साँझ, पख ! गुप्तचरले सोध्यो– तँ को ? तेरो नाम के ? मैले आफ्नो नाम र थर बताएपछि गुप्तचर जोडजोडले हाँस्न थाल्यो । बुझिल्याउँदा मेरो थर–नगरकोटी–सुनेर ऊ त्यसरी हाँसेको रहेछ ।
‘कुमार त ठीकै हो,’ उसले भन्यो, ‘यो नगरकोटीचैं पहिलोपटक सुन्दै छु । यस्तो तोरीलाउरे तोर्पे थर पनि कतै हुन्छ ?’
हुँदो रहेछ त !
गुप्तचर हेलिप्याडको चौरमा खुट्टा फैलाइवरी बसेको थियो । निजको रेडियोमा तारादेवीको विरही आवाज बजिरहेको थियो :
फूलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा
यो गीत ‘मनको बाँध’ नामक चलचित्रको थियो, जसलाई मैले सुर्खेतको प्रहरी ब्यारेकमा आमाको काखमा बसी हेरेको थिएँ । गीतको भावले आमाको मन दुखाएको थियो क्यारे ! उहाँ रुनुभएको थियो । किन रुनुभएको आमा भनी सोध्दा उहाँ झन् बढी रुनुभएको थियो ।
गुप्तचरको रेडियोमा बजेको गीतले मलाई आफ्नो शैशवकालतिर पुर्याइरहेको थियो । म अनायास भावुक हुँदो थिएँ । परन्तु गुप्तचर मरीमरी हाँसिरहेको थियो । निजको अजीर्ण अट्टहास र तारादेवीको विदीर्ण आवाजबीच कुनै तालमेल मिलिरहेको थिएन ।
हाँसो र गीत लगभग एकैसाथ तुरिएपछि गुप्तचर बोल्यो, ‘यो गीतको दुइटा शब्द फेर्नुपर्छ । फूलको थुँगा बहेेर गयो होइन, बगेर गयो भन्नुपर्छ । कहिले भेट होला है राजै होइन, दाजै भन्नुपर्छ । बुझिस् ?’ मैले मुन्टो हल्लाउँदै बुझें भनें । गुप्तचर गर्ज्यो, ‘के बुझिस् ?’
मैले स्यानो स्वरमा भनें :
– एउटा ‘बगेर’ गयो ।
– अनि अर्को ?
– अर्को ‘दाजै ।’
– मलाई पनि तँ दाजै भन्लास् । बुझिस् ?
– बुझें ।
– के भन्लास् रे ?
– ‘दाजै’ भन्लास् ।
– घर कता हो ?
– बाउ जता, घर त्यता !
– कता, कता ?
– डोल्पा, सुर्खेत, रुकुम, दाङ ।
– आजकल बाउ कता ?
– नेपालगन्ज ।
– कतिमा पढ्छस् ?
– नाइन क्लासमा ।
मेरो हातमा एउटा किताब थियो, जसलाई गुप्तचरले हेर्न खोज्यो । मैले दिएँ । उक्त किताब केही दिनअघि मात्र मैले लाइब्रेरीबाट उठाएको थिएँ । किताबको नाम थियो : ‘द हाउन्ड अफ् बास्करभिल्स’ । लेखक : सर अर्थर कोनान डोयल ।
तिनताक म मिस्टर डोयलले रचेको काल्पनिक पात्र ‘शेरलक होम्स’ को अल्ट्रा प्रशंसक थिएँ । होस्टलको मेरो नीरस जीवनलाई प्राइभेट डिटेक्टिभ शेरलक होम्सले केही रोचक बनाइदिएको थियो ।
त्यो साँझ म ‘हाउन्ड अफ् बास्करभिल्स’ बोकी हेलिप्याड पुगेको थिएँ । म पढ्ने प्रहरी स्कुल साँगाको हरियाली डाँडामा अवस्थित थियो, जहाँ विद्यार्थीभन्दा बढी सुन्तला र चिलाउनेका रूखहरू थिए । डाँडाको फेददेखि टुप्पासम्म ढुंगा ओछ्याइएका सिँढी थिए । तिनलाई म ‘स्वर्ग जाने सिँढी’ भन्थेँ ।
र, स्वर्गमा थियो : हेलिप्याड ।
हेलिप्याडमा हेलिकप्टर अवतरण गरेको भने मैले कहिल्यै देखिनँ । सुनेअनुसार, एकपटक स्कुलको वार्षिक–सांस्कृतिक कार्यक्रम अवलोकन गर्न तत्कालीन राजा वीरेन्द्र हेलिकप्टरमा आएका थिए । र, हेलिप्याडमा ओर्लेका थिए । त्यसयता हेलिप्याडले कुनै पनि हेलिकप्टरको नाक–मुख देखेको थिएन ।
लगभग पाँच सय रोपनी क्षेत्रफलमा फैलिएको स्कुलमा मेरो मन रमाउने एक मात्र ठाउँ त्यही हेलिप्याड थियो, जो सदैव सुनसान हुने गर्थ्यो । स्कुलले त्यसलाई औपचारिक रूपमा परित्यक्त इलाका घोषणा नगरे पनि विद्यार्थीहरूका निम्ति हेलिप्याड वर्जित क्षेत्र थियो ।
र, म वर्जित–मैत्री विद्यार्थी थिएँ ।
नियमहरू वस्तुतः उल्लंघन गर्नका निम्ति नै बनेका हुन्छन्, यस्तै ठान्थें । जसले नियमको पालना गर्यो, ऊ नियमकै दास भयो । लास भयो, खल्लास भयो । जसले नियमलाई बकबास ठान्यो, ऊ बिन्दास भयो । अस्तित्वको खास भयो, झकास भयो । यस्तै सोच्थें ।
म जीवन–जगत्लाई आनन्दको मधुमास बनाउन हिँडेको एक दंगदास राक्षस थिएँ ।
ती वर्षहरूमा म निकै एकलकाँटे स्वभावको जन्तु थिएँ । एकान्तप्रिय एवम् मनमौजी टाइपको । र, केही ठिस पनि । तर, म सधैं त्यस्तो कहाँ थिएँ र ! खेलकुदहरूमा –इनडोर होस या आउट डोर– मा म पारंगत थिएँ । जब लाइब्रेरी छिरें अनि किताबहरूको संसारमा पुगें, मभित्र मानसिक परिवर्तनका संक्रामक कीटाणुहरू देखा परे ।
खेलकुदमा पारंगत म, काल–अन्तरालिकामा आत्मगत बनें ।
साँझपख, जब साथीहरू फुटबल, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, टेबलटेनिस, ह्यान्डबल इत्यादि खेल्न मैदानतिर जान्थे, म किताब बोकी सिँढीहरू उक्लँदै हेलिप्याड पुग्थें र तन्मयका साथ किताबका पानाहरूमा चुर्लुम्म डुब्दै शेरलक होम्स बसोबास गर्ने लन्डनको बेकर स्ट्रिट पुग्थें ।
खैर, गुप्तचरले सोध्यो :
– यो कस्तो किताब हो ?
