म गंगा, पृथ्वीको धमनी

हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरुबीच रहेको टेथाइस समुद्रमुनि थियो । 
अजय दीक्षित

दक्षिण एसियामा किन हो कुन्नि म गंगा नदी सभ्यता, मोक्ष, पुण्य र स्वच्छताको पर्याय बनेकी छु । म मात्र होइन, सखी सिन्धु छन्, उता हिमालपारि उद्गम भएर बह्मपुत्र बग्छ, हाम्रा अनगिन्ती भाइबहिनीहरू छन् । हामी सबै सभ्यताका आधार हौँ, बहुउपयोगी छौं, र पवित्र पनि ! सर्वदा अविरल र स्वच्छ बग्दै रहने विश्वास थियो हामी सबैको । 

हिजोआज हाम्रो यो विश्वास डगमगाउन थालेको छ । यसरी नै तपार्इंर् ंमान्छेहरूले हाम्रा जलाधार र हामीमाथि हस्तक्षेप गरिरहने हो भने हाम्रो अस्तित्व छिट्टै संकटमा पर्नेछ । जलवायु परिवर्तनले वर्षाको चरित्रलाई पारेको प्रभाव हामी नदीहरूमाथि झन् थपिएको छ । हामीहरू, सिमसार एवं समस्त जलको दुरुपयोगलाई रोक्नुहोस्, हामीलाई नास हुन नदिनु होस् । हामी बिन्ती गर्छौं, संरक्षणको यात्रा सुरु गर्नुहोस्, अन्यथा, तपार्इंर्हरूकै जीवनमाथि सबभन्दा ठूलो बज्रपात आइपर्नेछ ।


भूतख्ताका घर्षण, अवतरण र यात्रा


हाम्रो जन्म केही करोड वर्षअघि भएको हो । हाम्रो पुर्ख्यौली कथा पनि निकै रोचक छ । अहिले हामी बग्ने धरातल गोन्डावाना र युरेसियन नामका भूतख्ताहरूबीच रहेको टेथाइस समुद्रमुनि थियो । गोन्डावानाबाट छुट्टिएको भारतीय भूतख्तायुरेसियन भूतख्तासित ठोक्किन आएपछि टेथाइस समुद्र खुम्चियो ।


चेपुवामा परेको जमिनमाथि उठ्न थाले, हिमाल, महाभारत, (शिबालिक) चुरे शृंखला र मैदान बने । सूर्यको तापले बंगाल र अरब समुद्रको पानी बाफ (बादल) बनेपछि मनसुनी हावा र पश्चिमी वायु, वर्षा र हिमपातका सिलसिला सुरु भए । वायुले बाफलाई आकाशमा पुर्‍याए, जलचक्र स्थापित भयो ।


हामीहरू हिमाल, महाभारत, चुरे, बिन्ध्या पर्वतमाला एवं मैदानी भू–भाग हुँदै, बग्दै बंगाल र अरब समुद्रमा पुग्यौं । हामी नदी मात्र नभएर सम्यता पनि हौं । हाम्रा किनाराहरूमा सभ्यता विकास भए, अझै छन्, भविष्यमा पनि रहिरहनुपर्नेछ ।

भागीरथी, मन्दाकिनी, अलकनन्दा, यमुना, महाकाली, कर्णाली, सरयू, गोमती, मोहना, राप्ती, गण्डकी, वाग्मती, कमला, कोसी अनि कन्काई (महानन्दा) मेरा बहिनीहरू हुन् । नेपालबाटबग्ने महाकाली, कर्णाली र बबई भारतमा पुग्दा

नाम बदलिएर क्रमशः शारदा, घाघरा रसरयू बोलाइन्छन् ।


हामी त नदी थियौं । लिंग, जात केही थिएन । तर, तपाईंहरूले हामीमध्ये कसैलाई केटा त कसैलाई केटी बनाइदिनुभएको छ । यति मात्रै होइन, एउटै नदीलाई कतै केटा त कतै केटीको नाम दिनुभएको छ । कैलाश पर्वतको पश्चिमी मोहडामा उद्गम भई पाकिस्तानमा बग्ने सखी सिन्धुलाई उपल्लो भेगतिर शेर दर्या (सिंह नदी), आब्बासिन (नदीहरूका पिता) को नामले पनि बोलाइन्छ (अलबिना, ए., २००५, द इम्पायर्स अफ द इन्डस्, द स्टोरी अफ अ रिभर) ।


भाइहरू रबी, ब्यास, सतलज, झेलम र चेनाव भारत र पाकिस्तानबाट आएर सखी सिन्धुमा मिल्छन् । सिन्धु अरब सागरमा विलय हुन्छिन् । कैलाश पर्वतबाट निस्केको यार्लुंगसाङ्पो आसाममा बह्मपुत्र हुन्छ भने बंगलादेशमा पुगेपछि जमुना, कतै भाइ त कतै बहिनी । नारायणी भारतमा गण्डक हुन्छिन् ।


भूगोलले पनि हामी बग्ने स्वरूपलाई निर्धारण गरिदिएको छ । झारखण्डको राजमहल काटेपछि म गंगा स्वयं दुई धारमा बाँडिएकी छु– पद्मा र हुग्ली भन्छन् मलाई । दामोदर र रूपनारायण हुग्लीका भाइहरू हुन् । पूर्वी बंगालतर्फ (बंगलादेश) लागेपछि पद्मालाई पद्दाको नामले पनि बोलाइन्छ ।


मेघालय र बंगलादेशबाट आएकी बहिनी मेघना पद्मामा समाहित हुन्छिन् । मेघना र बह्मपुत्रलाई बोक्दै पद्मा बंगालको खाडीतर्फ लाग्छिन् । बहिनी पद्मा र हुग्ली अनगिन्ती धारहरूमा विभाजित भई सुन्दर–वन हुँदै बंगालको खाडीमा विलय हुन्छिन् ।


म, मेरी सखी र भाइबहिनीहरूको फैलावट क्षेत्र हाल विश्व जनसंख्याको करिब १५ प्रतिशत मान्छेको बासस्थान हो । मौसमअनुसार, हाम्रो व्यबहार पनि बदलिने गर्छ । वर्षायाममा हामी अलि आक्रामक हुन्छौं । भल–बाढीका साथमा प्रशस्त ढुंगा, बालुवा र माटो ओसार्छौं, मैदानी भेगमा लगेर थुपार्छौं ।


