कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुषका लागि ‘वरशिक्षा’

भीमनिधि तिवारी (१९६८ फागुन ३०–२०३० जेठ १९) को ‘वरशिक्षा’ किताबबारे उति चर्चा भएको पाइँदैन । तिवारीको जन्मजयन्ती र अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा यसै काव्य–कृतिमाथिको समीक्षा :
लीला लुइटेल

काठमाडौँ — नेपाली साहित्यमा ‘वधूशिक्षा’ नामक कृतिमा अभिव्यक्त गरेका धारणालाई माध्यम बनाएर भानुभक्तको आलोचना गर्ने क्रम घटेको छैन, दिनप्रतिदिन बढिरहेको छ । नेपाली साहित्यमा ‘वधूशिक्षा’ मात्र नभई ‘वरशिक्षा’ पनि लेखिएको छ भन्ने धेरैलाई थाहा नभएकै बुझिन्छ ।

पुरुषका लागि ‘वरशिक्षा’

सुप्रसिद्ध साहित्यकार भीमनिधि तिवारीद्वारा लेखिएको ‘वधू–वर शिक्षा’ नामक कृति पहिलोपटक २०१२ सालमा तत्कालीन मुस्ताङी राजा अंगोन जेम्पल तेनजिन ट्रटुल पर्वलको सहयोगमा प्रकाशन भएको हो । यही काव्य २०२५ सालमा तिवारी साहित्य समितिद्वारा पुनः प्रकाशन भएको जानकारी पाइन्छ । यो काव्य सिर्जनाको कारकका सम्बन्धमा भीमनिधि तिवारीले भूमिकामा यसरी व्यक्त गरेका छन्, ‘विसं २०१०, असार २९ गतेका दिन नेपालमा सर्वप्रथम भानुजयन्ती मनाइयो ।


सरस्वती सदनमा भएको श्रद्धाञ्जली समारोहमा कतिपय साहित्यकार र नेताहरूले भाषण गरे । किन्तु मैले त्यसै मञ्चबाट केवल एउटा प्रतिज्ञा गरें— भानुभक्त आचार्यज्यूले वधूशिक्षा लेखेर नारीजातिलाई स्थायी उपहार दिनुभयो, म वरशिक्षा लेखेर पुरुषजातिलाई समर्पण गर्नेछु । वधूशिक्षा पढेकी बुहारी जुन घरमा आउलिन् त्यहाँ वरशिक्षा पढेको छोरो रहला । फलतः नेपालीको त्यो घर, घर नभएर मन्दिर होला । रचना आर्को वर्षको जयन्तीसंममा समाप्त हुनेछ र यो पनि त्यही छन्दमा लेखिनेछ जसमा आचार्यज्यूले लेख्नुभएको थियो । अनि शैली भाषा पनि त्यस्तै सरल बनाउने

प्रयत्न गरिनेछ ।’


यसरी प्रतिज्ञा गरिएको समयभित्रै भीमनिधि तिवारीले २०१० चैत १३ गते वरशिक्षा लेखिसकेर सन्तोषको सास फेरेका थिए । ‘वधू–वर शिक्षा’ काव्यमा वधूशिक्षाअन्तर्गत भानुभक्तकै ‘वधूशिक्षा’ लाई समावेश गरिएको छ । यसरी समावेश गर्दा भानुभक्तको वधूशिक्षामा भूमिकाका रूपमा रहेको तारापतिलाई सम्बोधन गरिएको प्रस्तावनाचाहिँ समाविष्ट छैन । यस काव्यमा भानुभक्तको ‘वधूशिक्षा’ को समाप्तिपछि वरशिक्षाको प्रारम्भ गरिएको छ ।