– जासुसी उपन्यास हो, दाजै !– भनें ।
– कस्तो छ ?
– दामी छ, दाजै ।
– मलाई सुना न त !
उपन्यास त होइन, गुप्तचरलाई मैले शेरलक होम्सकै एउटा कथा सुनाएँ : ‘द एडभन्चर अफ् द डाइङ डिटेक्टिभ’ । कस्तो लाग्यो भनी सोध्दा उसले भन्यो : ‘दामी लाग्यो, अर्को पनि सुना ।’ मैले अर्को कथा सुनाएँ : ‘द डिसापियारेन्स अफ् लेडी कारफाक्स’ । उक्त कथा पनि गुप्तचरलाई दामी लाग्यो । बडो प्रसन्न मुद्रामा उसले भन्यो, ‘तँ दामी केटो रै’छस् । गीत सुन्छस् ?’ मैले
सुन्छु भनें ।
त्यसपछि गुप्तचरले रेडियोको कान बटार्यो । सुनसान हेलिप्याडमा वातावरणलाई संगीतमय बनाउँदै नारायण गोपाल र ज्ञानु राणाको युगल गीत गुन्जिन थाल्यो :
नारायण गोपाल
मान्छेको माया यहाँ खोलाको पानीजस्तो
किनारालाई छोई भाग्ने लहरेको बानीजस्तो
ज्ञानु राणा
मान्छेको माया यहाँ आँखाको नानीजस्तो
यो रात फकाई आउने सुन्दर बिहानीजस्तो
बङ्कर
बङ्कर हेलिप्याडसितै जोडिएको थियो ।
बङ्करलाई हामी विद्यार्थीहरू ‘पृथ्वीनारायण शाहको किल्ला’ भन्ने गर्थ्यौं, जहाँबाट काठमान्डु उपत्यकाको एरियल–दृश्य गज्जबको हुन्थ्यो । प्रहरियन भाषामा तपाईं त्यसलाई ‘भ्यान्टेज पोइन्ट’ भन्न सक्नुहुन्थ्यो ।
उक्त बङ्कर गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुरी नगरीका राजा जयप्रकाश मल्लसित युद्ध गर्ने क्रममा बनाउन लगाएका थिए, जहाँ उनका फौजहरू बस्ने गर्थे । उत्खनन गरी हेर्ने हो भने त्यो बङ्करमा गोरखाली फौजका खप्पर, नली–हाडहरू अहिले पनि भेटिइँदो हो ।
नाऊ, लेट्स फर्गेट गोरखाली फौज । लेट्स स्टिक टु माई मेमोयर एन्ड माई अतीतकालीन मौज ।
बङ्कर गुप्तचरको मनप्रिय अड्डा थियो । ऊ त्यहीं बस्न रुचाउँथ्यो । ३०–३५ वर्षको हुँदो हो । उसको वर्णलाई तपाईं गहुँगोरो भन्न सक्नुहुन्थ्यो । फिताले नाप्ने हो भने, ऊ ठ्याक्कै ५ फिट ७ इन्च अग्लो हुँदो हो । छाती र तिघ्राको नापोतिरचाहिँ नजाऔं ।
गुप्तचर मलाई स्नेह गर्थ्यो किनभने म उसलाई आफूले पढेका कथाहरू सुनाउने गर्थें । म पनि उसलाई माया गर्थें किनभने ऊ मलाई आफ्नो रेडियो छुन–समाउन दिन्थ्यो ।
रेडियो उसको आजीवन साथीजस्तो लाग्थ्यो । जीवन–संगिनी नै भन्नुस् । कहाँसम्म भने ऊ रेडियो घन्काउँदै ममतामयी आमाको योनीबाट यो धर्तीमा झरेको पो थियो कि भनी तपाईं कल्पना गर्न सक्नुहुन्थ्यो ।
बङ्करमा बसी हामी रेडियो सुन्थ्यौं । रेडियोबाट प्रसारण हुने फर्माइसी गीतका कार्यक्रम सुन्थ्यौं । कृषि–कार्यक्रम पनि सुन्थ्यौं ।
कृषि–कार्यक्रममा कहिलेकाहीं सुन्तला फलाउने उपाय, त्यसलाई हेरचाह गर्ने तरिकाहरूबारे बताइन्थ्यो । त्यसलाई गुप्तचर बडो एकाग्र चित्तका साथ सुन्थ्यो, किनभने ऊ स्कुलको डाँडा–पाखाभरि लटरम्म फल्ने सुन्तलाहरूको रखबारी गर्थ्यो ।
गुप्तचर पानी ट्यांकीको पनि रेखदेख गर्थ्यो । जल चौकिदार, यु सी ! म भने उसलाई जल–पाले भन्न रुचाउँथें । स्कुलभरि पानी वितरण गर्ने जिम्मा उसैको हुन्थ्यो ।
गुप्तचर यदाकदा भोजन–सेवकको अवतारमा डाइनिङ हलमा समेत देखा पर्थ्यो । हातमा प्लेट समाती लामबद्ध उभिएका भोका विद्यार्थीहरूलाई ऊ ५ चोक्टा मासु –न घटी न बढी– हालिदिने गर्थ्यो ।