पहाडहरू कोतरेर हामीले धरातलमा माटो ल्याउने गरेका हौं । वर्षायाममा माटो त के, उस्तै परे सानासाना पहाडै गर्‍यामगुरुम सोहोरेर ल्याउनु हाम्रो जन्मजात चरित्र हो । हामीले माटो नथुपारे खेत मलिलो रहन सक्दैन । अझ मिहिन माटो बगाएर समुद्रमा पुर्‍याउँछौं ।


जलविज्ञान, साहित्य र त्रिवेणी


विज्ञानका अनुसार, हाइड्रोजनका दुई र अक्सिजनको एक परमाणु मिलेर हाम्रा आधार पानीको अणु बनेको हो । अमेरिकी विज्ञान र प्रविधि काउन्सिलका अनुसार, ‘जलविज्ञानले पृथ्वीका पानीहरू, तिनका उपलब्धता र वितरण, तिनका रासायनिक र भौतिक गुण, तिनको पर्यावरणलगायत समस्त प्राणी जगत्सितको सम्बन्ध व्याख्या गर्छ ।’


पौराणिक ग्रन्थले जलविज्ञानको मर्मलाई समेटेको छ । एउटा व्याख्या भन्छ, सूर्यको तातोले आकाशमा पुगेको पानी, बादल बनी वर्षामा परिणत हुन्छ, नदी, पोखरी र समुद्रमा सञ्चित हुन्छ । हामीबारेका बुझाइ खालखालका भए पनि व्याख्यामा निर्मल जलचक्रको मान्यताले मेल खान्छ ।


एकथरी मानिस मलाई असाध्यै माया गर्छन् । दक्षिण एसियाका धेरै बसिन्दाले मलाई माता (आमा, माई) भन्दै पूजा गर्छन्, उनीहरूले १०७ नाम दिएका छन् (शिव, २००२, वाटर वार्स), श्रद्धाले गंगाजी भन्छन् । अंग्रेजी भाषीहरूले मलाई ‘ग्यान्गेज’ भनी बोलाउँछन्, सायद गंगाजीको अपभ्रंस हो । इडन बगैंचाका चारमध्ये एक ‘पिसन’ नदीसँग मलाई जोडिएको छ (सिंह आर, १९९२, द गंगाज) ।


म मेरा बहिनी, भाइहरूले कवि र गायक परिकल्पनामा महत्त्वपूर्ण स्थान पाएका छौं । पूर्वी बंगाल (बंगलादेश) मा पद्मा र बहिनी धारहरूमा डुंगा–यात्रा गर्दै रवीन्द्रनाथ टेगोरले गीताञ्जली सिर्जना गर्ने प्रेरणा पाए । कवि शिरोमणि लेखनाथ पौड्यालले रचेका छन् : ‘गंगामा भुक्ति मुक्ति दुई दिदीबहिनी नित्य खेल्छन् कपर्दी ।’


भुपेन हजारीकाले गाएका छन् :

‘हे, गंगा तु वहेती हे क्यों ?’

हिन्दु धर्मावलम्बीहरूले स्नान गर्दा वाचन गर्ने श्लोकमा सिन्धु, यमुना, सरस्वती, विन्ध्या शृंखलापारिका गोदावरी, नर्मदा, काबेरी र मसहित हामी सात दिदीबहिनी समेटिएका छौं ।

गंगे च यमुने चैव गोदावरी सरस्वती ।

नर्मदे सिन्धु कावेरी जलेद्रस्मिन् सन्निधिं कुरु ।।

अर्थात्

हे पवित्र नदीहरू, मैले स्नान गर्ने पानीमा उपस्थित हुनुहोस् ।


तर, मलाई एउटा कुराले सधैं अचम्मित पार्छ— श्लोकमा अरू भाइबहिनीहरू किन छैनन् । ब्रह्मपुत्र पनि छैन । मेघदूतका रचयिता महाकवि कालीदासले ‘पृथ्वीको नाडी’ मानेका हिमालय पर्वतमालालाई (सिंह आर, १९९२, द गंगाज) कैलाश पर्वतदेखि पूर्व, उत्तर र दक्षिण तीन तीरबाट घेरेका छौं । जलको आदर गर्ने श्लोकलाई त्यसबेलाको ‘नदी–गान’ भन्दा

कसो होला ?


हामी भाइबहिनीको मेलले तीर्थस्थल जन्माउँछ, जहाँ मान्छेले त्रिवेणीको परिकल्पना गर्छन् । मान्छेको कल्पनामा मात्र जीवित बहिनी सरस्वती इलाहावादमा म (गंगा) र यमुनासित भूमिगत बाटो हुादै मिल्न आउँछिन् । सखी सिन्धु र बहिनी यमुनाको बीचबाट बगेर अरब सागरमा पुग्ने घग्गर नदी नै सरस्वती हुन् भनेर मान्नेहरू पनि छन् (सन्याल एस २०१५, द इन्क्रिेडिब हिस्ट्री अफ इन्डियाज जियोग्राफी) । बहिनी सरस्वती सुकेकी छन्, बग्दिनन् ।


हरेक १२ वर्षमा इलाहावाद त्रिवेणीमा लाग्ने कुम्भमेलामा आस्थाका करोडौं पुजारीहरूसहित अनगिन्ती मानिस भेला हुन्छन् । उता नेपालको धनकुटाको तल्लो फाँट बहिनी सुनकोसी, भाई तमोर र अरुणको त्रिवेणी हो । भाइ अरुण तिब्बतबाट हिमाली शृंखला छिचोल्दै नेपालभित्र बग्छ । त्रिवेणीबाट पहाड काटेर कोसी चतरा आइपुग्छिन्, नेपाल हुँदै, विहारको कुरुसेलामा आएरमसित मिल्छिन् ।


यस क्षेत्रका बसिन्दाहरूको भविष्य हाम्रा जलाधारहरूका सन्तुलन र स्वच्छतामा टिकेको हुँदा तिनको रेखदेख गर्नु धेरै बुद्धिमानी बाटो हो । संरक्षणका गोरेटा खन्न तपार्इंर् मान्छेहरूले नयाँ कल्पनासहित प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्या मिलाएर पूर्ण ज्ञान सिर्जना गर्न सके सबैको भलो हुने थियो ।