पूर्वार्द्ध र उत्तरार्द्ध गरी दुई भागमा संरचित वरशिक्षाको दुवै भागमा ६६/६६ श्लोक समाविष्ट छन् । प्रकृतिको अनुपम दृश्यको वर्णनबाट सुरु गरिएको यसको पूर्वार्द्ध भागमा बिहान उठेदेखि एउटा पुरुषले गर्नुपर्ने अनेक कर्तव्यका बारेमा विस्तृत रूपले सम्झाइएको छ । आफ्नो नित्यकर्म सकिएपछि खाली पाउले बगैँचामा गएर बोटबिरुवाको हेरविचार गर्नुपर्ने भाव अभिव्यक्त यस भागमा माटोमा गरिने कामलाई सर्वोत्तम व्यायामका रूपमा चर्चा गरिएको छ ।


माटो र श्रमको सम्मान नगर्ने मान्छे मुर्दासमान हुन्छ भन्ने अवधारणाको प्रस्तुति पाइने यस काव्यमा विद्याको महत्ता प्रस्तुत गर्दै धूम्रपान, मद्यपानजस्ता कुलतको विरोध गरिएको छ । बजारिया खाना स्वास्थ्यको प्रतिकूल रहेको अवधारणा अभिव्यक्त यस काव्यमा खेलको महत्त्व पनि देखाइएको छ । यसमा तिवारीले अनावश्यक खर्च गर्नु बुद्धिमानी नभएको कुरा अभिव्यक्त गर्दै मितव्ययी भएर सादा जीवन व्यतीत गर्न सल्लाह दिएका छन् । मद र घमण्डले मानिसलाई पतनको खाडलमा जाक्छ भन्ने भावनाको प्रस्तुति पाइने यस काव्यमा शिष्ट आचारका साथ मृदुभाषी भई निःस्वार्थ भएर सेवा गर्नुपर्ने सन्देश प्रवाहित गरिएको छ । प्रस्तुत काव्यमा संसारमा अनेक धर्म प्रचलनमा रहे पनि संसारमा सबैभन्दा ठूलो मानवधर्म नै रहेको दृष्टिकोण कविको रहेको छ ।


वरशिक्षाको पूर्वभागमा विवाह बन्धनमा नबाँधिएको पुरुषले दैनिक जीवनमा गर्नुपर्ने आचरण एवं व्यवहारको सविस्तार व्याख्या गरिएको छ भने उत्तरार्द्ध भागमा चाहिँ विवाहको आवश्यकता तथा विवाहपछि पत्नी एवं परिवारप्रति पुरुषले गर्नुपर्ने कर्तव्य र व्यवहारका बारेमा उल्लेख गरिएको छ । आफूसँग विवाह हुन लागेकी कन्याबारे अरूको भर नपरी वर स्वयंले बुझबुझारथ गरेर विवाह गर्नुपर्ने भावको प्रस्तुति पाइने यस काव्यमा विवाहको प्रयोजन र महत्त्व बुझेर मात्र विवाह गर्नुपर्ने र बोक्रे रवाफका लागि विवाहमा फाल्तु खर्च गर्न नहुने विचारको अभिव्यक्ति पाइन्छ । विवाह गरेकी पत्नी अशिक्षित भएमा आफैँले उचित शिक्षाको व्यवस्था गरिदिनुपर्ने दृष्टिकोणको प्रस्तुति पाइने यस काव्यमा नारी शिक्षाको महत्त्व दर्साइएको छ ।


नारीलाई शिक्षा नदिइने तत्कालीन अवस्थामा नारीशिक्षाका सम्बन्धमा तिवारीको यस्तो दृष्टिकोण आउनु सराहनीय पक्ष हो । नारीलाई पतिको छाया, दासी तथा जुत्ता मान्ने पितृसत्तात्मक संकीर्ण एवं अमानवीय दृष्टिकोणको विरोध पाइने यस काव्यमा नारीलाई पुरुषसरह अस्तित्व भएकी व्यक्तिको रूपमा चर्चा गरिएको छ । पत्नीलाई गोडाको जल ख्वाउने, उसलाई खसालेर बोल्नेजस्ता नेपाली समाजमा व्याप्त कुप्रचलनहरूको आलोचना गरिएको यस काव्यमा नारीलाई पुरुषको प्रेरक, उत्साहबर्धक, हितचिन्तक रूपमा व्याख्या गर्दै सौन्दर्य एवं ममताकी प्रतीकको रूपमा उभ्याइएको छ ।