सुन्तलाको रखवारी, पानीको चौकिदारी तथा मासु वितरणको अदाकारी ! गुप्तचर वास्तवमा चमत्कारी थियो ।बङ्करमा गीत सुन्दै गर्दा एक दिन उसले मसित भन्यो, ‘तँ पनि रेडियोमा गीतको फर्माइस पठा न ! रेडियोमा तेरो नाम सुन्दा मजा आउनेछ ।’
पहिलोपल्ट गीत फर्माइस गर्दै मैले रेडियोमा आफूलगायत साथीहरूको नाम हुलाकमार्फत पठाएँ । नभन्दै एक दिन गुप्तचरको त्यही रेडियोमा पहिलोपल्ट मेरो नाम उच्चारण भयो, यसरी : दीपेन्द्र प्रहरी विद्यालय, साँगाबाट कुमार नगरकोटी, छिरिङ तोप्ला उक्याब, अक्षय अधिकारी, रवि मल्ल, विकास संग्रौला, राधेश्याम केसीलगायतले पनि यो गीत सुन्नलाई अनुरोध–पत्र पठाउनुभएको छ । अब हामी प्रस्तुत गर्दै छौं, उहाँहरूको रोजाइको गीत– शिव अधिकारीको रचना, नातिकाजीको संगीत र योगेश वैद्यको सुमधुर स्वरमा :
सपना भुलाई सारा आँसु लिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ
बङ्करमा गीत गुन्जियो । र, मेरो मनलाई तरंगित पार्दै चाँडै नै तुरियो । फर्माइसकर्ताको हैसियतले नै सही, एउटा सुन्दर गीतमा आफूलगायत साथीहरूको नाम जोडिएकोमा म प्रसन्न भएँ । किन्तु गुप्तचर गैरप्रसन्न देखियो । उसले भन्यो, ‘मलाई लाग्या’थ्यो, तैंले मेरो नाम पनि पठाउनेछस् । तर, रेडियोले त मेरो नाम नै फुकेन । मेरो नाम किन पठाइनस् ?’
मैले जवाफ दिएँ, ‘दाजै, मलाई तपाईंको नाम थाहा थिएन नि त !’
गुप्तचर एकछिन सोचमग्न भयो । र, मलाई अनौठो पाराले हेर्दै भन्यो, ‘नाम त मलाई पनि थाहा छैन ।’ उसको कुरो मलाई अनौठो लाग्यो । पुनः बोल्यो, ‘तर, म को हुँ भन्ने कुरा मलाई थाहा छ, राम्रोसित थाहा छ । म गुप्तचर हुँ । यो स्कुलको गोप्य सूचनाहरू मैले लुकाएर राख्या’छु । तर, यो कुरा कसैलाई नभनेस् । बुझिस् ?’
बुझिनँ । मैले उसको कुरा केही पनि बुझिनँ ।
उसको बोलीमा एक किसिमको विरानोपन थियो । संगत गरेको त्यतिका कालपश्चात् मलाई पहिलोपटक ऊ शंकास्पद व्यक्ति लाग्यो । मेरो मनमा चिसो पस्यो ।
श्राप
प्रहरी स्कुलको पुरानो कर्मचारी–फाइल पल्टाउने हो भने त्यहाँ गुप्तचरको नाम सायद अझै भेटिइँदो हो, रामबहादुर श्रेष्ठ । परन्तु यो संस्मरणमा मैले उसको नाम नचलाउनाका केही कारण छन्, जो प्रसंगवश खुल्दै जाला ।
फेरि ऊ गुप्तचर मात्र थिएन, स्मगलरसमेत थियो । त्यो पनि क्रमशः खुल्दै जाला ।
विद्यार्थी एवम् स्कूलका स्टाफहरू माझ ऊ खासै परिचित थिएन । ऊ ऐकान्तिक एवम् (अ)सर्व (अ)सुलभ प्राणी थियो, जो हेलिप्याड र बङ्करमा मात्र भेटिइन्थ्यो । उसको जीवन निकै एकलासमय थियो । उसले कसैसित बोलेको, हाँसखेल गरेको मैले कहिल्यै देखिनँ ।
मसित भने ऊ खुल्थ्यो, रमाउँथ्यो र चाखलाग्दा कुराकानी गर्थ्यो । तैपनि घर चरिकोट भएको जानकारीबाहेक आफ्नोबारे उसले मलाई कहिल्यै केही कुरा पनि चुहाएन । मैले पनि सोधिनँ ।
प्रायः नीलो रङको ट्र्याकसुट लगाउने ऊ केही दुब्लो अवश्य थियो तर मस्कुलर एवम् गठिलो ज्यान भएको । पुरुषको मुहारमा दाह्री–जुँगा जरुर हुनुपर्छ भन्ने ऊ स्वयम्को भने दाह्री–जुँगा थिएन । सुन्तलाको केस्रा होइन, ऊ त बरु बोक्रा खान मरिहत्ते गर्थ्यो । र, मलाई पनि त्यसै गर्न प्रेरित गर्थ्यो । भन्थ्यो, ‘बोक्राले यौनशक्ति बढाउँछ । जति बोक्रा खान्छस्, तँ त्यति शक्तिशाली हुन्छस् ।’
शक्तिशाली हुनैका खातिर कहाँ बोक्रा चपाइरहने !