वेलगाम दोहन, प्रदूषण र ह्रास

तपाईंहरुले आफ्ना सीमितता र प्रकृतिको भूमिका तथा देनलाई लेखाजोखा गर्न बिर्सनुभएको छ । प्रकृतिमा अन्तरनिहित भएर समाज र हामी जीवित छौं भन्ने वास्तविकता बिर्सेर, प्रकृति भर्सेस विकासको तर्क तपाईंहरुले स्वीकार गर्नुभयो । प्रकृति र जैविक विविधताको व्यापक विनाशले आज तपाईंहरुलाईनै तर्साइरहेछ ।


तपाईंहरुकै भाषामा भन्ने गरेको राज्यलगायत बजारले सोचेअनुरूप उपयोग नभएका हामी नदीहरू खेर गएका हुन भन्ने तर्क थाल्नुभयो । सन् १९०० पछि संयुक्त राज्य अमेरिकामा त अझ सुरिएर हामी नदीको सबै पानीको गन्तब्य सिँचाइ, बिजुली उत्पादन र उद्योग मात्रै हो भन्ने नीति लागू गरे ।


यो नीतिले उनीहरूलाई केही फाइदा त दियो तर तल्लो भेग, त्यहाँ बस्ने मानव समुदाय, हामी दिदीबहिनी र भाइहरूको बग्ने अधिकार, हामीमा आश्रित तर बोल्न नसक्ने प्राणीहरू एवं जलचर (माछा, डल्फिन, गोहीका प्रजाति) का आवश्यकता र चासोलाई बेवास्ता गर्न थाले । यही दृष्टिकोणले यस क्षेत्रको जलयात्रा पनि डोरिन थाल्यो ।


हाम्रा पिँध र किनाराबाट तपाईंहरुजथाभावी ढुंगा र बालुवा निकाल्ने गर्नुहुन्छ । तपाईंहरुको घर र पूर्वाधार निर्माणका लागि सिमेन्ट जडान गर्न यी आवश्यक छन् तर तपाईंहरुतातै खाऊ जलि मरौं जसरी असन्तुलित उत्खनन गर्न लाग्नुभएको छ । अरू त छाडौं घर निर्माण गर्ने वैकल्पिक सामग्रीको खोजीसम्म पनि सुरु गर्नु नै भएको छैन ।


बेलाबेला जथाभावी उत्खनन गर्नुहुन्न भन्नु त हुन्छ तर राज्यको नियमन संयन्त्रलाई भताभुंग पार्नुभएको छ । आफ्ना गुटका सदस्य मात्रले फाइदा लिने, राज्यको स्रोतमा कब्जा जमाउने नियत अवलम्बन गर्नुभएको छ । अनियन्त्रित दोहनका गतिविधि दिनदहाडै भइरहेका छन् (निटी फाउन्डेसन, २०१९, नेपालल्स क्लेप्टोक्राटिक नेटवर्क) ।


आवश्यक परेरै होला तपार्इंर्हरूले थुप्रै संरचना निर्माण गर्नुभएको छ, तपाईंहरुका संगठन र विज्ञहरूसित यसो गर्ने क्षमता छ । प्रविधि खरिद गर्न पाइन्छ, राज्यशक्ति पनि सहयोगी छ । तर, जलको उचित संरक्षण गर्न सक्नुभएको छैन न त गुणस्तरीय खाने पानी आपूर्तिको उचित प्रबन्ध । विपन्न परिवार एवं महिलाहरूले खानेपानी र सरसफाइको अभावमा भोग्ने पीडालाई तात्त्विक रूपले कम गर्नुभएको छैन । जल प्रदूषण निरन्तर छ । जसले हाम्रो रूप र गति नै हेरिनसक्नु भइसक्यो ।


हामीले नदीहरूको मात्रै होइन, भू–जलको बेलगाम दोहन गर्नु हुन्छ ? ठूलाठूला पम्प प्रयोग गरेर, वर्षाले भर्न नसक्ने गहिरा भू–जलाशयबाट पानी तान्नु हुन्छ, व्यापारिक खेती र सहरी क्षेत्रमा विलासिताका लागि प्रयोगमा लगाउनु हुन्छ ?

हामीले हाम्रा किनारमा सामाजिक र सांस्कृतिक जग निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यौं । कसैलाई विभेद नगरी जलचक्रका धागासरह हामी निरन्तर बगिरह्यौं, भविष्यमा पनि बिनाविभेद निरन्तर रहन चाहन्छौं । साँच्चै भन्दा तपार्इंर्हरूको जस्तो हाम्रो भाषामा विभेद भन्ने मान्यता र शब्दै छैन ।


तर तपार्इंर्हंरूले राजनीतिक तथा सामाजिक सिमाना र बन्देज निर्माण गर्दै हाम्रो लय बिथोल्नुभयो । पानीको प्रयोगमा विभेद र सीमान्तीकरण सुरु गर्नुभयो । समाजमा ठूलो बोलवाला भएकाहरूले सरकारी नीतिलाई आफ्नो हितमा सजिलै बंग्याउन सक्ने परिपाटी बसाल्नुभयो । यो विभेद समाजमा झनझन जकडिन थालेको छ ।

नदी, ताल तलैया, भू–जल र वर्षाको खण्डित लेखाजोखा गर्दै प्रशासनिक हैकमको जलविकास बाटो स्थापित गर्नुभएको छ । तपार्इंर्हंरूका सिँचाइ, जलविद्युत्, खानेपानी, व्यवस्थापन गर्ने राज्यका संगठनहरू एकअर्कासित समन्बय नगरी आ–आफ्नो ढंगले काम गर्छन् ।


तपाईंहरुमध्ये कोही राज्यले सकेन, भन्दै एकांकी बजारको शरणमा पुगी नदी र जलनिधिको पूर्ण निजीकरणको वकालत गर्नुहुन्छ । केही जलसेवा आपूर्तिमा बजार संलग्न छ, तर बजारको नियमन गर्नुहुन्न । हामी नदी तपाईंहरुको सिर्जना होइनौं । हावा, पानी र माटो निर्माण गर्ने क्षमता तपाईंहरुमा छैन भन्ने हेक्का अझै पलाएको छैन ।