नारीलाई सतीत्वको घेराभित्र बन्दी बनाई आफू स्वेच्छाचारी भएर हिँड्ने पुरुषको स्वेच्छारिताको विरोध गरिएको यस काव्यमा नारीलाई मुठीभित्र होइन दिलभित्र राख्नुपर्ने भाव अभिव्यञ्जित छ । यस काव्यमा कविले नारीलाई घरभित्रका झन्झटिला काममा मात्र गुम्स्याएर नराखी बेलाबेला मनोरञ्जन गराउनुपर्ने दृष्टिकोण पनि प्रस्तुत गरेका छन् । म लोग्ने हुँ भनेर आफ्नो अहंकार एवं प्रभुत्व दर्साउँदै पत्नीलाई दोस्रो दर्जाको नागरिक ठानेर व्यवहार गर्ने संकीर्ण पुरुषलाई यस काव्यमा कविले मानसिक रोगीको संज्ञा दिएका छन् । समग्रमा भन्दा स्वस्थ्य, सदाचारयुक्त एवं व्यावहारिक जीवन बाँच्नाका लागि ध्यान दिनुपर्ने कुराको वर्णनमा कवि यस काव्यमा केन्द्रित देखिन्छन् ।


वरशिक्षामा अभिव्यक्त श्लोकका भावहरू एक्काईसौँ शताब्दीको वर्तमान समयमा अगि सारिएका महिला शिक्षा, महिला समानता तथा महिला सशक्तीकरणका नाराहरूकै निकट देखिन्छन् । यस दृष्टिले हेर्दा यस काव्यमा भीमनिधि तिवारीको दृष्टिकोण मानवतावादी, समतावादी, प्रगतिशील एवं नारीवादी देखिन्छ । समाजमा व्याप्त पितृसत्तात्मक संकीर्णताको उन्मूलनका साथ समतामूलक एवं प्रगतिशील समाजको कामना अभीष्ट रहेको यो कृति शार्दूलविक्रीडित छन्दमा संरचित छ ।

नेपाली समाजमा छोरीबेटी र बुहारीहरूलाई सदाचारी बनाउनाका लागि वधूशिक्षा पढाइयो, अनि पढ्न नजान्ने छोरीबुहारीलाई सुनाएरै पनि घोकाइयो तर तिनै नेपाली पुरुषहरूले नेपालीमा लेखिएको वरशिक्षा आफूले पनि पढेनन् आफ्ना छोराहरूलाई पनि पढाएनन् अझ भनौँ पढाउन चाहेनन् । अरू कुरा त छोडौँ नेपाली साहित्यमा रुचि राख्ने अधिकांश पाठकलाई वरशिक्षा लेखिएको कुरोसमेत जानकारी नभएको बुझिन्छ ।


पत्नीलाई मानवीय व्यवहारका साथ आफ्नो समकक्षमा राख्नु आफ्नै अस्तित्वमाथिको प्रहार हो कि भन्ने त्रासले पितृसत्तात्मक संकीर्ण मानसिकता सदैव त्रसित रह्यो र पत्नीलाई दासीकै रूपमा व्याख्या गर्न कसरत गरिरह्यो । आफूचाहिँ शास्त्रद्वारा निर्दिष्ट कतिपय आचारसंहिताहरूलाई यो वा त्यो बहानामा सहजतापूर्वक त्याग्दै गयो तर नारीका सन्दर्भमा चाहिँ सदैव परम्पराको हवाला दिइरह्यो ।