त्यसका निम्ति त मैले कराते सिकिसकेको थिएँ नि !
सो कुरा जाहेर गर्दा उसले भन्यो, ‘करातेले काँ यौनशक्ति बढाउँछ लाटा ! बरु घटाउँछ । बोक्रा खा अनि शक्तिशाली बन् ।’
बोक्राको कुरा त यस्तै हो, आउनुस् अब गुदीको कुरा गरौं ।
गुदीको कुरा के भन्देखिन् नि ! त्यो दिन उसले मसित करातेका केही टेक्निक सिकाइमाग्यो । कसरी सिकाउने ? ६–७ कक्षामा दुई वर्ष करातेको ट्रेनिङ लिएको थिएँ, जसलाई मैले गणितका सूत्रहरूझैं बिर्सिसकेको थिएँ ।
स्कुलमा फिजिकल फिटनेसका निम्ति जुडो, कराते र जिम्नास्टिकमध्ये कुनै एक रोज्नुपर्थ्यो । जिम्नास्टिक मैले स्वअभ्यास गर्दागर्दै सिकिसकेको थिएँ । के सिक्नु ? जुडोमा साथीहरूलाई भ्यागुता या पाहा पछारेजस्तै गरी डनलपमा पछार्नुपर्थ्यो । किन सिक्ने ?
करातेमा कसैलाई पछार्नुपर्दैन थियो, तसर्थ त्यही रोजेको–सिकेको थिएँ । तर, गुप्तचरलाई कसरी सिकाउने ? अभ्यास नगरेकै वर्षौं भइसकेको थियो । बरु जिम्नास्टिक पो सिक्ने कि ! मेरानिम्ति यो कला केही सहज थियो ।
त्यसपछि आकाशतिर खुट्टा फैलाउँदै हातले भुइँ टेकी मैले हेलिप्याडको एक राउन्ड लगाएँ । उसले चाखपूर्वक हेर्यो, तर भन्यो, ‘मलाई कराते नै सिकाइदे ।’ म बोलें :
– कराते बिर्सिसकें । कसरी सिकाउने ?
– साँच्चि बिर्स्या हो ?
– हो, बिर्स्या हो । गड प्रोमिस् ।
– बिर्स्या होइन, तैंले मलाई सिकाउन नचाहेको हो ।
उसले मलाई घृणालु भावले हेर्यो । अनि अनौठो कुरा बोल्यो, ‘तैंले मलाई कराते सिकाउने इच्छा देखाइनस् । ठीकै छ, केही छैन । तँलाई श्रापचैं दिन्छु । तेरो बिहे कराते खेल्ने आइमाईसित भइजाओस् । गुप्तचरको यो श्राप तँलाई जरुर लागोस् ।’
अनौठो मान्छेको अनौठो श्राप ! म हाँसें ।
आज ३० वर्षपछि– यो संस्मरण लेखिरहँदा– पनि म हाँसिरहेको छु । गुप्तचरको श्राप मेरो जीवनमा शतप्रतिशत लागेको छ किनभने कराते खेल्ने आइमाई सावित्री कार्कीसित मेरो बिहे भएको छ । पुत्र ग्रिश्मिल पनि माता–पिताको पथ पछ्याउँदै हरेक सोमबार कराते–ट्रेनिङ लिन गइरहेको छ ।
लिबिडो–लीला
साँझपख हेलिप्याडमा म नित्य पुगिरहन्थें । शनिबार एवम् कहिलेकाहींका आकस्मिक छुट्टीहरूमा समेत पुगेकै हुन्थें । गुप्तचरसित समय बिताउन आनन्द लाग्थ्यो । यदाकदा अनौठो व्यवहार देखाए पनि समग्रमा मलाई ऊ असल मानिस लाग्थ्यो ।
उसको रेडियोमा मेरो नाम प्रसारण हुँदा ऊ खुसी हुन्थ्यो । मैले कथाहरू सुनाउँदा ऊ डबल खुसी हुन्थ्यो । मैले पढ्ने किताबहरूलाई ऊ निकै माया गर्थ्यो । एकदिन उसले भन्यो, ‘तेरो लाइब्रेरीबाट मलाई पनि किताब ल्याइदिन सक्छस ? पढेर म फिर्ता गरिहाल्छु ।’ मैले सोधें :
– दाजै कुन किताब ल्याइदिऊँ ?
– नेपाली ल्याइदे । अंग्रेजी त बुझ्दिनँ ।
– कस्तो किताब ल्याइदिऊँ ?
– कथाको किताब । उपन्यास भए नि हुन्छ ।
– कविताको किताब हुँदैन, दाजै ?
