूपमा जन्मिएका छोरालाई उनले दाहाल परिवारको युवराज मानेर नाम दिए— प्रिन्स । उनै प्रिन्स अहिले ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा ७ औं स्थानमा उक्लिएका छन् ।

छोराले यत्रो सफलता तय गर्ला भन्ने उतिबेलै लागेको भए सायद नारायण र राजुमतीले कान्छाको नाम बादशाह नै जुराउँथे होलान् । हुन पनि इन्डिभिज्युअलतर्फ विश्व वरीयताको यो शीर्ष उचाइ नाप्ने प्रिन्स एक्ला खेलाडी हुन्, ‘ब्याडमिन्टनका बादशाह’ ।

वनको काँडालाई तिखार्न पर्दैन– प्रिन्स पनि वनकै काँडा भएर निक्लिए । ६० सालमा खलंगामा जन्मिएका प्रिन्स ६९ सालमा कृष्णमोहन स्मृति ब्याडमिन्टनमा सहभागिता जनाउन काठमाडौं आउँदा ९ वर्षका मात्रै थिए । खलंगामा बुबासँग ब्याडमिन्टन सिकेको भरमा उनले राष्ट्रिय प्रतियोगितामा त्यति राम्रो छाप छोड्न सकेनन् । पहिलो राउन्डमै पराजित भएर उनी खलंगा नै फर्किर्ए । तर, उनको मनमा ब्याडमिन्टनमा केही गर्ने अठोट बिस्तारै अंकुराउँदै थियो । ‘पहिलो खेलमै पराजित भएर फर्किंदा नरमाइलो लागेको थियो । मैले ब्याडमिन्टन खेल्नै नजानेजस्तो व्यवहार अरूले गर्दा मन दुःखी भयो । तर, बुबाले सम्झाउनुभयो,’ उनले भने ।

अर्को वर्ष प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरे । जुनियर स्पर्धाको सेमिफाइनलको स्पर्धामा पराजित भएपनि उनको प्रदर्शनले पुलिस स्कुलमा भर्ना हुने अवसर जुराइदियो । कक्षा ४ देखि ७ सम्म काभ्रेको साँगास्थित पुलिस स्कुलमा उनले पढाइ मात्रै होइन, ब्याडमिन्टन कौशल पनि तिखार्दै लगे । स्कुलमा पढ्दा उनी ब्याडमिन्टनका अलावा बास्केटबल पनि खेल्थे । तर, प्रशिक्षक पूर्ण थापाले ब्याडमिन्टनप्रतिको उनको लगावलाई देखेर बास्केटबलको लत छुटाए । स्कुलमै रहँदा प्रिन्सले १४, १६ र १९ वर्षमुनिका प्रतियोगितामा आफूलाई प्रमाणित गर्दै लगे । हिमालयन स्कुल च्याम्पियनसिप, जुनियर राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि बल्ल यिनमा हौसला पलायो ।

तर, सन् २०१६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भारतको पूणे पुगेका प्रिन्स दाहालसँगै ८ नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए । भारतमा प्रतिस्पर्धा गर्नका लागि काठमाडौंमा आयोजना भएको छनोट स्पर्धामा यिनी आठौं नम्बरमा छानिए । त्यतिबेला यिनलाई आफू त ब्याडमिन्टनको अनाडीजस्तो भान भएछ । भन्छन्, ‘खेल्नै नजानेजस्तो भएर स्ट्रेट सेटमा हार्नुपर्दा निकै नरमाइलो लाग्यो ।’ तर, २०१७ मा सोही प्रतियोगितामा छनोट चरण पार गरेर मुख्य प्रतियोगितासम्म पुग्नु नै यिनको सफलता भयो । गएको वर्ष भने यिनी प्रि–क्वार्टरफाइनलसम्म पुगे । हरेक वर्ष सफलताको सिंढी उक्लिँदै गरेका प्रिन्सलाई एक दिन सो प्रतियोगिताको च्याम्पियन बन्ने धोको छ । जुन अझै मरेको छैन ।

प्रिन्सले १५ वर्षमुनिको स्पर्धामा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । म्यानमार र भारतमा हासिल गरेको अनुभवले उनको प्रतिभा तिखार्ने काम मात्रै गरेन, आत्मविश्वास पनि बढाइदियो । त्यसको जगमा उनले सन् २०१८ मा दुबई इन्टरनेसनल सिरिजको १५ वर्षमुनिको स्पर्धामा पहिलो स्थान हात पारे । गत वर्ष उनले १९ वर्षमुनिको स्पर्धामा भारतका वरुण कपुरलाई हराउँदै स्वर्ण जिते । त्यतिबेला वरुण विश्व वरीयताको नवौं स्थानमा थिए । एकपछि अर्को सफलता हात पारेका प्रिन्स त्यसपछि जुनियरको विश्व वरीयतामा अट्न थाले । त्यसअघि ३२ औं स्थानमा रहेका प्रिन्स १४ औं हुँदै हाल सातौंमा छन् ।