परिवर्तनको हिमायती भएको हवाला दिएर फुक्काफाल भएर हिँड्न रुचि राख्ने पुरुषले नारीलाई चाहिँ मानवीय दृष्टिले हेर्नसमेत कन्जुस्याइँ गरिरह्यो । वरशिक्षा भन्नेबित्तिकै के लेखिएको रहेछ त भनेर एकपटक पढ्न त परै जाओस् भनौँ नामसमेत लिन नचाहनुको कारण स्पष्टै छ । हुन त वरशिक्षामा दिइएको शिक्षा ग्रहण गरेर सदाचारी हुनाका लागि स्वेच्छाचारी पुरुषलाई कसैले बाध्य पार्न सक्ने थिएन । यति हुँदाहुँदै पनि वरशिक्षा लेखिएको कुरा जानकारी पाउने कतिपय व्यक्तिहरूले पढेर पनि यसको चर्चा गर्न नचाहेकै कारण यो सदैव ओझेलमै रह्यो ।


साक्षर छोरीबुहारीलाई पढ्न दिएर अनि निरक्षरलाई आफैँले सुनाएर भए पनि वधूशिक्षामा उल्लिखित आचरणहरूको अवलम्बन गराउन रुचि राख्ने पुरुषले चाहिँ वरशिक्षा लेखिएको छ भन्ने जानकारीसमेत राख्न नचाहनुचाहिँ विडम्बनाको पराकाष्टा नै हो । वरशिक्षा भन्नेबित्तिकै यसलाई पुरुषका विरुद्धमा छाँटिएको अनर्गल एवं वाहियात उपदेश सम्झेर यसको अवहेलना गरिएको अनुमान गर्न सकिन्छ ।


‘वरशिक्षा’ नामक कृति ‘वधूशिक्षा’ भन्दा पृथक् अवधारणाका साथ देखापरेको सिक्वेल लेखन हो । अग्रज लेखकका कृतिको खण्डन गर्न, त्यसमा अभिव्यक्त मतमाथि आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्न तथा त्यसै विषयभन्दा पृथक् रहेर पाठकलाई केही नयाँ दिन पनि सिक्वेल लेखन गर्न सकिन्छ । यसखाले सिक्वेल लेखन एकप्रकारको चुनौती पनि हो, किनकि पूर्ववर्ती लेखकको कृतिजत्तिकै लोकप्रिय बनाउनुपर्ने मनोवैज्ञानिक दबाब अनुज लेखकलाई रहेको हुन सक्छ ।


लोकप्रिय भएर समाजमा एउटा स्थान बनाइसकेको अग्रज लेखकका कृतिमा उल्लिखित विषयभन्दा विपरीत विषयमा सिक्वेलको सिर्जना गर्दा त्यो त्यत्तिकै लोकप्रिय नहुने सम्भावना पनि त्यत्तिकै प्रबल हुन्छ । पितृसत्तात्मक संकीर्णताले जरो गाडेको तत्कालीन समाजमा पुरुषलाई शिक्षा दिने हेतुले अग्रज कविको कृतिका विपरीत सिक्वेल लेखन गर्दा भीमनिधि तिवारीले चुनौतीलाई आत्मसात् गरेकै हुन् ।


‘सहनशीला सुशीला’ जस्ता नाटकमा प्रस्तुत नारी आदर्शको व्याख्या गर्ने नाटककारको कवि दृष्टिकोणमा आएको परिवर्तन र प्रगतिशीलताको संकेत पनि हो वरशिक्षा । प्रस्तुत कृति सारै कमजोर भएर चर्चित नभएको होइन । यसको उचित चर्चा एवं प्रचार–प्रसार हुन नसक्नु र नगरिनुमा चाहिँ नेपाली साहित्यमा व्याप्त भालेवाद नै मुख्य कारकका रूपमा रहेको देखिन्छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?