– हुँदैन । कविता म बुझ्दिनँ ।
अर्को दिन एउटा किताब च्यापी हेलिप्याड पुगें । उसलाई प्रेमपूर्वक हस्ते गरें । त्यो एक सचित्र बाल पुस्तक थियो । बाल–स्टोरिज, यु सी ? किताबका पानाहरू पल्टाउँदै उसले भन्यो, ‘तैंले मलाई नाबालक नै ठानिस् कि के हो ? बाल किताब ल्याउने ? गुप्तचरको
अपमान गर्ने ?’
म ङिच्च परें ।
किताब त म अचेल पनि परिचित–अपरिचितहरूलाई दिइरहेको हुन्छु । फिर्ता नगर्ने सर्तमा । किताब पनि दिनु छ र फिर्ता पनि माग्नु छ । कस्तो लाजमर्दोर् ! यो त हद दर्जाको अनैतिक उद्योग भइगयो नि ! किन्तु किताब दिँदा भने म अचेल केही सचेत हुने गर्छु । नत्र गुप्तचर र बाल–कथाको विडम्बनाजस्तो हुन्छ । कुनै कम्युनिस्ट क्रान्तिकारीको हातमा रवीन्द्रनाथ ठाकुरको ‘गीताञ्जली’ परेजस्तो हुन्छ । जोगी–साधुको हातमा कार्ल मार्क्सको ‘दास क्यापिटल’ सुम्पेजस्तो हुन्छ ।
खैर, अर्को दिन गुप्तचरको हातमा मैले ‘नेपाली दन्त्यकथा’ सुम्पिदिएँ । बोधविक्रम अधिकारीको ख्याउटे किताबचाहिँ उसले पढ्ने भयो । कुनै नाइँनास्ती गरेन । ‘यो चैं दामी किताब ल्याइस्,’ उसले भन्यो, ‘यसलाई म जरुर मन पराउनेछु ।’
गुप्तचरका निम्ति मैले लाइब्रेरीबाट अनेक किताबहरू निकालें र उसलाई पढ्न दिएँ । दन्त्यकथाबाट सुरु भएको उसको किताबी–यात्रा नेपाली उपन्यासतिर लम्कन थाल्यो । तर, एउटा उपन्यास पढेर ऊ बर्बाद भयो । मेरो नजरबाट गिर्यो ।
त्यो एक बिदाको दिन थियो ।
अपराह्नमा सिँढीहरू चढ्दै म हेलिप्याड पुगें । त्यहाँ उसलाई देखिनँ । यताउति हेरें, थिएन । चाल मारेर बङ्करतिर लागें । ऊ त्यहीं रहेछ, स्याँ–स्याँ, फ्याँ–फ्याँ गरिरहेको । मलाई देखेन ।
गुप्तचर सर्वांग नांगो थियो । कपडाहरूको थुप्रो एकातिर, ऊ अर्कोतिर । एउटा हातमा किताब थियो र अर्को हातमा ? तपाईं अनुमान गर्न सक्नुहुन्छ । यु क्यान सिम्प्ली गेस् !
गुप्तचर बङ्करमा हस्त–अनुष्ठान गरिरहेको थियो । गुप्तचरको लिबिडो–लीला अत्यन्त घृणास्पद थियो । ऊप्रति मलाई पहिलोपटक घीन लागेर आयो । उसले समातेको किताबप्रति घीन लागेर आयो । त्यो किताबको नाम म यहाँ उल्लेख गर्नेछैन किनभने त्यो किताब तपाईंको फेभरेट उपन्यास हुन सक्छ । नाम लिएको खण्डमा आफ्नो प्रिय किताबप्रति तपाईंको मनमा पनि घीन उत्पन्न हुन सक्छ ।
घीन उत्पन्न हुने मन निकै डरलाग्दो हुन्छ ।
पुष्टकारी
सन्ध्याकालीन हेलिप्याड–गमनलाई मैले स्थगित गरिदिएँ । बङ्करको लिबिडो–लीला अर्थात् गुप्तचरको हस्त–अनुष्ठानलाई मैले बिर्सन रुचाएँ । गुप्तचरको लज्जांगबाट निष्कासित श्वैत पदार्थले लत्पतिएको किताबको कल्पना मात्रले मेरो दिमाग दिगमिग हुन थाल्थ्यो ।
त्यो दिगमिग धेरै काल भने रहेन ।
एक दिन नाइट–क्लासमा नीरु मिस –बायोलजी टिचर– ले मेरो दिमागको दिगमिगलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मान्छेको शरीर फ्याक्ट्रीजस्तै हो कुमार । खकार, सिँगान, पसिनाझैं वीर्य पनि यो फ्याक्ट्रीको उत्पादन हो । वीर्य त झन् बीज पो हो । यसमा घीनालु केही छैन, घीन मान्नुपर्ने कुनै दरकार छैन । स्वस्थ पुरुषका निम्ति हस्त–मैथुन एक स्वाभाविक प्रक्रिया हो । सेक्सुअल निकास हो । एज् सिम्पल एज् द्याट कुमार ! इट्स नट अ बिग डिल !’