पोखरी, कुण्ड, तालतलैया र सिमसारमा बुल्डोजर दगुराउनुहुन्छ, मास्नुहुन्छ । चौरहरू देख्यो कि कंक्रिटले ढाकी हाल्नुहुन्छ । भू–जल भरिन पाउँदैन, जलचक्र खण्डित हुन्छ हामी नदीहरू ह्रास हुन्छौं भन्ने सोच्नुहुन्न, न त विपन्नहरू अन्यायमा पर्छन् भन्ने वास्तविकता ।


प्रकृतिसँग प्रेमसहित बातचित गर्ने सच्चा मानव आत्माहरूले सुरु गरेका जल संरक्षणसम्बन्धी केही स्थानीय सत्प्रयास पनि छन् तर यतिले हाम्रो खस्कँदो यात्रा रोकिएको छैन । हामी बग्ने बाटाहरूलाई जानीजानी हडपेर साँघुरो पार्नुभएको छ । तपाईंहरुका सहरहरू अव्यवस्थित, कुरूप र प्रदूषित छन्, ढकमक्क हरियालीबिनाका छन्, बासिन्दामैत्री छैनन् ।

जल आपूर्ति संकटमा परेको सहरमै केही समयपछि विकराल बाढीका घटना निरन्तर हुन थालेका छन् ।


हाँडीघोप्टे पानी परेपछि जब हामी गडगडाउँदै बग्छौं, तपाईंहरुसंकट भोग्नुहुन्छ, हामीलाई सराप्नुहुन्छ,– ऐया र आत्था गर्दै । तर केही दिनपछि सबै बिर्सनुहुन्छ । जल–सुशासन स्थापित गर्न तपाईंहरुचुक्नुभएको छ । धेरै के भनौं र, हामीमाथि गरिने अन्याय अन्तिममा गएर मानव जातिको हितमा छैन है ।


जल–विवेक, निर्मलता र स्वच्छता


वर्तमान जलसंकटका एउटा कारण हो, खण्डित जलचक्र अपनाइएको (स्विकारिएको) दृष्टिकोण र विधि । समुद्र र बादलको बीचमा रहेर हामी जमिन, जंगल, समुदाय, प्रयोगहरू, आस्था र सभ्यतालाई जीवन्त राख्छौं ।

हामी नदीहरू पृथ्वीका धमनी हौं, खेर गएका होइन, र जाँदैनौँ पनि, बग्नु हाम्रो धर्म हो । हामी अनवरत स्वच्छ रहनुपर्छ । कुम्भमेलामा आउने बहुसंख्यक मान्छे पवित्र जल र नदीका मान्यताले प्रेरित भएका हुन्, अन्यथा होइन । दुर्भाग्य, यो मान्यता तपाईंहरुका क्रियाकलापमा देखिँदैन ।


अत्याचारको पनि एउटा सीमा हुन्छ । तपाईंहरुत आफ्ना मलमूत्र सोझै हाम्रा शरीरमा मिल्काउनुहुन्छ, बगाइहाल्छन् भन्ने अल्पदृष्टि राख्नुहुन्छ । प्राकृतिक पानी घर–घरमा ल्याउनुहुन्छ, बाथरुममा विष्टासित फ्लस गर्नुहुन्छ । सफा पानीमा बिष्टा मिसाउने संस्कारको विडम्बनाले खै तपाईंहरुलाई कहाँ पुर्‍याउँछ कुन्नि ?


पानीले ढल बगाउने संस्कार तपाईंहरुले तत्काल बदल्न सक्ने आशा त हामीले गरेका छैनौं । तैपनि, ढलचक्र र जलचक्र भिन्दाभिन्दै रहने विधि त सुरु गरे हुन्थ्यो नि । प्रशोधन नगरेको ढल जलचक्रमा नमिसाउन सामूहिक वाचा गरेर अघि बढेदिए कम्तीमा पनि चित्त बुझाउने ठाउँ त रहने थियो ।


अब हामी तपाईंहरुमान्छेलाई केही आह्वान गर्छौं । जल र नदी संरक्षणलाई नयाँ यज्ञको रूपमा अगाडि लैजानुहोस् । के, कसरी र कस्ता विधि छान्ने भन्ने प्रश्नका जवाफ खोज्ने दायित्व तपाईंहरुको हो । प्राकृतिक विज्ञानले तपाईंहरुलाई के, कति भन्ने प्रश्नको जवाफ दिन्छ, न्याय र शासन पद्धतिका लागि सामाजिक विज्ञान आबश्यक छ, लोकविद्याले स्थानविशेष समुदायका मान्यतालाई अपनत्व दिन्छ ।


एक्ला हिसाबले तिनका प्रयोग अपुरा छन् । प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र लोकविद्याको सम्मिलन गर्नुहोस् । संयोजित विधिलाई पवित्र जलको मान्यताको जलप लगाउनुहोस् । विवेकको आधार ज्ञान, ज्ञानको सूचना र सूचनाको आधार तथ्यांक हो । हिजोआज तथ्यांकको बाढी आएसरह छ, त्यसलाई विवेक बनाउन तपार्इंर्हंरूको अथक मिहिनेतजरुरी छ ।


जल–विवेकबाट निर्देशित भई यस्तो शासन पद्धति सुरु गर्नुहोस् जसले तपार्इंर्हंरूको आवश्यकता परिपूर्तिका साथै हामी नदी पनि निरन्तर स्वच्छ बग्न सक्ने पारोस्, हाम्रा डगमगाएको विश्वास उकास्ने काम गरोस् ! हामी सबै स्वच्छ र अविरल रहने संस्कृति जल संकट समाधानको सहयोगी छ ।


त्यस्तो संस्कृतिका लागि हामीहरूले नयाँ नदी–गान बनाउने निधो गर्‍यौँ । जसका लागि हामीले भेला बोलायौं । मैले अगुवाइ गरेको एउटा छलफलमा जल अध्येता अजय दीक्षितलाई बोलाएर भन्यौं, ‘हामी सबै नदीको संरक्षित र साझा भविष्यबारे एउटा ‘नयाँ बृहत् कल्पना’ तयार गर ।’ तिनले तत्काल एउटा खेस्रा तयार पारेर सुनाए, तर त्यति छन्द

