२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

न्याय निरूपणको याचना

उपन्यासको ध्येय मानवअधिकार, महिला मुक्ति र न्यायको सवाल नै हो । लेखकले अनेक चरित्र खडा गरी तिनीहरूमार्फत नीतिनिर्माण तहलाई झकझक्याउने प्रयास गरेकी छन् । 
फणीन्द्र संगम

काठमाडौँ — न्याय सेवामा ३० वर्ष बिताएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ ३० वर्षअघिकै कथा हो, महिला कैदीबन्दीहरूको । उपन्यासको कथाकेन्द्र कारागार भए पनि महिलाका पारिवारिक र सामाजिक हिंसाको प्रताडनालाई खोतलिएको छ ।

न्याय निरूपणको याचना

राजनीतिक व्यवस्था फेरियो, सामाजिक संरचना बदलियो तर ‘सुधारगृह’ भनिने जेलभित्रको जीवन फेरिएन । जेलर र नाइके/नाइकेनीको कठोर सत्ताको भुमरीमा कैदीबन्दी पिल्सिइरहेका छन् । किनकि यहाँभित्रको नेक्सस, राजनीति, भ्रष्टाचार, आरोप–प्रत्यारोप अनि गुट–उपगुटको चक्र चलिरहेकै छ ।


लेखकीय भूमिकामा छ— ‘कारा भौतिक बन्धनको कथामात्र होइन, समाजले महिलाहरूलाई लगाएको मानसिक बन्धनको पनि कथा हो ।’ यस्तै बन्धनमा जकडिएकी हीरामायाले श्रीमान्को हत्या गरेको घटनाबाट उपन्यासको उठान हुन्छ ।


उपन्यासमा महिला पात्रको भीड छ, जसमा सशक्त पात्र हीरामाया नै हो । जो परिबन्धमा परेर श्रीमान्को हत्या गरी एकवर्षे छोरोसहित कारागार आइपुगेकी छ । पारिवारिक दबाबमा परेर १८ वर्षे हीरामायाले ५५ वर्षे लाहुरेसँग बिहे गरेको, लगातार छोरी मात्रै जन्माउँदा श्रीमान् र समाजको तुच्छ वचन खेप्न बाध्य भएको र आत्मरक्षाका लागि श्रीमान्विरुद्ध हतियार उठाएको प्रसंग मार्मिक छ ।


कारागारमा हीरामायाजस्ता परिबन्धमा परेर आएका महिला मात्रै छैनन् । कोही देशव्यापारमा संलग्न छन्, कोही सन्तान सिध्याउने, कोही साथीको हत्या गर्ने अनि कोही छिमेकी मार्ने । झुम्रीदेवी तेलीजस्ता बिनाकसुर जेल परेका महिला पनि यहीँ छन् । न्यायालय र प्रहरीको सूक्ष्म अनुसन्धान अभावमा निर्दोष कसरी फस्छन् भन्ने उदाहरण हो, झुम्री । पञ्चायतकालको आखिरी समयको कथा हो यो तर गणतान्त्रिक न्यायालयको ‘छवि’ मा खास सुधार भएको देखिन्न । दबाब र प्रभावले ग्रस्त अदालतप्रति पुष्पा (राजनीतिक बन्दी) ले भनेकी छ, ‘आमजनताका छोराछोरी जेसुकै नाममा पक्राउ परून् । कसुरदार हुन् कि नहुन् । अन्यायमा परेका हुन् कि नहुन् । न्यायाधीशलाई के मतलब ?’ (पृ. ६७) ।


उपन्यासका पात्र, तिनको व्यवहार, जीवनशैली अनि सोचाइबारे पढ्दा जेल फरक संसारझैं लाग्छ । नाइकेनी तिम्मालाई रिझाउने सावित्री र लालुमायाको व्यस्तता होस् वा शिवा र सुधाको भड्किलो जीवनशैली । पुष्पा र सानुसहित हीरामाया, बुँदिया, माया, फुलवा, दार्जिलिङेको गुटबन्दीले यहाँको वर्गसत्तालाई संकेत गर्छ । सानो कुरामा चित्त नबुझे सेलमा कोचिदिने कठोर तिम्मा पनि यहीँ छे, दाजिलिङेजस्ता शान्त स्वभाव पनि यहीँ छ । जेल नै संसार ठान्ने बनारसीजस्ता महिला पनि छन् ।


चरम गरिबीले च्यापेपछि कतिपय महिला देहव्यापारमा लाग्छन् भने उच्च महत्त्वांकाक्षा पाल्नेहरू पैसाको लोभमा आकर्षित हुन्छन् । शिवा र सुधा यस्तै युवती हुन्, जसको सम्बन्ध उच्च पदमा रहेका पहुँचवाला व्यक्तिसँग छ । रासनपानीमा हिनामिना, औषधिलगायत सुविधामा कटौती गर्ने र कमिसन खाने नाइकेनी चरित्र भने जब्बर देखिन्छ । यही दृश्यले देखाउँछ, कारागारभित्र ठूलो धन्दा चलिरहेको छ ।