थ्याङ्क यु, नीरु मिस ! त्यो नाइट–क्लासमा तपाईंले मेरो कलुषित मनलाई आफ्नो ज्ञान–दानले पवित्र पारिदिनुभयो । नत्र गुप्तचरप्रतिको मेरो धारणा आजीवन कलुषित नै रहने थियो ।
प्रिय नीरु मिस ! अचेल तपाईं भक्तपुरतिर हुनुहुन्छ क्यारे ! अब त बूढी पनि हुनुभयो होला । म पनि– हेर्नुस् न– अर्धबूढो भइसक्या छु । समीक्षक गुरुङ सुशान्तका अनुसार, तपाईं एउटा स्कुल सञ्चालन गर्नुहुन्छ । मिस्टर गुरुङका नानी–बाबुहरूलाई पढाउनुहुन्छ । शिक्षा–भिक्षा गर्नुहुन्छ ।
डियर बायोलजी टिचर ! कहीं कतै यदि यो संस्मरण पढिरहनु भा’छ भने, नाइट–क्लासमा तपाईंले प्रदान गर्नुभएको ज्ञान–दानप्रति आज म– ३० वर्षपश्चात्– हृदयदेखि नमन गर्छु । धन्यवाद भन्न नगरकोटीले ३० वर्ष लगायो नभन्नुहोला । धन्यवाद !
खैर ! यो संस्मरणको प्रमुख पात्रबारे चर्चा गर्नु अब मनासिब होला ।
गुप्तचरसित नभेटघाटिएको धेरै भइसक्या थियो । एक साँझ हेलिप्याड पुगें । ऊ बङ्करमै भेटियो । मलाई देख्नेबित्तिकै भन्यो, ‘हेलिप्याड आउनै छाडिस् । मसित रिसाइस् कि के हो ? पर्सि मेरो जन्मदिन हो । मलाई के दिन्छस् ? गीत सुन्छस् ?’
रेडियोमा गीत त बजी नै रहेको थियो । यत्ति हो, रेडियोले मेरो नाम फुक्न भने छाडिसकेको थियो । फर्माइसी कार्यक्रमहरूमा नाम पठाउनुको साटो म डायरीमा कविताहरू लेख्न थालेको थिएँ ।
पर्सिपल्ट –गुप्तचरको जन्मदिन– मा मैले उसलाई नोटबुक र सिसाकलम उपहार दिएँ । ऊ निकै खुसी भयो । मलाई एक प्याकेट पुष्टकारी दियो ।
पुष्टकारी मलाई निकै मन पर्थ्यो । अझै पनि मन पर्छ । आत्मरित नै सही, पुष्टकारी खाँदै लेखेको वाक्य मीठासपूर्ण हुन्छ भन्ने लाग्छ ।
जे होस्, पुष्टकारीको प्याकेट पाएर त्यो साँझ म निकै गदगदिएँ । यस्तैमा मैले दिएको नोटबुक खोल्दै गुप्तचरले भन्यो, ‘तँ मलाई अंग्रेजी शब्दहरू सिका । यो नोटबुकमा म मलाई मन पर्ने नेपाली शब्दहरू लेख्छु । तैंले तिनीहरूको अंग्रेजी शब्द लेख्, ल !’
ठट्टाको भाकामा मैले उसलाई भनें :
– त्यसबापत मलाई के दिने ?
– के चाहन्छस् ? के लिने ?
– पुष्टकारी ।
– एउटा शब्दको एउटा पुष्टकारी, ठीक ?
– ठीक दाजै ठीक !
गज्जब हुने भयो । प्रतिशब्द एक गोटा पुष्टकारी ! त्यो साँझ जन्मदिनको पुष्टकारी चपाइरहँदा मलाई के लाग्यो भने म
पुष्टकारी होइन, शब्दहरू चपाइरहेको छु : कुरुमकुरुम, कुरुमकुरुम !
म निकै उत्साहित थिएँ । परन्तु मेरो उत्साह खर्ल्यापखुर्लुप रसातलतिर तब पुग्यो, जब उसले सोधेको पहिलो शब्द नै अत्यन्त खतरनाक साबित भइदियो । आफ्नो घाँटीको स्यानो गलगाँडतिर इसारा गर्दै उसले सोधेको थियो, ‘मेरो घाँटीको डल्ले मासुलाई अंग्रेजीमा के भनिन्छ ?’ परेन त फसाद !
गलगाँडले मेरो थर्ड डिग्रीको हुर्मत लिने छाँट देखायो । गलगाँडले गुप्तचरलाई टेन्सनमा त पारेकै थियो, त्यसले मलाई पनि सिध्याउने भयो । अब शरीरको अक्करमा फल्ने यो अगम्य फललाई के भन्ने ? हे दैव, जाने त मरिजाऊँ । प्रथम ग्रासे मक्षिका पातः ।
केही दिन गलगाँडले मलाई सताउनु सतायो । रुवाउनु रुवायो । मनुष्यको देहमा फल्ने उक्त भीर–फलको अंग्रेजी नाम मेरा कुनै पनि साथीहरूले बताउन सकेनन् । नेपाली विषय पढाउने गुरुलाई सोध्दा उहाँले भन्नुभयो, ‘तँलाई गलगाँड किन चाहियो कुमार ?’