मिलेको थिएन ।


उनले शिक्षक टीकाराम शर्माको सहयोग लिएछन् । त्यसपछि सुनाएको नदी–गानले हामी दंग पर्‍यौं । गानले हालको नेपाल, भारत, तिब्बत (चीन), बंगलादेश, दक्षिण–भारत, पाकिस्तान, हिमाल, महाभारत, चुरे र विन्ध्या शृंखलातिरका प्रतिनिधि चौधवटा नदीलाई समेटेको छ । हामीले सहर्ष मञ्जुरी दियौं । त्यो नयाा नदी–गान सुन्नुहोस् है तः


‘गंगा, मेघना र भाई ब्रह्मपुत्रहरू,

महाकाली र कर्णाली, नारायणी, कौशिकीहरू ।

अविरल बहेका छन् वाग्मती, कमलासरी,

बेतवा, रोहिणी, सिन्धु, नर्मदा जलसुन्दरी ।

गोदावरी नदीजस्ता स्वच्छ यी जलसम्पदा,

प्रेम र आदरले हामी, सम्झन्छौं गर्वले सदा ।’’


हामी आशा गर्छौ, तपाईंहरुमानिसहरूले नदी, पोखरी, कुण्ड, ताल, सिमसार र भूजलको सन्तुलित प्रयोग गर्नुहुनेछ । त्यसो भयो भने हाम्रो विश्वास छ तपाईंहरुसन्तान–दरसन्तानले जल संकट भोग्नुपर्ने छैन, कञ्चन बग्दै गरेका मेरा दिदीबहिनी र भाइहरूलाई हेर्न, अनुभव गर्न र आनन्द लिन पाउनेछन् । तपार्इंर्हंरूको शरीरभित्र पनि दुई तिहाइ पानी नै छ नि । सत्य यही हो–पानीबिना जीवन सम्भव छैन ।

आगे तपाईंहरुकै विचार ! प्रकाशित : चैत्र ८, २०७६ १३:२१

प्रतिक्रिया
पठाउनुहोस्

माफी पाऊँ डीपी सर !

कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो । उहाँ रङहरुको हिसाब–किताबमा होइन, रङहरुमा बाँच्नुभयो, अझ आफैं रङहरु भएर । डीपी सरबारे म के लेखूँ ? सम्झनाहरु ठेलमठेल छन् । 
सञ्जय घिमिरे

डीपी सर रहनुभएन । सधैंभर चर्का स्मृतिका कुरा गर्ने सरलाई आखिरमा विस्मृतिको रोगले लग्यो । यो खबर सुनेदेखि एक किसिमको नोस्टाल्जियामा छु । कहाँबाट सुरु गरौं लेख्न ? 

एउटा यस्तो व्यक्ति, जो कहिले दार्शनिक–चिन्तकजस्तो, कहिले चामत्कारिक वक्ताजस्तो, कहिले चुम्बकीय लेखकजस्तो । कहिले पूर्वीय धर्म, अध्यात्म र अनुशासनको ज्ञाताजस्तो । कहिले पश्चिमी दर्शन, चिन्तन र रोमान्टिसिजमको एउटा पात्रजस्तो ।

कहिले उमेरमा मात्तिएको सुदूर गाउँको एउटा उन्मत्त ठिटोजस्तो, जो अक्सर मौकाको पर्खाइमा हुन्छ । तर, खासमा एउटा यस्तो प्रोफेसर, जो साँच्चिकै प्रोफेसरजस्तो । अर्थात् ज्ञान, चिन्तन, बोली र लेखनमा लय भएको एउटा मान्छे । त्यस्तो मान्छेको बारेमा म के लेखूँ ? सम्झनाहरू ठेलमठेल छन्, स्मृति उकुसमुकुस ।

यसैले कठिन भइरहेको छ उहाँका बारे लेख्न । सम्झिरहेको छु— उहाँसँग मृगस्थलीतिर डुलेको, ‘रंगीला’ फिल्म हेर्न गएको, कुनै एउटी युवतीलाई उहाँको सान्निध्यमा पुर्‍याएको । उहाँसँगका संवादहरूको रोमाञ्चकता र गहिराइका बारेमा त के भनिरहनु ?

के गरिएन ? र, के भएन उहाँको साथ संगत सान्निध्यतामा ?२५ वर्षअघिको लक्ष्मीपूजाको दिन, जुन दिन मैले लक्ष्मी–पुत्र होइन, सरस्वती पुत्र उनै डा. दुर्गाप्रसाद भण्डारी (डीपी सर) लाई पहिलोपटक भेटेको थिएँ— काठमाडौं, पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी स्कुलको प्रांगणमा, जहाँ हरेक वर्ष लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा कार्यक्रम हुने गर्छ ।

त्यो दिनको कार्यक्रममा प्रमुख अतिथि थिए पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र प्रमुख वक्ता थिए— डा. डीपी भण्डारी ।म भर्खर राजधानी काठमाडौं छिरेको, शरीर र विचारले पनि एउटा दुब्लो–पातलो मान्छे । कत्तिले लुरे पनि भन्थे ।त्यो कार्यक्रममा भण्डारी सरको भाषण सुनेपछि म यसरी प्रभावित भएँ कि, मञ्चबाट ओर्लनेबित्तिकै मैले उहाँलाई निकै आँट जुटाएर सोधें, ‘सर म तपाईंसँग कुरा गर्न चाहन्छु । तपाईं मलाई समय दिन सक्नुहुन्छ ?’

उहाँले मलाई बहुत विनम्रतापूर्वक आफ्नो घरको ठेगाना दिनुभयो ।एउटा प्रोफेसर, त्यो पनि अंग्रेजीको, जसले मजस्तो उमेर, शरीर र विचारको दुब्लो–पातलो मान्छेलाईआफ्नो घरमा आमन्त्रित गरिरहेको छ । मलाई खपिनसक्नुको खुसी र छटपटी भएको थियो त्यतिबेला । केही दिनपछि उहाँको घर खोज्दै म पुगेँ उहाँलाई भेट्न । उहाँलाई भेट्न जाँदा म जीवन र जगत्बारेका अनगिन्ती जिज्ञासाहरूले भरिएर पुगेको थिएँ ।

तिनै जिज्ञासामध्येबाट चार जिज्ञासा मैले सरसमक्ष राखें । जिज्ञासाहरू धूमिलप्रायः रूपमा अझै सम्झनामा छन् । तीमध्ये एउटा जिज्ञासा थियो— सर, प्रायः सबै धर्म–उत्पत्तिका सन्दर्भहरू दुःखहरूसँग जोडिएका छन्, जस्तो हिन्दुमा युद्धका कथाहरू छन्, बौद्धमा सिद्धार्थ गौतमले दरबार छाडेका कथाहरू छन्, क्रिस्चियनमा सुलीमा चढाइएका सन्दर्भहरू छन् । यसको साटो यदि धर्म सुखबाट उत्पत्ति भएको भए अझ राम्रो हुन्थ्यो कि ?