प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा उनले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा गर्दा ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका हुन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकाले । त्यसपछि यिनको वरीयतामा लोभलाग्दो सुधार भएको हो ।

सन् २०१९ मै थाइल्यान्डमा भएको योनेक्स सिंघा रोजा जुनियर इन्टरनेसनलमा यिनी दोस्रा भए । सो प्रतियोगिता हेर्न यिनको साथमा आमा राजुमती पनि बैंकक पुगेकी थिइन् । आमाको अगाडि फाइनलमा हार्दा नमज्जा लागेको क्षण प्रिन्सले भुलेका छैनन् ।

प्रिन्सका आदर्श खेलाडी लिन डान हुन् । चीनका लागि २ पटक ओलम्पिक मेडल र ५ पटक विश्व च्याम्पियनसिप जितेका लिन डानजस्तै कम्तीमा जुनियर ओलम्पिकमा नेपाललाई पदक दिलाउने प्रिन्सको लक्ष्य छ । सन् २०२१ मा हुने जुनियर ओलम्पिकमा छनोट चरण पार गर्दै नेपाललाई पदक दिलाउने योजनामा उनी छन् । शीर्ष १०० मा अटाउनेले बिना वाइल्डकार्ड प्रतिस्पर्धा गर्न पाउने हुँदा प्रिन्स त्यसमा नपर्ने कुरै छैन ।

नेपालमा यिनलाई मन पर्ने खेलाडी रत्नजित तामाङ हुन् । आठौं राष्ट्रिय खेलकुदमा यिनले आफ्नै आदर्श रत्नजितलाई माथ खुवाइदिए । त्यसपछि रत्नजितले दिएको प्रतिक्रिया यिनले अझै भुलेका छैनन् । मुस्कुराउँदै यिनले सुनाए, ‘मसँग हारेपछि रत्न दाइले आएर बधाई दिनुभयो । नेपालबाट ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय पदक जित्ने अब तँ नै होस् । राम्ररी खेल्नू । अझै प्रगति गर्नू ।’

नख्खुको बुल्स क्लबमा ब्याडमिन्टनसँगै फिटनेसको पनि ट्रेनिङ गर्ने प्रिन्सका गुरु कृष्ण पुन हुन् । गुरुले जुनसुकै समयमा पनि ट्रेनिङको व्यवस्था मिलाएपछि पढाइ र प्रशिक्षणको मेलोमेसो मिलाउन सहज भएको छ अचेल उनलाई । फुर्सद खासै हुन्न प्रिन्सलाई । विश्व वरीयताको सातौं स्थानमा उक्लिएपछि सम्मान थाप्ने क्रमको व्यस्तता बढेको छ ।

विदेश गएका बेला पनि यिनी नयाँनयाँ बाइक र कार अगाडि उभिएर फोटो खिच्न रुचाउँछन् । मामा कमलेश निरौला जो यिनका म्यानेजर पनि हुन्, उनैले भान्जालाई लाइसेन्स नलिएसम्म मोटरसाइकल कुदाउन नदिएका हुन् । तर, मामाको आँखा छलेर र कहिलेकाहीं दार्चुला पुगेका बेला यिनी मोटरसाइकलमा सवार हुन्छन् ।

१३ औं सागका कांश्यपदक विजेता प्रिन्सले त्यसपछि आयोजित प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिजमा पुरुष एकल र डबल्समा दोस्रो स्थान हासिल गरे । उनलाई पनि इन्डिभिज्युल स्पर्धा बढी मन पर्छ । भन्छन्, ‘अरूसँग तालमेल गर्नुपर्ने अवस्था आउँदा आफूले मात्रै उत्कृष्ट प्रदर्शन गरेर हुन्न । अरूमा पनि निर्भर हुनुपर्ने भएपछि त्यति मजा पनि आउँदैन ।’

प्रिन्सको अबको लक्ष्य भनेकै बुबाले खेलाडीका रूपमा देशलाई दिलाउन नसकेको ठूलो अन्तर्राष्ट्रिय पदक भित्राउने हो । हुन त बुबा नारायण त्यति कहलिएका खेलाडी थिएनन् । अहिले भने, उनी प्रिन्स दाहालको बुबाका रूपमा कहलिन थालेका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×