अंग्रेजी गुरुले आश्चर्य व्यक्त गर्नुभयो, ‘गलगाँड ! ह्वाट द हेल इज गलगाँड ?’ गुप्तचरको गलगाँडले सबैको निद्रा हराम गर्यो ।
उनान्सय मेगाहर्ज
गलगाँडको दर्दनाक अन्त्य कसरी भयो, ऐन मौकामा चर्चा गरौंला । त्यसको जानकारी तपाईंको हृदयमा रहेको सूचना–पेटिकामा जरुर खसाइने नै छ ।
हामी क्लामेक्सोन्मुख छौं । त्यतिन्जेल कृपया धैर्यधारण गरिदिनुहुन सादर अनुरोध छ । गुप्तचरलाई म अंग्रेजी शब्दहरू दिन्थें । बदलामा मलाई ऊ पुष्टकारी दिन्थ्यो । एक हातले शब्द देऊ, अर्को हातले पुष्टकारी लेऊ । शब्द र पुष्टकारीको यो विनिमय बडो
आह्लादकारी थियो ।
आच्या ! कस्तो भुसुक्कै बिर्सेको ! बङ्कर तथा हेलिप्याडमुन्तिरको थुम्कोमा अवस्थित सरस्वती मन्दिरबारे मैले केही भनें कि भनिनँ ? भनिहालेको छैन भने अब भन्छु, है त !
देवी सरस्वतीलाई साक्षी राखेर गुप्तचरले मसित एक दिन भनेको थियो, ‘सुक्रिया, थ्याङ्क यु कुमार ! यतिका अंग्रेजी शब्दहरू मलाई सिकाइदिस् । यो मन्दिरमा म तेरो निम्ति प्रार्थना गर्छु । तँ विद्वान् बनेस् । सधैं यस्तै दयालु–मायालु बनेस् ।’
उसको हातमा नोटबुक थियो । नोटबुकको पानामा उसले लेखेका नेपाली शब्दहरू थिए । तिनको बगलमा मैले लेखिदिएका अंग्रेजी शब्दहरू थिए । नोटबुकमा देवनागरी र आंग्ल शब्दहरू एकापसमा बातचित गरिरहेजस्ता देखिए ।
गुप्तचरले ती शब्दहरू गन्यो । अनि प्याकेटबाट एक–एक पुष्टकारी निकाल्दै मेरो हातमा राखिदिन थाल्यो । त्यसपछि उसले सोध्यो, ‘स्मगलरलाई इंग्लिसमा के भन्छन् ?’
मैले भनें :
– स्मगलर इंग्लिस शब्द हो, दाजै ।
– होइन होला ।
– हो के हो ! किन सोधेको ?
– किनभने म स्मगलर हुँ नि त !
त्यसपछि गुप्तचर केही बेर चुप लाग्यो । मलाई उसको माया लाग्यो । यस्तो मायालु मान्छे कसरी स्मगलर हुन सक्थ्यो ? मैले उसको मुहार हेरें, जो शान्त थियो । मेरो हातमा जम्मा भएका जम्मै पुष्टकारीलाई आफ्नो ट्राउजरको गोजीमा राखें । उसले भन्यो, ‘यो कुरा कसैलाई नभन्नू ।’
– के कुरा दाजै ? –मैले सोधें ।
– म स्मगलर हुँ भन्ने कुरा । कसैलाई नभन्नू ।
– मलाई चैं किन भनेको त ?
– तँ मेरो साथी होस् नि त !
मलाई कस्तो–कस्तो लाग्यो । परिचितजस्तो पनि र अपरिचितजस्तो पनि । अलिकति चिनजानजस्तो, अलिकति अञ्जानजस्तो । कस्तो–कस्तो । यस्तैमा उसले भन्यो, ‘यो पुष्टकारी मैले स्मगलरिङ गरेर ल्याएको हुँ । म पुष्टकारीको स्मगलरिङ गर्ने स्मगलर हुँ । तर तँ भन्छस्, स्मगलरिङ नेपाली शब्द होइन !’
स्मगलरिङ ! यो नयाँ शब्दलाई मैले मनमनै उच्चारण गरें ।
त्यसपछिका दिनहरूमा ऊ गुप्तचर तथा स्मगलर मात्र रहेन । अनेकपटक ऊ अनेक मान्छे बन्यो । कहिले ऊ ट्रक ड्राइभर बन्यो त कहिले वकिल । कहिले ऊ आर्मीको चिफ सा’ब बन्यो त कहिले देशकै प्रधानमन्त्री । एक दिन उसले यसरी आफ्नो परिचय दियो, ‘म राजा हुँ । तँ मेरो प्रजा होस् । अबदेखि तैंले मलाई श्री ५ महाराजाधिराज भन्लास्, बुझिस् ?’
मैले माया गरेको मान्छे क्रमशः हराउँदै गयो । एक दिन भन्यो, ‘म त चरा पो रहेछु । आजसम्म थाहै रहेनछ ।’ मैले ‘कुन चरा ?’ भनी सोध्दा ऊ अलमलियो । टाउको कनाउँदै भन्यो, ‘साँच्चि कुन चरा ? मैले त यसबारे सोचेकै रहेनछु ।’
एक दिन त उसले हदै गर्यो । बडो जिज्ञासु भावमा मलाई भन्यो, ‘रेडियोको सर्ट वेभ र मिडियम वेभ त मैले बुझें तर यो मेगाहर्ज भन्ने चीज चैं के रै’छ ?’
मैले जवाफ दिएँ :
– वेभ फ्रिक्वेन्सी हो ।
– त्यो भनेको के हो ?
– सजिलो भाषामा रेडियो सिग्नल हो दाजै !
त्यसपछि उसले आफ्नो पारा देखाइहाल्यो । भन्न थाल्यो, ‘म आजैदेखि रेडियोको सिग्नल भएँ । आइन्दा तैंले मलाई उनान्सय मेगाहर्ज भन्लास्, बुझिस् ?’