हो, यो एउटा यस्तो प्रश्न भैदियो, जसले भण्डारी सरसँगको संगत बाक्लो बनाइदियो । उहाँले त्यतिबेला दिनुभएको जवाफ अहिले पूरापूर सम्झनामा छैन, तर त्यसपछि उहाँले मेरा लागि आफूसँगको सान्निध्यताको ढोका खोली दिनुभयो । र, यो सान्निध्यता अझ–अझ गहिरिँदै र बाक्लिँदै गयो ।

यसै पनि हामी त्यतिबेला ‘सुरुचि’ साप्ताहिकमा मीनाक्षीका नाममा उहाँले लेखेका लेखहरूका फ्यान छँदै थियौं । एकदमै प्रेमिल सम्बोधन मीनाक्षीलाई, तर विचरण समाज, राजनीति, जीवन–जगत्का विशाल र गहिरा समुद्रहरूमा । अद्भुत लेखनशैली थियो, भण्डारी सरको । चिन्तन र तर्कलाई सरल रूपमा राख्ने । निकै उदारतापूर्वक राख्ने ।
प्रेम र यौनका बारेमा उहाँका लेखन पढेर वा युवतीहरूसँग अलि बढी निकट हुने उहाँको व्यवहारलाई लिएर कतिपय मान्छेहरू ठान्थे, ‘भण्डारी सर अलि छाडा हुनुहुन्छ । प्रेम र प्रणयमा अलि बढी रमाउनुहुन्छ आदि ।’

हामी पनि त्यसै ठान्थ्यौं । र, युवतीका नाम राखेर पाठक पत्रहरू पठाउँथ्यौं । हामीले सिर्जना गरेका नक्कली पाठक– युवतीहरूलाई उहाँ जवाफ फर्काउनुहुन्थ्यो । हामी पुलकित हुन्थ्यौं । ती शर्मिष्ठा वा शीला थिएनन् । अहिले स्वीकार गर्नैपर्छ– ती हामी नै थियौं ।

अहिले भन्नैपर्ने भएको छ— भण्डारी सर माफ गर्नुहोला, हामी कच्चा थियौँ ।हामी ठान्थ्यौँ— हामीले तपाईंलाई झुक्याइरहेका छौं । खासमा हामी झुक्किरहेका थियौं । तपाईं अक्सर भन्ने गर्नुहुन्थ्यो, ‘नेपाली समाज ढोंगी छ, सोचेभन्दाबढी ढोंगी... !’

हो, हामी पनि त्यस्तै थियौं । अझै पनि त्यस्तै छौं । पशुपतिका नागा बाबाका लिंग वा टुँडालका चित्रहरू हेरर उत्तेजित हुने तर तिनैका बारे कुरा गर्न डर मान्ने वा तिनका भाव र गहिराइहरूमा पुग्न नसक्ने हाम्रो चरित्र उस्तै छ— विरोधाभासले भरिएको ।तर, तपाईं त्यहाँभन्दा माथि हुनुहुन्थ्यो भण्डारी सर । तपाईंमा जस्तो विराट बुझाइ हामी बिचराहरूसँग कहाँ थियो र सर ? तपाईंको सौन्दर्यचेत र जीवनका खास रङरूपहरूलाई हेर्ने तपार्इंको सोचलाई हामीले मदालसा, शर्मिष्ठा वा शीलासँगका हल्काफुल्का प्रेमका रूपमा बुझेका थियौं ।

‘सुरुचि’ साप्ताहिकमा भण्डारी सरका लेख पढेर उद्वेलित हुने हामी संयोगले पछि आफैँ उहाँका लेखहरू लिन घरमा जाने ठाउँमा पुग्यौं । ‘हिमालय टाइम्स’ मा आबद्ध रहँदा मित्र देवेन्द्र भट्टराई र म अक्सर साताको एकपटक लेख लिन उहाँको घरमा जान्थ्यौं । त्यो लर्कोमा यदाकदा थानेश्वर सापकोटा, शीला सैंजूहरू पनि जोडिन्थे । हाम्रो काम हुन्थ्यो— उहाँले किरिमिर लेखेको लेख पढेर उहाँलाई सुनाउने वा उहाँले बोल्ने अनिहामीले टिप्ने ।

देवेन्द्र र मैले यो काम कैंयौं महिनासम्म गरिरह्यौं ।हाम्रो सम्बन्ध बाक्लिँदो थियो । कहिले मृगस्थलीतिर, कहिले पुरानो बानेश्वरको पुस्तक पसलतिर– हामी भण्डारी सरसँगै हुन्थ्यौं ।
०००००
त्यसैताका उर्मिला मातोडकर, आमिर खान, जैकी श्राफ अभिनीत एउटा चलचित्र आयो– रंगीला । रामगोपाल बर्माको यो फिल्ममा एआर रहमानको म्युजिक थियो, जसमा उर्मिलाका उत्तेजक नृत्य र भावभंगिमा थिए । यो २०५२ सालको असोज अन्तिम साता हुनुपर्छ, देवेन्द्र र मैले सल्लाह गर्‍यौं— भण्डारी सरलाई ‘रंगीला’ फिल्म हेर्न लिएर जानेबारे । सरलाई अनुरोध गर्‍यौं । सहजै अनुमति पायौं । र, गयौं विश्वज्योति हलमा । अहिलेजस्तो टिकट लिन सजिलो थिएन । त्यसमाथि उर्मिलाको उत्तेजक नृत्यको युवा क्रेज । मुस्किलले टिकट लिइयो । सर बीचमा, म र देवेन्द्र दायाँ–बायाँ ।

एउटा प्रोफेसरलाई बीचमा राखेर हामी उर्मिलाका उत्तेजक नृत्य हेरिरहेका थियौं । सर हामीसँग भएभन्दा बढी रंगीला र उर्मिलामा रमाइरहनुभएको थियो ।जसै फिल्म सकेर हामी हलबाहिर निस्केर मण्डला बुक्सतिर लाग्यौं, बाटैमा अभि सुवेदी, एमपी लोहनी, माधवलाल महर्जन सरहरू भेटिनुभयो । अभि सरले विनयी स्वरमा नमस्कारको अभिवादनसँगै सोध्नुभयो, ‘सर, यी केटाहरूसँग कता हिंड्नुभएको र ?’