निर्मम सत्ता चलाइरहेकी नाइकेनीविरुद्ध पुष्पाको कूटनीतिक चातुर्य भने निकै रोचक छ । अन्य महिलाको साथ पाएपछि पुष्पा तिम्माको जेलसत्ता ढाल्न सफल हुन्छे । जेलभित्रको अव्यवस्था सुधार्न उसलाई सानुले साथ दिएकी छ । उनीहरूले जेलभित्रका महिलालाई सामाजिक बन्न मात्रै सिकाएका छैनन्, प्रौढ शिक्षा चलाएर ज्ञानको दायरा बढाउन कोसिस गरेका छन् ।


कोही पुरुष जेल परे श्रीमती र परिवारको निरन्तर सम्पर्क/सहयोग देखिन्छ । जब महिला जेल पर्छे, न परिवारको साथ न त श्रीमान्को सहानुभूति । समाजमा जति बन्धनमा छन् महिला, जेलभित्र पनि उस्तै विभेदको शृंखला चलिरहन्छ । जेलबाट निस्किँदा पुरुषलाई पुनःस्थापित हुन गाह्रो छैन । महिलालाई भने परिवारले नै नस्विकार्ने अवस्था आउनु समाजको अँध्यारो पक्ष हो । कारागारभित्रका महिलालाई न्यायको पहुँचसम्म पुग्नसमेत निकै गाह्रो छ ।


उपन्यासमा सबैजसो महिला पात्र खडा गर्नुको लेखकीय उद्देश्य उनीहरूको सूक्ष्म रूपमा न्याय निरूपण गरियोस् भन्ने देखिन्छ । त्यसो त जघन्य अपराधमा पुरुषको तुलनामा महिलाको संलग्नता निकै कम छ । पुष्पा भन्छे– ‘खुंखार हत्यारा भएर यी परिबन्द र परिस्थितिले हत्यारा बनाएका महिला हुन सक्छन् । सबै दोषी नहुन सक्छन् ।’ (पृ. ७१) । अदालती प्रक्रियामा गरिने न्याय निरूपणमा यो विनम्र याचनाले ठूलो अर्थ राख्छ ।


२०४६ सालको आन्दोलनको परिदृश्य र चैत २६ गते बहुदल घोषणा भएसम्मको समयरेखा उपन्यासमा छ । जब पञ्चायती व्यवस्था ढल्छ, राजनीतिक फाइदा लिने प्रवृत्ति एकाएक देखापर्न थाल्छन् । जस्तो कि हवल्दार लालबहादुर । पञ्चायती व्यवस्थाको हिमायती ऊ एकाएक बहुदलतिर ढल्किएर छेपारे प्रवृत्ति देखाउँछ । सत्ता र स्वार्थका लागि पार्टी फेर्ने हालका नेताहरूप्रतिको व्यंग्य पनि हो यो ।


बहुदल घोषणासँगै राजनीतिक बन्दी पुष्पा र सानु छुट्छन् । तिम्मा भने एकाएक संन्यासी बनेर देखापर्छे । घरसमाजले अस्वीकार गर्दा उनीजस्ता महिला जेल जीवनपछि पनि परित्यक्त बन्नुपर्ने तीतो यथार्थलाई यो दृश्यले झस्काउँछ । उपन्यासको ध्येय मानवअधिकार, महिला मुक्ति र न्यायको सवाल नै हो । राज्य प्रणाली सुध्रिए मात्र त्यो सुधार कारागारसम्म पुग्छ ।


लेखकले अनेक चरित्र खडा गरी तिनीहरूमार्फत नीतिनिर्माण तहलाई झकझक्याउने प्रयास गरेकी छन् । लेखक आफैंको कारागार अनुभव पनि हो पुस्तक । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पक्राउ परेकी उनले भोगेको मानसिक यातना र देखेको कारागारीय जिन्दगी डायरी शैलीमा लेखिएको छ । प्रहरी प्रशासन र न्यायालयको छिद्रबारे लेखकीय दृष्टि ‘बुझ्नेलाई इसारा काफी’ छ ।


यद्यपि उपन्यासमा केही कमजोरी छन् । प्रथम पुरुष दृष्टिविन्दुमा उपन्यासकार (पुष्पा पात्रका रूपमा) बोल्दै जाँदा एकाएक अर्को संवाद मिसिन्छ । कतिपय ठाउँमा उद्धरण चिह्न नराख्दा संवाद कुन पात्रको हो भनेर छुट्याउन समस्या छ । पात्रको पारिवारिक सूक्ष्म वर्णनमा लेखकले बढी शब्द खर्चिएकी छन् । उस्तैउस्तै कथा बोकेका पात्रलाई छनोट गरी प्रतिनिधि पात्र मात्रै प्रवेश गराएको भए पुस्तक छरितो बन्ने थियो । उही कथा दोहोरिँदा कथाको सिलसिलामा ठेस लाग्छ । तथापि पुस्तक बजारको भीडमा ‘फ्रेस कन्टेन्ट’ ले पाठकलाई नयाँ स्वाद भने दिएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?