यसरी ऊ अनप्रेडिक्टेबल एवम् अनविचारेबल हुँदै गयो । ऊ जे सोच्थ्यो, त्यही बाँच्थ्यो । ऊ कल्पना र यथार्थको दोसाँधमा उभिएको थियो । कल्पना र यथार्थबीच अवस्थित दशगजाको बासिन्दा भएको थियो । त्यही दशगजामा मैले उसलाई रेडियोसितै छाडिदिने निर्णय गरें ।
***
एक दिन एउटा साथीले मलाई अनौठो कुरा सुनायो । ऊलगायत केही केटाहरू साइन्स बिल्डिङ सामुन्नेको चौरमा बसी गफ गरिरहेका रहेछन् । अकस्मात गुप्तचर –आउट अफ नोह्वेर– टुपुल्किएछ र आफ्नै सुरमा लोकनृत्य प्रस्तुत गर्न थालेछ । प्रस्तुतिपश्चात् सतर्क पोजिसनमा उभिएर बोल्न थालेछ, ‘यो रेडियो नेपाल हो । म उनान्सय मेगाहर्ज हुँ । अब तँहरू कृषि कार्यक्रम सुन् । सुन्तलाको बोक्रालाई कतै नचुँडाली कसरी छोडाउने भन्नेबारे भन्छु, तँहरू कान थापेर सुन् ।’
साथीले भन्यो, ‘हामी त अक्क न बक्क पर्यौं । कस्तो पागल रहेछ !’ मैले बताएँ, ‘पागल होइन । उसको दिमाग अलिकति खुस्केको मात्र हो ।’ साथीले भन्यो, ‘त्यसैले त त्यो पागल हो । तेल्लाई चिन्छौ र ?’
मैले भनें :
– चिन्छु । मेरो साथी हो ।
– त्यसोभए तिमी पनि पागल हौ । त्यो
काँ बस्छ ?
– माथि हेलिप्याड, बङ्करतिर बस्छ ।
– त्यसोभए त्यो पक्कै पनि पिशाच हुनुपर्छ ।
– पिशाच ? नो किडिङ, यार !
– त्यो पागलभित्र पृथ्वीको प्रेतात्मा
छिरेजस्तो छ ।
– को पृथ्वी ?
– राजा पृथ्वीनारायण क्या !
स्कुलमा एउटा किंवदन्ती गाइँगुइँ सुनिन्थ्यो । त्यो के भने, हेलिप्याड र बङ्कर क्षेत्र आसपास पृथ्वीनारायण शाहको मृतात्मा घुमिहिँड्छ । त्यतातिर जानु हुँदैन । गोर्खाली राजाको प्रेतात्माले समाउँछ । उक्त किंवदन्ती विद्यार्थीहरूलाई तर्साउनका निम्ति कसैले बनाएको हुँदो हो ।
खैर, जे होस् ! हेलिप्याड र बङ्करमा मात्रै भेटिइने गुप्तचर कालान्तरमा फुटबल ग्राउन्ड, बास्केटबल कोर्ट तथा चिल्ड्रेल पार्कमा समेत देखिइन थाल्यो । उछलकुद गरिरहेको । लोकनृत्य प्रस्तुत गरिरहेको । अंग्रेजी शब्दहरू जथाभाबी उच्चारण गरिरहेको । र, कसैलाई लखेटिरहेको ।
मेरो आत्मीयताको राडारबाट गुप्तचर क्रमशः ओझेल हुँदै गयो । र, स्मृतिबाट साइन–आउट भयो ।
पुनः साँझ, पख !
अब त मैले गलगाँडको अंग्रेजी शब्द भेटिसकेको थिएँ । तर, सुनाउनका निम्ति गुप्तचर मसित थिएन । ऊ अवचेतन दशगजाको यायावर थियो । र, म थिएँ चेतन संसारको बासिन्दा ।
मेरो संसार अलग–भिन्न थियो । र, उसको संसार छिन्न–भिन्न !
स्कुलमा चैतेदसैंको एकहप्ते बिदा थियो । अधिकांश साथीहरू घर गएका थिए । हामी टाढा घर हुनेहरूलाई लिन कोही आउँदैन थिए । होस्टल पूरै सुनसान थियो ।
एक दिन, साँझपख !
डर्मिटरीमा एक्लो थिएँ । टाढा रेडियोमा गीत बजेको सुनें । गीतको लयलाई पछ्याउँदै म स्वर्ग जाने सिँढीहरू चढ्न थालें । तर, त्यो गीत हेलिप्याडतिरबाट आएको थिएन । बाटो मोडें र लाइब्रेरी–भवनतिर लागें ।
गीत नजिक–नजिक, नजिक–नजिक बज्न थाल्यो ।
पछ्याउँदै–पछ्याउँदै लाइब्रेरी पछिल्तिरको हलतिर गएँ । झ्यालबाट भित्र नजर डुलाएँ । रित्तो हलको सिलिङमा गुप्तचरलाई देखें : तुर्लुङ्ग झुन्डिरहेको ।
उसको घाँटीमा डोरीको पासो थियो ।
पासोमा मृत गुप्तचरको गलगाँड बल्झिएको थियो । त्यो गलगाँडको अंग्रेजी शब्द मलाई थाहा थियो । तर, म अवाक, निःशब्द थिएँ किनभने मलाई प्रेमपूर्वक पुष्टकारी दिने गुप्तचरले आत्महत्या गरेको थियो । भुइँको परित्यक्त, अनाथ एवम् टुहुरो रेडियोमा गीत बजिरहेको थियो :
फूलको थुँगा ‘बगेर’ गयो गंगाको पानीमा
कहिले भेट होला है ‘दाजै’ यो जिन्दगानीमा
प्रकाशित : चैत्र १, २०७६ ११:०९