डीपी सर, बडो स्वादिलो लयमा हाँस्नुभयो सुरुमा । अनि विश्वज्योतितिर इसारा गर्दै भन्नुभयो– ‘ए, रंगीला हेर्न आएको थिएँ । ३/४ जना केटीले हत्ते गरेर ल्याए, मजै आयो... रमाइलो रैछ ।’ अनि फेरि डीपी सर हाँस्नुभयो, राम्रैगरी ।
एक छिन अरू अर्थ–अनर्थका केही कुरा भए, बाटोमा उभिएरै । अनि हामी मण्डलातिर छिर्‍यौं ।

यो एकदमै प्रश्नातीत घटना थियो, हाम्रा लागि । हिजो मात्रै, फिल्म हेर्न जाने अफर म र देवेन्द्रले गरेका हौं । बाल्कोनीको टिकट ‘ब्ल्याक’ मा किनेर देवेन्द्रले ल्याएको छ । हलभित्र फ्रुटी, केक ख्वाउँदै डीपी सरलाई हाम्रा बीचैमा राखेर ‘रंगीला’ हेराएका छौं । अब कहाँबाट आए एकाएक यी केटीहरू ?

ट्याक्सीमा जमलबाट पुरानो बानेश्वर डीपी सरका घरतिर फर्कंदै गरेका बेला देवेन्द्रले जिज्ञासा राख्यो, ‘सर, यो त हामीमाथि सरासर अन्याय भयो नि ! सारागर्ने हामी, सरलाई उर्मिला देखाउने हामी । अनिनामचैं केटीहरूको ?’
ट्याक्सीको अघिल्लो सिटमा बस्नुभएका डीपी सरले आफ्नो सनातनी ‘मु लवज’ निकाल्दै टाउको पछाडि फर्काउनुभयो र, रमाइलो मानिरहेको स्वरमा भन्नुभयो, ‘तिमीहरूलाई के थाहा छ ? तिमेरु अज्ञानी नै छौ । अब यसरी रंगीला हेर्न केटीहरूले ल्याएका थिए, केटीहरूका बीचमा बसेर हेरें भनेपछि यी बूढाहरू भित्रभित्रै जलिरहन्छन्... हेर्दै जाऊ न ! रातभर सुत्नै सक्दैनन् अब... हाहाहा !’
०००००
म आज पछाडि फर्किएर सोच्छु— यो तहको प्रोफेसर आज कोही होला नेपालमा, जो जीवनलाई त्यसका रङहरूमा भोग्छ, बिनाढोंग, बिनाघमण्ड, बिनातथाकथित सामाजिक भय !भण्डारी सरले उर्मिलाको उत्तेजक नृत्य र तिघ्रामाथि पछि एउटा लेख नै लेख्नुभयो– ‘रंगीलाकी उर्मिला र सेक्सी जनमानस’ शीर्षकमा । त्यसमा सम्झेसम्मको सार थियो, ‘प्रिय, नेपाली मानस सेक्सग्रस्त छ, विरोधमा ग्रस्त छ, समर्थनमा पनि ग्रस्त ।

त्यसैले रंगीला यति लोकप्रिय भयो । निर्देशकले त्यहाँ सेक्स नभए पनि सेक्स भन्ने भ्रान्ति दिन सकेको छ । यहाँ सेक्सको अर्थ हुन्छ, नायक–नायिकाको हाउभाउबाट, स्पर्श, नृत्य आदिबाट द्रवित हुने, श्रावित हुने र मनमा दुई–तीन दिनसम्म गुदगुदी, टिटिलेसन आइरहने । जतिजति ३–४ स्वास्नीका स्वामी लामो टुपी पालेका, तीनधर्के टीका लगाएका, भागवतवाचन गर्ने, लामो पूजापाठ गर्ने पण्डित पुरोहितहरूदेखि लिएर समाजका अन्य पाखण्डी राजनीतिज्ञ र स्कुल शिक्षकसम्म सक्दो निन्दा गर्नेछन्, त्यति नै यहाँका युवायुवतीहरू, प्रौढहरू, पोर्नोग्राफी मन पराउनेछन् ।

रंगीला हेर्ने त उनीहरूको अधिकारभित्रै आउँछ, समाज स्वीकृत अधिकार । कुनै बेला जब काठमाडौंमा भीड थिएन, धूवाँ थिएन, गाडीहरू एकदमै कम थिए, स्वतन्त्र रूपले सडकमा विचरण गर्दागर्दै अभिसाररत साँढे र गाई देखेर यहाँका फुर्सदवाला नगरवासीहरू सिट्ठी बजाउँथे, आज रंगीला हेरेरसिट्ठी बजाउँछन् ।’
०००००
अनि, कतिपय लेखहरूमा भण्डारी सर आफ्नी प्रेमिकाहरूलाई डोलीमा चढाउनुहुन्थ्यो र, हामीलाई डोलेहरूका रूपमा चित्रण गर्नुहुन्थ्यो । भण्डारी सरका यस्ता लेखहरू पढ्न युवायुवतीहरू हुरुक्क हुन्थे ।सरका लेखहरूमा तिघ्रा वा वक्षस्थलका कुरा मात्र हुँदैनथे, त्यहाँ लोभ, मोह, काम, क्रोध, समाज र राजनीति पनि जोडिएको हुन्थ्यो । बुद्धका मन्त्रहरू, कुरान, वेद, उपनिषद्, बाइबल... के हुँदैनथ्यो त्यहाँ ? लेखनमा विम्बहरूको प्रयोग गर्न पनि भण्डारी सर माहिर हुनुहुन्थ्यो । २०५१ सालमा जब तत्कालीन एमालेले अल्पमतको सरकार बनायो, त्यतिबेला उहाँले एउटा लामो लेख लेख्नुभएको थियो ‘कान्तिपुर’ दैनिकमा, जसको शीर्षक थियो, ‘हेमा मालिनीको गालामा झुसे दाह्री ।’ यो लेख निकै चर्चित भयो, धेरैका मुखमा शीर्षक र गुदी कण्ठस्थ थियो ।

भलै, नेपाली समाज र कतिपय पढे–लेखेका भनाउँदाहरूसमेत डीपी सरका कतीपय व्यंग्यहरू बुझ्ने हैसियत अहिले त राख्दैनन्, त्यतिबेला अझ के राख्थे र ? मलाई सम्झना छ— एकताका पुरानो बानेश्वरस्थित विनोद भट्टराईको घरमा प्रत्येक शनिबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आउने गर्नुहुन्थ्यो, जहाँ सर पनि पुग्नुहुन्थ्यो । जब भण्डारी सर र भट्टराईबीच संवाद र ठट्टा सुरु हुन्थ्यो, तब यस्तो लाग्थ्यो जीवनका सबै रङहरू यहीं छन् ।

भण्डारी सर र कृष्णप्रसाद भट्टराईजस्तो दार्शनिक, आध्यात्मिक र मानवीय चेतको जोडी, जसको ठट्टामा पनि अनन्त गहिराइ हुन्छ, त्यो परिहास र विनोदप्रियता ! त्यस्तो जोडी अब पाउनु कहाँ ?यसरी भण्डारी सर रङहरूको हिसाब–किताबमा होइन, रङहरूमा बाँच्नुभयो । अझ आफैं रङहरूभएर बाँच्नुभयो ।

एक दिन पुरानो बानेश्वर चोकको एउटा रेस्टुरेन्टमा भण्डारी सर, डा. पुरुषोत्तम बास्कोटा र किशोर नेपालका बीचमा म थिएँ । उहाँहरू मदिरा पिइरहनुभएको थियो । र, संवाद विषयका रूपमा आएकी थिइन्— एउटी युवती । त्यो दिन ५० काटेका ती बूढाहरूका संवाद सुनेर म बालक–बबुरो भएको थिएँ, आफैंसँग लज्जित पनि ।

त्योबेला ती युवतीको रूप र रङमा भण्डारी सर मोहित हुनुहुन्थ्यो । तर, त्यो मोहमा उत्ताउलोपन थिएन । गहिरो सौन्दर्यचेत र मानवीय प्रेम थियो । ती युवतीका साथ हामी यदाकदा भण्डारी सरका घरमा जान्थ्यौँ ।

सर, ती युवतीलाई अलिक बढ्ता माया गरेको देखाउन म र देवेन्द्रलाई अलि भिन्न व्यवहार गरेजस्तो गर्नुहुन्थ्यो । सँगै बसेकी ती युवतीलाई डीपी सरले पाकेका जहाजी केरा ल्याएर ‘ल खाऊ’ भनेर बोक्रा छोडाउँदै दिनुहुन्थ्यो, हामीलाई भने तिहारमा पकाएर रहेका दाउराझैं बनिसकेका एक–एक सेलरोटी हातमा राखिदिनुहुन्थ्यो । त्यो प्रेम, त्यो अपनत्वको के कुरा भयो र ? अनि हामी जिस्क्याउँथ्यौं । यस्ता निजी सन्दर्भहरू कति छन् कति । अझ मैलेभन्दा बढ्ता निजात्मक कुरा देवेन्द्रले देखे–भोगेको छ । देवेन्द्रले चितवनदेखि नगरकोटसम्मका डीपी सरसँगका यात्राबारेका अनेक अन्तरंग बात सुनाएको थियो, डीपी सर छँदै–डीपीसरकै सामुमा ।
०००००
सामान्यजनका लागि भण्डारी सर कहिलेकाहीं हल्का रूपमा प्रकट भैदिनुहुन्थ्यो पनि । तर, अहिले बुझ्दा लाग्छ— कहिले कृष्णजस्तो, कहिले रजनीशजस्तो, कहिले खुशवन्त सिंहजस्तो, कहिलो पहाडिया पठ्ठोजस्तो, कहिले बनारसको पण्डाजस्तो । कहिले सुकराजजस्तो, कहिले लाओत्सेजस्तो । एउटा प्रोफेसर, साँच्चिकै प्रोफेसरजस्तो ।
चेतनाले भरिएको र खारिएको एउटा प्रोफेसर, जो शरीरसँग र आफ्नै स्मृतिसँग हार्‍यो र लड्यो ।

हामी तपाईंलाई सम्झिरहनेछौं । र, पखर्नेछौं— हाम्रो समाजमा तपाईंजस्तै चिन्तक, तपाईंजस्तै प्रोफेसर, जो साँच्चिकै प्रोफेसर थियो । सर, तपाईंलाई जस्तै स्वर्ग वा नर्कको मलाई पनि विश्वास छैन, भरोसा छैन । तपाई सधैंजसो आफ्ना भाषण वा आलेखमा सम्झना गरिरहनुहुन्थ्यो, कवि खलिल जिब्रानलाई । आज तपाईं बितेर गएपछि म यो दूरोदेशबाट तपाईंको पावरफुल चस्मा, अलिकति उछिट्टिन खोजेका बज्र दाँत र अट्टाहासको मनकारी हाँसो सम्झिरहेको छु । अनि सम्झिरहेको छु, उनै जिब्रानको भनाइ साभारमा, ‘कुनै मान्छेले जीवन कति सुवासपूर्ण सौन्दर्यसित बाँच्यो भन्ने सत्य त्यसबेला थाहा हुन्छ, जब उसको मृत्यु हुन्छ । र, त्यो मृत्युले कतिलाई अश्रुपूर्ण बनायो, कति बिह्वल पार्‍यो भन्नेबाट थाहा हुन्छ ।’
म यतिखेर अश्रुपूर्ण, विह्वल मुद्रामै यी पंक्ति लेखिरहेको छु । हार्दिक श्रद्धाञ्जली छ प्रिय डीपी सर ।

प्रकाशित : चैत्र ८, २०७६ १३:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×